कविता : पहिचान !

~शरद पौडेल~

भ्रममा नपर साथी!
अहँ, जुनसुकै प्रयत्नले पनि
उ तिमीजस्तो हुनै सक्दैन !
उ फरक बीज हो स्वयंमा
अनि तिमी पनि !

दारी पाल्दैमा न त मार्क्स बनिन्छ,
हातमा धनुकाँण भिरेर न त अर्जुन,
लौरो टेक्दैमा गान्धी बनिन्छ न त,
न त पीडा शैय्यामा सुतेर भिष्म !

हो, लाग्न सक्छ
उहि जस्तै हो
उस्ले हिँडेको बाटो पनि
जहाँ तिम्ले हिँड्यौ !
तर होईन,
उस्तै त होला तर उहि होईन मित्र ।
उस्तै उकाली उस्तै ओराली
उस्तै खोंच र उस्तै मैदान !
तर न त पात्र उहि छ
न त बाटो उहि हो
न त उकाली, न ओराली !

भ्रममा नपर साथी
अहँ, तिमीजस्तो उ हुनै सक्दैन
उ बिछट्ट फरक छ तिमीभन्दा,
तिमी बिछट्ट फरक छौ उ भन्दा,
र हिडिरहेको भुगोल र यात्रापनि !

किन गाऊँने मेहनत गरि गरि कोईली गीत
जो तिम्रो हुँदै होईन,
कोइलीनै गाऊँछ तिमीभन्दा
हजार गुना राम्रो कोइली गीत !
तिमी तिम्रै गीत गाऊ,
तिमीले गाउन सक्ने गीत
त्यहि नै हो सुन्दर !

असल बन या खराव
क्रान्तिकारी बन वा कसैको दलाल
बिद्रोही बन वा भगुवा
ठ्याक्कै तिमीजस्तो
सिर्फ तिमी मात्रै हुन्छौ
किनकि, तिम्रो बृक्ष
स्वयंमा फरक वीज हो !

भ्रममा नपर साथी
हुँदैन कोहि पनि तिमीजस्तो
तिमी जस्तै त तिमीमात्रै हुनेछौ
फगत् तिमीमात्र हुनेछौ !!!

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.