कथा : खोल

~खेमराज पोखरेल~

म सम्झिरहेको छु, उनी मेरी गर्ल फ्रेण्ड थिइन् त्यो ताका ।

त्यो दिनको सम्झना आइरहेछ । हामी दुवै यस्तै गधा पच्चीसे हुँदा हौं । हामी दुवै नगरकोटको  होटल सनराइजमा थियौं । त्यो दिन म उनीसँग बेस्सरी पग्लेको थिएँ । हामी बीच कुनै कुरा बाँकी थिएनन् । यो सम्बन्ध लगभग ४ वर्ष जति चलिसकेको थियो । चियाकफी मात्र पिउनु पर्यो भने हामी बौद्ध गुम्बाको भित्री भागमा भएको क्याफेमा जान्थ्यौं । र घण्टौं बस्थ्यौँ । रात बिताउन भने हामी यही होटलमा आउँथ्यौं । त्यो दिन पनि हामी रात त्यही होटलमा बसेका थियौं । हिमाल त्यसैगरी हाँसेको थियो । सम्भोगीय अन्दाजमा हामीले हिमाललाई त्यसैगरी हेरेका थियौँ । होटलको झ्यालबाट हिमाल हाँसेको देखिइरहेको थियो । सूर्योदयका किरणहरू हिमालमा ठोक्किएर मनमोहक भएको थियो । उनले यो दृश्य देखेपछि भनेकी थिइन् ः ‘मनिष, हेर त त्यो हिमाललाई, सूर्यले सम्भोग गरेपछिको आनन्दको उल्लास देखिँदैन त !

माहौल यस्तो रमाइलो थियो कि म त्यो माहौलमा सम्वेदनशील, रोमाञ्चक तथा उत्ताउलो भइरहेको थिएँ । म त्यो दिन उनलाई बिहेको प्रपोज गर्ने मुडमा थिएँ । एउटा सुन्दर बुके लुकाएर ब्रिफकेसमा राखेको थिएँ । उनका अगाडि खुट्टा टेकेर प्रस्ताव गर्न मैले सरप्राइज बुके निकाल्न थालेको थिएँ । तर योभन्दा पहिले नै उनले हिमालतिर हेरेर नै मलाई भनेकी थिइन् ः

–अब हामीले ब्रेकअप गर्नुपर्छ मनिष । म मास्टर डिग्रीका लागि बेलायत जाँदै छु । त्यसपछि म पिएचडी पनि उतै गरेर आउँछु । त्यतिबेलासम्म धेरै समय व्यतीत भइसकेको हुन्छ । मलाई थाहा छ तिमी पनि गर्ल फ्रेन्ड नभै बस्न सक्दैनौ । म पनि ब्वायफ्रेन्ड नभै बस्न सक्दिनँ । ब्वायफ्रेन्डबिनाको जीवन त बोरिङ भइहाल्छ नि । त्यसकारण आज तिम्रो र मेरो अहिलेको लागि यो अन्तिम रात हो । जतिसक्यो रमाइलो गरौं । सम्झाउनी– बिर्साउनी भन्छन् नि, हो त्यस्तै । जिन्दगीका तन्द्रामा सम्झँदा पनि आनन्द लाग्ने खालको रमाइलो ।

म आकाशबाट खसेझैं भएको थिएँ । अनि मैले उनलाई त्यही दिन भनेको थिएँ ः

–कस्तो कुरा गरेकी निरू, हामी रिलेसनमा भएको पनि यतिका वर्ष बितिसक्यो । हामी एकअर्कालाई प्रेम गर्छौं । रेस्पेक्ट गर्छौं । म त आज तिमीलाई बिहेको प्रपोज गरूँ भन्दै थिएँ । हेर न बुके लिएर आएको छु । अब बिहे गरौँ न । आखिर जिन्दगीमा मान्छेले एकपल्ट त बिहे गर्नु नै छ । केही त गरिएला नि । करियरलाई बाधा नपारौँला न । बिहे गरेर तिमी जाऊ । नत्र बाचा गरौँ । हामी लङ्ग डिस्ट्यान्स रिलेसनमा बसौँला । पर्खौँला । त्याग गरौँला । त्यो त्यागमा पनि जीवनको एउटा मजा छ ।

