~जीवन क्षेत्री~
औंशी हिजै थियो तर अन्धकार आज पनि उत्तिकै थियो । ब्यारेकमा आज महिनौंपछि पहिलो पटक स्यालको रक्सी आइपुगेको थियो । बाहिरबाटै झिकाएको मृगको सुकुटीसित त्यो रक्सी खाएर मेजर रणसिंह शमशेर जबरा सुतेको थियो तर निद्रा आउने नामै लिइरहेको थिएन । मरेको भतिजको अनुहार झल्झली आइरहेको थियो । साथमा ऊ मारिएपछि घर जाँदा आफन ो खुट्टामा छाँद हालेर रोएकी उसकी युवती विधवाको अनुहारले पिछा छोड्नै मानिरहेको थिएन ।
मेजरले कोल्टे फेर्यो । घोप्टो पर्यो । तर कुनै तरिकाबाट निदा आएन । ऊ जस्तोसुकै भयानक युद्धको बीचमा पनि आफ्नो अन्तस्करणलाई डग्न नदिने मान्छे आज भने भित्रभित्रै काँपिरहेको थियो । आक्रोश, क्षोभ, पश्चात्ताप, बदलाभाव आदिले एकैचोटि उसको मथिंगल खल्बलाइदिएका थिए ।
भोलिपल्ट भाइ टिकाको दिन थियो । अघिल्ला वर्षमा झैै यसपालि पनि दशैं तिहारका लागि गरिएको युद्धविराम कायम थियो र देशभरका सैनिक र प्रहरीहरु विरल चैनको निद्रा सुतिरहेका थिए । तर मेजर जबराका लागि भने अघिल्लो सालदेखि हरेक तिहार अभिषाप भएर आउने गरेका थिए । देश युद्धमा फसिसकेपछि सबैले विरोध गर्दा गर्दै पनि उसले एक मात्र भतिजलाई सैनिकमा भर्ना हुन चार वर्ष अघि आश्वस्त पारेको थियो । तर अघिल्लो वर्षको तिहार मनाएर घरबाट फर्कंदै गर्दा उसलाई विद्रोहीहरुले आक्रमण गरेर निर्ममतापुर्वक मारेका थिए ।
भाग्यले भनौं वा दुर्भाग्यले, केही दिन अघि मात्र तिहारकै मुखमा कताबाट हुत्तिएर एउटी दुश्मन फौजकी केटी यो ब्यारेकमा आइलागेकी थिई । सादा पोशाकका मानिसले महिनौ.अघि पक्रेकी भनिएकी यो केटी खै कुन काकतालीले हो यो ब्यारेकमा तिहारको मुखमै पुगेकी थिई । देख्नासाथ मेजर जबराको रगत उम्लेर आएको थियो तर खै किन हो त्यसको भााग्य फैसला गर्न हिच्किचाएको थियो र त्यसको भाग्य के हुने हो कसैले अनुमान लगाउन सकेका थिएनन् ।
खै कुन घडीमा हो मेजरलाई निद्रा लागेछ । बिहान ब्युँझँदा छर्लंग उज्यालो भएको थियो । हिउँदको घामका कलिला किरणहरु जताततै पोखिइरहेका थिए । दिन साविकभन्दा बढी उज्यालो लागिरहेको थियो । ओसेपमा अझै पनि शीत चुहिरहेको थियो तर पारीपट्टि दक्षिण फर्केको पाखामा खरको शीत सुकिसकेको थियो । गोरेटोको छेउमा लगाएका केतुकीका पातहरु टल्किरहेका थिए । वर्षाभरि घाँस काटेपछि खरबारीमा छाडिएका गाइबस्तुहरु चर्न बाटोबाट झरिरहेका थिए ।
तर वातावरणमा व्याप्त शालीनता र शान्तिले मेजरको मन छुन सकिरहेको थिएन । मनमा हिजो रातिको विषाद गएको त थिएन नै, साथै घाम चढ्दै आएसँगै उसको मनमा अरु अन्धकार फैलिंदै गएको थियो । भतिजको अनुहारले जति गिज्याएझैं लाग्थ्यो, उति रगत उम्लेर आउँथ्यो । मेजरका राता राता आँखा देखेर बिहानैदेखि ब्यारेकमा सबैको मन त्राहिमाम भएको थियो । मेजरले फेरि बिहानै अरु केही गिलास स्यालको रक्सी विना सितन स्वाट्ट पारेर रगत चुहेलाजस्ता राता आँखा बनाएर निस्केपछि त सबैले आज आइपर्ने रडाकोको राम्रैसित सुइँको पाए ।
