कथा : डमी

~कृष्ण ढुङ्गेल~

जागिरमा मनोजको पहिलो दिन । काम हार्डवेयर पसलमा पाएको छ, तीनकुनेमा । त्यही पनि टाढाका नाता पर्ने एकजना दाइले खोज्देको ।

ती दूरका दाइले चाहेका भए मनोजलाई आफ्नै अफिसमा काम दिन सक्थे । वा, राम्रै ठाउँमा काम लगाइदिन सक्थे । तर उनले खै किन हो, त्यसो गरेनन् !
हुन त मनोजसँग न राम्रो पढाइ छ, न त कामको अनुभव नै । ऊ यो सहर नै पहिलोपटक आएको– काम गर्दै पढ्नका लागि ।

मनोजले गाउँकै माध्यमिक विद्यालयबाट एसएलसी सकेको थियो । त्यसपछि उसले घर छोड्नै पर्ने भयो । र, घरसँगै उसले पढाइलाई पनि तिलाञ्जली दिनुपर्ने पक्का छ । उही त हो नि अब घरको एकमात्र भर । उसको पढाइको बोझ अरू कसले पो उठाओस् ?

मनोजलाई यो बेखबर सहरमा भर थियो त उसकै फूपूको छोरा अर्थात् दाइको । ऊ अत्यन्त विकट पहाडी गाउँको मान्छे, सहरको रहनसहन चालै पाएको थिएन । र त, ऊ फूपूको छोराको दुई छाक र महिनाको कोठाभाडाप्रति बेखबर थियो ।

काठमाडौँ छिरेको गोडादशेक दिन त मनोज उसैको कोठामा बस्यो । तर वास्तविकता थाहा पाएपछि मनोज दाइको कोठाबाट आफ्नो कोठामा सर्ने भयो । आफ्नो पनि के भन्नु ! काठमाडौँ आएपछि उसले पहिलो साथी बनाएको थियो निराजन । पहिलो दिन कलेज जाँदा बनाएको साथी ।
विरानो सहरमा उसको एकमात्र साथी नै निराजन भयो । निराजन बस्दै आएको कोठामा सरेको थियो ऊ पनि ।

कोठा नरेफाँट । कलेज पुतलीसडक । र, काम तीनकुने ।

०००
सुरुवाती दिनहरूमा बिहान चाँडै उठ्थ्यो मनोज । र, उठाउँथ्यो निराजनलाई पनि । पालो गरेर चिया बनाउँथे । लगभग कोठामा टुट्दैन थियो, दुनोट, पाउरोटी, बिस्कुट । एकाबिहानै कालो चियामा केही गाँस उही दुनोट वा पाउरोटी कोच्थे, र दुवै निक्लिन्थे कलेज ।

कलेज १० बज्दानबज्दा सकिन्थ्यो, तर मनोजलाई १० बज्नुअघि नै हार्डवेयरमा हाजिरी जनाइसक्नुपथ्र्याे । त्यसैले पनि उसलाई कलेजको अन्तिम कक्षा लिनुभनेको जागिरबाट बिदा लिनु थियो । र, त्यस कुराको कल्पना गर्नसम्म पनि ऊ असमर्थ थियो ।

निराजन पुतलीसडकतिरै काम गथ्र्याे, कुनै कन्सल्टेन्सीमा । कलेजको छायाले आफूले काम गर्ने कन्सल्टेन्सीलाई साँझको बेलामा चुम्ने भएकाले उसलाई सहज थियो । मनोजले झैँ अन्तिम कक्षाको बलिदानी दिनुपर्ने अवस्था उसलाई थिएन ।

अन्तिम कक्षालाई मानसपटलको एक कुनामा कैद गरेर हतारहतार नेपाल यातायात समाउन पुग्थ्यो मनोज । हार्डवेयरको दिनभरको कामले उसका शरीरका सम्पूर्ण हार्डवेयरलाई अस्त बनाइसकेका हुन्थे । अनि ऊ लखतरान परेर जडीबुटीको गाडि समाई आफ्नो कोठामा पुग्दा चारैतिर अँध्यारोले साम्राज्य फैलाइसकेको हुन्थ्यो ।

