नाटक : क्षितिजपारीका कथाहरू

~ज्ञानेन्द्र रसाइली~

सुन्दर भविष्यको सपना बोकेर बुढा भएका आमाबुबाको न्यानो काख, जीवन संगिनीको मायालु साथ अनि आफ्नो मुटुभन्दा प्यारा सन्तानहरूलाई चटक्कै छोडेर रोजगारीको सिलसिलामा विदेशिने युवाहरूको भीड गतिलै छ । त्यै भीडमा परेर १ वर्ष अगाडी बिदेशिएको एउटा युवा हो सफल । बाँकी कथा यसरी शुरु हुन्छ ।

अंक–१

(१२ घण्टे कामदेखि थाकेर आएपछि हतार–हतार गर्दै श्रीराम राइस कुकरमा चामल पखाल्न लाग्छन्, हर्कजीत सब्जी केलाउन र गोकुल मर–मसला तयार गर्न लाग्छन् तर सफल भने आउने बित्तिकै मोबाइलतिर व्यस्त हुन्छन् ।)

गोकुलः (अलि झोँक्किदै) दिनभर सँगै काम गरेर आको…. हामी चाहिँ खाना पकाउनतिर लाग्ने…. सफले त गयो मोबाइल बोकेर…. (सफल गएतिर हेर्दै) भरे खानेबेलामा आउनेहोला नि टुप्लुक्… (प्याज ताछ्नतिर लाग्छन्)

श्रीरामः (राइसकुकरमा चामल चढाएर बत्तीको स्वीच अन गर्दै) घरपरिवारसँग कुरा गर्दै होला…….. दिनभर मोबाइल छुन पाइँदैन ….. गरोस् न त बिचरा ।

गोकुलः (टमाटर काट्दै) घरतिर हो कि परतिर हो । अस्ति देखि यस्को चाला ठिक लागेको छैन मलाई त …… निकै मस्की–मस्की बोल्छ…..खै !(हातको इशाराले खै भन्ने संकेत)

हर्कजितः (सब्जी पखालेर ल्याउँछन्) आ….जोसुकैसँग बोलोस्…… भरे जुठो भाँडा उसैले माझिहाल्छ ……… त्यति भए भईगो नि…. उसै पनि आज बिहिबार हो…. भोली छुट्टी…… ढिलै भएपनि चिन्ता छैन मलाई त…. (पुनः आफ्नो काममा)

श्रीरामः (हर्कजितको कुरालाई सही थप्दै) हर्कको कुरा सही लाग्यो मलाई त …. बरु आज बेलुकीको जोरजामतिर लागौँ न …… भोली बिहान ११ः०० बजेसम्म सुतौँला । आखिर जानु कतै छैन….भेट्नु कसैलाई छैन……

हर्कजितः (सब्जी हालेको भाँडा थपक्क राखेर) उसोभए म बकाला (पसल) तिर जान्छु अनि त्यतै–त्यतै साथीलाई भेटेर अर्को (हातको इशाराले बोतल) पनि लिएर आउँछु… (सिरानीमुनी राखेको पर्स गोजीमा राख्दै) बरु यो सब्जी चाहिँ श्रीराम दाईले बनाउँदै गर्नु ल…… मिठो बनाउनु हुन्छ तपाईले । (हर्कजित बाहिरिन्छन्)

गोकुलः (मसलाहरू पिध्नको लागि तयार गर्दै) अरु कुरा जे–जसो भएपनि खान–पिउनमा चाहिँ हाम्रो सल्लाह साह्रै मजाले मिल्छ र खुशी लाग्छ ……(हाँस्दै) हा…हा…हा…हा..

(सबै साथीहरू हाँस्छन् । हर्कजित बाहिर लाग्छन् । श्रीराम र गोकुल मिलेर सब्जी बनाउनतिर लाग्छन् ।)

(सफल खुशी हुँदै मोबाइलमा कुरा गर्दैछन् । उनको खुशी र शरीर, अनुहारको हाउभाउ हेर्दालाग्छ इमोमा होला भिडियो कल । त्यही समयमा उनको मोबाइलको मेसेन्जरमा पनि फोन आएको आवाज आउँछ ।)

सफलः (इमोको साथीलाई) शर्मिला बेबी सुन न……. मेसेन्जरमा मेरो रुमको साथीले कल गर्दैछ कि म उठाईहाल्छु ल…… तिमीलाई २ मिनेटपछि फेरी कल गर्छु ल बेबी !