रौद्र रुप ग्रहण गरेको मेजर एकाएक गर्जेर सबैलाई चौरमा भेला हुन आदेश दियो । सामान्यतः दशैं र तिहारमा घर जान नपाएका सबैजना जवान र अफिसरहरु भेला भएर शुभकामना आदान प्रदान गर्ने साविक चलन नै थियो तर आजको असामान्य अवस्था देखेर सबै चिन्तित थिए ।
चौरमा सबै भेला हुनासाथ मेजर कड्क्योः “आज खास तरिकाले तिहार मनाइँदैछ । आजको दिन ती …. …. अधिकारवादीहरुले कालो दिनको रुपमा मनाउनेछन् । ती कुकुर्नीका छाउराहरुले काठमाडौंमा के भन्छन् मलाई मतलब छैन ।”
मेजर जबरा एक छिन हिच्किचायो । आँखा मिच्यो अनि फेरि अघि फर्कियो । आँखा झनै राता देखिए र अनुहार अझ अँध्यारो देखियो । ऊ फेरि एकाएक गज्र्योः “त्यो …की छोरी … लाई यहाँ ल्या ।”
एकै छिनमा एउटा ख्याउटे शरीर भएकी, पातलो कुर्ता लगाएकी अन्दाजी १८ वा १९ वर्षकी केटीलाई लुगलुग कमाउँदै भित्रवाट ल्याइयो । त्यसको अनुहार सपाट थियो र त्यो त्रस्त भन्दा पनि धेरै दयनीय देखिन्थ्यो । शरीर खिरिलो र कमजोर देखिन्थ्यो । छालाको देखिने भागमा निलडामहरु देखिन्थे ।
शायद केटीलाई अब के हुँदैछ भन्ने आभास भयो क्यारे, अनुहारको भाव एकाएक गाढा किसिमको भय र लाचारीमा बदलियो । त्यो केटीलाई हेरेर कथामा पढिने कुनै पनि क्रान्तिकारी केटीको छनक मिल्दैनथ्यो । या त उसलाई पार्टीमा स्कुलिङ पुगेको थिएन, या त एक महिनाको यातनाले गलाइसकेको थियो ।
“विक्रम”, एकाएक मेजर गज्र्यो । “यसलार्इृ ठोक्” भन्दै जवानको हातमा आफ्नो पस्तिोल थम्याइदियो र आफ्नै सुरमा बर्बराउन थाल्यो ।
सैनिक जवान विक्रम अघि बढ्यो र पिस्तोल लियो । तर निशाना साँध्न उसका हातहरु मनेनन् । घरमा उसकी त्यही उमेरकी बहिनी छ जो अहिले उसलाई सम्झेर आँशु बगाउँदैछ । आउन्न भनेर उसले खबर त पठाएकै थियो तर अघिल्लो वर्ष पनि त्यो खबर हुँदा हुँदै पनि कतै अकस्मात् आइपुग्छ कि भनेर दिनभर बाटो हेरेकी रे । बहिनीको मन न हो, युद्धविराम भएकै छ कतै दाइ झुक्याएर आइपुग्ला कि भनेर सबै तयारी गरेकी रे । उसका अरु भाइ थिएनन् र पनि उसको बढी नै महत्व थियो । उसले कल्पनामै गोली चलायो र त्यो केटीको निधारबाट रगतको भेल छुटेको देख्यो । त्यही निधारमा जुनमा त्यो दिन उसले टिका लगाइदिन्थ्यो । बहिनीले आफुलाई लामो ठाडो टिका लगाइदिएपछि उसले बहिनीलाई गोलो टिका लगाइदिन्थ्यो तर एक वर्ष जिद्दीपुर्वक उसले पनि बहिनीलाई ठाडै टिका लगाइदिएर बहिनीका साथीहरुले जिस्काएका थिए । टीका र मालामा सजिएर दाजु बहिनी गाउँभर देउसी खेलेको सम्झेर ऊ त अर्कै संसारमा पो पुग्यो । हात कँपाउँदै उसले खस्नै लागेको पिस्तोल मेजरलाई थम्यायो र शिर लत्राउँदै पछि हट्यो ।