कमाइ त ठिकै थियो, महिनाको आठ हजार नगद हातमा पर्दा उसका महिनाभरका थकान र लिन नपाएको कलेजको अन्तिम कक्षाको स्मृति लोप भइहाल्थे । घाम अस्त हुँदाको बखत कोठा पुग्दा पनि उसको अनुहारको उज्यालो कोठाभरि व्याप्त पाउँथ्यो । र, आफैँ महसुस गथ्र्याे, अँध्यारोका साम्राज्यलाई चिर्दै मुस्काइरहेको आफ्नै अनुहार ।

महिनाको एकबार हात पर्ने नगदमा उसको आउँदो महिना फक्रिएको पाउँथ्यो ऊ । बिहानीको चिया र दुनोट, गाडीको भाडा, कलेजको फी, किताबकापी र कोठा खर्च ।
दिउँसो एक टाइमको खाना उसले रोजगारदाताबाटै पाएको थियो, जसले उसको हरेक महिनालाई केही सहज बनाएर जान्थ्यो ।

त्यो दिन, तबल आउने दिन थियो । सायद फाल्गुनको दोस्रो दिन थियो । उसलाई फिक्री कति पनि थिएन, साँझ रुम फर्किँदा उसको गोजीमात्र होइन, गोडाहरूले पनि मुस्कुराउँदै जडीबुटीको गाडी पकड्नेवाला थिए ।

तर, त्यसो भएन । उसले आफ्नो गोजीलाई सान्त्वनासम्म दिन सकेन । तलब फाल्गुनको तेस्रो दिनमात्र हात पर्ने भयो ।

जडीबुटीको गाडी पक्डिन तम्तयार उसका गोडा एकाएक तीनकुने स्टेनतर्फ नमोडिएर गल्लीको बाटो भई कोटेश्वरतर्फ लम्कन थाले । र, गोडाकै गतिमा आफूलाई हुत्याएर उसले सम्झ्यो– बिहानै निराजनसँग केही पैसा मागिराखेको भए खुट्टाको गतिमा हिँड्नुपर्ने थिएन ।

गोडाहरू केही पाइला कर–बलले घ्रिसिएपछि उसले आफूलाई एकाएक रोमाञ्चित भएको पायो ।
साँझको समयमा झिलिमिली सडकलाई आफ्नो पछाडि धकेल्दै यसरी ऊ पहिलोपटक हिँड्दै थियो । यो कुराको महसुस जब उसलाई भयो, तब ऊ रोमाञ्चित हुन पुगेको थियो ।

यसरी हिँड्दा सडकमा हतारिँदै दौडिरहेका जुनकिरीझैँ देखिने उज्यालोले उसलाई आनन्दित तुल्यायो । उसले अर्काे कुरा पनि महसुस गर्याे कि, मान्छेलाई रोमाञ्चित हुन खासै नौलो कुरो चाहिँदैन रहेछ ।

कोटेश्वर चोकको रौनकता उसको आँखैअघि ठिङ्ग थियो । पैतालाहरू उही रौनकतालाई चुम्न आफ्नो गति बढाइरहेका थिए । ठीक त्यहीबेला उसका आँखा कतै अडिए ।

आँखामात्र रोकिएका थिएनन् । आँखासँगै मनोजका पैताला पनि रोकिएका थिए । एकपल त उसलाई लाग्यो– समय रोकिएको छ त्यहीँ । र, उसको स्वाश्सप्रश्वास पनि रोकिनेवाला छ चाँडै ।
करिब ६ फिट अग्लो कद । उसलाई लाग्यो– त्यो कोटेश्वर चोकको रौनकता उही उसको आँखैअघि

रहेकी स्त्रीआकृतिको मुहारबाट सिर्जित भएको हो ।

स्त्रीआकृतिको पहिरन के हो ? उसले ठ्याक्कै खोट्याउन त सकेन ।
अँ…उसले सम्झ्यो– लहेङ्गा भन्छन् क्यारे त्यसलाई ।
– ‘बीच बाटोमा उभिएर के टोलाइरहेको होला ? पागलजस्तो !’

अप्रिय स्त्रीआवाजले उसको कानसम्मको यात्रा नगर्दै उसको ध्यान स्खलित हुन पुग्यो । उसलाई लाग्यो– कुनै मीठो सपनाबाट भर्खरैमात्र बिउँझिएको छ ऊ ।

फेरि पनि उसका गोडाहरू अगाडि बढ्न मानेन् । बरु फुटपाथको किनारमा गोडालाई उभ्याएर आँखा पुनः उही स्त्रीतिर अघि बढे । एकाएक उसलाई कुनै नमीठो सपनाबाट ब्युँझिएको जस्तो भयो । उसले केही समयअघि देखेको सुन्दर स्त्रीआकृति त्यहाँ थिएन । थियो त एक स्त्रीआकृतिको डमी, उही पहिरनमा ।

उसले आफैँलाई चिमोट्यो, एकपटक ।
सोच्यो– हैन, म साँच्चै बहुलाएँ कि क्या ओ ?

र, अनुहारमा पागलको भावलाई बोकेर ऊ अघि बढ्यो । उसको कानमा केहीबेर अघि गुञ्जिएको अप्रिय स्त्रीआवाज सुरिलो बनेर गुञ्जिरहेको थियो– पागलजस्तो ।

०००
घडीले रातको ११ बजाइसकेको छ । तर मनोजको आँखामा कति पनि निद्रा छैन । छेउमै पल्टिएको निराजनलाई हेर्छ, ऊ निद्रालोकको सयरमा मस्त छ ।

उसको मनसपटलमा उही साँझको घटना सल्बलाइरहेको छ । स्त्रीस्वरूप डमी ।
अखिर त्यहाँ भएको के थियो ?– यो प्रश्नले उसको मन घोचिरहेको छ ।

आफैँलाई प्रश्न गर्छ– के मेरो आँखा अडिएका त्यो स्त्रीआकृति र स्त्रीस्वरूप डमी एकै थिए ?
आफैँ एकिन गर्छ– हो ती दुवै एकै थिए । दुवैले लेहेङ्गा नै लाएका थिए । उस्तै स्वरूप, उत्रै कद । आखिर एक डमी पनि कसरी हुन सक्छे त्यतिका सुन्दर ? त्यति कामुक ?

फेरि आफैँलाई प्रश्न गर्छ– होइन, म किन यस्ता बिनासित्तिका कुरामा अल्झिरहेको छु ?
कोल्टे फेर्छ । निराजनको मुख उसको सम्मुखमा पर्नजान्छ । निराजनको नाक टालिएर मुखबाट निक्लिरहेको स्वास उसको नाकमै ठोकिन्छ । पुनः अर्काेपट्टि फर्कदै सोच्छ– ‘हन्, ब्रस नगरेको कति दिन भो यसले ।’

र, भन्दै गर्दा सम्झन्छ सकिएको कोलगेटको खोल ।

उसलाई आफू एकाएक बहुत कमजोर भएको भान पर्छ । उसलाई लाग्छ, उसको कहिल्यै घाम नपर्ने कोठा र स्वयम्मा बहुत मिल्ती छ । हालत उस्तै छ । अस्तव्यस्त र अभाव उस्तै छ । र, उस्तै छ ठीक त्यही समयको अवस्था पनि ।

