~कमला जोशी~
जेठको १३ गते विहानको झिसमिसेसँगै पिठ्युमा झोला, झोलामा केही जोर लुगा र ड्राईफुडसँगै हात हातमा पानीका बोतल बोक्दै पिपल्ला बजार पुग्यौँ । पिपल्लामा गाडीको पर्खाईमा करीव एक घण्टा बितिसकेको थियो । सायद सबै खप्तड जानेहरु निस्किसकेका थिए कुन्नी ! गाडी पनि पाउनै मुस्किल पर्यो । अन्तमा एक जना जीप चालकसँग कुरा गर्यौँ र रिजर्व गरेर जाने निधो भयो । ६ हजारमा पिपल्लाबाट खप्तड राष्ट्रिय निकुञ्ज प्रबेशद्वार झिग्रानासम्म पुर्याउने सहमति भयो । हामी पिपल्लाबाट ९ बजे हिड्याँै । मनमा निकै उत्साह उमङ्गका साथ हामी जिपमा बस्यौँ । डोटीको सिलगढीसम्म त देखेका थियाँै । त्यसपछिको बाटो भने हाम्रा लागि नौलो थियो । विस्तारै सिलगढी छुट्न लाग्यो गाडी उकालो कच्ची सडकमा प्रबेश गर्यो । निकै डरलाग्दो उकालो थियो । हरियो जङ्गल, ठाउँठाउँमा पाकेका ऐसेलु र किर्मडा का साथै थरिथरिका फुलहरुले वन रमणीय देखिन्थ्यो । बाटोमा हिड्दै जाँदा चालकलाई सोधेर थाहा पाईयो त्यो त उडितोलाको बन रहेछ ।
करीव आधा घण्टाको उकालो पहाड चढेर तेस्रो बाटोमा गाडी गुड्यो बगलेक भन्ने ठाउँ हरेछ । तेस्रो बाटोमै वाडी भन्ने ठाउँ पनि पर्दो रहेछ । के के गाउँ हुन देखिन्थे । कतै स–साना घरहरु मिलेका गाउँ त कतै लहरै मिलेका खेत, कतै घना जङ्गल पार गर्दै हामी दिउसो करीब १२ बजे खप्तड राष्ट्रिय निकुञ्जको प्रबेशद्वार झिग्राना भन्ने ठाउँ पुग्यौँ । त्यहाँ दुई चार ओटा स–सान होटेल र त्यसैमा किराना पसलहरु समेत रहेछन् ।
हामी गाडीबाट झर्यौँ अलि अगाडि बढ्याँै । नेपाली सेनाको झिग्राना ब्यारेक प्रबेश गरेर मात्रै खप्तड प्रबेश गर्नु पर्दो रहेछ । त्यहाँ हाम्रा बोकेका झोलाहरु चेकजाँच गरियो र अगाडी बढेका मात्रै के थियौँ मुखैमा यति ठुलो पहाड आईलाग्यो । डाँडाको फेदमा बसेर टुप्पोसम्म हेर्दा त टाउकोमा लागाएको टोपिनै झर्ने देखियो । उफ हेर्नै नसकिने यति अग्लो डाँडो कसरी हिड्ने मनमा साह्रै डर लाग्यो । बाटो पनि जङ्गालको भित्रैभित्र थियो । बाँज बुराँस फलाँट लगायतका रुखहरुले ढपक्कै ढाकेको जङ्गल थियो । हामी एक्लै थिएनाँै हाम्रा अगाडी पछाडी थुप्रै मान्छेको लर्को थियो । खप्तड दशहरा मेला भर्नेको कति समूह चिनजानकै थिए भने कति अपरिचित । करिव ३ घण्टाको ठाडो उकालो पश्चात बल्ल तेस्रो बाटो लाग्यो । उकालोको थकाई मार्न होला सायद तेस्रो बाटो सुरु हुने वित्तिकै त्यहाँ होटेल, धर्मशाला र पानीको समेत व्यवस्था रहेछ । ५ मिनेट विश्राम गरेर अगाडी बड्यौँ । तेस्रो बाटो घना जङ्गल, बाटो बाटोमा जिस्काउने जङ्गली जनावर स्याल, मृग, ब्वाँसो अरु के के थिए कुन्नी । नामनै थाहा पाउन सकिएन । अगाडी पछाडी मान्छेको लर्को भएर होला जङ्गली जनावरको डर मान्नुको सट्टा हामी निकै उत्साहका साथ जनावरहरुको अवलोकन गर्ने गथ्याँै । बाटोबाटोमा ग्लुकोज पानी र ड्राईफुड खाँदै अगाडी बढ्थ्यौँ ।
