~एल्बर्ट केमु~
अनुवाद : त्रिवेणी
दृश्य
(केही भारदार, एकजना वृद्ध भारदार पनि, उनीहरु विशाल राजदरबारको सभा–कक्षमा भेला भएका छन् । सबै चिन्तित मुद्रामा देखिन्छन् ।)
पहिलो भारदार : अहिलेसम्म केही अत्तोपत्तो छैन ।
वृद्ध भारदार : हिजोको रात कुर्दैमा बित्यो, आजको बिहान पनि ।
दोस्रो भारदार : तीन दिन भै’सक्यो समाचार नआएको । अचम्म !
वृद्ध भारदार : हाम्रा दूत बाहिर जान्छन्, आँउछन् । सधैँ नै शिर झुकाएर टाउको हल्लाउने, उनीहरुको उत्तरमा पुनरावृत्ति हुन्छ, “अत्तोपत्तो छैन” !
दोस्रो भारदार : उनीहरु राज्यका सबै कुनाकाप्चामा पुगेका हुन्, यो भन्दा अधिक के नै गरुन् र ?
पहिलो भारदार : हामीसँग धैर्यको विकल्प छैन । यतिबिघ्न बाधा सहनुको कुनै उपलब्धी रहेन । शायद, हामीलाई अकस्मात छोडेझैं, ऊ अकस्मात फर्किन पनि सक्छ ।
वृद्ध भारदार : जब दरबार छाड्दै गर्दा मैले उसलाई देखेको थिएँ, उसका आँखामा अनौठो दृष्टि थियो ।
पहिलो भारदार : अवश्य ! मैले पनि त्यस्तै देखेँ । वास्तवमा, मैले उसलाई “गाह्रो-पिरो केही छ ?” भनेर सोधेँ पनि ।
दोस्रो भारदार : के, उसले उत्तर दियो ?
पहिलो भारदार : एक शब्द, “छैन” !
( केहीक्षणको मौनता । हेलकन भित्र छिर्छ । ऊ प्याज चपाइरहेको छ । )
दोस्रो भारदार : ( उस्तै निरास मुद्रामा ) यी सबै अति तनावयुक्त छन् ।
पहिलो भारदार : अँ, सबै युवा यस्तै हुन्छन् ।
वृद्ध भारदार : शुभवचन ! उनीहरु कुरालाई गम्भिर रुपमा लिन्छन् । तर समयले हरचिजलाई सामान्य पार्दै लैजान्छ ।
दोस्रो भारदार : के तपाईंलाई त्यस्तो लाग्छ ?
वृद्ध भारदार : निःसन्देह ! एउटी मरेकी कन्याको लागि दर्जनौँ बाँचेका युवक मर्छन् ।
हेलकन : हँ ? उसोभए तपाईंलाई घटनाको पछाडि युवती थिई भन्ने लाग्छ ?
पहिलो भारदार : अरु के हुन सक्छ र ? खैर ! ईश्वरलाई धन्यवाद । दुःखको अन्त्य अवश्यम्भावी छ । के हामी मध्ये कै कोही उसका खातिर वर्षभरि आँसु चुहाएर बस्छौँ र ?
दोस्रो भारदार : म सक्दिनँ । कुनैपनि हालतमा ।
पहिलो भारदार : कसैले त्यसो गर्न सक्दैन ।
वृद्ध भारदार : जिन्दगी……. बाँची नसक्नुको हुनेछ, कसैले उसो गरेमा ।
पहिलो भारदार : साँच्चै । मलाई नै हेर्नोस् न, पोहोर श्रीमती गुमाएँ । कैयौं रात आँसु बगाएर उसलाई बिर्सेको हुँ । अहिले पनि, कहिलेकाहीँ हृदय भक्कानिएर आँउछ । तर, खुशी नै छु । त्यो कुराले आजकल ठूलो महत्व राख्दैन ।
वृद्ध भारदार : साँच्चै ! प्रकृति विशाल पाठशाला हो । क्रमशः बाँच्न सिकाँउछ ।
( चिरियाको प्रवेश )
पहिलो भारदार : अँ . . . ?
चिरिया : अहिलेसम्म पत्तो छैन ।
हेलकन : हेर्नोस् भद्रजन, चिन्ता वा विलापको कुनै औचित्य छैन ।
पहिलो भारदार : समर्थन !
हेलकन : चिन्ताले व्यथा निचोर्दैन । फेरि यो भोजनको समय पनि हो ।
वृद्ध भारदार : अवश्य ! हामी छायाँको शिकार गर्न सक्दैनौँ ।
चिरिया : मलाई खतरा महसुस भै’रहेको छ । तर, हरचिज आफ्नै लयमा गै’रहेको थियो । शासकको स्थानमा, ऊ आफैमा पूर्ण थियो ।
दोस्रो भारदार : हो नि ! वास्तवमा हामीले खोजेको जस्तै, ‘इमान्दार’ र ‘अदक्ष’ !
पहिलो भारदार : तर तपाईंलाई के आइपर्यो ? यतिबिध्न पिरोलिनुको कुनै तात्पर्य देख्दिनँ म ! हामीसँग उसमा परिवर्तन आउला भन्न सक्ने कुनै आधार पनि छैन । भनौँ न, उसले द्रुसिल्लालाई प्रेम गर्थ्यो । मात्र प्राकृतिक…… ऊ त उसकी बहिनी थिई । फेरि, मानौँ उसको ऊप्रतिको प्रेम दाइले गर्नेभन्दा कुनै हदसम्म बेसी थियो, तथ्य काफी छ ! यसमा म ठोकुवा गर्न सक्छु ! तर यो हल्ला दूर सम्म फिँजिदै छ, सम्पूर्ण रोम नै अचम्मित छ । किनकी त्यो केटी मरी ।
चिरिया : हुनसक्छ, तर, मलाई डर लागिरहेको छ, यो घटनाले मूर्झाइरहेको छ मलाई ।
वृद्ध भारदार : पक्कै पनि, हावा नलागी पात हल्लिँदैन ।
पहिलो भारदार : हरहालमा यो घटनालाई, राज्यको चासोको विषय हुनबाट रोक्नुपर्छ । उसको राज्यसँगको विछोड . . . मानौँ न, एउटा पश्चात्तापपूर्ण सामिप्यता । यसो हुनेमा कुनै सन्देह थिएन, तर यतिबध्न होला भनेर कल्पना भने गरिएको होइन ।
हेलकन : तपाईं कसरी भन्न सक्नुहुन्छ कि ‘द्रुसिल्ला’ यो सब हुनुको कारण हो भनेर ?
दोस्रो भारदार : अरु, को नै पो छ र ?
हेलकन : अहिलेसम्म तोकेर नै यो ‘ऊ’ भन्न सकिने अवस्था छैन । जब घटनाको समीक्षक चुनिन्छ, हरिलठ्ठक किन नरोज्ने, ठयाक्कै खोजेजस्तै ?
(युवा स्किपियोको प्रवेश। चिरिया ऊतर्फ लम्किन्छ । )
चिरिया : उसोभए ?
स्किपियो : बेखबर ! केही किसानले गएको राती यहीँ, रोम वरपर देखेजस्तो लाग्छ भनेका छन्, तुफानसँगै बत्तिएको ।
( चिरिया भारदारको पछि उभिन्छ, स्किपियो उसको । )
चिरिया : तीन दिन भयो, हैन त स्किपियो ?
स्किपियो : पक्कै पनि . . . म त्यहाँ थिएँ, सदाझैँ उसलाई पच्छ्याइरहेको । ऊ ‘द्रुसिल्ला’को लाससामु पुग्यो । आफ्ना दुई औँला बिस्तारै लासमाथि गाड्यो र विचारमग्न भई कतै हरायो, निकैबेरसम्म । त्यसपछि केहीबेर टहलिएर ऊ निस्क्यो, शान्त मुद्रामा. . . त्यसपछि त हामी सबैले उसलाई नै खोजिरहेका छौँ । वियोगमा . . .
चिरिया : ( मुन्टो हल्लाउँदै ) ऊ साहित्यमा अत्यन्त रुचि राख्ने जवान थियो ।
दोस्रो भारदार : अहो, तपाईंलाई थाहा छ ?… उसको उमेरमा . . .
चिरिया : उसको उमेरमा शायद, तर उसको स्थानमा भने होइन ! कलाकारिक शासक, पृथकता हो । म तपाईंलाई ठोकुवा गर्छु कि हामीले यस्ता एक वा दुई पायौँ, राज्यमा संकट मात्र आयो । तर अन्यलाई पूर्ण चेत थियो कि उनीहरु प्रजाका सेवक हुन् ।
पहिलो भारदार : यसले घटनालाई समयको लयसँगै बगाउन मद्दत गर्छ ।
वृद्ध भारदार : एक मानिस, एक काम । वास्तवमा हुनुपर्ने यो हो ।
स्किपियो : हामी के पो गर्न सक्छौँ र, चिरिया ?
चिरिया : केही सक्दैनौँ ।
दोस्रो भारदार : हामीसँग धैर्यको विकल्प छैन । यदि ऊ फिरेन भने, उत्तराधिकारी खोज्नुपर्ने हुन्छ । हामीबीच, योग्य व्यक्तिको कमी छैन ।
पहिलो भारदार : त्यो त छैन । तर उत्तम पुरुषको कमी भने छ ।
चिरिया : मानौँ… ऊ कुरुप भावमा फर्कियो भने ?
पहिलो भारदार : हो, ऊ एक मात्र उत्तम छ । हामीले उसलाई सहजता प्रदान गर्नेछौँ ।
चिरिया : यदि उसले गल्ती महसुस गरेन भने ?
पहिलो भारदार : ( हाँस्छ ) यदि उसो भएमा, मित्र, यो नबिर्सनु कि मैले कुनै समय विद्रोही घोषणापत्र लेखेको थिएँ । तपाईं सम्पूर्ण नियम त्यहाँ पाउनु हुनेछ ।
चिरिया : म एकपटक हेर्नेछु… यदि अवस्था त्यहाँसम्म पुग्यो भने ! तर मैले विशेषतः आफ्नो पुस्तक हेर्नु पर्नेछ ।
स्किपियो : एकैक्षण समय लिएँ, रिसानी माफ होस् . .
( स्किपियो, बाहिर निस्कन्छ । )
चिरिया : उनी रिसाए ।
वृद्ध भारदार : स्किपियो युवा छ, अक्सर युवाहरु एक–अर्काका समर्थक हुन्छन् ।
हेलकन : स्किपियोले कुनैपनि हालतमा मान्दैन ।
( राजकीय अङ्गरक्षक प्रवेश गर्छन् । )
सुरक्षाकर्मी : क्यालिगुलालाई राजउद्यानमा देखियो ।
( सबैजना बाहिर निस्कन्छन् । केही समयका लागि रङ्गमञ्च खाली हुन्छ । क्यालिगुला बिरालोको चालमा बाँयापट्टिबाट प्रवेश गर्छ । उसका खुट्टामा हिलो टाँसिएको छ, आभूषणमा फोहर पनि, कपाल भिजेको, ऊ असाध्यै चिन्तित देखिन्छ । उसले बारम्बार हातले मुख छोपिरहेको छ । त्यसपछि ऊ ऐनाको सामुन्ने पुग्छ, अचानक रोकिन्छ जब उसले, आफैँलाई ऐनामा देख्छ । केही समय फुसफुस आवाज निकाल्दै एक्लै गुनगुनाउँछ र दाँयातर्फ बस्छ । उसको हात घुँडामुनि हल्लिरहेको छ । हेलकन छिर्छ र निस्कन्छ । रङ्गमञ्चको पल्लो कुनोमा पुगेपछि क्यालिगुलालाई देखेर रोकिन्छ र मौन उभिन्छ । क्यालिगुलाले फर्केर उसलाई हेर्छ । एक छोटो मौनता कायम हुन्छ । )
हेलकन : ( रङ्गमञ्चको कुनाबाट ) शुभप्रभात क्याअस !
क्यालिगुला : ( सामान्य लवजमा ) शुभप्रभात हेलकन ।
( पुनः छोटो मौनता )
हेलकन : तपाईं थकित देखिनुहुन्छ नि ?
क्यालिगुला : म धेरैबेर हिँडें ।
हेलकन : अँ, तपाईं निकै समयअघि निस्कनु भएको थियो ।
( पुनः मौनता )
क्यालिगुला : भेट्न कठिन थियो ।
हेलकन : के कुरा भेट्न कठिन थियो ?
क्यालिगुला : जसका लागि म निस्केको थिएँ ।
हेलकन : तात्पर्य ?
क्यालिगुला : ( उस्तै लवजमा ) जून..।
हेलकन : के ?
क्यालिगुला : हो, म जून चाहन्थेँ ।
हेलकन : अँ . . .
( मौनता । हेलकन क्यालिगुला भएतर्फ आँउछ । )
अनि तपाईं किन चाहनुहुन्थ्यो जून ?
क्यालिगुला : हेर . . . त्यो पनि मैले नपाएको मध्येकै एक हो ।
हेलकन : अनि….. अब तपाईं सन्तुष्ट होइबक्सन्छ त ?
क्यालिगुला : अँह, मैले बुझ्नै सकिनँ ।
हेलकन : अति र्ददनाक !
क्यालिगुला : अँ, त्यसैले म थकित छु । ( चुप लाग्छ ) हेलकन !
हेलकन : भन्नुस् क्याअस ?
क्यालिगुला : निसन्देह ! तिमी मलाई पागल सम्झिरहेका छौ ।
हेलकन : तपाईंलाई राम्ररी थाहा छ नि, मैले त्यस्तो कहिल्यै सोच्दिनँ ।
क्यालिगुला : अँ, हो . . . सुन ! वास्तवमा म बौलाह होइन । मैले कहिल्यै महसुस गरिनँ ।
मलाई के भएको छ भन्ने कुरा अति सामान्य छ, अचानक ममा असम्भवका लागि आकांक्षा पलायो । बस् यति नै । ( रोकिन्छ ) वास्तवमा वस्तुहरु जे छन्, मेरो विचारमा, सन्तोष भन्दा ती धेरै पर छन् ।हेलकन : धेरैले तपाईंको विचार बाँड्छन् ।
क्यालिगुला : त्यो त हो । तर यी कुरा पहिल्यै, मैले महसुुस गरिनँ । अहिले बल्ल थाहा लाग्यो ।
( अझै पनि उस्तै सामान्य लवजमा ) साँच्चै, यो हाम्रो संसार, वस्तुपरक योजना जो मान्छेले भन्ने गर्छन्, साँच्चै असहनिय छन् । त्यसैले त म जून चाहन्छु, वा खुशी, वा सुवान्त सुखाय । केही… वास्तवमा, जुन सुन्दा अनौठो होस्, र यो भूगोलभन्दा परको होस् !
हेलकन : त्यो, मात्र सिद्धान्तमा मीठो सुनिन्छ । तर व्यवहारमा, कसैले पनि यसलाई निचोडसम्म वरण गर्न सक्दैन ।
क्यालिगुला : ( तन्किएर, तर अझैपनि पूर्ण सालिनताका साथ )
तिमी त्यहाँनेर गलत छौ । यसो किन लाग्छ भने, कसैले पनि यी नियमलाई अन्तयसम्म पच्छ्याउँदैनन् जबसम्म प्रतिफल भेटिँदैन । यहि कुराको त खाँचो छ, मैले जुनसुकै हालतमा पनि भन्नैपर्छ, कि वास्तवमा सत्य यहि हो ।
( हेलकनको अनुहारमा विचरण गर्छ )
म देख्न सक्छु, त्यो पनि, जुन तिमी सोचिरहेका छौ । एउटी महिलाको मृत्युमा सघन आपत्ति ! तर वास्तविकता अर्कै छ । म सम्झन्छु केही दिन पहिले मरेकी ऊ, जसलाई म असाध्यै प्रेम गर्थेँ । तर प्रेम, यो के हो ? एक जोडिएको तर्क मात्र । र म तिमीलाई वाचा गर्छु कि उसको मृत्यु यो सबको कारण होइन । यो सत्यको संकेत हो, जसले मेरा लागि अब ‘जून’ महत्वपूर्ण बनायो । बच्चाझैें सरल, वास्तविक, लगभग हाँस्यास्पद सत्य… तर जो असाध्यै तेल पेलेपछि मात्र भेटिन्छ र थेग्न फलामको चिउरा चपाउनु पर्छ ।
हेलकन : के म जान्न सक्छु त्यो के हो, जुन सत्य तपाईंले खोजी भेट्टाउनुभयो ?
क्यालिगुला : ( उसका आँखा मोडिन्छन्, लयविहीन स्वरमा ) मान्छे मर्छ, र उनीहरु खुशी छैनन् ।
हेलकन : ( छोटो मौनतापछि ) कुनैपनि हातलमा, क्यालिगुला, यो सत्य हो जुन अवस्थामा देखापर्छ, त्यति धेरै विघ्न रहित भएर । मात्र ती मानिसलाई हेर्नुहोस्, यो तपाईंको सत्यले उनीहरुलाई आनन्दसँग भोजन गर्नबाट रोक्दैन ।
क्यालिगुला : ( अचानकको आवेगसँग ) यो सबैले प्रमाणित गर्छ कि म झुटले, स्वभ्रमले घेरिएको छु । तर मलाई यी कुराले पुगिसक्यो । म इच्छा गर्दछु कि मानिसहरु सत्यको किरण स्पर्श गरी बाँचुन् । र मसँग उनीहरुलाई यो गर्ने बनाउने सामर्थ्य पनि छ ! म जान्दछु उनीहरुलाई के चाहिन्छ र के पाएका छैनन् । उनीहरु बोधरहित छन् र उनीहरुलाई शिक्षक चाहिएको छ, यस्तो कोही… जसले बुझोस् कि ऊ आफूले के भनिररहेछ ।
हेलकन : नरिसाइबक्स्योस् क्याअस । यदि मैले तपाईंलाई सुझावको शब्द दिएँ भने. . . तर त्यसले धैर्य गर्न सक्छ । पहिले, हजुरले आराम गर्नुपर्छ ।
क्यालिगुला : ( बिस्तारै बस्छ, उसको स्वर पुनः सामान्य हुन्छ । ) त्यो असम्भव छ । हेलकन, म उपरान्त कहिल्यै आराम गर्नेछैन ।
हेलकन : तर… किन ?
क्यालिगुला : यदि म सुतेँ भने, मलाई जून कसले ल्याइदिन्छ ?
हेलकन : ( मौनता केहीबेर ) त्यो सत्य हो ।
क्यालिगुला : ( यत्नका साथ उभिन्छ ) सुन हेलकन . . म खुट्टाको आवाज सुनिरहेछु, स्वर पनि । केही नबोल र बिर्स कि तिमीले मलाई देख्यौ ।
हेलकन : मैले बुझेँ ।
क्यालिगुला : ( पछाडि हेर्दै ढोकातर्फ जान्छ । ) र कृपया मलाई साथ देऊ र सहयोग गर, अहिलेदेखि नै ।
हेलकन : मैले सहयोग नगर्ने कुनै कारण नै छैन, क्याअस । तर मलाई असाध्यै कम कुरा थाहा छ, र अल्पज्ञानले मलाई आकर्षण गर्छ । म तपाईंलाई कुन कुरामा सहयोग गर्न सक्छु ?
क्यालिगुला : अँ मार्गमा . . . असम्भवको ।
हेलकन : म पूर्ण यत्न गर्नेछु ।
( क्यालिगुला बाहिर जान्छ । स्किपियो र क्यासोनिया हतारमा छिर्छन् । )
स्किपियो : कोही छैन ! तपाईंले उसलाई देख्नुभएन ?
हेलकन : नाइँ ।
क्यासोनिया : मलाई बताऊ हेलकन । के तिमी ढुक्कसँग भन्न सक्छौ कि जानुपूर्व उसले तिमीलाई केही बताएन ?
हेलकन : म व्यक्तिको रहस्य पर्दाफास गर्ने जासुस होइन । म उहाँको प्रजा हुँ । मात्र द्रष्टा । भविष्यको चिन्तक ।
क्यासोनिया : कृपया, त्यसरी नभन ।
हेलकन : प्रिय क्यासोनिया, क्याअस पूर्ण आदर्शवादी होइबक्सन्छ, जुन हामी सबैलाई थाहा छ । उहाँ आफ्नो सिद्धान्तको पुजारी हो, र कसैले पनि यकिन साथ भन्न सक्दैन कि सो कुराले उहाँलाई कहाँसम्म डोहोर्याउँछ . . . तर, तपाईंलाई आपत्ति छैन भने, म भोजनका लागि निस्कनेछु ।
(हेलकन बाहिर निस्कन्छ । )
क्यासोनिया : ( गाउँछे )
उहाँलाई जाँदै गर्दा दरबारका एक सैनिकले देखेको रहेछ ।
तर सम्पूर्ण रोमले क्यालिगुलालाई जताततै देख्छ ।
र क्यालिगुला,
स्वाभाविक रुपमा उहाँले आफ्नो विचार सिवाए केही देख्नुहुन्न ।
स्किपियो : कस्तो विचार ?
क्यासोनिया : म कसरी बताउन सक्छु, स्किपियो ?
स्किपियो : के तपाईं ‘द्रुसिल्ला’ बारे सोचिरहनु भएको छ ?
क्यासोनिया : शायद । एउटा तथ्य त सत्य छ, उहाँले उनलाई प्रेम गर्नुहुन्थ्यो । र त्यो बडो कृदन्त क्षण हुन्छ, जब आज कोही मर्छ जसलाई हिजोसम्म तपाईं अँगालिरहेको हुनुहुन्थ्यो ।
स्किपियोः ( खुइय.. सुस्केरा हाल्दै ) र तपाईं . . . ?
क्यासोनिया : म त दरबारकी, भरोसावान स्वामिनी हुँ । त्यो नै मेरो भूमिका हो ।
स्किपियो : क्यासोनिया, हामीले जसरी पनि उहाँलाई बचाउनु पर्छ ।
क्यासोनिया : उसोभए, तिमीले पनि उहाँलाई प्रेम गर्छौ ?
स्किपियो : हजुर । उहाँ मसँग असाध्यै भद्र हुँदै आइरहनु भएको छ । उहाँ मलाई प्रोत्साहन गर्नुहुन्छ, उहाँले सुनाएका केही कुरा मैले कहिल्यै पनि बिर्सने छैन । उहाँले मलाई भन्नुभएको थियो, जीवन सरल छैन, तर यसमा आनन्द छ । धर्म, कला, र प्रेम जो अरुमा झल्किएको हुन्छ । र उहाँले भन्नुभएको थियो कि मान्छेले जीवनमा गर्ने गल्ती एक मात्र छ, त्यो हो उनीहरु कसैको दुःखको कारण बनिदिन्छन् । उहाँले सिर्फ पुरुष बन्ने यत्न गर्नुभएको थियो ।
क्यासोनिया : ( उठेर ) ऊ सिर्फ बालक हो ! ( ऊ ऐनाको सामु पुग्छे र आँफैलाई नियाल्छे । ) त्यो एकमात्र ईश्वर…. जो मेरो तनभित्र छ, र अब मैले त्यो आफ्नो ईश्वरसँग क्याअसलाई पुनः फिर्ता पाउनका खातिर प्रार्थना गर्नुपर्छ ।
( क्यालिगुला छिर्छ । क्यासोनिया र स्किपियोलाई हच्किएको देखेर पुनः पछाडितर्फ धकेलिन्छ । सोहि समयमा धेरैका सङ्ख्यामा मानिस विपरित दिशाबाट प्रवेश गर्छन् । दरबारिया र नाट्यप्रमुख । उनीहरु केहीसमयका लागि रोकिन्छन् जब तिनको नजर क्यालिगुलामा पर्छ । क्यासोनिया फरक्क फर्किन्छे । ऊ र स्किपियो दुगुरेर क्यालिगुलाको सामु पुग्छन् । )
नाट्यप्रमुख : ( आत्तिएको लवजमा ) हामी . . . हामीले तपाईंलाई खोजिरहेका छौँ सम्राट, विभिन्न स्थानमा !
क्यालिगुला : ( झोँक्किएझैँ ) ए, थाहा पाएँ ।
नाट्यप्रमुख : हामी . . . मेरो मतलब . . .
क्यालिगुला : ( ककर्श आवाजमा ) तिम्रो मतलब के ?
नाट्यप्रमुख : हामी तनावपूर्ण थियौेँ, राजन !
क्यालिगुला : ( समिप पुगेर ) तिमी तनावपूर्ण हुने कारण के थियो ?
नाट्यप्रमुख : साँच्चै . . . अँ . . ( श्वास तानेर ) यथार्थमा, तपाईंलाई थाहा नै छ, राज्यको ढुकुटीसँग सम्बन्धित केही काम निम्ट्याउनु पर्ने छ ।
क्यालिगुला : ( जोडजोडले हाँस्दै ) अँ, हो त । ढुकुटी ! त्यसो पो ! प्रमुख महत्वको विषय, ढुकुटी !
नाट्यप्रमुख : हजुर, यथार्थ ।
क्यालिगुला : ( ऊ अझै हाँस्दै छ, क्यासोनियालाई सोध्छ ) के तिमी स्वीकार्दिनौ प्रिय ? ढुुकुटी नै सबैभन्दा महत्वपूर्ण तत्व हो !
क्यासोनिया : होइन क्यालिगुला । त्यो प्रमुख पक्ष होइन ।
क्यालिगुला : त्यसले तिम्रो अज्ञानता झल्काउँछ । हामी हाम्रो ढुकुटीमा असाध्यै चाख राख्छौँ । सबथोक महत्वपूर्ण छ, हाम्रो कर प्रणाली , नागरिक नीति, वैदेशिक कुटनीति, सैनिक हातहतियार, र कृषिका नियम । सबैथोकको अति महत्व छ । म तिम्रो विचार मान्दछु । र सबैथोकको बराबर अस्तित्व छ । रोमको सुन्दरता र तिम्रो टाउको दुखाई . . . अँ, साँच्ची, म मेरो दिमागलाई ती सबमा परिचालन गर्ने छु । र सुरु गरौेँ . . . अहिलेलाई सुन नाट्यप्रमुख …
नाट्यप्रमुख : हामी सुनिरहेका छौँ राजन् ।
( दरबारिया अगाडी आँउछ । )
क्यालिगुला : तिमी हाम्रो बफादार पात्र हौ, हैन त ?
नाट्यप्रमुख : ( कामेको स्वरमा ) ह..हजुर ! राजन . . .
