~अगमसिँह गिरी~
युद्व र योद्वा
[खण्ड काव्य]
युद्ध, र स्वत्व अभिव्यक्ति
एघाह्न वर्ष आफूसँग राखेर मात्र ‘आँशु’ प्रकाशित गर्ने गिरीले थालेको एघाह्र दिनभित्र आएर भन्छन्, ‘युद्ध र योद्धा’ प्रकाशित गर्छु ।गमसिंह गिरी
‘याद‘ (सन् १९५५) र ‘आँशु’ (सन् १९६८)-पछि ‘युद्ध रयोद्धा‘ श्री अगमसिंह गिरीको काव्यकृति पाएका छौं। ‘आँशु’ लाई गीतिकाव्य र अन्य दुइलाई गिरी खण्डकाव्य भनी छुट्याउँछन् । ‘आँशु’ अवश्य गीतिकाव्य थियो तर त्यस अघिको ‘याद’ र अबको ‘युद्ध र योद्धा’ हामी गीतिकाव्यभित्रै हेर्छौं | भन्नेहरू भन्छन्, काव्यमा सङ्गीतको सहज सामञ्जस्य भएनै गीतिकाव्य बन्छ, नत्र मात्र काव्य हुन्छ, खण्ड वा पूर्ण । तर आज हामी गेयतालाईनै गीत भन्दैनौं। गीत – प्राण अर्कै थोक छ जुन गाइने काव्य हुँदैमा हुँदैन। भानुभक्तको रामायण गाइन्छ तर त्यो गीतिकाव्य होइन । सङ्गीत गीतिकाव्यको त्याज्य एउटा वाह्य उपकरण र रूढिगत परम्पराको अवशेष मात्र । गीत काव्यको गलामा होइन आत्मामा होस् । भावावेश, सौन्दर्यानुभूति, आमाभिव्यक्ति गीतात्मकता हृदयमा राखेर गीतिकाव्य बनेका हुन्छन् । यी तीन तर रोमाण्टिशिज्मका अवयव चिह्रिएका छन् । गिरीको क्लेश, अवसाद, रूदन र मत्तताको एक आन्नद प्रदर्शनमा छ, दु:खको भावुकता छ जुन रोमाण्टिशिज्म हो । रोमाण्टिशिज्म मानसिक वातावरण बनेकोमा कवि कवि गिरीको दुःखुवादलाई, यतिका वर्ष पर्खी केही विषलेशण गर्नै बेला आइपुगकोछ । किन गिरी दुःखी भएको कविता लेख्छन् ? कुनै दार्शनिक विचारको व्याप्ति पक्रेर गिरी दुःखवादी भएका छैनन्, बुद्धको दुखात्मक भाव उसको काव्यको विश्व होइन । गिरीको पैतृक, पारिवारिक वा व्यक्तिगत जीवनमा कुनै अपघात छैन । फ्रायडसँग लागि उसको अन्तश्चेतनामा दमित कुनै अतृप्ति देख्नखोजेर वा एडलरसँग लागि गिरीमा अवरता ग्रन्थि खोजिहेरेर त्यस दुःखको व्याख्या पाउँदैन । विषम युग- स्थित सबलाई आइपरेको थोक हो । त्यो, दुःख गिरीले चै नाम्लो लाउनपर्ने भार हुँदैनथ्यो । दुःख त गिरीको आवरण होइन, छल हो । भ्रम होइन भत्र नसकौंला, उसले अभ्यस्त आफूमा हुर्काएको विशेष अभिप्राप्ति भनेर गिरीको क्रोध सहौंला । तर यस प्रवृत्तिको स्रोतमा गिरीको मनस्प्रकृति छ जसले हाम्रा दृश्यमान र अनुभाव्य सबैदेखि आफ्नै दुःखार्द्रता प्राप्त गर्छ भन्ने सत्य पनि अस्वीकार गर्न सक्दैनौं । जातिको सामान्य दैन्य र वैयक्तिक साधारण असफलताहरूको यथार्थिकताको दुःखभन्दा कवि गिरीको मनस्प्रकृतिको दुखप्रवृत्ति जेठो थियो । दुःखवादनै गिरीको रोमाण्टिशिज्म हो भन्नलागेकाछौं । दुखवादनै गिरीको दिन र दृष्टि हो, रात र स्वप्न हो। गिरीभित्र भएको रोमाण्टिक कवि दुःखवादको पथ पक्रेर निस्कन्छ ।
गोरखाली सैनिकहरूले गरेको युद्धमा कबि दुःख (अर्थहीन अस्तित्व । महत्ताहीन उत्सर्ग । आक्रोशपूर्ण अन्योलहरू) देख्छन्, कारण, युद्ध त्यो तिम्रो आफ्नो युद्ध थिएन’, दोस्रो महासमर पर-अस्तित्व जोगाइदिन किनिएर हामीले लडेका थियौं । दश रेजिमेन्ट गोरखा सेनाका अरू पाँच दोबर थपिई पुगनपुग एक लाख गोरखाली सैनिकहरूले दोस्रो विश्वयुद्धमा लडेका थिए, तर तिम्रा साहस-शक्ति, आँट र सामरिक पुरुषार्थको मोल अघिनै चुक्ताइएको थियो ।’ प्रवासमा जन्म भएको दुःख मान्ने कवि, स्मृति र अनुभव सबै विषादयुक्त मान्ने कविले दोस्रो महायुद्धमा हाम्रो उपस्थिति कलंकित देखे आफ्नै दृष्टिले । कविहरू र तिनका काव्यभाव तर्क गर्दैनन् भन्दैमा यहाँनिर यतिबैला तर्क गर्नेहरू अघि यहाँ आउने छैनन् भन्नपर्दैन । युद्ध ‘कहिले आफ्नो’ हुन्छ? जब त्यो सैनिकहरूको आफ्नो वर्गको रक्षा र विजयको यद्ध हुन्छ । युद्ध नगरी हामी भागेको भए कविले दु:खी हुने अर्को निहुँ पाउँथे, कारण दुःखी हुने प्रवृत्ति उसमा अमर छ युद्ध हामीलाई पेटपालोको एउटा पेशा मात्र, जस्तो अरू अनेक वृत्ति सँगैमा लिएकाछौं: अरूका भारीहरू बोकिदिन्छौं, अरूका हिसाब-कितापहरू राखिदिन्छौं, त्यसरी अरूका लडाइँहरू लडिदिन्छौं भन्ने समानताको तर्क गिरी घिनाएर छुन चाहिंदैनन् । युद्ध उनलाई ‘स्वत्व’ हो, युद्ध लड्नु त्यस स्वत्वको साधनाको निम्ति प्राण-पर्यन्तको अभियान हो ।
‘वीर पूर्वजहरू नचिनेर तिमीले के गर्नु
तिमीले त तिम्रा
गोरखाली मुटुमा
पिढी-पिढीका अज्ञात संस्कारहरूसितै
पूर्वजहरूलाई थुनिराखेकाछौ
युद्ध बोकेरै प्राणपनमा
हिंडिरहेछौ यसैले तिमी
दापका खुकुरीमा खिया पर्दै रहुन्
स्व – अस्तित्व र पर-अस्तित्वका
गुजुल्टिएका व्याख्याहरू
तिमी बुझदैनौ, युद्ध बोकेरै हिंडिरहेछौ यसैले’
गीतिकाव्यले गाएरै आफ्नो अस्तित्व घोषित गर्नपर्दैन, छन्द र लयहरू पर पन्साउँदै पनि गीतात्मकता अभिव्यञ्जित भएको छ । यस जातका कविताको उत्स कहँदै शेली आफ्नो ‘डिफेन्स अफ पोएट्री‘मा लेख्छन्:
Poetry is not like reasoning, a power to be exerted according to the determination of the will. A man cannot say, ‘I will compose poetry.’ The greatest poet even cannot say it; for the mind in creation is as a fading coal, which some invisible influence, like an inconstant wind, awakens to transitory brightness…and the conscious portions of our natures are unprophetic either of its approach or its departure. Could this influence be durable in its original purity and force, it is impossible to predict the greatness of the results; but when composition begins, inspiration is already on the decline, and the most glorious poetry that has ever been communicated to the world is probably a feeble shadow of the original conceptions of the poet. I appeal to the greatest poet of the present day, whether it is not an error to assert that the finest passages of poetry are produced by labour and study.
