ऋषि बस्ताकोटीका दश मुक्तक

~डा. ऋषि बस्ताकोटी~

हिजो रावण थियो, राम बनायौ आज,
अँध्यारो दिनेलाई घाम बनायौ आज,
हनुमानजी पहाड त बोक्यौ उसैका लागि-
तर आफ्नै भने बदनाम बनायौ आज ।

*****************************

सम्पत्तिको कुरा गर्छौ, मैले त भनिदिएँ जे जति छन्,
सर्वहाराको अरु के नै हुन्छ र, मात्र एक श्रीमती छन्,
यता नूनको गफ गरियो, उता उनको सुन जोडियो –
आफ्नो त केही छैन अझै, सबै उनैको हो, खै कति छन् !

*****************************

हिजो नरभक्षी बाघको दाह्राको कुरा गरे,
दुनिया झुक्कियो जव मीठो नाराको कुरा गरे,
नाङ्गो बादशाहलाइ नाङ्गै भन्नुपर्‍यो आज –
आखिर तिनले उही पुरानै पाराको कुरा गरे ।

*****************************

कहिले कान छाम्नै बिर्सेर हामी हल्लामै दलबलका कुरा गर्छौं,
कहिले यसका र उसका जर्सी लगाउँदै फुटबलका कुरा गर्छौं
कुरा गर्न त कसले सक्छ र हामीलाई, कुरै त हो जे भए पनि-
योजनाविहिन सपना बाँडेर आखिर समृद्ध र सवलका कुरा गर्छौं !

*****************************

बाले सुनाएको पुरानो गीत घरिघरि गाएर, म गायक बन्न सक्तिन,
उही पुरानै पाराले ज्यान हल्लाएर दिनदिनै, म नायक बन्न सक्तिन,
युगको पाइला रोक्ने कि क्षितिजपारीको भविष्य देख्ने, मेरै हो रोजाइ-
नयाँ सोच, नयाँ खोजबिना पछि लागेर भो अब सहायक बन्न सक्तिन ।

*****************************

कि त अनुमानले चलाउँछ मेरो देश,
कि त हनुमानले चलाउँछ मेरो देश,
रिसराग छोडेर बुद्धिविवेक सहित –
खै कहिले स्वाभिमानले चलाउँछ मेरो देश !

*****************************

फले पनि फलोस्, हित मेरै हुन्छ,
ढले पनि ढलोस्, जीत मेरै हुन्छ,
खरानीमै रमाउँछु, फेरि आगो सल्काएर-
बले पनि बलोस्, गीत मेरै हुन्छ ।

*****************************

पहिलो कुरो त नेपालीले नेपालीलाई नेपाली देख्नुपर्‍यो ।
आफूलाई मात्रै वीर होइन, अरुलाई पनि बलशाली देख्नुपर्‍यो ।
बिभाजनको रेखा मेटेर हुन्छ कि, समानताको सुत्र भेटेर हुन्छ-
‘विविधतामा एकता, नेपालीको सार्थकता’ यसपाली देख्नुपर्‍यो ।

*****************************

आफैँले आफैँलाई पद बनायौँ,
खादा मालाले गदगद बनायौंं,
स्वघोषित समाजसेवी बनेर –
संस्कार भने निकै दुखद बनायौँ ।

*****************************

हिजो उनीसँग तस्वीर खिच्यौ, आज यिनीसँग फोटो देखिंदैछ,
उचाइ बढाउन जे गर कोशिस, चरित्र भने छोटो देखिँदैछ,
हावा चलेतिर बहकिन त सजिलै थियो यात्रा, तर पुगिन्छ कहाँ-
सफेद बस्त्रले ढाकिए पनि आखिर अनुहार खोटो देखिंदैछ ।

(स्रोत : साझापोस्ट डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.