~नविन ध्यार~
भिरालो जमिन , भिरमै अडिएको छाप्रो घर र घर भित्र एक जीवन । रगत चुसिएको, पसिना बेचिएको, हासो खोसिएको एक निर्य जीवन । यहि जीवनको पर्तिमुर्ती थियो; श्रीराम बहादुर । गाउलेहरुले उसलाइ श्रीरामे भन्ने गर्थे । गाउमा कसैको खेतबारी ज्योत्नु परे, कसैको मेला जानु पर्ने भए, कसैको घरगोठ बनाउनु पर्ने भए सबैले सम्झिने एउटै नाम थियोे , श्रीरामे ।
एकदिनको घटना हो । त्यसदिन अतिनै जाडाे थियो । सधैजसो श्रीरामे अरुको काम गरेर घर फर्केर आगो तापेर बसिरहेको थियो । कामको थकान र आगोको न्यानोले श्रीरामे चुलो छेउमै निदायो । पछि वरिपरिका दाउरा सल्किदै जादा र आगोको मात्रा बढ्दै जादा घर नै आगो लागी भयो । आगोले छाप्रोको छत जलिरहेको देखेर गाउलेहरु उदार कार्यमा जुटे । श्रीरामेलाई आगोबाट अलग गरेर बाहिर निकाले । त्यति बेलासम्म उसको आधा भन्दा बढी जिउ जलिसकेको थियो । गाउले अचेत अवस्थामै हतार-हतार उसलाई अस्पतालसम्म लगे । उपचारमा पैसाको अभावले बिस्तारै उसको स्वास्थ अवस्था खस्किदै गयो । अन्ततः उ मृत्युको सिकार बन्यो ।
त्यस पछि उसको लास माथी जिस्किनेहरुको ताती नै लाग्यो ; पहिलो त उसको कर्म, दोस्रो गाउलेहरु , तेस्रो मलामी , चौथो चिता बनाउने चिसा दाउरा , पाँचौ बर्षात । जल्न नपाउदै बर्षाले बाढी ल्याएर श्रीराम बहादुरको लास बगाएर लग्यो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )