अनूदित कथा : बीस बर्षपछि

~ओ. हेन्री~O Henry
अनुवाद : सरिता तामाङ

एकजना प्रहरी सडकको एक छेउदेखि अर्को छेउसम्म हिँडे, बडो जरुरी र जब्बर पारामा । उनी सधैँ यसैगरी हिँड्दथे। उनले आफू कस्तो देखिएको छु भन्ने ख्याल गरेर हिँडेका थिएनन्, उनको यसरी नै ठाँटिएर हिँड्ने बानी थियो । सडकमा थोरै मानिसहरू उनलाई हेर्दै बसेका थिए। रातिको लगभग दशमात्र बजेको थियो, तर जाडो थियो। हावा चलेसगैँ अलिअलि पानी पनि परिरहेको थियो ।

सडक वारपार गरिरहँदा उनी ढोकाहरूमा रोकिँदै थिए, प्रत्येक ढोका त्यो रातको लागि बन्द छन् कि छैनन् भनेर निश्चित गर्न। घरीघरी पछाडी फर्किएर सडकको तल माथी पनि नियालिरहेका थिए। एक सावधान शान्तिको पहरेदार बनेर बडो सतर्कताका साथ उनी आफ्नो जिम्मेवारी वहन गरिरहेका थिए।

सहरको त्यस भागका मान्छेहरू चाँडै घर गइसकेका थिए। तपाईले छिनछिनमा एउटा पसल र सानो एउटा भोजनालयमा बलेको बत्तिको प्रकाश देख्‍न सक्नुहुन्थ्यो। तर अधिकांश ढोका भने घण्टौँ पहिले बन्द गरिइसकेका व्यवसायिक स्थलहरूको थियो ।

त्यसपछि एक्कासी उनले आफ्नो हिँडाइको गतिलाई कम गरे । एउटा अँध्यारो पसलको ढोका नजिकै एउटा मान्छे उभिइरहेको थियो । फुर्तिलो पारामा उनी त्यो व्यक्ती भएतिर गए । प्रहरी अगाडि बढ्दै गर्दा ओठमा चुरोट चेपेर सल्काउने तयारीमा बसिरहेको त्यो व्यक्ती तुुुुरुन्तै बोलिहाल्यो, “सबै ठिक छ, सर ।” प्रहरीले पत्याउंँदैनन् जस्तो सोचेर फेरि थप्यो, “म एकजना साथीलाई पर्खिरहेको छु। बीस बर्षअघि हामीले आजको रात यहिँ भेट्ने सहमति गरेका थियौँ । अनौठो लाग्यो होला, हैन? मैले झुट बोलेको होइन। यदि तपाई सबै ठिकै छ भनेर ढुक्क हुन चाहनुहुन्छ भने म तपाईलाई पुरै कुरा बताउँछु। बीस बर्षअगाडि यो पसल भएकै ठाउँमा एउटा भोजनालय थियो, ‘बिग जो’ ब्र्याडिको रेस्टुराँ ।” उसले प्रहरी निश्चिन्त बनोस् भन्ने आशयले खुलेर कुरा गर्न चाह्यो।

“मलाई थाहा छ। त्यो पाँच बर्ष पहिलेसम्म यहिँ थियो।,” प्रहरीले भने ।

प्रहरी बोल्दै गर्दा त्यो ढोका नजिकै उभिएको मान्छे चुरोट सल्काउन लाग्यो। सलाई बाल्दा उसको चम्किला आँखा, रंगहिन चारपाटे अनुहार, अनि दाहिने आँखा छेउमा सानो सेतो खत स्पष्टसँग देखियो। उसले लगाएको नेकटाइमा एउटा ठूलो रत्न थियो ।

“आजभन्दा बीस बर्ष पहिले आजकै रात” उसले भन्न शुरु गर्यो, “मैले जिम्मी वेल्ससँग यो ठाउँमा खाना खाएको थिएँ। ऊ मेरो परम मित्र र संसारकै सर्वोत्कृष्ट व्यक्ती थियो। उ र म सँगसँगै यहिँ न्यू योर्कमै हुर्कियौँ, दुई दाजुभाइजस्तै। म अठार र जिम्मी बिसको थियो। भोलिपल्ट म पश्चिमतर्फ प्रस्थान गर्नेवाला थिएँ। म जागिर खोजेर ठुलो सफलता हात पार्नेवाला थिएँ। तर जिम्मी मसँग जान मानेन, मलाई उसलाई मसँगै लैजाने मन त थियो। तपाईले जिम्मीलाई न्यू योर्कबाट बाहिर लैजानै सक्नुहुन्न थियो। उसले यो ठाउँ नै संसारको एकमात्र ठाउँ हो भन्ने सोच्थ्यो, एकदम माया गर्थ्यो न्यू योर्कलाई । अन्त्यमा म एक्लै पश्चिमतिर लागेँ।”