काव्यसृजनाको उपर्युक्त रोमाण्टिक धारणासँग सहीछाप गरेर गिरि कविता लेख्न पर्खन्छन् । एघाह्र वर्ष र एघाह्र दिनको लेखन र प्रकाशन काल पनि यसरी आईपर्छन् ।
सामाग्रीलाई रूखपात जस्तो बोकेको तर गिरीभित्र सतहदेखि अर्कै आस्थाको पर्वत छ । पूर्खाले ‘अतीतको अभिमानी उज्यालो हाम्रो असक्त वर्तमानलाई ताप्न‘ दिएका छन्, साँचो हो । ‘एउटा मूर्दा मुहूर्तको अवशेष कुरिरहेको‘ हाम्रो आगतलाई कवि स्पष्ट गर्छन् । जातीय जीवनको प्रहर हाम्रो विराट बौराइ र बौलाइ पर्खेर बसेको छ ।
दार्जिलिङ,
५ जनवरी ७०
-ईन्द्रबहादुर राई
युद्व र योद्वा
[खण्ड काव्य]
दोस्रो महायुद्व : मरेका र घाइते सैनिकहरूको एक सम्झाना
इतिहासको सन्दर्भमा
प्रथम संस्करण: सन् १९७०
म धिक्कारहरूमा बाँच्न चाहान्न
लाङछनाहरूमा जीउन चाहान्न
म अस्तित्वको अमरत्व खोज्दिन
यो कुण्ठित परिवेश भित्र जन्मने
भोलिलाई उसैको गर्भमा रोकिदिन्छु बलजफती
उदास छोराहरू
हाम्रो यो भूमितलमा
फेरी पाइला टेक्न नआऊन्
ती जन्मनुको प्रसव-वेदाना अघिनै
नयाँ सूर्यको, नयाँ ज्योत्सना
हाम्रो आकाश – आकाशमा फलिएको होस् !
हाम्रो धरती – धरती सजिएको होस् !!
समर्पण
युग – प्रतिघातको हाम्रो
विषाक्त अनुभतिहरूमा यातना र पिडाका
नैराश्यजन्य अभिप्राप्तिहरूमा
विपल साहस र संकल्प
आत्म – आत्मामा जन्माएर
अस्तित्वको नयाँ क्षितिज खोजीरहेका
मेरा तन्हेरी पिढीलाई
हाड र रगतका मेरा सन्तानलाई
-‘गिरी‘-
“. . . You can perhaps force a man
to shoulder a rifle, but you can never
make him fight to give his life for a cause which is mot his own…”
-Subas Chandra Bose
युद्ध र योद्धा
युद्ध
रक्त – पिपासा
मानव -मानवका
हत्या र संहारपूर्ण अभिलाषा
विध्वंसतापूर्ण घातक
नस्टप्राय: आकांक्षा
आशु – आर्तनाद – आक्रोश
विधवंसता – विस्फोट – विह्रलता
संत्रास – संघात – संकष्ट
निर्दयता – निरंकुशता – निर्ममता
सर्वत्र एक जाज्वल्य
प्रलयपूर्ण प्रतिरूप
अविछिन्न आतंक, विक्षिप्त
एक विषाक्त अभिप्राप्ति
यद्ध-
अमूल्यता जीवनको
माधुर्य्य जीवनीको
अर्थपूर्णता जीवनको
राशि – राशि स्वप्न -आकांक्षा
सुन्दर यो धरतीको
फोर – फार, चूर्ण – विचूर्ण
मानवको सभ्य अस्तित्व
मानवको सांस्कृतिक महत्ता
काव्य – कला – संगीत
विस्फोटित जर्जरित
एक विनाशपूर्ण परिणति
एक रूदनमय परिवेश
युद्धको विभत्स अवशेष
आघात आर्तनाद
आतंक र आक्रोशमय
युद्धरत एउटा जर्जरित
भयावह अतीतलाई
अनन्तमा डुब्दै
भासिन गइरहेको
अथाह, असीम, अवरोधशून्य
विश्व – महाकालको
एक नगण्य क्षणलाई
तिमीले खुकुरीको हाँक दियौ
मुटुका स्वच्छ
वीरत्वमय रगत लुटाएर
हिमाली आकांक्षा, हिमाली स्वप्न
युद्धाग्निमै सबै होमिदिएर
युद्धले नांगिएको
विवशता युगको
नतमस्तक बनेर लत्रिदियो
हिरोशिमा र नागासाकीको
विस्फोट विभत्सता
विध्वंसता ल विनाशले
कोत्रिएको चिथोरिएको
कुत्सित – कुण्ठित युग
कुठाराघात युद्धको
जर्जरित नांगो वर्त्तमानको
छाती भरिभरु बोकेर
नतमस्तक बनेर लत्रिदियो
मुटुमा अशेष क्रन्दन थियो ।
विवश एक आत्म – समर्पण थियो
योद्धा वीर !