क्यालिगुला : ठीक छ, म तिमीलाई केही कुरा भन्न चाहान्छु । हामी हाम्रो अर्थ प्रणालीमा पूर्णतया परिवर्तन ल्याउँदै छौँ । दुई तहमा । अनपेक्षित कायापलट ! म विस्तार गर्नेछु नाट्यप्रमुख . . . जब दरबारिया जान्छन् ।
( दरबारिया निस्कन्छन्, क्यालिगुला बस्छ । क्यासोनियाको आडमा, उसको हातभित्र आफ्नो हात घुसाएर )
क्यालिगुला : ल, मेरा कुरा टिपोट गर । हामीले यसबाट सुरुवात गर्नेछौँ । त्यो, यो हो कि, सबै दरबारिया जो राज्यभरि छन् उनीहरुसँग भएको सम्पतिको सानोभन्दा सानो अंश उनीहरुका सन्तानमा हस्तान्तरण हुने छैन र त्यो सम्पति राज्यको ढुकुटीमा संग्रहित हुनेछ ।
नाट्यप्रमुख : तर महाराज . . .
क्यालिगुला : मैले अझै तिमीलाई बोल्ने अनुमति दिएको छैन ! जसै आवश्यकताको महसुस हुनेछ, हामीले यिनीहरुलाई मार्नुपर्नेछ । उनीहरुको मृत्युको क्रमानुसार सूची समेत निर्माण गरौँ । जब आंकाक्षा पुरा हुन्छन्, हामी सिद्धान्त परिवर्तन गर्न सक्छौँ । र पक्कै पनि, हामी उनीहरुको पूँजीलाई जफत गर्नेछौैँ ।
क्यासोनिया : ( आफ्नो हात तानेर ) तर , तपाईंमाथि के आइलाग्यो ?
क्यालिगुला : वास्तवमा उनीहरुको बहिर्गमन आदेशको कुनै महत्व छैन । तर पक्कै, यी सबै योजनाको बराबर महत्व छ । वास्तवमा ती सबैजना बराबरवाला छन्, त्यसैले ती सबै बराबर दोषी छन् !
( नाट्यप्रमुखलाई, आज्ञार्थी मुद्रामा ) तिमीले यो राजाज्ञाको राज्यभर तुरुन्त प्रचार गर र हेर, यो तत्काल कार्यान्वयन हुन्छ । राज्यका निवासीलाई यो नियममाथि आज साँझ नै हस्ताक्षर गर्न लगाऊ र महिनाभरमा पूर्णतः कार्यान्वयन हुनुपर्छ । आफ्ना सूचना-अधिकारीलाई तत्काल खटाई हाल !
नाट्यप्रमुख : राजन्, मेरो आश्चर्य छ, यदि तपाईंले महसुस गर्नुभयो . . .
क्यालिगुला : मैले महसुस गरेँ. . . ? अरे राम्ररी सुन्, मूर्ख ! यदि धनको महत्व अत्याधिक छ भने, मानव जीवनको केही हुँदैन । यो तेरो लागि बोध्य छ । तैँले जसरी सोच्ने मानिसहरु मेरो आज्ञालाई शिरोपर गर्न विवश छन्, र धन नै एक चिज हो जुन गन्य छ र उनीहरु वा अरु कसैको जीवनको कुनै महत्व छैन । म तार्किक हुन दृढ छु र मसँग मेरो इच्छापूर्तिको निमित्त ताकत छ । अहिले तैँले देख्नेछस् कुन तर्कले तँलाई पिरोल्ने छ ? म विरोधाभास र विरोधीलाई निमेट पार्ने छु । यदि आवश्यक देखिएमा, म तँबाट नै सुरु गर्नेछु !
नाट्यप्रमुख : राजन्, मेरो कर्मले तपाईंलाई विश्वास दिलाउनेछ । यो म प्रण गर्छु ।
क्यालिगुला : र मेरो पनि, जुन म ठोकुवा गर्छु । हेर न, तिम्रा कुराहरु मनन गर्न म कति तयार छु, र मेरो योजनामा अर्थलाई प्रमुख स्थान बनाउन पनि । साँच्चै तिमीले मप्रति गर्व गर्नुपर्छ । म तिम्रो तास तिम्रै हातले खेलिरहेछु ।
( रोकिन्छ, भावुकतारहित लवजले निरन्तरता दिन्छ । )
जुनसुकै हालतमा मेरो साधारण योजनामा प्राज्ञिकता भेटिन्छ जसले यिनीहरुलाई मूर्तरुप दिन्छ । म तिमीलाई निस्कनका लागि तीन सेकेन्ड समय दिन्छु । एक . . .
( नाट्यप्रमुख फट्सँग बाहिर निस्कन्छ । )
क्यासोनिया : तपाईं नै हो भनेर मैले विश्वास गर्न सकिरहेको छैन । तर यो त मजाक थियो, हैन त ? जुन तपाईंले उसलाई भन्नुभएको थियो ।
क्यालिगुला : त्यस्तो होइन, क्यासोनिया । यस्तो भनौँ, सिकाइ नै शील्प हो ।
स्किपियो : तर, क्याअस. . यो . . . यो असम्भव छ ।
क्यालिगुला : यो नै सत्य, तथ्य हो ।
स्किपियो : म त्यो अनुसरण गर्दिनँ ।
क्यालिगुला : म दोहोर्याउँछु कि, त्यो नै मेरो कुरा हो । म असम्भवमाथि प्रयोग गरिरहेको छु । वा, अझ भन्नुपर्दा, प्रश्न नै यहि छ कि असम्भवलाई सम्भव बनाउने ।
स्किपियो : तर, यो खेलले…. जेपनि निम्त्याउन सक्छ । यो त पागलको हरकत हो !
क्यालिगुला : अहँ, होइन स्किपियो । एक शासकको उद्देश्य हो ।
( ऊ स्थानबाट केही पछाडी सर्छ ) अँ, मेरो प्रिय, अन्तिममा मैले परमता देखेँ । यसले असम्भवलाई खोतल्न प्रेरित गर्छ । आजको दिनदेखि जबसम्म म बाँच्छु, मेरो स्वतन्त्रतामा कुनै सीमा छैन ।
क्यासोनिया : ( निराश भएर ) मलाई शंका छ कि यो तपाईंको खोजले हामीलाई कुनै सुख दिनेछ ।
क्यालिगुला : मलाई पनि । तर, मलाई लाग्छ कि हामीले यसरी नै बाँच्नु पर्नेछ ।
( चिरियाको प्रवेश । )
चिरिया : मैले भर्खरै तिम्रो आगमनको खबर सुनेँ । मलाई विश्वास छ तिम्रो स्वास्थ्य उस्तै छ, जस्तो हुनुपर्थ्यो ।
क्यालिगुला : मेरो स्वास्थ्य पूर्णतः ठीक छ । ( रोकिन्छ, तर तत्कालै ) हामीलाई छोडिदेउ चिरिया, म तिमीलाई हेर्न चाहन्नँ ।
चिरिया : साँच्चै, क्याअस ? म आश्चर्यमा छु….
क्यालिगुला : आश्चर्य मान्नुपर्ने कुरै छैन, मलाई लेखक मन पर्दैन, र म झुट बर्दास गर्न सक्दिनँ ।
चिरिया : यदि हामी लेखकले झुट बोलेकै भए, त्यो नजानेर बोलेको हो । र म निवेदन गर्छु, म दोषी छैन ।
क्यालिगुला : झुट कहिल्यै दोषमुक्त हुँदैनन् । र मानिस र वस्तुप्रतिको तिम्रो अतिशयोक्ति ! त्यसका लागि, म तिमीलाई माफ गर्न सक्दिनँ ।
चिरिया : र अहिलेसम्म, हामीसँग संसार एक मात्र छ, यसैकारण पनि म बिन्ती किन नबिसाऊँ ?
क्यालिगुला : तिम्रो बिन्ती अति नै विलम्ब भयो, फैसला भइसकेको छ. . . यो संसारको कुनै महत्व छैन, एकपटक मात्र मान्छेले यो कुरा महसुस गर्यो भने उसले आफ्नो स्वतन्त्रता प्राप्त गर्नेछ ।
( उठेर ) र त्यसैले म तिमीलाई घृणा गर्छु, तिमी र तिमीजस्तालाई, किनकी तिमी स्वतन्त्र छैनौ । तिमीले मभित्र यो साम्राज्यभर कै एकमात्र स्वतन्त्र मानिस देख्छौ । तिमीले त गर्व गर्नुपर्छ कि आखिर तिमीमाझ एउटा शासकले स्वतन्त्रताको मार्गनिर्देश गरिरहेछ । मलाई छाडिदेउ चिरिया, र तिमीपनि स्किपियो, जाऊ- मित्रताको खातिर । जाऊ, दुवैजना, र यो सूचना रोमभर फैलाऊ कि अन्त्यमा उनलाई स्वतन्त्रता प्रदान गरियो, र त्यो उपहार एउटा भव्य परखबाट आरम्भ हुन्छ !( उनीहरु निस्कन्छन् । क्यालिगुला कतै टाढा हेर्छ, आँखा बटारेर । )
क्यासोनिया : रोएको ?
क्यालिगुला : उम्, क्यासोनिया ।
क्यासोनियाः तर, आखिरमा, तपाईंको जीवनमा के चाहिँ परिवर्तन भयो र ?
शायद तपाईं ‘द्रुसिल्ला”लाई प्रेम गर्नहुन्थ्यो, तर अरुलाई पनि त माया गर्नुहुन्थ्यो, जसमध्ये म एक हुँ । पक्कै पनि त्योमात्र कारण थिएन जसले तपाईंलाई तीन दिन, तीन रातसम्म गाँउ–गाँउमा भट्कने बनायो र यो हालमा हामीबिच फर्काइल्यायो. . . यो तपाईंको मुहारमा झल्किरहेको क्रुर भाव ?
क्यालिगुला : ( उसको वरिपरि घुमेर ) यो के वाहियात हो ? किन ‘दुर्सिल्ला’लाई बीचमा ल्याउने ? के तिमीले सोच्ने गर्छ्यौ कि प्रेम मात्र एक यस्तो तत्व हो जसले पुरुषको आँखालाई रुझाउँछ ?
क्यासोनिया : मलाई माफ गर्नुस् क्याअस । म केवल बुझ्ने यत्न गरिरहेकी थिएँ ।
क्यालिगुला : पुरुष रुन्छन् किनकी . . .यो संसार गलत छ । ( क्यासोनिया उसको समिप आँउछे ) होइन, क्यासोनिया । ( पुनः पछाडि नै सर्छे ) तर, मेरो समिपै बस ।
क्यासोनिया : म तपाईंले जे इच्छा गर्नुहुन्छ त्यहि गर्नेछु ।
( क्यासोनिया छेउमा बस्छे )
मेरो उमेरमा हरेकले बुझ्छ कि जीवन एक तिक्तता हो । तर किन यसलाई जानाजान हृदयविदारक बनाउने ?
क्यालिगुला : होइन, यो ठीक होइन; तिमी बुझ्नै सक्दिनौ । तर के को पर्बाह ? शायद म उपाय खोज्नेछु । मात्र, म आफूभित्रै जिज्ञासु छु, र यदि वस्तुप्रतिको वितृष्णाले ज्ञानतर्फ धकेलिरहेको छ भने, यो विषयमा म केही गर्न सक्दिनँ ।
( उसको नजिक जान्छ )
हेर, क्यासोनिया, मलाई थाहा छ कि पुरुषले पीडा महसुस गर्छन् तर मलाई यो के हो थाहा छैन । अरुजस्तै म भन्छु कि यो बिमारी मस्तिष्कको भेद हो, अरु केही होइन । तर होइन, यो मेरो शरीर पीडामा छ । जताततै पीडा, मेरो छातिमा, पाउमा र हातमा । मेरो छालासमेत शूष्क छ, टाउकोमा रिँगटा, वाकवाक लागिरहेछ । तर सबैभन्दा बिजोक त यो मुखको स्वादले पारेको छ । खुन हैन, न मुत्यु न त बिफर नै । बरु यी तीनैको मिश्रण छ । मैले मेरो जिब्रो मात्र चलाउनुपर्छ, सारा जगत अन्धकार हुन्छ, सबैजना . . . डरलाग्दा देखिन्छन् । कति गाह्रो, कति क्रुर छ यो प्रकिया, पुरुष हुनुको !
क्यासोनिया : तपाईंलाई जे को आवश्यकता छ प्रिय, त्यो हो सहि…. र दीर्घ निद्रा । तपाईं आफूलाई केही आराम दिनुहोस् र उल्लिखित सबथोक बारे सोच्न छाडिदिनोस् । म तपाईंकै आडमा रहनेछु तपाईं निदाएको बखत । र जब तपाईं ब्यूँझनु हुनेछ तपाईंले बुझ्नु हुनेछ कि विश्वले आफ्नो रक्षक भेट्टाएको छ । त्यसपछि राम्रो कर्मका लागि तपाईंले आफ्नो शक्तिको प्रयोग गर्नु पर्नेछ । जुन कुरा हजुरलाई अहिले प्रेमिल लागेको छ, त्यसलाई अझ प्रेम गर्नका खातिर…. सम्भावनाको लागि पनि, यो अवसरको लागि त्यो योग्य छ ।
क्यालिगुला : अँ, त्यसका लागि मलाई निद्राको आवश्यकता छ, तर त्यस खातिर म प्रस्थान गरुँ- यो असम्भव छ ।
क्यासोनिया : जब मानिस अति थकित हुन्छन् यो सोच्छन् कि… त्यस्तो समय आँउछ, जतिबेला हात पुनः सशक्त भइसकेका हुन्छन् ।
क्यालिगुला : तर शक्ति… उसले बुझ्नुपर्छ कहाँ प्रयोग गर्ने भनेर । फेरि मेरा हकमा बलियो हातको काम नै के छ र, त्यो मेरो अद्भूत उर्जाको काम के, यदि म सूर्यलाई पूर्वमा अस्ताउने बनाउन सक्दिनँ भने, यदि म पीडालाई दबाउन र मृत्युलाई मार्न सक्दिनँ भने ? होइन क्यासोनिया, यो सबै एकै हो… चाहे म सुतूँ वा ब्यूझूँ । मसँग वस्तुको प्रकृति खल्बलाउन सक्ने शक्ति छैन ।
क्यासोनिया : तर यो पागलपन हो, मात्र पागलपन । यो मर्त्यलोकमा देव हुन खोज्नु हो ।
क्यालिगुला : उसोभए तिमीलाई पनि यो लाग्छ कि म पागल हुँ ? र आखिर, ईश्वर त्यस्तो के चिज हो जसको बराबरी मैले गर्नु पर्नेछ ? होइन, त्यो त केही विशेष कुरा हो, ईश्वर भन्दापनि धेरै माथिको कुरा, जो मेरो प्राप्तिको उद्देश्य बनेको छ । जसका लागि मेरो श्वास र मुटु चलिरहेको छ । म त त्यो राज्य छिन्दै छु, जहाँ अहिले असम्भवले राज गरिरहेको छ ।
क्यासोनिया : तपाईं आकाशलाई आकाश हुनबाट रोक्न सक्नुहुन्न, वा कुनै युवकको मुहारलाई चाउरिनबाट, वा मानिसको हृदयलाई चिसिनबाट ।
क्यालिगुला : ( बडो उत्तेजनाका साथ ) म चाहन्छु. . . म आकाशलाई समुंद्रमा मिलाउन चाहन्छु, कुरुपतालाई सुन्दरतासँग संयोजन गर्न र पीडाले हाँसो लेख्न ।
क्यासोनिया : ( उसलाई हेरेर ) म मान्छु यहाँ ठीक छन्, बेठीकपनि.. विराट र सुक्ष्मपनि, न्याय र अन्यायपनि । तर म तपाईंसँग किटेर भन्न सक्छु कि, यी कुराहरु कहिल्यै परिवर्तन हुने छैनन् ।
क्यालिगुला : ( उस्तै लवजमा ) र म परिवर्तनका लागि कटिबद्ध छु . . . मैले यो हाम्रो युगलाई उपहारको युग बनाउने छु । त्यो समानताको उपहार हुनेछ । र जब यो सबैको तहिकरण हुनेछ, असम्भव पृथ्वीमा ओर्लने छ र जो मेरो हातमा हुनेछ, त्यतिबेला शायद, म परिवर्तन हुनेछु र विश्व पुनः चल्नेछ । त्यसपछि, मानिस कहिल्यै मर्ने छैनन् र अन्त्यमा खुशी हुनेछन् ।
क्यासोनिया : ( सुँकसुँकाएर ) र प्रेम ? पक्कै पनि तपाईं भूतकालको प्रेमका लागि तड्पिनु हुनेछैन !
क्यालिगुला : ( रिसले चुर भएर ) प्रेम, क्यासोनिया !
( क्यासोनियालाई काँधमा समातेर झट्काउँछ ) मैले प्रेमको सत्य सिकिसकेको छु । यो केही हैन, केहीपनि हैन ! त्यो मानिस सहि थियो, तिमीले सुन्यौ नि उसले के भन्यो, सुनेनौ त ? यहाँ मात्र धन गन्य छ… ढुकुटी ! सबैथोकको आधारस्तम्भ । र अहिले, अन्त्यमा आएर म बाँचें, साँच्चै बाँचें । र बाँच्नु, हेर प्रिय, यो प्रेमको विपरितार्थी छ । मलाई थाहा छ कि म के भनिरहेछु भनेर, र म तिमीलाई त्यस सर्वसुन्दर प्रदर्शनीको साक्षातकार गर्नका खातिर निमन्त्रणा गर्दछु, स्वयं ईश्वरपनि चकित हुनेछन्, र सम्पूर्ण जगतलाई बोलाइने छ त्यो न्यायको दिन ! तर त्यसका लागि मलाई भव्य भीड चाहिन्छ, दर्शक, पीडित, अपराधी, हजारौं हजारका संख्यामा ।
( ऊ ढोलको नजिक कुद्छ र हथौडा उठाएर त्यसलाई मस्तसँग पिट्छ । छिटोभन्दा छिटो )
दोषी अघि बढुन् । म मेरा कैदी चाहन्छु, र ती सबै नै अपराधी हुन् । ( अझै ढोल पिट्दै ) अपराध प्रमाणित भएकाहरुलाई भित्र पठाऊ । मैले मेरा प्रजा पनि राख्नुपर्नेछ, न्यायाधीस, प्रत्यक्षदर्शी, दोषी – ती सबैलाई विना सुनुवाई फाँसी दिइनेछ । हो, क्यासोनिया, म उनीहरुलाई त्यो देखाउने छु जो तिनले यसअघि कहिल्यै देखेका छैनन्, त्यो… एक मात्र रोम साम्राज्यको स्वतन्त्र मान्छे ।
( दरबार भर ध्वनीको उच्च प्रसारण हुन्छ, मान्छेमा आवाज, हतारिएका र बिस्तारै चलेका खुट्टाका आवाज, नजिक आइरहेका, सघन भै’रहेका, केही सैनिक प्रवेश गर्छन् र तत्काल निस्कन्छन् । )
क्यालिगुला : र तिमी, क्यासोनिया, तिमी मप्रति बफादार हुनेछ्यौ । अन्त्यसम्म मेरो आडमा बसेर सहायता प्रदान गर्नेछ्यौ । यहाँ अद्भूत हुनेछ, तिमीले देख्नेछ्यौ । मलाई साथ दिने वाचा गर, क्यासोनिया ।
क्यासोनिया : मैले वाचा गर्नुपर्दैन । तपाईंलाई थाहा छ म हजुरलाई प्रेम गर्छु ।
क्यालिगुला : ( उस्तै आवाजमा ) तिमीले म जे भन्छु सबथोक गर्नेछ्यौ ।
क्यासोनिया : सबै, सबै क्यालिगुला । तर बिन्ति यो रोक्नुस् . . .
क्यालिगुला : ( अझै ढोल पिट्दै ) तिमी क्रुर हुनेछ्यौ ।
क्यासोनिया : ( रुँदै ) क्रुर…
क्यालिगुला : ( अझै ढोल पिट्दै ) पीडक र निर्मम ।
क्यासोनिया : निर्मम ।
क्यालिगुला : र तिमी पनि तड्पिने छ्यौ ।
क्यालिगुला : हो, हो तर बिन्ती . . . म…. म पागल बन्दैछु…
( केही दरबारिया छिर्छन् र सुसारे पनि । सबै चिन्तित देखिन्छन् र आत्तिएका पनि । क्यालिगुलाले अन्तिम पटकका लागि ठटाएर ढोल पिट्छ, ढोल पिट्ने भाँडि उठाउँछ, घुमाउँछ, र आएकालाई राता-राता आँखाले हेर्दै, बहुलाएको आवाजमा….)
क्यालिगुला : यता आऊ ! तिमीहरु सबैजना !! नजिक …. अझ नजिक !!!
( अधीर भएर ) छिटो ! र तिमी क्यासोनिया, मेरो आडमा आऊ ।
( क्यासोनियाको हात समातेर तान्छ, ऐनाको सामु लगेर हातको भाँडिले ऐना ठोक्छ र अट्टहास हाँस्छ )
सबै गए । तिमीले देख्यौ प्रियतमा ? सबै सम्झनाको अन्त्य भयो, अब कुनै नकाब छैन । केही छैन । केही छैनन् । केही ? अहँ, यो सत्य होइन । हेर, क्यासोनिया, यता आऊ, तिमी सबैले हेर . . .
( ऊ आँफैले आँफैलाई फोरिएको ऐनाको फ्रेममा उभ्याउँछ, असाध्यै कुरुप मुद्रामा )
क्यासोनिया : ( डरले ऐनामा हेर्दै ) क्यालिगुला !
( क्यालिगुलाले सिसामा औँला राख्छ, ऊ एकतमासले हेरिरहन्छ र नूतन गर्वको ठाँटमा बोल्छ )
क्यालिगुला : हो. . . .क्यालिगुला !
पर्दा
दृश्य
तीनवर्ष पछि
चिरियाको घरको एउटा कोठामा, जहाँ दरबारीया गुपचुपमा भेला हुने गर्छन् ।
पहिलो भारदार : उसको हामी माथिको व्यवहार ! यो त अति भो ।
वृद्ध भारदार : ऊ मलाई सबैका सामुन्ने प्रियतमा भनेर बोलाउँछ, तिमीलाई थाहा छ नि यो सब मेरो मजाक उडाउन गरेको हो उसले । उसको लागि मृत्यु नै अति उत्तम छ ।
पहिलो भारदार : र जब ऊ गाँउगाँउमा भ्रमण गर्छ, हामीलाई कठपुतली बनाएर आफूले फालेका कचडा टिप्न अह्राउँछ ।
दोस्रो भारदार : ऊ भन्छ कि अभ्यासले हामीलाई राम्रो गर्नेछ ।
वृद्ध भारदार : यसरी व्यवहार गर्नु माफीभन्दा बाहिरको कुरा हो । अति भो ।
तेस्रो भारदार : तपाईंले भनेको सोह्रै आना सहि हो, यस्तो व्यवहार गर्नेलाई कसले पो माफी देला र ?
पहिलो भारदार : उसले तिम्रो सर्वस्वहरण गर्यो पार्टिसियस, अनि स्किपियो, तिम्रो बाबुलाई मार्यो । हेर अक्टाभियस, उसले तिम्रो श्रीमतिलाई भोग गर्यो र अन्त्यमा सार्वजनिक वेश्यालयमा वेश्यावृत्ति गर्न बाध्य पार्यो । लेपिडसको छोरालाई पनि मार्यो । म तपाईं भद्रजनलाई प्रश्न गर्छु कि, के यो सब सहन सक्नुभएको छ तपाईंहरुले ? म, मैले त कुनैपनि हालतमा आफ्नो निर्णय पुरा गर्ने कसम खाएको छु । मलाई थाहा छ, यसमा कति जोखिम छ भनेर, तर मलाई योपनि थाहा छ कि यस्तो त्रासमा बाँचिरहेको जीवनको कुनै अर्थ छैन । वास्तवमा यो, मृत्युभन्दा पनि भयानक छ । हो, मैले भनिसकेँ नि मैले मनस्थिति बनाइसकेको छु ।
स्किपियो : उसले मेरो मनस्थिति यो बनाईदिइसकेको थियो कि ऊ मेरो बुबालाई मार्नेछ ।
पहिलो भारदार : उसोभए ? के तिमी अझ आनाकानी गर्न सक्छौ ?
लडाकु : अहँ, हामी तपाईंको साथमा छौँ । उसले अखडाको हाम्रो संरचनालाई सार्वजानिकरण गरेको छ, र हामीलाई विवश, दर्जनौँ मानिससँग भिड्न लगाउँछ । त्यो पनि नगरेको गल्तीको सजाय दिन ।
वृद्ध भारदार : त्यो नामर्द हो !
दोस्रो भारदार : एक अत्याचारी !
तेस्रो भारदार : एक पटमूर्ख !
वृद्ध भारदार : ऊ शक्तिहिन छ, यो उसको समस्या हो, मैले यो भन्नुपर्छ ।
( दोधारमा परेजस्तो दृश्य, हातहतियार नचाउन चाल्छन्, र ढोकातिर लम्किन्छन् । ठीक त्यहि समयमा चिरिया प्रवेश गर्छ, सधैँझैं गौण, र उनीहरुको आवेग नियाल्छ । )
चिरिया : यो सबै के का लागि हो ? तिमीहरु कहाँ जाँदै छौ ?
पहिलो भारदार : दरबारमा ।
चिरिया : ए, हो । र म किन भनेर अनुमान लगाउन सक्छु । तर के तिमीहरुलाई भित्र छिर्न दिन्छन् जस्तो लाग्छ ?
पहिलो भारदार : यहाँबाट निस्कनलाई सोध्नुपर्ने कुनै प्रश्न नै छैन ।
चिरिया : लेपिडस, कृपया त्यो ढोका बन्द गरिदेऊ ।
( ढोका बन्द हुन्छ, चिरिया उत्तानो पारिराखेको टेबलको कुनापट्टि बस्छ । अरु ऊ भएतर्फ फर्किन्छन् । )
यो तपाईंहरुले सोचेजस्तो सजिलो कुरा होइन मित्रगण, तपाईंहरु डराउनुभएको छ र डरले आँट र लगावको स्थान कहिल्यै लिन सक्दैन । छोटकरीमा भन्दा तपाईंहरु, मात्र आत्तिनुभएको छ ।
एक आवाज : बस् पुग्यो , पट्यारलाग्दो कुरा सुन्नु छैन ।
चिरिया : (उठेर ) म मान्छु । हामी तथ्यलाई केलाएर हेरौँ । तर पहिले, म आफैलाई स्पष्ट पार्छु । यधपि: म तपाईंहरुसँग छु, म तपाईंहरुसँग छैन पनि । त्यहि न हो मैले सोचेको जुन गलत कदम तपाईंहरु चाल्न खोजिरहनु भएको छ । तपाईंहरुले शत्रूको सामर्थ्य नाप्नुभएको छैन, त्यो जायज पनि छ, ऊप्रति सानो उद्देश्य राख्नुभएको छ । तर क्यालिगुलाको लागि सानो कुराले केही गर्दैन र तपाईंहरु पछारिनका लागि उक्लँदै हुनुहुन्छ । तर तपाईंहरुलाई यदि ऊसँग युद्ध गर्नु नै छ भने उसको वास्तविकता जान्न त्यो युद्ध गर्नुहोस् ।
आवाज : उसको वास्तविकता जानेका छौँ हामीले, . . एक पागल तानाशाह ।
चिरिया : होइन, हामीसँग कैयौं पागल शासकसँगको अनुभव पनि छ । तर यो पागलपन होइन । र उसको बारेमा मैले घृणा गर्ने कुरा यो हो कि, उसलाई यो जान्दछ कि, ऊ आफू के चाहन्छ !
पहिलो भारदार : र हामी पनि ! हामी जान्दछौँ कि ऊ हामी सबैको हत्या गर्न चाहन्छ ।
चिरिया : तपाईं गलत हुनुहुन्छ । यहाँनेर मृत्यु त बस् एउटा परोक्ष असर मात्र हो । उसले आफ्नो शक्तिलाई असम्भवको सेवामा प्रयोग गरेको छ, उसको त्यसप्रतिको लगाव अद्भूत छ । र हामी हाम्रो डरले भ्याएसम्म सबैथोक जोखिममा हालिरहेका छौँ ।
यो सत्य हो, रोममा एक व्यक्तिले शक्ति आफ्नो मुठीमा केन्द्रित गरेको पहिलो पल्ट होइन । तर यो भने पहिलो पल्ट हो कि उसले शक्तिको प्रयोगमा कुनै सीमारेखा खिचेको छैन जसले ती चिजहरुलाई चुनौती दिँदै आइरहेको छ, जसलाई हामी पवित्र मान्दछौँ । र क्यालिगुलाको यही कुराले मलाई भयचकित पार्दछ र म लड्न चाहान्छु, योसँग !
कसैको ज्यान जानु ठुलो कुरा होइन, एकदिन त्यो समयपनि आउँछ जतिबेला मपनि त्यसकै लागि साहस बटुल्छु । बरु असह्य त यो हो कि कसैको जीवनबाट उसको बाँच्नुको औचित्य चुहिँदै गएको बस् हेर्न मात्र सक्नु ! कसैलाई यो बुझाइदिनु, कि बाँच्नुको पछाडि कुनै कारण छैन । मानिस विनाकारण बाँच्न सक्दैन ।
पहिलो भारदार : बदला नै उत्तम कारण हो ।
चिरिया : हो, र मेरो उद्देश्यपनि यसमा साझेदारी गर्नु हो । तर मैले थाह दिनैपर्छ कि यो तपाईंहरुको पक्षमा छैन जसले तपाईंहरुको अपमानको बदला चुकाओस् । होइन, यदि म तपाईंहरुसँग मिल्छु भने, त्यो ठूलो सिद्दान्तसँगको लडाइँ हुनेछ- एउटा आदर्श महासंग्राम, तपाईंलाई पनि यो मनपर्छ भने, जसको विजय भन्नु नै सबथोकको अन्त्य हुनेछ ।
म हेर्न सक्छु, तपाईंमाथिको मजाक पनि ! तर मलाई यो असह्य छ कि क्यालिगुला आफ्नो सिद्धान्तलाई अन्तिमसम्म पूरा गरोस् । ऊ आफ्नो दर्शनलाई कंकालमा परिणत गर्दै छ । र हाम्रो लागि दुर्भाग्य यो छ कि, यो यस्तो दर्शन हो जुन सुरुदेखि अन्त्यसम्म तार्किक छ । कुनै एउटापनि चालमाथि, कसैगरी खण्डन सम्भव छैन ।
आवाज : हो । हामीले कदम चाल्नुपर्छ ।
चिरिया : म मान्छु कि हामीले आवाज उठाउनुपर्छ । तर पूर्णतया शक्तिमा रहेको एक पागल शासका विरुद्ध सिधै युद्धमा उत्रिनु व्यर्थ छ । तपाईं एक क्रुर अत्याचारीका विरुद्धमा पाखुरा सार्न सक्नुहुन्छ, आफ्नो लाभ नचिताइकन अर्काको कुभलो चाहनेसँग भिड्न ठिक्क परिदिनुपर्छ । तपाईं मात्र इच्छामा रमाउन वा उसको सिद्धान्तको पुजारी बन्न सक्नुहुन्छ, र समय कुरेर कतै बाहिर भूमिगत हुन सक्नुहुन्छ ।
तपाईंहरुले देखिसक्नु भयो, मलाई सिधा कुरा गर्न मनपर्छ, र म तपाईंहरुलाई चेतवानी दिन्छु कि म तपाईंहरुसँग मात्र एक पटक सँगै हुनेछु । त्यसपछि, तपाईंहरुको व्यक्तिगत इच्छाको पछि म दौडिने छैन, म मात्र यो चाहन्छु कि अर्थ हराएको शान्ति फर्कियोस् । मलाई आकांक्षाभन्दा डरले लगाम लगाएको छ, मेरो अमानवीय दृष्टिकोण प्रतिको डर, जहाँ मेरो जीवनको मूल्य भूइँको धुलो बराबर पनि छैन ।
पहिलो भारदार : ( उसको नजिक पुगेर ) तपाईं के भनिरहनुभएको छ भन्ने कुराको सम्बन्ध म भेट्टाउँछु चिरिया । खैर ! ठुलो कुरा यो छ कि तपाईंले पनि सम्पूर्ण समाज र जीवन त्रासमा छ भन्ने कुराको अनुभूति गर्नुभयो । भद्रजन, मसँग सहमत हुनुस्, मैले मानेँ, हाम्रो शासकीय उद्देश्य नै हाम्रो नैतिक व्यवस्थाको हुनुपर्छ । मान्छेका परिवार सकिँदै छन्, मान्छेले इमानदार कर्मप्रति आदरभाव दर्शाउन छाडिसके, अनैतिकताको लहरले राज्यलाई बढारिरहेको छ । हामी मध्ये को बहिरो बन्न सक्छ ? ती पूर्खाको पुकार नसुनी बस्न को सक्छ ? साथीहरु, के तपाईंहरु उसको डरका कारण दरबारीया दासझैं राज्य छोडेर भागिरहेको टुलुटुलु हेरिरहन सक्नुहुन्छ ?
वृद्ध भारदार : के दरबारीयालाई प्रियतम भनेर सम्बोधन गरेको सहन सक्नुहुन्छ ?
एक आवाज : र श्रीमती खोसिएको हेरिरहन सक्नुहुन्छ ?
अर्को आवाज : कसैको सर्वस्वहरण पनि ।
सबैजनाले एकैसाथ : अँह
पहिलो भारदार : चिरिया, तपाईंको सुझाव राम्रो हो, र तपाईंले हाम्रो आवेगलाई शान्त पार्ने काम राम्ररी गर्नुभयो । समय अझै पाकिसकेको छैन, अझैपनि भीड हाम्रो पछि लाग्ने छैन । के तपाईं उत्तम मौकाको खोजिसँगै विद्रोह गर्न र गरिरहन हामीलाई साथ दिनुहुन्छ ?
चिरिया : पक्कै, अहिलेलाई क्यालिगुला आफ्नो सपनाको पछि लागिरहोस् । वा उसलाई आफ्नो जङ्गली सोच पूरा गर्न उत्साहित पारिराखौँ । उसको पागलपनमा विधि थपिदिऊँ । र त्यसपछि, अन्त्यमा एकदिन यस्तो आउनेछ जतिबेला ऊ एक्लो हुनेछ, मृत्यु र मृत्युका आफन्तको राज्यभरको एक्लो पुरुष !
(सामान्य खालको आवाज, बाहिरबाट बाजाको आवाज आँउछ । त्यसपछि फेरि सन्नाटा, तर क्यालिगुला भनेको कानेखुसी सुनिन्छ । क्यालिगुला क्यासोनियासँगै छिर्छ । उनीहरुसँगै केही सैनिक र हेलकन छिर्छन् । क्यालिगुलाले षड्यन्त्रकारीलाई डरलाग्दो नजरले हेरिरहेको छ । केही नबोलिकन हरेकको सामुन्ने जाँदै अनुहारमा हेर्दै गरेको छ उसले । एकजनाको काँधलाई सिधा पारिदिन्छ, सबैलाई हेरी सिध्याउँछ र बाहिर निस्कन्छ । केही नबोलिकन नै । )
क्यासोनिया : ( अनौठोे भावमा, कोठाको भद्रगोल तर्फ नजर लगाएर ) के तिमीहरु एकअर्कासँग झगडा गरिरहेका थियौ ?
चिरिया : हो, हामी लड्दै थियौँ ।
क्यासोनिया : ( उस्तै लबजमा ) साँच्चै ? के म जान्न सक्छु कि, तिमीहरु के का लागि लडिरहेका थियौ ?
चिरिया : अँ . . . खासमा त्यस्तो केही थिएन ।
क्यासोनिया : हँ, त्यो सत्य होइन ।
चिरिया : के सत्य होइन ?
क्यासोनिया : तिमीहरु झगडा गरिरहेका थिएनौँ ।
चिरिया : आफ्नै तरिकाले बुझ्नुस्, हामी लडेका थिएनौँ ।
क्यासोनिया : ( मुस्काएर ) तिमीहरुले यो भद्रगोललाई मिलाएको जाती होला, महाराज यो सब रुचाइबक्सन्न ।
हेलकन : ( वृद्ध भारदारलाई ) उसलाई आफ्नो चरित्रभन्दा बाहिरको काम गराएर नै मार्ने हुनुभयो तपाईंहरुले ।
वृद्ध भारदार : कृपया. . . मैले बुझिनँ । हामीले उहाँलाई के गर्यौँ र ?
हेलकन : केही होइन । बस् केहीपनि । त्यो कुरामा नबोल्नुमा नै रमाइलो छ, र सबैले बुझ्न यही नै काफी छ । तपाईं सबैजना राजदरबारमा उपस्थित हुनुहोला ।
( छोटो विश्राम )
ए हो त, योजना बनाउँदै हुनुहुन्थ्यो हैन त ?
वृद्ध भारदार : साँच्चै, त्यो अति नै हो । मलाई लाग्छ क्यालिगुलाले यस्तो कल्पना गर्नुहुन्न . . .
हेलकन : उहाँले कल्पना गर्नुहुन्न । उहाँ बुझ्नुहुन्छ । तर मलाई लाग्छ, यथार्थमा उहाँ यो चाहनुहुन्छ कि . . . खैर, अहिलेलाई यो भद्रगोल मिलाउनु उचित होला ।
( सबैजना व्यस्त देखिन्छन् । क्यालिगुला छिर्छ र उनीहरुलाई हेर्छ । )
क्यालिगुला : ( वृद्ध भारदारलाई ) उत्तम दिन, प्रियतमा ।
( अरुलाई ) भद्रजन, म नीति परिचालनको मार्गमा छु । तर मलाई लागेको छ कि यो काम तपाईंहरुलाई नै सुम्पिदिऊँ । चिरियालाई, सामान्य खानाको लागि । मैले हामी सबैका लागि यहिँ खाना ल्याइदिनु भनेर आदेश दिएको थिएँ । तर पहिले तिम्रो श्रीमतिको लागि पठाइदिनु भनेको छु ।
( छोटो मौनता )
रुफियसले आफ्ना भान्छेलाई धन्यवाद दिनुपर्छ कि म भोकदेखि तृप्त भइसकेँ । ( दृढताका साथ )
रुफियस ? ऊ….. उसको बारेमा बताउँछु । ऊ एक योद्धा थियो जो झुण्डिदै छ । ( पुन: छोटो मौनता ) यो के हो, तिमीहरु कसैले पनि सोधेनौ कि मैले उसलाई किन मृत्युदण्ड दिएँ ?
( कोहि बोल्दैनन् । दासहरु खाना लिएर आँउछन् )
तिमीहरुका लागि राम्रो भो ! मैले देखिरहेको छु कि आजकल तिमीहरु चतुर हुँदै छौ । ( उसले अलिकति अङ्गुर चाख्छ । ) तिमीहरुको लागि यो लागु भइसकेको छ कि मान्छेले मर्न केही गर्नु पर्दैन ।
( ऊ खान छोड्छ र आएकालाई आँखा झिम्क्याउँदै हेर्छ । )
सैनिकहरु ! म तिमीहरुप्रति गर्व गर्छु ।
( तीनचार जना महिला छिर्छन् )
उत्तम ! ल आ–आफ्नो आसनमा बसौँ । हर हालमा । आज सबै काम छोडिदिने ! ( सबैजना बस्छन् ) यसमा कुनै सन्देह छैन । विचरा रुफियस भाग्यमानी छ । तर मलाई अचम्म लाग्छ कि उसले केही समयका लागि स्थगित गरिएको मुत्युदण्ड कार्यक्रम रुचाउला । मुत्युका लागि बस् केही बढी घण्टाहरु ! किन, आफ्नो भार बराबरको सुनका लागि उनीहरु लायक छन् !
( खान थाल्छ, अरुले पनि सुरु गर्छन् । यो छर्लङ्ग छ कि क्यालिगुलाको खाने शैली अपाच्य छ । उसले अङ्गुरका दाना यसै लुछेको छ, खाँदै थुक्दै थाल पन्छाउँदै छ, नङले दाँत कोट्याउँछ, वा डरलाग्दो तरिकाले टाउको कन्याउँछ, ऊ खाना खाइन्जेल यो सब गरिरहन्छ । खान छोड्छ, लेपिडसलाई घुर्छ, एउटा पाहुनालाई पनि । अनि रुष्ट शैलिमा भन्छ । )
क्यालिगुला : तिमी सनकी देखिन्छौ लेपिडस । मलाई अचम्म लाग्छ, के यो मैले तिम्रो छोरालाई मारेकोले मात्र हो त ?
लेपिडस : ( अलि चर्को आवाजमा ) पक्कै होइन । ठीक विपरित ।
क्यालिगुला : ( ऊतर्फ झुकेर ) “ठीक विपरित” । मनको कुरा लुकाएर हाँसेको अनुहार हेर्न सधैँ मज्जा हुन्छ । तिम्रो अनुहार दुःखी छ । तर तिम्रो मनको बारेमा ? ठीक विपरित, त्यही होइन त लेपिडस ?
लेपिडस : ( आदरार्थी भावमा ) ठीक विपरित, महाराज ।
क्यालिगुला : ( घटनालाई बढीभन्दा बढी रमाइलो मान्दै ) साँच्चै लेपिडस, यहाँ मलाई तिमीभन्दा बेहद कोही मन पर्दैन । ल, अहिलेलाई सँगै हाँसौं, मेरो प्रिय मित्र ! मलाई हाँस्य कथा सुनाऊ ।
लेपिडस : ( उसले आफ्नो धीरता गुमाइसकेको छ ) कृपया . . .
क्यालिगुला : उत्तम ! अति उत्तम ! उसोभए अब कथा म सुनाउँछु । तर तिमी हाँस्नेछौ, हैन त लेपिडस ?
( चित्त दुखाउने उद्देश्यले ) तिम्रो छोराको लागि मात्र भएपनि ! ( हाँस्छ ) हर हालमा, तिमीले हामीलाई बताइसकेका छौ, तिमी खराब मनस्थितीमा छैनौ ।
( ऊ मदिरा पिउँछ, र शिक्षकले विद्यार्थीलाई झैं ) सु ……! चुप. . शान्त शान्त !
लेपिडस : ( थकित मुद्रामा ) ठीक विपरित, राजन ।
क्यालिगुला : अद्भूत ! ( फेरि पिउँछ ) अब, सुन । ( सामान्य, मधुर स्वरमा ) एकादेशमा एउटा शासक थियो, विचरालाई कसैले प्रेम गर्दैन थिए । उसले लेपिडसलाई माया गर्थ्यो, उसको चित्त सफा गर्नका लागि माया गर्थ्यो, किनकि लेपिडसले छोरा गुमाएको थियो ।
( उमङ्गका साथ ) भन्नु बेकार छ, यसमा केही सत्य छैन । तर यो कथा अझैपनि हाँस्यास्पद छैन त ? तर तिमी हाँस्दैनौ । कोही हाँस्दैन । अब सुन ! ( आवेगका साथ ) म सबैलाई हाँस्न भन्दै छु । तिमी लेपिडस, हाँस्य ताल तिमीले मिलाउने छौ । सबैजना, उठ र हाँस ।
( टेबल ठटाउँछ ) मैले के भनेँ, सुनेनौ ? म तिमीहरु सबै हाँसेको देख्न चाहन्छु ।
( सबैजना उठ्छन्, उठ्दै गर्दा सबैजना विचरा देखिन्छन् । क्यालिगुला आफ्नो आसनमा बस्छ र तेजमय अनुहारका साथ हाँस्न सुरु गर्छ । )
क्यालिगुला : अहो क्यासोनिया ! उनीहरुलाई हेर न ! खेल सकियो, क्रमश: साधुवाद ! राज्यको विवेक हावाले उडाइलग्यो ! त्यो सबलाई डरको हावाले उडाइलग्यो । डर क्यासोनिया, के तिमी यो मान्दिनौ ? यो नयाँ खालको भावना हो, सरल र विशुद्ध, आफूलाई मनग्य, अरुजस्तो होइन, यसले भोग्नेलाई भित्रैदेखि नयाँ बनाउँछ ।
( ऊ हातले निधार ठोक्छ र पुन: पिउन थाल्छ । )
ठीक छ, ठीक छ । विषय परिवर्तन गरौँ । तिमीलाई केही भन्नु छ चिरिया ? तिमी निकै बेरदेखि मौन छौ ।
चिरिया : म बोल्नका लागि एकदमै तयार छु क्याअस, जब तपाईंले मलाई छुट दिइबक्सन्छ ।
क्यालिगुला : अद्भूत ! उसोभए, मौन रहिराख । मलाई मित्र मुसिअसलाई केही भन्नु छ ।
मुसिअस : तपाईं जे चाहनुहुन्छ भन्नुहोस् क्याअस ।
क्यालिगुला : उसोभए तिम्रो श्रीमतीका बारेमा केही भन । र उनलाई मेरो दाइनेपट्टि आडमा पठाएर सुरु गर ।
( उसको श्रीमति क्यालिगुलाको छेउ बस्छे । ) ठीक छ, हामी पर्खाइमा छौँ मुसिअस ।
मुसिअस : ( उसलाई आफूले के भन्दै छु भन्ने थाहा छैन । ) मेरी श्रीमती . . .तर . . . म उसलाई असाध्यै प्रेम गर्छु । ( सामान्य हाँसो )
क्यालिगुला : किन….. पक्कै पनि मित्र, पक्कै पनि ! तर तिम्रो प्रेम कस्तो सामान्य ! अति अवास्तविक !
( ऊ उसको श्रीमती भएतर्फ झुक्छ र उसको काँधलाई जिब्रोले चाट्छ । )
खैर! म बाहिर गएर आइन्जेल तिमीले बोल्नुपर्ने कुरा सोची सक्नेछौ हैन त ? बस् एउटा मीठो किस्सा ?
वृद्ध भारदार : अहो क्याअस, तपाईं यो सब कसरी . . .
क्यालिगुला : यसले केही अर्थ राख्दैन, मेरो पट्टु ! बुढो उमेरलाई सेवा गरिनेछ, म यो कुरालाई उति मनन गर्दिनँ । नायकवाला काम तिमीहरुले गरेकै छैनौ . . .अँ, यो कुरा बल्ल दिमागमा आयो । मलाई प्रान्त सम्बन्धि केही कुरा निम्ट्याउनु छ । तर पहिला, यही इच्छा पूरा होस् जसले हामीभित्रको प्रकृतिलाई निर्माण गर्छ ।
( ऊ उठ्छ र मुसिअसको श्रीमतिलाई सँगै जोडिएको कोठाभित्र लिएर जान्छ, मुसिअस आफ्नो स्थानबाट उठ्छ । )
क्यासोनिया : कृपया मुसिअस । के तिमीले मलाई एक गिलास मदिरा ल्याइदिन सक्छौ ?
( मुसिअसले आनाकानी गर्छ, सबैजना सर्माएका जस्ता देखिन्छन् । कुर्सी कर्याक्क गरेर कराउँछ । वार्ताको थिति अर्कै हुन्छ, क्यासोनिया चिरियातर्फ फर्किन्छे । )
क्यासोनिया : अब चिरिया, तिमी मलाई तिमीहरु किन झगडा गरिरहेका थियौ भनेर बताऊ ?
चिरिया : ( सुस्त आवाजमा ) खुसीसाथ सुनाउँछु, प्रिय क्यासोनिया । हाम्रो झगडा कविता हत्यारा हुन सक्छ वा सक्दैन भनेर सुरु भएको थियो ।
क्यासोनिया : एउटा चाखलाग्दो समस्या । पक्कै, मेरो स्त्रीगत मगजभन्दा बाहिरको कुरा । अझै मलाई अचम्म लागिरहेछ कि तिम्रो कलाप्रतिको मोहले तिमीलाई उडाउँछ भनेर ।
चिरिया : ( उस्तै लबजमा ) त्यो म राम्ररी बुझ्न सक्छु । तर म सम्झन्छु क्यालिगुलाले मलाई अर्कैदिन भनेको कुरा, कि सबै सत्यको मोहभित्र क्रुरताको तिखो काँटा हुन्छ ।
क्यासोनिया : ( आफ्नो अगाडिका भोजन खाएका थाल कचौरा उठाउन सहयोग गर्दै ) त्यसभित्र सत्यता छ । के तपाईंहरु मान्नुहुन्न भद्रजन ?
वृद्ध भारदार : हो । महाराज उहाँको हृदयको गुप्त कोठाभित्र पनि पस्नुभएको छ ।
पहिलो भारदार : र कति अभ्यस्तताका साथ उहाँले आफ्नो सहासबारे कुरा गर्नुभयो !
दोस्रो भारदार : साँच्चै, उहाँले आफ्नो विचारलाई लिपिबद्ध पार्नुप र्छ । त्यसले ठुलो महत्व राख्छ ।
चिरिया : र, अरु के बाँकी छ र, यसले उहाँलाई व्यस्त राख्छ पनि । उहाँलाई आफ्नो फूर्सदका लागि केही चाहिएको छ ।
क्यासोनिया : ( खाँदै ) तिमीहरु धन्य हुनेछौ कि क्यालिगुलाले तिमीहरुको विचार बाँड्दा, उहाँ पुस्तकमा काम गरिरहनु भएको छ । एकदमै ठुलो, मलाई विश्वास छ ।
( क्यालिगुला छिर्छ, मुसिअसको श्रीमतीको हात समातेर नै )
क्यालिगुला : मुसिअस, म साधुवादका साथ तिम्रो प्रियतमलाई फिर्ता गर्छु । तर मलाई माफ गर, मैले केही आदेश जारी गर्नु छ ।
( ऊ बाहिर जान्छ, मुसिअस कालोनिलो हुन्छ र आफ्नो स्थानबाट उठ्छ । )
क्यासोनिया : ( उठिरहेको मुसिअसलाई ) उहाँको यो पुस्तकले पक्कै हाम्रा ल्याटिन ग्रन्थहरुमाझ आफ्नो स्थान बनाउने छ । के तिमी सुनिरहेका छौ, मुसिअस ?
मुसिअस : ( उसको आँखा ढोकामा अडिएका छन् जहाँबाट क्यालिगुला बाहिर गयो । ) हजुर, अनि पुस्तकको विषय के हो महारानी क्यासोनिया ?
क्यासोनिया : ( अर्कै लवजमा ) अहो, त्यो मेरो आँखामा प्रस्ट छैन र ?
चिरिया : के हामीले यस्लाई काव्यनिहित हत्या-शक्ति भनी अड्कल काट्न सक्छौँ ?
क्यासोनिया : हो, लगभग त्यस्तै, मैले बुझैँ ।
वृद्ध भारदार : ( उत्साहसाथ ) उसोभए कुनैपनि हालतमा, हाम्रो मित्र चिरियाले भनेझैं उहाँलाई यसले व्यस्त राख्ने छ ।
क्यासोनिया : पक्कै, प्रिय । तर त्यहाँ पुस्तकभित्र एउटा यस्तो चिज छ जुन तपाईहरुलाई मन पर्दैन, र त्यो हो शीर्षक !
चिरिया : त्यो के हो ?
क्यासोनिया : चिसो इस्पात ।
( क्यालिगुला हतारमा प्रवेश गर्छ । )
क्यालिगुला : मलाई माफ गर्नुहोस, मसँग केही शीघ्र गर्नुपर्ने प्रजाको काम छ ।
( नाट्यप्रमुखलाई ) नाट्यप्रमुख, तिमी सार्वजनिक भण्डार-गृहसँग एकदमै नजिक छौ । मैले त्यस असरबारे एउटा नीतिमा हस्ताक्षर गरेको छु, तिमीले त्यो मेरो अध्ययनमा पाउने छौ ।
नाट्यप्रमुख : तर, राजन . . .
