किराँती दन्त्यकथा : लाप्चा पुरोहित

~सङ्कलक: इमानसिंह चेम्जोङ~

भगवानकाे काम सृष्टिमा मात्रै सीमित हुन सकेन । उनलाई सृष्टि गर्नुका साथै आफ्नो सृष्टिको सुरक्षाका लागि अरुअरु काम काम गर्ने गरुरत पनि पर्यो । यसका सम्बन्धमा रुचिकर कथा पाइन्छ ।

सुरुमा आकाश, पृथ्वी, समुद्र, सूर्य, चन्द्रमा, तारा, ग्रह, पशुपक्षी, कीटपलङ्ग, मानिसहरुको सृजना गरिसकेपछि भगवान्ले मानिस र आफ्ना बीचमा दोभाषे काम गर्ने एक जना बुङ्थिङ (लाप्चा पुरोहित) राख्ने मनसाय गरे र उनले गोपे बाँसलाई बुङ्थिङको काम गर्नू भनी पृथ्वीमा पठाए । तर ऊ पृथ्वीमा आई बुङ्थिङको काम नगरी एउटा अग्लो पहाडमा गएर चुपचाप बस्यो । त्यसपछि भगवान्ले साङ्ले कीरालाई बुङ्थिङको काम गर्नू भनि पृथ्वीमा पठाए । उसले पनि त्यो काम गर्न सकेन । भगवानले त्यो काम फेरी फट्याङ्ग्रोलाई सुम्पे । तर उसले पनि त्यो काम गर्न सकेन ।

अन्तमा भगवानले स्वयम् आफ्नो कान्छो छोरोलाई पृथ्वीमा गएर पहाड–पर्वत, नदी–समुद्र, जङ्गल इत्यादिको हेरचाह गर्नू भनी आदेश दिएर पृथ्वीमा पठाए । साथै पृथ्वीलोकमा मानवजातिलाई भूतप्रेतका पन्जाबाट बचाउनु भन्ने आदेश पनि दिए । बुङ्थिङले मानवजातिलाई भूतप्रेतका पन्जाबाट बचाउनका लागि कस्तोकस्तो औषध लानुपर्दछ भनी भगवान्संग सोध्यो । भगवानले बुङ्थिङलाई अदुवा, फच्याङ, लसुन तथा घुङ्रिङ दिएर पठाए ।

पृथ्वीमा आएर बुङ्थिङले पनि अदुवा, फच्याङ, लसुन र घुङ्रिङको औषधी बनायो । उसले पृथ्वीमा आएर हेर्दा भूतहरु पृथ्वीभरि फैलिएर बसेको देख्यो । ओडारभरि, रुखका फेदफेदमा, खोल्सा, नदी, डाँडा जहाँतहीँ भूतैभूत बसेको देख्यो । उसले सबै भूतहरुलाई भेला पारेर भन्यो – ‘भगवान्ले मलाई पृथ्वीभरका पहाड, पर्वत, डाँडा, खोल्सा सबैको हेरचाह गर्नु भनी पठाएका हुन् । तर, तिमीहरु म भन्दा अघि आई यहाँका डाँडा, खोल्सा, रुख, ओडार, ओलानाला सबै ठाउँ ओगटेर बसिसकेका अब म यस लोकमा बस्दिनँ । फेरि भगवान्कहाँ गई यो खबर सुनाउँछु । ’

बुङ्थिङका यस्ता कुरा सुनी भूतहरु डराए । उनीहरु सबैले बुङ्थिङ्को हात समाती बिन्ती गरे – ‘भगवान्कहाँ नजानुहोस् । बरु हामी सल्लाह मिलाएरै पृथ्वीमा बसौँ । हाम्रो कुरा मान्यौ भने हामीहरु पनि तिम्रो हुकुम मान्नेछौँ । हामीहरुले मानिसहरुलाई दुःख दिएका बिरामी परेका बेला तिमीले हामीलाई केही बलि चढायौ भने हामीहरु पनि बिरामी मानिसहरुलाई दुःख दिने छैनौँ, छाडिदिनेछौँ । अनि मानिसहरु रोगबाट मुक्त हुने छन् । ’

भूतहरुका यस्ता कुरा सुनी बुङ्थिङले भन्यो –‘ तिमीहरु यो कुराबमोजिम शपथ खान्छौ भने म पनि यो कुरा मान्नेछु । ’

भूतहरुले साँचोसाँचो शपथ खान्छौ भनी बुङ्थिङलाई विश्वास दिए । ‘त्यसो भए यस पहाडमा थुक’ – एउटा पहाड देखाउँदै बुङ्थिङले हुकुम दियो ।

भूतहरुले त्यो पहाडमा थुकिदिए । तत्काल त्यस पहाडमा पहिरो गयो । फेरी नदीमा थुक्न हुकुम दियो । भूतहरुले नदिमा थुके । नदी सुकेर गयो । फेरि रुखमा थुक्न भनी हुकुम दिँदा तिनीहरुले रुखमा थुके । रुख पनि सुकेर गयो ।

तब बुङ्थिङ भूतहरुले मेरा कुरा सुन्ने साँचो रहेछन् भन्ने विश्वास मानी मानवजातिको दुःख दर्द हटाउनलाई यस पृथ्वीमा बस्न थाल्यो ।  साथसाथै उसले भगवान् र मानिसहरुका बीच दोभासेको काम पनि गर्न थाल्यो । भन्छन् – ‘ हाम्रो समाजमा भूतप्रेत आदिलाई बलि चढाउने काम पनि यसै सिलसिलामा चलेको हो । ’

इमानसिंह चेम्जोङ (१९६१-२०३३) इतिहासकार, साहित्यकार, लिपिकार, भाषावेत्ता र दर्शनविद हुन् । आजीवन किराँत भाषा, संस्कृति, साहित्य, कला, दर्शनको उत्थानमा समर्पित चेम्जोङ युगपुरुष मानिन्छन् ।

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.