~भीम राई~
तिनताका म फुसको छानो भित्र हुर्कंदै गरेको सानो बबुरो जस्तै थिएं । मलाई सुस्तरी उमेरले डोरयाएर भर्खर अठार वर्षमा टेकाएको थियो । जुङ्गाको रेखी बस्नै लागेको त्यो समय मेरो मस्तिष्कमा अझै पनि ताजै छन् । अति विपन्न परिवारमा जन्मेको हुनाले ‘मलाया भर्ती’ भन्ने विषय कुनै एउटा अजीव चिजको पहाड होला भन्ने झैं सोचिरहेको थिएं । त्यसबेला तिनै मलाया भर्ती हुन हामी गाउंदेखि धरान घोपा क्याम्प सम्म जानु पर्दथ्यो । मैले धरान पुगेपछि बल्ल चाल पाएको थिएं । तिनै अपरिचित र अनिश्चित स्थान मलाया भर्ती मलायामा नभएर हङकङ जान पर्ने रहेछ ।
मलाया भर्तीका लागि सबैभन्दा पहिले गाउंमा गल्लावालसंग नाम दर्ता गर्ने चलन थियो । बत्तिस इन्चदेखि उंभोउंभो फुलिदै गरेको छाती लिएर म एकदिन गल्लावाल सामुन्ने हाजिर हुनपुगेको थिएं । उनले मेरो नजिक आएर, ‘यति कलिलै रहेछ । अझै यस्को तल्लो ओठमा निचोर्यो भने भर्खर चुस्दै गरेको आमाको दुध पनि आउंछ होला ?’ भनेको तिनै कर्णप्रिय शब्द मेरो कानमा अहिलेसम्म गुन्जिरहेकै छ । तैपनि उहांले मेरो छाँती, तौल र उचाईं नापिसकेपछि भर्ती हुनका लागि नाम लेखिदिएका थिए ।
म खोटाङको बुईपा गाउंमा जन्मेको थिएं । गाउंमा हरेक पटकको मनसुनले बिदा लिएपछि लरबरिदै लरबरिदै हिउंदे मौसम आउने गर्दछ । हिउंदमा पर्ने पुस र माघ महिनाहरु अति जाडो महिनामा विकसित हुंदै जाने गर्दछन् । त्यसबेला तिनै हिउंदे महिनाहरुले ल्याउने कठङ्ग्रिने जाडो मात्र नभएर सारा गाउं नै उजाड देखिने गर्दछन् ।
२०४० सालको निर्मम हिउंद सुरु भएर माघ महिना बित्दै गइरहेको थियो । मध्य माघको एकदिन मेरी ममतामयी आमाले अलिकति दाल, चामल र थोरै गुन्द्रुकको झ्याम्टा एउटा झोलामा तयार गरिदिनु भएको थियो । त्यसको भोलिपल्ट जमिनमा मिरमिरे उज्यालो नखस्तै हामी सम्भावित भर्तीवाल साथीहरुसंगै घर छाडेको थियौं । घर छाडेर हिंडेपछि बसेरी जङ्गलमा मानिस हिडने स–साना गोरेटो बाटोहरु एउटा खाली कागजमा कोरिएका बक्ररेखा झैं लमटन्न टाङ्गिएका देखिएका थिए । र, हामी तिनै गोरेटो बाटोहरुमा जिन्दगीका असंख्य आशाका सपनाहरु बोकेर निरन्तर अगाडि बढिरहेका थियौं ।
बसेरी जङ्गलमा भेटिएका धुले गोरेटोलाई रातभरि परेको हिउंदे शितले मज्जाले भिजाएका थिए । तिनै धुले गोरेटो माथि चालिएका हाम्रा पाइतालाहरुले प्रत्यक कदम कदममा निर्लज्ज डोबहरु बनाइरहेका थिए । तर पाइतालाले निर्माण गरेका हरेक डोबहरुलाई त्यसरी बिर्सदै अगाडि बढ्ने क्रममा कहांसम्म पुगिने होला भनेर मेरो ह्दयभरी अनुत्तरित प्रश्नहरु वर्षिरहेका थिए । जिन्दगीको सुनौला भविष्य निर्माण गर्न क्रमशः अगाडि बढिरहंदा आफ्ना आमा बाबु र सारा आफन्तहरुलाई गाउंमा छाडेर जान पर्दा स्खलित मन झन् विचलित र हलचल भइरहेकै थिए ।