रमाइलो आजको तिम्रो
युद्धशून्य वर्त्तमानलाई
घेर्न आउँदा हुन् सपना- विपनाहरूमा
युद्धका विभत्स स्मृतिहरू ब्यूँझेर
हाहाकार संग्रामकै बोकेर
आशु युद्धको
आर्तनाद युद्घको
तिम्रो शान्त निद्राको
एकान्त सपनालाई
बिथोल्न आउँदा हुन्
तिम्रो विदीर्ण उपस्थितिलाई
निमोठ्न आउँदा हुन्
रक्ताम्मे आकृतिहरू
अंगहिनविह्लल घाइतेहरू
नर -कंकाल ब्यूँझेर
अपूर्ण रगत – रगतका आकांक्षाहरू
असिद्ध युद्ध – पिपासु अभिलाषाहरू
प्रतिशोध – प्रतिरोध
आँखा मुखाकृतिमा बोलेर
पिरोल्न आउँदा हुन्
चियोर्न लामा नङहरूले
तिम्रो योद्धालाई तिमी भित्र
नङराउँन – आउँदा हुन्
रक्त – रञ्जित युद्ध – समाप्ति
ब्यूँझाउँन घरिघरि आउँदा हुन्
युद्ध र योद्धाको तिम्रो
अर्थहीन अस्तित्वलाई
उदेश्यहीन समर्पणलाई
संकल्पशून्य बलिदानलाई
महत्वशून्य प्राणोत्सर्गलाई
मृत शत्रुहरू ब्यूँझी – ब्यूँझी
राक्षसी उन्माद र उत्तेजना लिएर
अट्टाहासपूर्ण हाँसोको
आतंकमय कोलाहल झिकेर
तिमीलाई घेर्न आउँदा हुन्
युद्धहीन तिम्रा सारा
विपनाहरूलाई समेत निमोठेर
बचाइका एकाकी मैन क्षणहरूलाई
कन्टकाकीर्ण तुल्याएर
लड्दै – लड्दै तिम्रा सम्मुख आएका
तिम्रा शत्रुहरू
थिए कति स्वतन्त्र तिमी भन्दा
बलियो एउटा इच्छा
उज्यालो एउटा चाहाना
दरिलो एउटा आकांक्षा
अग्नि – शिखामा लपेटिएर
संत्रासशून्य बनेर
प्रतिरोध – प्रतिशोध- प्रतिहिंसा
प्रलयकारी आँधी बोकेर
स्वाभिमान युद्ध लड्दै
विसर्जन गर्न आतुरिएका थिए आफूलाई
बसशाली अस्तित्व जगाउन
गौरवपूर्ण इतिहास जगाउन
आँखा – आँखामा यौवनको
स्वतन्त्र सपना बोकेर
युद्धका कोलाहलमा ती
रूदन र चित्कारहरूमा
पराधीनताशून्य युद्ध खोजिरहेथे
विजयको प्रज्वलित आकांक्षा
मुटु- मुटुमा सिउरेर
आत्माभिमानपूर्ण युद्धका
ती थिए स्वतन्त्र योद्धा
विगत पराजयको विक्षोप
आँखाका आँशुहरूमा
युद्ध- उत्तेजित हाँसोहरूमा संलग्न थिए
मृत्युकालीन एकाएक संकल्पमा
अनागत पिढीका भविष्य – स्वप्न बोकेका थिए
रगत, उष्ण रगतमा
प्रतिरोध भिजेको थियो
नशा – नशामा तिनका
प्रतिशोध बिजेको थियो
एउटा अभिमानी अतीतलाई
युद्धमा होमेर
मर्यादा राष्ट्रको जोगाइराख्ने
विगत विफलताको
कालो प्रतिछाप
युगको प्रतिघात
मुटुका तहमा लुकाएर
समर्पित हुन आतुरिएका थिए ती
रणभूमिको स्वतन्त्र आह्रान लिएर
आफ्नापनको जिउँदो अभिमान लिएर
ग्लानिपूर्ण एउटा परिजय
आँशु – आँशुले स्वीकार्नु परेथ्यो
हीनतापूर्ण एउटा पराजीत
मुटुका ढुकढुकीहरूमा
झुण्डाउनु परेको थियो
तर बद्लनु थियो
इतिहासका विगत
विक्षोभपूर्ण अविस्मृत पाताहरू
एउटा वलशाली
सजग विपना उमार्नु थियो
सशक्त वर्त्तमान जन्माएर
सचेत अस्तित्व ब्यूँझाएर
छाती – छातीबाट उप्काउनुथियो
आत्म – विक्षोभ, आत्मा ग्लानिका
पिल्सीएको घाउ अतीतको
युद्धकै उपचारले निकोपारेर
खाटा कलंकको
बस्नु दिनु थिएन किञ्चित
छातीमा विदग्ध वर्त्तमानको
तिम्रा शत्रुमा ब्यूझेको
एउटा बिलष्ट ‘अहम‘ – भित्र
उत्तेजना थिए उसैका
थिए प्रेरणा उसैका
आह्वानर आहुति थिए उसैका
चहकिला स्वाभिमानका तिनले
मरणको निर्भयता बाँडिरहेथे
स्वत्वको पुकार थियो तिनमा
युद्धको ललकार थियो तिनमा
मृत्युनै अनि खोजिरहेथे ती
समष्टिगत वलिष्ट
ताता आकांक्षाका परिपूर्तिका निम्ति
समरांगणको तिनलाई
चाहिएको थियो कठोर कष्टप्रद
तर स्वतन्त्र बलिदान
एउटा चोखो मृत्यु
पतन्त्रता शून्य मृत्यु
वलिदानपूर्ण मृत्यु
स्वाधीनता आत्माभरि, आकांक्षाभरि
उन्मुक्ति बोकेको समाप्ति
युद्धमय सपाना – विपनाभरि
अपूर्व एउटा समर्पण
अविस्मृत एउटा उत्सर्ग
योद्धा वार !
तिमी भने तर अहो
स्वतन्त्र अभिमानी
उच्च गौरव हिमालको
वोकेको देशको सीमा – साँधदेखि
सैकडौं टाढा अपरिचित भूमिमा लडिरहेथ्यौ
दासत्वपूर्ण युद्ध
संक्लपशून्य युद्ध
उदेश्यहीन युद्ध
अभिमानी सेतो हिमाल
तिम्रो गौरव – मुकुट
उच्चताको चम्किलोआदर्श
महानताको स्वच्छ प्रतीक
विशालताको गौरव – चिन्ह
तिमीले माटोको पुकार सुनेनौ
तिमीले समपर्णको परिभाषा वुझेनौ
तिमीले युद्धको अभिलाषा बुझैनौ
जन्मभूमिको मौन प्राथनाहरू
वियोगका व्यथालु आँशुहरू
पहाडका अव्यक्त बिन्तिहरू
देउरालीका शूनशान वेदनाहरू
निस्सार थिए विह्वल मर्महरू
फर्क, युद्धको विभीषिकातिर नजाउ
फर्क , दाहानलका युद्धको नहोस व्यर्थ आफूलाई
फर्क, हिमालको वीर छोरो
तिम्रो वीरता तिम्रै देशलाई सुहाएको छ
तिम्रै उत्सर्ग तिम्रै देशलाई चाहिएको छ
मङ्सारको पहेंलो धानबारी
फागुन- वन, चाँप गुँरासका रमिताहरू
पत्रै – पत्रा हिमाच्छादित पहाडका
सयपत्री – मखमली फूवका
पहाड – भञ्जायाङका विमुग्ध रमणीयता
देउराली मन्तिर
हिमाली खोलालई
साक्षी राखेर पिरथी
ग्रामीण यौवन बालाहरूसित
माया साटेको जोवनको
बैंशालु रमित सम्झानाहरू
