डा ऋषि बस्ताकोटीका एघार मुक्तक

~डा. ऋषि बस्ताकोटी~

न भरोसा अब संविधानको धारामा छ
न त केही होला भन्ने नै फेवा रारामा छ
तिनैले चाहेको तिर धकेलिँदैछौं हामी
जे हुन्छ अन्धा अगुवाको पारामा छ ।

************1****************

समयले कसैलाई राजा बनायो, कसैलाई रानी बनायो,
पात्र फेरी फेरी कति सुखद, कति दुःखद कहानी बनायो,
निरो बाँसुरी बजाइरहेछ उता, घर जलिरहेछ यता-
घरै पोलेर भए पनि कसैले ‘बहुमुल्य’ खरानी बनायो।

*****************************

कहिले उत्तर, कहिले दक्षिण, धाम फेरे पनि
तर्कशास्त्री जम्मा पारी, अयोध्या र राम फेरे पनि
पित्तलमाथि सुनको जलप लगाएर टल्काऊ
बाघरुपी बिरालाले म्याउ गर्छ, नाम फेरे पनि ।

*****************************

हुन्छ हुन्छ भन्दा भन्दै यस्पाली झन ढिलो भयो,
सफा राख्नै सकिएन, बाटो सधैं हिलो भयो,
न निचोर्न सकियो खै, न त पालिराख्नु घाउ-
समस्या नि यस्तो भयो, अप्ठ्यारोको पिलो भयो ।

*****************************

कसैले खुद्रा पाए, कसैले थोकमा पाए,
पहुँच हुने सबैले चोक चोकमा पाए,
सेवा गरे मेवा मिल्छ, प्रभुको लीला यस्तै-
पाउनेले प्रभुकै निगाह र तोकमा पाए ।

*****************************

छोराछोरी हेर्छु अनि घरीघरी बाको तस्वीर देख्छु,
देखाएका खुसीखुसी अनि लुकाएका पीर देख्छु,
दिन मात्रै जान्ने लिन नजान्ने ती निस्वार्थ मानिस-
बाहिर निकै सरल तर भित्र भने गम्भीर देख्छु ।

*****************************

आजभोलि धेरै कुरा ‘टार’हरूमा हुँदैछन्,
बाँकी बक्यौता भट्टी र वारहरूमा हुँदैछन्,
आशाको खेती चलिरह्यो, अझै आशा गरिरह्यौ-
लगानी नयाँ-नयाँ आविस्कारहरूमा हुँदैछन् ।

*****************************

धेरैका यहाँ धेरै कुरा भए, कतिका त चाहना पूरा भए,
मृग तृष्णा देखिएछ साययद, दुनियाँका सपना अधुरा भए,
जुग फेर्नका लागि ज्यूँदै जलेका थिए ती महान सपूत –
तिनकै क्रान्तिले फेरिए कति, तिनै ज्योति आज मधुरा भए !

*****************************

रोप्नुअघि बीउ किन भुट्ने कुरा गर्नुहुन्छ,
संकटका बेला उल्टै लुट्ने कुरा गर्नुहुन्छ,
वैमनश्यता बिर्सेर जुट्नु पर्छ भन्छ दुनियाँ-
अभिमानले चर्किएर फुट्ने कुरा गर्नुहुन्छ !

*****************************

न त बाँच्न दियो यसले, न त मर्नै दियो,
आफन्तका नजिकमा न त सर्नै दियो,
घरभित्रै बन्दी भइयो आफैं चुकुल ठोकी-
गर्नुपर्ने काम सारा, न त गर्नै दियो !

*****************************

जितेँ भन्दा भन्दै हारेका कुरा गर्नुभो,
हजारौं मानिस मारेका कुरा गर्नुभो,
अमृत देखाउँदै दुनियाँलाई लोभ्याई-
आखिरी विषवृक्ष सारेका कुरा गर्नुभो

(स्रोत : साझापोस्ट डट कम)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.