मेजरले हुँकार छोड्योः “तँ कुकुर्नीका बच्चालाई के गर्नपर्छ, मलाई थाहा छ ।” भीडमा सन्नाटा छायो । सबैको शिर निहुरेको देखिन्थ्यो । केटीको कँपाइ बढेर गएको थियो र त्यो अचानोमाथि घाँटी राखेको निर्मम पाठोजस्तै दयनीय देखिएकी थिई । त्यसका आँखामा समेत त्याग, शहादत, बहादुरीजस्ता भाव भेट्न असम्भव थियो । मेजरले जति त्यसलाई हेथ्र्यो, त्यति आफ्नो खुट्टामा छाँद हालेर रोएकी आफ्नी भतिज बुहारीको अनुहार आउँथ्यो र प्रतिशोधको भाव उर्लेर आउँथ्यो । मेजर फेरि भित्र गएर बचेखुचेको स्यालको रक्सी सिनित्त पारेर आयो । उसका आँखामा अब आगो सजिलै देख्न सकिन्थ्यो ।
“भीम”, अचानक मेजर गज्र्यो । “इन्सब्अर्डिनेशनको मुल्य तँलाई थाहा छ । अहिले यसलाई सिध्या अनि आज तिहार मनाउने माहोल बन्छ । यो … की बच्चा … को अनुहार हेरेर मलाई तिहार मनाउनु छैन ।”
मेजरले पिस्तोल अघि बढायो । हवल्दार भीम आएर पिस्तोल लियो । सरासर केटीको अघि पुगेर निशाना साँध्यो र ट्रिगरमा औंला पुर्यायो । उसका दिदी बहिनी पनि थिएनन् र तिहारले सानैदेखि उसलाई एउटा पीडा दिंदै आएको थियो । युद्धमा पनि ऊ बहादुरीपुर्वक लड्दै आएको थियो र निकट भविष्यमा हुने बढुवाको सुचीमा उसको नाम माथि थियो । आज आदेशको अवज्ञा गरेर आफ्नो भविष्य धरापमा पार्ने उसको मनसाय थिएन ।
तर एकाएक भीमले महसुस गर्यो उसले अहिले त त्यो केटीको अनुहार गौरपुर्वक हेरेकै थिएन । निशाना साँध्न जब उसले केटीको अनुहार हेर्यो, ऊ पानी पानी भयो । त्यसमा न विद्रोह भाव थियो न वैरभाव । खाली भयले आक्रान्त एउटा स्त्री अनुहार थियो । अघिल्लो वर्षमात्र एउटा युद्धको क्रममा ऊ घाइते भएर विद्रोहीहरुको अपहरणमा परेको थियो । युद्धपश्चात जंगलमा पुगेपछि सबै जम्मा भएर उसको भाग्य निर्धारण गर्ने बेला उसको पनि हालत यस्तै थियो । गिरेको नुर लिएर विद्रोही कमाण्डरको अघि उभिंदा उसले सोचेको थियो अब जीवनको आखिर क्षण नै यही हो । तर विद्रोहीहरुको आश्चर्यजनक उदारताका कारण उसले ज्यान बक्सिस पाएको थियो र आजसम्म यस धर्तीमा उसको अस्तित्व थियो । अन्ततः उसका औंलाले पनि ट्रिगर दबाउन सकेन र ऊ पनि लाचार भएर फर्कियो ।
उता मेजर जबराको पारो बढदै गयो र ऊ उन्मत्त भएर गज्र्योः “तिमी …का छोराहरुले यसलाई बचाउँछु भन्ने सोचेको? अब एउटा …का छोरालाई भन्छु, त्यसले पनि मानेन भने मलाई थाहा छ के गर्नुपर्छ । कोही छ आमाको दुध खाएर बढेको भने अगाडि आइज, तँलाई अबको लटमा प्रोमोशन गरिन भने मेरो नाक काटिदिनु ।”
भीडमा अझै सघन सन्नाटा फैलियो । आज त्यो केटीको इहलीला सकिने हो भन्ने सबैलाई निश्चित थियो तर आफ्नो हातमा उसको रगत लिन कोही तयार थिएन । धेरैलाई लागेको थियो, अरु कसैले त्यो काम सिद्धाइहाले पनि हुने । सबैका मगजमा आआफ्ना दिदी बहिनीहरु थिए र केही बेरमा घर जान नसके पनि कम्तीमा त्यहींबाट उनीहरुलाई फोन गर्नुपर्ने थियो । आजको दिनमा विना भिडन्त मार्नु, त्यो पनि एउटी केटी । भर्ती हुनासाथ तालिम लिंदा मानव अधिकारसम्बन्धी अध्यायमा ठीक यस्तो किसिमको हत्या नगर्नु भनेर दोहोर्याएर तेहेर्याएर भनिएको थियो । तर सशस्त्र युद्ध शुरु भएपछि त ती सिद्धान्त कता गए कता । यहाँको नीति निर्माता, न्यायदाता र त्यसको कार्यान्वयनकर्ता सबै कमाण्डर हुन्थ्यो । उसको आज्ञा नै सबैका लागि देववाणी हुन्थ्यो ।
घाम चढेर डाँडादेखि आकाशमा पुग्यो र दिन न्यानो हुँदै गयो तर ब्यारेकको गलफत्तीले कुनै निकास पाएन र त्यहाँ तनाव भैरह्यो । कागहरु चर्को चर्को कराउँदै यता र उता उड्दै रहे ।
मेजर असमञ्जसमा पर्यो । उसले जीवनमा यति ठुलो अपमान कहिल्यै खप्नु परेको थिएन । तिहारकै मौकामा मारिएको उसको भतिजको हत्याको उचित बदला हुने ठानेर नै उसले त्यस केटीमाथिको कारवाहीका लागि त्यो दिन र त्यो साइत जुराएको थियो । साथै यो कारवाहीको स्कोरले उसको आफ्नो बढुवाको दिन अगाडि सर्ने पनि निश्चितजस्तै थियो । उसले चाह्यो भने आदेश अवज्ञा गर्ने सबका सबलाई कोर्ट मार्शल गरेर जागिरबाटै चट् गरिरदन सक्थ्यो तर पछिल्लो पटक सेनाको जागिरका लागि आउने युवाको संख्या घटेको मात्र नभएर युद्धको ताप खप्न नसकेर जागिरै छाड्ने केटाहरुको संख्या पनि बढेकाले केटाहरुमाथि जुलुम गर्दा “ेिवचार पुर्याउनु” भन्ने माथिको आदेश थियो ।
धेरै बेरको सन्नाटा पछि मेजरले फेरि डर लाग्दो गरी सबैलाई हेर्यो र एक एक गर्दै सबैको नाम लिएर बोलायो र फेरि चुनौती दियोः “जागिरको माया कसलाई छ?” न कोही बोल्यो, न कोही अघि नै बढ्यो न त कसैले हात नै उठायो, सबैका शिर झुकेका झुक्यै भए । सबै सोच्दै थिए, यो कष्टकर क्षणबाट कसरी पार पाउने हो ।
“विक्रम” मेजर गज्र्यो । विक्रम अगाडि बढेर उभियो । मेजर एकाएक त्यो केटीनेर पुगेर त्यसको हातमा पिस्तोल थमाइदियो र त्यसको हात उठाइदिएर विक्रमतिर निशाना साँधिदियो र कड्क्योः “ट्रिगर दबा, अनि तँ बचिस्, नत्र आज म तँलाई गोली ठोक्छु, यी कायरहरुलाई पालेर केही फाइदा छैन ।”
पहिल्यैदेखि पिल पिल गरिराखेको केटीका आँखाबाट आँशुको भेल छुटयो, त्यो हिक्का छाडेर रुन थाली । आखिर ऊ पनि त क्रान्तिमा होमिनु अघि आजको दिनमा आफना दाजुभाइलाई टीका लगाएरै हुर्केकी त हो । हात झटकारेर ट्रिगरबाट हटाएपछि त्यो बच्चाजस्तै कोकोहोलो मच्चाएर रुन थाली । त्यसको रोदन वरिपरिका चार गाउँको आकाश चिरिने गरी फैलियो । पछि उभिएका जवानहरुका समेत आँखा रसाए । त्यत्तिकैमा व्यारेकको मुल गेटमा होहल्ला र त्यस्तै रोदन सुनियो । व्यारेकको जवानले रेडियोबाट भन्दै थियो कुनै बहुला आएर गेटमा धर्ना दिएको छ । मेजरको खै कुन जङ चल्यो, त्यसलाई घिसार्दै भित्र ल्याउने आदेश दियो ।
