~डा. पुष्करराज भट्ट~
ऊ कामबाट फर्केर कोठामा के फर्केको थियो, घरबाट फोन आयो, “मलाई त कोरोना लागेको छ, छिट्टै घर आउनुहोस् ।”
श्रीमतीको फोन आएसँगै ऊ अत्यन्त आतियो । भोलिपल्ट बिहान काम गर्ने ठाउँको कम्पनीको मेनेजरसँग विदा माग्यो।
”अहिले विदा दिन मिल्दैन । कामदारको कमी भएको बेला कसरी विदा दिनु ? बरु घरतिर कुनै आफन्त, साथीभाइलाई भनेर हेरचाह गर्न भन् ।”कम्पनीको मानिसले भन्यो ।
“अब के गर्ने होला?” म खाडीमा पसीना चुहाइरहेको छु । उता भने घरमा…!” यही सोचेर ऊ आत्तियो ।
“यस्तो कोरोना लागेको बेला त…! अहँ हुँदैन । आफैलाई लाग्यो भने ।” आफन्त मानिसहरू पन्छिन लाग्यो ।
उसकी अर्को जिल्लामा रहेकी सालीले खबर पाउनेबित्तिकै भनिन्, “नआतिनुहोस् भिनाजु । म गएर बालबच्चाको खबर गर्छु । दिदीलाई पनि हेर्छु ।”
ऊ केही आश्वस्त भए पनि चिन्तामुक्त भने भएन ।
एकाध दिनमै श्रीमतीको फोन आयो । “मलाई ठिक भइसक्यो । प्रारम्भिक अवस्थामै रहेछ । चिन्ता नलिनुहोला ।”
यतिका दिनपछि तनावपछि उसलाई परिवारसँग बिछोडिनुको पीडाबोध भयो ।
“म पैसा भए सबथोक हुन्छ भन्ने ठान्थेँ । सबभन्दा ठूलो सम्पति त विपतमा साथ दिने मानिस रहेछन् ।” ऊ आफ्नो साथीसँग कुरा गर्दै थियो ।
(स्रोत : नागरिक – शनिबार)