लघुकथा : नाता

~मोहन अधिकारी~

“दुख दिन्न बाटुली दुख दिन्न !

मैले भनिहालें नि !

तिम्रा यी दुई छोराले मलाई कहिल्यै झडकेलो बाबु भनेर सोच्ने नै छैनन्।

तिमीलेपनि मेरी छोरीलाई सौतापट्टीकी छोरी भन्ने संझिनु हुँदैन।

कुरोभनेको पहिलेको तितो पछिको मिठो भन्छन” गजिन्द्रले भन्यो।

संकामान्दै वाटुलीले भनी “खोई तिमीले भनेजस्तो यो संसार भैदिए किन आज आफ्नै बाबुआमा, छोराछोरी, दाजुभाई दिदीबहिनी बिचमा आपसी कलह र शत्रुता बढने थियोहोला ?

किन जघन्य अपराध हुन्थे र ?”

“अनि कसरी तिम्री छोरीले मलाई आमा मान्नु, र मेरा छोराहरूले तिमीलाई बाबु मानेर जीवनभरी पालनपोषण गर्लान, मान्लान भनेर विश्वास गर्नु भन त ?”

गर्जमानले भावुक हुँदै भन्यो . “हेर बाटुली त्यो सबै मान्छेको मन र ब्यबहार हो मन धमिलो भए आफन्त पनि बैरी हुन्छन मन सफा पारेर ब्यवहार गरे शत्रुपनि झुक्छन, म यी छोरालाई आफ्नै बाबुले दिने माया दिनेछु,तिमीले मेरी छोरीलाई पनि छोरा बराबरै मायाँ देउ ।

अनि कसरी छोराछोरीले हामीलाई छिः छिः दुर दुर गर्छन त लाटी ?”

दुवैको संझौता भयो, गजेन्द्रकी श्रीमति मरेर उजाडिएको घर र बाटुलीको लोग्ने मरेर बेसहारा भएको जीवनले एउटा दोभान बनायेर बग्ने अठोट गर्यो। भनेजस्तै जीवन बित्यो, न छोराछोरीले कुनैदिन एकापसमा दुरताको अनुभव गरे।

एकै कोखका जस्ता भएर बसेका थिए ।

विवाहमा छोरी अन्माउँदा बाटुली र गजिन्द्रको मन उत्तिकै दुखेको थियो, दुवै भक्कानिएका थिए। छोराहरूले बैनीको बिदाईमा हृदय फुटाएर आँशुका धारा झारेका थिए।

न त ज्वाँईलाई ,न त बुहारीहरूलाई नै यो जीवनको रहस्यमाथि कुनै दिन शंका भयो।

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.