अनूदित कविता : यौटा ज्यामी इतिहास पढ्छ

~ब्रर्तोल्त ब्रेख्त~
अनुवादक – मनु मन्जिल

थेब्स सहरका सातद्वार कसले बनायो ?
किताबका पानाहरूभरि त राजाहरूको नाम छ
के राजाहरूले नै ती खस्रा, बडे–बडे ढुंगाहरू उचालेर ल्याए ?
र वेविलोन जो धेरैपटक नष्ट भयो
कसले पटक–पटक निर्माण गरिदियो ?
सुनै सुनले चम्केको लिमा सहरको
कुन घरमा बस्थे त्यसका निर्माताहरू ?
चाइनाको ‘गे्रट वाल’
बनेर सकिएको साँझ
त्यहाँका ज्यामीहरू कहाँ गए ?
रोम साम्राज्यमा विजयका बडे–बडे
खुर्पे आकारका अग्ला–अग्ला स्तम्भहरू छन्
कसले उठायो तिनीहरूलाई ?

सीजरहरूले कसलाई जितेका हुन् ?
बाइजान्टियम गीतमा बाँचेको छ
के त्यहाँका सबै बासस्थान भनेका दरबारहरू थिए ?
अनि एटलान्टिस सहरमा समुद्र पसेको रात
डुबिरहेका मानिसहरू आफ्ना दासहरूलाई बोलाइरहेथे
किन होला ?
जवान अलेक्जान्डरले महान् भारत जिते
तर एक्लै ?
सीजरले गाउलहरूलाई हराए
के उनको सेनामा यौटा भान्सेसम्म थिएन ?
स्पेनका राजा फिलिप आफ्ना सारा
जहाजहरू डुबेर नष्ट हुँदा रोए रे
कोही अरु रोएनछ ?
फ्रेडरिक द ग्रीकले सातवर्षे युद्ध जिते
उनका साथमा अरु कसले जित्यो ?
प्रत्येक पन्ना विजयको छ
कसको बलिदानले प्राप्त भयो त्यो विजय ?
हरेक दश वर्षमा यौटा महान् मानिस आउँछ
बीच–बीचमा संगीतकारहरूलाई कसले पाल्यो ?
कत्ति धेरै विवरण, उफ !
कत्ति धेरै प्रश्नहरू ।
०००

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in अनूदित कविता and tagged , . Bookmark the permalink.

1 Response to अनूदित कविता : यौटा ज्यामी इतिहास पढ्छ

  1. Raju ray yadav says:

    Jindagi ma na bujhaune utar na dine parsna haru dher chhann utar khojnama time hamrai weste hunchha sabalai niptya maner xodnu oarne rahechha jindagima

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.