बिहानको झिसमिसेमा सुरु भएको त्यसदिनको यात्रा बेलुकी सांझमा रसुवाघाट पुगेर अन्त भएको थियो । कोशीको किनारमा रहेको त्यो घाट नै मेरो जिन्दगीले घर छाडेको पहिलो रात थियो । बांसको भकारीले छाएको पुरानो गोठभित्र सुमधुर रातलाई बिदा गर्दे बिहान अबेला सम्म भुईंमा तन्किरहेको अहिलेसम्म संस्मरण गरिरहेकै छु । लगातार १२ घण्टा सम्मको अघिल्लो दिनको हिडाइले दिइरहेको दर्दनाक पीडा सामना गर्दै भोलिपल्ट बेलटार बजार झरिसकेका थियौं । आजको मिति भन्दा ठीक सैतिस वर्ष अगाडिको तिनै यादलाई निकोसिया, साइप्रसमा बसेर झलझली संस्मरण गरिरहेको थिएं ।
त्यसबेला मेरो मन अति नै चञ्चल थिए । र, मेरो गाउंघरको अवस्था अहिलेको जस्तो पटक्कै थिएन । गाउंदेखि मटर बाटो पुग्न टाउकोले टेकैर भएपनि फत्तेपुरसम्म पुग्न पर्दथ्यो । मैले गाउं छाडेको तेश्रो दिनमा फत्तेपुर पुगेर जिन्दगीको पहिलो पटक ‘विजय बस’ चढेको थिएं । त्यही बसदेखि धरान जाने क्रममा देखिएका तराईका समथर भूबनोट र चारकोसे झाडीलाई मन्त्रमुग्ध भएर यात्राका क्रमभरी हेरिरहेको थिएं ।
त्यसदिन जनवरी १, १९८४ थियो । बिहानीको उज्यालो भुईंमा खस्तै गर्दा म धरानको घोपा क्याम्प भित्र पसेको थिएं । म अहिले मेरो दिमागलाई राम्ररी खियाएर तिनै दिन सम्झिरहेको छु । अनि मैले त्यसबेला भोगेका तिनै यादहरु मेरा मानसपटलमा अहिलेसम्म नाचिरहेकै छन् । थोरै कौतुहल र हलचल मन लिएर क्याम्पभित्र पसेपछि हामीलाई भर्ती गराउने गुरुजीहरुले हिंडाएर समथर जमिनमा रहेको खाली चउरमा पुरयाएका थिए ।
म त्यहां पुगेर चउर वरिपरी देखिएका ठूल्ठूला रुखहरुका मनोरम दृश्यहरु देख्न थालिसकेका थिएं । विभिन्न चराचुरुङगीहरुले मधुर संगीत भरिरहेको तिनै रूखहरु मुनी लहरै मिलाएर तम्बुहरुको सहर ‘टेन्ट सिटी’ निर्माण गरिएको थियो । मैले तम्बुहरुको सहरलाई दिग्भ्रमित हुंदै निकै लामो समयसम्म हेरिरहेको थिएं । हरेक तम्बुहरुमा १०–१२ जना सम्भावित रिक्रुटहरुलाई बास बस्न सुकिलो स्थान बनाइएका थिए । जसलाई देखेर हामी सबैजना युवा हर्षले आमोदी भएका थियौं ।
त्यस बेलुकी सम्ममा सबै युवाहरुले को कहां सुत्ने भनेर तम्बुमा आ–आफ्ना स्थानहरु पाइसकेका थियौं । तर सबैजनाले सुत्ने ठाउं पाएको भएपनि हामी एकअर्काको अनुहार बिलकुलै फरक फरक देखिरहेका थियौं । अब कसलाई के भनेर सम्बोधन गर्नेहोला भनेर मेरो मनभरी काउकुती खेलिरहेको अवस्था थियो । किनभने तम्बुभित्र भेटिएका हरेक युवाहरुको पृष्ठभूमि फरक र फरक धरातलदेखि आएका थिए ति । अझ भनौं, मैले जिन्दगीमा पहिलो चोटी लिम्बु, सुनुवार, शेर्पा र तामाङहरुलाई देखे-भेटेको थिएं ।