डाँडा – डाँडाका तिमी हिंडने गोरेटोहरू
एकाकी निर्जन वान्य – पथ बीच
विहँगका सुमधुर गीत – ध्वनिहरू
विस्मृतितिर ओझलिंदै – ओझलिंदै
गए होलान् अबता सबैनै
तिम्रो धरतीसित
आकाश तिम्रै जोडिएका थिए
तिम्रो सपना सित
विपना तिम्रै गाँसिएको थियो
प्यारो रमाइलो
क्षितीज थियो त्यहाँ आफ्नै
हिमाल थियो त्यहाँ आफ्नै
आकाशका जीवनदायी स्वर्ण – किरण
श्रम र पसिनामा प्रतिविम्वित थियो
संकष्ट, रूदनहरूता तिम्रा
घात – प्रतिघातहरूमा तिम्रा
टिठाउने सरल पहाडी हृदयहरू थिए
तर अहो ! अहिले त
अगिल्तिर तिम्रा आँखाका नानीहरूमा
युद्ध ज्वालामुखी छ
एउटा प्रलयमय विपना छ
एउटा संघातपूर्ण सपना छ
सिस्फोटले रंगिएका
जलिरहेका दन्दन् प्रतिक्षण
विक्षिप्त विह्वल क्षितिज छ
विमुक्त थियो वहाँ
उन्माद र उल्लास थियो वहाँ
क्रन्दन र चित्कार छ यहाँ
स्वभिमान र स्वतन्त्रताको बास थियो वहाँ
आत्माभिमान र स्वधिनताको ह्वास छ यहाँ
किचिदै – मिचिदै गइरहेथ्यो
आत्म – गोरव दाशत्वमा प्रतिपल
यसैले त्यो पराधीनतापूर्ण परिवेशमा
स्वच्छ पहाड – बनका
देउराली – लेकाली डाँडाहरूमा
हिमाली सम्झाना नडाक
प्रतिहिंसा र हत्याका
रगतका ताता आहालमाथि
सिनोका दुर्गन्धहरू बीच
स्वच्छ हिमाली पाखा पखेराका
नरंगाउ स्वप्निल क्षणहरू
नसजाउ पवित्र स्मृतिहरू
तिम्रा स्मरण दूषित र रक्तमय छन्
हिंसापूर्ण हत्यापूर्ण
खन्दै गरेका बारीका ड्याङ
तिमी उसै छोडेर आएको थियौ
छाप्रो खर छाप्दै गरेको
तिमी उसै नसेको आएका थियौ
कराइरहेथे गाई – बाख्राहरू
साँझको घाँसको नहाली आएको थियौ
तिमीले वैंशका माया प्रीति
रोपेको मात्र थियौ
फूलेको जीवन – फूल ढकमक्क
छातीमा नसिउरी आएका थियौ
तिम्रो मायालुले मुटुले जोगाएर
हजार सम्झाना यत्नले सजाइराखेकी छे
प्रीतिपूर्ण यैवनका सुखद क्षणहरू
जीवन वरपर विछाइराखेकी छ
तिमी फर्कने पहाड – पथमा
तरूण्य लिपेका मुटुका आँखाहरू छोरेको छ
सुदीर्घ बाटो हेराइमा
प्रीतिको मिठो पर्खाइमा
प्रफुल्लित प्रत्यागमनको प्रत्याशमा
सपना – विपना खर्चेर
सञ्चित स्मृतिहरू
पूजामा साँझ – बिहानका
आँशुका फूल – प्रसाद अर्पेर
जीवनका विदीर्ण क्षणसँग तडपेर
पहाडको नियास्रो एकान्तलाई
कमलो छातीमा झुण्डाएर
देउता पुकार्दी हो रूदनले – आँशुले
वरदान दीर्घायुको मागेर
हृदयका मूक यातनाहरू लुकाएर
मुटुका याचनाहरू फिंजाएर
अनगन्ती टढ्कारा मध्यान्हहरू बोकेर
कयौं सयौं रंगिला साँझहरू
धेरै – धेरै आशालु रातहरू
तिम्रै झझल्कोहरू बाँधेर
बितेका सम्झना बैंशका
मुटुमा थुनेर
निदाउली जीवनको शेष निद्रा
तर, यैवनमय तिम्रा प्यारा स्मृति
स्वच्छै र हरियै रहलान्
निर्दोष त्यो पहाडी मुटुमा
कामनाहरू युगयुगान्तर ओइलाउने छैनन्
आत्म प्रीतिको पुनर्जन्म पर्खेर बस्नेछ
तिम्रो समर्पण थियो: सपना थिए
तिम्रो विसर्जन थियो: विपना थिए
तिम्रो उत्सर्ग थियो: उदेश्य थिएन
आकांक्षा तिम्रा
युद्ध बोलेको थिएन
प्रज्ज्वल मुखाकृतिमा तिम्रो
युद्ध लिपिएको थिएन
आँखाहरूमा तिम्रा
युद्धका झरिला चाहाना छरिएका थिएनन्
युद्ध त्यो आफ्नै युद्ध थिएन तिम्रो
तिमीले त आफूभित्रको आफूलाई मारेर
आफ्नै चिहानमाथि ब्यूँझनु परेको थियो
तिमीले त हर त्या आफ्नै गरिसकेका थियौ
प्रहार खुकुरीको शत्रुमाथि गर्नु अघिनै
स्वतन्त्रता हिमालको तिम्रो
बेचिदिएका थिए अघिनै
स्वार्थमा सामान्तीहरूले
किनिएका थियौ अहो !
वली केवल भइदिनलाई
तिम्रा साहास शक्ति
आटँ र सामरिक पुरूषार्थको
मोल अघिनै चुक्ताईएको थियो
युद्ध तिम्रो थिएन त्यसैले
आत्मा – प्रतिष्ठा कुँजिएको थियो
स्वाभिमान पर – युद्धको
अग्नि – ज्वालामा भष्मीभूत भएथ्यो
स्वप्न – आकांक्षा प्रियता जीवनको सबै
क्षण – क्षण – चूर्ण – बिचूर्ण बनेथ्यो
अनि, फर्केका थियौ तिमी
श्मशानको विरक्ति बोकेर
युद्ध – क्लान्त घाइते शरीर लिएर
रणभूमिको आर्तनादपूर्ण
ध्वनी – प्रतिध्वनिहरू
बलात्कारको आर्त चित्कार
रणप्रांगणको विक्षुब्ध भयावह रूदन
हृदयभित्र लुकाएर
तिमी साना गोरेटो हुँदै
क्षितिजमा विषाद पोखिएको
धमिलो एउटा साँझ झरेपछि
आफ्नै प्यारो गाउँतिर
फर्किरहेका थियौ एक्लै
समरांगणको विभत्स कोलाहल
छातीभरि झुण्डाएर
छाप्रोको त्यो पवित्रतामा
हत्या र प्रतिहिंसाको
घातक युद्धमय स्मृति
फर्किरहेको थियौ समेटेर आफूमा
आकाशको छातीमा
हिमालको आँखामा
छहराको गर्जनमा
स्वागत अभिव्यक्त थिएन
तिम्रो पहाडको छाती शुष्क थियो
प्रत्यागमनको प्रफुल्लता थिएन मुखरित कहीं
तर अहो ! वीर योद्धा
युद्धमय निरंकुश
विदीर्ण अतीतलाई
अधिकारमा ल्याएको निर्रथक अभिमान
पुरूषार्थ र वीरत्वको
अर्थहीन गौरव
युद्घशून्य शान्त वर्त्तमानमा
नमिसाऊ तिम्रा घातक स्मृतिहरू
नसुनाउ तिम्रा पिडापूर्ण कथाहरू
रगतले आजका चोखा सपनाहरू
युद्धका चित्कार नपपगेका