मेरो प्रस्ताव सुनेर उनले एकतमासको भएर भनेकी थिइन् ः

–ना बाबा ना, बिहे गर्ने कुरा नगर । इम्पोसिवल । हामी एक्काइसौँ शताब्दीका स्वतन्त्र मान्छे हौँ । बिहे, सन्तान दोस्रो प्राथमिकता हो । पहिलो प्राथमिकता भनेको हाम्रो करियर हो । करियरका लागि एकलव्यझैं छु म । म तिमीलाई अरू आम आइमाईले जस्तो ढाँट्न सक्दिनँ । म मेरो एकबारको जुनी तिम्रा नाममा फोसामा बिताउन पनि चाहन्न । पूरापूर उपभोग गर्न चाहन्छु । बरु हाम्रो ब्रेकअपलाई हामी हाँसीखुसी लिऊँ । रोएर किन पो छुट्टिने ! है ।

उनको उत्तरले मलाई मजा लागेको थिएन । हुनतः उनले यो भनेको पनि पहिलोपल्ट होइन । हामी बीचको रिलेसनपूर्व पनि हामीले यसलाई उमेरको रमाइलोको रूपमा मात्र ठान्ने कुरा गरेका थियौँ । त्यो बेला हामीले प्रेम गर्ने, बिहे गर्ने, जीवन बिताउने कुरालाई अगाडि नल्याउने सम्झौता गरेका थियौँ । तर रहँदाबस्दा मलाई उनको धेरै माया लाग्न थालेको थियो । आखिर एकपल्ट बिहे गर्नै पर्छ, सन्तान पनि चाहिन्छ भन्ने सोच ममा पलाउन थालेको थियो । उनको उत्तर मेरा लागि नौलो त थिएन तर मेरो अनुकूल थिएन ।

अनि मैले भनेको थिएँ ः

–हेर यो समाज छ, मान्छे छन् । आफन्त छन् । व्यवहार छ । केही सीमा त मान्छेको भइहाल्छ नि ।

मेरो कुरा सुनेर उनी भन्न थालेकी थिइन् ः

– उफ ! मान्छेका कुरा के गर्नु मनिष ! एकपल्ट समाजलाई गौर गरेर हेर न । मान्छे र आफन्तलाई भित्री तहबाट हेर न । गम न । मान्छे प्रेम गरेको भनिरहेछ । बिहे गरिरहेछ । सन्तान जन्माइरहेछ । रोइरहेछ । जिन्दगीभरि रोइरहेछ । पछुताइरहेछ । कहिले पैसा नपुगेर रोइरहेछ । कहिले आफन्तका सम्बन्धमा नुनचुक छरेर रोइरहेछ । वाहियात छन् मान्छेहरू, विहे नै भएको हुन्न आकाशबाट तारा जून झार्न थाल्छन् । सातजन्म सँगै बस्ने बाचा गर्छन् । स्टुपिडहरू । झूटहरू । यहाँभन्दा ठूलो झूट अरू केही हुन्छ जीवनमा ! भो म यस्तो झूट बाचा गर्दिनँ । अहिलेको युगमा बिहे भनेको व्यक्तिगत स्वतन्त्रता हो । गरे पनि हुन्छ, नगरे पनि हुन्छ । केटाकेटा गरे पनि हुन्छ । केटीकेटी गरे पनि हुन्छ । तर प्रमुख कुरा भनेको करियर हो । धनी र करियरवाला केटो खोजेर बिहे गर्नुभन्दा आफैँ खुट्टामा दह्रोसँग उभिनु जीवनको महत्त्वपूर्ण कुरा हो भन्ने ठान्छु म । म आफैँ एक्लै उभिन चाहन्छु ।

मैले गौर गरेर उनलाई हेरेको थिएँ । मेरो हेराइ उनलाई अप्ठ्यारो लागिरहेको थियो सायद । अनि उनले मलाई भनेकी थिइन् ः