कसोकसो अरु जातीका युवा भन्दा लिम्बुहरुसंग म थोरै त्रसित पनि भइरहेको थिएं । कुनैकुनै लिम्बु युवाहरुले निक्कै अग्ला अग्ला टोपीहरु पहिरेका थिए । उनीहरुले लगाएका टोपी र बोलेको भाषा सुनेर म यदाकदा तर्सेको बाख्रा झैं छट्पट्टि गरिरहेको हुन्थें । गाउंमा सानो छंदा सुङ्गुरको रौं किन्ने र चुरा बेच्ने लिम्बुहरुले बोक्ने खुकुरीको विषयमा भयङ्कर डरलाग्दो कथाहरु सुनेको थिएं । यदि उनीहरुसंग नराम्रो ब्यवहार गरियो भने शरिर र टाउको दुईटुक्रा पार्छन् भन्ने सुनेको हुनाले मेरो मन र मस्तिष्क थरङ्गै भइरहेका थिए । त्यसैले उनीहरुसंगको प्रत्यक्ष भेटघाटमा भित्रभित्रै कट्टुमा छुलछुली पिसाव फेरिरहेको अहिलेसम्म याद गरिरहेकै छु ।
तर तम्बु शहरमा भेटिएका धेरैजसो युवाले खस भाषा भन्दा पनि आ-आफ्ना जातिय भाषा एवं उपभाषाहरु बोलिरहेको सुन्दा मलाई बिछट्टै अफठ्यारो महसुस भइरहेको थियो । अनि उनीहरुले लगाएका विभिन्न प्रकारका भेषभुषाले म निश्चय नै अचम्मित भइरहेको थिएं । अझै सबैभन्दा बढि अचम्म त म त्यसबेला भएको थिएं जतिबेला मैले सोच्तै नसोचेका त्यति धेरै उपभाषा बोल्ने राईहरुका उपथरीहरुसंग पहिलोचोटी घोपा क्याम्पमा भेट भएको थियो ।
धरानमा रहेको बेलायती सैनिक क्याम्पभित्र लगभग एक हप्तासम्म रिक्रुट छान्ने काम भएको थियो । सम्भावित रिक्रुटहरुको शारिरिक, मानसिक, भौतिक, शैक्षिक र चिकित्सा सम्बन्धि सम्पूर्ण परिक्षाहरु भएका थिए । सबै परीक्षा सकिएको अन्तिम दिन क्याम्प भित्रको विशाल फुटबल खेल मैदानमा युवाहरुलाई एक्कैठाउं भेला गरिएको थियो । रिक्रुट परीक्षण कालभरी हामी सबै युवाहरुको छातीमा अल्पकालिन नम्बर दिइएको थियो । र, मध्यान्हको समयमा युवाहरुको छातीमा लेखिएको तिनै नम्बर बोलाएर हामी सबैजनालाई दुई भागमा विभाजन गर्न थालिएको थियो ।
हामी त्यसबेलासम्म भर्ती हुने सुन्दर सपना सांचेर बांचिरहेका थियौं । त्यसैले निषध्यान लगाएर आ–आफ्नो नम्बर आउने प्रतिक्षा गरेर बसिरहेका थियौं । भर्ती लागेका हरेक युवाहरुको छाती नम्बर नजिकै रहेको तीनकुने जङ्गल थर्कने गरेर पुकारी रहेको थियो । केहिबेरमा मेरो छाँती नम्बर पनि हावामा बरालिदै आएर कानसम्म पुगेर बज्रिएको थियो । त्यसरी आएको नम्बर हावामा बिलिन हुन पाउंदा नपाउंदै म भर्ती लागेका युवाहरुको नजिकै पुगेर थपक्कै बसेको थिएं ।
