~दुर्गा कार्की~
लमजुङ तुर्लुङकोट …..
सररर हावा चल्यो लाँकुरीको बोट …..
पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ करायो ।
पिंढीमा बसिरहेकी हजुरआमालाई बोलाएँ । भर्खरै दाहिने आँखाको मोतिविन्दुको अपरेशन गरेकाले होला, चिन्नुभएन । हुन त अब दृष्टि–स्मृति दुवै धमिलिने बेला भयो । ९६ हिउँद बर्खा पार गरिसक्नुभो । बलेसीका ढुङ्गाका कापकापमा लुकेर बसेका राता चामलका गेडाले दशैंको मिठास सम्झाए । पिंढीको रातै कम्बल अलिकति तानेर बसेपछि भनें, “म फूलमायाकी जेठापट्टीकी नातिनी हुँम् हज्रामा, विपना, चिन्नुभो ?”
“परेडाँडाकी नातिनी होस् त ? हरिचन्द्रेकी छोरी ?” मुन्टो नजिकै ल्याएर सोध्नुभो हजुरआमाले र खस्रा हातले मेरो कपाल सुम्सुम्याउनुभयो । मैले थोरै हाँसेर मुन्टो हल्लाएँ । अनि गहभरि आँशु पारेर भन्नुभो, “माया मारिहालिस् नि बाबै । अब त बूढी मर्न लागी होली भनेर आएकी ?”
चारवटा दशैं बिते हजुरआमालाई नभेटी । चार दशैं, मतलब चार वर्ष । सानो छँदा दाइ–दिदी ममीसित मामाघर जाँदा म भने हजुरआमाको फरियामा झुण्डिंदै उहाँको माइतीगाउँ जान रुचाउँथें । उहाँका दिदीबहिनीहरूको घरघरै चहार्थें । ‘बाउनी बज्यैकी पुच्छर’, मानिसहरू मलाई भन्ने गर्थे । हजुरआमाका चार दिदीमध्येकी साइँली उहाँ र मेरी हजुरआमाको अनुहार काटीकुटी उस्तै । सानी छँदा उहाँलाई म भन्थें, “आमा पैला मर्नुभो भने तपाई आ‘र बस्नु है हाम्रो घराँ ।”
काठमाडौं भासिएपछि बिजी भइयो । कामैले व्यस्त नभए पनि मुखले ‘बिजी छु’ भन्ने बानी लाग्यो । इन्जिनियरिङ शुरू गरेपछि यसै पनि पढाइमा बढी समय दिनुप्रयो । फुर्सदको समय मामाको अफिसमा काम सघाइदिन्थें, अलिअलि पकेटखर्चको लोभमा । त्यसपछि त घर जाने भनेकै दशैं मात्र हुन थाले । त्यही पनि छोटो छुट्टी । घर र मामाघरमा एक ट्याप टिको टाँस्यो, हिंड्यो । “दुईचार दिन त बस्छेस् होला नि ?” भनेर कसैले सोधिहाल्यो भने निधारमा गाँठो पारेर “अँऽऽऽ, काँ भ्याउँथे नि, काम छ उता” भन्नमा गर्व मान्न थालियो ।
केही समययता साइँलीदिदी निकै बिरामी पर्न थाल्नुभएको छ भनेर यसपालि हजुरआमाले जसरी नि जा भन्नुभो । हुनत मैले यसै पटकदेखि अनिवार्य इन्टर्नसिप थालेकी थिएँ । काम राम्रो गरे जागिर पक्का जस्तै थियो । तर पुराना यादहरू बयली खेलेर आए । “एकपटक भेट्न पनि नपाई घुत्रुक्क हुनुभो भने ?” भन्ने खयालले मन चरक्क चिरियो । मामाघरमा एक रात बसेर भोलिपल्ट उतैबाट सीधै पाखाथोक उक्लें ।