–ह्वाट ! किन हेछौँ त्यसरी मलाई ? के मैले भनेको कुरा तिमीलाई ठीक लागेन ? यत्ति बुझ कि हामी जन्मनु र मर्नुमा हाम्रो भूमिका छैन । यो बीचका रामछायाहरू हाम्रो जिन्दगी हो । एकदिन मरिन्छ, त्यसैले बाँचेको जीवनलाई मधुमास बनाउनुपर्छ । आदर्शको लेप लगाएर समाजको सिकी्रमा बाँधिने कि फुकाफाल मनमौजी हुने तिम्रो कुरा हो । मचाहिँ दुई दिनको जिन्दगानीमा फुकाफाल जीवन बाँच्न मन पराउँछु । हृदयले, आत्माले, मनले र परिवेशले जे गर्न भन्छ, त्यही गर्छु । कुनै प्रकारको खोल ओढिदनँ । त्यसैले प्रष्टसँग भन्छु कि म अहिले तिमीसँग बिहे गर्न सक्तिनँ । तिमी अर्की केटीसँग बिहे गर्न सक्छौ । तिमी पनि मझैँ स्वतन्त्र छौ ।

उनका कुरा प्रष्ट थिए । कतै षडयन्त्र वा धम्की वा आग्रह वा पूर्वाग्रह थिएनन् । साँच्चै उनले मान्छे झुक्याउन कुनै खोल ओढेकी थिइनन् । जसरी मैले उनको खोलविहीन शरीर सयौँपल्ट देखेको थिएँ, त्यसैगरी उनी मनमा, विचारमा तथा वास्तविकतामा पनि कुनै खोल ओढ्दिन थिइन् । त्यही भएर मलाई उनी अघोरै मन परेको थियो ।

मैले उनलाई भनेको थिएँ ः

–आखिर भर्जिनिटीको पनि कुरा आउँछ समाजमा । किनकि समाज त पुरातन नै छ । तिमीलाई अप्ठ्यारो पर्नसक्छ किनकि तिमी र म ओपेन रिलेसनमा छौँ । लोग्नेस्वास्नी सरह सामाजिक सम्बन्ध निभाएका छौँ । संसारलाई थाहा छ । ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डका सम्बन्धका बारेमा सँगै खुला अन्तरर्वार्ता दिएका छौँ ।

हामीले कफी पिइसकेका थियौँ । यसो भन्दै हामी कोठाभित्र पसेका थियौँ । सोफामा पल्टिएर बसेका थियौँ । अनि फेरि उनले नै भनेकी थिइन् ः

–हाहाहा बुद्धू मनिष, तिमी साह्रै धेरै बुद्धू रहेछौ । भर्जिन एकादेशको पुरानो कथा हो । सुन्दा रोचक लाग्छ । किन चाहियो भर्जिन बिहे गर्न भन त !!! र पुरानो समयदेखिनै महिलाले मात्र भर्जिन हुनुपर्ने र लोग्ने मान्छेले भर्जिन हुन नपर्ने चलन के वाहियात होइन, बुसेट होइन ?? कुनै केटाले मलाई भर्जिनिटीको कुरा राख्यो भने लोप्पा खुवाइदिन्छु बुझ्यौ ! सोतारी दिन्छु त्यसका सात पुस्तालाई पुग्ने गरी ।

कुरा गरेर उनीलाई जित्न सकिने कुरा थिएन । जे थिइन् उनी खुलस्त थिइन् । लपनछपन थिएन उनको चरित्र । मिलनसार र खुलापन नै मलाई मन परेको थियो । खासमा भन्ने हो भने ममा आशक्ति आइसकेको थियो । र मैले उनलाई भनेको थिएँ ः

– तिमी जे भन, तर म तिमीलाई प्रेम गर्न थालेको छु । माया गर्न थालेको छु । प्रेमीप्रेमिकाले त कतिपय कुरा आँखाले पनि भन्छन् । प्रेममा आँखैले हृदयका प्रश्नहरू सोध्छन् र आँखैले जवाफ फर्काउँछन् । कल्पना गर त त्यो आँखाको भाषा र त्यो क्षण कति रोमाञ्चक हुन्छ ! मेरा आँखाले तिम्रा आँखालाई कति मनपराउँछन् । तिम्रा आँखासँग सवाल गरिरहेछन् । आश गरिरहेछन् । तिम्रा आँखाले पनि त मेरो आँखाको भाषा बुझ्दै होलान् नि, होइन र !

मेरो कुरा सुनेर उनी मजाले हाँसेकी थिइन् । हाँस्दा उनका गालाका डिम्पल र गोरो अनुहार झन् सुन्दर भएका थिए । उनी नुहाउन जान तयार पर्दै थिइन् । बाथरुमको ढोकामा पुगेर उनले भनेकी थिइन् ः

––हामीले बिहे गर्ने खालको प्रेम गरेको होइन मनिष, आकर्षणले नजिकिएका हौँ । रमाएका मात्र हौँ । नाशवान् बैँसको भोग गरेका मात्र हौँ । तिमीसँग जीवन बिताउने त कल्पना पनि गरेकी छैन मैले । प्रेममा पागल हुने हावादारी कुरा कम्तीमा नगर न मसँग । हाम्रा स्वार्थका इक्विलिब्रियम नै हाम्रो सम्बन्ध हो । हाम्रो रिलेसन हो । यौन, सन्तान र बिहेलाई एकै ठाउँमा हाल्ने यो हाम्रो पुरातन चलन नै विभेदकारी हो । प्रेमस्रेमको कुरा छोड तिमी र यथार्थवादी होऊ । प्रेमको खोल ओढेर के पाउँछौ यो एक्काइसौँ शताब्दीमा ! हो, हाम्रो साथीको प्रेम छ । रेस्पेक्ट छ । समान फिलिङ छ तर बिहेको बन्धन ! उफ, यति जाबो कुरा पनि किन बुझ्दैनौ तिमी !

उनी नुहाउन बाथरुममा पसेपछि म कल्पना गर्न थालेको थिएँ कि मेरो दुर्भाग्य रहेछ, यो केटी अब फुत्की । म बुझ्दै थिएँ उनका जिद्धीहरू । किनकि यो पहिलोपल्ट थिएन । उनको यो जिद्धी पनि मलाई उत्तिकै मन पथ्र्यो । तर के गर्ने उनी हरफनमौला थिइन् । म एकप्रकारले मुडअफको अवस्थामा थिएँ । यत्तिकैमा उनले बाथरुमबाटै चिच्याएकी थिइन् ः

–मनिष, आऊ न हामी सँगै नुहाऔँ । भोलि तिम्रो र मेरो यात्रा अलग हुने नै हो । के थाहा फेरि यस्तो अनुकूल जुर्ने हो वा होइन !

नुहाइसकेर हामीले कोठामै बे्रकफास्ट मगाएका थियौँ । ब्रेकफास्टकै क्रममा मैले भनेको थिएँ ः

– हेर निरू, म पक्का तिमीसँग प्रेम गर्छु । म तिम्रो प्रेममा पागल भएको तिमी हेर्न सक्छौ ? किनभने प्रेममा प्राप्ति वा लाभ घाटा हुन्न । राम्रो नराम्रो हुन्न ।तिमी एउटा रुखलाई धेरै वर्षसम्म निकटमा राखेर हेर । तिमीलाई त्यो रुखसँग प्रेम हुन्छ । रुखलाई पक्का थाहा हँुदैन कि तिमी उसलाई प्रेम गरिरहेका छौ । तर जब तिमी जीवनका कुनै पहलमा त्यो रुखलाई सम्झन्छौ, तिमीमा आनन्द सञ्चार हुन्छ । त्यो आनन्द सञ्चार नै प्रेम हो । तिमी त मेरी मान्छे हौ । भन त, के तिमी मलाई प्रेम गछ्यौँ ?

उनले हाँस्दै भनेकी थिइन् ः

–तिमी ढिट नबन न मनिष । तिमी आज ढिट मात्र होइन ठिस पनि भएका छौ । तिमीले बुझेकै कुरा हो । हामीले यसका बारेमा धेरै छलफल र बहस नै गरेका छौँ । तिमीलाई थाहा छ कि मान्छेले भनिरहेका प्राप्तिवाला प्रेम बकवास हो । आडम्बर हो । खोल हो । के तिमी मेरो प्रेममा मर्न सक्छौ ? मलाई थाहा छ –सक्दैनौ । किन मर्ने हँ ! तिमी मेरो प्रेममा पागल भयौ भने पनि म पागल हुन सक्दिनँ । मर्यौ भने पनि तिम्रो प्रेममा म मर्न सक्दिनँ, यो पक्का हो । अब त क्लियर भयो मनिष ? अब त तिमीमा कुनै इल्युजन छैन होला नि !

अनि मैले दिल दिमागको प्रसङ्ग झिकेर भनेको थिएँ ः

–अरे यार तिमी कुरा बुझ न निरू, मेरो दिल धड्किन थालेको छ तिम्रा कुराले । दिमाग बेचैन भएको छ तिमीसँगको प्रेमले ।

उनले भनेकी थिइन् ः तिमीमा पुरानो प्रचलनको खील बसेको रहेछ । हो हिजोको सम्बन्ध दिलको हुन्थ्यो । दिल पागल हुन्थ्यो । आजको सम्बन्ध दिमागको हो । हो, प्रेम दिलले गर्ने हो । सम्बन्ध दिलले निभाउने हो । किनकि दिलले गरेको प्रेम रोमाञ्चक हुन्छ । सम्वेदनात्मक हुन्छ । मुटुको धड्कन बढाउने खालको हुन्छ । तर बिहे दिमागले गर्ने हो । किनकि दिमाग होसियार हुन्छ । हिजो पो अप्सन थिएन त । दिल र दिमाग एकै ठाउँमा लगाउनुपथ्र्यो । आज त अप्सन छ । हामी दुवैलाई थाहा छ कि तिम्रो र मेरो रिलेसन सुरु हुँदा न तिमी भर्जिन थियौ न म । आज त अप्सन छ नि ।

मैले केही गर्दा भन्दा उनको मन फर्केन । त्यसैले मैले उनलाई भने ः

– क्षमा गर निरू, म तिम्रो सक्सेसको, तिम्रो यात्राको बाधक हुन चाहन्न । तिमी जाऊ । तर माया त नमार है ।

अनि उनले भनेकी थिइन् ः

–केका लागि क्षमा माग्छौ तिमी ?, क्षमा एउटा जालसाजी हो । क्षमा माग्न त पहिले गलत गर्नुपर्छ । र यो संसारमा के गलत के ठीक । म जस्तो छु, त्यही ठीक छ । तिमी जे छौ त्यही ठीक छ । भर्चुअली तिमी पनि ठीक छौ, म पनि ठीक छु । मैले तिमीलाई मन पराउँदा वा तिमीले मलाई मन पराउँदा जस्ताको त्यस्तै मन पराएको हो । जस्ताको त्यस्तै रिलेसनमा बसेका हौँ । एकअर्कामा कुनै आग्रह, पूर्वाग्रह राखेनौ हामीले । त्यसैले तिमी जे बोल्छौ, त्यो तिम्रो विचार हो । किनकि मान्छेले हरेक पल आफूलाई ठीक लागेको मात्र गर्नुपर्छ । यो बीचमा पनि हाम्रा केही समान स्वार्थ थिए । भेट भयो । भोलि पनि भेट हुन्न भन्न सकिन्न । तर अहिलेलाई तिम्रो बाटो अलग, मेरो बाटो अलग । अँ अनि सुन त ! हो म भोलि जाने हो । तिमी पनि एयरपोर्टमा भेट्न आऊ, नत्र समयले फेरि भेट गराउन पनि सक्छ, नगराउन पनि सक्छ । जिन्दगी रहन पनि सक्छ, न रहन पनि सक्छ । दुई दिनको जीवनको के ठेगान ? चिप्लिएको समय दुरुस्त त आउँदैन नि !

यसरी हामी छुट्टिएका थियौँ ।

अहिले उनी मेरी पूर्व गर्ल फ्रेण्ड हुन् ।

हो हामी छुट्टिको ७ वर्षपछि बौद्धमा फेरि भेटिएका थियौँ अचानक । उनलाई देख्दा मेरो हृदयलाई आनन्द भएथ्यो । सायद यही आनन्द नै प्रेम होला । हामी फेरि बौद्ध गुम्बाभित्रको कफी हाउसमा कफीका बहानामा पसेका थियौँ । पुराना कुरा उठेका थिए । त्यसमा पनि हामी निकै रोमाञ्चित भएका थियौँ । उनले बेलायतमा पुगेर एउटा इन्डियन केटो ब्वायफ्रेण्ड बनाएकी रे । सँगै पढ्दो रहेछ । तर त्यो रिलेसन बिहेसम्म पुग्न नै पाएन छ । मैले पनि एकदुईवटा गर्लफ्रेण्डहरू बनाइ हेरेथेँ । खोई किन हो टिकेनन् । आफ्नै व्यापारको काममा यति बिजी भएँ कि यदाकदा यताउता गरे पनि प्रेम गर्ने, बिहे गर्ने, सन्तान पाउनेतिर कुनै दिमाग नै दिइनँ छु ।

