~सङ्कलन : रविन्द्र तामाङ / सोनी तामाङ~
भगवान बुद्व धर्म-ज्ञानको प्रचारमा देश-देशावर पुगेर विभिन्न उपदेश दिनुहुन्थ्यो । यसरी धेरै गाउँ-ठाउँ परिभ्रमण गर्दै दिन बिताउँदै आउनुभएको थियो । यसै क्रममा जीवनको उत्तरार्द्वतिर बुद्वका खुट्टामा कुष्ठरोगको घाउ आयो । घाउले गर्दा धर्मदेशना गर्ने स्थिति रहेन । केही गरे पनि घाउ निको भएन । यसले निकै सताउँदै लग्यो ।अब कतै हिँड्डुल गर्न सक्ने अवस्था समेत रहेन । बडो मुस्किलले दिन बित्दै रह्यो । केही गरी पनि रोग ठीक भएन, कष्ट बढ्दै गयो ।
एकदिन कुखुराले सो घाउमा खुट्टाले तीन चोटि खोस्रेर रोगका कीराहरू ठुङेर खाइदियो । जसको कारण घाउ बिस्तारै निको भयो । भगवान बुद्व आफू स्वास्थ्य भएकोमा खुसी हुनुभयो । उहाँले कुखुरालाई तिम्रो खुट्टाको पन्जा र मुख पहेँलो सुनझै होस भनी आशिर्वाद दिनुभयो । अनि आफू पुन: धर्मदेशना गर्न निस्कनुभयो ।
त्यसै घटनादेखि कुखुराको थुतुनो र पन्जाहरू पहेँलो भएको हो भन्ने ठानेर हिनयानी बुद्व धर्मावलम्बीहरू कुखुराको मासु खाँदैनन् ।
पुस्तकमा तामाङ समुदायमा प्रचलित ६२ वटा लोककथाहरु संकलित छन । यसमा सामाजिक कथा २२ वटा, ऐतिहासिक कथा ११ र धार्मिक कथा २९ वटा समावेश छन ।
(स्रोत : रत्न पुस्तक भण्डारद्वारा प्रकाशित “तामाङ लोककथा संगालो”बाट सभार)