~कृष्ण बजगाईं~
उसलाई एक हुल मानिसले खुब पिटे । उसलाई पिट्ने र मूकदर्शक भएर रमिता हेर्नेबाहेक त्यहाँ तेस्रो पक्षको उपस्थिति थिएन । पिटाइले ऊ घाइते भएको थियो । उसलाई अस्पतला लैजानु पर्दथ्यो । तर त्यस हिंसक हुलले उसलाई गाउँको प्रहरी चौकीमा पुर्यायो । र उसका विरुद्ध किटानी जाहेरी दिइयो ।
जाहेरी पढिसकेपछि घाइते अवस्थामै प्रहरीले उनलाई केरकार गर्न सुरु गरे ।
‘यो घटना कसरी घट्यो ।’ प्रहरी चौकीका प्रमुखले सोधे ।
‘उनी पाँच वर्षपछि पहिलोपटक गाउँ फर्केर आएका थिए । त्यो पनि चुनावमा भोट माग्न । पहिले पनि चुनावमा भोट मागेका थिए । मैले भोट दिएँ । उनले चुनाव जिते । आश्वासन दिएर गएपछि उनको पाँच वर्षसम्म नाक–मुख देख्न पाइएन ।’ उसले भन्यो ।
‘त्यसपछि के भयो ?’ प्रहरी प्रमुखले सोधे ।
पिटाइबाट नाथ्री फुटेर रगत बगिरहेको थियो । कमिजको बाहुलाले उसले रगत पुछ्यो । अनि गम्भीर भयो । एकछिनपछि बोल्न थाल्यो ।
‘यस पटक पनि केही कार्यकर्ता लिएर उनी फेरि भोट माग्न आए । भोट मात्र होइन तपाईहरूसँग जेजे छ सहयोग गर्नुहोस् भने । पार्टीका उनका कार्यकता, व्यापारी, तस्कर, गुण्डा, शिक्षक, कर्मचारीहरूले नगद र जिन्सी दिएर उनलाई सहयोग गरेका थिए । खानलाई अन्नको गेडा समेत नभएको म तन्नम गरीव । मेरो सिरीखुरी निजी सम्पत्तिको नाममा थुक मात्र थियो । त्यही उनलाई दिएँ । त्यसपछि मलाई मरासन्न हुने गरी पिटियो हजुर ।’ उसले रुँदै भन्यो ।
उसको कुरा सुनेर त्यहाँ उपस्थित सबैका ओठ–मुख सुके ।
(स्रोत : नागरिक – शनिबार)