~प्रकाश सापकोटा~
चढाएर पिठ्युँमा
टेकेर चार हात-खुट्टा
समात्न लगाउँदा आफ्नै कान
तानिदिन्थेँ मैले दायाँ र बायाँ पालैपालो
हट् घोडा हट् भन्दै
लगाउँदै आँगनमा चौध चक्कर
मलाई कहिल्यै नदेखाएको त्यो घुँडा
पत्र पत्र छाला जाँदै पुरिँदै
जोत्दा जोत्दा बुढो भइसकेको
सिँदुरे गोरुको काँध जस्तो भएको थियो होला
हगि बा !
घाम चिहाउँथ्यो उध्रेको कमिजबाट
तर न्यानो छिर्दैनथ्यो
सिरेटो पस्थ्यो दौराका छिद्र-छिद्रबाट
तर शितल दिँदैनथ्यो
फाटेको टोपीबाट बाहिर निस्केको
त्यो कपाल मात्र हुन्थ्यो कि भाग्य पनि ?
इस्टकोटको बगली च्यातेर
टालेको त्यो सुरुवालले
लाज मात्रै ढाकेको हुन्थ्यो कि वेदना पनि ?
अहो, यो त
बा आँसीको बीँड थिए कि श्रीखण्ड ?
भने झैँ बेतुक प्रश्न भयो
हगि बा !
कष्टलाई काँधमा बोकेर
पीडालाई आँखामा लुकाएर
छातीलाई मझेरी ओछ्याइदिने,
पिठ्युँलाई भर्याङ खडा गरिदिने
निधारबाट खसेका संघर्षका झरनाले
लछप्पै भिजेको दौराको गोजीमा
छन्द्र्याङ-छुन्द्रुङ, छन्द्र्याङ-छुन्द्रुङ
बज्थे अभावका अन्तरनादहरू
ती संगीत जस्ता हामीलाई नचाउने
ती संकेत जस्ता संकटमा बचाउने
शरीरमा अमिलो सुगन्ध
मुहारमा पँहेलो मुस्कान
र पनि रमाइलो थियो जिन्दगी
हगि बा !
– कोपनहेगन, डेनमार्क
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )