~शरदबाबु सुवेदी~
एक दिन एका विहानै एउटा योगी
सुनको कमण्डलू लिएर घर घरै आलोक भन्दै आए ।
यो ब्रमाण्डको सवैभन्दा ठूलो शन्त उनी,
यो जगतले बनाएको सवैभन्दा ठूलो महन्त उनी,
समर्थन नगर्नेका विरुद्ध प्रवचन दिन्थे उनी,
अरुको मानव सेवालाई अपमान गर्थे उनी ।
श्रम गर्नेहरुलाई घृणा गर्थे,
सायद उनको धर्म यस्तै थियो ।
उनको रुप योगीको थियो ।
चिन्नेहरुले उनको सुनको कमण्डलू चिने,
उनको अनुहार चिने
र उनको काम, कारवाही र व्यवहार चिने
जस जसले चिने योगीको आलोकलाई
खारेज गरे ।
जस जसले चिननेन्,
उनीहरु भिक्षा लिएर ढोकामा उभिरहे,
कमण्डलूको बास्ना थिएन,
सजिलै नचिनियोस् भनेर
रंग रोगन गरिएको थियो,
चिन्नेले भन्दिपोहाल्छ कि भन्ने,
ठूलो भए थियो तिनमा,
कसैले शंका मात्रै गरे पनि,
तथानाम गाली गलौज गर्थे,
लोक हसाउँथे, मित्र रुवाउँथे उनी,
मन नपरेकालाई म जस्तै
जोगी भएस भनी श्राप दिन्थे उनी ।
जस जसले उनको भाषा बुज्थे,
योगीको आलोकलाई खारेज गरे,
जस जसले उनको भाषा बुझेनन्,
उनीहरु भिक्षा लिएर ढोकामा उभिरहे ।
मानव जातिको भूगोल नभए जस्तै
मुद्राको भुगोल हुँदैन भन्थे उनी
उनको कमण्डलूमा विश्वभरिका मुद्रा चल्थ्यो
उनी कुटी देखाउँथे, कुटी सम्म लैजाने बाटो देखाउँथे
पानी, विजुली अस्पताल देखाउँथे, सपना देखाउँथे ।
गरिवको पशिना देखाउँथे,
छद्यमभेषी थिए ऊनी,
भिक्षा बेच्थ्यो र पहेंलो च्यादर किन्थ्यो,
सपना वेच्थ्यो र पहेंलो धातू किन्थ्यो,
योगीलाई जस जसले चिने, आलोक खारेज गरे
नचिन्नेहरु भिक्षा लिएर ढोका ढोकामा उभिरहे ।
हो, योगीलाई थाहा छ,
एकदिन उनलाई सवैले चिन्नेछन्,
उनले उठाएको भिक्षाको बही हुनेछ,
उनको सुनको कमण्डलु खोसिने छ,
पहेलो च्यादर भित्रका पहेला धातुहरु खोसिने छ,
उनको शन्त, महन्त पदवी खोसिने छ,
उनको प्रवचन सुन्नेहरु हुनेछै्नन्,
उनलाई भिक्षा दिनेहरु हुनेछैनन
उनलाई निकटको अपमानले कुण्ठित बनाएको छ,
भविश्यको अन्धकारले वेचैन बनाएको छ ।
र सपनाको कुटी छाड्नु पर्ने छ,
लाग्छ उनी त्यसैको मानसिक तयारी गर्दैछन ।
-कास्की
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)