हजुरआमालाई राति निद्रा पर्दोरहेनछ, अबेरसम्म गफ गर्नुभो । भोलिपल्ट हिजै गरेका कुरा दोहोर्याई तेहर्याई सोधेर दिउँसोको एक बजाइदिनुभो । भोलि जसरी पनि काठमाडौं जानुपर्छ भनेर तम्सिएपछि कुप्रो परेको ढाड सोझ्याउँदै तगारोसम्म आएर चोलोको खल्ती खोतल्नुभो र चुरोटको सुर्ती लटपटिएको एउटा पुरानो पाँच सयको नोट मेरो मुठीभित्र घुसारिदिंदै भन्नुभो, “अब म बाँच्नी यत्ति होला बाबै, यो यस्सो बाटाखर्च राखेस् ।”
लहरै खुलेका सेता हिमाल, हावासँग बयली खेलिरहेका धानका हरिया सुर्का, बारीका कान्लामा लटरम्म फलेका बेलौतीका रूख केहीले पनि तगारोको ढुङ्गामा थचक्क बसेर म गएको बाटो हेरिरहेकी फुस्रै फुलेकी बूढीको चित्र मेटाउन सकेनन् ।
दश मिनेट ओरालो झरेपछि गुज्रुप्प परेको अर्को गाउँ आइपुग्यो । बाटैनेरको धारामा कपालमा रातो फूल टाँसेको हेडपिन लगाएकी फुच्ची ढिस्कोमा चढेर फ्यान्टाको ठूलो बोतलमा पानी थाप्दै थिई । म प्यास लागेर भन्दा पनि मन बहलाउन अडिएँ ।
“मामाघर गइनौ ?” उसको बोतल भरिनलाई कुर्दै गर्दा सोधें ।
बोतलको बिर्को लाउँदै उसले पूर्वपश्चिम टाउको हल्लाई ।
“किन त ? यति राम्रो हेडपिन लाउने मान्छे मामाघरमा देखाउन जानुपर्दैन त ?” मैले जिस्क्याएँ ।
ऊ मख्ख परी । हेडपिनको प्रशंसा सुनेर होला । अनि पुलुक्क मतिर हेरेर भनी, “हाम्रो मामाघरै छैन ।”
त्यसपछि मैले थप प्रश्न सोधिनँ । सोध्न भ्याइनँ भनौं अझ । बच्चा काखमा लिएकी उसकी आमा जस्ती देखिने आइमाईले दुइटा कान्लामाथि निस्केर कराई, “ए झम्के ! कति बेर लाउचेस् हँ एक बोतल पानी ल्याउन नि ? फेरि टाउको थाप्न लाकी धारामा ?”
मैले कान्लामाथि अलिकति औपचारिकताको हाँसो फ्याँकिदिएँ । उताबाट अनौठो हेराइ आयो । गाली खाएकी फुच्ची काँखीमा बोतल च्यापेर हिंडिसकेकी थिई । मलाई अप्ठेरो लाग्यो । बाटो तताउन के आँटेकी थिएँ, पछाडिबाट मसिनो आवाज आयो, “हैन…, विपना हैन भन्या ?”
फरक्क फर्केर हेरें । अघि छोरीलाई हकार्दै गरेको अनुहारमा एकाएक अनौठो आभा छाएको थियो । ऊ मतिर आउन लम्किई । मलाई उसको अनुहार कता हो कता देखेजस्तो त लाग्यो तर ठ्याक्कै ठम्याउन सकिनँ । नजिकै आएपछि आफैंले भनी, “चिन्नुभएन ? सपना के त । साइनो … ? मस्र्याङ्दी एफ्.एम्. ?”
