समीक्षा : थारु भाषा साहित्यमा माेती रत्नकाे उपस्थिति तथा याेगदान

~भावना चौधरी~

१. विषयप्रवेश

मोती रत्न (२०६०) को साहित्यिक यात्राको हनुमान चौधरीको सम्पादनमा रहेको झोपडी पत्रिकामा प्रकाशित एक “सीखे परल” कविता शीर्षकको कविताबाट आरम्भ भएको हो । उनको गद्द्यांश विधाको लेखनयात्रा हितुवा शीर्षकको कथा २०६५ को जल्मौती पत्रिकामा प्रकाशित भए पछि अघि बढेको देखिन्छ । पद्द्यांश साहित्य र आख्यान साहित्य दुबैमा सक्रिय रत्नका कथा, गजल र मुक्तकका झण्डै चार कृति प्रकाशित छन् । साहित्य यात्राको प्रारम्भिक चरणमा कविता विधामा सक्रिय मोती रत्नका दुई दर्जन भन्दा बढी फुटकर कविता, गजल, मुक्तक निसराउ, पहुरा, कल्गी सन्देश, भाग्योदय, सैह्चिन, हर्चाली साहित्यिक पत्रपत्रिकाहरुमा प्रकाशित देखिन्छ । उनले गजल, मुक्तक साथै कथा र नाटक आदि विधामा समेत कलम चलाएका छन् । साहित्यका प्रायः सबै विधामा कलम चलाए पनि उनलाई साहित्यिक उचाइमा पुर्याउने केन्द्रीय विधा भने पद्द्यांश नै हो ।

प्रेम रस र समाजको चित्रण गर्न साहित्यिक दुनियाँमा मोती रत्न थारू साहित्यमा एक रत्न हुन । उनलाई मनके बोझा गजल संग्रह (२०७०) मा मात्र खुम्च्याएर उनको साहित्यिक मूल्याङ्कन गरिनु पक्कै पनि उनको साहित्यकार व्यक्तित्व माथि गरिएको अन्याय हो । उनका डूटीया संयुक्त मुक्तक संग्रह (२०७५) र तेम्ह्री संयुक्त गजल संग्रह (२०७५) गरी दुई संयुक्त सङ्ग्रह, छत्री अडियो मुक्तक संग्रह (२०७६), उदगार अडियो गजल संग्रह (२०७६) र खोटोल्ना अडियो संयुक्त बत्कोही संग्रह (२०७७) प्रकाशित देखिन्छन् भने चुक्का हाइकु संग्रह, आँशक बूंदा उपन्यास अप्रकाशित देखिन्छन् । मनोविज्ञान, अस्तित्ववाद, विसङ्गतिवाद र नारीवादजस्ता अवधारणालाई केन्द्र बनाएर बोल्ड कथा लेख्ने रत्नले यसप्रकारको सशक्त लेखनलाई निरन्तरता किन दिन चाहिनन् यो अस्पष्ट नै रहे पनि उनी पछिल्लो समय भने पद्द्यांश साहित्यका क्षेत्रमा क्रियाशील रहेको देखिन्छ । नवीन चेतना, युगबोध र सशक्त अभिव्यक्तिका साथ सचेत रूपमा लेखन कार्यमा लागेकी मोती रत्न न त आफु विज्ञापित हुन नै चाहदैन्, न त थारू साहित्यबाट कुनै अपेक्षा नै गरे । ‘एउटै धार र प्रवृत्तिका बासी कुरा मात्रै लेख्ने’ भनी आरोप लगाउने थारू साहित्यका विद्वान्हरूले उनको उचित मूल्याङ्कन गर्न नसक्नु कतै स्रष्टा प्रतिको अवमूल्यन त होइन भन्ने प्रश्न उब्जिएको देखिन्छ ।

२. मोती रत्नको साहित्यसन्दर्भ र प्रवृत्ति

मोती रत्न साहित्यमा पृथक पहिचानका साथ उपस्थित स्रष्टा हुन् । सत्तरीको दशकताका साहित्यमा हस्तक्षेपकारी उपस्थिति देखाएका रत्न प्रत्यक्षतः साहित्यिक वातावरण र साहित्यकारहरूको सम्पर्कमा आउन नचाहने व्यक्तित्व हुन् । विज्ञापित हुन नचाहने अन्तर्मुखी स्वभावको रत्न केवल आफ्ना साहित्यिक कृतिहरूका माध्यमबाट मात्र यस क्षेत्रमा परिचित छन् । त्यसकारण, उनको समग्र साहित्यिक व्यक्तित्वको अध्ययन मूल्याङ्कन र विश्लेषण पर्याप्त रूपमा भएको देखिदैन । उनको थारू साहित्यमा देखिएको शक्तिशाली उपस्थिति र एकाएक पलायनतिर उन्मुख भएको उनको लेखन थारू साहित्यका पाठकहरूका लागि एउटा रहस्य नै बन्न पुगेको छ ।