एकै छिनमा एउटा महिनौको भोकोजस्तो लाग्ने मगन्ते भेषको एउटा मानिस ल्याइपुर्याइयो । कलेंटी परेका नीला ओठ, पहेंला दाँत, मैलो न मैलो सेतो कमिज, एउटा पातलो पाइन्ट र थोत्रा चप्पल भरेको त्यो मानिस जाडोले काम्दै थियो र हेर्दै ज्वरोले ग्रस्त भएजस्तो देखिन्थ्यो । ओढार भित्र छिरेका आँखाले उसले वरिपरि नियाल्दै गर्दा सबैचाहिं अघिसम्मको अप्रिय विषयबाट सबैको ध्यान मोडिएकोमा आफुमाथिको बोझ केही हल्का भएको महसुस गरिरहेका थिए ।
नयाँ परिस्थितिमा अक्क न बक्क भएजस्तो भएर रुन छाडेकी केटीचाहिं अब एक्कासि मुर्छित हुन पुगी । ढल्नुअघि त्यसले भनेको एक शब्दले सबैको ध्यान खिच्योः “दा…………जु………………”
मगन्तेजस्तो मानिस पनि एकैचोटि सपनाबाट ब्युँझेझैं भयो र केटीतिर दौड्योः “सरला….. मेरी बहिनी………”
एकैछिनमा त्यो मानिस बहिनीलाई बेवारिस छाडेर मेजरको पाउमा लम्पसार पर्योः “हजुर मेरो प्रभु हो । हजुरको दया नभएको भए आज भाइ टिकाको दिन मैले कसरी बहिनी भट्टाउँथें? यल्ले लहै लहैमा लागेर गु खाएकै हो । स्कुल गएकी बहिनी एक दिन अचानक गायब भई र छ महिनापछि बन्दुक बोकेका मान्छे आएर तिम्री बहिनी देशका लागि लड्दालडदै पक्राउ परी भनेर गए । आज उसलाई खोज्दाखोज्दै मेरो यो हाल भयो ।”
आगन्तुक अब भुइँमा टुक्रुक्क बसेर भगवानलाई धन्यवाद दिंदै बर्बराउन थाल्यो । बहिनी चाहिं बिस्तारै उठेर बसी र अपलक दाजुलाई हेर्न थाली ।
ब्यारेकको माहोल एकाएक बदलियो । वास्तविक जीवनमा यस्तो नाटक कमैले देखेका थिए । अब सबैको ध्यान मेजरतिर थियो । अन्ततः मेजर उठ्यो र दबेको स्वरमा भन्यो “तुरुन्त यी दुइको भाइ टीकाको व्यवस्था गर्नु । साथै देउसीखेल्ने पनि तयारी गर्नु । म एकछिन आराम गर्छु ।”
मेजर कोठामा छिर्नु मात्र के थियो जवानहरु जोड जोडले एक अर्कालाई अंकमाल गर्न थाले र महिनौंदेखिको विरक्त र परित्यक्त आगन्तुकले पनि महिनौंपछि मानव जातको न्यानो अँगालोको सुविधा पायो ।
केही घण्टामा ब्यारेकको चौरमा अभुतपुर्व दृश्य देखियो । कसैले दिएको हरियो ज्याकेटमा सजिएको आगन्तुकलाई उसकी बहिनीले काँप्दा हातले टीका लगाइदिंै थिई । एकै छिनमा दृश्य परिवर्तन भयो । सबै जना मच्ची मच्ची देउसी खेलिरहेका थिए र मेजरचाहिं सकीनसकी भट्याइरहेको थियो । विक्रम र भीम खासगरी बढी खुशी दखिन्थे । वास्तवमा वर्षौंदेखि यति रमाइलो तिहार कसैको भएकै थिएन । नाचेर लखतरान भएपछि मेजरले विक्रम र भीमलाई एकतिर बोलाएर भन्योः “आज तिमी दुईजनाले मलाई बचायौ । ” उसको कुरा सुनेझैं नजिकैको रुखमा भएका दुइटा डांग्रे चराहरु हाँसे झैं किक्याऊँ किक्याऊँ गर्दै भुरुरु उडे । हिउँदको दिन त्यति राम्ररी खुलेको मलाई पनि थाहा छैन ।
यो कथा नेपाली सेनामा सेवारत एक व्यक्ति (जो आफैंमा कुशल कथाकार हो)ले सुनाएको सत्य घटना र मेरो कल्पना दुवैको संयुक्त उपज हो । नाम लिन नमिले पनि त्यो व्यक्तिलाई मेरो हार्दिक आभार छ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)