उन्मुक्त स्वच्छ विपनाहरूलाई
आतंकहीन वर्त्तमानलाई, युद्ध व्याथाहरूले
नबिथोलिदेऊ, नबिटोलिदेऊ
मर्यादापूर्ण प्रज्वल्ल अतीत
पराजयमा पनि जीत
नालापानीका युद्धमय स्मृति
कुष्ठित प्राणलाई मेरो
घच्घचाउँछ निरन्तर
नेपालीत्वको जिउँदो अभिमान लिएर
म युद्ध सम्झेर घोरिन्छु जब
वीरहरूका महान् उत्सर्गमा
वीरंगाणहरूका उच्च आत्म – वलिदान
युग – युगान्तर
जाज्वल्य रहने प्रदीप्त आदर्श
देश – प्रेमको विशुद्ध दृष्टान्त
वारत्वपूर्ण इतिहास
स्वत्वको अपूर्व समर्पण
स्वर्णिम र स्मृतिपूर्ण अध्याय एक
अनि – निस्तब्ध खलंगाभित्र
युद्धरत नालापानीको
मृत्युशैय्यामा अन्तम
मर्यादा देशको अंगालेर
रगतका ताता भलमा
विह्वल बनेर छटपटाइरहेथे
मृत्युसँग तर
रोएका थिएनन् ती लत्रिदिएर
स्वत्वको उच्च अभिमानलाई
मृत्युले निलेको थिएन
प्राणोत्सर्गलेनै देशको
अखण्ड स्वतन्त्रता बचाउने
थिए अविस्मृत चाहाना
समरांगणको मृत्युलाई
परम सौभाग्य को
महान् स्वागत जनाएका थिए तिनले
गौरवपूर्ण समाप्तिलाई जीवनको
रणको अभिन्नदन जनाएका थिए तिनले
तिनैको युद्ध थियो त्यो
आत्म – प्रतिष्ठाको युद्ध
तिम्रै माटाको – मुटुको
अगात ममता बोलेको युद्ध
आफ्नै युद्ध थियो त्यो
जीउँदो बलभद्रले
छातीमा नेपाल
बोकेर लडेको गौरवपूर्ण
युद्ध थियो त्यो
स्वाभिमानको युद्ध
आत्म – प्रतिष्ठाको युद्ध
आमाहरूले बालखलाई
दुध चुसाउन छोडेर
शत्रुमाथि अाघात खसाउन
सुरिएका एउटा विचित्र
युद्ध थियो त्यो
नारीका महान् उत्सर्गले
थियो स्वर्णिम अंकित
मर्यादाशालीको एेतिहासिक वैभव तिम्रो
युद्ध – प्रांगण बीच
वीर पतिको अवसानमा
अश्रुमय आँखाहरूमा
वियोग – विह्वलता थिएन किञ्चित्
माथाका सिन्दूर पनछिंदा
छातीका पोते चुडिंदा
हातका चुराहरू फुट्दा
उद्विग्न बनेर छाती पिटीपिटी
रोएर शत्रुलाई हँसाएनन् तिनले
रूदनमय तीव्र आर्तनादले युद्धलाई
विह्वल आँशुमा डुबाएनन् तिनले
बरू मुटुको पीडापूर्ण भक्कानो
मुटुमै बाँधी राखे
सहिष्णुता युद्धको बोकेर
जीउँदो आदर्श उज्ज्वल उभाइदिए
रणभूमिको विध्ंवसता बीच
पूजामथ स्मृति आजका तिनका
हृदसको आलोक बन्छ हाम्रो
ती अविस्मृत अवशेषहरू
विषादयुक्त हाम्रो यो वर्त्तमान
थकित भइसकेको
विकराल युद्ध बोकेर
जीर्णप्राय : अस्तित्व हाम्रो
श्रद्धाले निहुरिन्छ आफै
भक्तिले ब्यूँझिन्छ अझै
अभिमान जन्माएर छातीमा
हेर्छ इतिहासको चिर उज्ज्वल अध्यायलाई
अवच्छिन्न प्रहारहरूका बीच
तोपको मोहरीतिर छाती फर्काएर
मृत्युको हाँक स्वीकार गरे
शक्ति – सत्ताको सम्पन्नतालाई
नांगो खुकुरीको धाकले
विसर्जन माटोको निम्ति थियो
उत्सर्ग हिमालको निम्ति थियो
वलिगान तिम्रै जन्म – भूमि
नेपालके निम्ति थियो
बलभद्रले निर्भयी गोरखालीको निम्ति
गर्विला स्वप्नहरू बोकेर
नेपालीको स्वत्वको सपना वोकेर
गौरवको सुनौलो प्रतिष्ठा देशको लिएर
लडोको स्मरणीय युद्ध थियो त्यो
रक्तपूर्ण जाज्वल्य समर्पणले
पारेर इतिहास आलोकित
अतीतको अभिमानी उज्यालो
हाम्रो अशक्त वर्त्तमानलाई ताप्न दिए
बोकेर छातीमा गर्वमय विगत
हामी रगत – रगतको
तातो – ताता परम्पराले
जिन्दगीको विध्वस्त वर्त्तमानलाई हाम्रो
रंगाईरहेछौं, उचालिरहेछौं
धमिला अस्तित्वमा
कुत्सा कुण्ठाहरूमा
पूर्व गौरवका
सबल आभासहरू समेटेर
हो वीर अमरसिंहको
हिमाञ्चलको अपूर्व सपनाले
एक स्वतन्त्र विपनाको
हिमाली उज्यालो पाएन
युग – स्थितिको कुठाराघात
सहनुपर्यो निर्धा समयको
अमरसिंहको हृदयमा
बसेको स्वभिमानी नेपालले
थुम्का – थुम्का उत्तरको
ध्वजा विजयको उन्मुक्त पवनमा
फ्रफराइरहेको नेपाली गर्वले
अमूर्त सपनाहरूलाई आफ्ना
चम्किला निर्भयी
आँखा – आँखामा बोकेर
सतलज पारीसम्म पुर्याएका थिए दक्षिणमा
पोतिएका खुँडा रगतले
पखालेको थिए अघिनै
पूर्व रण – प्रांगणमा
टिस्टासम्म आएर वीरहरू
साकार गराउन विशाल सपना
आह्वान गरेर
वीर सपूतहरूलाई जन्मभूमिको
युद्धको समर्पणपूर्ण
निमन्त्रण बोकेर अमरसिंहले
हिमाञ्चलको सपना, हिमाञ्चलको ललकार
मुटुमा रोपेर अमरसिंहले
जातित्वको सपना – विपनाहरू भिजेका
रगत – रगतको आह्वान र आहुति बोकेर वीरले
सेताम्मे फुलेका सत्तर वर्षीय
बूढा भक्ति थापा
अमरसिंहका अमूर्त आकांक्षालाई
यौवनमय परिणति दिन
युवक बनेर उभिए
युद्ध – प्रांगणमा
उत्तेजना युवकको बोकेर
कोठाको अँध्यारो एकाकी
रोगी मृत्यु, पीडापूर्ण समाप्ति
मरण – शैय्यामा घिट्घिटो लिएर
शमशानको शून्यता बोकेर कुर्न चाहेनन्
लासलाई आफ्नै रङ्न चाहेनन्
जीवन – अवशेषको
अल्छे उपस्थिति डाकेर
तुलसी जलको घुट्काहरूले
गीताका कर्मयोगका वाणीहरूले
अल्छे समाप्तिपछिको
कल्पानतीत स्वर्गलाई
उज्यालो पार्न झिलिमिलि
विश्वास र आस्थाहरू
चल्मलाएनन् किञ्चित तिनका
“जन्मभूमिश्चय स्वर्गदपि गरियसी….