कफीसपमा हाम्रा विगतहरू व्यक्त गरेपछि उनले भनेकी थिइन् ः

–मनिष, के हामी पहिलेझैँ नगरकोटमा एकहप्ता त्यही होटलमा बिताउन सक्छौँ ? तिमी समय निकाल्न सक्छौ ?

यसरी हामी फेरि उही होटलमा ब्रेकअपको ७ वर्षपछि आएर बसेका छौँ । नगरकोटका डाँडाकाँडा घुमेर आउँदा साँझ भएको छ । गोधूलिको सुन्दर दृश्यले मनमोहक बनाएको छ । अब छिट्टै रात पर्दै छ । अहिले उनी मेरो काखमा पल्टिएकी छिन् । खासमा भन्ने हो भने यो होटल हाम्रो रिलेसनको साक्षी बसेको छ । यो होटलले हाम्रो सम्बन्धको इतिहास भन्नसक्छ । हामीले अफ्ना बैँसका उन्मादहरू यसै होटलमा शान्त पारेका थियौँ । अहिले पनि होटलको झ्यालबाट हिमाल हाँसेको देखिइरहेको छ । यही मनमोहक सोचमा मैले उनलाई अहिले सुटुक्क हेरेको छु । कोठाभित्र पसेका छौँ ।

बिहान भएको छ । उनले नाइट गाउन खोलेकी छैनन् । नाइट गाउनमा उनी स्वप्न सुन्दरीझैँ देखिएकी छिन् । तर अुनहारमा अलि वयस्कता आइसकेजस्तो लागेको छ । पढ्दापढ्दा उनको विचार पनि परिपक्क भएकोझैँ लागेको छ मलाई । उनका मुखले दर्शन बोल्न थालेका छन् । चस्माको पावरभित्र उनका आँखा मृगनयनी देखिन्छन् । हामीले मार्लबोरो चुरोट सल्काएका छौँ । एकनासले सूर्योदयको हिमाललाई हेरिरहेका छौँ । चिसो हावाले उनको गुलावी गालामा म्वाइँ खाएर गएको छ । उही सम्भोगी तरङ्गमा हिमाल हाँसिरहेको छ । ननुहाएको र राति खजमजिएको उनका कपालका केस्राहरू मुखतिर पनि आइरहेछन् । उनले आफ्नो कपाललाई जुरो बाँध्न हात पछाडि लगेकी छिन् । यसो गर्दा उनका स्तन नाइटीबाट पुल्टुक्क देखिएका छन् । बाहिर निस्कौँलाझैँ गर्दैछन् । यो दृश्य मेरा लागि मनमोहक भएको छ । म उनको यो अदामा हराएको छु । उहिले कुर्कुरे बैँसमा भारतबाट निस्कने ‘अंगडाइ’ पत्रिकाको कभर पृष्टमा देखिएकी अलमस्त सुन्दरीको तस्वीरझै लागेकी छिन् उनी ।

अर्को दिनको बिहान भएको छ । अगाडि कालो कफी राखेर वेयरा गएको छ । हिजो रातिको सिङ्गलमाल्टको रन्को अझै पनि सकिएको छैन । यसै बेला उनले एउटा दार्शनिक पाराको प्रश्न गरेकी छिन् मलाई ः

–यो संसारमा मान्छेमान्छे बीचको दूरी कति नजिक कति टाढा छ हँ मनिष ! तिमी भन्न सक्छौ ?

