~विप्लव ढकाल~
त्यो आइमाई
एउटा पृथिवी ढल्नुअघि
यही चट्टानको तीखो धारमाथि
तिम्रो जन्म भयो !
र तिमीलाई
रगतले भिजेको गुन्यूँमा पोको पारेर
त्यो आइमाई
जङ्गलतिर भाग्न थाली !
विषालु मैदलका काँडाहरू टेक्तै
बयरका हाँगाहरूमा लुछिँदै
शरीरको वस्त्र र छाला च्यात्तै
नाकको बुलाकी र कोठी हराउँदै
सुकेका थुरहरूमा निधार ठोक्तै
जमिनको धूलोमा पछारिँदै
भागिरहेकी त्यो आइमाई
तिम्री आमा हो !
र तिम्रा बाबुका हत्याराहरू
उसलाई लखेटीलखेटी
मार्न खोजिरहेका छन् !!
ऊ निरन्तर भागिरहेकी छ
माटोको काखमा रुँदै
माटोकै रुमालले आँसु पुछ्दै
तिमीलाई फूलको छातीमा च्यापेर
काँढाको निर्जन पर्वतमाथि
ऊ निर्वस्त्र भागिरहेकी छ !
पछिपछि
उसका छरिएका केशराशि टिप्तै
माटोमा पोखिएको रगत चाट्तै
फलामका दाँतहरू बजाउँदै
बहुलाएको बन्दुक छातीमा ताक्दै
उसका लोग्नेका हत्याराहरू
उसलाई बाँच्नै नदिने गरी
लखेटिरहेका छन् !
एउटा पृथिवी ढल्नुअघि
तिमी रुँदै छौ अहिले—
भोकले, निद्राले र डरले … !!
सुन ! भरखरै गुन्जिरहेको त्यो आवाज
बन्दुकको बाँसुरीबाट निस्किएको सङ्गीत हो !
तिमीले अनुभव गरिरहेको त्यो महक
बारूदको फूलबाट निस्किएको सुगन्ध हो !
तिम्रो शरीरमा भरखरै
तप्प तप्प चुहिरहेको तरल आत्मीयता
त्यही आइमाईको स्तनबाट खसेको
रगतको थोपा हो !
तिमीले पहिलोचोटि देखेको
यो निर्वस्त्र पृथिवीलाई
अब अन्तिमचोटि हेर !
ए नवजात शिशु !
तिमीलाई न्यानो अँगालोमा बाँधेर
तिमीमाथि नै ढलिरहेको
एउटा पराजित उज्यालोलाई
अब अन्तिमचोटि हेर !!
(२०६२)
न्याउली रोयो निरमाया
निधारको पसिना र आँखाको आँसु पुछिदिने
मायालु बताससँग कुरा गर्दागर्दै
डोकामा आधा घाँस र आधा जीवनको भारी बोकेर
कालीखोलाको अँध्यारो जङ्गलबाट उकालो चढ्दाचढ्दै
टिनिनि … टिनिनि …
पोल्टोभित्र बज्न थाल्यो रिङटोन !
ए निर्मली !
झिक मोबाइल
क्याच्च थिच र ‘हेलो’ भन !
मनमा यसरी काउकुती लाग्ने गरी
फेरि यति चाँडै कसले ग¥यो होला यो फोन ?
कि फेरि कुबेतको तेलखानीबाट
‘सञ्चै छ्यौ मेरी रानी ?’ भन्नलाई
आफ्नै मनको राजाले गरेको हुनुपर्छ यो कल !
कि त चौकीबाट अन्तरे हल्दारले
मिस कल दिएको हुनुपर्छ !
कि काँसको फूल जस्ती आमाले माइती गाउँबाट
‘के खाइस् छोरी ?’ भन्नलाई गरेको हुनुपर्छ !
कि त्यही मोरो डाँडाघरे झिल्केले
‘निर्मली भाउजु, बाख्रा कता लाने ?’
भन्नलाई गरेको हुनुपर्छ !
टिनिनि … टिनिनि …
न्याउली रोयो निरमाया !
नत्र किन यसरी बढ्छ यो मुटुको ढुकढुकी
र घरिघरि बजिरहन्छ यति उराठ लाग्दो धून ?
लौ न ए निर्मली !
आधा बाटो हिँड्न त अझै बाँकी छ !
घरमा काल कुरेर एक्लै बसेकी छिन् बुढी बज्यै
उनलाई च्याँख्ला पकाएर खुवाउन बाँकी छ !
टाट्नामा बाख्राहरू सिलोक भनिरहेका होलान्
तिनलाई खनिउँको घाँस र पानी खुवाउन बाँकी छ !
खोरमा संगिनी गाइरहेका कुखुराहरूलाई चारो दिन बाँकी छ !
गोठमा बालुन खेलिरहेको भैँसीलाई कुँडो दिन बाँकी छ !
पँधेरा जान बाँकी छ ! जाँतो घुमाउन बाँकी छ !
सिन्दुर लाएको सत्ताइस दिनमै छोडी जाने निर्मोहीलाई
पर्खी पर्खी बाँच्न अब सत्ताइस जूनी बाँकी छ !
सपनाहरु सम्झिएर सास फेर्न बाँकी छ !
मोबाइलको ब्यालेन्स त सकिन्छ चाँडै—
तर कति लामो हो यो जिन्दगी ? कति लामो हो ?
रात कहिल्यै सकिँदैन ! दिन कहिल्यै सकिँदैन !!
सपनामा आफ्नै गोठको भैँसी फुकेर जिउभरि नाचिरहन्छ !
झ्यालमा हल्दार जस्तो बिरालो आउँछ
र मिस कल हानिरहन्छ !
‘यो दसैँमा लुङ्गी किन्छ्यौ कि सारी ?’
इस्कुसको झ्याङमा लुकेर त्यही पापी झिल्केले
बारम्बार सोधिरहन्छ !
आफ्नै हाँगाको लौरो टेकेर टुकुटुकु हिँड्छन् रुखहरू !
सुनाखरीले आफ्नो चुल्ठोमा आफै सिउरिन्छ फूल !
आफू नाच्नका लागि आफै गीत गाउँछ मालीचरो !
तर निर्मली ! कहाँ हरायो इन्द्रेणीको आधा चक्का ?
रात कहिल्यै सकिँदैन ! दिन कहिल्यै सकिँदैन !!
टिनिनि … टिनिनि …
न्याउली रोयो निरमाया !
झिक मोबाइल
क्याच्च थिच र ‘हेलो’ भन !
मनमा यसरी डढेलो लाग्ने गरी
फेरि यति चाँडै कसले ग¥यो होला यो फोन ?
(२०७०)
सान्नानी फगत गलैँचा हो
सिस्नुका हाँगाहरूमा
सिस्नुकै डोरीले घाँटी बाँधेर
घाँस काट्ने जङ्गलभित्र
चौँरी चराउने जङ्गलभित्र
घाम अहिले तुर्लुङ्ग झुन्डिएको छ !
र भुइँकुहिरो जस्तै
एउटा निर्मोही माकुरो
पहाडबाट बिस्तारै–बिस्तारै
यो निर्जन बस्तीमा ओर्लिरहेको छ !
यही हाँगामा सत्र पटक
फुलेको थियो गिनेरी फूल !
हराएको आकाश खोज्दै
रोएको थियो मुनिया चरो !
कपालको रातो रिबनसँगै
झरेका थिए बालुवाभरि
आकाशका नौलाखे ताराहरू !
अब यही माकुरो बसोस् गाउँमा
र बुनिरहोस् नयाँ जाल !
यही गिनेरी फुलोस् वनमा
र ओइलिरहोस् हरेक साल !
यो आकाश र ताराहरूलाई
अब यतै छोडिदिन्छे सान्नानी !
यो चिसो बतासमा
हल्लिरहेको इन्द्रेणीलाई
अब यतै छोडिदिन्छे सान्नानी !
र नौ डाँडा काटी नौ खोला तरी
सपना जस्तै गलैँचा बुन्न
सहरमा जान्छे सान्नानी !
हिजोसम्म रुमाल बुन्दाबुन्दै
ऊ आफै रुमाल बनेकी थिई
र च्याङ्वाले पुछेको थियो
बादलको आँसु !
हिजोसम्म सुइटर बुन्दाबुन्दै
ऊ आफै सुइटर बनेकी थिई
र निमाले छेकेको थियो
हिमालको मुटु !
अब त सान्नानी स्वर्गमा पुगी !
कारखानाभित्र गलैँचा बुन्दै
ऊ आफै गलैँचा बनेकी छे !
सान्नानी त्यसैले गलैँचा हो
ऊ गलैँचा बुन्छे र घाममा सुकाउँछे !
सान्नानी फगत गलैँचा हो
ऊ घाम बुन्छे र गलैँचामा सुताउँछे !
जिन्दगीका थकित हिउँदहरूमा
जब तारा झर्छन् भुइँमा
र तुषारोका जङ्गलहरू उम्रिन्छन्,
सान्नानी आफ्नै सपनाहरूमा
बेगमबेली फूलको झाङबाट
हाहाकार टिपेर फर्किन्छे !
शिशिरकी चन्द्रमा माइत हिँडेपछि
मनका उदास फाँटहरूमा
बुकीफूलहरू फुल्न नपाउँदै
हतार–हतार भागिजान्छन् वसन्तहरू !
सान्नानी रोदीघरबाट
जलेको आकाश लिएर फर्किन्छे !
र साकेवाका प्रत्येक सिलीहरूमा
च्याङ्वाका प्रेमपत्रहरू च्यातेर
सान्नानी सुभिया चरी जस्तै
सपना खोज्दै रोइरहन्छे !
उता जङ्गलतिर पनि
कोपिलामै झरे होलान्
सपना हराएका गिनेरीहरू !
काफलको कलिलो हाँगामा बसेर
रोयो होला रानीचरी !
यता सान्नानी
आफ्नै सपनाको हिमालमुनि
रातरातभर रोइरहन्छे !
रोइरहन्छे
किनभने सान्नानी गलैँचा हो !
ऊ फगत गलैँचा हो !!
र एउटा बूढो धर्मगुरु
त्यही गलैँचामा सुतीसुती
हरेक रात
न्यानो घाम तापिरहन्छ !!
(२०४८)
डम्बरीको देश
यस धरतीको सबभन्दा महङ्गो बजारमा
तिम्रो देशसँगै बिक्री हुन्छ तिम्रो गरिबी !
तिमीलाई थाहा छैन डम्बरी !
रगतको आहालमा घोप्टो परेर
तिमी रोइरहेको नयाँ तस्बिर
र तिमीले ओढेको पुरानो खास्टो
अब बिक्री हुन्छ !
तिम्रो आँखाबाट बगिरहेको अविरल आँसु
तिम्रो छातीको गहिरो घाउ
तिम्रो हत्केलाका दुरुह ठेलाहरू
तिमीले कानमा सिउरिएको ठुटे बिँडी
तिम्रो सपना जस्तै चुँडिएको
हरियो भुक्के चप्पलको फित्ता !
र चरचरी फुटेका तिम्रा रक्ताम्य कुर्कुच्चाहरू
यी सबै अब बिक्री हुन्छन् !
हो, तिमीले पढिनौ किताब
तर किताबका बोराहरु बोकेर
सयौँ माइल हिँडेकी छ्यौ तिमी !
देखिनौ उज्यालो सपना
तर बिजुलीका लट्ठाहरू बोकेर
अक्करको बाबियो समाउँदै
भुइँकुहिरो बनेर उडेकी छ्यौ तिमी !
तिम्रै आँसुका ढिक्काहरूले लेखिएको
यो गीत पनि अब बिक्री हुन्छ !
तिमीले हेरिरहेको हिमालले नै
बिक्री गर्छ तिमीलाई !
तिमीले कुल्चिरहेको माटोले नै
बिक्री गर्छ तिमीलाई !
तिमीले पुजिरहेको झन्डा
र गाउँदै गरेको राष्ट्रिय गीतले नै
बिक्री गर्छ तिमीलाई !
डम्बरी !
तिमीसँग तिम्रो नागरिकता छैन
र तिम्रो देशसँग कुनै संविधान छैन !
तिमीसँग तिम्रो आँसु छैन
र तिम्रो देशसँग कुनै सपना छैन !
तिमीसँग तिम्रो इतिहास छैन
र तिम्रो देशसँग कुनै विश्वास छैन !
त्यसैले कुनै पनि बेला
तिमीले रुन नपाउँदै
गुहार भन्न नपाउँदै
यस धरतीको सबभन्दा महङ्गो बजारमा
फुटेको कमान्डलु जस्तो
तिम्रो आफ्नै देशले बिक्री गर्छ तिमीलाई !!
(२०६६)
मेरो शुक्रतारा !
ओछ्यानभरि बूढो मूत गन्हाउँछ !
डल्लीको बाउ
अझै बिचेत बनेर निदाएको छ !
मेरो शुक्रतारा
मूतको चिसो आहालभित्र
मसँगै टाँसिएर निदाएको छ !
बेलुका सँगसँगै सुतेका थियौँ
ओछ्यानमा सँगसँगै मरेका थियौँ
सपनामा सँगसँगै गिट्टी कुटेका थियौँ
सिमेन्टका बोराहरू ओसारेका थियौँ
बालुवा चालेका थियौँ
आफ्नै हातलाई अचानो बनाएर
फलामका रडहरू काटेका थियौँ !
हिजो त मेरो शुक्रतारा
उज्यालो थियो उज्यालो !
तर अहिले ऊ निभेको छ
राम्ररी सास फेर्न सकिरहेको छैन
बिचरा बूढो भयो !
हेर्दाहेदै बूढो भयो !
भारी बोक्ताबोक्तै बूढो भयो !
सुत ए मेरो शुक्रतारा !
अझै बिहान भएको छैन
राम्ररी सुत !
म अब गिट्टी ओसार्न जान्छु
म अब फलाम काट्न जान्छु
तिमी बिउँझियौ भने
फेरि इतिहासको अर्को किताब च्यातिनेछ !
तिमी अहिले नै बिउँझियौ भने
पिपिरी बजाउँदै–बजाउँदै
फेरि एउटा आतङ्क
यो राज्यभित्र पस्नेछ !
थाकेका छौ मेरो राजा !
राम्ररी सुत !
अब सम्पूर्ण उज्यालाहरू
बाँकी रहेका ताराहरू
यही बूढो मूतको आहालमुनि
तिमीसँग यसरी नै सुत्न आउनेछन् !!
(२०६२)
मृदङ्ग बजाएर बाबा !
मृदङ्ग बजाएर बाबा !
रुखहरू मृदङ्ग बजाएर आउँछन्
र मेरो हाँगाबाट
पातहरू खोसेर लान्छन् !
मैले कसरी छोप्ने अब—
जीवन झैँ रोइरहेका
विश्वासका यी विकलाङ्ग गुँडहरू ?
आकाशमा कावा खाइरहेका
बाजका आँखाजस्ता तीखा तीरहरू
सन्सनाउँदै खसिरहेछन्
मेरा सुत्केरी सपनामाथि !
छ्याङ् छ्याङ्ती देखिन्छ— माथि आकाशबाट
मैले कसरी लुकाउने अब—
भोकले एकनास चिच्च्याइरहेका
जुरेलीका यी अबोध बच्चाहरू ?
मृदङ्ग बजाएर बाबा !
रातहरू मृदङ्ग बजाएर आउँछन्
र मेरो कपालबाट
फूलहरू लुछेर लान्छन् !
मैले कसरी रुने अब—
यो बरखी बारेको आकाशका
विवश पैतालाहरू समातेर ?
नजिकै कङ्काल जस्तो घामले
घारे हात लगाएर माटोलाई सरापिरहेको छ
र आतङ्कका पहेँला चङ्गाहरू उडाउँदै
हलहली हाँसिरहेका छन्
बीच सडकमा मान्छेका लासहरू !
मैले कसरी रुने अब—
झ्याउँकीरी झैँ
यी लासका ओठहरूमा टाँसिएर ?
मृदङ्ग बजाएर बाबा !
घामहरू मृदङ्ग बजाएर आउँछन्
र मेरो अँगालोबाट
मलाई नै चोरेर लान्छन् !
मैले कसरी बाँच्ने अब—
गान्धारी आमाहरूको
गर्भपीडाको विषाक्त घाउमा डामिएर ?
उता सिङ्गै सहर बार्दलीमा निस्केर
रात रातभर हाहाकार गरिरहेको छ !
र यता काला सर्पहरू
मेरो नवजात शिशुको ओठमा चुसेर
तन्तनी रगत पिइरहेका छन् !
उफ् ! मैले कसरी बाँच्ने अब—
यो मसान झैँ दन्दनी बलिरहेको
कलिलो पृथिवीलाई काखमा सुताएर ?
(२०४८)
लिलाम जवानीहरू
ए ! म हिमाली यौवना !
पद्मिनी र क्लियोप्याट्राको आलो बैँस !
बिक्रीमा छु ! म बिक्रीमा छु !!
मासु मन पर्दैन र हजुरलाई ?
लिनुहोस् र मनलागी गिजोल्नुहोस्
फलामका राता रडहरूले !
हिमालय जस्ता स्तनहरू उम्रिएको
यो रहरलाग्दो छातीलाई जसरी बजाए पनि हुन्छ
म घिन्ताङ् घिन्ताङ् बज्नेछु !
टह टह जून लागिरहेका सुकुमारी रातहरूमा
सेता, कल्कलाउँदा तरुणी तिघ्राहरूले
म हजुरको यौवनलाई रनक्क तताइदिनेछु !
कसम हजुर ! म रबरकी स्वास्नीमान्छे होइनँ !
एकपल्ट काखमा राखेर त हेर्नुहोस्
के गुलाफको महक छैन र मेरो छालाको बगैँचामा ?
मेरो पेट रित्तो छ ! मेरो शरीर नाङ्गो छ !
हेर्नुहोस् ! सडकको किनारमा भोकभोकै सुतेर
कसरी आकाश हेर्दै छन् मेरा बालबच्चाहरू !
ओ लोग्नेमान्छे !
छन्छनी गनेर बैँसहरू म पनि सडकमै सुतेकी छु
मलाई सस्तोमा किन्नुहोस्— म बिक्रीमा छु !!
(२०५०)
शत्रुको दैलो
मेरो छालामा किन यसरी
सहस्र अग्निका लप्काहरू नाचिरहेछन्
थाहा छ तिमीलाई ?
किन रात परेपछि
हजार माउसुलीहरू
मेरो कान चाट्न थाल्छन्
र हजार सर्पहरू
तिघ्रामा लपेटिन थाल्छन् ?
किन असङ्ख्य फौजी माकुराहरू
मेरो शरीरभरि कबाज खेलिरहन्छन् ?
किन ज्वालामुखी झैँ फुट्तै छु म ?
किन हिमनदी झैँ पग्लिँदै छु म ?
स्वामी !
म अब यो आदिम ओछ्यानबाट उठेर
मध्यरातमा नाङ्गै सडकमा निस्कन्छु
र तिम्रो शत्रुको आँगनमा गएर नाचिदिन्छु !
तिमी त बरफको डल्लो रहेछौ
जिउँदो लोग्ने होइनौ तिमी !
सक्छौ भने बहुलाएको चिल बनेर लुछ न
मेरो यो कपाल घरिघरि !
जिउँदो छौ भने भोको सिंह बनेर झम्ट न
मेरो यो छातीमा घरिघरि !
दया छ भने च्वास्स
चुरोटको काँचो आगोले पोलिदेऊ
मेरो यो छालामा घरिघरि !
र मलाई एउटा तरबार देऊ !
जलिरहेको अन्धकार देऊ !
म महाकाली—
आफैँभित्रको बाढी र भूकम्पले भत्किँदै छु !
म उग्रचण्डी—
आफ्नै अग्निकुण्डमा निरन्तर जल्दै छु !
म श्वेत भैरवी—
आँधीको आवेगले भाँचेको हाँगासरि
यो चिसो जमिनमा पछारिँदै छु !
तर तिमी त अझै
ढुङ्गाको देवता जस्तै शान्त छौ !
काठको राजकुमार जस्तै शान्त छौ !
मरेको पुतली जस्तै शान्त छौ !!
आज मैले अर्को सत्य थाहा पाएँ
शान्ति त एउटा सहनै नसकिने पीडा रहेछ !
म अब तिम्रो शान्ति भत्काएर
तिम्रो प्रेमको पोखरी भत्काएर
तिमीभित्रको सिद्धार्थ भत्काएर
एउटा घनघोर आतङ्कको गहिरो अन्धकारभित्र
चुर्लुम्म डुब्न चाहन्छु !
म अब शत्रुको दैलो खोल्न चाहन्छु !!
स्वामी !
मलाई क्षमा गर !
यो बरफको चिसो काखबाट हामफालेर
म अब एउटा जलिरहेको अन्धकारमा
पौडी खेल्न चाहन्छु !
मलाई क्षमा गर !
म अब तिम्रो शत्रुको दैलोमा गएर
केशराशि छर्दै
क्वाँ क्वाँ रुन चाहन्छु !!
(२०६२)
स्वैर प्रेमिका
बादलका स्वप्निल सिँढीहरू ओर्लिएर
आइन् राजकुमारी र भनिन् मलाई—
भैगो सोनाम !
यो लालुपाते जवानी
जोर आँखाको सानु नानी
झरिजाने शीतको पानी
म तिम्रै शिरको टोपीमा
शिरफूल बनाई सजाइदिउँला !
मुटुभित्र झुनुनु झुनुनु
बज्न थाल्यो सितारको तार !
आँखै अगाडि लरक्क लर्कियो
इन्द्रेणीको सप्तरङ्गी हार !
नारङ्गी फूलका डालीहरूमा
लुकी लुकी को बजाउँदै छ
प्रेमको यति मीठो घुँगुरा ?
छमछम नाचिरहेको वसन्तसरी
ढकमक्क फुल्न थाल्यो
जीवनको फूल !
आइन् राजकुमारी र भनिन् मलाई—
यो आकाशगङ्गामा सोनाम !
तिम्रो र मेरो गुलावी सपनाका
मृदुल बाछिटाहरूले
निथ्रुक्कै भिजेको यो आकाशगङ्गामा
हेर त ! हजारौँ माकुराहरू
जाल थापेर गीत गाइरहेका छन् !
र म आकाश खोज्दै उडिरहेका
रङ्गीन पुतलीहरूको
प्वाँखमाथि निदाएकी छु !
फूलको थुँगामा चम्किरहेको
शीतको थोपा जस्ती मेरी प्रेयसीलाई
आफ्ना कलिला पखेटाहरूमा बोकेर
जब पुतलीहरू त्यही आकाशगङ्गातिर
फिरफिर नाच्दै उड्न थाले !
र जब दन्त्यकथाका राक्षसजस्ता
सहस्र फौजी माकुराहरू
आफ्नै जालोमा पिङ खेल्दै
मृत्युका गीतहरू गाउन थाले !
मैले कम्मरमा झुलिरहेको
झलझली बल्ने
सुनको त्यही तरबार झिकेँ
र दन्त्यकथाको त्यही राजकुमारले जस्तै
स्फटिकको त्यही खम्बामा प्रहार गरेँ !
‘गुहार ! गुहार !!’
जब आफ्नै ओछ्यानबाट
एउटा परिचित आवाजको जन्म भयो,
म आफ्नो अन्तिम सपनाबाट ब्युझिएँ !
जीवन त फेरि पनि
घोडाको चिसो तबेलामा बाँधिइरहेको थियो !
र भोकभोकै सुतेकी गृहिणी
खप्परको काँचो हाडमा
भूकम्पहरू उसिनिरहेकी थिई !
बादलका स्वप्निल सिँढीहरू ओर्लिएर
आइन् राजकुमारी र भनिन् मलाई—
भैगो सोनाम !
यो लालुपाते जवानी
जोर आँखाको सानु नानी
झरिजाने शीतको पानी
म तिम्रै शिरको टोपीमा
शिरफूल बनाई सजाइदिउँला !!
(२०५०)
जलदेवीको गीत
रातभरि आँसुले नुहाइदिएर
सुकिलो बनाएको जून कहाँ पुगिसक्यो !
कोक्रामा सुताएर तेल घसीघसी
हुर्काएका ताराहरू कहाँ पुगिसके !
फूलको डोलीमा राखेर
कलिलो बेहुलो जस्तो घामसँगै
अन्माएर पठाएको न्याउली चरो पनि
नौ डाँडा काटी कहाँ पुगिसक्यो !
जलदेवी ! जलदेवी !!
कहाँ हरायौ तिमीले आज
आफ्नो सबैभन्दा प्रिय गीत ?
र किन तिमी यसरी
नदीको शून्य बगरमा उभिएर
पानीले बगाइरहेको आफ्नै छाया
हेरिरहेकी छ्यौ हरेक दिन ?
थाहै नपाई धूलोमा झरिसकेछन्
शिरमा फुलेका रानीफूलहरू !
निभ्नै लागेछन् अब त
आँखामा बलेका साँझबत्तीहरू !
कसले समयको अदृश्य करौँती चलायो
र यति धेरै चिरा पारेर गयो अनुहारमा ?
शरीरबाट पग्लिएर
झरिसकेछन् हातहरू !
झरिसकेछन् खुट्टाहरू !
झरिसकेछ भुइँमा
मायाले दिएको जालीरुमाल !
जलदेवी ! जलदेवी !!
नदीको पल्लो किनारमा
सुताएर आएकी थियौ
जूनकिरी जस्ती मायालु छोरीलाई !
उता हेर त !
थाहै नपाई सिरानीमा
कसरी नाच्दै छ हरियो सर्प ?
ढाकरमा सुन जस्तो नून
र मट्टितेलको जीवन बोकेका भरिया दाइहरू
आज यो बाटो आउँछन् कि आउँदैनन् ?
झोलामा हीरा जस्तो चिउरा
र सिन्कीको जोवन बोकेका कुनाली दिदीहरू
पिपिरी बजाउँदै आउँछन् कि आउँदैनन् ?
शिरमा भिर जस्तो कर्कटपाता
र पानीको कलकल बोकेका परदेशी मामाहरू
मालसिरी गाउँदै आउँछन् कि आउँदैनन् ?
माथि पहाडबाट परालको भारी बोकेर
आफूजस्तै बूढा गोरुहरूको बथान धपाउँदै
तराई झरिरहेका खरिते काकाहरू
लौ ! आज यता आउँछन् कि आउँदैनन् ?
जलदेवी ! जलदेवी !!
कतारको मरुभूमिमा ऊँट चराएर फर्किएका
ऊँट जस्तै छोराहरू
रेडियो रुवाउँँदै आउँछन् कि आउँदैनन् ?