बाटोमा हिड्दै गर्दा एक अतिनै मनोरम दृश्य देखियो सम्म परेको मैदान वाह लाग्छ कसैले चाईनिज दुबो रोपर गएछ भनी सुमसुम्याउन थाल्याँै तर हैन रहेछ त्यो त प्रकृतिको उपहार रहेछ । प्रकृतिले आफ्नै हातले सजाएको थियो जुन कल्पना भन्दाबाहिरको कुरा थियो हाम्रा लागि । केहि बेरको बसाईपछि अगाडी बढ्याँै । अगाडिको दृश्य पनि त्यस्तै थियो कतै उकालो कतै उकालो त कतै सम्म परेका फाँटहरु करिव चार पाँच ओटा पार गरिसकेपछि एक विशाल टापु र फाँटहरु जोडिएको सुन्दर मैदान देखियो हामी जोरले करायौ वाह यो के हो भन्दै अलि भिरालो हिडेर दौड्दै त्यहाँ पुग्यौ, पछाडी हिड्दै गरेको एक मान्छेले भन्यो यहि हो त्रिबेणी क्षेत्र ।
अगाडी बढयौँ मैदानको केहि भाग हिडेपछि तिनओटा स–साना खोलाहरुको संगम भेटियो । विचमा मन्दिर पनि थियो त्यो त्रिवेणीधाम रहेछ । स–साना खोलामा गाँडेमाछा आ–आफ्ना समूहमा पानीसँगै तैरिरहेका देखिन्थे । विभिन्न टापु र किनार हुदै बग्ने खोला अन्त्यमा त्रिवेणीमा मिसिएर त्रिवेणधाममा त्रिवेणी नदी बन्दोरहेछ । साँझ झमक्कै पर्न थालिसकेको थियो । हामीले त्रिबेणीधामको दर्शन गर्यौ र दशहराको अघिल्लो दिन त खप्तड क्षेत्रमा विभिन्न साँस्कृतिक कार्याक्रम पनि हुँदा रहेछन् । घोडा दौड, भलिवल प्रतियोगिता, डेउडा खेल लगायतका कार्यक्रम हुँदा रहेछन् हामी एक टापुमा बसेर अघिल्लो साँझ यी सबैकुराहरुको दृश्याअवलोकन गर्यौँ ।
खप्तडको सेरोफेरो त्रिवेणीधाम दशहरा मेला भर्ने मान्छेको भिड, खेलकुद भैरहेको हेर्दा र वरिपरिको वातावरण खुल्ला आकास स्वर्गको आनन्द महसुस गरिँदो रहेछ । करीव आधा घण्टाको बसाईपछि हामी खप्तडमा रहेको नेपाली सेनाको ब्यारेकतिर भेटघाटमा हिड्यौँ । करीव १५ मिनेटको ब्यारेक घुमाईपछि हामी पुनः त्रिवेणी क्षेत्रमा फक्र्यौँ । जति जति रात पर्न थाल्यो खप्तड क्षेत्रमा डेउडा भाका घन्किन थालिसकेका थिए । विभिन्न समूहहरु महिला र पुरुषहरुका छुट्टै समूहमा निकै प्रतिस्पर्धात्मक खेल भैरहेका थिए । हामी भने बस्ने र खानेको खोजीमा थियौं । त्रिपालभित्रै सञ्चालन गरेका होटेलहरुले खाना खुवाउदा रहेछन् । हामी एक त्रिपालभित्र खानाका लागि पस्यौं । निकै घुईचो थियो मान्छेको, त्यसभित्र एक महिला हतार हतार मोटामोटा रोटी र आलुको झोल पकाउदै थिईन । हेर्दा न मिठो देखिन्थ्यो । तै पनि हामीले पनि रोटी खाने निधो गर्यौ । त्रिपालभित्र बसेको दुई मिनेट नहँुदै आकास अचानक गड्याङ गुडुङ हँुदै हावाहुरीसँगै मुसलधारे पानी पर्न सुरु भयो । होटेलका त्रिपाल उडाउन थाल्यो । भित्र रहेका मान्छे रोटी खाने भन्दा पनि त्रिपाल च्याप्नमा ब्यस्त भए । करीव आधा घण्टा जतिको पर्खाई पछि अलि अलि पानी रोकिन थाल्यो । तर त्रिपालको प्वालबाट चुहिएको पानीले हामी निथ्रुक्कै भिजिसकेका थियौँ । खप्तडको जाडो, हामीसंग न त प्लास्टिक थिए न त रेनकोट नै । आफ्नै शरीरमा लगाएको लुगाले खप्तडको जाडो छल्न असम्भव थियो । हामी काप्न थाल्यौँ त्यसैमा आधा पाकेका आधा काँचै कति रोटी खायौँ कुनै पत्तो लागेन, जत्ति खाए पनि पैसा तिर्नु तोकेकै थियो । हामी खाएर नेपाल प्रहरीको टेन्ट तिर लाग्यौँ ।