माटोको पुकार
छातीमा भिरेको थिए भक्ति थापाले
युद्धको ललकार
मुटुमा बेह्वेका थिए अमरसिंहले
देश -प्रेम आँखा -आँखामा
प्रज्वल्लित पारेको थिए तिनले
अन्त्यमा मृत्यु दिए युद्धलाई
निदाइदिए निर्धक्क अनि
मलाउ किल्ला मन्तिरको समाधिमा
नेपाली माटोमा
नेपाली मुटुको
रगत अर्पेर युद्धलाई
इतिहासको गरिमा माथि उचालिदिए
बलिया नेपाली काँध हालेर
वीर याद्धाहरूको
वीर योद्धाहरूले
युद्ध तिम्रै थियो त्यो
तिम्रो माटोको आकांक्षा बोलेको युद्ध
तिम्रै धर्तीको प्रत्याशा ब्यूँझेको युद्ध
तिम्रै बलिदानको रगत मागिरहेको युद्ध
तिम्रौ गौरवको तिम्रै स्वाधीन युद्ध
कोलहलमय समरांगणमा
डाँडा – काँडा वन – पर्वतहरूमा
हिमाच्छादित पहाडहरूमा
मरूभूमिको उतप्त रण – प्रांगणमा
तिमीले आफूभित्रको
वीर अमरसिंहलाई चिनेनौं
वीर भक्ति थापालाई नै देख्नसक्यौ
नाला पानीका वलभद्रलाई
संग्रामको सपनामा
पीएनौ कहिल्यै कदाचित्
किनभने युद्ध त्यो
थिएन आफ्नै स्वाधीन युद्ध तिम्रो
तिम्रै आकांक्षाको युद्ध थिएन त्यो
तिम्रै अनागत सन्ततिका निम्ति
गरिएको भीषण धावा थिएन त्यो
जन्मभूमिको लाज ढाक्न
बिथोलिएका आँखा
नियास्रा आँशुहरू पुछ्न
सीमा – साँधका निम्ति आफ्नै
लडेको मर्यादापूर्ण युद्ध थिएन त्यो
स्वअस्तित्वको युद्ध थिएन त्यो
लडी मात्र दिनु थियो वहाँ
अर्पेर आफूलाई स्वत्व गुमाउनु थियो
युद्ध तिम्रो नहुँदा – हुँदै पनि
योद्धा युद्धभूमिको बनेर
बीसौं शदीको उपेक्षा
दासत्वको सहनु थियो
वीरत्वको र समर्पणको
जाज्वल्य अज्ञात संस्कारहरू
पिढीपछिका पिढीबाट तिमीले
थाप्दै आएको मात्र थियौ
परम्पराले युद्धको विकरालतातिर
घचेट्दै ल्याएको थियो
युद्ध इतिहासको अनुप्रेरणा
युद्ध नशा नशाको अथाह संकेत
युद्ध एक घातक परम्परा
दासत्वपूर्ण वर्त्तमानलाई तिम्रो
मुटुमा उद्धिग्नता लिएर सोध्छु
छातीमा विक्षोभ बोकेर सोध्छु
सन्तान हुननै जानेनौ कि कदाचित्
वीर वलभद्र र अमरसिंहको ?
हो इतिहासका पाना पल्टाएर
स्व अस्तित्वका गौरवशाली संघर्षहरू
हेरेनौ कहिल्यै तिमीले
देखेनौ कहिल्यै तिमीले
अहो! तिमी अपरिचित आफ्नै गौरवसित
अहो, तिमी अनभिज्ञ अस्तित्वको इतिहाससँग
वीर – वीरंगणाहरूका आफ्ना
सहासिला कथाहरू
सुनेनौ कहिल्यै तिमीले
इतिहास कहिल्यै जान्दैनौ
इतिहास तिमी चिन्दैनौ
घटनाहरूले इतिहासको तर
तिम्रो समर्पणपूर्ण अतीतलाई चिन्दै आएको छु
तिम्रो गौरवपूर्ण अस्तित्वलाई चिन्दै आएको छ
वीर पूर्वजहरू नचिनेर तिमीले के गर्नु
तिमीले त तिम्रा
गोरखाली मुटुमा
पिढी – पिढीका
अज्ञात संस्कारहरू सितै
पूर्वजलाई थुनिरहेकाछौ
युद्ध वोकेरै प्राणपनमा
हिंडीरहेछौ यसैले तिमी
दापको खुकुरीमा
खिया पर्दै जानु
शरीर जीर्णताले मक्किंदै रहोस्
स्व – अस्तित्व र पर अस्तित्वका
गुजुल्टिएका व्याख्याहरू
तिमीले बुझ्दैनौ, युद्ध बोकेरै हिंडीरहेछौ यसैले
रणभूमिका हे वीर योद्धा
तिमीले स्वप्नको विचूर्णताले भरिएको
तिम्रो आकांक्षाको हावाले रंगिएको
सिंगो अतीतलाई आफ्नो हेर्यौ भने
अभिमान सबै लंगडा
गौरव जति खोरण्डा पाउने छौ
सुगौली – सन्धिको पर्खाल – मन्तिर
गौरव र अभिमानको
लास भेट्टाउनेछौ अनि
इतिहासको विक्षोभपूर्ण अध्याय
कलंकको एउटा मार्मिक युद्ध – कथा
युगको विषादयुक्त युद्ध – कथा
माटाहरूले बोलिदिनेछन्
सुगौलीका हावाका सुसेलीहरूले भनिदिनेछन्
युद्धले थकित तिम्रा क्लान्त पथहरूमा
टुक्रिएका हजार आकांक्षा
नांगिएका लाखन अभिलाषा
युग – विषमताको निराशा
खिजाउन तिमालाई ब्यूँझनेछन्
तिम्रो रक्त – दानको दुर्गन्धमा
ब्यूँझेर नाक थुन्नेछ
सुगौलीको जीर्ण वर्त्तमानले
टेक्न उठाएको पैताला
रक्त सुकेका बालुवामा
भतभती पोल्नेछ
विध्वंसता विगत विषाक्तता
ब्यूँझेर अतीत बौलाउने छ
तिमी फर्कने बाटाहरूमा
त्यहाँ फिलाङ्गो छैन निभेको अझै
छ खरानीले छोपेको मात्र
वीरत्व तिम्रो निहुरेर रोएको छ त्यहाँ
अशक्तता तिम्रो लत्रनु परेको छ त्यहाँ
त्यही तिम्रो अभिमानले
लंगडो हुनुपरेको थियो
त्यहू तिम्रो गौरवले
खोरेण्डो बन्नपरेको थियो
साम्राज्यवादी फिरंगीको
दर्प – चूर्ण गर्ने
तिम्रा सारा सामर्थ्य
घुँडा टेक्नु परेको थियो
रक्तको गुरू – दक्षिणा
अझै दिनु थियो तिमीले
सन्धिको घातक पर्खाल मन्तिर
किचिएका लासहरूबाट
निस्केका सिनोको दुर्गन्ध
हावामा आज मिसिएर
युद्धकान्त तिम्रो वर्त्तमानलाई
कसरी दूषित पारिरहेछ, हेर
स्व – अस्तित्वको राष्ट्रीय संघर्षपछि
पराजय र विक्षोभहरू झुण्डाएर
उत्पीडित लाञ्छित आत्माहरू
नर – कंकाल सल्बलाइ रहेछन्
सुगौलीको माटाले अझ पर्यन्त
नेपालीको नांगिएको आकांक्षा भनिरहेछ
सुगौलीको आकाशले अझ पर्यन्त
नेपालीको चुंडिएको अस्तित्व हेरिरहेछ
पर – अस्तित्वका भीषण संघर्षहरूमा
तिमी हाँसी – हाँसी मर्नसक्यौ
सुगौलीको पर्खाल मन्तिर
थिचिएको घाइते युगको
अज्ञात आघातहरू समेटेर
युगको विषमता बोकेर
तिम्रो इतिहास
तिम्रो विक्षुव्ध परम्परा