मलेसियाको सडकमा हात चुँडाएर फर्किएका
जूनपापी ताराहरू
जूनसँगै अस्ताउँन आउँछन् कि आउँदैनन् ?
पहेलो रगतको टाटाले
भिजेको पेटिकोट लगाएर
सिमाना काटी उडेका पुतलीहरू
फूलसँग रुन आउँछन् कि आउँदैनन् ?
र भन्छन् कि भन्दैनन्—
‘हे मझिनी !
पुग्नु छ टाढा सपनाको गाउँमा
छाडिदेऊ न हामीलाई !
नदीजस्तो यो जिन्दगी
तारिदेऊ न हामीलाई !!’
तर मायाको सिलोक मायाले गाउँदै
कोही पनि आएनन्— आज अबेरसम्म !
हिजो त यही बाटो भएर
उहिले एकादेशका एउटा राजा
भेडा धपाउँदै धपाउँदै
दरबारबाट जङ्गलतिर आएका थिए !
र त्यही देशका अरू राजाहरू
सुँगुर चराउँदै चराउँदै
जङ्गलबाट दरबारतिर गएका थिए !
भरभराउँदो जवानी जस्तै
भरिएको थियो तिम्रो डुङ्गा !
तर आज …
ओहो ! फेरि कहाँ पहिरो गयो होला आज ?
धमिलो बनिरहेको छ— नदीको आँसु !
जलदेवी ! जलदेवी !!
यसरी कहाँबाट बग्दै आइरहेका हुन्
यी सिलबरका पुराना थालबटुकाहरू ?
यसरी सपना नै भत्काएर
कहाँबाट बग्दै आइरहेका हुन्
यी तितेपातीले बारेका झुपडीहरू ?
हेर न ! कहाँबाट बग्दै आइरहेका हुन्
यी कोक्रामै निदाएका नानीहरू ?
अरु त कोही पनि आएनन् आज
चौँरी गोठालाहरू चौँरीसँग रुँदै आएनन् !
तन्नेरी बटुवाहरू
तिमीलाई देखेर सुसेल्दै आएनन् !
हारेका परदेशीहरू
बिरहका गीत गाउँदै आएनन् !
रित्तै छन् गाउँका कोखहरू !
रित्तै छन् आमाका काखहरू !
कोक्रामा तेल घसीघसी हुर्काएका
जूनताराहरू पनि आज
तिम्रो पाउमा शिर राखेर रुन आएनन् !
खोइ नदीको पल्लो किनारमा
निदाइरहेकी जूनकिरी ?
जलदेवी ! जलदेवी !!
खोइ नदीको ओल्लो किनारमा
रोइरहेको रित्तो डुङ्गा ?
खोइ तिम्रो
सपना लुकाउने माछाको पेरुङ्गो ?
तिमी त अहिले पनि
पानीले निरन्तर बगाइरहेको
आफ्नै धमिलो छाया मात्र हेरिरहेकी छ्यौ !
जलदेवी ! जलदेवी !!
खोइ तिमीले गाउने
जीवनको सबैभन्दा प्रिय गीत ?
(२०६७)
केटाकेटीहरू र हल्ला
हल्ला
कक्षाकोठाभरि हल्ला छ
किन पढ्दैनन् नानीहरू ?
म इतिहास पढाउन खोज्छु
उनीहरू जङ्गली चरा जस्तै हल्ला गर्छन् !
म गणित पढाउन खोज्छु
उनीहरू पहाडी खोला जस्तै हल्ला गर्छन् !
म भाषा पढाउन खोज्छु
उनीहरू भाषा नै लाटो हुने गरी हल्ला गर्छन् !
म ‘हल्ला नगर’ भन्छु
उनीहरू फेरि हल्ला गर्छन् !
सायद म बाँचेको समयमा नै
कुनै गम्भीर त्रुटि हुनुपर्छ !
नत्र यो हल्ला कसरी ‘हल्ला’ हो र ?
यो हल्ला आफैमा एउटा विचार हो !
यो हल्ला आफैमा एउटा जीवन हो !
र यो हल्ला आफैमा एउटा सपना हो !
नानीहरू !
म पनि अब तिमीहरूसँगै बसेर हल्ला गर्छु !!
(२०६३)
अँध्यारो
हेरिराख है त भाइ !
अब झ्याप्पै निभ्छ यो बत्ती
र चारैतिर अँध्यारो हुन्छ !
अँध्यारोमा किताब देखिँदैन !
कलम देखिँदैन !
आहा ! त्यसपछि त हामीले
होमवर्क गर्नै पर्दैन !
पाठ घोक्नै पर्दैन !!
(२०६७)
कसाई
त्यो कसाई
साह्रै सेक्सी छ दिदी !
त्यसले आज पनि मलाई
रातो जिब्रो निकाल्दै
सडकमा घुरेर हेर्यो !
भाग्न खोज्दाखोज्दै
भूतले झैँ मेरो बाटो छेक्यो
र माउसुलीले जस्तै
घिनलाग्दा आँखाहरू झिम्क्यायो !
आफ्नो पसलमा झुन्ड्याएको
बोकाको ताजा राजखानी
भालेको आलो सिउर
र राँगाका थर्थराइरहेका फिलाहरू देखाउँदै
त्यसले आज पनि
झन्डै मेरो दाहिने हात समात्यो !
मलाई स्कुल जान डर लाग्छ दिदी !
सधैँ त्यो दुष्ट
मेरै बाटो छेकेर उभिएको हुन्छ !
बाटोभरि उसले काटेका जनावरहरूको
रगतै रगत छ ! … रगतै रगत छ !!
मेरो जुत्ता, टाई, युनिफर्म
र किताबका पानाहरूमा
त्यही रगतको दाग लागेको छ !
त्यसले केको मासु बेच्छ रातदिन ?
मलाई डर लाग्छ !
पुलिसहरू किन त्यसलाई
जमिनमा सुतेर सलाम गर्छन् ?
र किन त्यसको अगाडि
मानिसहरू
पशुझैँ शिर झुकाएर हिँड्छन् ?
सधैँ त्यसको देब्रे हातमा
काँपिरहेको हतियार हुन्छ !
र त्यो हतियारबाट
सर्पले सास फेरे जस्तो
डरलाग्दो आवाज निस्किरहेको हुन्छ !
मलाई स्कुल जान डर लाग्छ—
त्यसले कुन दिन
अकालमै मार्ने हो मलाई पनि ?
दिदी !
त्यो कसाई साह्रै सेक्सी छ !!
(२०६२)
बूढो मास्टर
यो बूढो मास्टर
किन कान समातेर
उठ–बस गराउँछ मलाई ?
किन यसरी घुँडा टेकाउँछ पृथ्वीमा
र मन्त्र पढेझैँ हरेक दिन
‘पृथ्वी गोलो छ’ भन्ने
पुरानो गीत मात्र गाउन लाउँछ ?
यसको अनुहारमा
डाइनोसरको सिङ उम्रिएको छ !
संसार हेर्ने रङ्गीन चस्मा
आहाल जस्तै धमिलो छ !
कि यसको मस्तिष्कमा
पलाएको छ जलकुम्भी ?
नत्र किन यो पुरानो मान्छे
मलाई मात्र
फेरि मलाई मात्र !
डस्टरले, चकले, लट्ठीले ताकेर देखाउँछ
र आफूभन्दा पुराना पुराना
प्रश्नहरू सोधिरहन्छ ?
मलाई टेन्सन भयो—
केको दाग लागेको हो यसको दाह्रीमा ?
यो रगतको दाग हो कि मसीको दाग हो ?
म पुरानो प्रश्नको
नयाँ उत्तर खोज्न चाहन्छु—
यसको शरीरबाट
किन एसिडको गन्ध आइरहेको छ ?
किन निधारभरि
कुदिरहेका छन् कमिलाहरू ?
र यो किन ब्लाकबोर्डतिर फर्केर
बारम्बार आँसु पुछिरहेको छ ?
यो पुरानो रिक्साजस्तो मास्टर
किन आफू मात्र आवाज निकाल्छ
र मलाई चूप लगाउँछ ?
किन आफू मात्र प्रश्न सोधिरहन्छ
र मेरा प्रश्नहरू सुन्दैन ?
ब्लाकबोर्डमा यो
बारम्बार के लेखिरहन्छ
र फेरि अचानक किन मेटिरहन्छ ?
कि यसले मेरो मस्तिष्कमा
नयाँ सपनाहरू काटिरहेको हुनुपर्छ !
कि मलाई
मारिरहेको हुनुपर्छ— मेरो समयबाट !
मलाई थाहा छ—
यसको जुत्ताबाट उदाउँदैन चन्द्रमा !
तर मलाई थाहा छैन—
म स्कुलमा छु कि पोल्ट्रीफर्ममा छु ?
म कक्षाकोठामा छु कि कारागारमा छु ?
म यो संसारमा छु कि बधशालामा छु ?
नत्र किन आफैसँग रुँदै
साँझमा घर फर्किंदा पनि
मेरो बाबु यही मास्टरको गीत सुनेर
हरेक रात
मलाई नै तीर हानिरहेको हुन्छ ?
किन आँसुले मुछेर भात खाँदा पनि
मेरी आमा हरेक दिन
मलाई नै हेरेर रोइरहेकी हुन्छे ?
साथी हो !
म अब होमवर्क गर्दिनँ !
म अब फर्मुला घोक्दिनँ !
म अब बूढो मास्टरका
कुनै पनि प्रश्नको उत्तर दिन्नँ !
म अब कान समातेर उठ–बस गर्दिनँ !
यो पुरानो मानिसका
कुनै आदेश र अनुशासन पालन गर्दिनँ !
मलाई टेन्सन भयो—
म अब बाहिर जान्छु !
मेरो ठीक अगाडि उभिएको
एउटा अन्धकारजस्तो ब्लाकबोर्ड भत्काएर
म अब त्यहीँबाट बाहिर जान्छु !
मलाई ‘गेट आउट’ भन—
म बाहिर जान्छु !!
(२०६२)
पुतलीको सुहागरात
दिउँसो केटाकेटीहरूले
झुम्राका पुतलीहरूको
विवाह गरिदिएका थिए !
अहिले तिनै पुतलीहरू
मकैबारीमा लुकेर
सुहागरात मनाइरहेका छन् !
दुलाहा पुतलीको शरीरबाट
फलाम र हिलोको बास्ना आइरहेको छ !
दुलही पुतलीको सुस्केराबाट
जङ्गली घाँसको सुगन्ध आइरहेको छ !
कतै मूर्ख केटाकेटीहरूले
आफ्नै बाबुको कछाड
र आमाको गुन्यूँ
च्यातेर त बनाएका होइनन्
यी पुतलीहरू ?
(२०५५)
हराएको किताब
यसरी हतारिएर
हरेक दिन यसरी हतरिएर
छपामार युद्धमा तैनाथ गरिएका
गुरिल्लासरी दौडिरहेका छन्
यी पहाडहरू !
पहाडमाथि पानीको जङ्गल छ
पानीको जङ्गलभित्र
जानकी कलशमा रगत भरिरहेकी छ !
पहाडमाथि चर्खाजस्तो आकाश छ,
आकाशमा खुट्टाहरू उभिन्डो पारेर
तिरमिर तिरमिर
सहस्र टाउकाहरू झुकाएर
म जस्तै रोइरहेको छ
एउटा बालक सूर्य !
पहाडहरू
लड्दै उठ्दै दौडिरहेका छन् !
रोइरहेको सूर्य दौडिरहको छ !
स्कुलको घण्टी बजिसक्यो बाबा !
कहाँ छ मेरो हराएको किताब ?
(२०५७)
झुम्राको मान्छे
तिमी स्कुल जाने सडकहरूमा
तिमी घर फर्किने सडकहरूमा
हेर ! एउटा झुम्राको मान्छे
समयको बाटो छेकेर लमतन्न सुतेको छ !
ऊ दिनभरि
तिम्रा पुर्खाको इतिहासलाई तर्साइरहेको छ !
र रातभरि
भोलि उदाउने सूर्यलाई तर्साइरहेको छ !!
प्रत्येक बिहान
तिमी उसका निष्प्राण हातहरू छाम !
र भन— “शुभ बिहानी !”
प्रत्युत्तरमा ऊ केही बोल्दैन !
अहँ, केही पनि बोल्दैन !!
यसरी एउटा झुम्राको मान्छेले
बोल्दै नबोली तिम्रो युगलाई
तिम्रो विचारलाई र तिम्रो सपनालाई
भूतपूर्व शासनको बन्दुक बोक्न
विवश बनाइरहेको छ !!
(२०५०)
आगो अझै पाकेको छैन
खरानीभित्र
आगो अझै पाकेको छैन !
हामी आगो पोलेर खाने विश्वासमा
यति अबेरसम्म
बाँच्न बाध्य भएका छौँ !
प्रमिथस !
त्यही दन्त्यकथाका
तिनै भोका केटाकेटीहरू रहेछौँ हामी,
जसलाई गुफाभित्र एक्लै छाडेर
चारो खोज्न हिँडेका थिए पुर्खाहरू !
गुफा बाहिर
हामीले जङ्गल बाहेक केही पनि भेटेनौँ !
र अँध्यारोतिरै फर्किएर
एकनास खोस्रिरह्यौँ खरानी !
आगो अझै पाकेको छैन !
सपना मरिरहेको छ बाहिर !
एउटा निरङ्कुश भोकले
गिरफ्तार गरेको छ समयलाई !
के यो आगोलाई काँचै खान सकिँदैन ?
(२०५२)
फुलमतीको तकियामुनि
फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ !
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरुको नाम भेटेँ !
मलाई बल्ल थाहा भयो—
मेरो बाबु अचेल किन
ऐना मात्र हेर्नुहुन्छ
र माछाको टाउको खानुहुन्छ ?
किन हरायो आमाको मङ्गलसूत्र
र स्कुलबाट काटियो मेरो नाम ?
म बुझ्दै छु—
किन मेरो बाबुको अफिसमा
राति अबेरसम्म मिटिङ हुन्छ
र भान्छाकोठामा
झोक्राइरहनुहुन्छ आमा ?
किन यार्सागुम्बाझैँ
आधा झार र आधा किरा जस्तो देख्छु
बाबुको जिन्दगी ?
स्कुलमा अचेल
गुरु किन जोक भन्नुहुन्न
र कुर्सीमा बसेर उँघिरहनुहुन्छ ?
म बुझ्दै छु—
गुरु किन अचेल
रामायण र महाभारतका
नीतिकथाहरू मात्र भन्नुहुन्छ ?
मेरी आमालाई थाहा छैन—
बाबुको कोटमा अल्झिएको
कपाल कसको हो
र केको सुगन्ध आइरहेछ
उहाँको शरीरबाट ?
मेरा साथीहरूलाई थाहा छैन—
गुरुको कलरमा लागेको
दाग केको हो
र किन हराउँदै छ मुस्कान
उहाँको ओठबाट ?
कसैलाई थाहा छैन—
फुलमतीको तकियामुनि
कसकसका नामह भेटिन्छन् ?
तर मलाई थाहा छ—
बाबु र गुरु त भगवान् हुन् !
दुवै महान् र पूजनीय छन् !
दुवैले मलाई एउटै सत्य सिकाउँछन्
र एउटै सुगन्ध आउँछ
हाम्रो शरीरबाट !
फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ !
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरुको नाम भेटेँ !
अन्तिम हरफमा खोज्दै जाँदा
मैले मेरो आफ्नै नाम भेटेँ … !!
(२०६२)
रुखबाबाका साथीहरू
रुखबाबा
रुखलाई एक्लै छाडेर
म हिँडेको थिएँ यो जङ्गलबाट !
धेरै वर्षपछि म फर्किँदा
रुख त्यसरी नै उभिएको थियो !
‘अब तिम्रो सट्टामा
म उभिन्छु यो जङ्गलमा,
तिमी कतै घुमेर आऊ !’
मैले रुखको आँसु पुछिदिँदै भनेँ ।
रुख अचानक मुस्कुरायो र बोल्यो—
‘छोरा ! तिम्रो आगमनसँगै
म आफ्नो लक्ष्यको
अन्तिम उचाइमा आइपुगेको छु !’
(२०५५)
रेसम किरो
रेसम किरो नाङ्गो छ
अब उसलाई
रेसम मार्गको अधिपति भन्न मिल्दैन !
उसको यात्रा धागोबाट सुरु हुन्छ
र धागोमै पुगेर टुङ्गिन्छ !
रेसम किरो तान बुनिरहेको छ,
समय जति नै लामो धागोमा
उसका नग्नताहरू
ओहोर दोहोर गर्छन् !
किम्बुको उदास रुख जस्तै
रेसम किराको
सम्पूर्ण परिवार नाङ्गो छ !!
(२०५४)
अनाम मान्छे
हरेक दिन
यही ऐना अगाडि उभिएको छु
र हेरिरहेको छु—
एउटा अनाम मान्छेको
हराएको अनुहार !
यो बन्दाकोभीको टाउको
र सागका कपालहरू !
यो खोर्सानीको जिब्रो
र सिमीका ओठहरू !
यो घिरौँलाको नाक
र टमाटरका आँखाहरू !
यो लौकाको हात
र काँक्राका खुट्टाहरू !
यो अदुवाको मस्तिष्क
र प्याजका मुटुहरू !
यो रामतोरियाको लिङ्ग
र आलुका अण्डकोषहरू !
चामलको बोराद्वारा निर्मित
एउटा कुरूप शरीर !
जसको नसा नसामा बगिरहेको छ
गुन्द्रुकको अमिलो रगत !
युगौँदेखि यो ऐनाभित्र
मेरो विचारलाई गिज्याउँदै उभिएको
यो अनाम मान्छे को हो ?
र हरेक दिन
किन सोधिरहेको छ
मेरो नाम ?
(२०५६)
ट्रकको मृत्यु
सडक दुर्घटनामा
ड्राइभर बाँच्यो
खलासी बाँच्यो
सिटी फुकिरहेको ट्राफिक पुलिस बाँच्यो
सबै तीर्थयात्रीहरू बाँचे
केवल एउटा ट्रकको दुखद निधन भयो !
कसैले कुनै प्रश्न गरेन
लासको सनाखत गर्न कोही आएन
सिन्दुर पखालेर रुन कोही आएन
दागवत्ती दिन, कपाल खौरिन, बरखी बार्न
उसका कुनै प्रियजनहरू आएनन्
सायद यो ट्रक जीवनभर एक्लो थियो !
सडकको पल्लो किनारमा
‘हरेराम हरेकृष्ण’ भनिरहेको रुप्पीको भीड
घाइते हुने सम्भावना थियो— केही भएन !
सडकको ओल्लो किनारमा
‘मुर्दावाद जिन्दावाद’ भनिरहेको कौवाको जुलुस
दुर्घटित हुने सम्भावना थियो— केही भएन !
इतिहासमा एउटा साधारण घटना घट्यो
ट्रकको मृत्यु भयो !
तर जो जो मर्ने सम्भावना थियो
तिनीहरू सबै सकुशल बाँचे
र जसको बाँच्ने सम्भावना थियो
उसको अप्रिय मृत्यु भयो !
(२०५९)
सारस र माछाहरू
बालुवामाथि उभिएको एउटा बूढो सारस
नदीमा जाल हानेर निदाइरहेको छ !
र माछाहरू त्यही सारसलाई बल्छी थापेर
पानीभित्र तेलकासा खेलिरहेका छन् !
हरे ! अब यो युद्ध कसले जित्ने हो ?
माछाहरू बिस्तारै–बिस्तारै
सारसको जालभित्र बाँधिदै छन् !
र बल्छी निलेको बूढो सारस
पानीको गहिराइतिर तानिँदै छ !
(२०४७)
आँसु
तिम्रो देहावसानपछि
तिमीले दान दिएका आँखाहरूले
यो संसार हेरिरहेको छु !
तिम्रा आँखाबाट हेरिरहेको छु
यी फूलहरू, पहाडहरू
नदीहरू र वसन्तहरू !
तिम्रा आँखाबाट हेरिरहेको छु
तिम्रै समाधिमाथि उडिरहेको
निलो धूवाँ !
र बगाइरहेको छु आँसु !
तर यो आँसुचाहिँ मेरो हो !
(२०६९)
फर्किए प्रियजनहरू
धूवाँमा भिजेको समय निचोरेर
कारखानाबाट, जङ्गलबाट, मुखियाको बारीबाट
मुरली बजाउँदै फर्किए प्रियजनहरू !
अब केही छिनमै
लोकगीतका हरिया वृक्षहरूमा
सहस्र ढुकुरहरू बास बस्नेछन्
र शोकगीत जस्ता मौन झुपडीहरूमा
उज्यालो गुमाएका साँझबत्तीहरू बल्नेछन् !
किथ्रा र झ्याउँकिरीहरूको दोहोरीसँगै
चिसा मझेरीहरूमा
नानीहरू निद्रा ओढेर सुत्नेछन्
र तिनका थकित बाबुआमाहरू
पेटभरि भोक खाएर जाग्राम बस्नेछन् !
छातीमा किन बिझाइरहेको होला
यो कसिङ्गर जस्तो मुटु ?
लोकगीतका नायक नायिकाहरू
नौलाखे तारालाई प्रश्न गर्नेछन्—
किन यो समयको भविष्य छैन ?
आँसुमा भिजेको जालीरुमाल निचोरेर
चौँरीगोठबाट, खोरियाबाट, गिरहतको मकानबाट
मुरली बजाउँदै फर्किए प्रियजनहरू !
(२०५८)
ऊँटहरू
बालुवाभरि
केही अमूर्त आकृतिहरू छन्
मरुभूमिमा सायद पुर्खाहरू हिँडेका थिए !
युगौँदेखि म
खोजिरहेछु निरन्तर
कोही न कोही त हिँडेको हुनुपर्छ
यो एकान्त बाटोमा !
यी मुस्कुराइरहेका खप्परहरू
र नाचिरहेका नलीहाडहरू
यी रोइरहेका रगतका छालहरू
र यो भटकिरहेको आत्माको आवाजलाई
बीच बाटामै अलपत्र छाडेर
कहाँ गए होलान् तिनीहरू ?
कहाँ गए होलान् ?
बालुवाभरि
पैतालाका अस्पष्ट अक्षरहरू मात्र छन्
इतिहासमा सायद ऊँटहरू हिँडेका थिए !!
(२०५५)
साइकलको गीत
दाँतका कापहरूबाट
एउटा निर्मम सङ्गीतको सूर्यास्त हुनुअघि
कारखानाको मूल द्वारमा उभिएर साइकल रुन्छ !
यो फिँजैफिँज आउने काइँयो
र दाह्री काट्ने टेलिभिजन !
यो शुद्ध कर्कटपाताको मासु
र रेशमी धागाले बुनिएका पवित्र दूधहरू !
शिरमाथि बोकेर हिँडिरहेछ साइकल—
ऊ बजारको भाषा बुझ्दैन !
टिङ् !… टिङ् !!… टिङ् !!!
घन्टी जस्तै बज्छ मान्छेको संवेदना
र चिम्नीको धूवाँमा कोरिन्छन्
कविताका अपरिचित बिम्बहरू !
थाहा छैन— यी शब्दहरू फाटेका हुन्
कि म आफैँ पुरानो भइसकेको हुँ ?
कारखानाबाट साइकल खाली हात फर्किएको छ,
म इतिहासको तातो खरानीमा मुख जोतेर
साइकलको गीत लेखिरहेको छु !
(२०५३)
हरे कृष्ण ! हरे राम !!
ड्ड लौ है ! अब त गीत गाउने बेला भो’
सपनाको सिताराझैँ बालापन कहाँ गयो ?
इन्द्रेणीको हार जस्तो लर्के जोवन कहाँ गयो ?
साँझबत्ती निभाएर छोरानाति कहाँ गए ?
मेलापातमा सँगैसँगै हिँड्ने साथी कहाँ गए ?
एकाबिहानै दोबाटोमा
कसले छोडेर गयो होला यो रुमाल ?
रामसाहिँला !
किन धमिलो देखिन्छ यो संसार ? किन काँपिरहेछ यो जमिन ?
थाहै नपाई ओसिएछ सलाईको काँटी— बल्दै बल्दैन पापी आगो !
जीवन सिलाउने सियोमा कसरी छिराउने अब यो धागो ?
ठाँटी फलैँचामा बसेर उहिलेका सपनाहरू सम्झिँदै
बूढाहरू तापिरहेछन्— आफू जस्तै चिसो घाम !
हरे कृष्ण ! हरे राम !!
ड्ड लौ है ! अब त ऐना हेर्ने बेला भो’
शिरमाथि फुलेको यो सिरु हो कि हिउँ हो ?
ऐनाभित्र निचोरेको रुमाल हो कि जिउ हो ?
कसरी चढ्नु दुःखको भ¥याङ— थरथर काँप्छन् गोडाहरू ?
कसरी दुहुनु काललाई अब— पग्लिन्छन् हातका औँलाहरू ?
यसपालि पनि भत्कियो मन— गैरीखेतमा पहिरो गयो !
रामसाहिँला !
आगो लाग्छ कलेजोमा— सुनको दाना माटो भयो !
यही माटोलाई शिरले टेकी कहाँ जाँदै छ यो दुनियाँ ?
हामी पनि पछिपछि बृद्धभत्ता लिन जाम् !
सुनकेसरी रानीका कथाहरू आफै भन्दै आफै सुन्दै
तड्पी तड्पी मर्नुभन्दा गाह्रो रै’छ बाँच्ने काम !
हरे कृष्ण ! हरे राम !!
ड्ड लौ है ! अब त जाने बेला भो’
नून बोक्ने साथीहरू नून जस्तै बिलाइसके !
आरा काट्ने साथीहरू जून जस्तै बिलाइसके !
झोडा फाँड्ने साथीहरू, बसाइँ हिँड्ने साथीहरू
चर्किएको बाँसुरीको धून जस्तै बिलाइसके !
यति धेरै हिँडिसकियो— पुगिँदैन कतै !
रामसाहिँला !
हिँडिरहेको बाटो रोकिँदैन कतै !
उहिले वैँसमा त नचाएकै हो खुकुरी !
नाचेकै हो मारुनी !
खेलेकै हो जुहारी ! फकाएकै हो तरुनी !
अहिले पो बालुवामा भेटिँदैन आफ्नो नाम !
सपना सबै जलिसके— बाँकी छ एउटै परमधाम !
हरे कृष्ण ! हरे राम !!
(२०७०)
अँध्यारोको गीत
अर्को अन्धकार
यो रात पनि त्यत्तिकै बित्यो
बिहान अर्को अन्धकार सुरु हुन्छ !
तिनै आत्मघाती कविताहरू
चन्द्रमा र नदीका आदिम एकालापहरू
त्यही कुरूप शान्ति
र कानुनको मुरलीबाट निस्केका
दूषित वाफहरू !
