~राजव~
आख्यानको समानान्तर, नाटकको समानान्तर, निबन्धको समानान्तर, संस्मृतिको समानान्तर म कविता पनि लेखिरहन्छु । कविता मेरो सर्जनमनको उग्र बाध्यता हो । बाध्यताको यो लतबाट छुटाउने अहिलेसम्म मेरा लागि कुनै रिह्याव अर्थात् उपचार केन्द्र बनेको छैन ।
कविताको यो लतले मलाई कथा, उपन्यास, नाटक, संस्मरण, संस्मृति वा गद्यका अन्य स्वरूपहरू लेख्न सघाइरहेछ । म यी विधाको लागि कविताको संवेदना, सूक्ष्म दृष्टि र त्यसको मार्मिक कोणहरूबाट धेरै ग्रहण गर्छु । र, कथा लेख्छु, निबन्ध लेख्छु, उपन्यास, नाटक लेख्छु । विशेषतः आख्यान लेखनका लागि मलाई कविताको आत्माले सुरुदेखि नै निकै सघाएको छ । कविता मेरो आख्यान र गद्य लेखन उध्याउने साधन हो । कसैले सोधे, म एकै वाक्यको जवाफ दिन्छु, कविताको सूक्ष्म पर्यावरणले मेरो सम्पूर्ण लेखनलाई सघाएको छ ।
छापिन लायकको मेरो पहिलो कविता ‘एउटा बूढो’ शीर्षकको थियो । यो छापिएको हुनाले यसलाई प्रसंगत छापिन लायक भन्नुपरेको हो । नत्र छापिन लायक यस्तै अरू पनि थिए । तर, ती लायक सम्पादकहरूका नालायकीमा परेर लायक भएनन् । यो त्यसबेलाको मभित्रको चर्को युवा कविको आक्रोश थियो । अबको दुःखको कुरा– छापिने उत्कट अभिलाषामा छटपटिएका मेरा ती कविताहरू मेरो डायरीसहित कता बेपत्ता भए, भए । यो संस्मृति लेख्दै गर्दा मलाई ती हराउनुको चुकचुकी औधी लागिरहेछ । दुःखको थप कुरा मसँग ती हराउनुको सम्झना मात्र छन् । तिनको हुबहु स्वरूपको सम्झना छैन । नत्र तिनलाई पुनर्जीवन दिनुहुन्थ्यो । अथवा तिनको विषयलाई अर्को स्वरूपमा लेख्नुहुन्थ्यो । केही नभए पनि ती भएका भए म आफ्नो मानसिक भुमरीहरूको इतिहास जान्न पाउँथेँ । अथवा कविताका आफ्ना प्रस्थान कस्ता–कस्ता थिए भन्ने बुझ्थें । यसका लागि अब मसँग ‘एक बूढो’ शीर्षकको कविता मात्र छ । यो कविता २०३१ सालमा ‘विदेह’ द्वैमासिकमा छापिएको थियो । त्यसदेखि यता मैले थुप्रै कविता लेखें । ती अनेक पत्रपत्रिकामा छापिए । छापिएका मध्ये पनि कति छाँटिए ।
किताबमा राख्न रोजिएका ती कविता मेरा तीन कवितासंग्रह ‘असमर्थ श्लोक’, ‘एक्काइसौं शताब्दीका भासहरू र बीसौं शताब्दीको ह्याङओभर’ र ‘क्रूरको सौन्दर्यप्रेम’ मा सञ्चित छन् । २०५१ सालमा निस्केको ‘एक्काइसौं शताब्दीका भासहरू र बीसौं शताब्दीको ह्याङओभर’ पुस्तकको आकारमा प्रकाशित नेपाली साहित्यको पहिलो शृंखलाबद्ध कवितासंग्रह मानिएको छ । यो खुसी मेरो लेखनको खातामा जम्मा छ । कहिलेकाहीं म यसको ह्याङओभरमा डुब्छु । त्यसदेखि यता प्रकाशित भएको ‘क्रूरको सौन्दर्य प्रेम’ मेरो तेस्रो कवितासंग्रह हो । यसको प्रकाशन २०६४ सालमा भएको थियो । अब यस संग्रहको उमेर पनि बाह्र वर्षको भइसकेको छ । ‘क्रूरको सौन्दर्यप्रेम’ प्रकाशित भएयता पनि मेरो कविता लेखनको अभ्यास जारी छ । यस क्रममा अरू थुप्रै कविता लेखेँ । तीमध्ये कतिपय विभिन्न पत्रपत्रिकाहरूमा छापिएका छन् । र, छरिएको अवस्थामा छन् । यता केही दिनदेखि मलाई कालक्रममा ती हराउलान्, अननोटिस होलान् भन्ने चिन्ताले घोचिरहेको थियो । ती सबै कविता उत्कृष्ट वा विचारोत्तेजक वा मारक वा कलात्मक वा मर्मभेदी वा उचाइका होलान् वा नहोलान् वा के हुन् भन्ने आत्मज्ञान तिनलाई केलाउने दृष्टिले घोत्लेपछि मात्र प्राप्त हुन्छ । कोरोना भाइरसले घरभित्र थन्किनुपरेको यो त्रासद समयको लुकामारीमा म यही ज्ञान प्राप्तिमा ध्यानस्थ छु ।
