ऋषि बस्ताकोटीका बाह्र मुक्तक

~डा. ऋषि बस्ताकोटी~

गाउँ बग्दा बाढीले सबै लालाबाला लग्यो भन्छन,
खेतभरि असिनाले धानको बाला लग्यो भन्छन,
आउन त आउँदै थिए उनीहरू हाम्रै उद्धार गर्न-
विचरा, मालाले तिनको गलाको छाला लग्यो भन्छन् ।

*****************************

अलोकतान्त्रिक निर्णयको राजधानी जस्तो,
सीमा नदीबाट बेचिएको आफ्नै पानी जस्तो,
अपनत्वविहीन शिलशिलाहरूले घेरिँदा लाग्छ-
हामी बनिरहेछौं- खैर अपत्यारिला कहानी जस्तो !

*****************************

न्याय मर्‍यो, अपराधीको डर गुम्यो भन्छन्
राज्यले पाउने करोडौंको कर गुम्यो भन्छन्
भर्भराउँदो तिमी भयौ, देश सुक्दै जाँदा-
तिमीसित दुनियाँको भर गुम्यो भन्छन् ।

*****************************

हिंड्दा हिंड्दै मूलबाटोको बीचमा फाटेपछि
यौटै शरीर यौटै प्राण हो भन्दै ढाँटेपछि
फल्ने हो कि ढल्छ अब जिर्ण भा’को त्यो रुख-
सबै मिली मूल जराको ठाउँमै काटेपछि !

*****************************

पानीले झैं भाँडैपिच्छे आकार बनाउनुहुन्छ
जता गयो त्यसैलाई ‘मुलधार’ बनाउनुहुन्छ
बटुवा पनि झुक्किन्छन्- यता जाऊँ कि उता जाऊँ-
भाखा फेरेर बेग्लाबेग्लै दोधार बनाउनुहुन्छ ।

*****************************

कसैलाई उज्यालो मनपर्छ, कसैलाई अँध्यारो मनपर्छ
धारो चाहिन्न कसैलाई, अझै त्यो बेसीकै पँधेरो मनपर्छ
कोही अग्रगामी छन्, कोही उग्रगामी छन् दुनियाँ आफ्नै छ
खान पल्केकाहरुलाई आसेपासेहरुकै चौघेरो मनपर्छ ।

*****************************

सागपात होइन, हरिया चुराका कुरा गर्नुस्,
शक्ति नापेर को बलिया को लुराका कुरा गर्नुस्,
सिधै सके सिधै नत्र बाङ्गै भए पनि खेल्नुपर्छ-
लुकीलुकी हान्ने त्यो धारिलो छुराका कुरा गर्नुस् ।

*****************************

तथ्यहीन तर्कशास्त्रीहरूको लाम देख्छु
विषाक्त विकीरणयुक्त कालो घाम देख्छु
खै के भएको हो आजकाल यो दुनियाँमा
पुज्दै आएका भगवानहरू बद्नाम देख्छु ।

*****************************

देश चलाउन त के, घर चलाउन पनि विवेकको कुरा हुन्छ,
विविधतालाई बुझ्यो भने इन्द्रेनी सोेेन्दर्यमा हरेकको कुरा हुन्छ,
सत्ता र शक्तिमा हुनेले यो सम्झुन् कि- म एक दिन शक्तिबाट झर्नेछु,
सत्तामा हुँदा त सुन्नुपर्ने दुनियाँमा एक एकको कुरा हुन्छ ।

*****************************

झुकाउन खोज्नेहरू झुक्न थाले भने
दुखाउन खोज्नेहरू दुख्न थाले भने
त्यति बेला सोच्नु तिमी केही भएछु भनी –
अघि बढ्दा दायाँबायाँ भुक्न थाले भने ।

*****************************

आउनुस् आउनुस्, दिल खोली आउनुस्
वंश थर जाँचीवरी सबै ‘ओली’ आउनुस्
जनताकै सम्पत्ति हो, प्रवेश निषेध छैन-
तर अरु आज होइन, बरु भोलि आउनुस् ।

*****************************

समृद्धिका लागि अनेकौं अनेक अठोट सुन्यौं
कतै स्मार्ट सिटी, कतै रेल त कतै रोड सुन्यौं
मुखले बोल्नु र गरिपुर्‍याउनु एउटै हैन, बुझेकै हो-
महामहिमहरूकै लागि करोडौं करोड सुन्यौं ।

*****************************

सुन देखिए, सराव संगसंगै सारी देखिए,
महिनादिनसम्म घरी वारी घरी पारी देखिए,
संस्कृतिको नाममा अग्रगामी छलाङ होला सायद-
विकृतिको अग्रमोर्चामा “सुशिक्षित” नारी देखिए ।

(स्रोत : साझापोस्ट डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.