~भिमा राई ‘तोलाछा’~
कारंगकुरुंगका हुल पुनः एक पल्ट
आकाशै ढाकेर उड़िरहेछ
कालो बादल हटेर गोर्खाको शिर शिरमा
लालीगुराँस सजिएको छ
प्रत्येक गोर्खाको छाती छातीमा सम्पूर्ण कन्चनजंगा
एउटा गतिलो आभा भएर मस्तसित उभिएको छ
बन्द कमानका मजदुरहरू
युगौ शोषित जनताहरू
आत्महत्या मात्र गर्दैनन्
युगौ शोषित किसान मजदुरहरू
श्रम र मुनाफाका श्रोत मात्र होइनन्
होशियार होशियार संसारकै बीर जाति
स्वाभिमानको युद्ध लड़्न नांगो छातीमा
विश्वासको आगो लिएर चेतनाको राँको बालेर
फेरी एक पल्ट शायद अन्तिम पल्ट बौरिएका छन्
खेतबारीमा डल्ला फोड़्ने
चियाबारीमा कलम काट्ने हातहरू
चाम्रा हत्केला, बाँझो पैतालाहरू,
मन मनका भारी बोक्ने
विकृत शरीर भएका तर बलिष्ठ काँधहरू
बन्दुकलाई आँक्न सक्ने टाउकाहरू
मसाल भएर सल्कन तयार छन्
खुनी सत्ताका खुनी कानुन तिमी सक्छौ भने
रोक रोकेर त हेर साउनमा
टिस्टाको गति कति तीव्र हुन्छ
मार मारेर त हेर एक एक थोपा रगतले
रगतकै बालि उमार्छ
ठोक्न सक्छौ भने गोली छातीमा,
कन्चनजंगा झुकाउन खोज्ने दुस्साहस
धेरै महँगो पर्छ।
(स्रोत : लाली गुराँस,नेपाली द्वैमासिक, दार्जिलिङ – अङ्क 23 : जुन-जुलाई 2017)