यस ध्यानस्त घडीमा आफ्ना प्रकाशित, अप्रकाशित कविताको पुनर्पाठ गर्ने, हेर्ने, केलाउने र मर्मले ठीक लागेका कविता छनोट गर्दै छु । उद्देश्य हो फेरि अर्को कवितासंग्रह निकाल्ने । यस सिलसिलामा म तिनलाई विषय र स्वरूपअनुसार छोटा–कविता, लामा–कविता, अमेरिकी परिवेशका कविता र कोरोनाकालका कविता गरी चार उपशीर्षकमा विभाजित गरेर राख्दै छु । यो काम करिबकरिब सक्दै गर्दा एउटा कविताले बोकेको आपत्तिजनक विम्बले गर्दा रोक्किएको छु । त्यस विम्बले ब्लक नगरेको भए मेरो चौथो कवितासंग्रहको पाण्डुलिपि तयार भइसक्ने थियो । र, म पाण्डुलिपि तयार गर्ने आत्मप्रेसरबाट मुक्त हुन्थें । लेखक, कविको अन्तरहृदयलाई सताउने यस्तै प्रेसरले हो । यो प्रेसरले मलाई मजा पनि दिएको छ, पीडा पनि । मलाई यस्तो विलखबन्दको प्रेसरमा पारिरहेको कविताको शीर्षक हो– पाइतालाको गीत । सुरुमा यो कविता ‘रचना’ त्रैमासिकमा छापिएको थियो । त्यसपछि केही संशोधनसहित ‘मधुपर्क’ मा छापियो । त्यसपछि यो कविता मेरा राम्रा पाँच कवितासँगै साझा प्रकाशनको मासिक पत्रिका ‘गरिमा’ मा छापियो । यसको विषय र संरचनाको कारणले आफैंलाई पनि सन्तुष्ट पारेको कविता हो यो । यसकारण पनि यसलाई संग्रहमा राख्न जरुरी लाग्यो । अर्को कारण यस कवितालाई संग्रहमा नराख्दा अमेरिकी परिवेशका मेरा कविताहरूको खण्ड अपुरो हुन्छ । यसकारण यसलाई संग्रहभित्र समावेश गर्न अनिवार्य नै छ । तर, मनमा फेरि त्यै विम्ब तगारो बनेर तेर्सिन्छ । यो आपत्तिको विम्बलाई पो के गरौँ भन्ने प्रश्नको प्रेसरले सताइरहन्छ । त्यस विम्बलाई हटाऊँ, यथावत् राखूँ वा त्यसको सट्टा अर्को सुहाउँदो विम्ब राखौं कि के गरौं ? यस्ता प्रश्नको दबाबले म खल्बलिएको छु । यसको निजात खोज्दै छु । यहाँ म त्यस कविताका केही पंक्ति उद्घृत गर्दै छु, जसमा मलाई दिगमिग लागिरहेको त्यो क्रूर विम्ब परेको छ ।
बेरोजगार युवाहरू घण्टौं उसलाई सुन्छन्
रातभर कतै निदाउँछन्
र बिहान फेरि
डोनाल्ड ट्रम्प हुने योजनामा निस्कन्छन्
र, खोज्न थाल्छन् कोलम्बियाबाट आउने गाँजा
तर म निकारागुवाको तितो कफीमै चित्त बुझाउँछु ।
चौथो पंक्तिमा देख्नुभयो नि डोनाल्ड ट्रम्प भन्ने नामको विम्ब ? हो मलाई प्रेसर दिने यही नामको विम्ब हो । यो नामधारक अहिले अमेरिकाको राष्ट्रपति छ । हाल यो नाम इज्जतिलो, सभ्य, इमानदार र विनम्र भएको भए पाण्डुलिपि तयार गर्ने मेरो जाँगर पूरा हुन्थ्यो ।