मेले उनलाई भनेको छु ः

– दूरीको नजिक र टाढा त फिलिङ हो । सोच हो । जसरी सोच, त्यस्तै हुन्छ दूरी । मरेर जाने लोग्नेका नाममा सेतो लुगा लगाएर श्रीमतीहरू आफू श्रीमान्को नजिक भएको बोध गर्छन् । मरेर जाने श्रीमतीका नाममा विधुर नै जीवन बिताएर सधैँ श्रीमतीसँगै भएको अनुभूत गर्ने लोग्ने मान्छे पनि यही संसारमा छन् । तर कोही त एउटै ओछ्यानमा सुतेर पनि टाढाको दूरी अनुभूति गर्छन् । म के भनूँ ! तिमी जीवनका सम्बन्धहरूलाई जसरी सोच, त्यही हो । किनकि तिम्रो सोचाइ तिम्रो हो । तिम्रो सोचाइ तिम्रो लागि सार्वभौम हो ।

अनि उनले फेरि सोधेकी थिइन् ः अनि भन त तिम्रा र मेरा हिँडाइका दूरीहरू कति रसिला ? कति विरसिला ? कति टाढा ? कति नजिक ?कति आत्मीय ? कति स्वार्थी ???

अनि मैले फेरि भनेको छु ः

–हेर निरू, सार्वभौम सत्य संसारमा केही छैन । भर्चुअल सत्यलाई हामी सत्य भन्छौँ । भर्चुअल सत्य भनेको गाईवस्तुले बाली नखाओस् भनेर थुतुनोमा लगाइने चोयाको महलाजस्तै हो । महला लाएको गोरुका आँखाले हरियो घाँस देख्नसक्छ । चोयाका प्वालबाट सुँघ्न पनि सक्छ । तर खान भने सक्दैन । तिमीले सोचेका सत्यहरू र मैले सोचेका सत्यहरू पनि यस्तै महलाबाट देखिएका सत्य हुन् । रूपमा सत्य देखिन्छन्, सारमा अर्धसत्य हुन् । अर्धसत्य भन्नु अर्धअसत्य पनि हो । हो यही अर्धसत्य वा अर्धअसत्यका मूर्त र अमूर्त अनुभूतिलाई जीवन ठानेर हामी हिँडेका छौँ । हाम्रा जीवनमा रस र बेरस भनिनु पनि यही कुरा हो । टाढा–नजिक भनिनु पनि त्यही कुरा हो । ग्लास आधा भरिएको छ कि आधा खालि छ भन्नु पनि त्यही कुरा हो । महलाको प्वालबाट सँुघिने संसार मात्र हो । सोच मात्र हो ।

अनि उनले फेरि थप प्रसङ्ग झिकेकी छिन् ः

–हो मलाई पनि हाम्रो जीवन त्यही महला लाएको गोरुको अवस्था जस्तो लाग्न थालेको छ । आखिर यो समाजले जीवनको राम्रो पक्षलाई हेर्दाे रहेनछ । मैले के पढेर आएँ, समाजलाई म के योगदान दिनसक्छु, म के काम गर्दैछु भन्ने बारेमा समाज सोच्दैन । तर मेरो व्यक्तिगत जीवन खोतलेरै उछित्तो काढ्दो रहेछ । खोजीखोजी निकाल्दो रहेछ । अनुमान गरेरै भए पनि अर्काको दोहोलो काढ्दो रहेछ समाजले त । कुरा काट्न ओछयानदेखि रछयानसम्म केही बाँकी राख्दो रहेनछ । खान खोजे रोक्दो रहेछ । नखायो, खा भन्दोरहेछ । समाजले मसँग लुकेर यौन सम्पर्क गरौँ भन्छ, तर जब मैले हाकाहाकी सम्पर्क गरौँ न भनँे भनेँ तथानाम गर्न थाल्दोरहेछ ।