अरूका युद्ध बोकेर हिंड्दा तिमीले
लाज पचेको तिम्रो
निर्धो वर्त्तमानसित रोएको छ
प्राण – आहुतिको अर्थहीनतामा
इतिहासले दाँत किटिरहेछ
एउटा अव्यक्त वेदना गर्भमा बोकेर
जातित्वको दारूण वर्त्तमान तिम्रो
इतिहासको क्षणिक विश्रान्तिमा
अहिले उङ्नथालिरहेछ मात्र
समाप्ति पूर्व इतिहासको होइन
न ता समाप्ति सम्भव छ इतिहासको
अनतिदूरमा जन्मने अज्ञात हाम्रा छोराहरूले
भोगिरहने छैनन्
इतिहासको विदग्धता
अस्तित्वको चूर्ण – विचूर्णता
वीरका वीर्य्यवान् सपूतहरूले
खाल्डा पुर्नेछन् हाड र रगतहरूले
ज्वाला संस्कारको पोखेर
नव आशा, नव चेतनाको
युगानुकूल संकल्प बोकेर
हे वीर योद्धा
युद्धस्थलका चिहानहरूमाथि तिम्रा
सहानुभूतिहीन हातहरूले कुंदिएका
रित्ता श्रद्धाञ्जलिका
बुट्टेदार अक्षरहरू पढेर
सकिनँ तिमीप्रति श्रद्धावान हुन
चिथोरिएको अस्तित्व लिएर
बिथोलिएको वर्त्तमान बोकेर
गोरखालीत्वमा तिम्रो
अभिमानी र गोरवान्वित बन्न
सकिनँ अर्थहीन समर्पणमा
शिर भक्तिले निहुरेन मेरो
मुटुमा श्रद्धाको स्पन्दन उठेन
मेरोअपरिचित सुदूर भूमितलमा
सुतिरहेका तिमीलाई अनि
तिम्रा सम्पूर्ण विवशतालाई
बुझ्न चाहिरहेछु म
क्षम्य ठान्न खोजिरहेछु म
तर, इतिहास तिम्रो विवशतालाई
ठान्दैन क्षम्य कदापी
भोलि उदाउने हाम्रो आकाक्शको सूर्यले
समयको अनर्थतालाई
समर्पण आफ्नो
गरेर निदाएको चिहानमा
सानो टुक्रा एउटा उज्यालो खसाल्नेछैन
विवशता सारा ब्यूँझी
डाँको छोडेर रोइरहुन् त्यहाँ
मुटुमा युद्धको
विध्वस्त आलो स्मृति
बोकेरै एउटा मूर्दा मुहूर्तको
अवशेष कुरिरहेछौ तिमी
विगत तिमीमा ब्यूँझदा
तिमी प्रत्यक्ष देख्ता हौ
तुमुल गर्जन बम – वर्षाका
राक्षसी आकार बोकेका
काला मैला धूवाँहरूभित्र
गढढढ . . . गढडढ …..गढय्याङ ….गुढुङ
विस्फोटपूर्ण प्रलय बोलिरहेको
बलात्कारको चित्कार
अवोध शिशुहरूको आर्तनाद
वियोगका मर्मान्त रोदन
हत्याको जघन्य कोलाहल
हिंसाको विह्वल मर्मस्पर्शी क्रन्दन
ज्वालामुखी
युद्धको
बटारिंदै – लम्कँदै – निल्दै
मुख बाहेर युद्धको, उक्तेजित
संत्रास मानवी धरतीलाई
संत्रास – संघात – संकष्ट
सोह्रेर समेटेर सर्वत्र फैलिरहेथ्यो
युद्धको विनष्ट प्रहार
युद्धको बलिष्ट संहार
युद्धको विषाक्त अन्धकार
एक विक्षुब्ध स्मृति
एक नांगो उपलव्धि
एक रित्तो अभिप्राप्ति
किंकर्त्तव्य विमूढ योद्धा तिमी
छाती – छातीमा युद्ध
बोकेरै हिंडिरहेका थियौ
सपना – सपनामा युद्ध
लिएरै हिडिरहेका थियौ
विपना सारा, जपना सारा
युद्धकै अमानुषिकताले
लुछ्दै – चुंडाल्दै – चिथोर्दै
मरूभूमिका ताता बालुवामा
भीषण निस्तब्ध जंगलहरूमा
हिमाच्छादित चीसा भूमिहरूमा
अग्ला नांगा पहाडहरूमा
घस्रँदै हिंडिरहेथ्यौ
युद्ध – क्लान्त शरीर लिएर
अरूका स्वार्थलाई
संगीनले छयाल्ल -ब्याल्ल पार्दै
अरूका सुनौला सपनालाई
खुकुरीले रक्ताम्मे पार्दै
जीवनका टढ्कारा मध्यान्हलाई
कुल्चँदै – किच्दै – थिच्दै
तिमीले हिमालको खुट्टाले
मरूभूमिको उष्णता कुल्चनु परेको थियो
गौतम बुद्धको
पवित्र भूमितलबाट
स्वयंभू र पशुपतिको देशबाट
प्रतिहिंसा र हत्याको निरंकुशता छातीमा बोकेर
अमानुषिक छातीमा बोकेर
अमानुषिक बन्नसक्यौ कसरी
स्वच्छ निष्कपट सरल
हिमाली मुटुलाई तिमीले
कडा
दरिलो बनाएर
पर – युद्धका धोकाहरू कसरी बोक्नसक्यौ
कपटशून्य – छलहीन -कल्मषविबीन
पहाडी हृदयलाई
युद्धको कुत्सा – कल्मष – कुणठाले
काँडालु विषाक्त तुल्याउन सक्यौ कसरी
पशुपतिको स्वच्छता
गुमाएकै थियौ तिमीले
स्वयंभूको निर्मलता
हराएका थियौ तिमीले
युद्धको विकरलता बीच
रक्तमय कलुषित विपनाहरू
गोली लागेर छट्पटिंदा
बालुवामा भलभल्ती
रगत पहाडको पोखिंदा
आँशु हिमालको छरिंदा
युद्धको विषालु घातक क्षणलाई
कसरी निर्धक्क सह्यौ तिमीले
देशको तिम्रो अभिमान
वीरत्व र पुरूषार्थरो शान
कसरी नांगो भएको थियो बालुवामा
तिम्रो गौरवशाली जातित्व
तिम्रो अभिमानी नेपाली अस्तित्व
चिथोरिएको थियो कसरी त्यहाँ !
विथोलिएको थियो कसरी त्यहाँ !
सहानुभूतिको आँशु पियौ तिमीले
विवशताले तिम्रा हातहरू तर
टम्म कसिएका थिए
शेष निद्रा विकल मृत्युको
निदाउनलाई ढुक्कसँग
खाडलसम्म खनिदिन सकेनौ तिमीले
कात्रो वहाँ नजुटे तापनि
फूल र धूपका सुग्नधबाट
वञ्चित तिनले हुनपरे तापनि
दाह – संस्कार तिनको हुन पाएन
एक अँजुली माटा
संघातपूर्ण विदग्ध छातीमा
अहो, राखिदिन सकेनौ तिमीले
आँशु विदीर्ण – वियोगको झारेर
योद्धा वीर !
आकाशको निर्मलतामा
फर्फराइदिनु थियो तिमीले
अरुकास्वर्थरत इच्छाहरूसँगै
जलेर खरानी बन्नु थियो
अनागत पिढी – पिढीसम्मका
मस्तिष्कमा धब्बा
कलंकको दलिएर
आत्म – स्वतन्त्रता गुमाउनु थियो
बन्धी आफैलाई तुल्याएर जीवनको
अहो ! तिम्रो वीरत्व
पुरूषार्थ तिम्रो
साकार अरूका सपनालाई बनाउन
हत्या र प्रतिहिंसाहरूमा
सीमित र संकुचित
हुँदै गइरहेछ कसरी
गौरवमय परम्पराको तिम्रो
निर्वाह कहाँ भएको छ खोई ?