दुर्भाग्यवस् छाँती नम्बर आउन नसकेकाहरुलाई अर्को वर्ष प्रयत्न गर्नु है भनेर क्याम्पबाट विदाइ गरेर पठाइएको थियो । भर्ती हुने सपना टुटेपछि उनीहरुका अनुहार अति मलिन मलिन भएका थिए । त्यति मात्रै नभएर जिन्दगीको उज्ववल भविष्य बनाउने सपना तुहिएपछि कसैकसैले आंखाभरी आंशु बनाएर घोपा क्याम्प छाडेको दृश्य देख्दा मलाई सारहै नरमाइलो लागिरहेको थियो ।
भर्ती हुन नसकेकाहरुले क्याम्पदेखि बिदा लिएपछि भर्ती भएकाहरु चउरको बीच भागमा झुरुप्पै बसिरहेका थियांै । केहिबेर पछि हामी सबैको ध्यानाकर्षण गराउंदै नेपाली भाषामा ‘ल केटा हो, तहरु आजदेखि भर्ती भइस्’, क्याम्पका कमाण्डर ब्रिग्रेडियर जनरल हन्ट डेभिसले नजिकै रहेको तीनकुने जङ्गल गर्जने गरि आवाज निकालेर बधाई तथा शुभकामना दिएका थिए । पूर्व सातौं गोर्खा राईफल्स्का दक्ष नेपाली भाषी बेलायती सैनिक अधिकृतदेखि मैले त्यसबेला प्रथम चोटि नेपाली ब्याकरणमा प्रयोग गरिएको ‘एकबचन’ शब्दलाई ‘बहुबचन पुच्छर’ झुन्डाउने गरेको ‘ब्रिग्रेड अफ गोर्खाज्को’ चलन चल्तीको भाषा सुनेको थिएं ।
सन् १९५९ देखि धरान घोपा क्याम्पमा पहिलो पटक पूर्व नेपालका नेपालीहरु बेलायती सेनामा भर्ती हुन थालेका थिए । त्यसको ठिक २५ वर्षपछि ७ फेब्रुवरी १९८४ का दिन मैले बेलायती सैनिकमा भर्ती भएर सैनिक नम्बर ‘२११६६५३४’ हात पारेको थिएं । भर्ती हुंदा पाएको त्यस नम्बरसंग औधि खुशी भएपनि त्यस नम्बर कण्ठस्त बनाउन मलाई फलामको च्युरा चपाउन झैं चर्को परेको थियो । अझै त्यसबेला मेरो सैनिक नम्बर मात्र नभएर आफू जन्मेको र भर्ती भएको मिति अङ्ग्रेजी पञ्चाङ्ग अनुसार जान्नु पर्ने भएकोले निक्कै हम्मेहम्मे परेको याद अहिलेसम्म सम्झिरहेको छु ।
त्यसवर्ष हामी धरानदेखि २३५ जना कलिला युवा बेलायती गोर्खा सैनिकमा भर्ती भएका थियौं । र, पश्चिम नेपालका हकमा भने पोखरामा भर्ती हुने चलन रहि आएको थियो । त्यो भन्दा पहिले बेलायती सेनामा भर्ती हुन पक्लिहवा क्याम्प पुग्नुपर्छ भन्ने मैले सुनेको थिएं । हामी भर्ती भएको त्यसदिन मध्यान्हको टण्टलापुर घाम संगसंगै ब्रिग्रेडियर जनरलको भाषण पनि सकिएको थियो । ब्रिग्रेडियर जनरलले भर्ती भएको आधिकारिक जानकारी दिएपछि खुशीले उफ्रंदै उफ्रदैं हामी आ–आफ्नो तम्बुमा फर्केका थियौं । तर हामीलाई त्यसबेला आफू बसिरहेको तम्बुदेखि नयां तम्बुमा सारिएको रहेछ । नयां तम्बुमा सरेपछि नयां साथीहरुसंग चिनजान गर्न मलाई झन चुनौतिको पहाड थपिइरहेको थियो ।
तै पनि भर्ती भएपछिको गोधुली सांझले मलाई खुबै आकर्षित गरिरहेको थियो । भेडेटारदेखि बहदै झरेका चिसो बतासले मलाई मात्र होइन, हरेक रिक्रुटहरुको भौतिक शरिरलाई शान्त बनाइरहेको थियो । त्यति शान्तमय वातावरणमा संगै भर्ती भएका नयां साथीहरुसंग हाम्रो सुस्तरी परिचय हुन थालिसकेको थियो । चारैतर्फ फलामे तारले बारेको जालीभित्र एउटै समयमा भर्ती भएका साथीहरुलाई पल्टने साइनो अनुसार ‘नम्बरी’ भनेर बोलाउनु पर्ने चलन थियो ।