दश कक्षा पढ्दाताक जिल्लामा एफ्.एम्. भर्खरै खुलेको थियो । आँखैअघि बोले जसरी प्रष्ट सुनिन्थ्यो रेडियो । औंलामा गनेर सकिने जति मात्र कार्यक्रम थिए । तीमध्ये सबैभन्दा लोकप्रिय चाहिं गीतिकथा ‘जिन्दगीका पानाहरू’ थियो । हप्ताको एकफेर रात छिप्पिएपछि प्रस्तोता वियोगान्त प्रेमकथा पढेर सिरानी लछ्रप्पै भिज्ने गरी नवयुवाहरूलाई रुवाउँथे । बुधबार साँझपख तरकारी केलाउने बेला अर्को कार्यक्रम आउँथ्यो, ‘साइनो’ । मीठो स्वर भएकी प्रस्तोता पत्रद्वारा मान्छेहरूको मित्रता गाँसिदिन्थिन् । जेठको एक गर्मी साँझ पिंढीमा बसेर सिमीका धर्सा उधार्दै गर्दा उनले पढेकी थिइन्, उसको पत्रः
“धनीगरीब, जातभातमा भेदभाव नगर्ने, अनुहारको सुन्दरतालाई भन्दा मनको सुन्दरतालाई महान् ठान्ने, रगतको नाताभन्दा भावनाको नातामा विश्वास गर्ने, एकपटक मित्रताको डोरी गाँसेपछि बीचैमा नटुटाउने, साहित्य र घुमघाममा रुचि भएका मित्रहरूसँग साइनो गाँस्ने रहर छ ।”
फेसबुक राजधानीबाट गाउँ पसिसकेको थिएन । इन्टरनेट भन्ने जिनिस सामाजिक शिक्षामा संचारका माध्यमहरूको पाठमा मात्र पढिन्थ्यो । पत्रमित्रताको क्रेज नौली दुलहीलाई हेर्न झुण्डिनेहरूको जत्तिकै थियो । आफूसित उमेर मिल्ने दुईचार जना केटीको नाम ठेगाना कापीमा टिपेर मैले पनि राखेकी थिएँ । केटालाई चिठी पठाउन ठूलै साहस चाहिन्थ्यो, जुन कमसेकम त्यतिबेला ममा थिएन ।
त्यो साँझ उसको नाम पनि मेरो साथी खातामा चढ्यो । साताको शनिबार पानाबाट राम्रा लागेका केही थान नाम छानेर मैले सबैलाई लगभग उस्तैउस्तै चिठी लेखें । एक हप्तासम्म स्कूल जाँदाआउँदा नै नबिराई गाविस भवन चहार्ने गरेपछि एक दिन मेरो नामको चिठी पनि भेटियो । खाम बाहिर चिटिक्क परेका बाटुला अक्षरमा पठाउने अनि पाउनेका नाम हेरेर म कम्ता दङ्ग परेकी थिइनँः
पठाउने
सपना गौतम ‘पागल’
पाउने
विपना सापकोटा ‘शीतल’
केही राम्रा नामले जवाफ फर्काएनन् । केहीले दोस्रोपछि तेस्रो चिठी लेख्न अल्छी गरे । केहीले मेरा डाक्टरका जस्ता अक्षर मन पराएनन् शायद । तर उसले हर महीना जस्तो रजिष्टरको लामा ताउका चारै किनारामा फूलबुट्टा कुँदेर केही चोरेका, केही आफैंले कोरेका सायरीमा मित्रताको मिठास उनेर पठाइरही । हामीले अक्षरबाटै एकअर्काको गाउँघरका गोरेटो, बाआमाको तातो रिस, नयाँ ब्याएको बाच्छोका गाजलु आँखा, चितुवाले दारेको कुकुर, दक्षिणाको लोभले दशैंमा पन्छिँदा घरमा ढाँटेका गोप्य कथाहरू खोतलिसकेका थियौं । हरेक चिठीमा बाटुला अक्षरमा बान्की मिलाएर लेख्नका लागि उसित अनगिन्ती विषय हुन्थे, मलाई घण्टौं कलम टोकेर पनि आफ्ना किरिङमिरिङ अक्षरमा आधा ताउ भर्न हम्मेहम्मे पदर्थ्यो ।
एक दिन उसले चिठीमा एउटा फोटो बेरेर पठाई । सयपत्री फूललाई अँगालो हालेर पिठ्युँसम्म आउने कालो कपाललाई अघिल्तिर कुमबाट झारेको उसको फोटो हेरेर हजुरआमाले भन्नुभो, “कति उजेली, सर्लक्क परेकी बाउनी । तेरो दाइलाई ब्या अर्न पाए काइदा हुन्तो विपे ।”
एस्एल्सी सकेपछि एकअर्काका गाउँ घुम्ने निम्ता थियो । जाँचअघिको चिठीमा लेखेकी थिई, उसलाई एउटा केटो मन पर्लापर्ला जस्तो भएको छ । ‘भेटेर सप्पै भन्छु है’ अन्तिममा थपेकी थिई । जाँच सक्किनेबित्तिकै पेटभरि सुत्न पनि नदिई ब्रिजकोर्स गर्न बुवाले काठमाडौं नधपाइदिएको भए शायद आज मैले उसलाई सजिलै चिन्थें कि ?