शर्मिलाः (शंका गरे झैं) रुमदेखि आको हो कि अर्को बेबीले गरेको….ल….ल मेरो पनि कल आयो । (फोन काटिन्छ आवाज मात्र आउँछ टु…टु…टु….)

सफलः (विश्वास दिलाउन खोज्दै) हैन के……(फोन काटिएको आवाज टु…टु…. टु..)……कति छिटो काटिहाली नि….रीस चाहिँ नाककै टुप्पोमा छ……(फोनतिर हेर्दै) यसलाई पनि यही बेला कल गर्नु परेको ……. अहिले एकछिनमा म गरिहाल्थे नि…….(मेसेन्जर कल रिसिभ गर्छन्) हेलो !….
(सफलको मोबाइलमा आवाज सुनिन्छ ) हेलो बुढो !…सन्चै हुनुहुन्छ ? डिउटीदेखि कति बजे आउनुभो ?

सफलः (मन नलागी–नलागी साथ मिलाउँदै) सन्चै छु …… अनि के छ घरतिरको खबर ? बुबा–आमा सन्चै हुनुहुन्छ नि ? नानीहरू सुतिसके होलान् …… अनि तिमी सन्चै छौ ?

(फोनबाट उत्तर आउँछ): यहाँ हामी सबैजना सन्चै छौँ ……. तपाईले खाना खानु भयो ? सानी छोरी बाबा सँग बोल्ने भन्दै थिइन् … निदाई सकिन् ….. बाबा कहिले आउनुहुन्छ भन्दै थिईन् ……..साँच्ची भोली त छुट्टि हो नि……. नानीहरूलाई बिहान स्कुल जानुभन्दा अगाडी कुरा गराउँछु ल बुढो……. अनि बुबाआमा र हामी बुढाबुढी चाहिँ दिनभरी कुरा गरौँला नि ल……. केही व्यवहारका कुराकानी गर्नुछ ल बुढो !

सफलः (उसलाई घरतिरको भन्दा पनि अघि दिएको २ मिनेट समय सकिन लाग्यो कि भन्ने पीर छ ।) हुन्छ .. भोली कुरा गरौँला नि त । तिमीलाई पनि निद्रा लाग्यो होला । म पनि खाना खान जान्छु ।

(फोनबाट उत्तर आउँछ) हस ! आफ्नो ख्याल गर्नु है । समयमा खाना खानु । हिजोआज किन मसँग पनि राम्ररी बोल्नुहुन्न त ? के भयो ?

सफलः (हत्तारिँदै) हुन्छ ……. बाई ……(फोन काट्छन्)

आफ्नी श्रीमतीसँगको गफ पछि पुनः आफ्नी बेबीलाई इमोमा भिडियो कल गर्छन् र मजाले गफ गर्न थाल्छन् । एकछिन् गफ गरिसकेपछि सायद भोलीपल्ट भेट्ने बारेमा कुराकानी हुन्छ ।

सफलः (खुशी मुद्रामा) हुन्छ बेबी ! म बिहान चाँडै आउँछु । बाई मिस यु सो मच…….
(फोन राख्छन् र अर्कोतिर डायल गर्छन् नम्बरदेखि)

सफलः (फोन रिसिभ भएपछि कानमा मोबाइल लगाउँदै) हेलो विनोद ! मलाई ४०० को आवस्यक पर्‍यो यार । इमरजेन्सी छ .. घरमा सानो समस्या परेछ कि त्यहि भएर सम्झेको नि । जसरी दे ल यार .. म अहिले आउँछु तेरो रुममा…….(हुन्छ भन्ने उत्तर आयो होला) …… धेरै–धेरै धन्यवाद यार विनोद !…..
(फोन राख्छन् अनि खुशीले नाच्छन् अनि गीत गुनगुनाउँदै लाग्छन् विनोदको रुमतिर) माया नै माया छ तिम्रो नाउँमा………..