मोती रत्नका साहित्यिक लेखनका मुख्य रूपमा तीनवटा प्रवृत्तिहरू पहिलो मनोविज्ञानवादी, दोस्रो विसङ्गतिवादी र तेस्रो प्रेमवादी स्पष्ट रूपमा देखा पर्दछन् । यी तीन प्रवृत्तिमध्ये थारू साहित्यमा उनको मूल्याङ्कन प्रेमवादी गजलकारका रूपमा मात्र गरिएको छ । उनी नारीहरूको प्रेम र कुण्ठालाई विषयवस्तु बनाएर नारीपरक गजल लेख्ने गजलकार हुन् । तर सैद्धान्तिक रूपमा नारीवादलाई पछ्याएर गजल लेख्ने गजलकार भने होइनन् । उनको मनके बोझा गजल संग्रहमा भने नारी प्रेम र समाजको यथार्थ चित्रण प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । उनको गजल यात्राको समयावधि २०६० देखि २०७६ सम्मको सोर्ह वर्षलाई हेर्दा दुई चरण देखा पर्दछन् । पहिलो चरणमा उनको मनके बोझा (२०७०) गजलसङ्ग्रह प्रकाशित छ र यसमा सङ्कलित अधिकांश गजलहरूमा प्रेमजन्य विषयवस्तु र कुण्ठाग्रन्थिहरूको उदात्तीकरण, राष्ट्र, भाषा, सस्कृति प्रेमको प्रकट भएका छन् भने उनको दोस्रो चरणमा लेखिएको छत्री अडियो मुक्तक संग्रह (२०७६), उदगार अडियो गजल संग्रह (२०७६) खटोल्ना (२०७७) संयुक्त कथासङ्ग्रहमा सङ्कलित कथामा मनोविज्ञान, अस्तित्ववाद, सामाजवाद, विसङ्गतिवाद र नारीवादजस्ता चिन्तनको प्रभाव पाइन्छ ।

गाउँले परिवेश, सामान्य परिवार, गाउँका सामान्य कोठा, सामान्य र ती भित्र कुण्ठाले जलेका र निस्सारताको बोधले छटपटाएका मानिसहरूको जीवन भोगाइलाई प्रस्तुत गर्न रुचाउने रत्नका पद्द्यांशमा काव्यिक भाषाको प्रस्तुति पाइन्छ । छोटा वाक्य, गहन अभिव्यक्ति, प्रतीकात्मक र बिम्बात्मक भाषा शैलीका कारण उनका रचना शैलीगत दृष्टिले पनि विशिष्ट देखिन्छ । सत्तरीकै दशकमा लेखिएका यिनका प्रेमपरक गजलहरूमा नारीहरूको प्रेम, दुखेसोहरूको एकोहोरो वर्णन पाइदैन । बाँच्नु आफैमा सबैभन्दा जटिल, सबैभन्दा यन्त्रणा र सबैभन्दा निस्सार कार्य हो भन्ने कुरा प्रस्तुत गर्दै उनले आफ्ना रचनाहरूमा मानिसको जीवनलाई अन्त्यहीन समयको वेगमा देखा परेको पानीको फोकाका रूपमा चित्रण गरेकी छिन् । व्यक्तिवादी गजल, कथा लेख्ने यिनका गजल, कथाले कुनै वर्ग, सम्प्रदाय र पक्षलाई भन्दा पनि मानिसभित्रका प्रेम, निराशा, कुण्ठा, छटपटीका साथै अस्तव्यस्त जिन्दगीको संवेदनाहीता, र विसङ्गत जीवनशैलीको चित्रण गरेको पाइन्छ । धार्मिक, सामाजिक मान्यता, नैतिक मूल्य सबैप्रति आस्था प्रकट गर्ने पात्रहरूको प्रयोग गरी मानवीय जीवनको सार्थकता प्रकट गर्नु नै यिनका गजल तथा कथाका मुख्य प्रवृत्तिगत विशेषता हुुन् ।