मोबाइल हेर्छ, रातको बाह्र बज्न केही मिनेटमात्र टाढा छ । तर, आँखामा निद्रा पटक्कै छैन् । मगजमा अनेकन कुराको बाबजुद साँझकी स्त्रीस्वरूप डमी झन्झन् बृहत हुँदै गइरहेकी छे, जोबाट ऊ छुट्कारा पाएर एक झपक निदाउन चाहन्छ । तर, अहँ आँखामा निदको नामोनिसान छैन ।
मगजलाई अँध्यारो कोठामा केन्द्रित गर्छ । कोठा अँध्यारो भए पनि उसको अगाडि छर्लङ्ग भएर आउँछ ।

बिहान मात्र खालि भएको चिनीको बट्टा, तेल पिँधमा पुगेको तेलको बट्टा, बाटामा नमाझी छोडेका साँझको जुठा भाडाकुँडा, बीचमा काटेर केही दिनबाट काम चलाएको कोलगेटको खोल, खाट किन्ने कुरामा मख्ख भुँइमा लम्पसार ओछ्यान, आदिआदि ।

भोलिपल्टको बिहान अरू बेलाको जस्तो उत्साह बोकेर उदाउँदैन । मनोजको शरीरमा जुरुक्क उठेर निराजनलाई उठाउने त के, आफ्नै शरीरलाई उठाउन सक्ने जाँगर पनि छैन ।

मोबाइलको अर्लाम बजेपछि मनोजलाई बोलाएर निराजन बाथरुम छिर्छ । निद्रा त आलामको झर्काेलाग्दो चिच्याहाटसँगै मनोजको पनि हराइसकेको छ । तर, खै किन ? आज उसमा उठेर पुतलीसडकको गाडी समाउन सक्ने हिम्मत छैन । ऊ कोल्टे फेर्छ । खुइय्… काट्छ । अनि जबर्जस्ती आँखा चिम्लिएर निदाउने प्रयत्न गर्छ ।

निराजन बाथरुमबाट निस्किएर पुनः मनोजलाई कोट्याउँछ । सञ्चो नभएको उत्तर पाएपछि आफ्नो सुर कस्छ ।

‘हन्, यो बिहानको समय ! पत्तै नपाई आठ बज्न भ्याइसकेछ ।’ भन्दै मनोज बिउँझियो ।
ओछ्यानलाई उसकै हालतमा छोडिदिएर बाथरुम छि‌र्याे । बीचमा काटिएको कोलगेटको खोलभित्र ब्रस घुसारेर दाँत माझ्दै ट्वाइलेट प्यानमा थुचुक्क बस्यो ।

चिया–दुनोट खाएर कामको लागि तयार हुँदा मोबाइलको घडीले नौ मात्र बजाउँदै थियो । अर्थात् ऊसँग हार्डवेयर पुग्नका लागि अझ १ घण्टा बाँकी थियो ।

ठीक कोटेश्वर चोक कटेपछि, उही स्त्रीस्वरूपी डमीको छेउमा गएर उभियो । आँखाभरि उसलाई नियाल्यो ।

उज्यालो अनुहार, नाक थेप्चो भएर पनि कुनै युरोपियनको जस्तो अनुहार । लेहेङ्गाको छातीलाई उछिनेर बाहिर उम्कन तत्पर स्तन, टिमिक्क बाँधिएको कम्मर, लेहेङ्गाको पिठबाहिरबाटै प्रस्ट महसुस गर्न सकिने पीठ । डोला आँखामा केवल कमी चस्माको मात्र भएको भान भयो उसलाई ।
अझ् ओठमा लालीगँुरासझैँ लाली भैदिएको भए ! छोटो कैलो केसमा बुक्की फूल कस्तो देखिन्थ्यो होला ’

‘भाइ, लाने हो ?’
मीठो सपनाको अन्त्य भयो । त्यस समय उसले आफ्नो हात स्त्रीस्वरूप डमीको गलामा पायो । करेन्टको झंकारले हुत्याएको गतिमा आफ्नो हातलाई आफूतिर तान्यो ।

आफू उभिएको ठाउँबाट कसरी स्त्रीस्वरूप डमीको छेउमा पुगेँ ?– सम्झिने प्रत्यत्न गर्यो । जुन व्यर्थ बनेर गयो । ठीक त्यो समय ऊसँग लाज र ग्लानीले रातो न पिरो बनेको अनुहारबाहेक केही पनि थिएन ।

‘दाम कति ?’ शिर झुकाएर उसले सोध्यो ।
‘१० हजारमात्र हो ।’

पसलेले १० हजार भनिरहँदा उसले आफ्नो महिनाको तलब सम्झियो । पसलेको उत्तरको कुनै प्रतिउत्तर नदिई बाटो लाग्यो ।

काम सकेर फर्किने समय हुँदा साँझ हिजोको जस्तै छ । उज्यालोको साम्राज्यलाई अँध्यारोले निल्न केही निमेषमात्र बाँकी छ । आज उसलाई हिँड्नुपर्ने बाध्यता छैन । गोजीमा दश हात्तीहरू हाँसिरहेका छन् । तर खै किन हो, आज त्यो नगद दश हजारले उसको अनुहारमा मुस्कान ल्याउन सकेको छैन । खुट्टाहरूलाई जडीबुटीको गाडी समाउन कुनै हतारो छैन ।

उसलाई लाग्छ– उही गल्लीको बाटो भएर आइज भनेर स्त्रीस्वरूप डमीले बोलाइरहेकी छे ।
खुट्टाहरू गल्लीको बाटोमा केही पाइला अघि के सरेका मात्र थिए, फोन बज्छ । हेर्छ– निराजनको नम्बरबाट मेसेज आएको हुन्छ ।

मोबाइल बोक्न थालेको केही दिन मात्रे भएको थियो । पसलकै साहुले काममा सजिलो हुन्छ भनेर उसलार्य थोत्रो नोकिया मोबाइल थमाइदिएको थियो । जहाँ मेसेज प्रष्ट बुझिँदैनथ्यो ।

‘आमा बिरामी भएर हस्पिटल लगेको छ रे । म गाउँको गाडी चढेँ । रुमको भाडा सिरानीमा छ । अनि रुमको चाबीचाहिँ जुत्तामा छ है… !’

उसको अनुहारमा मेसेजको कुनै पनि प्रभाव देखिँदैन । बरु गोडाहरू आफ्नो लक्ष्यमा लयबद्ध भएर लागिपरेका छन् । उसलाई थाहा छ, यी गोडाहरूको कथित गन्तव्य कोठासम्म भए पनि वास्तविक गन्तव्य उही स्त्रीस्वरूप डमी अघिसम्मको मात्र हो ।

तर, मस्तिष्क के भनिरहेको छ ? उसलाई थाहा छैन । थाहा पाउन कुनै मतलब पनि छैन ।
उसलाई लाग्छ– डमी उसैगरी, आफ्नै प्रतिक्षामा बसिरहेकी छे । कुनै परदेशी प्रियसीलाई आँगनको डिलमा पर्खिएर बसेकी प्रेमिकाको जस्तै ।

हेर्छ, उसको शरीरको लेहेङ्गा फेरिएको छ । र, शरीर ढाकिएको छ, कुर्ता र सुरुवालले । तर, स्त्रीस्वरूप डमीको आवरणमात्र फेरिएको हो, उसको स्वरूप उस्तै छ । कमसेकम मनोजलाई उस्तै लाग्छ ।

लाग्छ कुर्तासुरुवालमा स्त्रीस्वरूप डमी कामुक कम र सुन्दर ज्यादा देखिएकी छे । आवरण पनि यति विधि शक्ति हुन्छ र ? ऊ आफैँलाई प्रश्न गर्छ ।

फुटपाथमा हिँडिरहेको एक भद्रसँग ठोकिन पुगेपछि पुनः मीठो सपनाको अन्त्य हुन्छ । आफूलाई सम्हालेर गोडाले आफैँलाई बोकी कोठासम्म पुर्याउँछन् ।

