किराँती दन्त्यकथा : आगो र पानी

~सङ्कलक: शिवकुमार श्रेष्ठ~

सृष्टिको प्रारम्भिक कालमा सर्वव्यापी परमात्मा तागेरा निङ्वाफुमाङले पृथ्वीका सम्पूर्ण प्राणीहरूका भलाइका लागि आगो र पानीको सृष्टि गरे । एक दिन आगो र पानीका बातचितमा तँ ठूलो कि म ठूलो भन्ने कुरामा ठूलो झगडा भयो । आगोले पानीलाई भन्यो- “तँभन्दा म ठूलो हुँ किनभने मैले भयङ्कर रूप धारणा गरेर संसारलाई डढाउन सक्छु। त्यसैले तेरो शक्तिभन्दा मेरो शक्ति ठूलो छ।”

त्यसपछि पानीले आगोलाई भन्यो- “तँ बढी के कुरा गर्छस? तँभन्दा म धेरै ठूलो हुँ किनभने मैले भयङ्कर रूप लिएर संसारलाई नै डुबाउन सक्छु ।”

त्यसपछि आगोले फेरि पानीलाई भन्यो- “तँ बढी के कुरा गर्छस् ? मेरो बाबु सूर्य हो । म आफ्नो बाबु सूर्य लाई भनेर संसारभरि नै खडेरी पारिदिन्छु । तेरो मूल नै सुकाइदिन्छु र समुद्रलाई पनि सुकाइदिन्छु ।”

यसरी वादविवाद चर्केपछि पानी लाई आगोसँग साह्रै रिस उठ्यो र आगोलाई एका छाक बनाइदिन्छु भन्दै पानीले आगोलाई लखेट्न थाल्यो । आगोलाई भन्दै गयो र पछिपछि पानीले लखेट्दै गयो । अन्तमा आगो दल्सिङ ढुङ्गाको अगाडि पुग्यो र भन्यो- “पानीले मलाई लखेट्दैछ र मार्न आट्यो । तिमीले आफ्नो शरारभित्र मलाई नदेखिने गरी लुकाई मेरो जियान बचाइदेऊ । त्यसबापत म तिमीलाई वरदान दिन्छु ।”

दल्सिङ ढुङ्गाले आगोलाई भन्यो- “म तिमीलाई शरीरभित्र नदेख्ने गरी लुकाई तिम्रो ज्यान अवश्य बचाइदिन्छु तर तिमीले मलाई के वरदान दिन्छौ पहिले बताऊं ?”

आगोले भन्यो- “तिमीले आफ्नो शरीरभित्र मलाई नदेख्ने गरी लुकाई मेरो ज्यान बचाइदियौ भने म तिमीलाई तीनवटा वरदान दिन्छु । पहिलो वरदान के हो भने तिमी पृथ्वीको आगोको माउ भएर रहनेछौ । पृथ्वीका मानिसहरूलाई आगोको आवश्यकता पर्दा चकमक वा कुनै फलामको टुक्रालाई जुधाएमा तथा ठोकाएमा तिमीले आगोका झिल्काहरू निकाल्न सक्नेछौ । दोस्तों वरदान के हो भने बोक्सी-डाइनीहरूले मानिसलाई सताएमा कुनै धामी ‘येवा‘, बिजुवाले तिमीलाई हातमा लिई मन्तरेर हानेमा ती बोक्सी-डाइनीहरूलाई भगाउन सक्नेछौ । केस्को वरदान के हो भने अकाल मर्ने मानिसहरूका प्रेतात्माहरूले पृथ्वीका मानिसहरूलाई दु:ख दिएमा अथवा सताएमा कुनै धामी, बिजुवाले तन्त्रमन्त्र गरी तिमीलाई हानी पठाएमा ती प्रेतात्मालाई भगाउन सक्नेछ ।

यसपछि दल्सिङ ढुङ्गा साह्रै खुली भयो र आगोलाई आफ्नो शरीरभित्र नदेख्ने गरी लुकायो । आगोलाई लखेट्दै आएको पानी त्यहाँ आइपुग्यो तर आगोलाई कतै देखेन । त्यसपछि पानी दल्सिङ ढुङ्गालाई छोप्दै बगैर गयो । पानीले आगोलाई भेटाउन सकेन र आगे बाँच्यो ।

त्यसरी आगोलाई दल्सिङ ढुङगाले बताउँदा वरदान पाएकाले आज पनि आगोको आवश्यकता पर्दा मानुसहरू चकमक जुधाएर दल्सिङ ढुङगाबाट आगे पार्छन् । फेरि बोक्सी-डायनीहरू र प्रेतात्माहरूलाई भगाउन धामी, बिजुवाले आज पनि हातमा दल्सिङ ढुङ्गा लिई मन्तरेर हान्छन् ।

इतिहासमा स्नातकोत्तर गरेका शिवकुमार श्रेष्ठले धनकुटा बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका छन्। श्रेष्ठ किरात याक्थुङ्ग केन्द्रीय कार्यसमितिको मानार्थ सदस्यता समेत प्राप्त गरेका छन्।

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.