क्यालिगुला : भोलि भोकमरी चल्छ ।
नाट्यप्रमुख : तर . . . ईश्वर नै जान्दछन् के हुन्छ भनेर, सायद क्रान्ति ।
क्यालिगुला : ( दृढ र होसपूर्वक ) म दोहोर्याउँछु, भोलि भोकमरी चल्छ । हामी सबैलाई थाहा छ भोकमरी बारे, एक राष्ट्रिय विपत्ति । हो, भोलि पक्कै यो विपत्ति आउने छ र जब म चाहान्छु, मैले त्यस्को अन्त्य गर्नेछु । आखिरिमा, मसँग म स्वतन्त्र छु भनेर प्रमाणित गर्ने धेरै मार्गहरु रहेनन् । कुनै एक कसै अर्कोको मूल्यमा स्वतन्त्र हुनेछ । कुर्तक भो शायद । तर यो यही हो ।
( मुसिअसलाई हेरेर ) तिम्रो ईर्ष्यामा यो सिद्धान्त लागु गर अनि तिमीहरुले मलाई राम्ररी बुझ्नेछौ ।
( प्रार्थनाको लवज ) आखिर, ईर्ष्या… यो कति कुरुप चिज हो ! कल्पना र घमण्डको एउटा रोग । कोही कल्पिन्छ, कसैकी श्रीमती… ( मुसिअसले आनो गला सफा गरेर बोल्न खोज्छ, ऊ बोल्न नपाउँदै क्यालिगुलाले बोलिहाल्छ ) अब भद्रजन, हामी खान भोजनका लागि जाऔेँ . . .तिमीलाई थाहा छ, हामीले हेलकनको सहायकसँग मिलेर धेरैभन्दा धेरै काम गरिरहेका छौँ . सोधपत्रको निर्णयात्मक चरणमा छौँ जसबारे तपाईंले धेरै बोल्नुपर्ने हुनेछ ।
हेलकन : शायद हामी तपाईंहरुको विचार माग्नेछौँ ।
क्यालिगुला : आवश्यक छ हेलकन, र हाम्रा साना गोप्यतासँग उहाँहरुलाई परिचित पार्नु पर्छ । ल, अब उहाँहरुलाई नमुनापत्र देऊ । धारा तीनको पहिलो अनुच्छेद ।
हेलकन : ( उठेर, दबेको आवाजमा ) मृत्युदण्डले राहत र मुक्ति दिन्छ । यो सर्वव्यापी छ, तार्किक र व्यवहारमा नीतिगत पनि । मान्छे मर्छ किनकी ऊ दोषी छ । मान्छे दोषी छ किनकी ऊ क्यालिगुलाको विषय हो । अहिले सबै मानिस क्यालिगुलाका विषय हुन् । त्यसैले, सबैले मर्नुपर्छ । यो मात्र धीरता र समयको कुरा हो ।
क्यालिगुला : ( हाँस्दै ) त्यहाँ तर्क छ, के तिमी मान्दैनौ ? त्यो धीरता, व्यवस्थित छ, छैन त ? मलाई भन्न देऊ कि त्यो नै तिमीभित्रको क्षमता हो जसको म प्रशंसा गर्छु . . . तिम्रो धीरता ! चिरिया, तिम्रो उपस्थितिको कुनै आवश्यकता छैन । क्यासोनिया, तिमीचाहिँ बस भन्ने मेरो इच्छा छ । तिमी, लेपिडस पनि ।र हाम्रो वृद्ध भारदार मित्र मिरिया पनि । म हाम्रो राष्ट्रिय वेश्यालयका बारे, तिमीसँग कुरा गर्न चाहन्छु । यसको कार्य सञ्चालन उचित देख्दिनँ म, र वास्तवमै मेरो ध्यान त्यतातिर छ ।
( अरु विस्तारै बाहिर निस्कन्छन्, क्यालिगुलाले मुसिअसलाई हेरिरहन्छ । )
चिरिया : तपाईंको आदेश मुताबिक क्याअस, तर समस्या के हो ? के कर्मचारि सन्तुष्ट छैनन् ?
क्यालिगुला : होइन, तर आम्दानी घटिरहेको छ ।
मिरिया : उसोभए प्रवेश शूल्क वृद्धि गर्नपर्छ ।
क्यालिगुला : त्यहाँ…….. तिमीले तिम्रो थुतुनो बन्द गर्ने सुनौलो अवसर त्यहाँ गुमायौ । तिमी, यस्तो विषयमा चाख राख्न तिमी अति वृद्ध भइसकेका छौ र म तिम्रो मत सुन्न चाहन्नँ ।
मिरिया : उसोभए, मलाई रोकिन किन भन्नुभयो ?
क्यालिगुला : किनकी वर्तमान समयमा मलाई केही पोषिलो र भावनारहित सुझावको आवश्यकता छ ।
( मिरिया अलि टाढा जान्छ । )
चिरिया : यदि यो विषयमा तपाईं मेरो सुझाव सुन्न चाहनुहुन्छ भने क्याअस, म भन्छु कि मेरो सुझाव भावनारहित वा पोषिलो दुवै छैन, तर शूल्क वृद्धि गर्नु भनेको महाभूल हुनेछ ।
क्यालिगुला : पक्कै पनि । एक कायापलटको आवश्यकता छ यहाँ । मैले मेरो गोष्ठीको योजनाबारे क्यासोनियासँग सल्लाह गरेको छु, र यसबारे उनले तिमीहरुलाई विस्तार गर्नेछिन् । मेरो कुरा गर्दा मैले अति मदिरा पिइसकेको छु र मलाई निंद लागिरहेको छ । ( ऊ झुक्छ र आँखा चिम्लन्छ । )
क्यासोनिया : यो अति सरल छ । क्यालिगुलाले फाइदाका नयाँ तहहरु निमार्ण गर्नुभएको छ ।
चिरिया : माफ गर्नुहोला, तर यसमा के छ सामञ्जस्य ?
क्यासोनिया : छैन ? तर, छ एउटा । शहरी विकासको तक्मा उसलाई दिइनेछ जसले क्यालिगुला राष्ट्रिय वेश्यालयलाई सेवक भावले व्यवहार गर्नेछ ।
चिरिया : अति उत्तम विचार !
क्यासोनिया : सहमत छु । मैले भन्ने भुलेँ कि, उक्त बिल्ला भर्नापर्चि जाँच गरी, महिनापिच्छे दिइनेछ । र जुन नागरिकले एक वर्षभित्र त्यो तक्मा पाउँदैन उसलाई देशनिकाला गरिनेछ । वा मृत्युदण्ड सुनाइनेछ ।
चिरिया : ‘अथवा मृत्युदण्ड’ ? किन ?
क्यासोनिया : किनकी क्यालिगुलाका अनुसार यो वा त्यो, यसले कुनै अर्थ राख्दैन तर रोज्ने अधिकार दिनु महत्वपूर्ण छ ।
चिरिया : वाह ! सार्वजनिक पक्षमा लागेको घाटा क्षणमै अन्त्य हुनेछ ।
( क्यालिगुला आफ्नो आधा आँखा उघारेर मिरियालाई हेरिरहेको छ जो एक कुना उभिएर सानो प्यालाबाट पिइरहेको छ । )
क्यालिगुला : ( आफ्नो आसनमा लम्पसार रहेर ) त्यो तिमीले पिइरहेको के हो मिरिया ?
मिरिया : यो मेरो दमको लागि हो, क्याअस ।
क्यालिगुला : ( उठेर मिरियासामु पुग्छ र उसको मुख सुँघ्छ । ) होइन, यो त विष निरोधक हो ।
मिरिया : तपाईं के भन्नुहुन्छ ? पक्कै पनि तपाईं मजाक गरिरहनु भएको छ, क्याअस ! मेरो रातमा नाडी चलेको थिएन र महिनौंदेखि वैद्यकोमा गइरहेछु ।
क्यालिगुला : उसोभए तिमी विषाक्त हुनबाट त्रसित छौ ?
मिरिया : मेरो दम . . .
क्यालिगुला : होइन, विना निस्कर्ष किन कुरा गर्ने ? तिमी डराएका छौ कि मैले तिमीलाई विषाक्त पार्नेछु । तिमीले मलाई शंका गर्यौ । तिमी ममाथि नजर लगाउँदै छौ ।
मिरिया : ईश्वर साक्षी छन् । यो कुरा होइन !
क्यालिगुला : तिमीले मलाई शंका गर्यौ । म विश्वास गर्न लायक छैन हँ ?
मिरिया : क्याअस….!
क्यालिगुला : ( छुद्रताका साथ ) जवाफ ! ( शान्त स्वरमा ) यदि विष निरोधक पिइरहेका हौ भने यसले प्रमाणित गर्छ कि, मेरो मनासाय तिमीलाई विष पिलाउने छ । प्रमाणित भयो ।
मिरिया : हो . . . . मेरो माने . . . होइन !
क्यालिगुला : र सोचिरहेछौ कि मैले विष हाल्छु भनेर, तिमीले मेरो योजना विफल पार्ने पाइला चाल्यौ ।
( ऊ शान्त हुन्छ । उतिबेला क्यासोनिया र चिरिया बाहिर जान्छन् । पर्दापछाडि लेपिडसले कान थापेर सुनिरहेको छ । )
क्यालिगुला : त्यसरी दुईवटा अपराध भयो, मिरिया । र ढिला भइसक्यो तिम्रो मुक्तिको लागि । तिम्रो मृत्युको कुनै इच्छा ममा छैन, यसमा कि तिमी मलाई शंका गरिरहेका छौ, तिम्रो शासकलाई । तर दोश्रो कुरा, म तिम्रो मृत्यु चाहन्छु, यस मानेमा कि तिमीले मेरो इच्छामा बाधा पुर्याउने चाह राखेर धृष्टता प्रकट गर्यौ ।
( अर्को मौनता, क्यालिगुला सोचमग्न हुन्छ । )
ठीक छ मिरिया, मेरो तर्कबारे तिमी के भन्छौ ?
मिरिया : यो . . . यो अति भो राजन । यसको त्यो तर्कसँग कुनै सम्बन्ध छैन ।
क्यालिगुला : तेश्रो अपराध ! तिमीले मलाई मूर्ख ठान्यौ । अब बसेर सुन ।
( लेपिडसलाई ) सबैजना बस ।
( मिरियालाई ) यी तीन अपराध मध्ये एकले मात्र तिम्रो सम्मान गर्छ, दोस्रो वाला । किनभने मलाई कुनै इच्छाले विश्वास दिलाउनु तर त्यसको विपरित कर्म गर्नुले अनादर गरेको प्रष्ट छ । तिमी क्रान्तिकारी हौ, सत्ताविरोधी नेता ! र त्यसका लागि हिम्मत चाहिन्छ ।
( दुख व्यक्त गर्दै )
म तिमीलाई खुब रुचाउँछु मिरिया । र यसकारण नै तिमी दोश्रो अपराधका लागि अपराधी हौ, र अन्य दुईका लागि तिमीलाई छुट छ । तिमी बडो इज्जतका साथ मर्ने छौ, एउटा विद्रोही मृत्यु ! ( ऊ बोल्दै गर्दा मिरिया आनो कुर्सीमा झस्किरहेको छ । ) मलाई धन्यवाद नदेऊ । यो त नितान्त प्राकृतिक कुरा हो । यहाँ, ( सिसि समात्छ ) यो विष पिऊ ।
( मिरियाले टाउको हल्लाउँछ । ऊ रोइरहेको छ । क्यालिगुलाले धीरताको संकेत गर्छ । )
क्यालिगुला : समय खेर नफाल । यो पिऊ ।
( मिरिया भयभित त्यहाँबाट निस्कने प्रयत्न गर्छ । तर उसैमाथि एकत्रित क्यालिगुलाको नजरबाट छलिन सक्उदैन र पकडिन्छ ऊ रङ्गमञ्चको मझधारमा । बलले क्यालिगुला उसलाई आसनमा बसाउँछ । र जबर्जस्ति त्यो विष मिरियाको दुईओठको बीचमा कोच्न थाल्छ, दह्रो मुड्कीले कसेर हान्दै । केही समयको द्वन्द्वपछि नै मिरियाले देहत्याग गर्छ । उसको अनुहारमा पसिना र रगत प्रष्ट देखिन्छ । क्यालिगुला उठ्छ, ऊ पागलजस्तो देखिएको छ र मिरियाको हातको सिसी क्यासोनियाको हातमा थमाइदिन्छ । )
क्यालिगुला : यो के हो ? विषरोधक ?
क्यासोनिया : ( शान्त मुद्रामा ) होइन महाराज । यो दमको औषधी हो ।
( छोटो मौनता )
क्यालिगुला : ( मिरियालाई हेरेर ) केही छैन । आखिर जे गरेपनि अन्त्य त यही हो । केही छिटो भन्ने मात्र हो, अथवा केही ढिलो . . .
( ऊ हतारमा बाहिर निस्कन्छ, आफ्नो हात अझै पुरिहेको छ । )
लेपिडस : ( डराएको स्वरमा ) के . . . अब के गर्ने ?
क्यासोनिया: ( आनन्दसँग ) त्यो लास हटाऊ पहिला । यो कारुणिक दृश्य भो !
( चिरिया र लेपिडसले दुईवटा पाखुरामा समातेर लासलाई घिसार्छन् )
लेपिडस : ( चिरियालाई ) हामीले छिटो गर्नुपर्छ ।
चिरिया : हामी पहिला दुईसयको संख्यामा हुनुपर्छ ।
( स्किपियो छिर्छ । क्यासोनियालाई देख्नासाथ निस्कन खोजेजस्तो गर्छ । )
क्यासोनिया : आऊ ।
स्किपियो : तपाईं के चाहनुहुन्छ ?
क्यासोनिया : नजिक आऊ ।
( उसले स्किपियोको चिउँडो धकेलेर आँखामा हेर्छे । एउटा छोटो मौनता । त्यसपछि, शालिन लवजमा । )
उहाँले तिम्रो पितालाई मार्नुभएको हो, हैन त ?
स्किपियो : हो ।
क्यासोनिया : तिमी उहाँलाई घृणा गर्छौ ?
स्किपियो : हो, म घृणा गर्छु ।
क्यासोनिया : र तिमी उहाँलाई पनि मार्न चाहन्छौ ?
स्किपियो : चाहन्छु ।
क्यासोनिया : ( उसको चिउँडोबाट हात हटाउँदै ) तर, मलाई भन किन चाहन्छौ ?
स्किपियो : किनकि म कसैसँग डराउदिनँ । उसलाई मार्नु वा आफै मर्नु, एक त म गर्ने नै छु । र तपाईंले मलाई कसैपनि घात गर्नुहुने छैन ।
क्यासोनिया : त्यो त हो । म तिमीलाई विश्वासघात गर्दिनँ । तर म तिमीलाई केही कुरा भन्न चाहन्छु, अथवा तिमीले बोलेको सुन्न चाहन्छु कि तिमीमा उत्तम गुण के छ !
स्किपियो : मेरो उत्तम गुण, मेरो घृणा ।
क्यासोनिया : म के भन्न गइरहेकि छु राम्ररी सुन । सुन्नमा फरक लागेपनि, यो कुरा खुलेको आकाशजस्तै स्पष्ट छ । र यो कुराले हाम्रो संसारमा एउटा क्रान्ति ल्याउनेछ, यदि मानिसहरुले यसलाई अनुसरण गरे भने ।
स्किपियो : हो ? के हो त्यो ?
क्यासोनिया : पर्ख ! आफ्नो बाबुको लासलाई स्मरण गर, त्यो चित्रलाई दिमागमा उतार, उसको अनुहारको पीडा सम्झ, जतिबेला उनीहरुले उसको जिब्रो थुतेका थिए । उसको मुखबाट बगेको रगतको भेल सम्झ र उसको चित्कारलाई सुन । जतिबेला ऊ प्रताडित जीवझैँ कराइरहेको थियो ।
स्किपियो : हो ।
क्यासोनिया : अब क्यालिगुला बारे सोच ।
स्किपियो : ( घृणाले उसको आवाज रुष्ट सुनिन्छ । ) अँ ।
क्यासोनिया : अब, सुन । मलाई बुझ्ने कोसिस गर ।( ऊ बाहिर निस्कन्छे, उसको कुराले स्किपियो अल्मलिएको जस्तो देखिन्छ । हेलकन छिर्छ । )
हेलकन : क्यालिगुला यहाँ केहिबेरमा आइपुग्नु हुनेछ । मानौँ, तिमी खान खान जान्छौ, युवा कवि !
स्किपियो : हेलकन, मलाई सहायता गर ।
हेलकन : अति डरलाग्दो मेरो बाबु । र मेरा लागि कविता केहि होइन ।
स्किपियो : तिमीले मलाई मद्दत गर्न सक्छौ । तिमीलाई थाहा छ . . . धेरै कुरा ।
हेलकन : मलाई थाहा छ दिन बित्दै जाँदा, र हुर्किँदा केटाहरुले समयमा खाना खानुपर्छ . . . मलाई यो पनि थाहा छ, कि तिमीले क्यालिगुलाको हत्या गर्न सक्छौ . . .र उसले यो कुरामा वास्ता गर्दैन ।
( हेलकन बाहिर निस्कन्छ । क्यालिगुला छिर्छ । )
क्यालिगुला : ए, तिमी पो स्किपियो । ( रोकिन्छ, ऊ लज्जित भएको जस्तो देखिन्छ । ) तिमीलाई पछिल्लो पटक देखेको धेरै अघि हो । ( बिस्तारै स्किपियो सामु पुग्छ । ) आजकल के गरिरहेका छौ ? धेरैभन्दा धेरै कविता लेखिरहेको छौ, मलाई लागेको कुरा । के म तिम्रो पछिल्लो सृजना हेर्न सक्छु ?
स्किपियो : ( घृणित नजरले, अलि रिसाएझैं र आवेगमा ) हो, राजन । मैले केही कविता लेखेको छु ।
क्यालिगुला : कुन विषयमा ?
स्किपियो : ओह, त्यस्तो सघन त केही छैन । प्रकृतिको बारेमा भनौँ न ।
क्यालिगुला : एक उत्तम बिषय । विराट पनि । र प्रकृतिले तिमीलाई के गरेकी छे ?
स्किपियो : ( आफैलाई नजिक लग्दै, डरलाग्दो स्वरमा ) यसले मेरो घाउलाई कोट्टिनबाट बचाउँछे महाराज ।
क्यालिगुला : ( उत्सुकतापूर्वक, जाँगरिलो आवाजले ) तिमीले घाउ भन्यौ ? तिम्रो लवजमा रिस थियो । किनकी मैले तिम्रो बुबालाई मृत्युदण्ड दिएँ ? . . . त्यही शब्द तिमीले प्रयोग गर्यौ, यदि तिमीले यो मात्र बुझेको भए ठीक के हो भनेर ! मेरो घाउ !
( छुट्टै लवजमा ) ठीक छ, ठीक छ । बौद्धिकताको विकासमा घृणा भन्ने चिज नै हुँदैन ।
स्किपियो : मैले तपाईंको प्रकृतिबारे प्रश्नको उत्तर दिएँ ।
( क्यालिगुला बस्छ, स्किपियोलाई हेर्छ, उसको नाडी समातेर उसलाई उठ्न बाध्य पार्छ । उसले उसको अनुहारलाई दुई हातले निचोर्छ । )
क्यालिगुला : कृपया मलाई तिम्रो कविता सुनाऊ ।
स्किपियो : हुँदैन, कृपया मलाई त्यो कुरामा कर नर्गुनुस् ।
क्यालिगुला : किन हुँदैन ?
स्किपियो : मलाई कण्ठस्त छैन ।
क्यालिगुला : तिमीले सम्झन सक्दैनौ ?
स्किपियो : सक्दिनँ ।
क्यालिगुला : यसको बारेमा तिमीले मलाई बताउन सक्छौ ।
स्किपियो : ( बन्दिझैं, डराएझैँ ) मैले समान्यतया . . . कुनै सम्बन्धबारे लेखेको छु ।
क्यालिगुला : ( कामेको, सोचमग्न स्वरमा ) कसैको पाउ र पृथ्वी बीचको सम्बन्ध ।
स्किपियो : ( अचम्मित भएर ) हो, लगभग उस्तै . . . र यसले छालको आकारजस्ता रोमका पहाडबारे कुरा गर्छ र उनीहरुलाई एक्कासी महसुस भएको डरबारे . . .
क्यालिगुला : र हरिया साँझमा कराउने पंक्षीबारे पनि !
स्किपियो : ( असाध्यै भावुक भएर ) हो हो, र अद्भूत समय त त्यो हुन्छ जतिबेला सम्पूर्ण आकाश रातो र सुनौलो भएर मुस्काँउछ र आफ्नो अर्को आयाम देखाउँछ, तिमतिमाइरहेका ताराहरुसँगै चम्किँदै ।
क्यालीगुला : र रुख धुँवा र खोलाको सुसुप्त गन्ध फैलिरहेको कुहिरोसँग मिसिन्छ ।
स्किपियो : ( परमानन्दको भावमा ) हो, र फट्याङ्ग्राहरुको चाल, ठण्डीले चिस्याइदिएको आद्र वायू, गाडाको निरन्तर घटकघटक आवाज र किसानको हल्ला, कुकुरको भुकाई पनि. . .
क्यालीगुला: अमलाको जंगलमा छिरेको बाटोको छायाँ . . .
स्किपियो : हो हो । वास्तवमा त्यही नै हो . . . तर तपाईंलाई कसरी थाहा भयो ?
क्यालीगुला : ( स्किपियोलाई आफ्नो छातितिर तानेर ) म अचम्मित छु ! शायद हामी दुवैलाई एउटै गौण सत्यले डाकिरहेको छ ।
स्किपियो : ( बडो हर्षका साथ, क्यालिगुलाको छातिमा शिर राखेर अँगाल्दै ) खैर ! यो सबले के फरक पार्छ र ? मलाई के थाहा छ भने, मैले अनुभूत गरेका सबै कुरा प्रेममा परिवर्तन हुन्छन् ।
कयालिगुला : ( उसको कपाल सुमसुम्याउँदै ) त्यो… स्किपियो, महान हृदयको विशेषाधिकार हो । र म कसरी इच्छा गरुँ कि तिम्रा कुरा बाँड्न सकुँ . . . तिम्रो पारदर्शिता ! तर जीवनका प्रति मेरो भोक असाध्यै छ । प्रकृतिले मलाई कहिल्यै तृप्त पार्न सक्ने छैन । तिमी पृथक दुनियाँसँग सम्बन्धित छौ र तिमीले यो बुझ्न सक्दैनौ । तिमी भलाइका लागि एकचित्त छौ र म, म विपतको लागि दत्तचित्त छु ।
स्किपियो : म बुझ्छु महाराज !
क्यालिगुला : होइन, मभित्र धेरै भित्र केही चिज गहन छ . . मौनताको पिँधहिन गहिराई, दुषित जलको कुण्ड र कुहिएका झार ।
( हाउभाउ तत्कात परिवर्तन गर्दै )
तिम्रो कविता अति सुन्दर होलाजस्तो छ, यदि तिमी मेरो विचार चाहन्छौ भने . . .
स्किपियो : ( उसको शिर क्यालिगुलाको छातिमा नै छ ) भन्नुस् न ?
क्यालिगुला : त्यो सब कताकता . . . प्राणविहिन छ ।
स्किपियो : ( पछि हटेर, मानौँ कि सर्पले डसेको छ । क्यालिगुलालाई डराएर हेर्दै, ऊ रुन्छ ) अहो, तपाईं जनावर हो, एक बिभत्स पशु ! तपाईंले मलाई फेरि मूर्ख बनाउनु भयो । मलाई थाहा छ ! तपाईं ममाथि छल गर्दै हुनुहुन्छ, होइन त ? र अहिले….. अहिले तपाईं सफल भएकोमा प्रफुल्ल हुनुहुन्छ ।
क्यालिगुला: ( दुखी लवजमा ) तिम्रो कुरामा सत्यता छ । म छल गरिरहेको थिएँ ।
स्किपियो : ( उस्तै हतास स्वरमा ) कस्तो कपटी र कालो मुटु रहेछ तिमीसँग । र यो सब दुष्टता र घृणाले तिमीलाई कति पिडा दिन्छ होला !
क्यालिगुला : ( समान्य लवजमा ) बस्, अति भो !
स्किपियो : म तपाईंलाई कति घृणा गर्छु ! र तपाईं माथि दयाभाव देखाउँछु !
क्यालिगुला: ( झोक्किँदै ) बस्, मैले भनिसकेँ ।
स्किपियो : र कति बिभत्स र एकान्त हुनुपर्ने यहाँ !
क्यालिगुला : ( रिसले चुर भएर, उसको कठालो समात्दै र घिच्याउँदै )
एकान्त !
यसबारे तँलाई के थाहा छ ? सिर्फ कवि र एकान्तको कमजोरी बुझेको छस् तैँले ।
तैँले एकान्तबारे बकबक गरिस् । तर तँलाई यो थाहा हुने छैन कि यहाँ कोही एक्लो छैन भनेर ।
हामी भूत र भविष्यको चपेटामा परिरहेका हुन्छौँ । हामीले जसको हत्या गरेका छौँ ती सदा हाम्रो साथमा हुन्छन् ।
तर उनीहरु कुनै ठूलो बिघ्न होइनन् । बिघ्न त यो हो, जसलाई हामीले प्रेम गर्छौँ जसबाट हामीले प्रेम पाउछौँ र जसलाई हामी घृणा गछौँ ।
पश्चताप, आकांक्षा, तिक्तता र मिठास, वेश्या र अप्सराहरु, त्यो आकाशीय झुण्ड ! सधैँ, सधैँ हामीसँग हुन्छन् ।
( उसले स्किपियोलाई छाडिदिन्छ र आनो स्थानमा फर्किन्छ )
एक्लो !
अँ, यदि यो एकान्तमा मात्र, यो पिशाचिएको मेरो फुङ्गता, म बुझ्न सक्छु, तर क्षणको लागि, वास्तविक एकान्त, वास्तविक मौनता, वृक्षको त्यो कहालीलाग्दो स्थिरता !
( थकित मुद्रामा बस्छ )
एकान्त ? अँह, स्किपियो, मेरो एकान्तपन त दाँत किटकिटाइरहेको छ, पट्यारिलो ध्वनीसँगै कुरुप भएको छ । र जब म कुनै स्त्रीलाई आफ्नो बनाउँछु तब हामीमाझ एउटा अँध्यारो छाउँछ र म सोच्छु, अहिले मेरो शरीरको पोषण पुगेको छ । तर अन्तयमा म आफूलाई, स्वयं आफ्नो भएको आभास गर्छु, जीवन र मृत्युको बिचमा स्थित । ओह, त्यसपछि मेरो एकान्त मैलिन्छ, त्यो मेरो आडकी स्त्रीबाट आइरहेको आनन्दको बासी सुगन्धले !
( एउटा लामो मौनता, क्यालिगुला थकित र मुर्छित देखिन्छ, स्किपियो उसको पछाडि जान्छ र ऊ भएतर्फ आउँछ । ऊ पछाडिबाट बिस्तारै आफ्नो हात उसको काँधमा राख्छ, र क्यालिगुलाले पनि यताउता नहेरिकन आफ्नो हात स्किपियोको माथि राख्छ । )
स्किपियो : सबै मान्छेमा गुप्त धीरता हुन्छ । यसले उनीहरुलाई सहन गर्न सहयोग गर्छ, र उनीहरु त्यसतर्फ फर्किन्छन् जतिबेला जीवनले उनीहरुलाई चिरस्थायी हुनबाट धेरै पर धकेलिसकेको हुन्छ ।
क्यालिगुला : हो स्किपियो ।
स्किपियो : के तिम्रो जीवनमा त्यस्तो कुनै दयाको कुरा छैन ? त्यस्तो कुनै आश्रय, कुनै मनोदशा जसले यी आँसुलाई सजिलोसँग बहन देओस् ? त्यस्तो कुनै ढाडस ?
क्यालिगुला : छ, केही छ मसँग पनि त्यस्तो !
स्किपियो : त्यो के हो ?
क्यालिगुला : ( अति शान्त मुद्रामा ) घृणा !