तर, चिन्थें होला र ?
साधारण गाउँले घर । फराकिलो आँगनको एउटा कुनामा गुन्द्रीमा सुकाएको मकैको बिस्कुन । घरसँगै जोडिएको पालीमा टन्नै बाख्रापाठा । अर्कोपट्टि पातीको फलेकले बारेर टिनले छाएको अस्थायी गोठमा पाउर मारिरहेको गाई । छेवैमा थोत्रो कुखुराको खोर । खोरको मुखैमा पोखिएका दाना र लडिरहेका सिलौटका ससाना रित्ता प्लेट । दैलोदेखि अलिपर पिंढीको थाम र झ्यालको डण्डीमा बाँधेर बनाइएको सलको झोलुङ्गो । पिंढीको छेउमा ओइलाउन थालेका खरीका दुईचार मुठा घाँस र गेडुलेको थुप्रो । घाँसमाथि बसेर हँसियाले गोडाको मुसा कोट्याउँदै गरेकी त्यस्तै सोह्र सत्रकी मैली तरुनी । मेरो आँखामा छापिएको उसको घरको दृश्य ।
उसले सन्चोबिसन्चो सोधी । म त्यहाँ आउनुको कारण सोधी । हजुरआमालाई चिनेको र कहिलेकाहीं केटाकेटीलाई गाईको गहुँत र गोबर लिन पठाउने कुरो सुनाई । काखकी छोरी दूध चुस्दाचुस्दै निदाइछे, उही सलको झोलुङ्गोमा सुताइदिई । चुस्नेको अनुहार जतिसुकै अबोध देखिए पनि नाप्दा एक मुठ्ठी पनि नहोलान् जस्ता उसका दूधका लाम्टा बच्चीले लुछिरहेको दृश्य मेरा आँखाले मरिगए पचाउन सकेनन् । छोरीको भन्दा आमाको अनुहार टिठलाग्दो ।
बाख्राको पाठोमा घोडसवार गर्न बल गरिरहेकी उसकी छोरी आमाको आदेश सुनेर बहिनी हल्लाउन आइपुगी । ऊ भित्र पसी र मलाई केही नसोधी एक कचौरा मासु लिएर आई । मैले मासु नखाने भनेपछि भोभो भन्दाभन्दै एक गिलास दही लिएर आई । स्टिलको गिलासको बिटमा भर्खरै पोतेको भान्छाको माटो उसले नदेख्ने गरी पुछेर मैले दही समातें । कराइरहेका बाख्रालाई एक अँगालो गेडुले टाट्नामा फालिदिंदै मुसा कोट्याइरहेकी केटीलाई कानैनेर केही भनी । बूढीऔंलाबाट चुहिंदै गरेको बाक्लो रगत टेक्दै केटी खोपीभित्र पसी र एकैछिनमा सिताराजडित सल लतार्दै निस्की ।
“काठमाडौं गएपछि त चटक्कै बिर्सिहाल्नुभो ।” पल्लो पिंढीमा बसेर आफैंले लगाइरहेको लुँगीमाथि जाली पसेका घिरौंला काट्दै उसले त्यही प्रश्न सोधी, जसको मलाई सबैभन्दा डर थियो ।
“हुलाकको मेसो पाइनँ, तपाईंले दिएको नम्बरमा फोन गरेकी थिएँ, चिन्दैनौं भने ।” मैले घाँटी सफा गर्दै भनें । उसलाई फोन नगरेकी होइन, तर धेरै पछि मात्रै गरेकी थिएँ । नम्बर घरमै छुटेको थियो ।