त्यही विक्षिप्त घाम,
त्यही ईश्वर, त्यही साइकल
र त्यही भोक दोहोरिन्छ फेरि !
त्यही थकाइ, त्यही बन्दुक
र त्यही सम्भोग दोहोरिन्छ फेरि !
कुकुर रोइरहेको निस्पट्ट अन्धकारमा
त्यही मृत्यु दोहोरिन्छ फेरि !
यो रात पनि त्यत्तिकै बित्यो
बिहान अर्को अन्धकार सुरु हुन्छ !
(२०५२)
चङ्गाको मृत्यु
यो वर्ष
चङ्गाको मृत्यु भयो !
र कविताको अग्लो रुखबाट
शब्दहरू बाँदरझैँ ओर्लिए !
हामीले सोध्यौँ—
के त्यो प्राचीन अँध्यारोमा
मट्टीतेलकी श्रीमती रोइरहेकी थिइन ?
उनीहरू सबै मौन थिए—
सायद चामलका छोराछोरीहरू
यो रात पनि भोकभोकै सुते होलान् !
यो वर्ष
हाम्रो सपना जस्तै चङ्गाको मृत्यु भयो
र शब्दहरू कविताको घाउबाट
रगत चुहाउँदै फर्किए !
झ्वाप्प !
प्रकाशका संवादहरू रोकिए
युद्धभूमिमा ।
(२०५६)
खर्पनमा लसुन बोकेर
ईश्वरलाई लसुन मन पर्दैन
तर खर्पनमा लसुन बोकेर
म स्वर्ग हिँडिरहेको छु !
यो जङ्गलको आत्मा
मेरो दुःखको अन्तिम कविता होइन !
यो आवाजको रङ्ग
मेरो युद्धको अन्तिम तरङ्ग होइन !
हरेक बिहान म ब्यूँझदा
शवबाहनमा सुतिरहेको हुन्छु
र शब्दहरू सडकमा रोइरहेका हुन्छन् !
यो दुःखान्त निर्झरी
मेरो आस्थाको अन्तिम बाँसुरी होइन !
ईश्वरले मेरो भाषा बुझ्दैन !
म अन्धकारको भाषा बुझ्दिनँ !
त्यसैले सुदूर अतीतको आकाशमा
म मेरो आदिम आवाज खोजिरहेको छु !
तर जङ्गलको बीचमा रात पर्छ
र अँध्यारोमा श्रापित काकाकुलले मलाई देख्छ !
उसको विक्षिप्त रुवाइ म बुझ्दिनँ
र यो निर्जन मुच्र्छनाभित्र
म पनि रुन्छु … रोइरहन्छु !!
मलाई पृथ्वीमा फर्किन मन छैन
र खर्पनमा लसुन बोकेर
म स्वर्ग हिँडिरहेको छु !!
(२०५४)
जब भोक लाग्यो
जब भोक लाग्यो
मैले सुत्केरी श्रीमती खाएँ !
यो धर्तीमा मुस्कुराइरहेको
नवजात शिशुको सपना खाएँ !
आफ्नै छातीमा प्वाल पारेर
काँचो रगतको इतिहास खाएँ !
तिमीहरूले हेर्दाहेर्दै
मैले धरती कोपर्ने नङ
र भाग्य अड्याउने कपाल खाएँ !
जीवन ढाक्ने छाला
र मन छोप्ने करङ खाएँ !
सपना देख्ने मस्तिष्क खाएँ !
संसार हेर्ने आँखा खाएँ !
माया लुकाउने मुटु खाएँ !
जब भोक लाग्यो
तिमीहरूले हेर्दाहेर्दै
मैले आफ्नै आँसुको इतिहास खाएँ !
अब मसँग
कुनै कलात्मक हिंसा बाँकी छैन !
विचार बाँकी छैन !
संवेदना बाँकी छैन !
केवल एउटा पेट मात्र बाँकी छ !
हे आदिम पुर्खाहरू !
मसँग एउटा पेट मात्र बाँकी छ !
र म अब यही पेट खान चाहन्छु !!
(२०६४)
दमकल घर
दमकल घरमा आगो लाग्न थालेपछि
फुत्त !
दमकलहरू सडकमा निस्के !
र आफ्ना कामुक आँखाहरूले टुलुटुलु
आगोका रङ्गीन तिघ्राहरू हेर्न थाले !
घरहरूका लामालामा प्वाँख पलाएपछि
सिङ्गै सहर धूवाँको आकाशमा उड्न थाल्यो !
आगोमा जले हुरीका किताबहरू !
र कारखानामा वयोबृद्ध मेसिनहरूले
साबुनका मान्छेहरू आविष्कार गरे !
सडकमा फालिएका प्लास्टिकका बट्टाहरूसँग
यौनक्रीडा गरिरहेका उत्तेजित चन्द्रमाहरू
आगोमा डढेर शिथिल बने !
र नीलो स्कर्ट लगाएका राजकुमारी नदीहरू
चन्द्रमाको पिठिउँमा चढेर रुन थाले !
समय यसरी असुरक्षित भइरह्यो
विचार असुरक्षित भइरह्यो
तिम्रो र मेरो प्रेम असुरक्षित भइरह्यो
दमकल घरमा आगो लाग्न थालेपछि … !!
(२०५६)
प्रतिबिम्ब
युगौँदेखि यही आहालको पानी हेर्दै
एउटै ताल र एउटै लयमा
रोइरहेका छौ तिमी !
रुनु तिम्रो व्यवसाय हो
कि बाध्यता हो ?
तर रुँदा इमानदारीपूर्वक रोऊ !
म हेर्छु
तिमीले बगाएको आँसु
सक्कली हो कि नक्कली हो ?
(२०६८)
समयहीन मस्तिष्क
आगोमा फालिदिएको छु
उल्टो आँखाले हेर्दै छु संसार !
यो त पछाडि मुख फर्काएर गाँसिएको
कुनै मिथकीय बोकाको
टाउको मात्र हो !
घाँटीमा
काउछो भिरेको छु
र काँधमा बोकेको छु युगका त्रासदीहरू
एक हातले दीपावली गरिरहेको छु ! अर्को हातले बत्ती निभाइरहेको छु !
कालो धूवाँमा जलिरहेको
कङ्क्रिटको निस्पन्द चिताभित्र
निदाएका छन् संवेदनाका लासहरू !
सम्पूर्ण तारहरू टुटेपछि
बेसुर बेसुर बजिरहेको छ
पेटको सारङ्गी
यहीँबाट पैदा हुन्छन्
भोलिका नपुंशक चेतनाहरू
आघातहरू यन्त्रणाहरू
रातहरू नग्नताहरू
घाउहरू पीडाहरू
युद्धहरू त्रासहरू
मृत्युहरू लासहरू
भ्रमहरू शून्यहरू
यो समयहीन समयमाथि म आफ्नै कङ्कालसँग भयभीत छु !
(२०४६)
सर्पयज्ञ
भरखरै केही सेता टाँगन घोडाहरू
सर्पको दाँतमा अल्झिएको पृथ्वीलाई
आफ्ना उन्मत्त खुरहरूले कुल्चिएर गए !
भरखरै केही सपना देख्ने मान्छेहरू
बोल्न खोज्दै थिए— जिब्रो काटिएर गए !
‘तानित’ को मन्दिरअगाडि
अग्नि–कुण्डमा बलि चढाइन लागेका
केही बालकहरू
भरखरै आमाको काखबाट
मूच्र्छा परेर गए !
बेबिलको टावरबाट वर्षा हुने
परमेश्वरको अन्तिम सन्देश सुन्न
तल पर्खिरहेका
केही उदास र निरीह भेडाहरू पनि
भरखरै आफ्नो प्रिय गीत हराएर गए !
भरखरै किताबबाट बाहिर निस्केर
केही विषालु सर्पहरू
मान्छेको आस्थालाई
आफ्नो दाँतले कुल्चिएर गए !
भरखरै ‘नर्थस’ को मूर्तिमा
काटिँदै गरेका ‘तोलुन्ड मान्छे’ हरू
रगतका आला फाल्साहरू ओढेर
आगोको पहेँलो फूलमाथि
आफ्नै सपनाहरू हराएर गए !
इतिहास भरखरै सुत्केरी भएको छ !
आफ्नो स्तन निचोरेर
भोका नानीहरूलाई रगत पिलाइरहेकी
एउटी वृद्ध सृष्टिमाताको अगिल्तिर
अहिले चिनारका वृक्षहरू
दूध पिइरहेका छन् !
आफ्ना काटिएका टाउकाहरू हातमा बोकेर
हाहाकारको ब्लुज गाउँदै
एउटा आतङ्कित भीड पनि
भरखरै यतैतिर आइरहेको छ !
यो आइकम्यानको विषालु पर्खालभित्र
घाँटीमा जिलेटिन खस्ने
सम्भावित क्षणहरूलाई पर्खिएर
भरखरै केही रेनाताहरू
सरिसृपझैँ जीवनको नजिक–नजिक
घस्रिरहेका छन् !
डढेर खाग खाग बनिसकेका
किताबका अन्तिम पृष्ठहरूमा
फेरि हलक्कै बढेका छन्
आगोका कलिला मुनाहरू !
र बन्दूकका वासन्ती वृक्षहरूमा
मगमगाइरहेका छन् बारुदका फूलहरू !
उता पर्खालभित्र
एउटा अत्यासलाग्दो कोरस बजिरहेको छ !
सर्पदंशित मान्छेको विषाक्त चेतना पनि
सायद यतै कतै मूच्र्छा परेको हुनुपर्छ !
म ईश्वरको अदालतमा
मुद्दा हारेर फर्किएको मान्छे—
अहिले फलाम र शिलापत्रहरूमा
अनुवाद भैरहेको छु !
ए ! किन सकिँदैन
अझै यो विषको महफिल ?
हेमलक, कालकूट र हलाहलका
यी अजम्बरी विषयात्राहरू
ए ! किन टुङ्गिदैनन् अझै
सर्पयज्ञको यो आदिम विषकुण्डभित्र ?
जीवनसँगै जन्मिएका थिए
सर्पयज्ञका विगत इतिहासहरू !
जीवनसँगै बाँचेका छन्
सर्पयज्ञका वर्तमान पीडाहरू !
र जीवनसँगै मर्नेछन्
सर्पयज्ञका आगामी मृत्युहरू !
बुद्धिमा सिक्री बाँधेर
मध्यरातमा चिहानबाटै गिरफ्तार गरिएका
मान्छेका लासहरू
यतै कुनै कारागारबाट
लिलाम भैरहेका होलान् !
हाम्रो विश्वासबाट एउटा अन्तिम सूर्यले पनि
शायद आत्महत्या गरिसकेको छ !
आफ्नै आयुका
अनिश्चित महाविस्फोटहरू बोकेर
ए म पृथ्वी,
अहिले आफैँलाई हवन गर्दै छु
सर्पयज्ञको यो अन्तिम विषकुण्डभित्र !!
(२०४८)
निर्जन बन्दरगाह
फेरि चिन्तनका हिमचुलीहरू भत्किनेछन्
र खरानी रङ्गका चिहानहरूमा
समयले आफ्नो नागरिकता हराउनेछ !
फेरि तर्कका साँझबत्तीहरू निभ्नेछन्
र यो आकाशभित्रै
मेरो आकाशगङ्गा नजरबन्द हुनेछ !
फेरि आस्थाका इन्द्रेणीहरू टुट्नेछन्
र भरखरै नथुनी तोडिएका
बलात्कृत बालिकाहरूको जाँघबाट
तप–तप
एउटा कलिलो राष्ट्र चुहिनेछ !
कविता हताहत भएको यो सहरमा
एउटा भयावह मृत्यु
रगतपच्छे हातहरू लिएर फर्किनेछ
र निर्बोध शिशुहरूलाई
अगेनाको डिलमा सुताएर
सुत्केरी आमाहरूलाई बन्दीगृहमा लगिनेछ !
सरूमा रानी !
यो शरणार्थी शिविरबाट
मेरो बाबा फेरि गिरफ्तार हुनेछ !!
हिउँदको मौसममा
आगोलाई फ्रिजमा राखेर
म निराशाका आइसक्रिमहरू चुसिरहेको छु !
फलामका लिङ्गहरूमा
विषको सिलिन्डर झुन्ड्याएर
फेरि एउटा क्रोनिक आशङ्का
रातभरि मेरी प्रेयशीलाई आलिङ्गन गर्नेछ !
स्टेफेन ग्यासोन
र टामस पिककले हिर्काएका
कोर्राका डामहरू दुख्न नछोड्दै
फेरि मेरो कवितालाई
बौलाहा कुकुरले आक्रमण गर्नेछ
र कविता
रेबिजका घातक भाइरसहरू बोकेर
सडकमा ¥याल काड्दै हिँड्नेछ !
रगतका चिसा पहाडहरूबाट
आगोको पहेँलो मुस्लोजस्तो
यो आदिम साँझमा
सरूमा रानी !
फेरि आतङ्कै आतङ्कको बाक्लो कुहिरो लाग्नेछ !!
गिठ्ठा र भ्यागुरको जरामा
क्रोम्याग्ननका फोसिलहरू भेटिनेछन्
र हामीले म्युजियम भत्काउनु पर्नेछैन !
तरुलको फेदमा
धृतराष्ट्रका अण्डकोषहरू फल्नेछन्
र हामीले इतिहासलाई विश्वास गर्नु पर्नेछैन !
