~सङ्कलक: इमानसिंह चेम्जोङ~
अघि संसारको सृष्टि भइसकेपछि क्रमश : भीर, पहरा, डाँडाकाँडा, पहाडपर्वत तथा नदीखोलाहरू पनि बग्दै गए । पोरोमियोम्फनी महादेवलाई त्यत्तिले पनि साह्रै सुनसान लाग्यो । तिनले पृथ्वीलाई गुञ्जायमान बनाउने इच्छाले समुद्रको खस्रो बालुवा जम्मा गरेर आफ्नो महाशक्तिद्वारा सानो, ठूलो र किसिमकिसिमका माउरी, खागो, बारुला, बच्छयूँ, अरिङ्गाल, भीरमाउरी, भमरा, भालु–भमरा, पहेँले, पुत्का, सुनबारुला, अन्धाबारुला, कुमालकोटी इतयादिका चाका बनाएर बस्ने प्राणीहरू बनाएर उडाइदिए । ती प्राणीहरू पहाड, मधेस चारैतिर घुनुनुुनु गरेर उडेकोले सारा पृथ्वी नै गुञ्जायमान भयो । त्यस बेला झारपात, रुख इत्यादिको सृष्टि भएको थिएन । तिनीहरू घुनुनुनु गर्र्र्दै रातदिन उडिरहेको देखेर पोरोमियोम्फामीको मनमा लाग्यो – यिनीहरू ता प्राणी नै हुन् । खान केही नपाई रातदिन घुनुनुनु गरेर मात्र उडिरहनाले यिनीहरू बाँच्दैनन् । यिनीहरूका निम्ति केही न केही खानेकुरा पनि बनाउने बनाउनै पर्दछ । यस्तो मनसाय लिएर उनले भगवान् परमात्माका समक्ष हाजिर भएर बिन्ती गरे – ‘हजुर, पृथ्वी साह्रै शून्य लागेको हुनाले मैले आफ्नो शक्तिद्वारा किसिम–किसिमका चाका बनाएर बस्ने प्राणी, जस्तै माउरी, बारुला, बच्छ्युँ इतयादि बनाएर हावामा उडाइदिएँ । त्यसले गर्दा पृथ्वी गुञ्जायमान भएको छ । तर खानेकुरा केही नदिई यिनीहरू बाँच्न सक्तैनन् । त्यसैले तिनीहरूलाई कस्तो कुरा खान दिए तिनीहरू बाँच्न सक्लान् भनी ज्ञानबुद्धि सिक्नलाई म हजुरकहाँ अएको हुँ । ’
भगवान् परमात्माले भने –‘ पृथ्वीमा जति किसिमका पदार्थहरू छन्, ती सबै एक–दोस्रामाथि निर्भर छन् । तिनीहरू सब एउटाले अर्कोलाई सहायता गर्न र आपसमा मद्दत गर्ने किसिमले बनाइएका छन् । एउटाको प्राण लिएर अर्को बाँच्तछ, अथवा एउटाको रस लिएर अर्को जीवित रहन्छ । यसैले तिमीले पनि यसै किसिमको विचार लिएर ती प्राणीहरूका निम्ति किसिमकिसिमका फूलपातहरू उत्पन्न गर्न सके तिनीहरू त्यसैको रसास्वादन गरेर बाँच्नेछन्, र सृष्टिको अन्त्य पनि कहिल्यै हुने छैन । माउरी, खागो, बारुलो, बच्छर्यूँ ती फूलहरूमा बस्ता तिनीहरूका खुट्टाका रौँद्वारा फूलहरूको बीउको प्रसार हुनेछ, र ती फूलहरूको बृद्धि हुनेछ । यस किसिमले पृथ्वीमा अनन्त कालसम्म फूलहरू उम्रँदै रहनेछन् । ती प्राणीहरूले रसपान गर्न आफ्नो पनि बृद्धि गर्नेछन् । ’
पोरोमियोम्फामी महादेवले भगवानबाट यस्तो ज्ञान र शिक्षा पाएर पृथ्वीमा आई फूलहरूको सृष्टि गर्न सुरु गरे । तिनले चम्पाका फूलबाट सुरु गरेर सकमारी फूल, बाबरी, भीरसुनाखरी, भुइँसुनाखरी, पाखाकमल, पानीकमल, इनद्रकमल, श्यामकली, कृष्णकली, सयपत्री, तरामण्डल, सूर्यमुखी, चन्द्रमुखी, घोगेचाँप, तिरिमिरी, मिरिमिरी, बाघमुखे, बेली, चमेली, जूही, गोदावारी, झुम्के, चैते, लसुने, ढेङ्रेकाँडे, बिखकाँढे, असारे, माने, फर्सी, काँक्रो, करेला, चिचिन्डा, कुभिन्डो, गुलाब, तारबारे, लाहुरे, धनियाँ, सुप, फापर, फकफके। आँखातरुवा। नीलकण्ठ, दुधे, धतुरो, विलकन्य, केशरी इतयादि फूलहरूको सृष्टि गरे । प्राणीहरूले पनि तिनको रसास्वादन गर्न पाए । त्यसरी तिनीहरू बाँचे र पृथ्वी पनि तिनको स्वरले गुञ्जयमान भयो ।
इमानसिंह चेम्जोङ (१९६१-२०३३) इतिहासकार, साहित्यकार, लिपिकार, भाषावेत्ता र दर्शनविद हुन् । आजीवन किराँत भाषा, संस्कृति, साहित्य, कला, दर्शनको उत्थानमा समर्पित चेम्जोङ युगपुरुष मानिन्छन् ।
(स्रोत : शब्दसोपान डट कम)