३. कृतिका आधारमा मोती रत्नको साहित्यिक मूल्य

२०६० बाट प्रारम्भ भएको मोती रत्नको साहित्यिक यात्रामा उनको सक्रिय उपस्थिति भने सुरुको सत्तरी दशक मात्र रहेको देखिन्छ । कविता विधाबाट प्रारम्भ भएको उनको लेखन यात्रा गजल, मुक्तक, कथा तथा उपन्यास हुँदै अघि बढे पनि उनको विशेष योगदान र सक्रियता भने पद्द्यांश विधामा देखिन्छ । यिनका अन्य विधामा प्रकाशित रचनाहरूलाई छाडेर पद्द्यांश रा गद्द्यांश विधामा लेखिएका कृतिहरूलाई मात्र यहा चर्चा गर्ने प्रयास गरिएको छ । उनका पद्द्यांश कृतिहरूको एकल गजल संग्रह मनके बोझा (२०७०), संयुक्त मुक्तक सङ्ग्रह डूटीया (२०७५), संयुक्त गजल सङ्ग्रह तेम्ह्री (२०७५), छत्री अडियो मुक्तक संग्रह (२०७६), उदगार अडियो गजल संग्रह (२०७६) र संयुक्त बत्कोही सङ्ग्रह खाटोल्ना (२०७७) प्रकाशित भएको छ । यी कृतिहरूमध्ये मनके बोझा (२०७०) र तेम्ह्री (२०७५), उदगार अडियो संग्रह (२०७६) गजलसङ्ग्रह हुन् भने खाटोल्ना संयुक्त अडियो बत्कोही सङ्ग्रह (२०७७) बत्कोहीका रूपमा प्रकाशित देखिन्छ । यस बाहेक यिनको चरित्र कथा (अनुवाद लेखन, २०७६) र संकटकालके संकट कथा थारू भाषाबात अंग्रेजी भाषामा (अनुवाद लेखन, २०७७) कथा पनि प्रकाशित छ । तीनजना सहित्यकारमाको संयुक्त लेखनमा प्रकाशित भएको संयुक्त अडियो बत्कोही सङ्ग्रह खाटोल्ना (२०७७), बत्कोहीको संकटकालको संकटको पहिलो अंश २०६३ को सैह्चिन पत्रिकामा प्रकाशित भएको थियो भने अंग्रेजी अनुवाद २०७७ बैशाखमा साहित्य संग्रह.कममा प्रकाशित भएको छ । तथापि यहाँ मोती रत्नको साहित्यिक मूल्यको निरुपण गर्न उनका तीन कृतिलाई नै आधार बनाइएको छ । मनके बोझा प्रेमवादी चिन्तनमा आधारित गजलहरूको सङ्कलन हो भने खाटोल्ना मनोविज्ञान, अस्तित्ववाद, सामाजवाद, विसङ्गतिवाद र नारीवादजस्ता चिन्तनमा आधारित कथाहरूको सङ्कलन हो । यसैगरी संयुक्त मुक्तक सङ्ग्रह डूटीया प्रेमवादी समाजवादी तथा चिन्तन र मान्यतामा आधारित संयुक्त मुक्तक सङ्ग्रह हो । उनका यी तीनवटा कृतिहरूमा केही भिन्न प्रवृत्ति, चिन्तन र चेतना अभिव्यञ्जित भएको पाइन्छ ।

केही समयको अन्तरालमा लेखिएका यी तीनओटा पद्द्यांशनात्मक र आख्यानात्मक कृतिहरूमा विषयवस्तु, प्रस्तुतीकरणको शैली तथा विचारपक्ष आदिमा पनि पृथकता पाइन्छ । पहिलो कथासङ्ग्रहका सबैजसो कथाहरु फ्रायडको मनोविज्ञानको सिध्दान्तबाट प्रभावित भई लेखिएका छन् । यसमा प्रेमजन्य कुण्ठा, आवेग, संवेग, ग्लानी र छटपटीहरूको चित्रण गरिएको छ भने दोस्रो कृति संयुक्त मुक्तक सङ्ग्रह डूटीया प्रेमवादी समाजवादी तथा चिन्तन र मान्यतामा आधारित प्रयोग गरिएको देखिन्छ । अमूर्त लेखन, प्रयोगपरक शैली कथाहीनता र वैचारिक पक्षको प्रधानता भएको यस सङ्ग्रहका कथाहरूमा गाउँले परिवेश, सामान्य परिवार, गाउँका सामान्य कोठा, सामान्य र ती भित्र कुण्ठाले जलेका र निस्सारताको बोधले छटपटाएका मानिसहरूको जीवन भोगाइलाई चेतनाको प्रस्तुति पाइन्छ ।

