कथा : रमा

~भवानी भिक्षु~

कुनै नराम्रो काम भएको थिएन । मस्तिष्कविज्ञान र शरीरविज्ञानले त भन्छन् ‘बिलकुल स्वभाविक’ अगाडिको कुरा म जान्दिनँ ।

‘रमा’ सम्मानित बाबुकी, सम्पन्न र मर्यादाशील कुल– परिवारकी छोरी । पढेकी, लेखेकी, गृहकार्यमा निपुण । उमेर बीस, बिहा भएको थिएन ।

एउटा आदर्श थियो ‘बिहा गर्नु बन्धन हो, आफ्नो जीवन, यौवन, सौन्दर्य र सुखको दुरुपयोग ।’

अनि – पढेर, लेखेर, आमा–बाबुलाई रिझाएर त्यसले माथिको सिद्धान्त बनाउने बल प्राप्त गरेकी थिई । आफ्नो विचारमा अलि–अलि दंम पनि संचित गरिराखेको थिई । गर्व थियो– ‘म जान्ने हुँ, म पवित्र हुँ, म आदर्शशील हुँ ’

उसकी आमा चाहन्थिन् छोरीको चाँडै बहा भइहालोस, गृहस्थी बनोस् । उमेर धेरै भइसक्यो । छोरी यत्तिको पढ्ने, लेख्ने, पोष्ट अफिसका थरी–थरीका टिकट बटुल्ने । दृश्यहरूको र मनुष्यहरूको फोटोसमेत बटुल्ने, फेरि कता–कता पठाउने र कुन्नि कता–कताबाट त्यस्तै आउने । सबैभन्दा ठूलो कुरा के त, कहाँ–कहाँका देश–विदेशका लोग्नेमान्छेहरूसित टिकट–सिकट लिएर चिनाजानी पनि राख्ने ।
उनी डराइ पनि रहेकी थिइन् – पढेकी, लेखेकी एकमात्र छोरीलाई अलि केही दबाउन–होच्याउन खोजें भने ‘बिहै गर्दिनँ’ भनिदिई भने……! वा यस्तै अरु पनि केही भनिदिई भने ….! सात पुरुखा नरकमा जाने, नाक काटिने, सबै हाँस्ने…..! होइन बा ! अब त काम चलाउनैपर्‍याे । चारैतिर सँभालेर खालि कुनै तवरले बिहामात्र गरिदिन पाए…।

अनि एउटा लामो सास फेरेर भन्थिन् – हे पशुपतिनाथ !

बाबुचाहिँको अनौठो ढंग र संस्कार । आफ्नो हिसाबले शिक्षित मनुष्य, बीस वर्षअघिका ग्¥याजुएट । किन्तु हिजोआजका सबै थोकलाई नमान्ने । केवल ‘पुजा, पाठ, धर्म, आचार र परिवारको मर्यदा ! ईमान्दारी र नियमित जीवन !’ यतिमात्रै बिलकुल ठीक, बाँकी सबै बेठीक ।

छोरीको हकमा शिक्षाको हिसाबले अलि–अलि खुकुलो, नियमको हिसाबले धेरै बढ्न नदिने ! मर्यदापूर्वक आधुनिक रह्यो, झन बेस। उत्तम, नभए यस्तो आधुनिकता चाहिन्न । टिकट र फोटो बटुल्ने, साट्ने, यो त शिक्ष हो ! छापामा टिकट बटुल्ने–श्रेणीमा नाउँ निस्क्यो, शिक्षा हो । प्रसन्न हुने कुरा हो । चिनाजानी भएर के हुन्छ ? खास गरेर त्यति टाढा–टाढा (!) टाढा नभए शायद अलि केही … ।

आदर्श बाबु चाहन्थे– कुनै तवरले छोरीको बिहा हुनुपर्ने हो । उमेर धेरै चढिसक्यो । तर बिहा त कुनै शिक्षित र सम्पन्न परिवारमा गर्न पाए मात्र वेस । कोशिश यही गर्नुपर्छ । पढेलेखेको छोरी, ठाउँमा पारिदिए नाउँ पनि हुने, यश पनि मिल्ने ।