ऊ त्यो पहाडको कापबाट—
घाम भैँसीझैँ लडेर मर्नेछ
र एउटा कालो बिरालो
जिन्दगीको लासमाथि टेकेर अट्टाहास गर्नेछ !
छातीमा ‘इथर’ घोचेर—
च्याहाँ ! च्याहाँ !!
फेरि एउटा सुकोमल विश्वासको अन्त्य हुनेछ !
हामीले प्रेम गर्नु पर्नेछैन !
रातभरि बाघले लखेटेका
टिठलाग्दा सपनाहरू देख्नु पर्नेछैन !
समुद्री आँधी चलिरहेको बेला
यो निर्जन बन्दरगाहमा
सरूमा रानी !
फेरि जीवनका राता पालहरू डुब्नेछन् !!
मान्छेको लासमा टाउको फुटाएर
विज्ञानले तरुनी उमेरमै आत्महत्या गर्नेछ !
र शितलहरले छपक्कै ढाकेर
कुनै अज्ञात बस्तीमा
घिन्ताङ् ! घिन्ताङ् !!
हाहाकार बजिरहनेछ !
एउटा निरव शून्यताको
शोकाकुल तारमा रेटिएर
क्षयग्रस्त सारङ्गीहरू
बेसुर–बेसुर मौनता अलाप्नेछन् !
यो भूतबङ्गलाको कुनै कविता हुनेछैन !
चेरीफूलका कलिला पत्र जस्ता
रहरलाग्दा शिशुका ओठहरूमा
सङ्गीतको कुनै सिम्फोनी हुनेछैन !
र घाम मध्य दिनमै झ्वाप्प निभ्नेछ !
मोनालिसाका नीला आँखाहरूमा
फेरि सिमेन्टको आतङ्क जम्नेछ !
हाम्रो बीभत्स मृत्युअगाडि
सरूमा रानी !
सायद हामीसँग हामी नै हुनेछैनौँ !!
बुद्धिमा तरबार झुन्ड्याएर
एउटा खुँखार शून्यताले
विश्वासको हरेक किल्लामा आक्रमण गर्नेछ !
र डिजेलको धूवाँ फालेर आँखाबाट
हामीले कुरुमकुरुम ढुङ्गाहरू चपाउनु पर्नेछ !
फेरि प्लेटो लगाएर मुर्खहरूले
मेरो कवितालाई राज्यबाट निष्काशन गर्नेछन् !
र फलामका रडहरूले घोचिएर
एउटा अँध्यारो बलिवेदीमा
मसँगै मेरो कविता मूच्र्छा पर्नेछ !
फेरि चेतनाका हिमनदीहरूमा
क्रुसेडका भालाहरू रोपिनेछन् !
फेरि सभ्यताका सीमान्त ग्यालेक्सीहरू
अज्ञात धूमकेतु र उल्कापिण्डहरूले छोपिनेछन् !
सायद कुनै विरुपाक्षको मूर्तिमा मलाई बली चढाइनेछ
र कालो रगत इतिहासमा फेरि बग्नेछ !
मेरो विखण्डित अस्तित्वलाई क्षमा गर !
सरूमा रानी !
जिन्दगीका यी थकित नदीहरूमा
फेरि एउटा भयङ्कर निःसारता बग्नेछ !!
(२०५०)
राज्यको अनुहार
तिनीहरू राँकेभूत होइनन्
बाहिर जून हराएको अँधेरी रात छ
रातसँग कुनै सपना छैन
जीवनको जस्केलो खोलेर हेर्दा
पारि देखिन्छ— एउटा मौन चिहानडाँडा !
त्यहीँ पुरिएका छन्
तिम्रा पुर्खाका असङ्ख्य गीतहरू !
ताराहरू निभेको अँध्यारो आकाशमुनि
पुर्खाकै चिहानहरू कुल्चिँदै कुल्चिँदै
अचानक राता र नीला बत्तीहरू
लस्करै हिँडिरहेको देख्ता
तिमीलाई पहिले त शङ्का लाग्नेछ !
तर मेरा आफन्तहरू !
तिनीहरू राँकेभूत होइनन् !!
तिनीहरूलाई अन्धकार मन पर्दैन
तिमीलाई जस्तै
यो कालो रात मन पर्दैन
तर तिमी त सधैँ अन्धकारभित्रै
अन्धकार बनेर रोइरहेका छौ !
तिनीहरू त विचारको राँको बालेर
विचारकै उज्यालो खोजिरहेका छन् !
एउटा मसानघाट जस्तो शब्दविहीन देशभित्र
अचानक उज्यालोका केही किरणहरू
तिम्रो झुपडीतिरै सरासर आइरहेको देख्ता
तिमीलाई पहिले त डर लाग्नेछ
तर मेरा छिमेकीहरू !
तिनीहरू राँकेभूत होइनन् !!
तिनका लुगाहरू तिम्रा जस्तै मैला छन् !
तिनका कुर्कुच्चाबाट
तिम्रो जस्तै रगत बगिरहेको छ !
तिनका आँखामा पनि
तिम्रो जस्तै सपनाका
सप्तरङ्गी इन्द्रेणीहरू लर्किरहेका छन् !
त्यसैले तिनीहरू इतिहास कुल्चिएर
इतिहास खोज्दै हिँडिरहेका छन् !
यसरी अचानक आफ्नै आँखामा
उज्यालै उज्यालोको समुद्र देख्ता
तिमीलाई पहिले त अचम्म लाग्नेछ !
तर मेरा प्रियजनहरू !
तिनीहरू राँकेभूत होइनन् !!
(२०४२)
अलिकति हल्लाहरू हुनु पथ्र्यो
कि आफ्नै रगत पिएर
मात्नु पथ्र्यो अलिकति !
कि निभेको ल्याम्प पोष्टमुनि उभिएर
आफ्नै छातीका घाउहरू चाट्दै
मध्यरातमा चिच्च्याई चिच्च्याई
रुनु पथ्र्यो अलिकति !
कि हल्लाहरू हुनु पथ्र्यो अलिकति !
कि त हुरीको बीउ छरेर यहाँ
आँधी र बज्रपातको
खेती गर्नु पथ्र्यो अलिकति !
कुनै सपना नभएको निर्जन प्रदेशमा
विद्रोह गर्नु भनेको त
अलिकति हल्ला गर्नु पनि हो !
त्यसैले छातीमा आगो र भूकम्पहरू पनि
बोकेर हिँड्नु पथ्र्यो अलिकति !
हल्ला ः निदाइरहेको बन्दुकले पनि गर्छ !
हल्ला ः बिउँझिरहेको मान्छेले पनि गर्छ !
नीलो गुलुप नजिक बसेर
मौन समयको विरुद्धमा
हल्ला ः रोइरहेको माउसुलीले पनि गर्छ !
कि मान्छेका शून्य आँखाभित्र
विचारका ज्वालामुखीहरू फुट्नु पथ्र्यो यहाँ !
आखिर केही नहोस्—
रानीपोखरीमा छ्वाप्प ढुङ्गा हानेर
अलिकति तरङ्गहरूको सृष्टि गर्नु पथ्र्यो !!
कि समुद्रमा अलिकति
रगतका ज्वारभाटाहरू नाच्नु पथ्र्यो !
कि डामोक्लेसको तरबारले
घाँटी रेटिन थालेपछि
“गगन सिंको हत्यारा
जङ्गे नै हो !…” भन्न सक्नु पथ्र्यो !
कि त चिर बेहोशीमा निदाइरहेको
रिप् भान् विङ्कलको कान नजिकै गएर
समयका मजिराहरू बजाउनु पथ्र्यो !
अलिकति हल्लाहरू हुनु पथ्र्यो !
आखिर केही नहोस्—
पशुपतिको छानामा ढुङ्गाले हिर्काएर
अलिकति आवाजहरूको सृष्टि गर्नु पथ्र्यो !!
(२०४४)
भोको मान्छे
एक हातमा बन्दुक
र अर्को हातमा आलु बोकेर
एक साँझ उनीहरूले सोधे—
तिमी कुन रोज्छौ ?
भोको मान्छेले खुसी हुँदै
आलु खायो !
भोलिपल्ट बिहान उठेर हेर्दा
उसले आफ्नो हातमा
सिक्री बाँधिएको पायो !!
(२०४४)
अविश्वास
कुनै ट्राफिक नियम र जेब्रा क्रस नभएको
जीवनको यो नाङ्गो सडकमा
खोइ कुन्नि किन हो
आज यति धेरै मृत्युहरूको लाम लागेको छ !
यो उज्यालो भनिने उज्यालोसँग पनि
विश्वास भएन मलाई
हेर त ! यो चिरा चिरा परेको आकाशमा
मुटु नै सिरिङ्ग हुने गरी
आज चिसो घाम लागेको छ !!
(२०४५)
बादशाहले एउटा गीत गाएका थिए
उहिले उहिलेको कुरा हो
सर्पहरू— सपेरा नचाइरहेका थिए !
भालुहरू— मदारी नचाइरहेका थिए !
इतिहास— गुहुले पानी धोइरहेको थियो !
अलिकति ताउ लगाइएका जुँगाहरू
अलिकति सडकमा फालिएका मुँगाहरू
र केही प्लास्टिकका ओठहरू
फरफराइरहेका थिए !
बादशाहले एउटा गीत गाएका थिए !!
शरीरमा धमिराले
देवलहरू निर्माण गर्दै गए
माटोले मान्छेलाई छोप्दै गयो !
मान्छेहरू छोपिँदै गए !
इतिहासका हिमनदीहरूमा
नवजात शिशुहरू बग्दै आए
र बल्छी बोकेर किनारामा
उभिए कागजका सिखण्डीहरू !
कसैलाई केही फरक परेन
कोही हाँसेन, कोही रोएन !
आफ्ना स्तन र गुप्ताङ्गहरू नाङ्गो पारेर
सुतिरह्यो मौन आकाश !
आगो सम्झेर जीवन सेकाउन लाग्दा पनि
अनजान–अनजानमै आगोको गर्भ रह्यो !
कर्कलाको पातमा टल्किरहेका
दुई थोपा शितबिन्दुहरूलाई
पानी सम्झेर प्यास मेटाउन लाग्दा पनि
अनजान–अनजानमै पानीको गर्भ रह्यो !
र अनजान–अनजानमै
कुमारी आमाको पेट चिरेर
ईश्वरको प्रथम छोरो जन्मियो !
उहिले–उहिलेको कुरा हो
बादशाहले एउटा गीत गाएका थिए !
जोकर जस्तो समयलाई देखेर
रुँदा–रुँदै पनि
हाँस्न विवश भए पागलहरू !
मृत्युको कोटा बाँडिने
ऊ त्यो आदिम गुफाभित्र
भयानक त्रासदी बनेर
रातभरि रोइरहे हुच्चिलहरू !
खोइ कहाँ हरायो स्वतन्त्रता ?
घाँटीमा खकुण्डो बाँधेर
भेडीगोठालाहरूले दर्शनको घाँस खाए
र भेडाहरूले चाहिँ
राजनीतिको पराल खाए !
गिद्धहरूको ग्यालरीभित्र
मान्छेको काँधमा चढेर
दस हजार घोडाहरू हिनहिनाए !
तिमीले थाहा पाएनौ र ?
उहिले एकादेशमा
बादशाहले एउटा गीत गाएका थिए !
जडसूत्र र चैतन्यसूत्रका
रेगिस्तानी टङ्कारहरू बीच
समय त रुँदै–हाँस्तै
जसरी पनि अघि बढिरह्यो !
क्रुसेडमा फालिएका ती अबोध बालकहरू
यो साँझ पनि घर फर्किएनन् !
क्रसमा टाँगिए सभ्यताहरू !
ग्याँसच्याम्बरमा थुनिए युगहरू !
मुर्तद गरिए चेतनाहरू !
राम्ररी सनाखत हुनै नपाई
दफन गरिए सपनाहरू !
मूल सडकमा उभिएर
निर्लज्ज हिनहिनाए विसङ्गतिहरू !
र कङ्कालहरूले
शान्तिको अन्तिम थिएटर हेरे !
थाहा छैन
कुन बेला कहाँ के हुने हो ?
उहिले–उहिले
बादशाहले एउटा गीत गाएका थिए !!
(२०४५)
मुर्दाघर
यो आदिम मुर्दाघरमा
आज पनि म निःशस्त्र उभिएको छु !
र लासको भीडबाट सनाखत हुनै नपाई
यो साँझ पनि
फेरि एउटा लास हराएको छ !
जब–जब दरबारको पर्खालभित्र
निर्मम घण्टीहरू बज्न थाल्छन्
स्पष्टीकरणका लागि
मलाई वधशालामा उभ्याइन्छ
र सोधिन्छ—
एउटा लास कहाँ गायब भयो ?
एक…दुई…तीन…चार…पाँच…!!
हँ ! एउटा लास कहाँ गायब भयो ?
इतिहासको निरङ्कुश जङ्गलबाट
हरेक साँझ हराउँछ एउटा लास
र शासकहरू मेरो चेतनामा
सिस्नुको मुठाले हिर्काउँछन् !
आज अन्तिम पटक यो वधशालामा
म फेरि निरुत्तर उभिएको छु !
यस्तो लागिरहेछ भगवान् !
कि तिम्रो यातनागृहबाट हराएको
त्यो अभागी लास— सायद म आफै हुँ !!