पर्दा
राजदरबारको एउटा कोठाभित्र
पर्दा उघारिनु पूर्व रङ्गमञ्चबाट ढोल पिटेको आवाज र संगीत प्रसारण हुन्छ, र केहीबेरमा पर्दा खुल्छ । अगाडि कलाकारहरु देखिन्छन् । त्यहाँ क्यासोनिया र हेलकन पनि छन् जसको आडमा अन्य कलाकार छन् । र त्यहाँ युवा स्किपियो र केही दरबारीया छन् ।
दृश्य
हेलकन : ( शालिन र लयबद्ध आवाजमा ) आऊ सुन ! आऊ हेर ! ( झाँझर बजेको आवाज ) फेरि एकपटक ईश्वर थलमा उत्रिएका छन् । उनी हाम्रो दिव्य सम्राटमा समाहित भई मानव अवतारमा आएका छन् । हो, सबैले जाने बुझेका ती ईश्वर हाम्रा सम्राट क्यालिगुला नै हुन् । नजिक आउनुहोस्, प्रजा र शासकको यो सम्बन्ध, हेर्नोस् त तपाईंकै आँखा अघि पवित्र चमत्कार भइरहेको छ । क्यालिगुलाले पवित्र शासनको लागि अद्भूत ईश्वरीय शक्तिको प्रबन्ध गर्नुभएको छ जुन अहिले तपाईं सामु छर्लङ्ग हुनेछ । (झाँझरको आवाज)
क्यासोनिया : सज्जनवृन्द अगाडि बढ्नुहोस् । आएर उहाँलाई प्रेम दर्शाउनुहोस् र उहाँलाई भेटी चढाउन कसैले पनि नबिर्सिनुहोला । आज स्वर्ग र स्वर्गका रहस्यहरुको प्रदर्शन हुनेवाला छ जो काबिल छ, तपाईंहरुका गोजीका दामका निमित्त !
हेलकन : यो सब हेर्नका लागि, ओलम्पसको सम्पूर्ण रहस्य, उच्च कोटीको रहस्योद्धाटन, ईश्वरीय चरित्रको नग्न चित्रण, तिनीहरुका सम्पूर्ण जाल-चलखेल ! हो, हो यता लाग्नुहोस् ! दर्शन गर्नुहोस् ईश्वरको सारा सत्य ! ( झाँझर बज्छ )
क्यासोनिया : उहाँलाई प्रेम गर्नुस् र भेटी भेट गर्नुहोस् । नजिक आउनुहोस् भद्रजन । प्रदर्शनी सुरु हुँदैछ ।
(ढोल र झाँझर बज्छ, दासदासीहरु सर-सामान मिलाउन थाल्छन्)
हेलकन : दिव्य जीवनको एउटा युगान्तकारी प्रजनन, यो यकिन गराइनेछ कि हरेक विस्तार स-सबुत लाग्ने छन् । इतिहासमै प्रथम पटक ईश्वरको दिव्यता र भव्यता रोमन नागरिकका लागि प्रस्तुत गरिँदै छ । यो नविन स्वादपान गर्नुहुनेछ तपाईंरुले र यसका श्वासलेवा प्रभाव तपाईंहरुमा पर्नेछ, बिजुलीको चमक ( दासले मसाल बाल्छन् ) र मेघको गर्जन, यो विजयी दिनमा ईश्वरीय घटना ! ( पत्थरले भरिएको बेलनाकार आकृति गुडाउन थाल्छन् ) अब आफ्नै आँखाले हेर्नुहोस् ।
( उसले पर्दा हटाउँछ, त्यहाँ क्यालीगुला देखापर्छ, जो शुक्रदेव जस्तै देखिइरहेको छ । ऊ चौकीबाट ओर्लिन्छ । )
क्यालिगुला : ( शालिनताका साथ ) म आज प्रेमको देवता भएको छु । शुक्रदेव !
क्यासोनिया : अब प्रेमका खातिर भक्ति भावले झुकौँ । ( सबै झुक्छन् तर स्किपियोले टाउको बटार्छ । ) र मसँगै प्रेम-देवताको यो स्तुति गाउनुहोस्
हाम्रा कष्ट र उमङ्गका साक्षी, दैत्यका गुरुदेव . . .
दरबारीयाहरु : हाम्रा कष्ट र उमङ्गका साक्षी, दैत्यका गुरुदेव . . .
क्यासोनिया : प्रेम, उल्लास र चिरञ्जिवनका स्वामी….
दरबारीयाहरु : प्रेम, उल्लास र चिरञ्जिवनका स्वामी….
क्यासोनिया : अहो ईश्वर, मृत्यु सञ्जिवनीका ज्ञाता ….
दरबारीयाहरु : अहो ईश्वर, मृत्यु सञ्जिवनीका ज्ञाता ….
क्यासोनिया : दया-दण्ड दुबैका दाता…
दरबारीयाहरु : दया-दण्ड दुबैका दाता…
क्यासोनिया : सिकाउनुहोस् हामीलाई प्रेमलाई सदाबहार सधैँ नौलो राख्ने तटस्थता. . .
दरबारीयाहरु : सिकाउनुहोस् हामीलाई प्रेमलाई सदाबहार सधैँ नौलो राख्ने तटस्थता ….
क्यासोनिया : हामीलाई यो संसारको त्यस्तो सत्य सिकाउनुहोस्, जुन यो संसारमा छँदै छैन . .
दरबारीयाहरु : हामीलाई यो संसारको त्यस्तो सत्य सिकाउनुहोस्, जुन यो संसारमा छँदै छैन . .
क्यासोनिया : र बरदान दिनुहोस् हामीलाई यी विविधता सँगालेर बाँच्न सक्ने. . .
दरबारीया : र बरदान दिनुहोस् हामीलाई यी विविधता सँगालेर बाँच्न सक्ने. . .
क्यासोनिया : अब, विश्राम
दरबारीया : अब, विश्राम
क्यासोनिया : ( छोटो मौनता पछि ) हामीलाई तपाईंका उपहार कृपा गर्नुहोस्, र तपाईंको विभेदरहित क्रुरताको ज्योति हाम्रो अनुहारमा पारिदिनुहोस् । तपाईंको प्रचण्ड घृणा, तपाईंका बाहुमा भरिएका फूलका गुच्छा र हत्या, हाम्रा आँखाअघि सबै छर्लङ्ग पारिदिनोस् ।
दरबारीया : . . . तपाईंको बाहुमा भरिएका फूलका गुच्छा र हत्या, हाम्रा आँखाअघि सबै छर्लङ्ग पारिदिनोस् ।
क्यासोनिया : हामी बाटो गुमाएकालाई शरण दिनुहोस्, तपाईंको निर्दयी र अकृतज्ञ प्रेमको खुला मैदानमा । तपाईंको आवेग हामीलाई दिनुहोस्, कारणरहित तपाईंको व्याथा, तपाईंको आनन्द जसले कहीँ पुर्याउदैन, सबै सबै दिनुहोस्. . . .
दरबारीया : ………….तपाईंको आनन्द जस्ले कहीँ पुर्याउदैन . . .
क्यासोनिया : ( स्वरलाई उदात्त पार्दै ) हे दिव्य सम्राट, रिक्त भएरपनि यति उत्कट, अमानवीय भइकन पनि लौकिक ! हामीलाई तपाईंको यो समताको सोमरस पान गराई मात्न दिनुहोस्, र सदासदाका लागि तपाईंको हृदयको कालो अन्धकार अतिभोग गराउनुहोस्. . .
दरबारीया : . . . …..हामीलाई तपाईंको यो समताको सोमरस पान गराई मात्न दिनुहोस्, र सदासदाका लागि तपाईंको हृदयको कालो अन्धकार अतिभोग गराउनुहोस्. . .
( दरबारीयाले यति भनिसक्दा मौन र स्थिर रहेको क्यालिगुलामा चाल देखिन्छ । )
क्यालिगुला : ( स्थिर आवाजमा ) तथास्तु बालक ! तिमीहरुको प्रार्थना मैले सुनेँ ।
( चौकिमा पलेटी कसेर बस्छ । एकएक गरेर दरबारीया उसको समिप पुगी झुकेर भेटी चढाई अदबसाथ दायाँ पट्टि लामबद्ध हुन्छन् । अन्तिममा हडबडाहटमा एउटाले भेटी भुल्छ र खुट्टा खुम्चाउँछ । )
धैर्य, धैर्य गर ! मेरो नजिक आऊ ! उपासना उत्तम हो र अति उत्तम भने यो भेटी छ । धन्यवाद ! म तृप्त भएँ । यी देवतासँग पनि तिमीहरुले दिएको प्रेमबाहेक अर्को कुनै धन छैन, होइन भने त उनीहरु क्यालिगुलाजस्तै गरीब हुन्थे । सज्जनवृन्द अब तपाईंहरु जान सक्नुहुन्छ । र यहाँ आफ्नो आँखाले प्रत्यक्ष देखेको चमत्कार राज्यभरका नागरिकमा खबरमार्फत पुर्याउन सक्नुहुन्छ । तपाईंहरुले प्रेमका देवतालाई देख्नुभयो । उनको अनुहार आफ्नै आँखामा ताजा गराउन पाउनुभयो र देवता स्वयंले तपाईंहरुलाई सम्बोधन गरे । जानुहोस्, अति प्रिय भद्रजन !
( दरबारीयाहरु बाहिर निस्कँदै हुन्छन् )
अँ, केहीक्षण रोकिनुहोस् । जब तपाईंहरु बाहिर जानुहुन्छ नि, बाँयातर्फबाट जानुहोला किनकी, दायाँतर्फ मैले कसैलाई आदेश दिएको छु कि निस्केका जो सुकैलाई गिँड भनेर ।
( भारदार तर्सिन्छन् । दास र संगीतकार मञ्च छोडेर भाग्छन् )
हेलकन : ( स्किपियोलाई औँलाले देखाउँदै ) छुच्चो केटा, तिमी पुन: अराजक भइरहेका छौ ।
स्किपियो : ( क्यालिगुलालाई ) तपाईं निन्दक बन्नुभो, क्याअस ।
क्यालिगुला : निन्दक ? त्यो के हो ?
स्किपियो : यी धरणीलाई रक्तक्षेपण गरी तपाईं अब स्वर्गलाई समेत फोहर-गन्धले भर्दै हुनुहुन्छ ।
हेलकन : चल्ला जत्राका ठूलठूला कुरा ! ( आसनमा बस्छ )
क्यासोनिया : ( धीर भएर ) तिमी बोल्नुपूर्व सोच्ने गर युवक । उसो त रोममा थोरै बोल्दा पनि मान्छेलाई मर्नु परेको छ ।
स्किपियो : हुनसक्छ, तर मैले म महाराजसँग सत्यको जाहेरी मात्र गरेको हुँ ।
क्यासोनिया : उसका कुरा सुन्नुहोस् महाराज, तपाईंको राज्यमा अपुग एकमात्र कुरा, यो साहसी युवा हो ।
क्यालिगुला : ( स्किपियोलाई उत्सुकतापूर्वक हेर्दै ) स्किपियो, के तिमी ईश्वरमा साँच्चै आस्था राख्छौ ?
स्किपियो : अँह ।
क्यालिगुला : उसोभए म असहमत छु । ईश्वरमा विश्वास गर्दैनौ भने निन्दाको गन्ध कहाँबाट ?
स्किपियो : एउटालाई विश्वास नलाग्नासाथ त्यसलाई निन्दा गर्न अनिवार्य छैन, अन्यलाई त्यसमाथि विश्वास गर्ने अधिकार छ ।
क्यालिगुला : त्यो त विनम्रता हो, र म त्यति गलत छैन भने यो कुरा साँचो हो । प्रिय स्किपियो, मलाई तिम्रा खातिर गर्व छ अनि थोरै ईर्ष्या पनि ! नम्रता एउटा यस्तो भावना हो जो शायद मैले कदापी महसुस गर्न नसकुँला ।
स्किपियो : त्यो म होइन, जोसँग तपाईं ईर्ष्या राख्नुहुन्छ, ती त ईश्वर हुन् ।
क्यालिगुला : तिमीलाई आपत्ति छैन भने, यो हामीबिचको रहस्य हुनेछ, मेरो शासनकालको महान रहस्य !
वास्तवमा आज म आरोपित छु त केवल एक चिजका लागि । र त्यो हो, स्वतन्त्रताको पथमा मैले चालेका मसिना कदम । हुन त शक्ति र सत्ता प्यारो हुनेले ईश्वरसँग निहुँ खोज्नु उति उचित नहोला । खैर, मैले यो साबित गरिदिएको छु कि, कुनै पूर्व-प्रशिक्षणविना पनि, जुनसुकै मानिसले, यदि मन दिएर लाग्ने हो भने यी काल्पनिक ईश्वरहरुले खेल्ने विसंगत खेल, पूर्ण कौशल्यसाथ निभाइदिन सक्नेछ ।स्किपियो : र त्यो कुरालाई नै म ईश्वर-निन्दाको रुपमा लिइरहेको छु महाराज ।
क्यालिगुला: त्यसो होइन स्किपियो । स्पष्ट छ । मैले भर्खरभखर्रै यो महसुस गरेँ कि, ईश्वरसँग बराबरी गर्न चाहनेले ऊ जत्तिकै क्रुर र निर्दयी बन्न सक्नुपर्छ ।
स्किपियो : त्यो त अत्याचारी हुनका लागि आवश्यक कुरा हो ।
क्यालिगुला : ओह ! मेरो युवा मित्र, मलाई बताऊ कि वास्तवमा अत्याचार के हो ?
स्किपियो : एक अन्धो आत्मा !
क्यालिगुला : विवादास्पद कुरो नै यहि हो !
मेरो नजरमा, वास्तविक अत्याचारी त्यो हो जसले आफ्ना आदर्श र महत्वकांक्षाका लागि सम्पूर्ण राज्यलाई नै बलिमा चढाइदिन्छ । तर मसँग आदर्शप्रति कुनै त्यस्तो लालच बाँकी छैन, जसका निम्ति मैले मेरो शक्ति वा प्रतिष्ठा उपयोग गर्नु परोस् ! यदि मैले यो शक्ति प्रयोग गरिहालेँ भने, त्यो केवल क्षतिपूर्तिका निमित्त हुनेछ ।
स्किपियो : केका निमित्त ?
क्यालिगुला : ईश्वरको मूखर्ता र घृणाका निमित्त ।
स्किपियो : घृणाले स्वयं घृणाको क्षतिपूर्ति गर्दैन । शक्ति हल होइन । र व्यक्तिगत रुपमा मलाई हामी बसेको संसारको द्वेषसँग भिड्ने एक मात्र तरिका थाहा छ ।
क्यालिगुला : हो ? के हो त्यो ?
स्किपियो : गरीबी !
क्यालिगुला : ( खुट्टा खुम्चाएर झुक्दै ) मेलै त्यो कोसिस पनि गर्नुपर्छ ।
स्किपियो : फिलहाल तपाईं वरपरका धेरै मानिस मरिरहेका छन् ।
क्यालिगुला : अहो, छोड । खासै धेरै होइनन् । तिमीलाई थाहा छ कि मैले कति युद्धको प्रारम्भ गरिनँ ?
स्किपियो : नाइँ ।
क्यालिगुला : तीन । र तिमीलाई थाहा छ किन अस्वीकार गरेँ मैले ?
स्किपियो : किनकी तपाईंका लागि रोमको भव्यता धुलो बराबर हो ।
क्यालिगुला : होइन, किनकी म मानव जीवनलाई सम्मान गर्छु ।
स्किपियो : तपाईं मजाक गरिरहनुभएको छ महाराज ।
क्यालिगुला : अथवा, हरहालमा म त्यसलाई सैनिक जत्थाभन्दा बढी सम्मान गर्छु । तर यो तथ्य हो कि म यसलाई मेरो जीवनभन्दा बेसी सम्मान भने गर्दिनँ । तर यदि मैले मार्नु सरल मान्छु भने यो यसकारण हो कि मलाई मर्न गाह्रो लाग्दैन । होइन, म यसबारे जति सोच्छु निश्चित रुप अझ आफैलाई अत्याचारी मान्दिनँ ।
स्किपियो : यसले के अर्थ राख्छ, यदी यसबापत हामीले त्यति प्रियलाई गुमाउन पर्छ भने जति प्रिय एक समय तपाईं हुनुहुन्थ्यो . . . . . .
क्यालिगुला : ( रिसाएको संकेत सहित ) यदि तिमीलाई न्यूनतम टाउका गन्न दिएमा तिमीले थाहा पाउनेछौ साना युद्ध पनि कति अत्याचारी हुन्छन् – ऊ जतिसुकै संयम किन नहोस्, एक पटक जब सामेल हुन्छ, उसले चुकाउने मूल्य मेरा अनियमितताभन्दा हजारौँ गुणा ज्यादा हुन्छ । सम्झिराख ।
स्किपियो : सम्भवत, तर कमसेकम युद्धका पछाडि केही औचित्य छन्, जुन समझभित्र आउँछन् । र बुझ्न सक्नुले पनि धेरै माने राख्छ ।
क्यालिगुला : यहाँ कुनै त्यस्तो भाग्य छैन जो बुझ्न सकियोस् !
त्यसैले मैले भाग्यको एक अंश मञ्चन गरेको हुँ । यो मूर्ख, पेशेवर ईश्वरको दुर्बोध्य अनुहार, त्यसैले लगाएको हुँ । । र यो ईश्वर त्यही ईश्वर हो, जसलाई तिमीसँगै उभिएकाहरुले प्रेम गर्न सिकेका थिए ।स्किपियो : योपनि क्याअस, ईश्वर-निन्दक ।
क्यालिगुला : होइन स्किपियो, यो नाट्यकला हो !
र तिमी मान्छेहरुले गर्ने ठूलो गल्ती नै यही हो कि, नाटकजस्तो कुरालाई तिमीहरु गम्भिर रुपमा लिँदैनौ । यदि यस्तो गर्थ्यौ भने, बुझ्ने थियौ कि मान्छेपनि दिव्य प्रहसनको मुखपात्र खेली ईश्वर हुन सक्थ्यो । यसका लागि मुटुलाई कठोर तुल्याउन सक्नुपर्छ ।स्किपियो : हुन सक्छ तपाईं सही हुनुहुन्छ, महाराज । तर तपाईंले त्यो सबैथोक गरिसक्नुभएको छ, आफू जत्तिकै क्रुर मानवरुपी देवताहरुको फौज भेला पारेर, जसले, तपाईंले देवत्व पाएको दिन आफ्नै ईश्वरलाई रगतमा चोबल्नेछ ।
क्यासोनिया : साँच्चै स्किपियो ?
क्यालिगुला : ( आज्ञार्थी भावमा ) भो, उसलाई नरोक, क्यासोनिया ।
हो स्किपियो, तिमीले आफूले जानेको भन्दा पनि सत्य बोल्यौ, मैले अन्तिममा चाहिने हरथोक गरिसकेको छु । तिमीले व्याख्या गरेको प्रसङ्गलाई चित्रमा उतार्न मलाई गाह्रो भएको छ । तर म कहिलेकाहीँ यस्तै सपना देख्छु । र ती सबै अनुहार भित्र रिसको अँध्यारोमा छालझैं हुत्तिएका, डर र घृणाको ऐंठनमा म पाउँछु आफैलाई । र म त्यो देख्न खुब रमाउँछु, त्यो एकमात्र ईश्वर जसलाई मैले यो थलमा पुजेको छु, मान्छेको हृदयजस्तै नक्कली र काँतर !
( झिँझौ मानेझैँ ) अब जाऊ । मैले तिमीबाट धेरै सुनेँ, चाहिनेभन्दा धेरै ।
( फरक लवजमा ) मैले मेरा खुट्टाका औँलामा केही गर्नु छ, ती उती राता छैनन्, र मसँग व्यर्थको समय छैन ।
( सबैजना जान्छन्, हेलकनलाई छोडेर । ऊ क्यालिगुलाको वरपर घुम्छ, जो आफ्ना औँला जाँच्न व्यस्त छ । )
क्यालिगुला : हेलकन !
हेलकन : हजुर ?
क्यालिगुला : तिमी आफ्नो काम त गरिरा’छौ ?
हेलकन : कुन काम ?
क्यालिगुला : तिमीलाई थाहा छ . . . . जून ।
हेलकन : अँ हो, जून . . . . यो समय र धीरताको कुरा हो । तर म तपाईंसँग वाचा बाँध्न चाहन्छु ।
क्यालिगुला : मसँग शायद धीरता छ, मात्र पर्याप्त समय छैन । त्यसैले तिमीले छिटो गर्नुपर्छ ।
हेलकन : मैले भनेको छु, सकेसम्म गर्नेछु । तर, पहिले तपाईंलाई भन्ने मसँग केही छ । अति गम्भिर सूचना ।
क्यालिगुला : ( नसुनेझैँ ) यो बुझ, मैले उनलाई पहिल्यै पनि पाइसकेको हुँ ।
हेलकन : को ?
क्यालिगुला : जून !
हेलकन : हो, हो . . . . अहिले कृपया सुन्नुहोस् । के तपाईंलाई थाहा छ, यहाँ तपाईंलाई मार्ने रणनीति बन्दैछ !
क्यालिगुला : अरु के चाहियो, मैले उनलाई पूर्णतया पाइसकेको थिएँ । मात्र दुई या तीनपटक, निश्चित हुन लाग्यो । मैले उनलाई सम्पूर्ण पाएको थिएँ ।
हेलकन : अन्तिम समयमा म तपाईंलाई यसबारे बताउन खोजिरहेको छु, बस्….
क्यालिगुला : कुरा पोहोर गृष्मको हो । मैले उनलाई निकै बेरदेखि हेरिरहेको थिएँ, र प्राय: ती उद्यानका सिङ्गमरमरका खम्बा हुँदै पछ्याउथेँ र अन्त्यमा उनले मलाई बुझिन् ।
हेलकन : कृपया, कुरा नपन्छ्याउनुहोस् महाराज । तपाईंले सुन्न नचाहे पनि, यो सब बताउनु मेरो धर्म हो । र यदि तपाईंले कान थुन्नुहुन्छ भने, यसको कुनै महत्व रहँदैन ।
क्यालिगुला : ( नङमा रातो पालिस लगाउँदै ) यो पालिस गतिलो छैन । तर, फेरि जूनमा जाऔँ, त्यो शरदको स्निग्ध रात थियो ।
( हेलकन पर हेर्छ र मौन रहन्छ ) उनी लजालु थिइन्, सुरुवातमा । म ओछ्यानमा पल्टिन गएँ । पहिले उनी रगतझैं राती थिइन्, क्षितिजभन्दा अलि कम । त्यसपछि उनी उदाउँदो भइन् । छिटोभन्दा छिटो, चम्किँदै चम्किँदै झलमल्ल सेती भएर बलिन् । र उचाईको पराकाष्ठामा पुगेपपछि, उनी पहेँली भइन् । त्यसबेलासम्म उनी बाक्लो अँध्यारो जङ्गलबिच ताराहरुसँग सुसाइरहेकी दुग्धकुण्ड जस्ती थिइन् । बिस्तारै, लजाउँदै उनी आइन्, त्यो रातको तातो वायू हुँदै नरम, माकुराको मिहिन जालजस्तै हलुङ्गी, सौन्दर्यमा नग्न ! उनले मेरो कोठाको संघार नाघिन्, मेरो बिस्तारामा सर्दै, आफैलाई त्यहाँ हराइन्, र आफ्नो मुस्कान र आभाले मलाई बढारिन्, सामुन्द्री छालले बगरको बालुवा बढारेझैं ।
. . . होइन, साँच्चै यो नयाँ पालिस कामको छैन . . . तिमी पनि, हेलकन, म भन्न सक्छु, विना कुनै अहंकार, मैले उनलाई पाएको थिएँ ।हेलकन : अब तपाईं सुन्नुहुन्छ, र तपाईंलाई धम्क्याउने त्यो खतरा बुझ्नुहुन्छ ?
क्यालिगुला : ( उसलाई एकटकसँग हेरेर ) म के चाहन्छु भने, हेलकन, मात्र . . जून ! र बाँकी रहेका कुरा, मलाई सधैँ थाहा छ कि के ले मलाई मार्छ । म अहिलेसम्म आफूलाई बचाउन त्यो सबदेखि थाकेको छैन । त्यसैले पनि म जून चाहन्छु । र तिमी उनलाई नल्याएसम्म पक्कै नफर्क ।
हेलकन : अति राम्रो . . . . अब म मेरो काम गर्छु र तपाईंलाई के सिकेँ जानकारी गराउँछु । तपाईंका विरुद्धमा षड्यन्त्र रचिएको छ । चिरिया त्यसको अगुवा हो । तपाईंले थाहा पाउनुपर्ने, यी सबै कुरा सुनाउन म आएको हुँ । मैले यो नोटबुक यहीँ छाडेँ ।
( उसले नोटबुक एउटा आसनमा राख्छ र निस्कन्छ । )
क्यालिगुला : तिमी कहाँ जाँदै छौ, हेलकन ?
हेलकन : ( कोठाको संघारबाट ) तपाईंका लागि जून लिन ।
( पछाडीको ढोकामा मुसाझैं खस्राकखुस्रुक सुनिन्छ । क्यालिगुला वरपर घुम्छ र बुढो भारदारलाई हेर्छ । )
वृद्ध भारदार : के म आउन सक्छु महाराज . . .
क्यालिगुला : ( अधीरतापूर्वक ) आऊ ! आऊ ! ( उसलाई हेर्छ ) उसोभए, मेरो पट्टु, तिमी शुक्रदेवको दर्शनका लागि पुन: आयौ ?
वृद्ध भारदार : उम . . . होइन । वास्तवमा उस्तै भने होइन । क्षमाप्रार्थी छु, महाराज ! म मात्र यो भन्न चाहन्छु कि . . . .
तपाईंलाई थाहा छ, म तपाईंप्रति अति नै समर्पित छु । र मेरो इच्छा यो छ कि म मेरा दिन शान्तीसँगै कटाउन सकुँ ।
क्यालीगुला : छिटो गर, के कुरा हो ओकलिहाल !
वृद्ध भारदार : उम, यो . . . . यो त्यस्तै छ । ( आत्तिँदै ) यो अति गम्भिर छ, जुन म तपाईंलाई भन्न गइरहेको छु ।
क्यालिगुला : होइन, यो गम्भिर छैन ।
वृद्ध भारदार : तर – मैले बुझिनँ, के गम्भिर छैन ?
क्यालिगुला : तर तिमी के बारे कुरा गरिरहेका छौ, मेरी प्रिय ?
वृद्ध भारदार : ( गम्भिर रुपमा कोठामा नजर लगाएर ) म के भन्न चाहन्छु भने . . . ( छटपटिँदै र खुट्टा लतार्दै हिँडेर एक्कासी विस्फोट भएझैं ) तपाईंका विरुद्ध षड्यन्त्र रचिएको छ ।
क्यालिगुला : हो त ! भनिसकेँ त, यो त्यति गम्भिर विषय हैन ।
वृद्ध भारदार : तर महाराज, उनीहरुको माने तपाईंको हत्या गर्नु हो ।
क्यालिगुला : ( उसको नजिक गएर कठालो समात्दै ) तिमीलाई थाहा छ किन म तिमीलाई विश्वास गर्न सक्दिनँ ?