“फोन राख्ने अन्टीहरूले सेट अर्कैलाई बेचे । त्यैभर होला ।” अहिल्यै पानी पर्ला जस्तो अँधेरो बनाई उसले मुख । धेरैबेरसम्म दुवैजना केही बोलेनौं ।
“कति छिटै बिहे गर्नुभएछ नि, निम्तै नगरी !” मैले मुसुक्क हाँस्न खोज्दै भनें ।
“चिठी पठाएकी थिएँ नि तपाईंलाई, हेर्नुभएन ?” उसले एक थान प्रश्नवाचक नजर मतिर हुर्याई। उसका गहिरा आँखासँग जुध्नासाथ मैले नजर झुकाएँ ।
“दुइटा त पाथेँ, एसएलसीको रिजल्ट आउनुअघिका । अंकलकी छोरीले काठमाडौं आउँदा ल्याइदिएकी थिई । त्यसपछि नै हो मैले तपाईंलाई फोन गरेको ।”
“ए, मैले त्यसपछिका चिठी भनेको ।”
“अहँ, ती त पाइनँ । बहिनीले हुलाकबाट लिएर राख्देकी छु त भनेकी थिई, घर सर्दा सामान यताउति भएछ ।”
“घर सरिसक्नुभो ? कहिले ?” काट्दै गरेको घिरौंलाबाट नजर हटाएर उसले एकफेर फेरि मतिर हेरी ।
“पाँच वर्ष भए बजार झरेको । त्यसपछि मैले तपाईंलाई चिठी पठाकी पनि थिएँ, अघिल्लो चिठी हरायो भनेर । प्रतिउत्तर आएन ।”
“माइतको ठेगानामा पठाउनुभो होला ।”
“अँ । पाउनुभएन र ?” आश्चर्यले मेरा कान टाठा भए । मैले त जाँच सक्केपछि म भेट्न नगएर उसले जानीजानी चिठी पठाउन छोडेकी होला पो भन्ठानेकी थिएँ ।
“अहँ, घरमाइत टाढा भयो । आफ्नो गृहस्थी यतै भएपछि उता जाने मेसो पर्दोरहेनछ । उता चिठी सँगालेर कसले राख्दिनी ?”
“कति टाढा बिहे गर्नुभएछ है ?”
साँच्चै सोध्न चाहेको त “कति चाँडो बिहे गर्नुभएछ नि ?” थियो । सकिनँ । बिहेको निम्ता समेत हराउनेलाई त्यो हक छैन जस्तो लाग्यो ।
“जुरेको…” भनेर ऊ एकतमासले हँसियाको टुप्पोले भुईंको घिरौंलाका जाली कोप्न थाली । आफूभित्र आफैं हराएजस्तो । शून्यताको असहजताबाट उम्कन मैले सोधें, “यसपालि टीका छैन कि कसो उता ? नानीले मामाघरै छैन भनिन् त ?”
मेरो प्रश्नले ऊ झस्केजस्तो भई । हठात् उत्तर दिई, “अँ, सुत्केरो छ । टीका नभा‘सी दशैंको बेला सानसाना केट्केटी लिएर नजाम् भनेर । गाडी पाउन उस्तै गाह्रो हुन्छ । फेरि यत्रा वस्तुभाउ कसले हेर्नी ।”
“श्रीमान् नि त ?”
“बाहिर हुनुहुन्छ । कतार । पोहोरसाल आउनुभा’थ्यो । यसपालि छुट्टी मिलेन रे !” “घरमा को को हुनुहुन्छ नि ?”