उसलाई अब खाना बनाउनु छ । सकिएका सरसामान जोर्नु छ । कोठाको भाडा घरबेटीको गोजीसम्म पुर्याउनु छ । तर उसलाई त्यसको फिक्री छैन । एक त भोलि शनिबार छ, अर्काे गोजी भरिएको छ । उसलाई फिक्री छ त केवल उही स्त्रीस्वरूप डमीको मात्र ।

हेर्छ, तरकारीको नाममा चारदाना आलु छन् । दालको बट्टा पनि खालि छ । सोच्छ– ‘आ… आज यही दुनोटले काम चलाउनुपर्ला । बिहान खाउँला नि जेजे बनाएर खाए पनि ।’

०००
बिहान झिस्मिसेमै निद्राले छोड्छ । तर उसलाई ओछ्यान छोड्ने मन भने कति पनि छैन । ओछ्यानमै आफूलाई छोडेर रातको सपनाको यात्रामा निस्किन्छ– सम्झँदा पनि जिउँ सिरिङ् भएर आउँछ ।

मान्छेलाई लजाउन त भीड चाहिन्छ । भीड नभए पनि आफ्नो अगाडि कोही न कोही त अवश्य चाहिन्छ । तर त्यो कोठामा आफू एक्लो भएर पनि उसको अनुहारभरि लाज रातो भएर पोखिन्छ ।
सपनामा आएकी उही स्त्रीस्वरूप डमीको समिप्य महसुस भएपछि उसले हतारमा आफ्नो जाङ छाम्छ । अहो ! कछालाई छिचोलेर टाउजरसम्म आइपुगेको छ, केही चिप्लो पदार्थ । कसैले थाहा पाउला कि झैँ गरी आफ्नो हातलाई जाङबाट टाढा लान्छ ।

जुरुक्क उठ्छ । ओछ्यानकै सिरानीतिर पल्टिरहेको टावेललाई उठाएर ऊ बाथरुम छिर्छ ।
बाथरुमको भित्तामा एउटा मिनीसाइजको ऐना हाँसिरहेको छ, तर उक्त अनुहारमा हेरेर ऊ कसै गरे पनि मुस्कुराउनु सक्दैन । सिर्फ अनुहारभरि छाइरहन्छन् उही स्त्रीस्वरूप डमीको साथमा एउटा मीठो लज्जाको अनुभूति ।

दिउँसो करिब तीन बजे, बिदाको दिन अर्थात फुर्सदको दिन । तर यो फुर्सदमा पनि मनोजको मनमा अनेकन कुराहरू दौडिरहेका छन् । के दौडिरहेका छन् ? ऊ आफैँलाई थाहा छैन । तर यतिचाहिँ पक्का हो, हरेक भावनात्मक तथा संवेदनात्मक संवेगहरू उही स्त्रीस्वरूप डामीको छेउछाउ भएर दौडिएको छन् । तिनै संवेगहरूलाई अंगालो हालेर टहलिन ऊ कोटेश्वर चोक पुग्छ ।
आज उसलाई नजिक जानु छैन स्त्रीस्वरूप डमीको । टाढैबाट नियाल्ने उसले अठोट गरिसकेको छ ।
देख्छ टाढैबाट, पहिलो नजरमा त झण्डै चिन्दैन पनि । आज स्त्रीस्वरूप डमी रातो सारी र कालो ब्लाउजमा उभिएकी छे ।

के उसको यो पहिरन आफ्नै स्वागतको लागि हो ? सारीमा किन एकैपटक उसको कामुकता र सुन्दरता प्रतिबिम्बित हुन पुगेका छन् ?– आफैँलाई प्रश्न गर्छ । ओठमा स्वतः मन्द मुस्कान प्रसारित हुनपुग्छन् ।

डमी उसलाई उसकै पर्खाईमा बसेकी दुलहीजस्तै लाग्छे ।

किन सारीले दुलहीको प्रतिनिधित्व गर्छ ? के एउटा दुलहीले स्कर्ट र भेस्ट लाएर आफ्नो प्रियसीलाई पर्खिरहेको चित्रलाई हाम्रो मगजले चित्रित गर्न सक्दैन ?– आफैँलाई प्रश्न गर्छ ।