वृद्ध भारदार : ( हात अघि बढाएर मानौँ कि ऊ सपथ ग्रहण गर्दै छ ) ईश्वर साक्षी हुनुहुन्छ महाराज कि म. . . . .
क्यालिगुला : ( उस्लाई बिस्तारै ढोकापट्टि धकेलेर ) वाचा नगर । मैले खास गरी तिमीलाई किरिया नखाऊ भनेको छु । सुन बरु । मानौँ त्यो सत्य थियो जे तिमी मलाई बताइरहेका थियौ । मैले यो अनुमान लगाउन सक्छु कि तिमी आफ्ना साथीहरु माथि घात गर्दै छौ, होइन त ?
वृद्ध भारदार : महाराज, यो त तपाईंप्रतिको मेरो गहिरो लगाव हो . . . . .
क्यालिगुला : ( पहिलेकै जस्तै लवजमा ) र म त्यो अनुमान गर्न सक्दिनँ । म त्यो खालका क्षुद्र चरित्रलाई अति घृणा गर्छु र विश्वासघातीलाई झुण्ड्याउने कुरामा म आफैलाई रोक्न सक्दिनँ । तर मलाई थाहा छ तिमीजस्तो मानिस, जो मेरो योग्य मित्र हौ, म विश्वस्त छु कि तिमी न धोकेबाज बन्न चाहन्छौ न त मर्न नै !
वृद्ध भारदार : अवश्य पनि क्याअस, म कुनै चाहन्नँ ।
क्यालिगुला : उसोभए तिमीले देख्यौ कि म तिमीलाई विश्वास गर्न नकारेर सहि गरिरहेको थिएँ । तिमी निकम्माका अघि झुक्दैनौ, झुक्छौ त ?
वृद्ध भारदार : झुक्दिनँ, कसैपनि !
क्यालिगुला : र आफ्ना साथीलाई घात पनि गर्दैनौ ?
वृद्ध भारदार : महाराज, मैले तपाईंप्रतिको गहन स्नेहले …..
क्यालिगुला : त्यसैले यसमाने त्यहाँ कुनै षड्यन्त्र छैन भन्ने हुन्छ । यो मात्र चुट्किला थियो हामीबीचको, साँच्चै एक बेबकुफ चुट्किला । जुन तिमी मलाई भर्खरसम्म बताइरहेका थियौ, हँ ?
वृद्ध भारदार : ( मसिनो स्वरमा ) हो, हो । एक चुट्किला, मात्र चुट्किला ।
क्यालिगुला : गज्जब । उसोभए अब हामी को हौँ भनेर हामीले बुझ्यौँ । मलाई कोही मार्न चाँहदैन ।
वृद्ध भारदार : कोही चाहँदैन । सत्य हो । कोही पनि चाहँदैन ।
क्यालिगुला : ( गहिरो श्वास फालेर, उस्तै लवजमा ) उसोभए, जाऊ प्रिय । एक सम्माननीय व्यक्ति आजको दिनमा अति दुर्लभ जन्तु हो जसको मुहारको तेज म लामो समय थेग्न सक्दिनँ । यो पृथक अनुभूतिको रसस्वादन गर्न म एक्लो हुनुपर्छ ।
( केहीबेर ऊ हेर्छ, नचलिकन नोटबुकलाई, र पुन: लामो श्वास फेर्छ र दरबारी रक्षकलाई डाक्छ । )
क्यालिगुला : चिरियालाई यहाँ ल्याऊ । ( वृद्ध निस्कनै खोजेको हुन्छ ) पर्ख ! ( ऊ रोकिन्छ ) उसलाई नम्रताका साथ खातिरदारी गर ।
( ऊ बाहिर जान्छ, क्यालिगुला कोठाको पदानियमन गर्न चौकीबाट झर्दछ । केहीबेरमा ऊ ऐनासामु पुग्छ । )
तैँले तार्किक हुने निर्णय गरेको थिइस्, होइन त, बिचरा मूर्ख ! सधै तर्क ! अहिलेलाई प्रश्न यो छ, त्यसले तँलाई कहाँसम्म पुर्याउँछ ? ( व्यङ्ग्यपूर्वक ) मानौँ जूनलाई यहाँ ल्याइएको हुन्थ्यो त, सबैकुरा फरक हुन्थे । उपाय त्यही हो, हैन त ? उसोभए असम्भव सम्भव बन्छ, एक पलमा आमूल परिवर्तन आउँछ, र सबै कुरा परिवर्तित हुन्छन् । उसोभए, हेलकनले किन ल्याएन ? एक रात, शायद उसले उनलाई तालमा निदाएको बेला जालमा पार्नेछ, र यहाँसम्म बोकी ल्याउनेछ, चम्किलो जालमा फसेकी, शोक र पानीले पूर्ण भिजेकी, पहेँलो रङले सजिएको माछालाई गहिराईबाट थुतेर पाखा सारेजस्तै । किन हुन्न क्यालिगुला ? वास्तवमा किन हुन्न ?
( ऊ कोठामा सर्सर्ती हेर्छ । )
अति धेरै लास, अति धेरै – त्यसले रिक्तताको निर्माण गर्छ . . . . होइन, यदि जून मेरी थिइन भनेपनि । म त्यही मार्गमा पुन: चल्न सक्दिनँ । सूर्यको प्रेमस्पर्शमा ती मरेका मान्छेहरु फेरि रोमाञ्चित भएपनि, हत्यारा त्यसका लागि पछि हटेर भूमिगत हुँदैन ।
( रिसाएर ) क्यालिगुला, तर्कले कता लैजान्छ उतै जा । पूर्णताको लागि शक्ति, अन्त्य नहुँदासम्मको मनमानी । अँ, म मात्र धर्तीको एक्लो मानिस हुँ जसलाई रहस्य थाहा छ, कि शक्ति कहिल्यै पूर्ण हुँदैन जबसम्म आफ्नो गन्तव्यको अँध्यारो संवेगसँग पूर्ण स्व–समर्पण गरिँदैन । अँह, त्यहाँ पछि हट्ने कुरै छैन । म बस्, अघि बढेको बढ्यै गर्नुपर्छ, जबसम्म समाप्ति आइपुग्दैन ।
( चिरिया छिर्छ, कयालिगुला आफ्नो कुर्सीमा थ्याच्च बस्छ । उसको पोशाक तन्किएर कसिलो हुन्छ । )
चिरिया : तपाईंले मलाई बोलाउनु भएको हो, महाराज ?
क्यालिगुला : ( सुस्तरी ) हो, चिरिया ।
(एक छोटो मौनता )
चिरिया : मलाई आज्ञा गर्नुपर्ने केही विशेष छ र ?
क्यालिगुला : छैन, चिरिया ।
(अर्को छोटो मौनता )
चिरिया : ( रिसाएको संकेत सहित ) के तपाईंलाई मेरो उपस्थितिको आवश्यकता छ भन्ने लाग्छ ?
क्यालिगुला : पक्कै पनि, चिरिया ।
( अर्को मौनता, त्यसपछि आफूलाई एकाएक एकत्रित गरेझैं )
म असत्कारशील भएकोमा माफी चाहन्छु । म मेरा विचार पछ्याइरहेको थिएँ, र अब बस्, हामी आत्मिय संवाद गर्नेछौँ । मैले केही चातुर्य वार्ताको मनस्थिति बनाएको छु ।
( चिरिया बस्छ, नाटक सुरु भएदेखि प्रथम पटक बल्ल क्यालिगुला प्राकृतिक भएजस्तो देखिन्छ । )
क्यालिगुला : तिमीलाई लाग्छ चिरिया कि एकै खालको आवेग र घमण्ड भएका दुई मान्छे एकअर्कासँग पूर्णत: खुलेर वार्ता गर्छन् – जीवनभरमा सिर्फ एकपटक मात्र भनेपनि ? केही उनीहरुले आफूलाई एकअर्का सामु नङ्ग्याउन सक्छन्, र पक्षपातिलाई आड दिन सक्छन्, उनीहरुका व्यक्तिगत रुचि, जुन झुटमा उनीहरु बाँचिरहेका हुन्छन् ?
चिरिया : सक्छन् क्याअस, मलाई यो संभव छ जस्तो लाग्छ । तर मलाई लाग्दैन कि यसका लागि तपाईं सक्षम हुनुहुन्छ ।
क्यालिगुला : मनासिब कुरा । म मात्र जान्न चाहन्थेँ तिमी मेरा कुरा मान्छौ वा मान्दैनौ ? उसोभए हाम्रा नकाब लगाऔँ र हाम्रै झुटलाई संकलन गरौँ र हामी तलवार-युद्धझैं कुरा गर्नेछौँ, हरेक महत्वपूर्ण पक्षमा । मलाई बताऊ चिरिया, तिमी मलाई किन मन पराउँदैनौ ?
चिरिया : किनकी तपाईंमा त्यस्तो मनपर्दो केही छैन महाराज । तर यस्तो भावना व्यस्थित हुन सक्दैन । र म तपाईंलाई बहुतै राम्रोसँग चिन्दछु । कसैले पनि आफ्नो त्यो पक्ष रुचाउँदैन जुन पक्ष ऊ सधैँ लुकाउन चाहन्छ ।
क्यालिगुला : तर त्यो के हो जसका कारण तिमी मलाई घृणा गर्छौ ?
चिरिया : त्यहाँ नै तपाईं गलत हुनुहुन्छ महाराज । म तपाईंलाई घृणा गर्दिनँ । म तपाईंलाई क्रुर तथा हानिकारक मान्छु, तुच्छ र स्वार्थी पनि । तर म तपाईंलाई घृणा गर्न सक्दिनँ, किनकी मलाई लाग्दैन तपाईं खुशी हुनुहुन्छ । र मलाई तपाईंप्रति घृणा छैन किनकी मलाई थाहा छ तपाईं नामर्द होइन ।
क्यालिगुला : उसोभए किन मार्न चाहन्छौ त ?
चिरिया : मैले किन भनेर भनिसकेँ, किनकी म तपाईंलाई हानिकारक मान्छु, एक दीर्घ खतरा । आवश्यक छ र मलाई मन पनि पर्छ, सुरक्षित महसुस गर्न, अधिकाशं पुरुष जस्तै । उनीहरु यो दुनियाँमा बाँच्न दिग्दार मान्छन् जहाँ जुनसुकै बेला जस्तो सुकै हावादारी कुरा पनि सत्य भइदिन्छ, र त्यो हावादारीले उनीहरुलाई स्थिर पार्छ, जस्तो कि हृदयमा खुँडा रोपिएको होस् । मलाई महसुस हुन्छ तिनलाईझैं, मलाई उहापोहको संसारमा बाँच्नु स्वीकार्य छैन । म चाहन्छु, यो जान्न कि म कहाँ उभिएको छु, र सुरक्षित उभिन पनि !
क्यालिगुला : सुरक्षा र तर्क एकैसाथ लागु हुँदैनन् ।
चिरिया : सत्य वचन । मेरो जीवनको योजना तर्कपूर्ण नहुन सक्छ, तर कम्तिमा यो गतिलो छ ।
क्यालिगुला : भन्दै जाऊ ।
चिरिया : अब भन्नु बाँकी केही रहेन । उपरान्त म तपाईंको तर्कको पक्षमा हुने छैन । एक पुरुषका नाताले मेरा कर्तव्य माथि मेरो पृथक दृष्टिकोण छ । र मलाई थाहा छ कि तपाईंका अधिकाशं विषयले मेरा विचार बाँड्छन् । तिनका गौण भावको अपमान गर्नुभएको छ तपाईंले । यो मात्र प्राकृतिक छ कि तपाईं. . . . लापता हुनुपर्छ ।
क्यालिगुला : मैले तिम्रो विचार बुझेँ, र त्यो वैध छ । अधिकांश मानिसका लागि, म तिमीलाई अनुमति दिन्छु, यो स्पष्ट छ । तर तिमी, मैले विचार गर्नुपर्ने थियो, हो, जो राम्ररी बुझ्न समर्थ हुनेछौ । तिमी चतुर मानिस हौ, र प्राप्त चातुर्यका लागि , तिमीसँग विकल्प छन्, कि त्यो चातुर्यको मूल्य चुकाऊ या फेरि परित्याग गरिदेऊ ! तर आखिर किन पलायन हुँदैछौ तिमी यो चुनावबाट, न त मूल्य चुकाउँछौ न त परित्याग नै गर्छौ ? कुनै एकलाई किन चुन्दैनौ ?
चिरिया : किनकी म बाँच्न चाहन्छु, र खुशी हुन पनि । यदि कुनै हावादारी तर्कसम्मत निष्कर्षमा पुर्याइन्छ भनेपनि यो मेरालागि सम्भव छैन । तपाईंले देखिहाल्नु भयो, म एक आम मानिस हुँ । सत्य, ती क्षण जब, यी सबैबाट मुक्ति मिल्छ, म ती मैले प्रेम गर्नेको मृत्यु चाहन्छु, वा म ती महिलाको पछि लाग्छु जसबाट परिवार र मित्रताको बन्धनबाट मुक्ति मिल्छ । तर्क नै सबथोक थिए, यस्ता अवसरमा मैले तिनलाई व्याभिचारको शिकार बनाउथेँ वा मार्थेँ । तर म मान्छु कि ती बितेका इच्छाको कुनै महत्व छैन ।
यदि सबै तिनलाई सन्तुष्ट पार्न लाग्छन् भने, संसार बसी नसक्नुको हुनेछ, र खुशीपनि……. योपनि साटिनेछ ।
र यी……. म दोहोर्याउँछु, यी चिजले प्रभाव पार्छन्, मलाई ।
क्यालिगुला : उसोभए, मैले यसरी लिएँ, तिमी केही उच्च सिद्धान्तमा विश्वास गर्छौ ?
चिरिया : पक्कै म विश्वास गर्छु कि ती केही कर्महरु – भनौँ र ? अरु भन्दा प्रशंसायोग्य छन् ।
क्यालिगुला : र म विश्वास गर्छु कि सबै बराबर धरातलका हुन् ।
चिरिया : मलाई थाहा छ, क्याअस, त्यसैले म तपाईंलाई घृणा गर्दिनँ । मलाई थाहा छ, र, कुनै हदसम्म, तपाईंसँग सहमत छु । तर तपाईं घातक हुनुहुन्छ, तसर्थ तपाईंले जानुपर्छ ।
क्यालिगुला : सत्य कुरा । तर यो सब बताएर तिमी आफ्नो जीवन किन धरापमा पार्छौ ?
चिरिया : किनकी अरुले मेरो स्थान लिनेछन्, र किनभने मलाई झुट बोल्न मन पर्दैन ।
( छोटो मौनता )
क्यालिगुला : चिरिया !
चिरिया : हजुर महाराज ?
क्यालिगुला : तिमीलाई लाग्छ कि दुई रिसाहा र एकैखाले घमण्ड भएका मानिस सँगै रहन सक्छन्, जीवनभरमा एकैपटक भनेपनि, एकअर्कासँग हृदय खोल्न सक्छन् ?
चिरिया : त्यो, जुन म विश्वास गर्छु, अहिले हामी दुईले गरिरहेका छौँ ।
क्यालिगुला : हो चिरिया, तर तिमी मान्थ्यौ कि म यो कुराका लागि क्षमतावान छैन ।
चिरिया : म गलत थिएँ, क्याअस । म मान्छु र तपाईंलाई धन्यवाद दिन चाहन्छु । अब म तपाईंको वाक्यको प्रतिक्षा गर्दछु ।
क्यालिगुला : मेरो वाक्य ? अँ, मैले बुझेँ । ( आफ्नो लबेदाबाट नोटबुक झिक्दै ) तिमीलाई थाहा छ यो के हो, चिरिया ?
चिरिया : मलाई थाहा थियो यो तपाईंसँग छ ।
क्यालिगुला : तिमीलाई थाहा थियो यो मसँग छ । उसोभए तिम्रो सहृदयता अभिनयको एक अंश थियो । दुई साथीले आफ्ना हृदय एकअर्का सामु खोलेनन् । ठीक छ, ठीक छ ! यो ठूलो कुरा भएन । अब हामी इमानदारीतामाथि खेल्न छाडिदिऊँ, र जीवनलाई पुरानै आधारबाट सुचारु गरौँ । तर पहिले म तिमीलाई मात्र अर्को एक यत्न गर्न भन्नेछु, कि मेरो सनकी र अभद्र व्यवहारलाई तिमीले केही समय अझ सहनुपर्छ । राम्ररी सुन, चिरिया । यो नोटबुक नै तिमी विरुद्धको एकमात्र सबुत हो ।
चिरिया : क्याअस, म जानु नै बेस हुन्छ । म यो सब व्यवहारदेखि आजित भइसकेको छु । म मात्र तिनलाई राम्ररी जान्दछु र मैले धेरै जानिसकेँ । कृपया, मलाई निस्कन दिनोस् ।
क्यालिगुला : ( उस्तै चर्को स्वरमा ) होइन, बस । यो नोटबुक नै एक मात्र सबुत हो । के यो छर्लङ्ग छ ?
चिरिया : सबुत ? मलाई थाहा थिएन कि तपाईंलाई कसैलाई फाँसी दिन सबुत चाहिन्छ ।
क्यालिगुला : सत्य हो । तर, एक पटक म आफैसँग सम्झौता गर्न चाहन्छु । कसैले त्यसलाई पनि नकार्न सक्दैन । कहिलेकाहीँ आफैसँग सम्झौता गर्नु बडो आनन्दपूर्ण हुन्छ, अति अरामदायी पनि । र म आराम चाहन्छु चिरिया ।
चिरिया : मलाई केही भन्नु छैन. . . . र स्पष्ट रुपमा भन्दा, यी सबमा मेरो रुचि छैन ।
क्यालिगुला : मलाई थाहा छ चिरिया, थाहा छ । तिमी म होइनौँ, तिमी सामान्य मानिस हौ, शरीर र मस्तिष्क अब्बल भएको । र प्राकृतिक रुपमा नै तिमीसँग पृथकताको कुनै इच्छा छैन ।
( जोडजोडले हाँस्दै ) तिमी खुसीसाथ बाँच्न चाहन्छौ । बस् त्यत्ति !
चिरिया : मलाई लाग्छ, क्याअस, हामीले यो सब कुरा नगरेकै जाति । . . . . के म जान सक्छु ?
क्यालिगुला : अँह, बेला भएको छैन । थोरै भएपनि धीरता राख, तिमी ननिको मान्दैनौ भने, म तिमीलाई लामो समयसम्म राख्नेछैन । तिमीले यो चिज देख्यौ– यो सबुत ? मैले तिमीलाई यो बेगर फाँसीमा नपठाउने निर्णय लिएको छु । यो मेरो तरिका हो . . . र मेरो आराम । ठीक छ ! शासकको हातको सबुत के बन्छ ।
( उसले नोटबुकमा बत्ति तेर्साउँछ, चिरिया नजिक जान्छ । बत्ति ती दुईका बीचमा छ । त्यो पत्र पग्लिन थाल्छ । )
क्यालिगुला :
तिमीले देख्यौ, षड्यन्त्रकारी !, यो पग्लिँदै छ, र यो पग्लेसँगै तिम्रो चेहेरामा मासुमपन सुरु हुन्छ । तिमीसँग कति गतिलो निधार छ चिरिया ! र कति दुर्लभ छ, कति सुन्दर छ एक मासुम मानिसको दृष्टि । मेरो शक्तिको प्रशंसा गर । स्वयं भगवानले पनि पहिले दोषीलाई कारबाही नगरी निर्दोषलाई पुन:स्थापित गर्न सक्दैनन् । तर तिम्रो शासकलाई मात्र एक झिल्को भए पुग्छ तिमीमा आशा जगाइदिन । त्यसैले अघि बढ चिरिया, हामीले सुन्दै आएका नूतन विचारहरु अवलम्बन गर, तिनले तिमीलाई जहाँसुकै लगेपनि । अहिलेलाई तिम्रो शासकले आरामको प्रतिक्षा गर्छ । यो उसको बाँच्ने र खुशी हुने कला हो ।
(चिरिया जिल्ल पर्छ, बिलकुल आश्चर्यमा क्यालिगुलालाई हेर्छ । अकमकाउँछ, केही बुझेझैं देखिन्छ, बोल्नलाई मुख खोल्छ– तर यसै टाढा जान्छ । ऊ गएको हेरेर मुस्काउँदै क्यालिगुलाले ज्वालामाथि नोटबुक राखिरहन्छ । )
पर्दा
दृश्य
राजमहलको एउटा कोठा
(मञ्च अर्ध-अन्धकार छ, चिरिया र स्किपियो छिर्छन् । चिरिया दायाँतर्फ जान्छ र पुन: स्किपियो भएतर्फ आउँछ ।)
स्किपियो : ( दुखित हुँदै ) तिमी मसँग के चाहन्छौ ?
चिरिया : फाल्तुको समय मसँग छैन । हामीले आफूलाई चिन्नुपर्छ र दृढ बन्नुपर्छ ।
स्किपियो : कसले भन्यो म धीर छैन भनेर ?
चिरिया : तिमी हिजोको बैठकमा उपस्थित भएनौ ।
स्किपियो : ( कतै टाढा हेरेर ) ए, त्यसो पो चिरिया ?
चिरिया : स्किपियो, म तिमीभन्दा उमेरले बुढो छु, र कसैसँग सहयोगको लागि याचना गर्ने बानी मेरौ छैन । तर यतिबेला मलाई सहयोगको खाँचो छ, मूलत: तिम्रो ! यो हत्याको छानबिनका लागि हामीलाई विश्वासपात्र चाहिएको छ । यो सबै चोट र पतित डरमा तिम्रो र मेरो, मात्र हाम्रो उद्देश्य अवमूल्यन भएका छन् । हो, मलाई थाहा छ, यदि तिमी यहाँबाट गयौ भने, तिम्रो अनुपस्थितिको मूल्य रहनेछ । तर अहिलेको लागि म यो चाहान्छु कि तिमी हाम्रो साथमा रह ।
स्किपियो : मैले बुझेँ । तर तपाईंको इच्छा बमोजिम म केही गर्न सक्दिनँ ।
चिरिया : उसोभए तिमी उसको साथमा छौ ?
स्किपियो : होइन । तर म उसको विपक्षमा जान सक्दिनँ ।
( रोकिन्छ, गहिरो आवाजमा ) मैले उसको हत्या गरेँ भनेपनि मेरो प्रेम उसकै प्रति रहिरहनेछ ।
चिरिया : तर हेर – उस्ले तिम्रो बुबालाई मारेको थियो ।
स्किपियो : हो, र यो सबको सुरुवात त्यहीँबाट भएको थियो । तर त्यसरी नै यो सबको अन्त्य हुन्छ ।
चिरिया : तिम्रो विश्वासलाई उसले नकार्यो, र तिम्रो आस्था र भरोसाको लिलामी गर्यो ।
स्किपियो : मलाई थाहा छ चिरिया । तर अझैपनि म भित्रको केही तत्व उसँग जोडिएको छ । हामी दुबैका हृदयमा एउटै ज्वाला दनदनाइरहेको छ ।
चिरिया : मान्छेले आफ्नो इच्छा रोज्नुपर्ने समय हुन्छन् । उसो त मेरो अन्तरात्माले पनि घरिघरि उसलाई सम्झन्छ ।
स्किपियो : तर, मैले रोज्न सकिनँ । मसँग अगणित व्यथा छन्, तर म उसँगै तड्पिएँ । मैले उसको पीडा बाँडेको छु, हो म यो सब बुझ्छु । र यहि नै मेरो समस्या हो ।
चिरिया : बस् उसोभए । तिमीले उसलाई साथ दिने निर्णय गर्यौ ।
स्किपियो : ( भावुकताका साथ ) त्यसो होइन चिरिया । म तपाईंसँग याचना गर्छु कि त्यसरी नसोचिदिनोस् । म अबदेखि कहिल्यै, कहिल्यै पनि कसैको पक्ष लिन सक्दिनँ ।
चिरिया : ( बडो प्रेमभावका साथ स्किपियोको समिप पुगेर ) तिमीलाई थाहा छ, उसले तिमीलाई जस्तो बनायो, त्यसका लागि म उसलाई घृणा गर्छु ।
स्किपियो : हो उसले मलाई जीवनमा आइपर्ने हरथोक स्वीकार्न सिकायो ।
चिरिया : अँह, उसले तिमीलाई मात्र निराशा सिकायो । र तिम्रो कलिलो मुटुलाई निरस पार्नु नै उसले अहिलेसम्म गरेको कपटभन्दा कपटपूर्ण अपराध हो । म तिमीलाई विश्वास दिलाउँछु कि, मेरो वशमा नरहेपनि म उसलाई एक्लैले मार्नेछु ।
( ऊ ढोकातर्फ जान्छ, हेलकन छिर्छ )
हेलकन : तिमीलाई मैले सारा संसार खोजिरहेको छु, चिरिया । क्यालिगुलाले यहाँ सानो भोजको व्यवस्था गर्दै हुनुहुन्छ, उहाँको नितान्त व्यक्तिगत मित्रको लागि मात्र । सधैँझैं, उहाँ यो चाहनुहुन्छ कि तिमीपनि उपस्थित होउ । ( स्किपियोलाई ) तिमी, मेरो बाबु यहाँबाट निस्किहाल, यहाँ तिम्रो खाँचो छैन ।
स्किपियो : ( चिरियातर्फ हेर्दै बाहिर निस्कँदै गर्दा ) चिरिया ।
चिरिया : भन स्किपियो ?
स्किपियो : बुझ्ने यत्न गर्नुहोस् ।
चिरिया : अँह, स्किपियो ।
( स्किपियो र हेलकन हतारमा बाहिरिन्छन् । दुईजना सिपाही पहिलो र वृद्ध भारदारलाई पहरा दिँदै छिर्छन् । ती सबै चिन्तित देखिन्छन् । )
पहिलो भारदार : ( एउटा सिपाहीसँग डराएझैं र चिन्ता मानेझैं ) तर . . . तर यस्तो रातको घडीमा ऊ हामीसँग के चाहना गर्न सक्छ ?
सिपाही : त्यहाँ बस । ( दायाँपट्टिको कुर्सी देखाउँछ । )
पहिलो भारदार : यदि यो सब हाम्रो हत्याकै लागि हो भने – अरु धेरैको हत्या गरेझैं, यो सब तयारीको आवश्यकता किन ?