इतिहासका मृतप्राय:
गौरवलिएर अनि भन्न सक्छौ कसरी
मरूभूमिमा उभिएर गर्वसँग
अभिमानले माथि उचालिएर
बलभद्र र अमरसिंहको सन्तान आफूलाई
सवतन्त्र देशको, स्वतन्त्र छोरो आफूलाई
समाप्तिसँगै युद्धको
आफूमै एक समाप्ति लिएर
युद्धको उत्पीडा व्यथा – वेदना
विक्षिप्त रूग्णकोलाहल बोकेर
विस्फोटका प्तिध्वनिहरू
युद्धका विभीषिकाहरू
बम – वर्षाका घातक गर्जनहरू
प्तिहिंसा – हत्या
रगतका प्रतिछाप छातीमा दलेर
रणका आर्तनाद मुटुमा बोकेर
रूग्णता – भग्नता -जीर्णता
वीरत्व र समर्पणका पुरस्कार
कोसेली युद्धको लिएर
फर्किरहेथ्यौ जन्मभूमितो मायालु काखतिर
हो, तिमी फर्किरहेथ्यौ
बितेका रमाइला – बिरमाइला
युद्ध – स्मृतिसितै मिसाएर
देशका पवित्र माटाहरू कुल्चँदै
पहाड – भञ्ज्याङ – डाँडाहरू
लेकाली – देउरालीका
गोरेटोहरूसितै लम्कँदै
उच्च हिमालको चहक मुटुभरि थापेर
शून्यताका एकाक सम्झानाहरू संगालेर
केको, केको उत्कण्ठा
आँखाका डिल – डिलमा उभ्याएर
तिमी तिम्रै साने छाप्रोतिर, फर्किरहेथ्यौ
तिमी फर्किरहेको शूनशान पथमा
पूर्वीय आकाश रंगिएर बिहानीको
रातो क्षितिजसँगै उदाएको सूर्यमा
संरष्टमय युद्धको
विध्वंसपूर्ण प्रतिबिम्ब
विम्वित अग्नि – ज्वाला रणको
विस्फोटले जलेरो क्षितिज
उद्विग्न दिगन्त दूरदूरका
जर्जरित युद्ध – परिवेश
हत्यापूर्ण अभियानहरू
संग्रामका संघाकपूर्ण स्समृतिबरू
आजको तिम्रो चोखो बिहानीसितै उदाएर
मुटुलाई प्रतिपल – प्रतिक्षण घोंचिरहँदो हो
अन्तरमा अज्ञात विक्षिप्त एक ब्यूँझेर
तारूण्य यौवनको बोकेको
तिम्रो बलियो युवक
मूर्छित छ आज तिमीमै
उंमगहरू पल्लवित हुन नपाई
सपनाहरू पुष्पित हुन नपाई
हृदयको शुष्कतीसँगै ओइलिएको छ
मुटुको नग्नतीसितै नांगिएको छ
समयको प्रतिघातसितै कोत्रिएको छ
भष्मीभूत बने मधुर आकांक्षा सबै
होमिए, युवा -स्वप्न युद्धमै सारा
योद्धा ! तिम्रा युवक तिमीमै
अब सँधै -सँधै मूर्छित रहेरै
अभिशप्त शेष उपस्थिति बीच
जिन्दगीको विदीर्ण समाप्ति कुर्न लाउने छ
अवशेष पर्यन्तको
अर्द्ध – मृत बचाइका क्षणहरूमा
जीवनदायी स्वर्णिम तत्वहरू
छैनन् छिर्ने अब कतैबाट
बेहोशिंदै – बेहोशिंदै बाँच्नु छ तिमीले
सक्दै मात्र लानुछ समाप्तितिर
जिन्दगीका अँध्यारा क्षणहरू
यौवनका प्रिय उपलब्धिहरू
सौकुमार्य सारा
युद्धलाई नै समर्पण भो सदैवको
जलेको आकांक्षाका खरानीहरू
भष्मीभूत स्वप्नहरू बीच
अप्राप्ति, अनुपलविधिपूर्ण
रित्तो जीवन जिउनु छ
वाग्मतीको शीतल जलको तृष्णा
पशुपति दर्शनको अन्तिम अभिलाषा
हिमालको विशुद्ध काखमा
अर्थहीन समर्पण
मूल्यहीन वलिदान
महत्ताहीन उत्सर्ग
समाप्ति प्रज्वल्ल आकांक्षाहरूको
परिशेष मोहक इच्छाहरूको
मृत्यु जिन्दगीका कामनाहरूको
कुण्ठित अभिप्राप्तिहरूको
योद्धा ! तिम्रो आक्रोशमय अस्तित्वको
लंगडो र डुँडो भएर
युद्धको विध्वस्त परिणाम भोगिरहेका
युद्धकै विगत विभत्स स्मृतिहरू
मुटुमा सिउरी – सिउरी
बाँच्ने हे ! वीर योद्धा
समर्पणको मूल्य
सुदीर्घ सेवाको असीम उपहार तिम्रो
वीरत्व र बहादुरीको
प्रशंसनीय पुरस्कार
स्मृति – चिह्न रण – प्रांगणको
अमूल्य तक्माहरू हेरिरहू
अनिमेष दृष्टिमा अल्झाएर
क्लान्त धमिला आँखाका
नानीहरूमा झुण्डाएर
सानो युद्धरत अतीतलाई
जितेर काबुमा ल्याएको
स्वर्थरत सामन्ती – स्वपन्लाई
रक्तमय विपनाले उज्यालिदिएको
हजार – हजार प्राणको बलिदीनले
स्वार्थ – तृष्णा अरूका मेटिदिएका साहसिला सम्झाना विगतको
नांगो यो वर्त्तमानमा ब्यूँझेर झिक्दै
मुटुमा यत्नले थन्काइरहू
शेष जिन्दगीका
घायल यात्राहरूमा
दिवा – स्वप्न सजाइरहू
तक्मा सुँघिरहू !
तक्मा सुमसुमाइरही !!
युगको कुण्ठा र ग्लानि
प्रतिघात र समयको पीडा
बिर्सनसकेको उसले कसरी सजिलै
सुगौलीको विषादयुक्त चिताग्निमा
देशको गौरव खरानी पारेर
साम्राज्यवादको पाश्विक स्वप्न्लाई
साकार तुल्याएको
इतिहासको अन्धकारपूर्ण
ग्लानिमय दुर्भाग्यरत
विक्षोभपूर्ण अतीतलाई
बिर्सनसक्यो सामन्तीले
शथुलाई मित्र मानिदिएर
इतिहासको प्रतिघातलाई अझै कुल्चिदिएर
हामी अपंह, युग – विषमताको
हामी खोरण्डा, युग – आघातको
हामी लंगडा, युग – प्रहारको
हामी बैह्रा, युग – आर्तनादको
हामी असक्त, युग – प्रवलताको
अहो ! हामी टुक्रियौं
टुक्रिए सीमा – स्वप्नहरू
टुक्रिए साँधहरू
बिथोलिए कोटि – कोटि आकांक्षाहरू
चुँडियौं हामी, चुँडिए आशाहरू
इतिहासरा विषाक्त पाताहरूसँगै
बिछोडियौं विध्वस्त विचूर्णतासँगै
नांगियौं निर्लज्ज बनेर
उदांगियौं आफैलाई नंगाएर . .