३.१. मनके बोझा गजल सङ्ग्रहमा प्रेमोविश्लेषणात्मक पक्ष

मोती रत्नको साहित्य यात्राको पहिलो चरणका गजलहरूमा प्रेमपरक विषयवस्तुहरूको व्यापक प्रयोग भएको देखिन्छ । २०७० मा प्रकाशित मनके बोझा गजलसङ्ग्रह भित्र सङ्कलित प्राय: गजलहरूमा प्रेमविज्ञानलाई नै केन्द्र बनाई गजलको विषयवस्तुको चयन गरिएको छ । विभिन्न प्रतीक र बिम्बहरूको प्रयोग गरी लेखिएका यी गजलहरूमध्ये केही गजलमा अमूर्त लेखनको शैली पनि आत्मसात गरिएको छ । प्रकृतिका विविध सन्दर्भहरूलाई प्रतीकात्मक रूपमा प्रयोग गरी अभिव्यक्तिलाई गहन बनाउन र भाव सम्प्रेण गर्न मोती रत्न निपुण देखिन्छन् । प्रस्तुत सङ्ग्रहका गजलहरूमा पात्रहरूका बाह्य पक्षलाई नभई आन्तरिक पक्षलाई सूक्ष्मरूपमा देखाइएकाले यी गजलहरू पूर्णतः प्रेमोवैज्ञानिक धरातलमा लेखिएका देखिन्छन् । उनका गजलमा प्रेमजन्य सन्दर्भ र क्रियाकलापहरूको चित्रण गरिएको भए पनि ती अन्यन्तै शालीन र मयार्दित रूपमा प्रकट भएका छन् । प्रतीकात्मक र कलात्मक भाषाका कारण गजल उत्कृष्ट बनेको छन ।

प्रस्तुत गजलसङ्ग्रहमा ५३ वटा गजलहरूमध्ये अधिकांश गजलहरूमा नारी प्रेमोविज्ञानको सूक्ष्म रूपमा चित्रण गरिएको छ । दैनिकी लेखनको शैलीमा लेखिएको यस गजलमा समाख्याता म पात्रको दिनचर्या, प्रेम, देशको लागि मानसिक छटपटी, कुण्ठा र विक्षिप्ततालाई प्रस्तुत गरिएको छ । भाषालाई जैविक आवश्यकता र प्रेमजन्य क्रियालाई मान्छेको जन्मजात गुण मानेर प्रेमोविश्लेषणको कोणबाट व्याख्याको यस गजलसङ्ग्रहमा म पात्रको प्रेमिका प्रेमजनिक संवेग र बिछोडका आवेगहरू मनोविकारका रूपमा प्रस्तुत भएको देखाइएको छ । आफ्नो प्रेमिकाको लागि समाजलाई समेत पर्वाह नगरी प्रेममा संलग्न पुरुषको आवेग र उन्मादलाई देखाइएको यस गजलसङ्ग्रहमा मन भनेर नारी प्रतीकका रूपमा र बोझा भनेर पुरुषको प्रतीकका रूपमा प्रस्तुत गरी पुरुषको प्रेम, समाज तथा राष्ट्रीय प्रेम र भाषा, सस्कृति प्रेमी प्रवृत्तिको चित्रण गरिएको छ । म पात्र पुरुषको प्रेम, समाज तथा राष्ट्रीय प्रेम र भाषा, सस्कृति जस्ता प्रेमीकाबाट अत्यन्त पीडित भएको र उनले गर्ने प्रेम साँचो अर्थमा प्रेमिकाले नबुझेर बिछोडको भाव गजलमा अभिव्यक्त गरिएको छ ।

३.२ र डूटीया संयुक्त मुक्तक(२०७५ ) र छत्री मुक्तक सङ्ग्रह (२०७६) प्रयुक्त विसङ्गतिवादी चेतना