केही दिनयता मनोजको दैनिकीबाट कलेज बाहिरिएको छ । ऊ कलेज जाँदैन । फर्किँदा उसलाई केहीको पनि फिक्री रहँदैन । अँध्यारोको साम्राज्यको ऊ एक प्रजा बनिसकेको छ । खास भन्ने हो भने बिहान पनि आँखाभरि उही स्त्रीस्वरूप डमीलाई सजाउँदै जानु, दिनभर उसकै अनुभूतिमा आफूलाई तैराउनु र उसको कल्पनाको सुखानुभूतिमा आफूलाई रातमा निथु्रक्क भिजाउनु नै उसको दैनिकी बनेको छ ।

एक बिहान, डमीप्रतिको उसको झुकावले दिनप्रतिदिन महत्त्व बढाइरहेको छ । मनोजलाई हतार कामको भन्दा पनि स्त्रीस्वरूप डमीअघि पुग्नुमा छ । उसका गोडाहरूले आफ्नो रफ्तार आँखाका सकुनका लागि तीव्र पारेका छन् । गोडाको रफ्तारभन्दा हजार गुणा तेज मनोजको मन दगुरी रहेको छ ।

मनोज ठीक त्यही ठाउँमा पुगेर रोकिन्छ, जहाँबाट स्त्रीस्वरूप डमीलाई ऊ साक्षात रूपमा देख्न र अनुभूति गर्न सक्छ । तर, आजको जुन स्त्रीस्वरूप डमीको रूप उसका अघि देखापर्छ, ऊ हच्किन पुग्छ ।

डमीलाई जुन स्वरूपमा देख्छ, त्यो त उसले डमीको कल्पनामा सुखानुभूति गरेको रातमा पनि देखेको थिएन । उसले स्त्रीस्वरूप डमीलाई निवस्त्र देख्छ । पूराका पूरा नाङ्गो ।

मनले भन्छ– ए गोडा, तँ हिँडिहाल् । एकछिन पनि नबस् यहाँ । यो अलिकति पनि लज्जा नभएकी स्त्रीअघि ।

तर उसका गोडाहरूले धोका दिन्छन् । एक डेग पनि चल्मलाउँदैनन् ।

आफ्नै निधार छाम्छ, चिसो बिहानीमा पनि उसको निधारमा चिट्चिट पसिना पाउँछ । फेरि स्त्रीस्वरूप डमीको निवस्त्र रूपलाई हेरिरहन सक्दैन । आँखा चिम्म गर्छ, र आफ्नो मुर्खता बोध गर्छ ।

सोच्छ– ‘प्राकृतिक कुरा नाङ्गो हुँदा राम्रा हुँदैनन् रहेछ । अझै, अप्राकृतिक वस्तु नाङ्गो देखियो भने त्योभन्दा कुरूप अरू केही हुँदैन ।’

०००
अर्काे दिनको बिहानबाट मनोज खालि भएको छ । अब उसलाई न काममा जानु छ न डमीको दर्शनमा नै । कलेज त उसको विगत बनिसकेको छ । तर पनि ऊ निकै गहुँ्रङ्गो बनेको छ अचेल ।
‘सबै खालि वस्तुहरू हलुङ्गो नहुँदा रहेछन् । अझ मानिस खालि हुनु भनेको त जीवन सबैभन्दा गह्रुँङ्गो हुनु पो रहेछ ।’

केही महिनाको काठमाडौं बसाइमा उसले यति बुझ्न सक्यो । कृत्रिम सभ्यता देखेर उसलाई भाउन्न भयो ।

केही दिनपछि नै रात्री बसको टिकट काटेर ऊ गाउँतिर लाग्यो ।

(स्रोत : जीवनशैली डट कम )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.