सिपाही : त्यहाँ थुपुक्क बस् ए बुढो गधा ।
वृद्ध भारदार : भनेको मान्नु नै उत्तम हुन्छ । यो छर्लङ्ग छ कि उसलाई केही ज्ञात छैन ।
सिपाही : हो, प्रियतमा । छर्लङ्ग छ । ( बाहिर जान्छ )
पहिलो भारदार : हामीले तत्काल काम गर्नुपर्छ, मैले सधैँ भन्थेँ । अब हामीलाई यातना गृहमा लान्छन् ।
( सिपाही चिरियासँगै फर्केर आँउछ र पुन: बाहिरिन्छ )
चिरिया : (आसनमा बस्दै, उसले भयको कुनै संकेत दिँदैन ) के भइरहेको छ, केही ज्ञान छ ?
पहिलो भारदार र वृद्ध भारदार : ( दुबै एकैसाथ ) उसलाई हाम्रो षड्यन्त्रबारे बोध भयो ।
चिरिया : हो ? उसोभए अब ?
वृद्ध : ( आत्तिँदै ) अब हामी सबैका खातिर यातना गृह ।
चिरिया : ( केही फरक नपरेझैं गरि ) मैले सम्झेँ कि एउटा दासलाई चोरीको आरोपमा मर्ने गरि यताना दिँदा पनि अपराध कबुल नगरेकाले क्यालिगुलाले एकपटक एकासी हजार दिएको थियो ।
पहिलो भारदार : त्यो त ठुलो सान्त्वना हो . . . हाम्रो लागि !
चिरिया : यसबाट प्रस्ट छ कि ऊ साहस मन पराउँछ । यो कुरालाई दिमागमा राख्नुहोस् ।
( वृद्ध भारदारलाई ) तपाईं दाँत किट्न बन्द गर्नुहुन्छ कि ? मलाई त्यो आवाज फिटिक्कै मन पर्दैन ।
वृद्ध भारदार : मलाई माफ गर, तर . . .
पहिलो भारदार : बकबक धेरै भो ! यहाँ जिन्दगी दोसाँधमा छ ।
चिरिया : ( आरामसँग ) तपाईंहरुलाई थाहा छ क्यालिगुलाको प्रिय भनाई के हो ?
वृद्ध भारदार : ( रुन्चे आवाजमा ) अँ, मलाई थाहा छ । उसले जल्लादसँग सधैँ यहि भन्छ कि, “उसलाई बिस्तारै सिध्याऊ, ताकि उसले मृत्युको आभास गर्न सकोस्”
चिरिया : अँह, त्योभन्दा गज्जब छ अर्को । मृत्युदण्ड सकिएपछि उसले बडो गम्भिर मुद्रामा भन्छ कि, “म आफ्नो अभेद्यताको प्रशंसक हुँ ।”
पहिलो भारदार : केही सुन्नुभो तपाईंहरुले. . . ?
( नेपथ्यमा हतियार ठोकिएको आवाज सुनिन्छ )
चिरिया : त्यस कथनले उसको ढोङलाई धोका दिइरहेको हुन्छ ।
वृद्ध भारदार : अब त तिमी यो दर्शन छाँट्न बन्द गर्छौ कि ? मलाई यो सब कत्ति निको लाग्दैन ।
( एउटा दास छिर्छ र कुर्सीमा छुरीको पोको राख्छ । )
चिरिया : ( जसले दासको उपस्थितिको भेउ पाएन ) यो कुरा नकार्न सकिन्न कि सबैमा उसको प्रभाव परिसकेको छ । ऊ अरुलाई काबुमा राख्न मन पराउँछ, जस्तै भएपनि हरेकले स्वतन्त्रतालाई प्रेम गर्छन् । त्यसैले ऊ धेरैको घृणाको पात्र बनेको छ ।
वृद्ध भारदार : ( औँला थर्थराउँदै इड्ढित गर्छ ) त्यहाँ हेर !
चिरिया : ( छुरि देखेपछि, केही पृथक आवाजमा ) शायद तपाईंहरुले ठीक भन्नुभएको थियो ।
पहिलो भारदार : हो । धैर्य गुर्नु मूर्खता हो । हामीले एकसाथ केही कदम उठाइहाल्नुपर्छ ।
चिरिया : म स्वीकार्छु । विवेक ढिलो गरी आँउछ ।
वृद्ध : तर यो . . . यो पागलपन हो । म मर्न चाहन्नँ ।
( ऊ उठेर सुस्तरी यताउति गर्न लाग्यो । दुईजना सिपाही आएर उसलाई समाते र एक थप्पड लगाएपछि उसकै कुर्सीमा धकेलिदिए । पहिलो भारदार कुर्सीमा थर्थराउन थाल्यो । चिरिया केही फुसफुस गरिरहेको थियो । अचानक नेपथ्यबाट विचित्रको ध्वनी प्रसारण हुन थाल्यो । एकतारेको झंकार र मुजुरा बजिरहेको थियो । भारदारहरु एक-अर्कालाई मुखामुख गर्न थाले । पर्दाको मध्य भागमा अलिकति उज्यालो भयो जहाँ क्यालिगुला देखियो र केही विकृत तरिकाको नृत्य नाँच्न थाल्यो र फेरि अलप भयो । उसले नर्तकीहरुले लाउने जस्तै जामा लगाएको थियो । एकछिनपछि एउटा सिपाही आएर गम्भिर रुपमा घोषणा गर्यो । “सञ्जनवृन्द प्रस्तुति सकियो ।” उति नै बेला भारदारहरुलाई हेरिरहेकी क्यासोनिया देखा पर्छे । ऊ साधारण लवजमा बोल्न सुरु गर्छे र सबैको ध्यान उतर्फ जान्छ । )
क्यासोनिया : क्यालिगुलाले मलाई यो सुचित गर्न भन्नुभएको छ कि, विगतमा तपाईंहरुलाई राजकिय कामकाजको चर्चाका लागि डाकिन्थ्यो, तर आज उहाँले तपाईंहरुलाई आफ्ना कलात्मक विचार र भावना दर्शाउन डाक्नुभएको छ ।
( एकक्षण सन्नाटा छाउँछ, ऊ पुन: उस्तै लवजमा कुरा गर्न थाल्छे )
म यो पनि सूचित गर्छु कि जसले त्यस्ता भावना बाँड्न अस्विकार गर्छ वा सक्दैन उसको शिर छेदन गरिने छ ।
( एउटा गहिरो मौनता छाउँछ )
म यो कुरा जोडेकोमा माफी चाहान्छु, तर मैले सोध्नै पर्छ कि तपाईंहरुलाई नृत्य कस्तो लाग्यो ?
पहिलो भारदार : ( केहीबेर अड्केर ) हो क्यासोनिया । अद्भूत थियो ।
वृद्ध : सुन्दर ! अति सुन्दर !
क्यासोनिया : र तिम्रो मत, चिरिया ?
चिरिया : त्यो. . . त्यो पूर्ण कलात्मक थियो ।
क्यासोनिया : ठीक छ । अब म तपाईंहरुको कलात्मक टिप्पणी क्यालिगुलालाई सुनाउन सक्छु ।
( क्यासोनिया बाहिरिन्छे )
चिरिया : अब हामीले छिट्टै काम गर्नुपर्छ । तपाईं दुईजना यहीँ बस्नोस् । रात छिप्पिँदासम्म हामी सैयौंको संख्यामा हुनेछौँ ।
( ऊ निस्कन्छ )
वृद्ध भारदार : होइन, होइन, तिमी यहाँ बस । बरु म जान्छु । ( श्वास तानेर ) यहाँ मृत्युको गन्ध छ ।
पहिलो भारदार : र मिथ्या वचन । ( दुखका साथ ) मैले नाच अद्भूत थियो भनेँ !
वृद्ध भारदार: अँ त्यस्तै थियो, भनौँ न । अति मौलिक ।
( केही दरबारीया र योद्धा हतार हतारमा छिर्छन )
दोस्रो भारदार: यो के हुँदैछ ? तपाईंहरुलाई केही ज्ञान छ ? राजाले अचानक किन हामीलाई यहाँ डाके ।
वृद्ध भारदार: शायद, नृत्यको लागि ।
दोस्रो भारदार : के नृत्य ?
वृद्ध भारदार: अँ . . . मेरो मतलब, अम्. . . कलात्मक भावनाका लागि !
तेस्रो भारदार : तर मलाई भने कसैले क्यालिगुला एकदमै बिमार छ भनेर सुनाएको थियो ।
पहिलो भारदार : ऊ बिमारी नै हो । अँ . . .
तेस्रो भारदार : खासमा ऊ के बाट पिडित छ ? ( प्रफुल्ल मुद्रामा ) ईश्वरको खातिर, के ऊ मर्दै छ ?
पहिलो भारदार : यसमा शंका छ । उसको रोग सिर्फ अन्यका लागि घातक हो ।
वृद्ध भारदार : अँ त्यो नै हो ।
दोस्रो भारदार : पक्कै पनि । तर के उसलाई अन्य कुनै त्यस्तो रोग त लागेको छैन, जो सामान्य होस् तर हाम्रा लागि बडो हितकारी होस् ?
पहिलो भारदार: अँह, उसको रोग, सम्पूर्ण अरुबाट बाहिर निस्किन्छ ।
( ऊ निस्कन्छ, क्यासोनिया छिर्छे ।)
क्यासोनिया : ( सामान्य लवजमा ) तपाईंहरु जान्न चाहनुहुन्छ भने क्यालिगुलाको पेटमा समस्या देखिएको छ । उहाँले भर्खरै मात्र रगत वाक्नुभयो ।
( भारदार उनको वरपर बस्छन् । )
दोस्रो भारदार : हे महान ईश्वर, म वाचा गर्छु, यदि उहाँ ठीक हुनुभयो भने, म राज्यकोषमा खुशीसाथ दुई हजार दान गर्नेछु ।
तेस्रो भारदार : ( अतिरन्जित उत्सुकताका साथ ) हे वृहस्पति ! उहाँको सट्टा मेरो प्राण लिनुहोस् ।
( कयालिगुला छिर्छ र सुन्छ । )
क्यालिगुला : ( दोस्रो भारदार सामु पुगेर )
म तिम्रो प्रस्ताव स्वीकार्छु लुसियस । र तिमीलाई धन्यवाद ज्ञापन गर्छु । मेरो कोषाध्यक्षले तिमीलाई भोलि खबर गर्नेछन् ।
( तेस्रो भारदार सामु पुगेर अँगाल्दै )
तिमी कल्पना गर्नै सक्दैनौ, त्यो कुराले मलाई कति छोयो भनेर ।
( एउटा छोटो मौनता, त्यसपछि नम्र भावले )
उसोभए तिमी मलाई प्रेम गर्छौ, क्यासियस, त्यो भन्दा अझ धेरै ?
तेस्रो भारदार : ( भावुकताका साथ ) अहो, महाराज, केही छैन, त्यस्तो केही छैन जो म तपाईंका लागि त्याग्न नसकुँ ।
क्यालिगुला : ( पुन: अँगालेर ) अँ, क्यासियस, यो साँच्चै अति भयो, म यो प्रेमको लायक छैन । ( क्यासियसको विरोधपूर्ण इशारा ) होइन, होइन….. साँच्चै म लायक छैन ! म यो चिजको लागि योग्य छैन ।
( दुई सिपाहीलाई इशारा गर्छ ) उसलाई टाढा लैजाऊ ।
( क्यासियसलाई, नम्रता साथ ) जाऊ प्रिय मित्र, र नबिर्सनु कि क्यालिगुलाले तिम्रालागि आफ्नो हृदय गुमाइसकेको छ ।
तेस्रो भारदार : ( केही गाह्रो मान्दै ) तर यिनीहरु मलाई कहाँ लाँदै छन् ?
क्यालिगुला : किन, पक्कै पनि तिम्रो मृत्युसम्म । तिम्रो त्यति उदार प्रस्ताव स्वीकृत गरिएको छ । र मैले केही सुकुन महसुस गर्न थालिसकेँ । मेरो मुखभित्रको रगतको नमीठो स्वादसमेत बिलाइसक्यो । तिमीले मेरो उपचार गर्यौ क्यासियस, यो तिलस्मी लागिरहेछ, र आफ्ना मित्रको लागि प्राण दिएर यस्तो जादु गर्दा तिमी कति गर्व महसुस गरिरहेका हौला – विशेषत: त्यो मित्र अरु केही नभएर क्यालिगुला हो ! र तिमी अब देख्न सक्छौ, म फेरिपनि आफू भइसकेको छु, र आजको रातको यस उत्सवको लागि तयार पनि !
तेस्रो भारदार : ( ऊ रोकिन खोज्छ, तर उसलाई तान्छन् ) नाइँ ! नाइँ ! म…..म मर्न चाहन्नँ । तपाईं यसमा गम्भिर हुन सक्नुहुन्न !
क्यालिगुला : ( सावधानीको स्वरमा ) छिट्टै नै अब, सामुद्री सडक, लजालु लाल शिरीषहरुले सुनौँला देखिनेछन् । सम्पूर्ण महिलाहरुले आफ्ना सबैभन्दा हल्का पोशाक लगाउने छन् । र आकाश ! ओह क्यासियस……. यो कस्तो प्रभा सूर्यको, कति स्वच्छ, कति तेज ! आहा !
( क्यासियस ढोका नजिक छ । क्यालिगुलाले उसलाई बिस्तारै धकेल्छ, बिस्तारै उसको आवाज गम्भिर प्रकृतिको हुन्छ । )
क्यालिगुला : जीवन, मेरो साथी, यस्तो केही चिज हो जसलाई सक्दो मनाउनुपर्छ, उत्सवझैं । के तिमीले यस उत्सवलाई ठीकसँग त मनायौ ? तिमीले यसलाई यति हतारसँग दाउमा लगाउनु हुन्थेन ।
( क्यासियस मान्दैन । क्यालिगुला टेबलमा फर्किन्छ । )
पराजितले मूल्य चुकाउनुपर्छ । त्यसको विकल्प छैन ।
( एउटा छोटो मौनता ) आऊ, क्यासोनिया ।
( ऊ अरुतर्फ फर्किन्छ ) अँ साँच्ची, एउटा कुराले मलाई भर्खरै अवरोध गर्यो, र यो यति उपयुक्त छ कि म तपाईंसँग बाँड्न चाहान्छु । अहिलेसम्म मेरो शासनकाल खुब सुखद रह्यो । यहाँ कुनै त्यस्तो विश्वव्यापि महामारी रहेन, न कुनै धार्मिक उत्पीडन, न विद्रोह नै – वास्तवमा स्मृतियोग्य त्यस्तो केहीपनि भएन । र म यहाँहरु सबैलाई यो अवगत गराउँ कि म त्यसैको भरपाई गर्न खोजिरहेको छु । मलाई थाहा छैन यदि तपाईंहरुले मलाई पछ्याउनु भएको हो या…… ( हाहाहा ) खैर जे होस्, त्यो म हुँ जसले हामीले गुमाएको महामारीलाई प्रतिस्थापन गरेको छु ।
( फरक लबजमा ) अँ, यति नै काफी छ । म देख्दैछु, चिरिया आइरहेछ । अब तिम्रो पालो, क्यासोनिया !
( क्यालिगुला बाहिरिन्छ । चिरिया र पहिलो भारदार छिर्छन् । क्यासोनिया हतारिएर चिरियासामु जान्छे । )
क्यासोनिया : महाराजको देहान्त भयो ।
( ऊ आफ्नो टाउको बटार्छे, मानौँ ऊ आँसु लुकाउन चाहान्छे, उसका आँखा अरुका आँखासँग अडिएका छन्, जो मौन छन् । सबै डराएका देखिन्छन्, तर कुनै फरक कारणका लागि ।)
पहिलो भारदार : तपाईं . . . . तपाईं विश्वस्त हुनुहुन्छ कि यस्तो बीभत्स सम्भव भयो ? यो अद्भूत देखिन्छ । केही समय अघि मात्र उहाँ नाचिरहनु भएको थियो ।
क्यासोनिया : पक्कै पनि – र उहाँलाई एकदमै गाह्रो भएको थियो । ( चिरिया एकदेखि अर्कोतर्फ हतारमा जान्छ । कोही बोल्दैनन् । ) तिमीलाई केही भन्नु छैन चिरिया ?
चिरिया : ( मधुर आवाजमा ) यो हामी सबैका लागि दुर्भाग्य हो महारानी क्यासोनिया ।
( क्यालिगुला बीभत्स तरिकाले विस्फोट हुन्छ र चिरिया सामु पुग्छ । )
क्यालिगुला : अभिनय राम्रो गर्यौ, चिरिया । ( ऊ घुमेर अरुलाई हेर्छ । पागलझैं । ) अति निम्न ! यो सफल हुन सकेन । ( क्यासोनियालाई ) मैले तिमीलाई के भनेँ नबिर्स ।
( क्यालिगुला बाहिरिन्छ, क्यासोनिया उसलाई मौन हेरिरहन्छे )
पहिलो भारदार : ( आशाको विरुद्ध आशावादी हुँदै ) के उहाँ बिसञ्चो हुनुहुन्छ क्यासोनिया ?
क्यासोनिया : ( नसुहाउँदो नजर सहित ) होइन, मेरो पट्टु । तर तिमीलाई के थाहा छैन भने उहाँ त्यो मान्छे हो जो रातमा कहिल्यै दुई घण्टा भन्दा बढी सुत्दैन र रातभर आफ्नो दरबारमा डुलिरहन्छ । अर्को तिमीलाई थाहा नभएको कुरा – र तिमीले कहिल्यै विचार नपुर्याएको पनि – कि…. के चल्छ होला त्यो मस्तिस्कमा जो मध्यरातदेखि मिर्मिरेबिचको भयङ्कर समयमा सक्रिय रहन्छ । के उहाँ बिसञ्चो हुनुहुन्छ ? होइन, जबसम्म तिमीले उहाँको आत्मा गलाउने कालो अल्सरको नाम र औषधी पत्ता लगाउदैनौँ । तबसम्म उहाँलाई कुनै बिसञ्चो हुँदैन ।
चिरिया : ( उसको कुराले छोएझैं ) तपाईं सत्य भन्दै हुनुहुन्छ क्यासोनिया । हामी सबैलाई थाहा छ कि महाराज . . . . .
क्यासोनिया : ( विछिप्त हुँदै ) हो, तिमीलाई थाहा छ – तर तिम्रो तरीकामा । र योपनि कि, ती सबैजस्तो जोसँग कत्ति पनि छैन, तिमीपनि आत्माले व्याप्त मानिसलाई सहन सक्दैनौ । स्वस्थ मानिसलाई रोगी मन पर्दैन् । खुश मानिसहरु दु:खलाई घृणा गर्छन् । आत्माको व्याप्तता ! त्यसैले टोकस्छ तिमीलाई ! होइन त ? तिमी यसलाई रोग भन्न रुचाउँछौ, त्यो नै एउटा उपाय हो जसले मूर्खहरुलाई खुशी पार्न सक्छ ।
( फरक लवजमा ) मलाई यो भन, चिरिया । के तिम्रा लागि प्रेमले कहिल्यै केही अर्थ राख्यो ?
चिरिया : ( आफैसँग ) म डराउँछु क्यासोनिया, हामी प्रेम गर्ने शील्प सिक्नका लागि निकै बुढा भइसक्यौँ । र यो यसै पनि शंकास्पद छ कि, क्यालिगुलाले हामीलाई त्यसका लागि समय दिनु होला ।
क्यासोनिया : ( सहजतासँग ) सत्य वचन । ( बस्छे ) अहो, मैले त बिर्सिराखेकी . . . क्यालिगुलाले तिमीलाई खबर पुर्याउन अह्राउनुभएको थियो । शायद तिमीलाई थाहा छ, आज चिरस्मरणिय दिन हो, कलाप्रति समर्पण गरिएको ।
वृद्ध भारदार : कुन पात्रोका अनुसार हो ?
क्यासोनिया : हैन, क्यालिगुलाका अनुसार । उहाँले केही कविलाई निम्त्याउनुएको छ । उहाँले तिनीहरुलाई विषयवस्तु दिएर कविता सुनाउन लगाउनु हुनेछ । र उहाँ चाहनुहुन्छ कि यो प्रतियोगितामा तपाईंहरु मध्येका कविले पनि सहभागिता जनाउनुस् । उहाँले विशेष गरिकन युवा स्किपियो र मेटेलसलाई सम्झनु भएको छ ।
मेटेलस : तर हामीले केही तयारी गरेका छैनौँ ।
क्यासोनिया : ( उसलाई नसुनेझैं, सामान्य लवजमा ) भन्नु नपर्ला त्यहाँ पुरस्कारको व्यवस्था गरिनेछ । र दण्ड पनि ।
( आतंकित भावमा ) तर हाम्रा लागि, सजायले त्यति आतङ्क नमच्याउला ।
( क्यालिगुला छिर्छ, सधैँभन्दा स्तब्ध देखिन्छ । )
क्यालिगुला : तयारी सकियो ?
क्यासोनिया : हजुर ( सिपाहीसँग ) कविहरुलाई भित्र डाक ।
( दुई-दुई जना गरेर करिब एक दर्जन कविहरु छिर्छन् । रङ्गमञ्चको दायाँ भागमा लामबद्ध हुन्छन् । )
क्यालिगुला : अरु कहाँ छन् ?
क्यासोनिया : मेटेलस ! स्किपियो !
( उनीहरु एक कुनाबाट कविहरु भएतर्फ जान्छन् । क्यालिगुला आफू चाँहि क्यासोनिया र दरबारीयाहरुसँग मञ्चको बायाँपट्टि बस्छ । मञ्चमा केहीबेर सन्नाटा छाँउछ । )
क्यालिगुला : विषय, मुत्यु ! समय, एक मिनेट ।
( कविहरु आ-आफ्ना डायरीमा हतारसँग केही लेख्न थाल्छन् । )
वृद्ध भारदार : उसोभए निर्णायकमा को रहनेछ ?
क्यालिगुला: म । के म काफी छैन ?
वृद्ध भारदार : हो । हजुर, काफी हुनुहुन्छ ।
चिरिया : के तपाईं प्रतियोगितामा भाग लिनुहुँदैन महाराज ?
क्यालिगुला : अनावश्यक । मैले यो विषयमा कविता लेखिसकेको छु, धेरै अघि !
वृद्ध : ( उत्साहित हुँदै ) के त्यसको प्रति हामीले पाउन सक्छौँ ?
क्यालिगुला : प्रति किन चाहियो ? म त्यो कविता सधैँ वाचन गर्छु, आफ्नै तरिकाले ।
( क्यासोनिया उसलाई गम्भिरताका साथ हेर्छे । क्यालिगुला उसको वरिपरि घुम्छ । )
क्यालिगुला : मेरो पहिरनमा त्यस्तो केही छ, जसले तिमीलाई अप्रशन्न पार्यो ?
क्यासोनिया : माफ गर्नुहोस्, त्यस्तो केही होइन . . .
क्यालिगुला : कृपया, नम्रता नदेखाऊ । भगवानका लागि विनयशील नहोऊ । यसै त तिमी रिस उठाइरहेकी छ्यौ . . . फेरि यो विनम्रता !
( क्यासोनिया बिस्तारै पर जान्छे । क्यालिगुला चिरियालाई हेर्छ । )
त निरन्तरता दिउँ । अँ, मैले लेखेको यो एकमात्र कविता हो । र यसबाट यो सिद्ध हुन्छ कि सम्पूर्ण राज्यभरि म मात्र एउटा सच्चा कलाकार हुँ । मात्र एक ! विश्वास गर, जसले आफ्नो प्रेरणालाई आफ्नो कर्मसँग एकाकार गर्न सकेको छ ।
चिरिया : त्यो त मात्र शक्तिका मात्र हो ।
क्यालिगुला : सत्य वचन । र ती अरु जो शक्तिहिन छन् त्यही हीनताको भरपाईका खातिर सिर्जना गर्छन् । मेरो हकमा कलाको सिर्जना गर्नु आवश्यक छैन, मैले त कला नै बाँचेको छु । ( रुष्टता का साथ ) ल, कविज्यूहरु, तयार हुनुहुन्छ ?
मेटेलस : मलाई लाग्छ कि तयार छु ।
अन्य सबै : हामी पनि ।
क्यालिगुला : ल ठीक छ । अब ध्यान दिएर सुन्नुहोस् । तपाईंहरु लामबद्ध तरिकाले एकएक गरी अगाडि आउनुपर्ने छ । म सिट्टी बजाउने छु । पहिलोले कविता वाचन सुरु गर्नेछ, जब म सिट्टी फुक्छु ऊ रोकिनेछ, र त्यसपछि पुनः अर्कोको पालो । यसरी नै चल्नेछ । र स्वाभाविक रुपमा विजेता ऊ हुनेछ जसको कवितालाई निकै समयसम्म सिट्टीले रोक्ने छैन । तयार हुनुहोस् ।
( चिरियातर्फ फर्केर, कानेखुसी गर्दै । )
तिमीले देख्यौ ? सबथोकको लागि व्यवस्था चाहिन्छ, कलाको लागि पनि । ( सिट्टी फुक्छ )
पहिलो कवि : मृत्यु, जब त्यो अँध्यारो किनारभन्दा निकै पर . . .
( सिट्टि बज्छ । दुईजना कविहरु बाँयातर्फ सर्छन् । एउटाले अर्कोलाई पछ्याउँछन् । कार्यक्रम एकदमै यान्त्रिक तवरले अघि बढ्छ । )
दोस्रो कवि : उनीहरुको अँध्यारो गुफाभित्र, ती तीन बहिनीहरु । तीन . . . ( सिट्टी )
तेस्रो कवि : आऊ मृत्यु मलाई अँगाल, प्रियतमा . . .
( चर्कोसँग सिट्टी बज्छ । चौँथो कवि अगाडि आउँछ र नाटकीय मुद्रामा उभिन्छ । उसले बोल्नै लाग्दा सिट्टी बजिसक्छ । )
चौँथों कवि : जब म मेरो सुखद वात्सल्य थिएँ . . .
क्यालिगुला : यो सब बन्द गर ! मैले दिएको विषयको तेरो सुखद वात्सल्यसँग के सम्बन्ध छ हँ ? के सम्बन्ध ? मलाई बुझा यीबिच के सम्बन्ध छ !
पाँचौं कवि : तर महाराज मैले त बस् सुरु मात्र गरेको थिएँ . . . ( सिट्टी बज्छ । )
छैँटौं कवि : ( उच्च स्वरमा ) ऊ निर्दयी छ, लुकेर आँउछ . . .( सिट्टी )
सातौं कवि : ( रहस्यमय भावभंगीका साथ ) एउटा लामो भाकलपछि . . . . .
( सिट्टि बज्छ । स्किपियो विना डायरी नै अगाडि आँउछ । )
क्यालिगुला : तिमीसँग डायरी छैन ?