मोती रत्नको साहित्ययात्राको दोस्रो चरणमा लेखिएका संयुक्त मुक्तकहरूको सङ्ग्रह डूटीया पहिलो गजलसङ्ग्रह भन्दा नितान्त फरक संयुक्त मुक्तक सङ्ग्रह हो । यो कृती मोती रत्नद्वारा लिखित तथा सम्पादित एक संयुक्त मुक्तकसङ्ग्रह हो । जसमा मोती रत्न, भागीराम चौधरी, निर्मल चौधरी, दिनेश संगम, कविता काब्य, दुर्जन चौधरी, बीरबहादुर चौधरी, खुशीराम चौधरी, चन्द्र चौधरी र इन्द्र कुश्मीद्वारा रचित रहेको छ । नवीन शिल्पविन्यासमा लेखिएका उनका यी कथाहरूमा अमूर्त शैलीको प्रयोग पाइन्छ । जीवनका विसङ्गत पक्षहरूलाई केलाउदै जीवन र जगत्प्रति निराशाजनक दृष्टिकोण राख्ने विसङ्गतिवादी चिन्तनबाट प्रभावित यिनका यस चरणका आख्यानात्मक सिर्जनाहरूमा अस्तित्ववादी र शून्यवादी चिन्तनको प्रभाव पाइन्छ । अस्तित्ववादी – विसङ्गतिवादी दार्शनिक सात्र्र र कामुबाट भन्दा पनि मार्टिन हाइडेगरका मान्यता र फ्रान्ज काफ्काका कथाहरूबाट यिनका कथाहरू बढी प्रभावित देखिन्छन् । मानवीय आस्था र मूल्यहरू क्रमशः विघटित हुदै जान थालेपछि बौद्धिक जगत्ले अनुभूति गर्ने विसङ्गतिको प्रस्तुति यिनका रचनाहरूमा पाइन्छ । जीवनका निस्सारता, व्यर्थता, बाध्यता र जटिलता नै यिनको कथामा पाइने मुख्य विषयवस्तु हो । दार्शनिक तथा बौद्धिक दृष्टिकोणबाट लेखिएका यस सङ्ग्रहका अधिकांश कथा प्रयोगशीलता र प्रतीकात्मक शैलीका कारण गम्भीर प्रकृतिका देखिन्छन् ।

प्रस्तुत कथासङ्ग्रहमा विषयान्तर, कुन रङ, अनिश्चितता, स्थितिबोध, कहीँ देखि कहीँसम्म, विरोध, उदात्तरेखा, सन्त्रासदेखि पर, मार्तोल र चट्टान वरपर गरी जम्मा दसवटा कथा सङ्गृहीत छन् । आयामका दृष्टिले छोटा देखिने यी कथाहरू परम्परित ढाँचा भन्दा पृथक् किसिमले लेखिएका छन् । मानिस संसारमा जन्मिसके पछि चाहेर होस् वा नचाहेर जसरी पनि बाँच्नैपर्छ भन्ने आशय व्यक्त भएका प्रस्तुत सङ्ग्रहका कथाहरूमा कथानकको प्रस्तुति विशृङ्खलित रूपमा गरिएको छ । निरुद्देश्य जीवन, रिक्तता र शून्यबोध, विसङ्गत परिवेश, असमान्य अवस्था आदिको सूक्ष्म विश्लेषण गरी बुनिएका यी कथाहरू वैचारिक पक्षको गहनता र अमूर्त भाषाशैलीका कारण केही असम्प्रेषणीय पनि देखिन्छ ।

यस सङ्ग्रहको विषयान्तर शीर्षकको पहिलो कथामा पक्षघातले पीडित लोग्ने, उसको हीनताबोधी भाव र स्वतन्त्र जीवन बिताउन चाहने शिक्षित श्रीमतीको बीचको सम्बन्धलाई देखाई संसारका सबैमानिस बाध्यात्मक जीवन बाँच्न बाध्य छन् भन्ने कुरा देखाइएको छ भने कुन रङ शीर्षकको कथामा संवेदना मर्दै गएको जीवन भोगाइ अनिश्चित र अस्तित्वहीन जीवनप्रति गरिएको विसङ्गतिबोधलाई प्रस्तुत गरिएको छ । अत्यधिक मात्रामा अङगे्रजी शब्दहरूको प्रयोग गरिएको यस कथामा नारीको मनले अनुभूत गरेको विसङ्गतिबोधलाई व्यक्त गरिएको छ ।

अनिश्चितता शीर्षकको कथा अस्तित्ववादी विसङ्गतिवादी चेतनालाई प्रयोग गरी लेखिएको कथा हो । कथानकविहीन, पात्रविहीन र घटनाविहीन यस कथामा जीवनको क्षणभङ्गुरतालाई दार्शनिक रूपमा व्यक्त गरिएको छ । मृत्यु ले हरपल लखेटिरहेको मान्छेको नियतिलाई सुरुङ + ड्याङ + खाल्डो + इनार = शरण भनेर देखाइएको प्रस्तुत कथा बौद्धिक र प्रयोगवादी कथा हो भने स्थितिबोध कथामा एउटा निरूद्देश्य जीवन भोगिरहेको मानिसको निस्सारतालाई देखाइएको छ । बाँच्नुको बाध्यताबाट पन्छिएर मर्न खोज्दा पनि मृत्यु प्राप्त गर्न नसकेको ऊ पात्रको विसङ्गत जीवनलाई यस कथामा देखाइएको छ ।