भर्ती भएको भोलिपल्ट नम्बरीहरुलाई भेट्न धरान वरिपरिका आफन्तहरु क्याम्पभित्र आउन थालेका थिए । आफन्तहरु क्याम्प भित्र आउंदा उनीहरु हातहातमा सुन्दर सयपत्री फूलका मालाहरु पनि लिएर आउंथे । तर त्यति ठूलो धरान सहरमा मेरा कुनै आफन्तहरु चाहिं थिएनन् । किनभने म गाउंदेखि आएको बिलकुल एक्लो अल्लारे थिएं । त्यसैले मैले कुनै सयपत्री फूलका माला लगाउन पाइन र पाउने आशा पनि गरेको थिइन् । तर झ्याम्मै टुक्रेर फुटेका सिसाझै दिल लिएर तम्बुको एउटा कुनामा बसिरहेको थिएं । अनि नम्बरीहरुले गालाभरी गर्लम्म सयपत्री फूलका माला उनेका दृश्य वितृष्णा सहित निक्कै लामो समयसम्म हेरिरहेको थिएं ।
नयांदिनको नयां ब्रेकफास्टपछि हामी सैनिक बर्दीहरु लिन मुख्य गोदामको कार्यालयमा पुगेका थियौं । हामीले त्यहां एउटा सुरिलो प्लाष्टिकको झोलाभरी खाकीबाट बनेका विभिन्न प्रकारका पोशाकहरु पाएका थियौं । तिनै झोलामा तयार भएका एकभारी कपडाहरु लिएर आ-आफ्ना तम्बुमा फिरयौं । दशैंताका गाउंमा मुश्किलले एकजोर कपडा फेर्ने चलन थियो । अब त्यति धेरै सैनिक पोशाकहरु कुन कुन समयमा पहिरिनु पर्ने होला भनेर म रनभूलमा परिरहेको थिएं ।
भोलिपल्टको झुल्केघामसंगै तम्बुमा गुरुजीहरुको अनुहार देखापरेको थियो । त्यसपछि उहांहरुले कुन समयमा कुन पोशाक लगाउने भनेर हामीलाई सिकाउन थाल्नु भएको थियो । त्यस दिनदेखि हामीले सैनिक पोशाक पहिरन गर्न मात्र नसिकेर अनुशासनका साथ खान, पिउन, हिंड्न र बोल्न पनि सिक्न सुरु गरिसकेका थियौं । हुन त धेरै नम्बरीहरु म जस्तै गाउंको एउटा अनकन्टर कुनादेखि आएको थिएं । त्यसैले खाना खांदा प्रयोग गरिने साधनहरु चम्चा, कांटा र छुरीको प्रयोग कसरी गर्ने भनेर गुरुजीहरुले प्रर्दशन गरेको दृश्य रमाइलो मान्दै हेरेका थियौं ।
त्यसदिनदेखि फित्तावाल चप्पलले मेरो पयर पडकाउन छाडेका थिए । जिन्दगीमा पहिलो पटक जुत्ताधारण गर्दा ह्दय औधी हल्का भएको थियो । अझ त्यसदिनको रमाइलो क्षण चाहिं त्यतिबेला भएको थियो, जतिबेला एकजना भुक्त्तभोगी नम्बरीले भैंसीको पुठो आकारको टोपी पहिरण गरेर हामी सबैलाई देखाउंदै ख्यालठट्टा गरिरहेका थिए । तर विधिको बिडम्बना र समय कति बलवान रहेछ । तिनै बिनम्र, मिलनसार, फरासिला र मृदुभाषी मेरा नम्बरी केहिवर्ष अगाडि इश्वरको प्यारो भइसकेका छन् । अहिले यी हरपहरु कोर्दैगर्दा तिनै प्रिय नम्बरीको आत्मालाई चिरशान्ति मिलोस् भन्ने कामना ब्यक्त्त गर्न चाहन्छु ।