डोनाल्ड ट्रम्पलाई मैले पहिलोपटक देखेको एनबीसी टीभीले प्रसारण गर्ने गरेको मार्क बर्नेटको रियालिटी शोमा हो । त्यस शोको नाम थियो– अप्रेन्टिस । ट्रम्प त्यसको निकै प्रभावशाली प्रमुख होस्ट थियो । बजारमा निकै चर्चा हुन थालेपछि सन् २००४ को जुलाईमा मैले पहिलोपटक अप्रेन्टिस हेर्न सुरु गरेको थिएँ । बिहीबारको दिन रातको मुख्य समयमा यसको प्रसारण हुन्थ्यो । प्रायः म यसका एपिसोडहरू नबिराई हेर्न थालेको थिएँ । डोनाल्ड ट्रम्प एक सफल रियलस्टेट व्यापारी, बिलियनार, ट्रम्प ट्रावर नामले प्रख्यात ५८ तले स्काइस्क्यापरको मालिक, देश, विदेशमा गरेर थुप्रै गल्फ कोर्स, अनेक स्टार होटलहरूको मालिक र टीभी शो अप्रेन्टिसको प्रभावशाली निर्णायक होस्ट । ‘पाइतालाको गीत’ लेखिरहँदा म यस्तै एक धनीमानी पपुलर व्यक्तित्वको उदाहरणात्मक विम्ब राखेर कविता टुंग्याउन चाहन्थें । र, त्यस्तै विम्ब खोज्दै, सोच्दै थिएँ, यो क्रममा फ्याट्ट मेरो सम्झनामा अप्रेन्टिसको यही डोनाल्ड ट्रम्प आइपुग्यो । र, ‘पाइतालाको गीत’ कवितामा ‘डोनाल्ड ट्रम्प हुने योजनामा निस्कन्छन्’ भन्ने पंक्ति लेख्न पुगो । त्यसपछिका केही पंक्तिमा कविता टुंगियो, छापियो पनि ।
जब अप्रेन्टिसको त्यही डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भयो, जब उसका फोहोरी आचरणहरूका फुँडो इतिहास, बेइमानीका फेहरिस्त बाहिर आउन थाले, जब उसको मुखबाट सांस्कृतिक, साहित्यिक अभियन्ताप्रति, आफ्ना आलोचकप्रति, पत्रकार, स्तम्भकारप्रति असंयमित दुर्वचन निस्कन थाल्यो अनि म यस्तो फासिस्ट प्रवृत्तिको नामलाई आफ्नो कविता ‘पाइतालाको गीत’ को विम्ब किन बनाएछु भन्ने सोचले झस्केको थिएँ । अहिले जब म आफ्ना कविताहरूको संग्रह निकाल्न पाण्डुलिपि तयार पार्न बस्दै छु, मलाई आफ्नो त्यस कवितामा परेको त्यो नाम डोनाल्ड ट्रम्पको विम्ब यथावत् रहन दिनु बिलकुल हास्यास्पद र बेइमानी हुने लाग्दै छ ।
अब के गर्ने ? सोच्दै छु राम्रो मानिएको कवितालाई नै संग्रहबाट हटाउने निर्णय गर्नु पनि बेइमानी नै हुन्छ । इमानदार हुने हो भने गलत विम्ब फेरर असल कविता जोगाउन जरुरी छ । त्यसकारण त्यो विम्ब हटाएर ‘पाइतालाको गीत’ को रेस्क्यु गर्ने निधो गरें । त्यसका लागि अर्को कुनै असल विम्ब सोच्दै छु । निश्चित छ पाठकहरू फेरि त्यो फोहोरी विम्ब त्यस कवितामा पाउनुहुने छैन ।
छापिएर पाठक, समीक्षकको मूल्यांकनमा गैसकेका कविताहरूलाई हेरेफेर गर्नु, त्यसको विम्ब, प्रतीक, वाक्य फेरफार गर्नु, हटाउनु, थपघट गर्नु हुन्न भन्ने धेरैको धारणा छ । प्रायः यस्तो गरिँदैन पनि । तर, यस्तो गर्नै हुन्न भन्ने पनि छैन । शब्द सम्प्रेषणको कलामा उजिल्याउने, कलात्मक बनाउने सम्भावना रहेसम्म संशोधन, परिमार्जनको प्रयास गरिरहनु नै पर्छ । अमेरिकी महाकवि वाल्ट ह्विटम्यानले आफ्नो प्रख्यात कवितासंग्रह ‘लिफ अफ ग्रास’ मा संग्रहित कविताहरू संस्करणैपिच्छे परिमार्जन गरिरहे, त्यसमा नयाँनयाँ कविताहरू पनि थपिरहे र पुरानालाई उजिल्याइरहे । अर्का अमेरिकी कवि रोबर्ट लोयल पनि आफ्ना प्रकाशित कविताहरू संशोधन गरिरहन्थे । र, समालोचक, आलोचकहरूलाई हैरान पारिरहन्थे । उनका कविताको जुन पंक्ति अघि सारेर उनको आलोचना, प्रशंसा हुन्थ्यो अर्को संस्करणमा त्यो पंक्ति बिलकुल गायब हुन्थ्यो । त्यसको सट्टा उनले त्यसमा अर्कै पंक्ति जोडेका हुन्थे । यस मामलामा उनी हैरान गर्ने कवि मानिन्थे । कत्तिले उनलाई संशोधनका लागि कुख्यात नै भन्थे ।