स्किपियो : मलाई आवश्यकता छैन ।
क्यालिगुला : ठीक छ । उसोभए सुनौँ न त । ( उसले मुखमा सिट्टी घुसाउँछ । )
स्किपियो : ( क्यालिगुलाको अति नजिक उभिएर पनि उसलाई नहेरी वाचन गर्न थाल्छ । )
खुशीको तलाशले हृदय स्वच्छ पार्छ,
तरङ्गित हुन्छ आकाश उदिप्त प्रकाशले
ओह जंगली, मीठा, हर्षका उमङ्गहरु
आशाविहीन उन्मादहरु !
क्यालिगुला : ( नम्रता पूर्वक ) कृपया, पर्ख । बाँकीका कविहरुले प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता छैन ।
( स्किपियोसँग ) मृत्युले सिकाउने पाठ बुझ्नका खातिर तिमी अति कलिलो छौ ।
स्किपियो : ( क्यालिगुलासँग नजर जुधाएर ) म अति कलिलो थिएँ, जब मैले आफ्नो पितालाई गुमाएँ !
क्यालिगुला: ( कविहरुतर्फ फर्केर ) बाँकीका तिमीहरु आ–आफ्नो आसन ग्रहण गर । होइन, वास्तवमा बनावटी कविहरु खतरनाक हुन्छन् । मैले भर्खरसम्म तपाईंहरुलाई आफ्ना मित्र बनाउने बारे सोचिरहेको थिएँ, म कुनैबेला यो सोचेको थिएँ कि, वीर कविहरु मेरो सुरक्षार्थ खडा हुनेछन् । त्यो भ्रमको अन्त्य भो ! शायद मैले तिमीहरुलाई शत्रुको मुखमा लगेर फ्याँकिदिनु पर्ने थियो । अहिले यी सबै कविहरु मेरा विरुद्ध छन् – र यो नै सब कुराको अन्त्य हो शायद । लामबद्ध, बाहिर निस्क । आफ्नो त्यो बकवास डायरीलाई चाट्दै जाओ र त्यसमा लेखेको दुष्ट कुराहरु सब मेटाइहाल ! सावधान ! छिटो गर !
( पुनः सिट्टी फुक्छ । कविहरु डायरीमा जिब्रो जोतेर बाहिर निस्कन्छन् । क्यालिगुलाले बिस्तारै भन्छ । )
र अब मलाई एक्लै छाडीदेऊ ।
( बाहिर जाँदैगर्दा ढोकामा पुगेपछि चिरियाले पहिलो भारदारसँग टाँसिएर कानेखुसी गर्छ । )
चिरिया : अब हाम्रो मौका ।
( स्किपियोले जसले त्यो सुनिरहेथ्यो रोकिन्छ र क्यालिगुला भएको ठाँउमा जान्छ । )
क्यालिगुला : ( रिसाउँदै ) तिमी मलाई बाउले जस्तै कान न्यानो गरेर बस्न दिँदैनौ ?
स्किपियो : होइन महाराज । ती सबै सेवाको अब कुनै उद्देश्य छैन । अहिलेको लागि मलाई यत्ति थाहा छ कि, तपाईंले आफ्नो लागि केही रोजिसक्नु भएको छ ।
क्यालिगुला : तिमी मलाई शान्तसँग बस्न दिँदैनौ ?
स्किपियो : हो, तपाईंको जो मर्जी हुनेछ नै । म तपाईंलाई एकान्तमा छाड्दैछु, यसकारण कि म तपाईंलाई बुझ्न आएको थिएँ । हामीसँग कुनै विकल्प बाँकी छैन, न तपाईंसँग न त मसँग – जो धेरै हदसम्म तपाईंजस्तै थिएँ । मैले जानै पर्छ, टाढा जानै पर्छ, र खोज्नुपर्छ यी सबको अर्थ !
( ऊ क्यालिगुलालाई केहीबेर स्तब्ध हेर्छ, र संवेगपूर्ण निस्क्न्छ )
अलबिदा प्रिय क्याअस । जब सबै कुराको अन्त्य हुनेछ, यो सम्झनुस् कि मैले तपाईंलाई प्रेम गर्थेँ ।
( स्किपियो बाहिर जान्छ, क्यालिगुला इशारा गर्दै बोल्न खोज्छ तर सक्दैन । र ऊ क्यासोनियातर्फ लाग्छ । )
क्यासोनिया : के भनेको उसले ?
क्यालिगुला : केही हैन । तिमी बुझ्दिनौ ।
क्यासोनिया : के सोचिरहनु भएको ?
क्यालिगुला : उसको बारेमा । तिम्रो बारेमा पनि । तर दुबै एउटै कुरा हुन् ।
क्यासोनिया : खासमा कुरा के हो ?
क्यालिगुला : ( उसलाई घुरेर ) स्किपियो गयो । हामीबिच मित्रता थियो । तर तिमी, म चकित छु कि तिमी अझै यहीँ किन छ्यौ ?. . .
क्यासोनिया : किन, किनभने म तपाईंको प्रिय छु ।
क्यालिगुला : होइन । तर मलाई लाग्छ कि मैले बुझ्थेँ – यदि मैले तिम्रो हत्या गरेको भए ।
क्यासोनिया : हो, त्यो समस्याको हल हुन सक्थ्यो । उसोभए त्यसै गर्नु . . . तर किन, किन तपाईं खुशी हुन सक्नुहुन्न, क्षणभरका लागि पनि र किन बाँच्नुहुन्न स्वतन्त्र, विना कुनै बन्धन ?
क्यालिगुला : मैले यो सब वर्षौंदेखि गर्दै आइरहेको छु । वास्तवमा म अभ्यस्त छु यी सबका लागि ।
क्यासोनिया : मैले त्यो खालको स्वतन्त्रताको कुरा गरेकी होइन । मेरो मतलब – के साँच्चै तपाईंले महसुस गर्नुभएको छैन कि सरलता साथ बाँच्नु र प्राकृतिक रुपमै प्रेम गर्नु के हुन सक्छ भनेर. . . सम्पूर्ण शुद्ध हृदयले ?
क्यालिगुला : जो हृदयको शुद्धताको कुरा गर्दैछ्यौ- यो त हरेकलाई आफ्नै तरिकाले प्राप्त हुन्छन् । र मलाई त्यो शुद्धता चरम विन्दूसम्म नै प्राप्त छ ।. . . फेरिपनि त्यो कुराले मलाई तिम्रो हत्या गर्नबाट रोक्ने छैन । ( हाहाहा ) हुनसक्छ यसले मेरो समस्त जीवनवृत्ति नै चौपट पारिदिन सक्नेछ, एउटा अत्योत्तम चरमोत्कर्ष !
( उठ्छ र ऐनालाई आफूतर्फ फर्काउँछ, गोलगोल हिँड्न थाल्छ । बिलकुल पागलझैं, क्यासोनियाको अस्तित्वसमेत भुलेर । )
कस्तो अचम्म ! कसैलाई मारिनँ भने म एक्लो महसुस गर्न थाल्छु । शायद जिउँदाहरु, कमसेकम मेरो दुनियाँका लागि होइनन्, उनीहरुसँग वाक्क लाग्छ । तिमी र अन्य कोही यहाँ हुँदापनि मलाई अति शून्य महसुस हुन्छ, र मेरो आँखाले रिक्तता सिवाए केही देख्दैन । होइन, तर म मात्र मृत्युसँगको सामिप्यमा आनन्द महसुस गर्न सक्छु ।
( ऊ रङ्गमञ्चका दर्शकतर्फ हेर्छ, र क्यासोनियाको उपस्थितिलाई वास्ता गर्दैन । )
लास मात्र वास्तविक हुन् । उनीहरु मजस्तै हुन् । मैले उनीलाई मेरो पर्खाइमा बसिरहेको देख्छु, मेरै तनाव बोकिरहेको पनि । र म निकैबेर ती मान्छेसँग कुरा गर्छु जसले मसँग जीवनको भिक्षा मागेका थिए र जसको जीब्रो मैले थुतिदिएको थिएँ ।
क्यासोनिया : आउनुस् । मेरो आडमा पल्टनुस् । मेरो काखलाई सिरानी राखेर सुत्नुहोस् ।
( क्यालिगुलाले त्यही गर्छ ) अब ठीक छ, हैन त ? आराम गर्नुस् । यहाँ कति शान्ति छ हगि !
क्यालिगुला : शान्ति ? तिमीले अतिरञ्जीत पार्यौ प्रिय । सुन !
(टाढा तरवार र ढाल जुधेको आवाज सुनिन्छ )
के तिमीले यहाँ वरपरका हजारौं मधुर ध्वनि सुनेकी छ्यौ, जस्तो कि घृणाले सिकार पछ्याइहेको ?
( गुनगुन आवाज र पदचापहरु सुनिन्छन् )
क्यासोनिया : कसैले हिम्मत गर्दैनन्. . .
क्यालिगुला : हो, यो मूर्खता हो ।
क्यासोनिया : मूर्खताले मार्दैन । यसको माने मानिसहरु प्रतिक्रियामा ढिलाइ गर्छन् ।
क्यालिगुला : मूर्खता हत्यारा हुनसक्छ, क्यासोनिया । एउटा मूर्ख केही कुरामा पनि रोकिँदैन जब उसलाई आफ्नो प्रतिष्ठा गुमेको चेत हुन्छ । होइन, ती मेरो हत्या गर्नेहरुमा कोही पनि यस्ता हुनेछैनन् जसका बाबु र परिवारलाई मैले सिध्याएको छु । उनीहरुले, पक्कै पनि बुझिसकेका छन् । उनीहरु मेरो पक्षमा छन् । तिनका जिब्रामा मेरोमा जस्तै स्वाद भेटिन्छ । तर अन्य . . जसको मैले मजाक उडाएको छु, उनीहरुको घाइते अहमको विरुद्धमा मसँग कुनै बचाव छैन ।
क्यासोनिया : ( दृढताका साथ ) हामी तपाईंको रक्ष गर्नेछौँ । यहाँ धेरै बाँकि छन् जस्ले तपाईंलाई प्रेम गर्छन् ।
क्यालिगुला : ती प्रमिहरु प्रतेकदिन घटिरहेछन् । म अचम्मित भने छैन । मैले सबै गरिसकेको छु जुन हामीलाई अन्तिम अवस्थामा चाहिन्छ । र त्यसपछि, हामी खुलेर कुरा गरौ. . त्यो मूर्खता मात्र होइन जुन मेरो विरुद्धमा छ । त्यहाँ साहस र मान्छेका भाग्य पनि छन् जो खुशी हुन चाहन्छन् ।
क्यासोनिया : ( उस्तै लवजमा ) अँह, उनीहरुले तपाईंको हत्या गर्ने छैनन् । यदि उनीहरुले प्रयास मात्र गरे भनेपनि, तपाईंलाई हात लगाउनुपूर्व नै स्वर्गको अग्नि उत्रिएर उनीहरुलाई खरानी पार्नेछ ।
क्यालिगुला : स्वर्गबाट ? यहाँ कुनै स्वर्ग छैन,बिचरी मेरी प्रिय रानी ! ( बस्छ ) तर किन यस्तो अचानकको भक्ति र प्रेम ? यस्तो कुरो हाम्रो सहमतिमा राखिएको थिएन, म ती सबकुरा एकदम राम्रोसँग सम्झन्छु ।
क्यासोनिया : ( सोफाबाट उठेर कोठामा यताउति गर्छे ) के तपाईं बुझ्नुहुन्न ? के तपाईंले अर्कालाई मार्दै गरेको हेरेर म अघाइनँ होला ? साथसाथ योपनि बुझेर कि तपाईंको पनि कसैद्वारा जुनैबेला हत्या हुनसक्छ !
के मलाई यति नै पर्याप्त छैन र तपाईंलाई यति कठोर र क्रुर महसुस गर्न ? कि तिक्तताले हरदम उम्लिरहेको तपाईंलाई जब म आफ्नो अँगालोमा बाँध्छु, तपाईंले फेर्ने हरेक श्वासमा हत्याको गन्ध बाफिएर उड्ने गर्छ ! म यो देखेर बाँचिरहेकी छु कि दिन प्रति दिन तपाईंभित्रको मानिस अस्तित्व मर्दै मर्दै गइरहेको छ, थोरै थोरै गर्दै ।
( क्यालिगुलातर्फ फर्किन्छे ) अँ, मलाई थाहा छ योपनि । म बुढी हुँदै छु दिनदिनै, मेरो सुन्दरता हराउँदै गइरहेको छ । तर त्यो तपाईं मात्र हो जसको बारेमा हाल मलाई चिन्ता छ । तपाईंले मलाई प्रेम गर्नुहुन्छ वा हुन्न भनी जान्ने चक्करमा म पीडाका विशाल पहाडबाट गुज्रिसकेकी छु । म मात्र यो चाहन्छु कि तपाईं ठीक हुनुहोस् । पुन: पहिलेको जस्तै ! तपाईं युवक नै त हुनुहुन्छ, तपाईंको अगाडि सम्पूर्ण जिन्दगी छ । र मलाई यो बताउनुस् कि तपाईंले पूरा आयू भन्दा ठूलो चिज के चाहनुहुन्छ ?
क्यालिगुला : ( उठेर, क्यासोनियालाई एकटकसँग हेरेर ) तिमी मसँग लामो समयदेखि साथमा छ्यौ, निकै लामो समयदेखि …..
क्यासोनिया : हो . . . तर तपाईं मलाई साथै राख्नुहुन्छ नि, होइन त ?
क्यालिगुला : मलाई थाहा छैन । मलाई यो मात्र थाहा छ कि तिमी अहिलेसम्म मेरो साथमा नै हुनुको कारण हामीले सँगै बिताएका ती अगणित रात हुन् । क्रुरताका रात, आनन्दरहित उमङ्गका रात, यस कारण तिमीलाई म कस्तो छु यथार्थ बोध छ ।
( उसलाई अँगालोमा लिन्छ, आफ्नो दाहिने हातले उसको टाउकोलाई केही बङ्गाउँछ ) ।
म उनन्तीस वर्षको भएँ, साँच्चै धेरै उमेर त कहाँ हो र ? तर आज केही नहुँदा जीवन लामो लाग्न थालेको छ, जताततै टाउका मात्र छन् यहाँ र मेरो आफ्नै क्षतविक्षत विगतको भग्नावशेष, भरिपूर्ण वास्तवमा, जसको अन्तिम साक्षी तिमी मात्र रह्यौ । र म यो मर्माहत लज्जाबोधबाट भाग्नपनि सक्दिनँ कि तिमी जो यिनै सबथोकबिच चाँडै नै अब बुढी हुनेवाली छ्यौ ।
क्यासोनिया : मलाई भन्नुस् के तपाईंले मलाई आफ्नो साथै राख्ने सोच्नुभएको छ ?
क्यालिगुला : मलाई थाह छैन । मलाई यत्ति थाह छ र यो अति भयानक चिज हो जो मेरो जीवनभरको एक मात्र वास्तविक भावना नै यहि दर्दनाक लज्जाबोध हो ।
( क्यासोनिया उसको अँगालोबाट फुत्किन्छे, क्यालिगुला उसको पिछा गर्छ । ऊ आफ्नो पिठ क्यालिगुलाको छातिमा टाँस्छे र क्यालिगुलाले आफ्ना हातहरुले उसलाई बेर्छ । )
क्यालिगुला : के त्यो अन्तिम साक्षी गुमनाम हुनु उत्तम हुँदैन ?
क्यासोनिया : त्यसको कुनै महत्व छैन । मलाई यो मात्र थाहा छ कि म खुशी छु । र तपाईंले भर्खर भन्नुभएको कुराले त झन् म बहुतै खुशी छु । तर म मेरो खुशी तपाईंसँग साट्न किन सक्दिनँ ?
क्यालिगुला : कसले मलाई बेखुशी भन्छ ?
क्यासोनिया : खुशी स्नेही हुन्छ । यसले कहिल्यै रक्तपात मच्चाउँदैन ।
क्यालिगुला : उसोभए यहाँ खुशीका दुई प्रकार हुनुपर्छ, र मैले हत्यारा-खुशी छानेँ । जसका लागि म खुशी छु । कुनैबेला यस्तो समय थियो जब म यो सोच्थेँ कि म पीडाको चरमोत्कर्षमा पुगेँ । तर, होइन, त्यो पीडाभन्दा पार पनि त्यहाँ एउटा शानदार हर्ष हुँदोरहेछ, नपुसंक ! यता मलाई हेर । ( ऊ हेरिदिन्छे ) मलाई अट्टाहास हुन्छ कि कसरी सारा रोमले जानाजान द्रुसिल्लाको नाम वर्षौंसम्म लिन अस्विकार गर्यो । खासमा सारा रोमले भुलमा थियो । मेरालागि प्रेममात्र पर्याप्त छैन, जुन कुरा मैले महसुस गरेँ । र सो कुराको मैले आज पुन: तिमीलाई देखेपछि आभास गरेको छु ।
कसैलाई प्रेम गर्नु भनेको उसकै समिपमा रहेर कपाल फुलाउने लालच रहेछ । त्यो प्रेम मेरो पहुँच बाहिरको हो । बुढी द्रुसिल्ला, मृत द्रुसिल्लाभन्दा घटिया हुन्थी । धेरै मानिसहरु यो सोच्छन् कि, पुरुष आफूले प्रेम गरेको कोही स्त्रीलाई त्यो भयंकर मृत्युले चुँडेर लगेपछि पीडाबाट गुज्रिन्छ । तर उसको पीडा व्यर्थ छ, वास्तविक पीडा त तब महसुस हुन्छ जब उसले बुझ्ने छ कि त्यही शोकपनि अजम्बरी छैन । शोकसमेत क्षणभङ्गुर छ ।
तिमीले देख्यौ, मसँग कुनै बहाना छैन, न त सत्य प्रेमको छायाँ, न कुनै तिक्तता वा पश्चताप । मेरो बचावको लागि कुनै याचनायोग्य केहीपनि छैन । तर आज – तिमीले मलाई वर्षौ पहिलेको भन्दा स्वतन्त्र देखेकी छ्यौ, स्मृति र भ्रान्तिबाट ।
( ऊ अट्टहास हाँस्छ )
मलाई अहिले यो ज्ञान छ कि केही…… केही अजम्बरी छैन । सोच त वास्तवमा यो ज्ञानले के अर्थ दिन्छ ! राज्यको इतिहासमा यस्तो स्वतन्त्रता प्राप्त गर्ने खाली दुई या त तीनजना छन्, यो पागल खुशी । साँच्ची क्यासोनिया, तिमीले अति असाधारण नाटक देखेकी छ्यौ । र अब तिम्रा लागी पर्दा खस्ने छ ।
( ऊ क्यासोनियाको पछाडि उभिन्छ, क्यासोनियाको गर्धन वरपर आफ्ना औँलाहरु नचाउँछ । )
क्यासोनिया : ( डराउँदै ) होइन, यो असम्भव छ । तपाईंले यसलाई कसरी खुशी भन्न सक्नुहुन्छ, यो भयावह स्वतन्त्रतालाई ?
क्यालिगुला : ( क्यासोनियाको कण्ठमा आफ्नो हात बिस्तारै कस्दै लान्छ ) खुशी यहि नै हो क्यासोनिया । मलाई थाहा छ म के भनिरहेको छु । तर यो स्वतन्त्रताको लागि म तृप्त मानिस हुँ । यसलाई साधुवाद, मैले आफ्नो एकांकीबाट दिव्य प्रबोधन प्राप्त गरेँ ।
( ऊ बिस्तारै आफ्नो हात कसिलो पार्दै जान्छ, क्यासोनिया कुनै प्रतिरोध देखाउँदिन, बरु आफ्ना हातहरु खुला छाडी ऊप्रतिको समर्पण भाव देखाउँछे । क्यालिगुलाले झुकेर क्यासोनिको कानमा फुसफसाउँछ । )
म जिउँछु, म मार्छु, म एउटा विध्वंशक, आफ्नो सम्पूर्ण शक्तिको मनमौजी उपयोग गर्छु । मेरो अतुलनिय शक्तिका सामु श्रृष्टिकर्ताको शक्तिसमेत एउटा बच्चाको खेलभन्दा ज्यादा केही होइन । र हो, यहि हो खुशी । खुशी अरु केहीपनि होइन । यो असह्य मुक्ति, विनाशकारी कृत्य, रक्तपात, मेरो यत्रतत्र व्याप्त यो घृणा र यो शानदार एकांकी जो एउटा मानिस सम्पूर्ण जीवन अदण्डित हत्यारा हुनुको निस्प्रभावी आनन्दउपर धन्य र कृतज्ञ भएर बाँच्छ । बस् एउटा निर्दयी तर्क जसले मानिसको प्राणलाई निमोठी निमोठीकन मिल्क्याइदिन्छ, अब मिल्किने पालो तिम्रो प्राणको क्यासोनिया ( ऊ हाँस्छ ) मेरो हृदयको आखिरी इच्छा हो मेरो एकांकी, मेरो एक्लोपन !
क्यासोनिया : ( संघर्षरत ) अहो महाराज . . .
क्यालिगुला : ( उत्कटतापूर्वक ) अँह, दु:खी नहोऊ प्रिय । मैले यो पर्थ्यो, किनकी समय छोटो छ । मसँग कम समय शेष छ प्रिय क्यासोनिया ।
( कयासोनिया जो अब मर्ने लागेकी हुन्छे, हाँस्छे । क्यालिगुलाले उसलाई तानेर बिस्तारामा हुत्याउँछ । ऊ एकतमासले उसलाई हेर्छ । उसको स्वर खस्रो र चर्को हुँदै जान्छ । )
क्यालिगुला : तिमी पनि दोषी थियौ । तर मार्नु मात्र समस्याको हल होइन ।
( ऊ फरक्क फर्केर आफैलाई पागलझैं ऐनामा निहाल्छ । )
तँ क्यालिगुला ! तँ पनि दोषी छस् । मात्र केही हदको फरक हो, धेरै वा थोरै । दोषी भएर के भो ? तर के फरक पार्छ दोषी हुनुले जब यो संसारमा कुनै न्यायधिश छैन र कोही निर्दोष नै छैनन् भने, कसले सजाय दिन्छ तँलाई ?
( उस्ले आफ्ना आँखा ऐनाको प्रतिबिम्बको नजिक लैजान्छ । उसको स्वर विचलित छ । )
तैँले देखिस्, मेरो दुःखी मित्र ? हेलकनले तँलाई पछारिदियो मात्र । मैले त्यो जून पाउने छैन । कदापि, कदापि कथंकदापि ! तर यो सब थाहा पाउनु कति तिक्त छ, र यो समाप्तिमा आइपुग्नु ? सुन् ! त्यो हतियारको ध्वनि हो । निर्दोषहरुको फौजले अब दंगा गर्नेछ र निदोर्ष नै हुनेछ विजयी । तर म…..किन उनीहरुको ठाउँमा उनीहरुमाझ छैन ? म यतिबेला डराइरहेको छु । सबसे क्रुर कुरा यो, सबैलाई तिरस्कार गरिसकेपछि, आज आफूलाई पनि उस्तै काँतर पाइरहेको छु, जस्तो तिनीहरु सबै थिए । खैर, केही छैन । यो क्षणभङ्गुर डरको पनि त अन्त्य छ । छिट्टै मैले अब यी सब समझभन्दा पारको त्यो शून्यता पाउने छु जहाँ हृदयलाई विश्राम मिल्नेछ ।
( ऊ फेरि केही पाइला पछाडि हटेर ऐनाको अगाडि उभिन्छ । ऊ शान्त देखिन्छ । ऊ बोल्न सुरु गर्छ, उसको आवाज मधुर र निरन्तर छ । )
अझपनि, साँच्चै, यो अति सामान्य छ । यदि मैले जून पाउथेँ भने वा प्रेम नै पर्याप्त हुन्थ्यो भने निश्चय नै सबै कुरा पृथक हुने थियो । तर मैले यो प्यास कहाँ मेटाउन सक्थेँ ? मानिसको मुटु के, के ईश्वर, त्यहाँ कुन त्यत्रो गहिरो ताल हुने थियो मेरा लागि ? ( घुँडा टेकेर रुँदै ) यो संसारमा केहीपनि छैन, न त अर्को कुनै संसारमा जो मेरो औकातका होउन् । । र पनि मलाई थाहा छ, तिमीलाई पनि थाहा छ ( रुँदै छ, ऊ आफ्ना हात ऐनासामु फिजाउँछ । ) म जति जे चाहन्थेँ बस् असम्भव हुन चाहन्थेँ ! बस् असम्भव ! मैले यसलाई संसारका कुना कुना खोजेँ, आफ्नै मनका गौण बस्तीहरुमा पनि खोजेँ । मेलै मेरा हात फैलाएको छु ( ऊ चिच्याउँछ, कहालिन्छ ) हेर इः, मेलै हात फैलाएको छु, तर त्यो सधैँ तिमी थियौ जसलाई मैले पाएँ, बस् तिमी मात्र पाएँ मेरो सामना गर्ने । म तिमीलाई घृणा गर्न थालेको छु । मैले गलत बाटो रोजेँ । यस्तो बाटो जसले कहीँपनि पुर्याउँदैन । मैले पाएको स्वतन्त्रता खोक्रो रहेछ. . . . . केहीपनि छैन, शून्य आखिरमा बस् ! ओह, यो अन्धकार कति अत्याचारी ? हेलकन आएन, हामी सधैँ दोषी हुनेछौँ । आज रातीको बतास, मानिसका पीडाहरु मिलेर बनेको, पिरामिडजस्तै हुनेछ, अति नै भारी !
( हतियार ठोकिएको र मान्छेले साउती मारेको सुनिन्छ । ऊ उठ्छ, मेच उठाउँछ र ऐनासामु जान्छ, जोडजोडले श्वास फेर्छ । ऊ आफैसँग प्रतिस्पर्धा गर्छ, केही अगाडि झुक्छ र आफ्नो छायाँको सापेक्ष गति हेर्छ, मेच उठाएर कसेर ऐनातिर फ्याँक्छ र जोडले चिच्याउँछ )
इतिहासका लागि क्यालिगुला ! इतिहासका लागि जा !
(ऐना फुट्छ र सोही समय शस्त्रसहित षड्यन्त्रकारी छिर्छन् । क्यालिगुला बौलाह हाँसो हाँस्दै उनीहरुका सामु मच्चिन्छ । चिरिया र स्किपियो जो सामु छन्, उसलाई कटार र चुपी हान्छन् । क्यालिगुला स्वाँस्वाँ गर्न थाल्छ । सबैले उसलाई हान्छन्, छिटोभन्दा छिटो, दोधारमा । अन्तिम स्वाँस्वाँमा हाँस्दै र निसास्सिँदै क्यालीगुला चिच्याउँछ । )
म अझै जिउँदो छु!
पर्दा