अंक–२

(नानीहरू विद्यालय जाने तयारी गर्दैछन् । साना–साना पुतलीजस्ता सुन्दर अनि ज्ञानी नानीहरू छन् । दुःख गरेरै भए पनि बोर्डिङ स्कुलमा पढाएका छन् सफलले ।)

सानी छोरीः (उनकी ममीसँग) ममी ! बाबाले कल गर्नुभएन त… कति धेरै कुरा गर्न मन लागेको छ बाबासँग ।

ममीः (अघिदेखि फोन गरिरहेकी छिन् तर उठाउँदैनन् सफलले) आज बाबाको छुट्टि हो कि……. अहिले सुतिरहनु भा छ ….. एकछिन पछि गरिहाल्नुहुन्छ नि । अनि होमवर्कहरू सबै गरिसक्यौ त ?

सानी छोरीः (उनकी दिदीतिर देखाउँदै) दिदीले सबै सिकाईदिनुभो ……..

ठुली छोरीः (हातको घडी हेर्दै) ला ! ढिलो हुन लागिसक्यो । जाऊँ बुनु…..फेरी प्रेयर लाईन छुट्यो भने सरले पिट्नुहुन्छ भन्ने कुरा थाहा छ नि, बुनु ।

सानीछोरीः (दिदीको हात समाउँदै) बाई ममी ! (भित्र भान्साघरमा बसिरहनु भएको आमा बुबालाई पनि) आमा बाई……बुबा बाई ………ममी ! बाबाले अहिले कल गर्नुभयो भने नि भरे स्कुलदेखि आएर बोल्ने भनिदिनु ल……बाईबाई ।

(भान्साकोठादेखि बुबाआमाले पनि हातले बाई गर्नुहुन्छ । छोरीहरूलाई बाई गर्दै हात हल्लाउँदै छिन् तर उनको सोचाई चाहिँ श्रीमानले किन फोन उठाउनु भएन भन्नेतिरै छ ।)

(उक्त दिन दिनभरि नै फोन कल गर्छिन् तर सफलको फोन उठ्दैन । इमो, मेसेन्जर, अनि नम्बरमा कल गर्दा पनि फोन लाग्छ तर उठ्दैन । एक दिनमा कम्तिमा पन १/२ पटक फोन गर्ने अनि आफ्नो बुबाआमा, श्रीमतीसँग बोल्ने तर आज फोन आउनु त परको कुरा गरेको फोन पनि रिसिभ हुँदैन । फोनको प्रतिक्षामा नै दिन बित्छ ।)

(…………………………)

(साँझपख सफल रुममा छिर्छन् । हल्का पिएका छन् अनि लरबरिँदै छन् । सरासर आफ्नो ओछ्यानमा बस्छन् । रुमका अन्य साथीहरू हेरेका हेर्‍यै हुन्छन् किनभने यस्तो प्रकारको हर्कत सफलको पहिलो पल्ट देख्दैछन् ।)

सफलः (रुमका सबै साथीहरूतिर हेर्दै विशेष श्रीराम तिर हेर्दै… हल्का बोली लट्पटिएको छ) श्रीराम दाई सरी ! साथै अरु साथीहरू सबैलाई सरी ! आज म हल्का……(थोरै हाँस्छ) दाई….मान्छेहरूको विश्वास गर्न नहुने रैछ……. आफूभन्दा बढी विश्वास गरेको थिएँ दाई मैले………………(रोउँलाजस्तो आवाज सहित) ….. तर आज आफैतिर घात भएर फर्कियो ।

श्रीरामः (सफलको छेउमा गएर) सफल भाई ! के भयो यस्तो ? मैले त केही कुरा नै बुझिन ।

सफलः (ओछ्यानमा पल्टिन खोज्दै) धन्यवाद दाई ! कुरा नबुझेकै राम्रो ……. म चाहिँ सुत्छु. ……. आज मैले सबथोक खाएँ……. खाना खाएँ, थोरै दारु खाएँ…. अनि धोका पनि खाएँ…….(ओछ्यानमा पल्टिन्छ) के सोचेथेँ……. साला के भईदियो……. के……..भईदियो……(निदाउँछ)

