~सुरेन उप्रेती~
हेर पीपल ! तिमी र म यो चौतारीमा बसेको पनि युगौं भए जस्तो लाग्छ । ती प्रेमप्रसादका हजुरबाले बाआमाका नाममा चौतारी बनाएका थिए । मानिसहरू उकालीओराली गर्दा थाकेपछि वरपीपलको छहारीमा बसेर सुस्ताउन पाउनेछन् र आशीर्वाद दिने छन्। त्यही आशीर्वादले बाआमा स्वर्ग जाने छन भन्ने उनको विश्वास थियो । हामी वरपीपललाई चौतारीका दुई छेउमा रोपिदिए । टाढादेखि पानी ल्याए, ढुंगामाटाको पर्खाल लगाए । पर्खालमाथि ठूला ढुंगाहरू छापिदिए । हामीलाई जनवारहरूबाट जोगाउन बाँसका भाटाहरूको बार लगाइदिए । मल र पानी हाल्दै हामीलाई हुर्काए ।
यही चौतारीमा हामी किशोर हुँदै वयस्क भयौं । ऊ बेला अहिले जस्तो बाटाहरूले जमिनलाई चिरेका थिएनन् । जमिन थर्काउँदै मान्छे ओसार्ने र लडाउने मोटरहरू पनि थिएनन् । मानिसहरू टाढाटाढादेखि भारी बोकेर आउनेजाने गर्थे । भारी बिसाएर हाम्रै काखमा निधाउँथे । लुखुरी – लुखुरी भन्दै सुसेलेर हावा बोलाउँथे । सर्र हावा चल्दा तिमी कस्तो मजाले पातहरू फर्र पारेर हल्लाउँथ्यौ । पात बज्दा मिठो धुन आउँथ्यो । यात्रुहरू टाढासम्म सुनिने गरी सुसेला हाल्थे । पात बजाउँथे । गीत गाउँथे । हामी दुवै जना हाँगाहरू फैलाएर घाम र पानीबाट बटुवाहरूलाई जोगाउँथ्यौ ।
प्रेमिल जोडीहरू आएर शीतलमा बसेर मायापिरती साट्थे । रमाउँदै वर खान्थे । चराहरू वर र पीपलका दाना खान्थे । गोठालाहरू र स्कुले विधार्थीहरू उन्यूको डाँठमा वरका दाना उनेर सील बनाउँथे । हाँगामा चढेर सैसैेला र लुकामारी खेल्थे । उनीहरू रमाएको देखेर हामी पनि कति खुशी हुन्थ्यौं है ।
हेर पीपल ! हामीले जीवनमा कहिल्यै आफ्ना लागि सोचेनौं । अरू प्राणीहरू र चराहरूको खुशीमा रमाउँदै हाम्रो जीवन बित्यो । मेरा हाँगाहरूमा ऐंजेरु पलाएका थिए । तिम्रा जरामा गाँठाहरू पलाएर तिमी विरामी थियौ । गएको भूकम्पले पल्टाएर तिम्रा आधा जराहरू नै जमिनमाथि आए । हाँगाहरू भाँचिए प्यारालाइसिस भएझै अशक्त भएर तिमी ढल्यौ । मान्छेहरूले तिम्रा हाँगाहरूमा आरा चलाए । तिमी पीडाले छटपटाउँदा म निशब्द भएर टोलाई मात्र रहेँ । तिम्रो दर्दमा भक्कानिएँ । म के नै गर्न सक्थें र ।
तिमीसँग बिछोड भएपछिको जिन्दगी त जिन्दगी नै हैन जस्तो लाग्छ । हो, मलाई थाहा छ । एक दिन हामी निष्प्राण हुन्छौ । हामीबाट मानिसहरूले राम्रा राम्रा फर्निचरहरू र सजावटका सामानहरू बनाउलान् ती आकर्षक सामानहरू देश – विदेशसम्म पुग्लान् र तारिफ होला तर हामी त हुँदैनौं नि हैन । त्यो सब मानिसहरूले मरेपछि स्वर्ग गएजस्तै त होला नि । तिमी गएपछि त मलाई पनि डिप्रेसन भएछ क्यारे । यो जिन्दगी त्यसैत्यसै सकिएजस्तो मात्र लाग्छ प्रिय पीपल । म एक्लै छु । बूढो रुख !
(स्रोत : नागरिक – शनिबार)