“हामी तीन आमाछोरी त हो । अघि निस्किनी नन्द हुन् । टीको लाउन बूढोमावली जान पाइन भनेर हत्ते हालेकी थिइन्, पठाइदेको ।”
उसले घिरौंला काटेर अघि नै सिध्याइसकेकी थिई । जुरुक्क उठेर लुँगीको घिरौंला ताउलोमा खन्याई र ‘एकैछिन है’ भनेर ताउलो बसाल्न भित्र पसी । एकैछिनमा उसको फू—फूले झ्यालबाट पिरो धुवाँको मुस्लो निकाल्यो । बहिनी हल्लाउन छोडेर भित्तामा आड लागेर मलाई क्वारक्वार्ती हेरिरहेकी उसकी छोरी म हाँसिदिएपछि मसक्क मस्किई र मैले मोबाइल झिकेको देखेपछि बिस्तारै सर्दै मैनेर आइपुगी । मैले उसलाई ह्वाट्सएपमा साथीहरूले पठाएका केही रमाइला भिडियोहरू देखाइदिएँ । कुखुरा लखेट्दै गरेको एउटा फुच्चे कुखुराले उल्टो लखेटेपछि रुँदै भागेको भिडियो उसले खुब रमाइलो मानेर दोहोर्याई तेहर्याई हेरिरही ।
उसकी आमा कुखुराबाख्राका किस्सा लेखेर मलाई पठाउँथी । अनौठा सपना पाल्थी । जँड्याहा लोग्नेका स्वास्नीहरू र कलिलैमा अन्माइएका दिदीबहिनीहरूको उसलाई खुब पीर थियो । स्थानीय बालक्लबकी अध्यक्ष थिई । तिहारमा सामाजिक विषयमा भैली खेल्थी, सडक नाटक गराउँथी । आज ती सबै कुरा सम्झँदा एकादेशको कहानी जस्तो लाग्यो । उसकी पाँचवर्षे छोरी मेरा अघिल्तिर हेडपिनको फुर्के फूल जस्तै हाँसिरहेकी थिई । उसकी आमा २१ वर्षकै उमेरमा राम्ररी पुष्टिन समेत नपाएको छाती चुसाएर गाउँको कुनै कुनामा गाईका लागि कुँडो बनाउन जाली पसेका घिरौंला काट्दै थिई ।
मैले सपनासित चिठीसाथीको साइनो जोड्ने निर्णय गर्नुमा हाम्रा नामले दिने विपरीत अर्थबाहेक कुनै खास कारण थिएन । पत्रमित्रको आग्रह गर्दा रेडियोबाट पढिने सन्देश त लगभग सबैका उस्तै हुन्थे । तर अक्षरको सहारामा हामीले अनौठो सहजता भेटाएका थियौं । लगभग एक वर्षजस्तो मेरो मुटुको साह्रै नजिक रहेकी सपना मेरा सपनामा समेत आउन छोडेको पनि वर्षौं भइसकेको थियो । काठमाडौं जानेबित्तिकै मैले हुलाकको मेसो नपाएको साँचो हो । हातमा फोन पर्यो । साथीभाइ नयाँ बने । परिवेश नयाँ भो । साइनो गाँस्ने माध्यम नयाँ भए । न चिठी जस्ता ढिला, न झन्झटिला । म फेसबुक, भाइबरका स्टिकरसितै कतै लटपटिएँ, पानाको चार कुनामा हामीले डटपेनले कुँद्ने फूलहरू पछाडि छुटेर गए । मैले कति नै ठूलो अपराध गरें र ? ऊ भएकी भए बिर्संदैनथी र ?
एक मनले आफ्नो बचाउ गर्न नखोजेको होइन । तर हारायो । मैले इन्जिनियर बन्ने सपना देख्दा नदेख्दै राजनीतिमा लागेर देश र समाज बदल्छु भन्न सक्ने त्यो सुरी बाहुनी अनायास आफ्ना आँखाअघि दुइटा लालाबाला बोकेर झुल्किँदा मलाई बेस्सरी झट्का लागेको हुँदो हो । स्कूल ड्रेसमा सयपत्री फूललाई अँगालो हालेर उभिएकी जलजलाउँदी तरुनी आज खिरिलो ज्यानमा सिन्दुरपोतेसहित सामुन्ने पर्दा उप्रतिको वर्षौं पुरानो माया मभित्र एकैचोटि जागेको हुँदो हो । उसका अगाडि मलाई आफूले लगाएको जिन्स, नीलो रङले हाइलाइट गरेको एक चिम्टी कपाल, कानका ठूला झुम्का, सबैले असहज बनाइरहेका थिएँ । मलाई थाहा थियो, मैले मित्रतालाई उतिसाह्रो महत्व नदिनु र उसले चाँडै बिहे गर्नुमा गोरु बेचेको साइनो पनि थिएन, तैपनि अन्तःस्करणमा कताकता मलाई ग्लानिले नमीठो गरी गाल्दै थियो । उसको आगो फुकाइले उदासी बोलिरहेको थियो । उसको लुँगीको फट्याकफट्याकमा एककिसिमको हतार प्रतीत हुन्थ्यो । पिंढीमा हगिदिएको कुखुरालाई गाली गर्न उसले प्रयोग गरेको शब्दमा चिडचिडाहट झल्कन्थ्यो । यी सबको बाबजूद निर्दोष देखिने उसको अनुहारको रापले मलाई समेत बफाइसकेको थियो ।
म जुरुक्क उठेर लुसुक्क बाटो लागौं कि जस्तो भइसकेकी थिएँ ।
मलाई सोध्न त मन थियो, एसएलसी दिनेताक उसलाई ‘लभ पर्लापर्ला जस्तो’ भएको मजस्तै अर्को पत्रमित्र साथीको हालखबर । उसको बालक्लबको ‘मदिरा उन्मूलन अभियान’ को खबर । उसका बाको मुटुमा देखिएको भल्भको समस्या । तर किनकिन खुल्न सकिनँ । घाँटीसम्म आएका प्रश्नहरू घुटुक्क थुकसित निलेर मैले बिदा मागें । “आज यतै बस्न मिल्दैन ?”