उनी छोरीलाई माया गर्थे । अलि–अलि खुकुलो पनि पारिराखेथे, आधुनिकताको माजा लिराखेथे । किन्तु बन्धन तर राम्ररी समातिएकै थियो । कुन्नि कस्तो अवसर पर्न आउँछ, उस बखत च्वाट्ट डोरी तान्यो कि कस्सिन नै जाने ।

सधैँ सुत्न जाने बेलामा सोच्तथे– कुनै लायक ठाउँ पाइदिए त … छोरीलाई अब त दिनैपर्ने हो ।

रमा– उपन्यास, कथा पढेर प्रेमको महत्व बुझ्ने  घमण्ड प्राप्त गरेकी थिई । त्यही अन्तरप्रवाहमा प्रेमको परीभाषा लिने कुनै अज्ञात चेताना उसको मस्तिष्कमा घुमिरहेको थियो ।

उसको बाबुको घरकाज गर्ने एउटा मूल कारिन्दा थियो । एक दिन उसले आफ्नो छोरोलाई ल्यायो । कलकत्ताबाट आई.ए. पास गरेर छुट्टीमा आएको । मालिकको दर्शन त गराउनैपर्‍याे ।

मालिक, मालिक्नी सबैले कुरा सोधे । शुभकामना, सहानुभुति प्रकट गरे । मैयाँसाहेबले पनि सोधिन् – पढाइलेखाईको कुरा, कलकत्ताको रमाइलो, सिनेमाहरूको आलोचना, नयाँ–नयाँ रेकड्हरूको संगीत–उत्तमता इतयादि ।

बिस्तार – बिस्तारै फोटोग्राफी र टिकट संकलनको आधुनिक फेशनले भरिएको आफ्नो–आफ्नो रुचि–प्रदर्शन पनि भयो । युवक कहिलेकाहीँ आफैँ दर्शन गर्न आउने र कहिलेकाहीँ मैयाँसाहेबले कुनै पढ्ने–लेख्ने विषयमा आफैँ डाक्ने अथवा पुर्जी लेखिपठाएर सोध्ने ।

प्रेमको सोख थयो, प्रेमको उमेर, प्रेमको आकांक्षा । गर्न थाले दुवै परस्परमा प्रेम । पात्रहरू र दर्शन–भेटहरूमा अब एउटा कुनै अर्कै चेतना बग्न थाल्यो ।

अनि दुवै एउटा रमाइलो जूनको तल, वासन्ती वायुको स्पर्शमा, तातो तातो सासभित्र दुवैले परस्पर समर्पणका अनेकौँ प्रतिज्ञा गरे, अनेकौं आश्वासन, अनेकौं पवित्र सहानुभूति । दुवैले आफूभित्र आफूलाई आदर्श प्रेमी निर्धारित गरे ।

अन्तमा ––

बाबुले अनासक्त भावमा एक दिन एकातिर आफैं भने – त्यतिको टिकट, फोटोग्राफी, किताब, उपन्यास लिएर कहाँसम्म नाउँ चलाउन खोजेकी ! दुनियाँको कुन हिसाब–कितब चलाउन लागेकी रहिछ कुन्नि, रंग–न–ढंगको कुरा !

डोरी तानेर मनमनै भने – कुनै तवरले ठाउँमा बिहा गरिदिन पाए यही आधुनिकताले नै त कति इजजत हुने थियो !

आमाले शंकित हुँदै, कंपित हुँदै, पशुपतिनाथलाई सम्झिँदै सम्झाउन–बुझा–उन लागिन् – मैयाँ ! दुनियाँको चाल–चलन अनौठै छ, कसैमाथि छिटो हाल्न बेर लाउँदैनन्, धेरै किसिमका कुरा, चाला गरेर के फाइदा ?  घरमा बस्नु, खानु, कुरा गर्नु, हामी स्वास्नीमान्छेहरूलाई यति भए त पुग्यो !