अनि मैले जवाफ दिएको छु ः

–संसार आदर्शवादी छैन निरू । सही र गलत मान्छेले बनाएको हो । मान्छे एउटा खोल ओढेर बस्छ । समयले जे माग्यो, त्यही खोल ओढ्छ । यो खोल कुरूप पनि छ, सुरूप पनि छ । यो सबै समाजले बनाएको हो । समाज एउटा जेल हो । यो जेलमा नबसी सुख छैन । कैयौँ तत्त्व ज्ञान प्राप्त गरेँ भनेका जोगी पनि यो जेलमा नबसी धर पाउन्नन् । किनकि भोक सबैसँग छ । टाउकाले, हृदयले, भुँडीले र भँुडीमुनिले उब्जाएका भोकहरू जब्बर छन् मान्छेका । त्यो जब्बरतामा मान्छे अर्धसत्यमै लुकिलुकी करणी गर्छन् । अर्धसत्यमै रेप गर्छन् । अर्धसत्यमै बाँच्छन् रकर्ममा आइपुग्दा साखुल्ले बन्न पुग्छन् –बेइमानहरू हुन् । त्यो साखुल्ले अवस्था भनेको खोल हो । मान्छे खोललाई नै सत्य भनेर बाँचिरहेका छन् । त्यसकारण यो संसार समस्यामा जकडेर राख्नका लागि बनेको हो, समस्या समाधानका लागि होइन । समय कसैको नियन्त्रणमा छैन । आफूले चाहेको मात्र जीवन कहाँ बाँच्न पाइन्छ र निरू ! पलपल सम्झौता गर्नै पर्छ । यसरी बुझ कि तिम्रा–हाम्रा रिलेसन पनि त सहमति हो, सम्झौता हो । यत्ति बुझ्यौ भने पनि जीवन बुझिन्छ बुझिन्न थाहा छैन, तर जीवन निराशामा जाँदैन । किनकि तिमीले कसैसँग केही आशा गरेकै हुन्न । तिम्रै भाषामा जस्तो छ त्यही रूपमा परिस्थितिलाई हामीले अङ्गीकार गर्यौँ भने केको निराशा र !

अनि यतिबेला उनले प्रतिप्रश्न गरेकी छिन्  ः

–के यो जेल राम्रो हो त, मनिष?

अनि मैले यसरी भनेको छु ः

–राम्रो नराम्रो तुलना हो । केसँग केको तुलना गरेर राम्रो नराम्रो भनी छुट्याउने भन्ने हो । रक्सी नखाएको मान्छेलाई रक्सीको मातको मजा के थाहा ?ल ुतो नलागेको मान्छेलाई लुतो कन्याएको मजा के थाहा ? तर पनि मान्छे न हो विद्वता छाँट्न त किन छोड्थ्यो र ? अनि मान्छे नै बेवकुफ छन् कि पत्याइदिन्छन् । तिमी राम्रोसँग तुलना गर– राम्रो छ जीवन, नराम्रोसँग तुलना गर – नराम्रो छ जीवन । तिमी र मैले गरेका यही रिलेसनलाई राम्रो ठान–कति राम्रो छ जीवन । राम्रो ठान्यौ भने हामी आनन्दमय यात्रा गर्छौँ । समाधिउन्मुख आनन्द अनुभूति हुन्छ । नराम्रो ठान्यौ भने कति पीडादायी छ जीवन । भर्जिनिटी, धोका ठान्दै तिमी चिन्तित हुन्छौ । पछुताउँदै न रात सुत्न सक्छौ, न सुखद दिन गुजार्न सक्छौ । जीवन नर्क भइहाल्छ यो बेला ।

उनी एकछिन चूपचाप लागेकी छिन् र मलाई विस्फारित नेत्रले हेरेकी छिन् । आँखा चम्किला पारेर ट्वाल्ल परेर हेरेकी छिन् । अनि मैले आश्चर्य मान्दै सोधेको छु ः

–ह्वाट, के त्यसरी हेरेकी मलाई । कहिल्यै देखेकी थिइनौ ? कि पत्यार लागेन मेरा कुरा ??

अनि उनले यतिबेला मलाई सुस्तरी जवाफ दिएकी छिन् ः

–तिमीले नै भनेका होइनौ ! प्रेममा मान्छेले सोध्न नसकेको प्रश्न आँखाले नै सोध्छन्, अनि आँखैले जवाफ दिन्छन् भनेर ! यो आँखाको सवालजवाफ प्रेम हो भनेर सिकाउने तिमी नै होइनौ ? हेर त, मेरा आँखाले तिम्रा आँखालाई केही भन्दै छन् । अनि मेरा आँखाले मलाई भन्दै छन् कि तिम्रा आँखा कति नसालु ! कति रोमाञ्चक !! कति प्रेमील !!! भो अब हामीले हाम्रा खोललाई च्याते हुन्न !!!

(स्रोत : नागरिक – शनिबार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.