(रुमका सबै साथीहरु छक्क पर्छन् । सबैले सफललाई उठाउँछन् तर उ उठ्दैन ……. त्यसपछि खाना खाएर सबैजना सुत्छन् । भोली बिहान फेरी १२ घण्टे काममा जानुपर्ने हुन्छ ।

(सफलकी श्रीमती पनि रातभर सुत्न सकिनन् । कति धेरै मेसेज, कल गरिन् तर एउटा पनि उत्तर आएन । छट्पटिमै कति खेर आँखा लोलाएछन् ।)

अंक–३

(शनिबारको दिन छ । सफलकी श्रीमती समिता उनकी साथीसँग घाँस काट्न नजिकैको बारीमा गएकी छिन् । नानीहरू घरमा बसेर गृहकार्य गर्दैछन् । बुबा–आमा घाम ताप्दै हुनुहुन्छ ।)

(सफलकी श्रीमती समिता र जिनाको माईति एउटै गाउँ भएकोले राम्रा साथी हुन् ।)

जिनाः (समिताको मुहार हेर्दै) समिता ! एउटा कुरा सोधौँ म ? …… नरिसा है त ।

समिताः (थोरै झसङ्ग हुँदै) सोध् न । तँ त मेरो साथी होस् । किन रिसाउनु र ?

जिनाः (समितातिर अझै मजाले हेर्दै) विगत १ महिनादेखि म तेरो मुहार पढिरा’छु. । तँलाई केही अवश्य भा’को छ … भन् त के भा’को छ ? सासुससुरासँग केही पर्‍यो कि ? …. बुढोले केही भन्नुभो कि ? बा अरु कुनै कारण छ कि ? समिता ! भन् न के भयो ? तँ यस्तो मान्छे होइनस्… । म त तेरो बच्चैदेखिको साथी हुँ……

समिताः (टाउको निहुराउँदै) मलाई केही भाको छैन । म ठिक छु त…. (जिनातिर हेरेर बाहिरी मुस्कान ल्याउन खोज्छिन्)

जिनाः (समिताको गालामा समाउँदै) भित्र व्यथा लुकाएर बाहिर जति नै मुस्कान ल्याउन खोजेपनि कहाँ हुन्छ र समिता ! तेरो हाँसोले भनिराछ कि तेरो मन कसैले दुखाएको छ । समिता भन्न……. के भयो ?

समिताः (आँखाभरि आँशु पार्दै जिनातिर हेर्छिन्) लोग्नेमान्छेको जात के भन्नु र जिना ! मलाई पनि आफ्नो लोग्नेसँग कति मिठा–मिठा कुराहरू गर्न मन लाग्छ । मायाप्रेमका कथा सुन्न–सुनाउन मन लाग्छ । मनभित्रका रहरहरू पोख्न मन लाग्छ तर उ भने कति निष्ठुरी…..(रुन्छिन् अनि फेरी आफुलाई नियन्त्रण गर्दै) एक महिनादेखि म सँग राम्ररी कुरा गर्न छोड्नुभाछ । फोन गरेपनि १ देखि २ मिनेट ….. त्यहि पनि खाली प्रश्नहरू हुन्छन् .. सन्चै छौ ? आमाबुबा, नानीहरू सन्चै छन् ? खाना खायौ ? त्यसपछि एउटा–एउटा वहाना बनाएर फोन काट्नुहुन्छ । अस्तिको दिन बेलुकी एकछिन कुरा भयो । हिजो छुट्टिको दिन कति फोन गरेँ, मेसेज गरेँ । हेर्नुहुन्छ तर उत्तर फर्काउनु हुन्न ….. रातभरी सुत्न सकेको छैन म …..(साथीलाई अंगालो हालेर रुन थाल्छिन् ।)

जिनाः (समितालाई सम्हाल्दै) समिता ! मनलाई दह्रो पार्नुपर्छ…..तेरो मायाले अवश्य तेरो श्रीमान्को मन जित्नेछ । धैर्य गर् न साथी ।
(समिता र जिना दुवैजना सम्हालिन्छन् र आफ्नो कामतिर लाग्छन् ।)

(………………………..)