तर, हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा संशोधन, परिमार्जनमा अल्झिनुभएको देखिएन । भनिन्छ, एकपटक लेखेपछि त्यसको परिष्कारको सम्भावनालाई उहाँ टारिदिने गर्नुहुन्थ्यो । कवितालाई साँध लाउने काम माधव घिमिरे बराबर गरिरहनुहुन्थ्यो । तर, उहाँ साँध लाउँदालाउँदा विचार मुठारिदिनुहुन्थ्यो र आफ्ना कविता सत्ताप्रिय सुन्दर लालित्यपूर्ण बनाइदिनुहुन्थ्यो । त्यसकारण उहाँ फासिस्ट पञ्चायती, प्रजातान्त्रिक र लोकतान्त्रिक हरेक कालखण्डको नेपाली सत्ताको प्रिय भैरहनुभयो ।
सत्ताको आँखालाई समयको आवाज र हुंकार गर्ने कविता सुन्दर लाग्दैनन्, मन पर्दैनन् । झूटो लालित्यले भरिएको चाकरीपरस्त पदलोलुप पंक्तिहरू नै सत्ताका प्रिय कविता हुने गर्छन् । नत्र लोकतान्त्रिक चरणमा आएर फासिस्ट युगमा स्वतन्त्रताको वकालत गर्ने, नेपाली कविताको धार बदल्ने कवि गोपालप्रसाद रिमालको स्थान मामुली भइरहने थिएन । महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट अत्यन्त विद्रोही कथ्यको ‘पागल’ कविता त्यसै सिर्जित भएन । जनप्रिय कवि गोपालप्रसाद रिमाल त्यसै विक्षिप्त भएका होइनन् । वैचारिक चिन्तन र स्वप्नविपरीतका शासकीय प्रकटहरूका परिणाम थिए उहाँहरूका नैराश्यता र विद्रोहहरू ।
आफ्ना विचारअनुकूलको शासन आउँदा पनि शासकीय रवैया र प्रवृत्ति उस्तै फासिस्ट प्रवृत्तिको देखिँदा स्वभावतः सर्जकहरू कि विद्रोही हुन्छन् कि विक्षिप्त । यही कारण आफ्नो क्रान्तिकारी विचारअनुकूलको शासन हुँदाहुँदै पनि रुसी कवि व्लादमिर माइकोवस्कीले आत्महत्या गर्नुपर्यो । कवि ओसिप मन्डेलस्टाम्प, अन्ना आख्मातोवालगायतका थुप्रै रुसी कविहरूले यातना खपिरहनॅपर्यो । किनभने यी नामहरू कविताको जनदायित्वप्रति निकै सचेत र इमानदार थिए । सत्ता यिनलाई आफ्नो चाकर बनाउन चाहन्थ्यो । तर, यिनका लेखन आत्मसचेत थिए । यी सत्ताको भयले झुकेनन् । उदाहरणीय रूपमा उहाँहरू आफ्नो कवित्वको दायित्व पूरा गरेर बित्नुभयो ।
वास्तवमा कलाकर्मको तेज निर्लोभी साहसिक दायित्वपूर्ण चेतनाबाट नै निस्कन्छ । हाम्रा अग्रज कविहरू देवकोटा, रिमाल, भूपि शेरचन, गोकुल जोशी, युद्धप्रसाद मिश्र, पारिजात, वानीरा गिरी, मोहन कोइराला, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठलगायतका थुप्रै कविले आफ्नो कलालाई लोभमा खेर जान दिएको भए नेपाली कविताको सही स्वरूपको गर्वपूर्ण चर्चा गर्न पाइने थिएन । यी कविहरू नेपाली कविताका सही मार्गनिर्देशक पुस्ता हुन् । विरोधभित्र पनि सौन्दर्य र कलाचेत हुन्छ र त्यो कस्तो हुन्छ उहाँहरूका कविताभित्र पस्ने कोसिस गर्ने हरएक पाठकले सहज बुझ्छन् । आत्मा भन्छ, साहित्यको भलोका लागि लेखक, कविहरू चाकर हुनबाट जोगिएको हुनुपर्छ ।
(स्रोत : कान्तिपुर)