कथा : अनुसूया

~माधव सयपत्री~Madhab Sayapatri

म होटेलभित्र छिर्दा त्यसले आफ्नो अनुहारको आँखामुनिको भाग निलो सलले छोपेकी थिई । आँखैले त्यो युवती ग्राहकसित कुरा गर्थी । आवाज निकाल्दिनथी । सोचेँ ‘अचम्मकी यो युवती साहुनी होली कि कामदार ?’

होटेलवाल्नी ऊ नै रहिछे । ऊ त्यसरी मसंग लजाउनुको कारण मैले खोजिन् । शङ्का पनि गरिन् । मान्छेका क्रियाकलाप र बानीव्यवहारको हल्काफुल्का अवलोकन गर्ने मेरो बानी त छँदै थियो । त्यो अनौठी युवतीको पनि फरक व्यवहारबारे मौका मिलाएर बुझ्नुपर्ला भन्ने सोचेर म आफ्नो काममा लागेँ ।

त्यो सामान्य होटल थियो । भात व्यवसाय गर्ने । साइनबोर्डमा ‘न्यू रिभरसाइड होटल एण्ड लज’ लेखिएको थियो । अलि अघि मुग्लिनको भात भनेपछि नामुद मानिन्थ्यो तर समयान्तरमा त्यहाँको खानाको स्तर खस्केको सबैले बताउँथे । अरूको तुलनामा राजमार्गको त्यो होटेलको भात व्यवसाय राम्रै चलेको देखियो ।

काम गर्ने केटाहरू तीनचार जना देखिए । तिनीहरूलाई निमेषभर फुर्सद थिएन । टेबिलका थालहरू हटाउने । टेबिल पुछ्ने । माझेका भाँडा ल्याउने । फेरि भातले भर्ने । आदि । भाँडा माझ्ने आठ दशवर्षे बालक बेलाबेलामा आफ्नो काम छाडेर यात्रु र ग्राहकपट्टि गहिरा आँखाले हेथ्र्यो । त्यसले माझेको भाँडा देखेर मलाई त्यस्तो ठाउँमा भात के खानुजस्तो लागिरहेको थियो ।

ऊ भाँडामा साबुन लगाउँथ्यो । एकपटक धारामा पखालेजस्तो गरेर बाटामा बेस्सरी बजार्दै राख्थ्यो । भाँडाबाट साबुनको झोल चुहिरहेको हुन्थ्यो ।

म ती सारा कृत्यहरू छेवैको कोठाको झ्यालबाट हेरिरहेको थिएँ । दिन राततर्फ धकेलिँदै थियो । सूर्य पहेलिँदै पश्चिमतिर भासिँदै थियो । त्यहाँ एकजोडी कुइरे कुइरेनी पनि देखिए । काम गर्ने एउटा केटो तिनीहरूसंग बाह्र ठाउँमा भाँचिएको अङ्ग्रेजी बोल्थ्यो । भाषा न हो, बुझिए त भैहाल्यो । केटाले बोलेको तिन्ले बुझेछन् क्यारे ।

तिनीहरू कुनाको टेबलमा गएर बसे । केटाले खोपिल्टे थालमा खाना राखिदियो । उठेर छेवैको धारामा हात धोए र खाना खान बसे । कुइरे केटाभन्दा कुइरे केटी निकै चञ्चल देखिई । उमेरमा तिनीहरू पच्चीस/तीसको हाराहारीका हुँदा हुन् ।

खाना टेबिलमा आउनुअघि कुइरेले आफ्नो आधुनिक मोबाइल फोनको स्क्रिनमा चोरऔंलाले छोयो । स्क्रीनमा अर्धनग्न मानिसहरू बेतालमा नाचेको देखियो । वरपरका ग्राहक नदेखेझैँ त्यतैतिर आँखा लगाउन थाले । म भित्रपट्टिबाट चोरीचोरी मोबाइलको उत्तेजक भिडियो चित्र हेरिरहेको थिएँ ।

मलाई त्यो तरिका बेठिक लागे पनि मेरो अन्तर मानवीय उत्तेजना त्यतैतिर केन्द्रित भएको थियो । नहेरूँ भन्दा पनि आँखा त्यतैतिर गैहाल्ने । कताकता ममा पनि कामदेव जागेको थियो ।