(२०५०)
लाफिङ्ग ग्याँस
कोठाभरि ‘लाफिङ्ग ग्याँस’ फैलिएको छ
र दिवाल घडीभित्र थुनिएका
एक क्यारेट मुसाहरू
बीभत्स ढङ्गले हाँसिरहेका छन्—
खित्–खित्–खित्–खित् !
ए ! कति दिन काँधमा बोकेर हिँड्नु
यो अराजकता ?
कति दिन भाँच्नु सडकको रेलिङ ?
कति दिन फुटाउनु टेलिफोनको बुथ ?
कति दिन हान्नु पुलिसलाई ढुङ्गा ?
कति दिन जलाउनु मन्त्रीको पुत्ला ?
कति दिन बाल्नु साइकलको टायर ?
कति दिन टाँस्नु भित्तामा पोस्टर ?
कति दिन हिँड्नु एउटै जुलुसमा ?
र कति दिन लाउनु एउटै नारा ?
इतिहासको यही सडकमा
हजुरबाले रोएको आँसु
नातिका आँखाबाट बगिरहेको छ !
ए ! कति दिन काँधमा बोकेर हिँड्नु
यी मृत सपनाका त्रासदीहरू ?
कोठाभरि ‘लाफिङ्ग ग्याँस’ फैलिएको छ
र दिवाल घडीभित्र थुनिएका
एक क्यारेट मुसाहरू
बीभत्स ढङ्गले हाँसिरहेका छन्—
खित्–खित्–खित्–खित् !!
(२०५०)
बन्दुकको मृत्यु
म अन्धकारको विपक्षमा उभिएको छु !
बन्दुकको विपक्षमा उभिएको छु !
ओ तानाशाह !
तिम्रो बन्दुकले मान्छेको भोग खान्छ,
म बन्दुकको मन्दिरमा
शिर झुकाएर उभिएको छु !
मेरो मस्तिष्कको चट्टानमा ठोक्किएर
हिजो यही बन्दुक घाइते बनेको थियो !
मेरो विश्वासको भिरबाट हाम्फालेर
हिजो यही बन्दुकले आत्महत्या गरेको थियो !
ओहो ! मेरो कविताको फूल जस्तो धारमा रेटिएर
हिजो यही बन्दुकको मृत्यु भएको थियो !
बन्दुकको मृत्युमा— मसानहरू रोए !
बन्दुकको मृत्युमा— पर्खालहरू रोए !
बन्दुकको मृत्युमा— अन्धकारहरू रोए !
बन्दुकको मृत्युमा— राज्यसत्ता डाँको छोडेर रोयो !
बन्दुकको मृत्युमा तिनीहरू रोए—
जो मानिसको मृत्युमा हाँस्ने गर्थे !
यही बेला एउटा आगोको नायक
‘ब्युँझ र गीत गाऊ’ भन्दै
गङ्गालालको लासमाथि गुनगुनाइरहेको थियो !
ठीक यही बेला अर्को खरानीको गायक
‘सुत र सपना देख’ भन्दै
जङ्गबहादुरको सालिकमा निदाइरहेको थियो !
सपेराहरूको पछिपछि हिँडेको
सम्मोहित सर्प जस्तो एउटा मौन आकाश
बन्दुकको मृत्युमा शोक मनाइरहेको थियो !
ओहो ! कसरी च्यातियो
इतिहासको कालो सुरुवाल ?
इतिहास आफैलाई हेरेर छटपटाइरहेको थियो !
फेरि वसन्त आयो
र बन्दुकको लासमा पातहरू पलाए !
ओहो ! फेरि घुम्दै घुम्दै आयो वसन्त
र मेरो कविताको तारमा रेटिएर
रिटिङ रिटिङ
बन्दुक मुर्चुङ्गा झैँ बज्न थाल्यो !
जीवनका हाँगाबाट एकाएक
विश्वासका पातहरू पहेलिएर खस्न थाले !
ओहो ! फेरि कतातिर घुम्यो समयको चक्र ?
इतिहास आफैलाई देखेर काँप्न थाल्यो !
बन्दुक बाँच्यो र मसानहरू मुस्कुराए !
बन्दुक बाँच्यो र पर्खालहरू मुस्कुराए !
बन्दुक बाँच्यो र अन्धकारहरू मुस्कुराए !
बन्दुक बाँच्यो र राज्यसत्ता फेरि
अट्टाहास गरेर हाँस्न थाल्यो !
बन्दुक बाँचेको देखेर तिनीहरू हाँसे—
जो जीवनको गीत सुनेर रुने गर्थे !!
आखिर के फरक पर्दोरहेछ र
ओ तानाशाह !
बन्दुक तिम्रो हातमा हुँदा
या मेरो हातमा हुँदा ?
यत्ति न हो—
बन्दुक तिम्रो हातमा भएको बेला
म शिर झुकाएर उभिदो रहेछु !
र बन्दुक मेरो हातमा भएको बेला
तिमी शिर झुकाएर उभिदा रहेछौ !
आज पनि म
अन्धकारको विपक्षमा उभिएको छु !
बन्दुकको विपक्षमा उभिएको छु !
तर थाहा छैन—
भोलि यो बन्दुक कहाँनेर पड्किने हो !!
(२०५०)
म अज्ञात सहिद आएको छु
सुनको मस्तिष्क
र हीराका हातहरूले लेखिएको
इतिहासको पुरानो किताबले सुनोस् !
मेरो गीतको भाषा फरक छ—
तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब !
तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो !
तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि
पस्नेछ अब रगतको बाढी !
र यो देशको आत्मा
फेरि एक पटक
मध्यरातमा बिउँझेर रुनेछ !
आऊ, गिरफ्तार गर !
हातमा बन्दुक हुनेहरू !
मलाई गिरफ्तार गर— म फेरि आएको छु !
कफ्र्यु लगाएर विचारको भग्न सडकमा
मेरो चेतनामा अन्तिम पटक छापा मार !
र मलाई जङ्गलमा लगेर फेरि बेपत्ता बनाऊ !
हातहरू गिँड, आँखा झिक र जिब्रो काटिदेऊ !
हिजो पनि इतिहासमा थाहै नपाई
पटक पटक यसरी नै मारिएको थिएँ
म अब फेरि मर्नका लागि बाँचेर आएको छु !
मेरो चिहान खोइ कहाँनिर पर्छ ?
चिहानमा राखिएका नम्बर प्लेटहरू झिक !
मेरो लासमाथि लास जस्तै ओढाइएका
ती रक्तिम झन्डाहरू झिक !
र झिक तिम्रा लाटा शब्दकोशहरूबाट
यो ‘अज्ञात सहिद’ भनिने शब्द !
म आज तिमीले सुन्ने गरी गीत गाउँदै
एउटा अनागरिक इलाकाको
अप्रिय कोलाहल आएको छु !
म फेरि मर्नका लागि बाँचेर आएको छु !
मेरो सडक खोइ कतातिर पर्छ ?
भन ए ! कुन म्युजियममा राखिएको छ
मेरो शिर काट्ने पुरानो तरबार ?
झम झम पानी परेको यो साँझमा
म देशसँग बास माग्न आएको छु !
तर देश
उसको आँगनीमा पाइला टेक्न नपाउँदै
कुक्कुर भुकाएर मलाई लखेटिरहेछ !
मेरी आमा !
अब साँझमा जोरबत्ती नबाल
म निभेको अँगार बनेर आएको छु !
कम से कम
रगत सकिएको मुटुको दियोमा
मायाको मधुरो बत्ती बालेर
जिन्दगीको एक्लो किनारामा उभिइरहेकी
मेरी प्रेयशीले त थाहा पाउनुपर्छ—
म विगत इतिहासमा मारिएको छु भनेर !
कम से कम
तिहारमा सयपत्रीको माला बोकेर
माथि रित्तो आकाशतिर एकोहोरो हेरिरहेकी
मेरी अबोध बहिनीले त थाहा पाउनुपर्छ—
विगत युद्धहरूमा मैले जिन्दगी हारेको छु भनेर !
म स्वयंले थाहा पाउनुपर्छ मेरो मृत्यु !
ए ! म फेरि बाँचेर आएको छु
समयका स्ट्रेचरहरूमा आफ्नै लासलाई सुताएर
जिन्दगीको पोस्टमार्टम गराउन आएको छु !
म तिम्रो कविताको हेड लाइन
आज तिम्रै कलमको निबबाट बगिरहेको
फाल्सा–फाल्सा रगतको गीत गाउन आएको छु !
म आफ्नै लासलाई सिरानी हालेर
केही क्षण चुपचाप निदाउन आएको छु !
म त्रिवेणीको अक्करमा तोक्मा अड्याएर
चामलको ढाकर बिसाउनै लाग्दा
सप्तकोशीमा खसेको तिम्रो भरिया कान्छो
अहिले श्रमको ज्याला माग्न आएको होइनँ !
म मुग्लानको जङ्गलभित्र आरा काट्न जाँदा
जङ्गलमै हराएको तिम्रो सौतेनी भाइ
आफ्नो अंशको लालपूर्जा माग्न आएको होइनँ !
म भाक्सुको भिर र किमाथाङ्काका पहराहरुमा
नूनको ढाकरले थिचिएर नून जस्तै बिलाएको
नरबहादुरकी अन्तरी श्रीमतीको पनाति
अहिले तिम्रो विरुद्धमा उम्मेदवारी दिन आएको होइनँ !
म त तिम्रो मतदातासूचीबाट
एकाएक हराएको
आफ्नो नाम सच्याउन आएको छु !
मृत्यु दिवसको यो मिति मेटिएको क्यालेण्डरमा
म मेरो हराएको नागरिकता खोज्न आएको छु !
मेरो रगत पिएर निदाएको शान्त बन्दुकसित
म फेरि जिन्दगी लिएर
जुहारी खेल्न आएको छु !
आऊ, गिरफ्तार गर !
र फेरि कुनै निर्जन जङ्गलमा लगेर
मेरो विचारको उज्यालो खोस
मलाई रित्तो बनाऊ
र मेरो आवाजको हत्या गर !
यी मानचित्रका बिखण्डित धर्साहरूभित्र
मेरो देश खोइ कहाँनेर पर्छ ?
म देशबाट निस्किएर
देश खोज्न आएको छु !
यो भित्तेपात्रोको सुनसान जङ्गलभित्र
म अनाम समय खोइ कहाँनेर पर्छु ?
दिवाल घडीका निर्जीव टङ्कारहरूभित्र
म मेरो वर्तमान खोज्न आएको छु !
सुनको मस्तिष्क
र हीराका हातहरूले लेखिएको
तिम्रो इतिहासको अन्तिम डिलमा उभिएर
म यो देशको एउटा अज्ञात सहिद
फेरि यही देशमा
आफ्नो रगतको मूल्य हराउन आएको छु !
पेट्रोल सकियो भने रगत बाल !
म बेहिसाब रगत बिक्री गर्न आएको छु !!
(२०४८)
फेरि राज्यको अनुहार
राज्यसँग एकालाप
तिम्रो तिर्खा मेटाउन
मैले आफ्नो रगत दिएँ !
तिम्रो नग्नता ढाक्न
मैले आफ्नो छाला दिएँ !
तिमी भोकाएको बेला
मैले शरीरको मासु दिएँ !
तिमीलाई अमर राख्न
मैले मेरो इतिहास दिएँ !
.
मेरो रगत, छाला, मासु र इतिहास
कहाँ फाल्यौ तिमीले ?
ए कहाँ फाल्यौ ?
र आज फेरि किन तिमी
मेरो नाबालक छोराको अगाडि
यसरी नाड्गै
र खाली हात उभिएका छौ ?
मलाई अज्ञात सहिद बनाउने राज्य !
म यो प्रश्न तिमीलाई सोधिरहेछु ।
(२०६४)
बूढो मूसो
पत्नी र छोराछोरीहरूको
ठूलो दलबल सहित
संविधानसभाको भवनभित्र पसेको
एउटा बूढो मूसो
पछाडिपटिको अँध्यारो कुनामा लुकेर
निरन्तर काटिरहेको छ—
बिजुलीको तार !
(२०६७)
च्याउको जङ्गल
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा !
तिमीहरूले
चामलको दानामा लेखेछौ मेरो इतिहास !
सागको पातमा लेखेछौ मेरा गीतहरू !
मेरै विचारलाई सिक्री बनाएर
पशुको तबेलामा बाँधेछौ मलाई !
मेरै हड्डीलाई मुरली बनाएर
आवाजको विपक्षमा बजाएछौ मलाई !
म गर्छु अब समुद्रमन्थन
र पिउँछु हलाहल विष !
म खोस्छु कृष्णको हातबाट मुरली
र उठाउँछु सुमेरु पर्वत !
विष्णुलाई जमिनमा ओरालेर
म चढ्छु अब गरुडमाथि !
महादेवको घाँटीबाट निकालेर
म लाउँछु अब सर्पको मफलर !
मरुभूमिमा
पसिनाले बालुवा मुछेर खाएको छु मैले !
अफ्नै रगतको घुट्काले भिजाएको छु घाँटी !
बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म !
मेरो खप्परभित्र केही छैन— विचारशून्य छु म !
यो च्याउको जङ्गलभित्र
एउटा निर्जीव भीडको विपक्षमा उभिएर
उखेल्छु आफ्नै टाउको
र भुइँभरि टकटक्याइदिन्छु !
केही बिस्कुटका खोल
रोटीका टुक्रा, चप्पलको फित्ता
मृत उडुस र पुत्लीकिराहरू…
खस्छन् मेरो मस्तिष्कबाट !