उसको प्रश्नमा अनुरोधभन्दा याचनाको मात्रा बढी थियो । म नपग्लिएको होइन तर त्यो असहजता र ग्लानिबाट मलाई कहिले पार पाऔं जस्तो भइसकेको थियो । भनें, “भोलि बिहानै काठमाडौं जानु छ । पर्सिदेखि काम शुरू हुन्छ ।”
भन्न त भनें, तर कामको कुरा झिकेकोमा तत्कालै पछुतो भयो ।
उसले कर गरिन । एकछिन चूपो लागेर उभिइरही केही भन्न खोजेजस्तो गरेर । त्यसपछि अचानक लुँगी उँभो सारेर बारीमा ओर्ली । दुइटा ससाना पाकेका काँक्रा र एउटा ठूलो मुठो काँचै चपाउँजस्तो कलकलाउँदो साग टिपेर उक्लिई ।
“किन यस्तो दुःख गर्नुभ‘को ? मसित झोला पनि छैन ।” मैले फेरि अनावश्यक बोलें ।
“केको दुःख” भनेर ऊ भित्र पसी र धुँवा लागेको बाक्लो प्लाष्टिकको झोला मेरा हातमा थमाइदिएर भनी, “फेरिफेरि आउँदा पस्ने गर्नू ।”
मलाई उसले प्रयोग गरेको भाषाको बनोट बिझायो । आफैंलाई भनेर भेट्न आउली भन्ने उसलाई आश पनि छैन । आशै नभएको कुरामा ऊ किन शब्द खर्च गरोस् । मेरो मोबाइल खेलाइरहेकी छोरीलाई रुखो स्वरमा हप्काएपछि भर्खरै ब्युँझिएर रुन थालेकी छोरी लिन ऊ झलुङ्गोतिर लम्किई । उसले नदेख्ने गरी मैले अघि हजुरआमाले दिएको नोट जेठीको हातमा राखिदिएर भनें, “कापीकलम किन्नू है ।”
हजुरआमाको नोटबाट चुरोटको गन्ध नाकसम्मै आइपुग्यो ।
धारानेर पुगेपछि एकफेर उसलाई हेर्न म पछाडि फर्कें । आँगनको डिलबाट उसका आमाछोरी हारै लागेर मैलाई हेरिरहेका थिए । मैले त्यसपछि फर्केर हेर्न सकिनँ ।
एउटा ठूलो गुन्द्रुकको पोको, दुईमानाजति कैलाखाले ठूला भटमास र पुरानो हर्लिक्सको बट्टामा एक माना गाईको घिउ उसले साग र काँक्रो टिपेपछि भित्र गएर थपेकी रहिछे । लगभग एक दर्जन चिठीको साइनो । चिठीसखीका कोसेली । भान्सामा लगेर फुकाउँदा मेरा आँखा पोलेर आए । ममीले ‘मामाघराँटी ल्याकी कि हज्रामाको घराँटी ?” को उत्तर नदिइकन कोठाभित्र पसें । उसको पुरानो फोटो झलझली आँखाअघि आयो । खाटमुनिका धुलो जमेर बसेका बोरा घिसारेर बाहिर निकालें । दाइदिदीका किताबपछि एउटामा दश कक्षाका मेरा किताबहरू ओइरिए । सँगै ओइरिए पाँच सातवटा खाम । खोलेर केही पढें, केहीको अक्षर र फूलबुट्टा मात्र हेरेर राखें । एउटा नखोलेको मोटो खाम टुप्लुक्क झर्यो ।