कामदारले आना टेबिलमा राखिदियो । एक हातले भात मुछ्दै कुइरे मोवाइल देखाइरहेको थियो । खानै खान छाडेर तिनीहरू उठे । एकअर्काको अँगालोमा बेरिएर चुम्बनको आँधी नै ल्याउन थाले । मैले त्यतापट्टि हेरिरहिन् । तिनीहरूले अझै तल्लोस्तरमा झरेर पश्चिमा संस्कृतिको झलक दिन सक्थे । मैले त्यस्तो धेरै ठाउँमा देखेको छु । जहाँ मन लाग्यो जे पनि गर्ने । उनीहरूलाई गोप्यता राख्नै नपर्ने । स्थानको वास्तै नगर्ने । त्यस्को अनपेक्षित र अश्लील क्रियाकलाप दुईतीन मिनेटसम्म चल्यो । धेरैलाई तमासा भयो । तिनीहरू आफ्नो भातमा फर्के ।

सलले मुख छोपेकी युवतीले झनै अनुहार छोपी । ग्राहकले दिएको पैसा लिन त्यसलाई फुर्सद थिएन । बाहिरपट्टि बसेर पैसा सङ्कलन गर्न थाली । त्यहाँ आएका ग्राहकमध्ये केहीले कोठाको कुरा गरे । ती त्यहीँ बस्ने भए ।

एउटा कोठामा म मात्र थिए । एउटा कामदारले मलाई खाना खान निम्तो दियो । मैले आफ्नो कोठामा चुकुल लगाए र टेबिलमा आएर बसेँ । कामदारले खाना ल्यायो । मैले खाना खाउञ्जेल त्यो युवती मेरोसामु देखा परिन । भान्छाकै धन्दामा व्यस्त थिई । मैले छिटोछिटो खाना खाएँ । फेरि आफ्नो कोठामा पसेँ ।

बत्ती बालेर म पत्रिका हेर्न थालेँ । आठ बजेतिर त्यो युवती जगभरि पानी लिएर मेरो कोठामा छिरी । ट्युबलाइटको प्रकाशमा मैले त्यसको शरीर निरीक्षण गरें । त्यसको जीउडाल अत्यन्तै मिलेको थियो । कताकता आफ्नो पापी मनले उसलाई आप्mनी श्रीमतीमा अनुवाद गर्‍यो ।

म सामान्य गैरसरकारी संस्थामा काम गर्ने मान्छे । संस्थाको को–अर्डिनेटर पद सम्हालेको थिएँ । पोखरामा एक महिनासम्म एउटा तालिम चलाई म घरतर्फ जाँदै थिएँ । कामविशेषले मलाई मुग्लिनमै बास बस्नु परेको थियो ।

पोखरा जानुअघि मेरी जीवनसंगिनी अनसूयाले भनेकी थिइन्, ‘पोखराको चिनो के ल्याइदिनुहुन्छ त मलाई ?’

मैले भनेको थिएँ, ‘तिमीलाई मन पर्ने गाढा निलो रङको कुर्तासलवार र विन्ध्यवासिनी मन्दिरको फोटो ।’

उनले अरू ठाउँका फोटाहरू ल्याइदिन पनि अनुरोध गरिन् । त्यसैले मेरो झोलामा पाँचसात ठाउँका प्लाष्टिककोटेड र स्ट्याण्ड भएका फोटाहरू थिए । र थियो – उनको मनचिन्ते रङको निलो कुर्तासलवार ।

मैले होटलवाल्नी साहुनीको फेरि निरीक्षण गरेँ । जिउडाल अति नै राम्रो र फुर्तिलो लाग्यो । पछाडिबाट हेर्दा त त्यसले लगाएको कुर्तासलवार यति सुहाएको थियो कि त्यसरी त निलो रङको कुर्तासुरुवाल मेरी श्रीमती अनसूयालाई पनि सुहाउँदैन ।

म पोखराका फोटाहरू वल्टाईपल्टाई हेर्न लागेँ । भनौं, त्यो युवतीको आँखामा तस्विर पार्न कोसिस गरेँ । तर त्यसले हेर्दै हेरिन । अनसूयाको लागि ल्याइदिएका कपडाका प्लाष्टिक खोलेँ र कपडा फुकाएँ । अहँ, त्यसले मपट्टि हेर्दै हेरिन । युवती एकशब्द पनि बोलिन । उसलाई बोलाउने र उसको आवाज सुन्ने मेरो प्रयास विफल बन्दै गयोे ।

सोचेँ, ‘यो केटीको बिहे भएको छ कि छैन होला ? यो घर यसको आफ्नै होला कि यसले भाडामा लिएकी होली । यसका अरू आफन्त कहाँ होलान् ? यस्तैयस्तै ।

मैले उसलाई बोल्न बाध्य पार्न प्रश्न सोधेँ, ‘तपाईंको आप्mनै हो साहुनी यो होटेल ? तपाईंका श्रीमान् कहाँ हुनुहुन्छ ? बच्चाबच्ची छैनन् ? होटलको आम्दानी कत्तिको छ ? सायद मैले अनावश्यक प्रश्न पनि सोधेँ कि ।

मैले त्यति धेरै प्रश्न गर्दा पनि त्यो बोल्दै बोलिन । ऊ अस्पष्ट आवाज निकाल्दै बाहिरिई ।

त्यो लाटी रहिछ । लाटी नै हो भन्ने शङ्कालाई पुष्टि गर्ने बलियो प्रमाण त सुरुकै भैहाल्यो । त्यो युवती सुरुदेखि नै बोलेकी थिइन । त्यो लाटी बाहिरिएपछि म कोठामा एक्लै भएँ ।

रात छिप्पिदै गयो । भोेलिको प्रतिक्षामा म ढल्केँ । कतिबेर निदाएछु । होटेलको हल्लाखल्ला कतिबेला बन्द भयो । त्यो लाटी कतिबेर सुती मलाई थाहा भएन ।

भोलिपल्ट दिउँसो बाह्र बजे काठमाडौं आइपुगेँ । चार बजेतिर बनेपाको बस चढेर घर आएँ । घर आइपुग्दा निकै थकित भएको थिएँ । घर आइपुगेको निकैबेरसम्म अनसूयालाई घरमा देखिन् । मैले आमालाई सोधेँ, ‘आमा, अनसूया खै त ? अनि बा र भाइबहिनी ?’

आमाले एकै सासमा सबै कुरा बताउनुभयो । भन्नुभयो, ‘अनसूया माइत गएकी छे । दशदिन भयो । बाबा बिहानै पनौती जानुभएको छ । भाइबहिनी बजारतिर गएका छन् ।’

आमाको जवाफ मलाई खल्लो लाग्यो । मैले अनसूयाको मोवाइल नम्बर डाइल गरेँ । उनले फोनमा भनिन्, ‘तपाईं कहाँ हुनुहुन्छ ? सन्चै छ ? घर कहिले आउने नि ?’

मैले भनेँ, ‘अनसूया म घर आइसकेँ । तिमी कहिले आउने ? भोलि आउने हैन त ? म काठमाडौं मै लिन आऊँ त ?’

उनले भनिन्, ‘पर्दैन, ममी बिरामी हुनुहुन्छ । घरमा कोही छैन । काम गर्नु पर्छ । म अझ एक साता आउँदिन होला ।’

फेरि मैले भने, ‘के भएको छ ममीलाई ?’

उनले जवाफ दिइन्, ‘सामान्य ज्वरो आएको छ । औषधी लिँदै हुनुहुन्छ । केके गर्नुपर्छ घरमा, म अझै एक साता आउँदिन भनेको क्या! तपाईंचैँ हिँडेको हिँड्यै गर्ने । म एक्लै कति दिन बस्ने ?’

अनसूयाको अन्तिम वाक्य अत्यन्तै कठोर लाग्यो । जर्जर लाग्यो । बिरक्तिलो लाग्यो । ‘किन त्यसरी झर्केर बोल्नुपर्थ्यो र ! आमा बिरामी भए सल्लाह गरेरै बस्दा भैहाल्थ्यो नि ! म के भन्थे र !’

मैले फेरि फोन डाइल गरेँ । तर मोवाइलको स्वीच अफ गरिसकिछिन् उनले । मनमा एक धक्का चट्याङ् पर्‍यो । ‘मैले त केही भनेको थिइन् । उनकै सल्लाहमा म पोखरा गएको थिएँ । उनले आफूलाई मन पर्ने चिज ल्याइदिन भनेकी थिइन् । आज उनलाई के भएको छ ? आ, ममी बिरामी हुनाले तनावमा होलिन् । आइहाल्छिन् नि !’ आन्दोलित भएको मन बिस्तारै बुझाएँ ।

बेलुका घरका सबै जम्मा भयौँ । अनसूयाको अनुपस्थिति मलाई एकदमै खल्लो लागेको थियो । बेलुका खाना पनि त्यति रुचेन । बेलैमा कोठामा गएँ । थकाइको कारणले बेलैमा निन्द्रा परेछ । सपनामा अनसूयासंग रमाइलो गरेको देखेँ ।

ब्युँझदा अनसूया थिइनन् । निस्तो लाग्यो । भोलिपल्ट बिहानै अफिसबाट जरुरी फोन आयो । म आठै बजे अफिस पुगेँ । फेरि अर्को प्रोग्राम आएछ । पर्सि नै गैँडाकोट जानुपर्ने भयो ।

म हठात् सोफामा थ्याच्च बसेँ । सबै कर्मचारीले मलाई नै खिसी गरिरहेझैँ लाग्यो । एकमनले, ‘के हेर्‍या ? मलाई देख्या छैनौ ?’ भनिदिऊ जस्तो लागेको थियो तर भनिन् । भन्न उचित लागेन ।

भारी मनले घर फर्केँ । खानापछि ओछ्यानमा गएर अनसूयालाई फोन गरेँ । फोन लाग्यो । उनले भनिन्, ‘म दुईतीन दिनमा आउँछु । ममीलाई ठिक भइसक्यो ।’

उनी आउने कुरामा म त्यति खुसी भइनँ । तर मैले फेरि लगत्तै गैँडाकोट जाने कुराको जानकारी पनि दिइनँ । मन चौचौ चौचौ हुँदाहुँदै म निदाएछु ।

– – – – – – – – – – – – – –

परासीको लागि हिँडेको बस खाना खान उही मुग्लिनमा रोकियो । म अस्तिकी लाटी साहुनी कतै देखिन्छे कि भनेर हेर्दै थिएँ । पर….. मैले उसको होटेलको नाम देखेँ । बस स्टाफलाई जानकारी दिएर म उही लाटीको होटेलको मिठो भात खान गएँ ।

देखेँ, त्यो साहुनीले त्यतिबेला सलले मुख छोपेकी थिइन । होटेलमा ग्राहकको खासै चहलपहल थिएन । त्यो लाटी साहुनीलाई राम्ररी हेरेँ । अचम्म ! अकल्पनीय ! त्यो युवती त मेरै अनसूयाकी दिदी हिमशिला पो रहिछ ।

अलिपर सडकमा देखेँ । अनसूया एउटा लक्का जवान केटाको हात समातेर अगाडि बढ्दै थिइन् । यता फर्केर अनसूयाले दिदीलाई हात हल्लाइन् । तिमीहरू खित्खिताउँदै अघि बढे । सायद तिनीहरू प्रेमका गहिरा कुरा गर्दै थिए । नयाँ घर बनाउँदै थिए । र, मेरो घर भत्काउँदै थिए ।

मैले आँखा पुछेर राम्ररी हेरेँ । हो, त्यो अनसूया नै हो । ‘अनसूया यो तिमीले के गरेकी ? मैले तिमीलाई केमा कमी गरेको थिएँ र ! अहो ! यो के भएको !’ म दिग्भ्रमित भएँ ।

मेरा पाइला टक्क रोकिए । सास बढ्दै गयो । सडकमै ढलुँला जस्तो भयो । टेकेको जमिन भास्सिएझैँ लाग्यो । उफ !

(स्रोत : ब्दसोपान डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.