कुरा–कुरैमा बुझाइदिइन् – अबउप्रान्त किताब–सिताबको लिनुदिनु नगर्नू, कसैसित धेरै चिनाजानी बढाउनुपर्दैन्, त्यो हाम्रो को हो र ? आफन्त पनि होइन, नातादार पनि होइन । भो अब, टिकटहरू बटुलेर हामीलाई नाउँ कमाउनुपर्दैन ।

मनमनै भनिन् – पशुपतिनाथ ! बिहा भइदेओस प्रभु ! एउटा गलग्रह छुट्ने थियो ।

रमाले पनि स्वीकृति दिई ‘हुन्छ, हजुरको सुख, सन्तोष, आज्ञा जुन होला हामीले त्यही नै गर्नुपर्छ ! त्यसै गरुँला । अझसम्म हजुरकै काखमा हुर्के–बढेकी हुँ, अब पनि त्यसमा कुनै बाधा पर्नेछैन ।’

एकपल्ट उसको अन्तरमा उम्ल्यो ‘विचरा’ । एकपल्ट सम्झना भयो ‘अनेकौँ हृदय–व्यथा, समर्पण पोखेका पत्रहरू, प्रतिज्ञा, हृदयको अतीत ।’ तर …? ‘उँह ! केही पनि छैन ।’ आमा–बाबुको भक्त ! ‘कुरा नमानेर उहाँलाई दुःख दिन जान्दिनँ । मेरो मुक्त जीवन, मेरो पवित्र जीवन !’

कुरा गरी आमाको भक्ति, बाबुको मर्यादामा ओतप्रोत भई युवकलाई लेखिदिई – ‘हाम्रो परिवारको मर्यादा विरुद्ध छ, आमा–बाबुको आज्ञा छैन, अबउप्रान्त केही सम्बन्ध राखेर के लाभ ? ’

मनमा फेरि एक पटक चियायो– ‘विचरा…।’ भो ! मलाई अरु काम छैन र ? बेला छ, सितार छ, हार्बिन छ, अनेकौँ सोख, मोज, मज्जा !

दुइ दिनपछ सहन नसकेर फेरि एउटा पत्र बिचरा युवकले लेख्यो । दर्दले भरिएको कस्तो पीडापूर्ण थियो त्यो पत्र !

उत्तरमा रमाले लेखी – ‘अब फेरि यस्तो त के, केही पनि लेख्नुपर्दैन, मेरी आमा, मेरो बुबा…। ’ यस्तै अरु कुन्नि के–के !

नारीको राक्षसले हाँस्यो – मूर्ख, पत्र लेख्छे । प पनि मूर्ख छु, यत्तिको बढ्नै दिने काम थिएन ।

सामुन्ने एउटा सानो जातको कुकुर थियो । उसलाई उठाएर र छातीमा च्यापी प्यारो गरेर म्वाइँ खाई ‘मेरो लूसी, मेरो लूसी ।’

मूर्ख, कुकुर …! त्यस युवकले फेरि केही लेख्न सकेन । अनि सबै थोक एकदम बन्द ।

साधारण जीवनको बिचरा युवकले बुझ्‍नै सकेन – प्रेमको यो कुन चाला हो, यो कुन श्रेणीको प्रेम हो, यो कुन रीति–थितिको प्रेम हो ?

उसले यस कुराको थाहै पाउन सकेन कि राम्रा-राम्रा लुगा लगाउनु, राम्रा – राम्रा मिष्ठान्न खानु, राम्रा–राम्रा फेशन बनाउनु, नयाँ – नयाँ खेल खेल्नु झैँ कहिलेकाहीँ कतै नयाँ–नयाँ प्रेम पनि गरेर मानिस आफ्ना आनन्दको बृद्धि गर्दा रहेछन् ।

मूर्ख अभागी युवकले आफ्नो सर्वस्व दिसकेर पछिबाट आजन्म यही सोचिरह्यो – ‘प्रेम लिएर मान्छे व्यवसाय कसरी गर्न सक्तछ ? प्राणको खरीद– बिक्री, नाफा–टुट्टा, हिसाब–किताब र हृदयमा बेपारबन्द कसरी साध्य भएछ ?’

भवानी भिक्षुद्वारा  लिखित कथा ‘रमा’ को रचनाकाल बि.सं. १९९९ हो । 

(स्रोत : साझा प्रकाशन- गुनकेसरी कथासंग्रहबाट साभार )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.