अनिश्चितता र असुरक्षित नियतिलाई नै जीवनको पर्यायका रूपमा प्रस्तुत गरिएको कहीँदेखि कहीँसम्म शीर्षकको कथामा असामान्य दुराग्रहपूर्ण जीवनको चित्रण गरिएको छ भने विरोध शीर्षकको कथामा मानिसको नियति, दुर्नियति तथा समयप्रतिको विरोधलाई दार्शनिक रूपमा व्याख्या गरिएको छ । प्रतीकात्मक रूपमा लेखिएको यस कथामा पिँजडाभित्रको चराका माध्यमबाट सन्तोषले कैदभित्रै पनि स्वतन्त्रतालाई स्वीकार गरेको हुन्छ । यो पनि नियति नै हो भन्ने भाव व्यक्त गरिएको छ । उदात्त रेखा शीर्षकको कथा अमूर्त शैलीमा लेखिएको कथानकविहीन कथा हो । आधुनिक युगको विसङ्गति, सहरिया बिरानोपन र निरर्थकताको प्रस्तुति यस कथामा पाइन्छ ।

मानिस जति दुश्चिन्तारहित र सन्त्रासमुक्त हुन खोज्छ उति नै ऊ निरुपाय र विवश बन्छ भन्ने अभिप्राय बोकेको सन्त्रासदेखि पर शीर्षकको कथामा अनास्था र विक्षिप्तता बोकेको पात्रको विसङ्गत व्यावहारलाई अभिव्यक्त गरिएको छ भने मार्तोल कथामा फरक शैली र विषयवस्तु संयोजन गरिएको छ । रक्सी भट्टीको दृश्य देखाइएको यस कथमा दुई जना ग्राहकको अस्तित्ववादी चेतनामा केन्द्रित संवाद तथा पुलिस र चोरको सन्दर्भ प्रस्तुत गरी मानिस जे जति गर्छ त्यो केवल आफ्नो अस्तित्वरक्षा कै लागि गर्छ भन्ने आशय व्यक्त गरिएको छ । प्रयोगपरक र काव्यात्मक भाषामा लेखिएको चट्टान वरपर कथा यस सङ्ग्रहको अन्तिम कथा हो । वाक्य रचनाका नियमहरूको समेत उल्लङ्घन गरी लेखिएको यस कथामा प्रतीकात्मक तथा ध्वन्यात्मक भाषाका कारण कथा जटिल बन्न पुगेको देखिन्छ । नयाँ नयाँ प्रतीक तथा बिम्बहरूको प्रयोगद्वारा मानवीय विसङ्गति र शून्यबोधको अभिव्यक्ति यस कथाले व्यक्त गरेको छ ।

प्रेमा शाहको प्रस्तुत कथासङ्ग्रह पूर्णतः अस्तित्ववादी, विसङ्गतिवादी चिन्तनमा आधारित देखिन्छ । जीवन जटिल, दुरुह र विसङ्गत छ र यसै भित्रबाट मानिस जहिलेसुकै अस्तित्वको खोजी गरिरहन्छ तर त्यो निरर्थक छ भन्ने अभिप्राय प्रस्तुत सङ्ग्रहको कथामा पाइन्छ ।

३.३ ‘खटोल्ना’ संयुक्त बत्कोही संग्रहमा मनोबैज्ञानिक, सामाजिक तथा नारीवादी चेतना

२०७७ मा रेकॉर्डदित खटोल्ना शीर्षकको आख्यानात्मक कृती मोती रत्नद्वारा लिखित तथा संकलित एक बत्कोही संग्रह हो । जसमा मोती रत्न, बलराम चौधरी र कविता काब्यद्वारा लिखित तीन बत्कोही तथा डा. टिकाराम पोखरेलद्वारा लिखित र मोती रत्नद्वारा अनुवादिद एक गरी चार बत्कोही रहेको छ । पूर्णतः नारीपात्रमा केन्द्रित रहेको प्रस्तुत संयुक्त बत्कोही संग्रहम नारी अस्तित्वको स्थापना र नारी अहम्को संरक्षणमा जोड दिइएको छ । आकारगत रूपमा संयुक्त बत्कोही संग्रह छोटो भए पनि विषयवस्तुको गहनता, वैचारिक अभिव्यक्तिको कुशलता र सरल भाषा शैलीको प्रयोगले संयुक्त बत्कोही संग्रह विशिष्ट बन्न पुगेको देखिन्छ । गाउँले तथा सामान्य वर्ग, गाउँले परिवेश, र बौद्धिक पात्रहरूको प्रयोग भएको यस संयुक्त बत्कोही संग्रहकी प्रमुख पात्र नारी शान्त स्वभाव भएकी स्वाभिमानी नारी पात्र हुन् । परम्परागत मान्यता, पितृसतात्मक समाज र पुरुषवादी हैकमको उल्लङ्घन गर्न नसकि स्वतन्त्रतापूर्वक जीवन बाँच्नुपर्ने नारीको जीवनसङ्घर्षको कथा नै यस संयुक्त बत्कोही संग्रहको मुख्य कथानक हो ।