हरेक बिहानीको नित्यकर्मदेखि बेलायती सैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण काम सिक्दै गरेको भएपनि त्यसबेला ‘कसम खाने कवाज’ हाम्रो लागि सबैभन्दा महत्वपूर्ण कार्य थियो । त्यसैले तिनै कवाजलाई सफल बनाउन क्याम्पमा सबैभन्दा धेरै प्राथमिकता दिइएको थियो । त्यस बिहानदेखि हामीले कसम खाने कवाजको अभ्यास पनि सुरु गरिसकेका थियौं । तर भर्खरभर्खरै पहाडदेखि मधेश झरेका ठिटाहरुलाई धराने गर्मीले सात्तो लिइरहेको थियो ।
परेड मैदानमा विस्तारै विस्तारै कसम खाने कवाजको तालिम आरम्भ भएको थियो । कवाज सुरुभएको हरेक ४५ मिनेटमा रिक्रुटहरुलाई एउटा सानो विश्राम मिल्ने गरेको थियो । त्यो विश्राम केवल दश मिनेटको लागि मात्र हुन्थ्यो । म पहिलो पटक गाउंदेखि सहर झरेको आलोकांचो एउटा युवा थिएं । अनि उनीको मोजा लगाएर कवाजको अभ्यास गर्दा खुट्टाका औलाहरू पसिनै पसिना भएर रोइरहेको भित्रभित्रै आभाष गरिरहेको थिएं । त्यसैले तिनै दस मिनेट विश्रामको फाइदा लिंदै जुत्ता र मोजा खोलेर आपको रुखमुनी शितल तापेर बसेको थिएं ।
‘रिक्रुट परेडको समयमा जुत्ता खोल्छस् ?’
निक्कै टाढाबाट गिध्दे दृष्टि लगाइरहेका गुरुजीले अचानक कराएर मेरो सात्तो खाइदिएका थिए । उनले केवल मेरो सात्तो मात्र खाएका थिएनन् । नजिकै रहेको फोहोर पानी बग्ने नालीको वरपर सुतेर पुल बन्न पनि सिकाएका थिए । अहिले सम्झंदा सम्भवतः त्यो नै मेरो सैनिक जीवनको सबैभन्दा पहिलो पटकको सजाय थियो । सैनिक जीवनमा बिताएको त्यसपछिको सजायहरुलाई संस्मरण गर्ने हो भने प्रशान्त महासागरको पानी भन्दा धेरै भएका छन् । अझै त्यस्तो सनकी गुरुजीले हङकङको तालिम केन्द्रमा पुगेपछि लामालामा जुङ्गा पालेका गुरुजीहरुले गर्ने अमानवीय ब्यवहार चाल पाउने छस् भनेको सुन्दा मेरा आङ जिरिङ्गै भएको थियो । जे होस्, सैनिक कवाजको बेला जुत्ता खोल्न नपाइने रहेछ भनेर पहिलो पाठ मैले धरानको घोपा क्याम्पमा सिकेको थिएं ।
जलमार्ग, वायूमार्ग र स्थलमार्ग कुनैपनि ठाउंदेखि आएको दुश्मनलाई दुईटुक्रा पार्छु भन्दै बेलायती झण्डा छोएर ठूलो तामझामका साथ अर्को हप्ता मैले कसम खाएको थिएं । त्यसपछि धरानदेखि काठमाडौं हुंदै हङकङ जानका लागि हामीलाई विभिन्न समूहहरुमा छुट्याउन थालिएको थियो । त्यसबेलासम्म मैले घर छाडेको पुरै तीन हप्ता भइसकेको थियो । मलाया भर्ती मेरा लागि सोखको विषय नभएर दरिद्रताको उपज रहेको थियो ।