त्यहाँ पर्यटन कार्यालयका कर्मचारी बसेका रहेछन् हामीले पत्रकार भएको कुरा भनेपछि पर्यटनका कर्मचारीहरुले बस्ने ब्यवस्थाको लागि चिन्ता नगर्न र आफुहरुले ब्यवस्था गर्ने कुरा सुनाए । हामी ढुक्क भयौँ । र केहि समय देउडा खेल हेर्न थाल्यौँ तर भिजेर निथु्रक्कै भएको ज्यान कहाँ रमाईलो मान्न तयार थियो र हामीले सुत्ने कुरा राख्यौँ तिनीहरु पनि जाने तयारीमै रहेछन् ।
जुरुक्क उठे आउनु भन्दै हिडे । हामी पनि पर्यटनका कर्मचारीकै पछिपछि लाग्यौँ । अलि माथी जानुपर्ने रहेछ त्रिवेणीधामबाट पर्यटनको पाहुनाघर । त्यहाँ त ठुल्ठुला उच्च ओहदाका कर्मचारी र उनीहरुका श्रीमतीहरुका लागि ब्यवस्था गरिदो रहेछ । सुत्ने ठाउँ राम्रै भेटियो । खप्तडमा पनि महिला र पुरुषका लागि छुट्टाछुट्टै ब्यवस्था थियो । भित्रै खानाको ब्यवस्था पनि रहेछ । हामीले भने खाएनौँ रोटी खाईसकेका थियौँ ।
भोेली बिहान हामी झिसमिसेमा उठेर हतारहतार झोला बोकेर त्रिबेणीधाम तिर लाग्यौँ । त्यहाँ त बिहान तीन बजेदेखिनै दर्शनार्थीहरुको घुईचो लाग्ने रहेछ । हामीले पनि खप्तडको चिसो पानीमा नुहाउनुनै पर्ने भयो । उफ बरफ जस्तो चिसो पानीमा डुबुल्की मार्दै हामीले त्रिबेणीधाममा दर्शन गर्यौं । त्यस लगत्तै हामी खप्तड क्षेत्रकै सबभन्दा उचाईमा रहेको सहश्रलिङ्ग मन्दिरको दर्शन गर्न हिड्यौँ । करीव ३३ सय मिटरको उचाईमा रहेको सहश्रलिङ्गको दर्शन गरेर हामी फक्र्यांै । नजिकै भैसी गोठहरु पनि थिए । हामी दहि पाउँछ कि भन्दै गोठमा सोध्दा त सकिसकेको रहेछ । ति गोठहरु अछामका बासिन्दाका रहेछन् । उनीहरुको लेक त्यतै पर्ने रहेछ । तलतिर हेर्दा निकै टाढा र निकै होचो भाग जहाँ गाउँहरु देखिदै थिए ति अछाम जिल्लाका केहि बस्ती रहेछन । त्यहाँबाट निस्क्यौँ । अब कता जाने भन्ने त चिन्तै थिएन, मान्छेको हुलसँगै हिडे ठाउमै पुगिदो रहेछ । हामी खप्तड तालतर्फ प्रस्थान गर्यौं । घनघोर जङ्गल, उकाली ओराली पार गर्दै खप्तड ताल पुग्यौं । हेर्दा कञ्चन निर्मल खुला आकाशको छायाँ दुरुस्तै देखिन्थ्यो । पानीमा बाह्रै मास एकनासको पानीको सतह रहने खप्तड तालको लम्बाई १०० मिटर रहेछ भने चौडाई ५० मिटर रहेछ । खप्तड क्षेत्रमा स–साना करीव ५२ ओटा दहहरु पनि रहेछन् । यति उचाईमा पनि यति ठुलो ताल देख्दा अहो साँच्चै ईश्वरकै बरदान रहेछ जस्तो लाग्यो । त्यहाँ पुग्नु भाग्यकै कुरा थियो ताल वरपर घना जङ्गलले ढपक्कै ढाकेको थियो तर तालमा भने फोहोरको नाम समेत थिएन, सफा पानी थियो । छेउमा उभिएर हामीले केहि फोटोहरु क्यामेरामा कैद गर्यौं र फक्र्यौं ।
