~सङ्कलन : अज्ञात~
कालिदास एकपटक भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिर्खाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोका उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बीच रोचक संवाद भयो ।
कालिदास : कृपया, पानी दिएर पुण्य कमाउनुहोस् ।
युवती : मैले तपाईंलाई चिनेकै छैन । पहिला आफ्नो परिचय दिनुहोस् । म अवश्य पानी दिनेछु ।
कालिदास : म पाहुना हुँ, कृपया पानी दिनुहोस् ।
युवती : तपाई कसरी पाहुना ? संसारमा त दुईवटा कुरा मात्र पाहुना हुन्छन् । एउटा धन र अर्को यौवन । यिनीहरु आउन र जानमा समय लाग्दैन । सत्य कुरा भन्नुहोस्, खासमा तपाई को हुनुहुन्छ ?
(तर्क दिँदादिँदा हैरान भएका उनी अलि हताश भइसकेका थिए)
कालिदास : म सहनशील हुँ । अब पानी दिनुहोस् ।
युवती : होइन, सहनशील दुई मात्र हुन्छन् । पहिलो, पृथ्वी जसले पापी र धर्मात्मा सबैलाई बोकेकी हुन्छिन् । उनको छाती चिरेर बिउ रोप्नेलाई पनि फल दिन्छिन् । अर्को सहनशील हो वृक्ष जसले ढुंगाले हान्दा पनि फल दिन्छ । तपाई सहनशील होइन । साँचो कुरा बताउनुहोस् ।
(कालिदास लगभग तनावपूर्ण अवस्थामा पुगिसकेका थिए । थप तर्क गर्न थाले)
कालिदास : म हठी हुँ ।
युवती : फेरि झूठ । हठी त नङ र कपाल हुन् । जति काट्नुहोस्, पटक-पटक आउँछन् । सत्य कुरा भन्नुहोस् यहाँ को हुनुहुन्छ ?
(कालिदासले आफूलाई अपमानित महसुस गरे, उनी लगभग पराजित भइसकेका थिए)
कालिदास : त्यसोभए म मूर्ख हुँ ।
युवती : होइन, तिमी मुर्ख कसरी हुन सक्छौ । मुर्ख त दुई हुन्छन्- पहिलो, राजा जसले आफ्नो अयोग्यताको बावजुद पनि योग्यहरुमाथि शासन गर्छन् र अर्को मूर्ख दरबारका पण्डित हुन् जसले राजालाई खुसी बनाउन गलत तर्क गरेर पनि झूठलाई सही सावित गर्न खोज्छन् ।
(केही पनि बोल्न नसकेपछि कालिदास युवतीको पाउ परे र पानी माग्न थाले)
युवती : उठ्नुहोस् महानुभाव ! (आवाज सुनेर कालिदासले माथि हेर्दा त उनी साक्षात् सरस्वती रहिछन्, अनि कालिदास झन नतमस्तक भए)
सरस्वतीले भनिन्- शिक्षाबाट ज्ञान हासिल गर्नु पर्छ न कि अहंकार । तपाईले शिक्षाको बलबाट प्राप्त गर्नुभएको मान र प्रतिष्ठालाई नै आफ्नो उपलब्धि मान्नुभयो र घमण्ड गर्नुभयो । यसकारण तपाईको तेस्रो नेत्र खोल्न म यहाँ आएकी हुँ ।
कालिदासले आफ्नो गल्ती महसुस गरे र टन्न पानी पिएर फर्किए ।
शिक्षा : विद्वत्तामाथि कहिल्यै घमण्ड नगर्नुहोस् । यही घमण्डले तपाईको विद्वत्ता नष्ट गरिदिनेछ ।