तर हङकङ जाने समय जतिजति नजिकिंदै थियो । नयांनयां ठाउंहरु के कस्तो हुने होला भनेर मेरो ह्दयभित्र केहि असहज उत्पन्न भइरहेको थियो । कताकता अनेकन भावहरु सलबलाई रहेको अनुभव गरिरहेको थिएं । अझै त्यति कलिलो उमेरमा आफ्नो परिवारलाई छाडेर हिंड्नुको पीडाले कताकता सताइरहेको जस्तो अनुभूति हुन्थ्यो । किनभने भर्ती भइसकेपछि आफ्नो जन्मघर फर्केर आउन टन्नै तीनवर्ष कुर्नु पर्दथ्यो । अझै त्यो समयभित्र जिन्दगीले डोरयाएर कहांकहां पुग्नु पर्ने होला ? र, के के अनुभव गर्नुपर्ने होला भनेर झन् ह्दयमा असंख्य हलचल पैदा भइरहेको अवस्था थियो ।
त्यसदिन फेब्रुवरी १४, १९८४ थियो । बिहानीको नास्ता खाइसकेपछि हामी आ–आफ्नो कुम्लो कुटुरो बोकेर कवाज खेल्ने मैदानमा पुगेका थियौं । घडीले बिहानीको समय दश बजाएपछि गुरुजीले सबै रिक्रुटहरुको नाम र नम्बर बोलाएर हाजिरी गरेका थिए । सबैको नाम आएपछि धरान छाडेर काठमाडौं जानका लागि हामी तयार भएका थियौं । हाम्रो सिधा अगाडी कवाज खेल्ने मैदानमा चारवटा कोच लहरै मिलाएर रोकिएका थिए । गुरुजीले हाजिरी गरिसकेपछि हामीलाई कोचमा चढ्ने आदेश दिएका थिए । त्यसपछि कमिलाको पंक्ति झैं मिलेर हामी कोचभित्र पसेका थियौं ।
हामी कोचमा पसेको केहिबेरमा कोचको चक्का सुस्तरी गुड्न थाल्यो । घोपा क्याम्पको पछाडि ढोकादेखि निस्केको कोचले विस्तारै तिनकुनेलाई सधैं सधैंका लागि छाड्दै गयो । थोरै भत्केको गाउंले मन र मुटु लिएर म कोचको सबैभन्दा पछाडि सिटमा आसन गरिरहेको थिएं । त्यति आरामले कोचभित्र बसेपनि मेरा ह्दयभित्र अनेकन प्रश्न र जिज्ञासाहरु सुस्तसुस्त गतिमा सलबलाई रहेका थिए । मैले विस्तारै कोचको झ्याल खोलेर चारकोशे झाडीलाई निक्कै लामो समयसम्म नियालिरहें । त्यसपछि झ्यालदेखि मुन्टो फर्काएर कोचको अगाडि हेर्दा गुरुजीको इसारामा हामी सन् १९८४ सालको रिक्रुटहरुले, ‘नैनी ताल नैनी ताल, घुमि आयो रेल…’ भन्ने गीत सुरु गरिसकेका थियौं ।
दिउसो एकबजे विराटनगर विमानस्थलदेखि आरएनएसीको एभ्रो विमानले बिराटनगर शहरमाथि धुवा छाड्दै गर्दा मेरो अनुहार नरमाइलो मान्दै कालो बादलमा परिणत भइसकेको थियो । विमानले सुस्तरीसुस्तरी खुला आकाश चुम्न सिधै माथि आकासिंदा मैले आफ्नो अगाडिको सिट मज्जाले समातिरहेको थिएं । बिना बादलको त्यस मध्यान्हको मौसम अतिनै आकर्षक थियो । त्यही आकर्षक मौसमको बेला मेरा पापी नयनहरुले दुरदृष्टिमा रहेका हिमालय श्रृखंलाको क्रमशः नजर लगाइरहेका थिए । केहिबेरमा निक्कै टाढा क्षितिजमा देखिएको ‘सगरमाथा’ को लोभलाग्दो दृश्यमा मेरा नजर मज्जाले गाढिइरहेका थिए । मैले सगरमाथादेखि पटकपटक नजर हटाउन प्रयत्न गरेपनि मेरो दिल पटक्कै मानिरहेको थिएन् ।
(लेखक बुईपा, खोटाङका हुन् र हाल उनी बेलायतमा बस्छन् ।)
– ‘नेपाली लिंक डट कम’मा पूर्वप्रकाशित
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )