~गोविन्दराज विनोदी~
स्वप्न रोजै नयाँ देख्न चाहन्छु म
स्वप्नमै जिन्दगी लेख्न चाहन्छु म
सत्य खोज्दा सधैँ चुक्छ यो जिन्दगी
सत्यले घोचिँदा दुख्छ यो जिन्दगी
सत्यका मार्गमा ठेस नै ठेस छन्
सत्यभन्दा यिनै स्वप्न नै बेस छन्
भोगिँदा जिन्दगी, कष्ट नै कष्ट भो
लक्ष्य, गन्तव्य नै आज अस्पष्ट भो
खोजियो के यहाँ – पाइयो के यहाँ –
प्रश्न ली हातमा सोध्न जाऊँ कहाँ –
प्रेमका पात्र छन् रित्तिएका सबै
शान्तिका मन्त्र छन् सिद्धिएका सबै
छैन संवेदना मानवी-चित्तमा
अल्झियो चेतना वित्तका वृत्तमा
छट्पटी हुन्छ यो सत्य देख्दा सधैँ
हात चिप्लिन्छ यो सत्य लेख्दा सधैँ
सत्यमा ‘छद्म’ का रूप छन् निर्घृणी
स्वप्न नै छिन् सदा मानसाकषिर्णी
पाउ आनन्दमा टेक्न चाहन्छु म
स्वप्न रोजै नयाँ देख्न चाहन्छु म
– गैँडाकोट, नवलपरासी
(स्रोत : पल्लव साहित्यिक पत्रिका अङ्क– १८ बाट साभार।)