“हामीले त्यो रात सल्लाह गर्‍यौँ, हामी यो ठाउँमा बीस बर्षमा फेरि भेट्नेछौँ भनेर। बीस बर्षसम्ममा आफूहरू कस्ता मान्छे हौँ र हामीले भविष्यमा के प्राप्त गर्नेछौँ भन्ने कुरा थाहा पाइसक्नेछौँ भन्ने हामीलाई लागेको थियो । बीस बर्षमा गरेको प्रगति र बटुलेका अनुभवहरू सुनाउने बिचार थियो हाम्रो। ”

“चाखलाग्दो रहेछ।,” प्रहरिले भने।” भनेपछि भेट नभएको लामो समय भएछ। तपाई पश्चिमतिर गएदेखि उहाँसँग कुनै सम्पर्क भयो कि भएन ?” उनले पनि त्यो मान्छेको कुरामा चाख मानेर सोधे।

“भयो, केही समयसम्म हामीले एक अर्कालाइ चिट्ठी लेख्यौँ।” त्यो मान्छेले भन्यो। “तर दुई बर्षपछि त्यो शिलशिला टुट्यो। पश्चिम निकै ठूलो छ, म त्यहिँ कतै हराएँ। जिम्मी पनि आफ्नै काममा व्यस्त भयो होला। म सबैतिर डुलिहिँडे, र चाँडचाडैँ ठाउँ सरिहाल्थेंँ। मैले उसलाई याद त गरिरहेँ तर सम्पर्क भने हुन सकेन। उसले पनि मलाई खुब सम्झ्यो होला। तर मलाइ थाहा छ जिम्मीले चाह्यो भने मलाई आज यहाँ भेट्न सक्छ। ऊ एकदमै सच्चा मान्छे थियो। उसले कदापी बिर्सिने छैन। म हजारौँ माइल पार गरेर यो समयमा यहाँ आइपुगेको छु। यदि मेरो पुरानो साथी यहाँ आइ दियो भने मलाई यो यात्रा गरेकोमा कुनै अफसोस हुने छैन ।”

बोल्दाबोल्दै त्यो प्रतिक्षारत व्यक्तिले एउटा राम्रो घडी निकाल्यो, स-साना रत्नहरू जडित ।
“दस बज्न तीन मिनेट बाँकी,” घडी हेरिसकेेर फेेेरि भन्न थाल्यो। “त्यो रात हामीले यहाँ रेस्टुराँको ढोकामा बिदा माग्दै गर्दा दस बजेको थियो ।” ऊ कताकता अतितको सम्झनामा हराएजस्तो देखियो।

“तपाई पश्चिममा निकै सफल हुनुहुन्थ्यो, हैन र ?” प्रहरीले सोधिहाले ।
“थिएँ नि। जिम्मीले पनि त्यसको आधा जति त प्रगती गरेकै होला भन्ने आश गर्छु । त्यो अलि लोसे थियो । तर केहि न केहि राम्रै गर्‍यो होला। मैले त सफलताको लागि लडाइँ नै गर्नुपर्‍यो नि। न्यू योर्कमा मान्छे खासै परिवर्तन हुँदैनन् । पश्चिमतिर त आफूले केहि पाउनको लागि कसरी लड्ने भन्ने कुरा सिकिहालिन्छ । निक्कै संघर्ष गरेर मात्र सफल बन्न सकियो ।” त्यो मान्छे सुनाउनमा तल्लिन थियो।

यति सुनिसकेर उक्त प्रहरी एक दुई पाइला हिँड्न लागे।
“म लागेँ।”, उनले भने। “आशा गर्छु, तपाईको मित्र सकुशल आइपुग्नु हुनेछ। यदि उहाँ दस बजेसम्म आइपुग्नु भएन भने तपाई फर्कनुहुन्छ?” अलि उत्सुकतापूर्वक जिज्ञासा राखे उनले।

“अँह, जान्न।” उसले भन्यो । “म आधा घण्टासम्म पर्खिनेछु, कमसेकम। यदि जिम्मी जिउँदै छ भने त्यो बेलासम्म आइपुग्नेछ । शुभरात्री, सर। तपाईं जानुहुन्छ भने जानुहोस् न त ।”

“शुभरात्री।” प्रहरीले भने, त्यहाँबाट हिँडे, ढोकाहरू बन्द भए नभएको परिक्षण गर्दै ।

अब त्यहाँ चिसो पानी पर्न थाल्यो र हावा पनि चर्को गरी बहन लाग्यो । सडकतिर हिँड्दै गरेका थोरै मान्छेहरू आफूलाइ न्यानो बनाउन खोज्दै हतार हतार दौडन लागे। तर पसलको ढोकामै त्यो मान्छे उभिइरह्यो जो हजारौँ माइलको यात्रा तय गरेर आफ्नो मित्रलाइ भेट्न आएको थियो। त्यस्तो खाले भेटको खास टुंगो हुँदैन। तर ऊ पर्खिरह्यो । उसलाई जिम्मी पक्का आइपुग्छ भन्ने कुरामा पुर्ण भरोसा थियो।

उसले बीस मिनेट जति कुर्‍यो। त्यसपछि एकजना लामो कोट लगाएको अग्लो मान्छे हतारिँदै सडक पार गरेर आएको देख्यो। ऊ सिधै त्यो कुरिरहेको व्यक्तितिर हानियो ।

“तिमी बब हौ?” उसले शंकालु ढंगले सोध्यो ।

“के तिमी जिम्मी हौ?” ढोका छेउको मान्छे चिच्यायो ।

नयाँ मान्छेले अर्को मान्छेको हात आफ्नो हातमा लियो र हतारहतार बोल्न थाल्यो, “यो बब हो। पक्कै पनि बब नै हो। म ढुक्क थिएँ, तिमी बाँचिराखे म तिमीलाई यहिँ भेट्टाउनेछु भनेर। बीस बर्ष लामो समय हो । कति धेरै समय भयो है हाम्रो भेट नभएको? मैले तिमीलाई कति सम्झे, बब। तिमीलाई मेरो याद आएन, बब? अब त पुरानो रेस्टुराँ रहेन है! त्यो रेस्टुराँ यहाँ भैदिएको भए हामी आज फेरि यहाँ खाना खाने थियौँ। अनि सुनाउ न, पश्चिम तिम्रो लागि कस्तो थियो ?”

“मैले मागेको सबै कुरा दियो मलाई त्यो ठाउँले। मैले ठूलो सफलता हात पारेँ। अनि… तिमी फेरिएछौ, जिम्मी। मलाइ तिमी यत्तिको अग्लो छौ भन्ने कहिले पनि लागेको थिएन। ”

“ए! बीस कटेपछि पनि थोरै बढेँ नि त म ।” अलि हाँस्दै भर्खर आएको मान्छेले भन्यो।

“के तिमिलाइ न्यू योर्कमा राम्रै छ, जिम्मी ?”

“राम्रो छ। म यो सहरको लागि काम गर्छु । अरे यार, बब ! मैले जानेको एउटा ठाउँमा जाऊँ अनि पुराना दिनहरूको बारेमा रमाइलो गफ गरौँला ।”

ती दुई व्यक्तिहरू सडकै सडक लागे, एक अर्काको पाखुरामा हात घुसारेर । एकअर्कासँग गफिइँदै उनीहरू हिँड्न थाले।

पश्चिमबाट आएको मान्छेले आफ्नो जिन्दगीको कथा सुरु गर्न थाल्यो। अर्को चाहिँ कोटले छोपिरहेको कानले सुन्दै थियो, खुब ध्यान दिएर ।

कुनातिर बत्ति नै बत्तिले उज्यालिएको पसल थियो। नजिक पुगेपछि उनिहरू अनुहार देखिने गरि एकअर्कातिर फर्किए ।

पश्चिमबाट आएको मान्छे तुरुन्तै रोकियो, आफ्नो हात झट्कारेर छुटायो र एकदमसँग हच्केर पछाडि सर्‍यो।

“तिमी जिम्मी वेल्स होइनौ।,” ऊ करायो । ” बीस साल लामो समय त हो, तर मान्छेको नाकको आकार नै बदल्न सक्ने गरि लामो चाहिँ होइन ।” रोउँला जस्तो गरेर ऊ चिच्यायो।

“तर कहिले काहिँ समयले राम्रो मान्छेलाई पनि नराम्रो मान्छेमा बदलिदिन्छ । जसरी तिमी बदलियौ, बब।” अग्लो मान्छे बोल्यो । “तिमी दश मिनेटदेखि प्रहरी हिरासतमा छौ, बब । शिकागो प्रहरीले तिमी यहाँ आउँदैछौ भन्ने सूचना पायो । हामीलाई तिम्रो खोजी गर्ने निर्देशन दिइएको थियो । तिमी चुपचाप मसँग जान्छौ? त्यै बुद्दिमानी हुन्छ । तर त्योभन्दा पहिले तिमीलाई एउटा चिज दिनु भनेर मलाई भनिएको छ । यहाँ झ्यालमै बसेर पढ्दा पनि हुन्छ । वेल्स नाम गरेका एक प्रहरी अधिकारीले तिम्रो लागि एउटा सन्देश छोड्नुभएको छ ।”

‘वेल्स’ शब्द सुन्ने बित्तिकै बबलेे त्यो कागजको टुक्रा खोल्यो । पढ्दै जाँदा उसको हात काम्न थाल्यो । पत्रमा लेखिएकी थियो:

“बब, म समयमै त्यो ठाउँमा पुगेको थिएँ । मैले शिकागो प्रहरिले खोजी गरिरहेको अपराधीको अनुहार देखेँ । म आफैँले तिमीलाई गिरफ्तार गर्न चाहन्नथें । त्यसैले म गएँ, अर्को प्रहरी खोजे र काम सम्पन्न गर्न उसैलाइ पठाएँ ।
तिम्रो मित्र, जिम्मी।”

(अङ्ग्रेजी कथाकार ओ. हेनरीद्वारा लिखित कथा “After Twenty Years” को नेपाली अनुवाद)

(स्रोत : ब्दसोपान डट कम)

This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.