~कृष्ण बजगाईं~
राज्यको यात्रा होला भनेर उसले सोचेकै थिएन । हिँड्दै जाँदा कहिले नसुनेको नक्कलपुर पुगेको थियो ।
नक्कलपुरको नक्कली रूप देखेर क्षणभरमै मोहित भयो । उसका चंचल आँखा र उत्सुक गोडाले संयक्त रूपमा नक्कलपुर चहारे ।
त्यहाँको दृश्य देखेर उ आश्चर्यचकित भयो । त्यस राज्यको सत्तामा रहेका सरकारको राष्ट्रियता र तिनको देशभक्ति नक्कली देख्यो । त्यस राज्यको संविधान र शासन व्यवस्था नक्कली पायो । त्यहाँ नक्कली कुरा गर्नेहरू नै शासन सत्तामा थिए । उदेकलाग्दो कुरा त्यहाँका मानिसको एक आपसको प्रेम र सम्बन्ध सबै नक्कली थिए । दिने र लिने दुवैले त्यसलाई सहज रूपमा ग्रहण गरिरहेका थिए ।
छोटो समयमा उसले धेरै कुरा हेरिसकेको थियो । घर जाने बेलामा नक्कलपुरको सम्झनास्वरूप केही चिनो लिने विचारले एउटा सुभनियर पसलभित्र गयो । ‘नक्कलपुर राज्यको सक्कली नक्सा’ लेखिएको एउटा चुच्चे नक्सा उठायो । र काउन्टरमा पैसा तिर्यो । तर, पसलेले बाँकी पैसा फिर्ता दिँदा नक्कली पैसा दियो ।
‘सक्कली पैसा तिर्दा नक्कली पैसा फिर्ता दिने ?’ उसले झोंक्किदै भन्यो ।
‘यो मान्छेलाई ठीक लगाउन प्रहरी बोलाउ त !’ पसलेले कसैलाई अह«ायो ।
पसलेले धम्की मात्र के दिएको थियो, दुई जना पुलिस उसको सामुन्ने आइपुगे ।
उसले कल्पनै गरेको थिएन यस्तो घटना होला भनेर । तैपनि मन दरो बनायो । उसले मनमनै तर्क गर्यो, तुरुन्त आउने प्रहरी सक्कली हुनै सक्दैन ।
तर उसले नसोचेकै कुरा भयो । प्रहरीले उसलाई सिधै जेलभित्र हुल्यो ।
जेलभित्र पुगे पनि ऊ अझै आशावादी देखिन्थ्यो । उसको मनमा एउटा कुरा आयो, सबै कुरा नक्कली भएको राज्यमा जेलचाहिँ सक्कली हुनै सक्दैन । उसले जेलबाट भाग्ने प्रयास गर्न थाल्यो । तर उसले सोचेभन्दा ठीक उल्टो भयो । उ त्यहाँबाट निस्कनै सकेन । अनेक बल गदै थियो सपनाबाट झल्याँस्स ब्युँझियो । आत्तिदै टेवल ल्याम्प बाल्यो । चारैतिर हेरयो । भित्तामा टाँसिएको आफ्नै देशको नयाँ नक्सामा आँखा ठोकिए । त्यो नक्सा सपनामा किनेको चुच्चे नक्सासँग ठ्याक्कै मिल्दथ्यो ।
(‘संवैधानिक पत्नी’ लघुकथासङ्ग्रह(२०७७)बाट)
(स्रोत : नागरिक – शनिबार)