हामीसँग समय थोरै थियो, थोरै समयमा धेरै ठाउँहरु हेर्नु थियो । त्यसपछि नागढुङ्गा जाने निर्णय गर्यौं । सुनसान जङ्गल अग्लाहोचा पहाड त कतै सम्म परेका फाँटहरु पार गर्दै नागढुङ्गाको बाटो लाग्दा मनमा अलि अलि डर लाग्न थालेको थियो साह्रै टाढा रहेछ । त्रिबेणी क्षेत्रबाट नागढुङ्गा । साह्रै थकित थियौँ तर पनि दौड भने जारी नै थियो, जस्तो कुनै प्रतिस्पर्धानै चल्दै छ कि आउनै लाग्यो । नभन्दै अलि अगाडी जङ्गलको विचमा विशाल ढुङ्गा देखियो । ढुङ्गामा सर्पको आकृति थिए । करीव पाँच सय मिटर दुरीको फरकमा अर्को ढुङ्गा रहेछ, त्यो सर्पढुङ्गा रहेछ । दुइटा विशाल ढुङ्गा र ढुङ्गामा दुरुस्त सर्पको आकृति देख्दा एकातिर प्रकृतिको सुन्दरताको वर्णन गर्न मन लाग्थ्यो भने अर्कोतर्फ धार्मिक विश्वासले गर्दा ईश्वरको रचना हुनु पर्छ भन्ने कुरालाई पनि मनले नकार्न सकेन । हामीले केहि तस्विर कैद गर्यौं र फक्र्यौं । फर्कदा त बासस्थानबाट निकै टाढा पुगेका थियौँ उकालो भएर फर्कनु पथ्र्यो हामी केहि ड्राईफुडहरु खाँदै फक्यौं । त्रिबेणी क्षेत्रबाट अलि नजिक पर्ने खप्तड बाबाको आश्रममा भने अझै पुग्न सकिने समय हामीसंग रहेछ ।
अन्तिममा त्यता पुगेरै फर्कने कुरा गर्यौं र बाटैबाट खप्तड बाबाको आश्रम तिर लाग्यौँ । बाबाको आश्रम प्राचिन शैलीमा निर्मित सुन्दर देखिन्थ्यो । आँगनमा थरिथरिका फुल र फलहरुले ढकमक्क थियो नजिकै एउटा हेलिप्याड पनि थियो । पहिले पहिले सायद खप्तड बाबाको दर्शन गर्न राजारजौटाहरु आउथे होलान् । खप्तड बाबाले त्यसै तपोभुमीमा बसेर योग ध्यान गर्नु भएको थियो र साथै कितावहरु समेत लेख्नु भएको छ । उहाँले धर्म विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य नारी धर्म, पुरुष धर्म, आत्मज्ञान, योग ज्ञान वेदान्त ज्ञान, आरोग्य विज्ञान लगायत पुस्तक लेख्नु भएको छ । हामी खप्तड बाबाको दर्शन पश्चात पुनः पर्यटनको पाहुनाघरमा फक्र्यौं । साँझको खाना खाएर भोलीपल्ट खप्तडको माया, मन र मुटुमा राख्दै विहानैको मिरमिरेमा आफ्नो गन्तव्य तिर लाग्यौँ ।
अहो साँच्चै खप्तड त स्वर्गकै टुक्रा रहेछ । खप्तडभित्र नागढुङ्गा, खापरदह, सहश्रलिङ्ग, खप्तड बाबाको आश्रमका साथै विभिन्न स–साना ५२ ओटा दहहरु, विभिन्न किसिमका चराचुरङगीहरुले पर्यटकहरुलाई आकर्षित गरिरहेका छन् । “सुदूरपश्चिमको सान” को रुपमा स्थापित खप्तड बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगममा अवस्थित छ ।
करीव २२५ वर्ग किलोमिटरमा फैलिएको निकुञ्ज समुद्री सतहबाट ३ हजार पाँच सय मिटरको उचाईमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्जभित्र करीव ५ सय ६७ थरीका बनस्पति र नेपालमा पाईने ८ सय ५० किसिमका चराचुरुङगीमध्ये २ सय ६० भन्दा बढी चराचुरुङगीहरु पाइन्छन् । खस्रे भ्यागुत्ता र बझाङ्गे पाहा गरि दुई थरिका रैथाने उभएचर र बाघबुट्टे निगालो पाईने नेपालको एकमात्र निकुञ्ज खप्तड रहेछ । विश्वकै दुर्लभ मानिने हरियो क्षेपारो पनि त्यहि ठाउँमा पाइने रहेछ । नेपालका सबै ठाउँ रमणीय छन्, सबैमा पर्यटक आउन सक्छन् । बस खाँचो छ पुर्वाधार विकासको र संरक्षणको । कमी छ प्रचार प्रसारको । जङ्गलै मासेर बाटो निकाल्ने कुरामा भने हाम्रो विमति छ ।
(स्रोत : बिम्ब नेपाली साप्ताहिक – २०७३ साल असाेज ११ गते)