~नव सापकोटा~
कला गोष्टीमा रमेशले केही दिनअघि आफूले पढेको अङ्ग्रेजी लेखकको एउटा मरुभूमिको निकै राम्रो कथा राम्ररी वर्णन गऱ्यो। श्रोताहरूमध्ये मनोजले साह्रै चाख लिएर सुनेको थियो। अन्तमा उसले त्यस कला वर्णनमाथि केही जिज्ञासा पनि राखेको थियो। यथार्थमा त्यस कथाले उसलाई प्रभावित पारेको थियो। अरू श्रोताहरूले त्यस कुराको लख काटेका थिए।
मनोज आप्नै कामले बीकानेर गएको थियो। त्यहाँ उसले एउटा होटेलको कोठा लियो। कोठामा चाहिने सबै कुराको समुचित व्यवस्था थियो। कोठासित जोडिएको कौसीमा थरिथरिका फूलहरू फक्रेर वातावरणलाई निकै मोहक पारेका थिए। भित्र भित्तामा दुइवटा चित्र थिए। एउटा मरुभूमिमा हिँडिरहेको ऊँटको र अर्को एउटी सुन्दर अर्धनग्न नारीको। दुवै चित्र आकर्षक थिए। अर्को भित्तामा ए.सी. बाक्स थियो जो त्यस कोठाको प्राण केन्द्र थियो। बिस्तराको छेउमा एउटा टेबल र कुर्सी थिए। छेउमा एउटा सोफा। पल्लापट्टि वार्डरब र ठूलो ड्रेसिङ टेबल। टेबलमाथि एउटा अङ्ग्रेजी किताब राखेको थियो। उसले हातमा लिएर हेऱ्यो। कला सङ्र्ग्रह रहेछ। सूची पत्र हेर्न थाल्यो। एउटा शीर्षक भेट्यो – ओसिस। कताकता यस शीर्षकले उसको मन छोयो। ओसिस नामैले उसको सुकेको मन तर्सियो। शुष्क मरुभूमिमा हुने हरियो चिस्यान वनखण्डको नाम ओसिस हो। हामी त्यसलाई नखलीस्थान भन्छौं।
उसले त्यही कथा पढ्न थाल्यो। पढ्दै गयो। झन झन रुचि बढ्दै गयो। उसले यो कथा अघि पनि कतै पढेको जस्तो लागिरह्यो। अन्त्यमा ठिम्यायो यो त्यही कथा थियो रमेशले कथा गोष्ठीमा पढेको। अब मनोजले झन चाख लिएर त्यो कथा पढ्न शाल्यो। कथा पढ्न पाएकोमा आफैलाई धन्य मान्यो। कथा रसिलो थियो। उ त्यस कथाभित्र पस्दै गयो। भासिँदै गयो। कथाको नायक आर्थरसित उ आफै एकात्म भयो। कथाकी नायिकाको न रूप चिन्दथ्यो न नामै जान्न सकेको थियो आर्थरले। त्यसैमा उसको छटपटी र भुटभुटीसाथ कथा अघि बढिरहेको थियो। मनोज पनि भित्रभित्र घरि तर्सिँदै र घरि पिरोलिँदै थियो। कोठाको भित्तामा टाँगिराखेको चित्रकी तरुणीलाई मनोजले मनमनै यस कथाकी नायिकाको रूप सम्झन थाल्यो।
मनोज ओसिस कथाको नायक आर्थरको विवश दशामा रुमल्लिइरहेको थियो निरन्तर।
कोठाको ढोकामा कसैले सङ्केत दियो। उसलाई झट्ट उठेर उघार्न मन लागेन। एकछिनपछि ढोकामा फेरि सुस्त सङ्केत भयो – टक टक। मानौं कसैले उसलाई गुपचुप भेट्न खोज्दैछ। उसले उठेर ढोका उघाऱ्यो सुस्तरी। ढोका बाहिर राम्रो बान्की परेकी तरुणी मान्छे थिई उभिएकी।
ऊ मुसुक्क हाँसी। उसले चिनेन र त्यस चित्रसित मिलाउन खोज्यो। मिल्दो – जुल्दो लाग्यो उसलाई।
यस म्याम? भन्यो उसले। उसले आकर्षक भङ्गिमामा मे आई प्लिज भन्दै हातले भित्र पस्ने इशारा गरी। ओ स्योर, प्लिज गेट इन भन्दै उसले भित्र लग्यो। उसलाई बस्ने सङ्केत गऱ्यो। ऊ सोफामा बसी। तर उसका आँखा मनोजका आँखामा पनि अचानक चकमकाए। दुवैका आँखामा आँका अडिए. त्यहीं स्थिर भए। दुई आँखामा झिकमिक थिएन। विस्फारित नेत्रहरू विस्तारै मादकतामा झुम्न थाले। मुख दुवै मूक भए। आँखा बोले। बले धपक्क। अनि निदाए भमक्क। बिहानपख उ ढिलोसम्म निदाइरह्यो। उसकी पत्नी रानी रातो चियाको कप हातमा लिएर भित्र पस्छे। मस्त निदाइरहेको देखी उठाउँछे – ढिलो भइसक्यो उठ्नोस्, चिया ल्याएकी छु। ऊ झल्मालाउँदै सुस्तरी ‘नान्सी!’ भनेरै आँखा उघार्छ।
अघिल्तिर रानी मुस्कराउँदै उभिइरहेकी देखेर मुस्कराउँछ। चियाको कप हातमा थमाएर रानी बाहिरिन्छे।
चियाको सुर्को लिँदै उसले सोच्न थाल्यो – यो नान्सी को हो?
आर्थरकी नायिका?
चित्रकी तरुणी?
कि उसलाई राती भेट्न आउने स्त्री?
को?
(पानस, नेपाली साहित्य परिषद् असम, शोणितपुरको मुशपत्र, अप्रिल 2010 – बाट साभार)
(फरवरी 2010)
(स्रोत : रचनाकार डट कम)