गाउँभित्रको दुःख, कष्टमा पिल्सिएकी अस्तित्वहीन जीवन सहेर बाँच्नुभन्दा सङ्घर्षपूर्ण जीवन भोगेर आफ्नै पहिचानका साथ अस्तित्वपूर्ण जीवन बाँच्न चाहने र बाँचेर देखाउने यस संयुक्त बत्कोही संग्रहको नारी पुरुषद्वारा निर्मित सम्पूर्ण सामाजिक मूल्य मान्यता भत्काई नयाँ सत्यको स्थापना गर्न सफल नारी पात्र हुन् । संस्मरणात्मक, प्रथम पुरुष तथा संबादात्मक शैलीमा लेखिएको प्रस्तुत संयुक्त बत्कोही संग्रहको समाख्याता म पात्र नारी हुन् र उनले नारीको प्रवृत्ति, स्वभाव, विचार र सङ्घर्षलाई अभिव्यक्त गर्ने क्रममा नै संयुक्त बत्कोही संग्रहको रचना भएको देखिन्छ । सोचाइ, व्यवहार, काम गर्ने पद्धति, अभिरुचि सबै बौद्धिक हुनाका साथै आधुनिक जीवनशैली अपनाउने नारीको जीवनमा घटेका घटना र उनले भोगेका निम्नप्रकारका प्रताडनाहरूका आधारमा नै यस संयुक्त बत्कोही संग्रहमा प्रयुक्त मनोबैज्ञानिक, सामाजिक तथा नारीवादी चेतना अभिव्यञ्जित हुनपुगेको देखिन्छ, जसलाई निम्नलिखित बुँदाहरुमा देखाउन सकिन्छ :

§ रूप तथा ब्यक्तित्वले गर्दा सबैको आखाको पुतली बन्नू (चरित्र)

§ आफ्ना पढाई तथा करियर छोडेर प्रेममा पर्नु (चरित्र)

§ लोग्ने मीटिंग परीतिर लहसिए पछि श्रीमानको प्रताडना (चरित्र)

§ आत्मनिर्भरताका लागि नोकरी गर्नु र बच्चाहरुलाई पढाउनु (चरित्र)

§ मानसिक सुरक्षाका लागि आफै बर्बराउनु र रिस पोख्नु (चरित्र)

§ संकटकालमा संकटमा पर्नु (संकटकालके संकट)

§ बिना हकमा सामान्य जीवन संकटमा पर्नु (संकटकालके संकट)

§ जनयुद्धमा होमिनु तथा सेना द्वारा प्रताडित हुनु (संकटकालके संकट)

§ श्रीमान, छोरा तथा बुवा गुमाउदाको पीडा (संकटकालके संकट)

§ मानसिक संतुलन गुमाउनु (संकटकालके संकट)

§ बर्तमानमा सिपाहीहरुको अवस्था (संकटकालके संकट)

§ सामान्य जिवनमा षडयन्त्रले छिन्नभिन्न हुनु (जस्ते करनी वस्टे भरनी)

§ षडयन्त्रले झगडा गरी घर अलग हुनु (जस्ते करनी वस्टे भरनी)

§ एक अर्कालाई श्राप दिनु (जस्ते करनी वस्टे भरनी)

§ श्रापका कारण मानसिकसंतुलन बिग्रनु (जस्ते करनी वस्टे भरनी)

§ माफी माग्नु र मिलेर बस्नु (जस्ते करनी वस्टे भरनी)

