कविता : पानीको कथा

~सीमा थापा ‘सीमाना’~

पानी जो यत्र तत्र सर्वत्र छ जसको न स्वाद छ कुनै आफ्नो रङ्ग हुन्छ
न कुनै सीमितता न कहीँ बासस्थानको स्थाइत्व न कुनै उमङ्गले छुन्छ
शिलशिला हो जो बगिरहन अटुट हजार नागवेली घुम्तीहरु मोड्दछ
बाटोभरि कयौं अपरिचित संगमहरुलाइ आफुसँगै मज्जाले जोड्दछ।

हरपल र हरहमेशा बग्न बडेमानको बिशाल पहाडहरु ह्वात्तै नाघ्दछ
बढो चोटिलो प्रहार पाएर पनि फेरि अर्को चट्टानसँग ठोकिन पुग्दछ
खन्द्रङ्ग कालोमैलो दहको अन्कटार काप्चा र भंगालोमा झ्वाम्म पर्दछ
कयौ सङ्घर्ष सहेर पनि अन्तत सुन्दर झरना भइ कलकल झर्दछ ।

कतै समथल, कतै शान्त कतै उन्मादसँग छाती चौडा पार्दै पौडन्छ
कहि कुना कुना सार्है साँगुरिएर पनि कति थिर सुस्तरी सुस्तरी तैरन्छ
गतिशील वेग पनि कस्तो हावाहुरी नभनि कतै न विसाइ जो चल्दछ
त्यहि स-सानो पानीको कणले नै ठुलो समुन्द्रको आकार जो बन्दछ।

यसकै तटमा मानव सभ्यता सुरु भएको हो इतिहास आफै बोल्दछ
तटमै जिवनको अन्तिम संस्कार गर्न अन्त्यष्टी कर्ताले लाश पोल्दछ
मसानघाटको खरानी पखालि त्यसकै वरिपरि रातभर टहलिन्छ
र पनि त पानीबाटै हर दिनरात चल्छ,अपरिहार्य तत्त्व जो कहलिन्छ ।

आस्था न हो कहि शिरमा चढाएर कतै त्रिवेणीमा नुहाए पाप हर्छ
पानी जसको साधारण रुपले हर प्राणी जगतको कल्याण गर्छ
विडम्बना जो आफै मलमुत्र फोहर बिसर्जनलाइ उचित ठहर्छ
र पनि त पानीले निरन्तर बरफ देखि वाफसम्मको यात्रा तय गर्छ ।।

पानी जो अनवरत सबै थोपा एकैसाथ मुलधार बनाइ अविरल बग्दछ
सगरमाथाको चिसो हिउ भै जन्मिएर गङ्गा जमुनाको तटमा पुग्दछ
एनटार्टिकामा जमेर, प्रशान्त महासागर पग्लेर संसारका कुना डुल्दछ
जलचरको सुरक्षित वास, प्यासीको प्यास, नुनको भण्डार बाढ्दछ।

पानी गुण मै सहज भएरै जो पृथ्वीको अधिकांश भागमा फैलन्छ
निलेश्वर महादेव, इन्द्रदेव झै कतै, कतै स्वच्छ कतै आफै मैलन्छ
अन्तत वाष्पिकरण पछि तातो वाफ भइ निलो निलो आकाश चुम्दछ
फेरिपनि बर्षा वनि झर्दा यो धर्ती प्रेमिल प्यासी झै तृप्त भै झुम्दछ ।।।

जब वनजङ्गल र वनस्पतिका जरा जराहरुबाट पानीको मुल फुट्दछ
समयको चक्र पिच्छे या थिचोमिचोमा परेर बाढी काली बनेर कुर्लन्छ
सन्चिता गरे सिचाईको अपठ्यारो कुलो पनि सजिलै उक्लन्छ
संसारलाइ उज्यालो दिनलाइ आफु चपेटिएर पानी घट्टामा उफ्रन्छ।

प्रचण्ड गर्मीमा पनि बगरे खेतीलाइ धर्ती माताले झै स्तनपान गराउँछ
पानीजन्य पर्यटनले मान्छेहरुको जिविका चलाउछ मन पनि भुलाउँछ
पानीको सदुपयोग ,उचित व्यवस्थापनले अर्थतन्त्रमा समुन्नति ल्याउँछ
सगर देखि सागर सम्म ,बार्हमाण्डकै शिर उचो भन्दा उचो चुल्याउँछ।

जहाँ ठुलो ठुला बन्दरग्राह सम्म थरिथरि जहाज वारीपारी दौडन्छ
जलमार्गले देशको समृद्धिमा मितेरी साइनोको दरिलो पुल जोड्दछ
प्राकृतिक या प्रसोधन गरे पिउन योग्य पानीको राम्रो व्यापार चल्दछ
मत्स्य पालन र सबै जलचरलाइ संरक्षण,पर्यटन प्रवद्र्धन मिल्दछ ।

त्यो भव्य सागरहरुमा छालहरु उठेरै रोमान्टिक दृश्यहरु जो बन्दछ
बगिरहने पानीको दुइ किनारा जो कहिल्यै मिल्दैन तर खिइन जान्दछ
बढो आश्चर्यजनक त के लाग्छ कि आदर्श मान्छे कति सजिलै भन्दछ
समुन्द्र हुनु जसको मौनताको गहनताभन्दा खजना मुल्यवान ठान्दछ।

सङ्घर्षले मात्र सफलता मिल्छ जसरी समुन्द्रमा मोती छुपेको हुन्छ
निरन्तर बग्ने पानीका थोपा थोपा मिलेर सात महासागर बनेको हुन्छ
पानीको तरल सतहमुनि गहिराइमा पनि अनेक रहस्य लुकेको हुन्छ
तसर्थ मानिसको जीवनीसँग पानीको कथा र कहानी मिलेको हुन्छ ।

सीमा थापा ‘सीमाना’
कपन काठमाडौं

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.