(दिनभर काम गरेर सबै साथीहरू रुममा आइपुग्छन् । सफल चाहिँ आज काममा नगईकन सुतिरहेकै हुन्छन् ।)

श्रीरामः (सफललाई घच्घच्याउँदै) सफल ! ……….. सफल भाई ! (सफल ब्युझन्छन् र आँखा मिच्दै सबैलाई हेर्छन् ।) पुरै बिन्दास पारामा भाई । अनि डिउटी सिउटी माफी (छैन) आज ?

सफलः (ब्ल्याङ्केटदेखि निस्कँदै) हजुर दाई ! आज सन्चो भएन । टाउको फुट्लाजस्तो गरेर दुखिरा’छ ।

गोकुलः (सफलतिर हेर्दै) हिजो त के–के खाईयो भनेर गफ दिँदै थियौ त यार …….. भात पनि खाईयो …… दारु पनि खाईयो … अनि अर्को के रे … धोका पनि खाइयो रे ….. अरु सबै खानु कि तर धोका चाहिँ नखानु है यो परदेशमा ।

हर्कजितः (उनकै ओछ्यानमा बस्दै) यो परदेशमा नि … बरु धन दिनु कि मन चाहिँ नदिनु है गाह्रो हुन्छ भन्छन् । मन दिएपछि यतै बानी पर्छ अनि घरकी बुढीलाई त हेर्नै मन लाग्दैन भन्छन् । जे-जस्तो भए पनि घरपरिवार थामेर बसेका हुन्छन् कि…… धन पनि मन पनि घरकीलाई नै दिनुपर्छ है साथी हो ।

सफलः (आफ्नो ओछ्यानदेखि उठेर बस्दै) हैट ! अब चेतियो । कहिँ नभाको जात्रा हाँडीगाउँमा भने झैँ अनेक देखिँदोरहेछ …… फेसबुकको चिनजान भेट्न पुगिहालियो तर …..यहाँभन्दा बयान नगरौँ । (बोतलको चिसो पानी घटघट पिउँछन्) २ दिन भयो घरमा कल नगरेको के भन्ने होला !

श्रीरामः (हर्कजित र गोकुलको कुरामा सही थप्दै) आफ्नो अनि आफ्नो परिवारको सुन्दर भविष्य कोर्न आएका छौँ हामी यो परदेशमा । लक्ष्यतिर लम्कँदा–लम्कदै कतै कैयौँ घुम्तिहरू, अप्ठ्याराहरू आउँछन् भने कतै सुन्दर फुलका बगैंचाहरू पनि भेटिन्छन् । अप्ठ्यारो भेटिँदैमा फर्किने हैन अनि फूलहरूको बगैंचा देख्दैमा भुलिने पनि होइन …. आखिर लक्ष्य त लक्ष्य नै हो नि ।

गोकुलः (सफलतिर हेर्दै) अस्तिदेखि नै तिम्रो व्यस्तता घरतिर भन्दा परतिर बढेको जस्तो शंका चाहिँ लागेको थियो । तर जे जसो भएपनि आँखा खुल्नु नै महान सफलता हो ।

श्रीरामः (सबैतिर ध्यान दिँदै) घरकी पनि नारी हुन्, परकी पनि नारी हुन् । परकीलाई दिने समय घरकीलाई दिने गरौँ । मायाप्रेमका कुराहरू, रहरका कुराहरू घरकीसँगै गरौँ जसले माया अझ प्रगाढ बन्छ । यदी घरकीलाई परकी अनि परकीलाई घरकी सोच्न थालियो भने आफ्नो र परिवारको सुन्दर भविष्यको रेखा अन्धकारमय खाडलतिर जाकिनेछ ।

समाप्त

प्रस्तुत नाटकको कथा, पात्रहरू साथै घटनाक्रमहरू सबै काल्पनिक हुन्, कसैको वास्तविक जिवनसँग मेल खाएमा संयोग मात्र हुनेछ ।

(स्रोत : शब्दसोपान डट कम)

This entry was posted in नाटक and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.