४. थारू साहित्यमा मोती रत्नको स्थान र योगदान

आधा दशक अघि नै प्रकाशमा आइसकेका उनका दुई गजल सङ्ग्रहमा समेटिएका गजलहरु थारु साहित्यकै नमुना हुन् । विषयगत, शैलीगत र प्रस्तुतिगत दृष्टिले यति सशक्त र बोल्ड गजल तथा कथाहरू लेख्ने साहित्यकारका बारेमा कहीँ कतैबाट कुनै मूल्याङ्कन र चर्चा नहुनु थारू साहित्यकै एउटा आश्चर्यलाग्दो पाटो हो । समकालीन कुनै पनि पुरुष साहित्यकारहरूका तुलनामा कमजोर नदेखिने, सशक्त गजल, मुक्तक र कथा लेख्ने यी साहित्यकारले आखिर थारू साहित्यबाट के पाए अर्थात् उनलाई थारू साहित्यले कस्तो मूल्याङ्कन गर्यो ? भन्ने कुरा त इतिहासले नै बताउला तर चालीस वर्षपछि पनि उत्तिकै नवीन चेत, युगवोध र दार्शनिक दृष्टिकोणका गहिराइ पाइने यी साहित्यहरूको समग्र मूल्याङ्कन नहुनु एउटा साहित्यकारका लागि विडम्वना नै हो । यसो भनेर थारू साहित्यका क्षेत्रमा उनको कत्ति पनि चर्चा भएकै छैन भन्न खोजिएको होइन । साहित्यिक विषय अन्तर्गत उनका गजल, मुक्तक र कथाहरू उनलाई उदाउँदो ताराको रूपमा परिचय दिइएको छ तर पनि उनको योगदानका आधारमा हेर्दा यो पर्याप्त देखिँदैन ।

आजसम्म पनि उनको समग्र साहित्यिक कृतिहरूको गहन अध्ययन र विश्लेषण गरी कृतिका दार्शनिक पक्ष, यथार्थपक्ष तथा अन्य छोपिएका र प्रकाशमा नआएका विविध पक्षहरूलाई उजागर गर्दै लेखिएको देखिदैन । यसो हुनुमा उनको साहित्य लेखनबाट पलायन हुनु पनि एउटा कारण हुन सक्छ । गुणात्मक मूल्य बढी भए पनि पाठकहरूले उनका साहित्य निरन्तर रूपमा आस्वादन गर्न नपाउनु र सामान्य पाठकका लागि उनका रचनाहरू सम्प्रेषणीय हुनु पनि अर्को कारण हुन सक्दैन तर थारू साहित्यमा कम लेखेर धेरै चर्चा पाएका अन्य साहित्यकारहरूका तुलनामा मोती रत्न छायामा भने परेकै देखिन्छ ।

५. समापन

थारू साहित्यमा परम्परित लेखनका मान्यताहरुबाट माथि उठेर नवीन सोच र चेतनाबाट प्रेरित भई सशक्त कलम चलाउने मोती रत्न प्रतिभाशाली र विशिष्ट स्रष्टा हुन् । समकालीन साहित्यकारहरूका भीडबाट अलग्गिएर आफ्नो छुट्टै पहिचान र परिचय बनाएका मोती रत्नका साहित्यहरू आज छ वर्षपछि पनि उत्तिकै नवीन र सशक्त देखिन्छन् । अभिजात वर्गको जीवन शैलीको प्रस्तुति नपाइने यिनका सिर्जनामा थारू समाजको ग्रामीण परिवेश, निम्नमध्यम वर्गीय पात्रहरूको प्रयोग तथा विपन्नता र आर्थिक दूरावस्था भोग्न विवश पात्रहरूको प्रयोग भने प्रायः भएको पाइन्छ । साहित्य राष्ट्रकै निधि हो । साहित्यबिनाको सभ्य र आधुनिक समाजको कल्पना गर्नै सकिँदैन । यस्तो साहित्य सिर्जना गर्ने साहित्यकारहरूले दिएका योगदानको कदर नहुनु भनेको लाचारी हो । मोती रत्न जस्तो गहन र बौद्धिक कृति दिएर ओजपूर्ण उपस्थिति देखाउने साहित्यकार थारू साहित्यको इतिहासमा धुमिल बन्दै जानु भनेको सम्पूर्ण थारू साहित्यकारहरूकै अस्तित्वमाथि उठेको गम्भीर प्रश्न हो ।

प्रमुख सन्दर्भ सूचीे

मोती राम चौधरी ; मनके बोझा गजल संग्रह ः डाइमल प्रकाशन, २०७० ।
सम्पादन/ संयोजन मोती राम चौधरी ; डूटीया संयुक्त मुक्तक संग्रह ः साहित्य बगाल, २०७५
सम्पादन/ संयोजन मोती राम चौधरी ; तेम्ह्री संयुक्त गजल संग्रह ः साहित्य बगाल, २०७५,।

मोती राम चौधरी ; उदगार अडियो गजल संग्रह ः मोती रत्न युटुब, २०७६ ।

मोती राम चौधरी ; छत्री अडियो मुक्तक संग्रह ः मोती रत्न युटुब, २०७६।
संयोजन मोती राम चौधरी ; खटोल्ना संयुक्त बत्कोही संग्रह ः साहित्य बगाल, २०७७,।

मोती रत्नसंग व्यक्तिगत कुराकानी तथा उनको फेसबुकबात, सैह्चिन पत्रिकाबात

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.