यति रित्तो बनेछु म
कि यो विचारशून्यता नै मेरो शक्ति हो !
यही विचारशून्यताको हतियारले
म अब आक्रमण गर्छु
र जलाउँछु तिम्रो विचारको लङ्का !
के थाहा तिमीहरूलाई—
मभित्र कसरी उम्लिरहेको छ खरानी ?
के थाहा तिमीहरूलाई—
म किन निदाउन सक्दिनँ रातभरि ?
युद्धमा मरेका केटाकेटीहरू
उखुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छु !
तरबारमा झुन्डिएका टाउकाहरू
गीत गाउँदै लखेट्छन् मलाई !
खरानीबाट उठेर क्षतविक्षत कङ्कालहरू
आफ्नो जीवनको मूल्य माग्दै लखेट्छन् मलाई !
म झन्डाले मुख छोपेर आँसु पुछ्छु !
संसार बदल्न हिंडेको म
अब आफैं बदलिएँ !
यो च्याउको जङ्गलभित्र
रिँगटा लागिरहेको छ मलाई !
यो मेसिनको शरीरभित्र
तरङ्गिदै छ जीवनको कम्पन !
म तिम्रा आदेशहरूलाई अस्वीकार गर्छु—
अब मान्छेको लासमा घोटेर
खुकुरीमा धार लगाउन चाहन्नँ म !
अब मान्छेको रगतको मूल्यमा
आफैंलाई गुमाउन चाहन्नँ म !
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा !!
(२०६६)
पहिलोचोटि
चौध वर्षको उमेरमा
मैले पहिलोचोटि थाहा पाएँ
बन्दुकको सौन्दर्य !
र गाउँको गरिब स्कुलबाट
सपना खोज्दै भागेँ म
एउटा उन्मुक्त जङ्गलतिर !
बोक्सीकाँडाको कुरूप झाङभित्र
फ्याँकिदिएँ— किताबको झोला !
र हातको निरीह कलम भाँचेर
पहिलोचोटि समातें बन्दुक !
पहिलोचोटि मेरै उमेरकी
युवती कमरेडको हातमा हात ठोकिँदा
महसुस गरेँ—
करेन्टको तीव्र झट्का !
र पहिलोचोटि देखेँ—
उसको छातीमा चलमलाइरहेको
सेतो सर्प !
पहिलोचोटि
मेरो हातमा मुस्कुरायो बन्दुक
र दबाएँ जीवनको ट्रिगर !
पहिलोचोटि
मेरो हातबाट छुट्यो गोली
र सुनेँ एउटा सुमधुर सङ्गीत !
पहिलोचोटि
शिरमा गोली लाग्दा
घाँसको भारी बोकेर उकालो चढिरहेको
मेरै उमेरको दुश्मन
एउटा निरीह चरोजस्तै
गीत गाउँँदै जमिनमा ढल्यो !
र पहिलोचोटि भिजेँ म
रगतको सङ्गीतमा !
पहिलोचोटि जङ्गली फूलहरूमा
चम्किरहेको देखेँ—
मान्छेको रगत !
र मैले त्यही रगतले पखालेँ—
हातका औंलामा लागेका
मसीका नीला दागहरू !
मेरा पुराना दुश्मनहरू
पहिलोचोटि डराए मसँग !
मलाई बारम्बार प्रश्न सोधेर सताइरहने
स्कुलका मास्टरहरू पनि
पहिलोचोटि हात जोडेर रोए मसँग !
पहिलोचोटि दुश्मनको गोली लागेर
आफ्नै अगाडि ढले
असङ्ख्य सहयोद्धा कमरेडहरू !
पहिलोचोटि दुश्मनको घेरामा परेर
छटपटाइरहेका
घाइते छापामार साथीहरूलाई
डोकामा बोकेर भगाउन नसक्ता
उनीहरूको शिर काटेर
रुँदै भागेँ म !
बाह्र वर्षसम्म रगतको नदीमा
निरन्तर बगिरह्यो समय !
बाह्र वर्षसम्म लासको टाकुरामा
निरन्तर अस्तइरह्यो सूर्य !
र पहिलोचोटि समाप्त भयो
एउटा कुरूप र निरङ्कुश अन्धकार !
आज बाह्र वर्षपछि
म छब्बीस वर्षको भएछु !
यतिखेर सम्झिरहेको छु—
रुखको उदास छहारीमुनि
बन्दुकसँग सम्भोग गरेका
ती अँध्यारा रातहरू !
म सम्झिरहेको छु—
कालो रातमा जन्मिएका
असङ्ख्य रक्तिम सपनाहरू !
र मलाई आज
पहिलोचोटि डर लागिरहेको छ—
मेरो जीवनका बाँकी वर्षहरूमा
अब के के हुने हो
पहिलोचोटि ?
(२०६६)
आतङ्कवादीहरू
पसिनाको नदीमा भरखरै नुहाएर
एक जोडी ट्रकहरू बगरमा उभिएका छन्,
उनीहरु एकअर्कालाई
मायाले हेर्छन्— मैथुन गर्छन् !
र फेरि ढुङ्गा, बालुवा र गिट्टीहरूको
राष्ट्रिय गान गाउन थाल्छन् !
बगरमा गिट्टी कुटिरहेकी बजै
आफ्नो सात वर्षे नातिको
शिरमा हात राखेर रुन्छिन् !
यो देशको एउटा अनागरिक भविष्य
कुरुम कुरुम ढुङ्गाहरू चपाउँदै
इतिहासलाई थुकिरहन्छ !
सुकेनासको रोगी बाबुले
हलोमा गोरुलाई होइन
आफ्नै छोराहरूलाई नारेर जोतिरहेको छ !
र उसका लाचार छोराहरू
हिलोका चपरीहरूमा
बाह्रखरी घोकिरहेका छन् !
भोकले निरन्तर रोइरहेका
कलिला नानीहरूलाई
पत्थरको छातीमा च्यापेर
भीरको टाकुरामा उभिएका छन् आमाहरू !
तल देशलाई नै बगाउने गरी
एकनास सुसाइरहेको छ अँधेरी खोला !
तर राज्यसत्ता सधैँ सशङ्कित छ—
खोइ कहाँ छन् ती आतङ्कवादीहरू ?
गाउँमा छैनन्, जङ्गलमा छैनन् !
सायद तिनीहरू
जुत्ताभित्र लुकेका छन् !
नत्र यो जुत्ता किन यति साँगुरो हुन्छ ?
(२०५८)
मृत्युहरू
पार्कमा बसेर
घाम तप्दै
रुँदै
बदाम खाँदै
मरिरहेको छ
तिम्रो कायर बाबु !
सोध उसलाई—
ऊ किन जुलुसमा जाँदैन ?
जङ्गलमा
घाँस र दाउराको भारी
उठाउन नसकी
गोबरमा मुख जोतेर
मरिरहेकी छ
तिम्री वृद्ध र रोगी आमा !
सोध उसलाई—
ऊ किन सडकमा आउँदिन ?
साँढेजस्तो
तिम्रो भुसतिघ्रे भाइ
जाँघभित्र जिब्रो राखेर
थुतुनाले
भुत्लाहरु पन्छाउँदै
मरिरहेको छ !
सोध उसलाई—
ऊ किन ब्युँझन चाहँदैन ?
पुतलीजस्ती
तिम्री तरुनी बहिनी
रातदिन
आफ्नो छाती, चाक,
नाइटो र तिघ्राहरू
सुमसुम्याउँदै मरिरहेकी छ !
सोध उसलाई—
ऊ किन बाँच्न चाहँदिन ?
परिवारका
सबै सदस्यहरू
आआफ्नै शैलीमा
मरिरहेछन् !
अझै तिमीलाई के पुगेन ?
र सडकमा
बन्दुकको अगाडि उभिएर
राज्यसँग निहुँ खोज्दै छौ ?
(२०६३)
जिउँदो
म जिउँदो छु भन्ने
अनेकौँ प्रमाणहरू छन् मसँग,
तैपनि तिमी किन घरीघरी
पार्टी सदस्यताको टिकट माग्छौ ?
औँलामा नङहरू पलाइरहेकै छन्
त्यसैले म जिउँदो छु !
अनुहारमा दाह्रीहरू बढिरहेकै छन्
त्यसैले म जिउँदो छु !
मैले भोट दिन बिर्सेको छैनँ !
पसिनाको रङ बिर्सेको छैनँ !
मेरा बालबच्चाहरू रोएको सङ्गीतलाई
राम्ररी बुझेको छु मैले,
त्यसैले म जिउँदो छु !
मेरा सहयात्रीहरू ! म जिउँदो छु !!
कि भोक लागिरहेको छ !
कि मुटु दुखिरहेको छ !
सडकमा बगेको मेरो रगत
मलाई नै हेरेर मुस्कुराइरहेको छ !
मैले सपना देख्न बिर्सेको छैनँ !
गीत गाउन बिर्सेको छैनँ !
तिम्रो पार्टीको यशस्वी झन्डाजस्तै
फरफराइरहेको छ गोप्य अङ्ग !
त्यसैले म जिउँदो छु !
मेरा सहयात्रीहरू ! म जिउँदो छु !!
यतिखेर
म जुन राज्यमा बाँचेको छु,
एउटा नागरिक जिउँदो हुनका लागि
यति नै पर्याप्त छैन र ?
(२०६९)
कोटको टाँक
अब फेरि तपाईँ—
डढेलोले खाएको जङ्गल जस्तो
कि पहिरोले भत्काएको बगर जस्तो
यो सुनसान र अनकन्टार गाउँमा फर्किनुहुन्छ
र हाम्रो अँध्यारो झुपडीको आँगनमा उभिनुहुन्छ !
हामीलाई थाहा छ— त्यसपछि तपाईँ
दुवै हात जोडेर ‘नमस्कार’ भन्नुहुन्छ,
हाम्रै भाषाको लय टिपेर
कि ‘सेबारो’ भन्नुहुन्छ, कि ‘ल्हास्सो’ भन्नुहुन्छ !
हामी गिट्टी कुट्ताकुट्तै, भारी बोक्ताबोक्तै
गोबर सोहोर्दासोहोर्दै, हलो जोत्दाजोत्दै
मेलो छोडेर तपाईँको वरिपरि
निरीह कमिला जस्तै जम्मा हुन्छौँ
र पसिनै नपुछी शिर झुकाएर उभिन्छौँ !
भोकले रोइरहेका हाम्रा लालाबालाहरू
भत्किएको स्कुलको पर्खालबाट चिहाएर
लुकीलुकी हेर्छन् तपाईँलाई !
अनि तपाईँ भन्नुहुन्छ—
चामलको डिपो खोलिदिन्छु तिमीहरूलाई !
तिम्री छोरीको नाङ्गो लास छोप्ने कपडा किनिदिन्छु !
कापी, कलम र सिटामोल किनिदिन्छु तिम्रा नानीहरूलाई !
अँधेरी खोलामा तुइन हालिदिन्छु !
तिम्रो बाबुको हत्यारा पत्ता लगाइदिन्छु !
अरबबाट बाकसमा हालेर
गाउँसम्म ल्याइदिन्छु तिम्रो छोराको शव !
र तिम्रो देश तिमीहरूलाई नै फिर्ता दिन्छु !
हामीलाई थाहा छ—
त्यसपछि तपाईँ के गर्नुहुन्छ ?
त्यसपछि तपाईँ
हामीले कुटेका गिट्टीहरू सुमसुम्याउनुहुन्छ,
हाम्रा हात र कुर्कुच्चाहरू हेर्दै मुस्कुराउनुहुन्छ !
कि ‘फ्याफुल्ला’ भन्नुहुन्छ, कि ‘जोजोलोप्पा’ भन्नुहुन्छ !
अनि कोटको खल्तीमा बिस्तारै हात हाल्नुहुन्छ
र आफ्नो चुनावचिन्ह निकाल्नुहुन्छ !
तर यस पटक हामीलाई शङ्का लागेको छ—
कतै तपाईँले नै त होइन
हाम्रो छोरालाई बेपत्ता पारेको ?
रुखमा बाँधेर हाम्रो दाजुलाई
कुटीकुटी मारेको तपाईँले नै त होइन ?
घाँस काट्न गएकी हाम्री बहिनीको
मुखमा रुमाल कोचेको तपाईँले नै त होइन ?
किन किन यस पटक हामीलाई
तपाईँको बोलीमा शङ्का लागेको छ … !
यस पटक तपाईँ आउँदा
धूलोमा पोखिएका रगतका टाटाहरू नकुल्ची आउनू !
यो धूलो हाम्रो भगवान् हो !
युगौँदेखि यो धूलो
हाम्रो रगत, पसिना र आँसुले भिजेको छ !
हामी भुइँमान्छेहरू— यही धूलो खाएर बाँचेका छौँ !
तपाईँ आउँदा धूलोको इतिहास बचाएर आउनू !
थाहा छैन— यस पटक हामी
सपना देख्न सक्छौँ कि सक्दैनौँ ?
सभामा आउन सक्छौँ कि सक्दैनौँ ?
जुलुसमा जान सक्छौँ कि सक्दैनौँ ?
पशुझैँ मर्न सक्छौँ कि सक्दैनौँ ?
तर एउटा इतिहास सम्झाउनु छ तपाईँलाई—
धेरै वर्ष पहिले यही धूलोमा
तपाईँले आफ्नो कोटको टाँक हराउनुभएको थियो,
यस पटक हामी तपाईँलाई
त्यही टाँक फिर्ता दिन चाहन्छौँ !!
(२०७०)