~डा. जीवेन्द्रदेव गिरी~
जन सांस्कृतिक महासङ्घमा
प्रगतिशील लेखक सङ्घमा
अनि साहित्य सन्ध्यामा
काने बाहुली हालेर हिँडेको
कोरोना विरुद्ध जेहाद छेडेको
देखेछ दाइ कोरोनाले
एकैसाथ आइलाग्यो डस्न
फणा उठाएर दुई भाइलाई नै ।
हामीले पनि त्यसलाई
भिती भिती पार्न खोजेकै हो
चेतनाका गीत कविताको भेल चलाएर
डाँडो कटाउन खोजेकै हो
एकै थलोबाट जुट्न नदिएपछि
जुमको माध्यमले उधुम मच्चाएकै हौँ ।
त्यसले पूरै शक्ति लगाएछ दाइ
बुबा र भाइहरू हरण गरेर
तपाईंलाई भेन्टिलेटर पुर्याएछ
थाह पाएँ मैले
श्रद्धाञ्जलीका आँसु बगाएँ
रिसले दारा कटकटाएँ
त्यस क्रूर घातकीप्रति ।
हामीलाई अस्पतालका शय्यामा पुर्याएर
बुबा र भाइहरूलाई मौका ढुकेर
खुबै स्याइँ मेटिस् हकि ?
नमात्ते धेरै राईँदाइँ गरेर
आउँदै छौँ हामी अझ शक्तिशाली भएर ।
हेर्दै जा हामी अब के गर्छौँ ?
लिम्पिया धुरादेखि माने भन्ज्याङसम्म
चेतनाको खेती गर्छौँ
अनुशासित जीवनको महत्त्व बुझाउँछौँ
व्यक्तिवादी अनुशासनहीनता अन्त्य गर्छौँ
समाजवादी नेपाळमा मलजल छर्छौँ
एउटा रुँदा अर्को हाँस्ने परिपाटीको अन्त्य गर्छौँ ।
नेपालका डाँडाकाँडामा गुर्जो रोप्छौँ
अदुवा र बेसारखेतीले पहेँलपुर पार्छौँ
यार्सागुम्बा र अरू जडीबुटीको वन लगाउँछौँ
अनि कोरोना च्याउँछस् कसरी ?
विश्वलाई नै पठाउँछौँ हाम्रो उत्पादन
र लखेट्छौँ जताततैबाट
अनि पाउलास् बास ?
चिनेको छस् तैँले राम विनय को हो ?
ऊ व्यक्ति होइन संस्था हो
झापादेखि चितवनसम्म
बेथिती र ज्यादती विरुद्ध लडेको इतिहास छ
साहित्य सन्ध्याको मियो बनेर
क्विन्टलका क्विन्टल चेतना छरेको सुयश छ
जागरुक नयाँ पुस्ताको बढेको लस्कर छ ।
अलिकति ठाडो मात्र उठ्न दे
मेरो प्रिय दाइलाइ
हामी बिजुली सञ्चार चलाएरै
तेरो किल्ला ध्वस्त पार्छौँ
साथीभाइबाट बल बटुल्छौँ
र तँमाथि क्षेप्यास्त्र प्रहार गर्छौँ
जति फेर्नु फेरिस् भुसुना
हनुमानमाथि रिस
अब सम्भव छैन
दाइ उठिसके
उनी र म नजिकै छौँ
ह्याम्स र गङ्गालालमा
अब हाम्रो भेट हुन्छ
गला मिलाएर जाइ लाग्न
छिटै आउँछौँ तँसँग
चुनौती छ
तयार भएर बस् ।