पढेर सकिसक्दा मैले आँशुले आँखा देख्न छोडिसकेकी थिएँ । ठाउँठाउँमा अक्षर फुलेर मसी बग्ला जस्तो भइसकेको थियो । घुँडामा निधार बिसाएर एकछिनसम्म सुँकसुकाइरहें । अहिल्यै अरू चिठी खोतल्ने आँट भएन । जातभात र धनीगरीबमा भेदभाव नगर्ने मेरी अल्लारे चिठीसखीले समाज परिवर्तन आफूबाटै शुरू गर्नुपर्छ भन्ने बडेमानको आदर्श बोकेर पत्रमित्र साथी राजन विश्वकर्मासित प्रेमविवाह गरेकी रहिछे । त्यो पनि प्रेमभन्दा बढी क्रान्तिको रहरले । मलाई ६ महीनासम्म हात धोएर मेरो पछि लागेको त्यो गुणी नेवार केटाको याद आयो, जसलाई “वी ह्याभ नो फ्यूचर अहेड” भनेर साइड लगाइदिएको वर्षौंपछि बाहुन प्रेमीको आँखा छलेर म अझै फेसबुकमा उसैलाई स्टक गर्दै थिएँ । मलाई उसका अघि घुँडा टेकेर उसको हात समातेर सोध्ने रहर भो, “तिम्रो आँट र आदर्श थोरै मलाई पनि देऊ न सखी ।”
खाम नखोलिएका अरू दुई मोटा चिठी भेट्टाएँ । माइतीको अपहेलना र विछोड, बाको अपरेशन गर्दा हस्पिटलको गेटबाटै फर्किनुपर्दाको पीडा, गरीबी, एक्लोपन, कलिलैमा रहेको गर्भ, ध्वस्त भएको जोइपोइकै पढाइ, आफ्नै मनभित्रको अन्तद्र्वन्द्व, धर्मराउँदै गएको आदर्शको घर र आफूले भोग्नुपरेका अनेकौं सङ्घर्षका कथा ‘जिन्दगीका पानाहरू’ स्टाइलमा लेखेकी थिई । प्रस्तोताको आवाजविनै मैले उतिबेला भन्दा चर्को रोएर पढें । काठमाडौं गएपछि मैले फोन गर्दा चिन्दैनौं भन्नेहरूले फोनको सेट बेचेका थिएनन्, उसलाई चिन्न बन्द गरेका थिए । उसकी छोरीले मामाघरै छैन भनेको खेलाँची थिएन ।
मेरो मन यति अशान्त र बेचैन भयो, मलाई रुवाइले पुगेन । छटपटीले उठें । उडेर गएर उसलाई भेटूँ र अँगालो हालेर रोइरहूँझैं भयो । हतारिएर फोन नम्बर माग्न पनि भुलेकी थिएँ । कोठामा यता र उता दगुरें । मुख धोएँ । सिंगान फालें । घाँटी ट्याप्प सुक्यो । पानी खान भान्सामा पसेकी थिएँ, हजुरआमा दशैंको भाग सिदा लिन आएका पुरोहित बाजेलाई सिदाको सर्दाम बनाउँदै हुनुहुँदोरहेछ ।
खाँदाखाँदैको पानी मुखैमा रोकेर मैले हजुरआमापट्टि हेरें । हर्लिक्सको सिसी कोतर्दै उहाँ लोभी इष्टमित्रले घिउ पठाइदिन छोडेकोमा गनगन गर्दै हुनुहुन्थ्यो । मैले सरासर अघिको कोसेलीबाट घिउको बट्टा निकालें, चम्चा गाढेर एउटा ठूलो चोइलो घिउ निकालें र सिदाको दुनोमा हालिदिएँ ।
मलाई आफ्नो मनको बेचैनी अलिकति भए पनि शान्त भएजस्तो लाग्यो ।
अनि त्यस रात बुवाको खानेपानीको रजिष्टरका ताउ उखेलेर मैले पहिलोपल्ट सात पेज लामो चिठी लेखें । र यसपालि मलाई आफ्ना किरिङमिरिङ अक्षर पनि राम्रा लागे । मलाई धेरै पछि म आफैं पनि राम्रो लाग्यो ।
(स्रोत : हिमाल खबर)