~भीम राई~
हाम्रो दाम्पत्य जीवनको भरयाङ २० वर्षे उकालीमा चढ्दै थियो । तिनै २० औं वैवाहिक वार्षिकोत्सव मनाउनका लागि पानीजहाज यात्रामा जाने ताराले निर्णय गरेपछि, ११ मार्च २००७ मा हामी बार्सोलोना पुगेका थियौं ।
अर्कोदिन थोम्पसनको एउटा पानीजहाज ‘आइल्याण्ड एस्कयाप’ चढेर बार्सोलोनादेखि टुलन लाग्यौं । हामी टुलन पुग्दा त्यहाँको मौसम पटक्कै राम्रो थिएन । मध्यान्हसम्म घाम लजाएर नवदुलही झैं घुम्टो ओढेर बादलभित्र लुकिरह्यो । तर, मध्यान्हपछि एकछिन देखापरयो अनि निमेषभरमै बिलाइहाल्यो ।
टुलनमा भएको त्यति बिरमाइलो मौसमलाई, हामीले जित्न सकिरहेको थिएनौं । तर, बेलुकीपख पानीजहाज कोर्शिका टापु जाँदै थियो । त्यसैले मेरा मनभित्र केही खुशीका तरङ्गहरु उब्जिरहेका थिएँ किनभने कोर्शिकामा फ्रान्सका सम्राट नेपोलियन बोनापार्टको जन्म भएको थियो । त्यसैले मेरा मन त्यहाँ पुग्न एकदम आतुर आतुर भइरहेका थिएँ ।
बेलुकीको समय ६ बज्नै लागेको थियो । तारासँग जहाजको दशौं तलामा उभिएर टुलन बन्दरगाहको दृश्यावलोकन गरिरहेका थियौं । तर, समुन्द्रतटबाट उठेका बतासको मन्द मन्द गतिले हाम्रा गालाहरुमा छोइरहेका हामीलाई यदाकदा आभाष भइरहेको थियो । अझै आवाजबिहीन तिनै सामुन्द्रिक हावाले ताराको सेतो जामालाई फरर उडाइरहेको क्षण हेर्दा मलाई असाध्यै रमाइलो लागिरहेको थियो ।
फ्रान्सको दक्षिणी सहर टुलनमा, त्यतिबेला हेमन्त ऋतुको समय थियो । त्यस्तो समयमा बन्दरगाहको नजिकै विरुप भएका नग्न रुखहरुको दुःखद् दृश्यलाई देख्दा मेरो हृदय थोरै टुटेंका थिएँ । समय समयमा चलेको चिसो बतासले तिनै रुखहरुलाई बिनासङ्गीत नचाँइरहेको उराठिलो दृश्य देख्दा मेरो मुटु झन छियाँ छियाँ परिरहेका थिएँ ।
पानीजहाजको पौडी पोखरी सिधै अगाडि एउटा ठूलो भित्तेघडी झुन्डिरहेको थियो । हामी मन्त्रमुग्ध भएर टुलन सहरलाई अङ्गालो मारिरहँदा त्यो घडीले अचानक ‘टिङरिङ्ग’ गरेको आवाज दियो । अनायसै त्यसरी आएको आवाजलाई पछ्याउँदै पछ्याउँदै, मैले टाउको घुमाएर घडीको छातीमा पुरयाएको थिएँ । त्यतिबेला, फ्रान्सको समय बेलुकीको ६ बजेको थियो ।
घडीको आवाज आएको केहीक्षणमा, हामीले यात्रा गरिरहेको पानीजहाज ‘आइल्याण्ड एस्क्याप’ ले टुलन सहर थर्कने गरेर ठूलो ठूलो हरण बजाउन थाल्यो । त्यति ठूलो हरणको आवाजले मेरो दिललाई एकछिन बैचैन बनाइरह्यो किनभने, टुलन सहरको यात्रा हाम्रो जिन्दगीमा प्रथम अनि अन्तिम पटकको थियो । त्यसपछि, ‘हामी कहिले पनि टुलन फर्केर नजाने है ?’ ताराले भनेकी कुरोलाई मैले त्यसबेला झलझलि सम्झिरहें ।
बिदाइको हरण तीनचोटि बजेपछि, पानीजहाजले बिस्तारै बन्दरगाहलाई छाड्दै गयो । एकछिनपछि, फ्रेन्च लडाकु बिमान बोक्ने पानीजहाज ‘चाल्र्स डे गुले’ को नजिकै भएर हाम्रो पानीजहाज बहन थाल्यो । मैले त्यसबेला त्यति ठूलो बिमान बाहक युद्धपोतलाई राम्ररी नियालेर हेरिरहेको थिएँ किनभने त्यो जहाज फ्रेन्च जलसेनाको सबैभन्दा ठूलो लडाकु पानीजहाज थियो अनि टुलन तिनै फ्रान्सका लडाकु युद्धपोतहरुको जलगृह पर्दथ्यो ।
लडाकु बिमान बोक्ने चाल्र्स डे गुलेलाई छाडेर, हाम्रो पानीजहाज विस्तारै बहँदै भूमध्ये सागरको मध्य भागतर्फ लाग्यो अनि जहाजले दिएको मधूरो बत्तीको प्रकाशले घरिघरी टल्केको पानीको फोहोरासँग सँगै क्रमशः अगाडि बहिरह्यो ।
एकछिनपछि, पानीजहाजको गति २० नटस प्रतिघण्टा पुगेको कुरो पोलिस कप्तान बार्तोसले ध्वनिप्रशारक यन्त्रदेखि बताउन थाले अनि उनले त्यसरातको मौसमको भविश्यकथन गर्दैगर्दा हामी आफ्नो कोठातर्फ जानको लागि बाटो तताइसकेका थियौं । हामी कोठामा पुग्यौं, र टेलिभिजन हेरेर केही समय बितायौं । त्यसपछि, बेलुकीको खाना खान सातौंतलामा अवस्थित ‘आइल्याण्ड भोजनालय’ तर्फ लाग्यौं ।
हामी आइल्याण्ड भोजनालयमा पुग्दा बेलुकीको समय सात बजिसकेको थियो । हामी त्यहाँ पुगेर कछुवा गतिमा अग्रिम आरक्षण गरेको टेबलतर्फ लाग्यौं । भोजनालयमा हाम्रो टेबलको नम्बर २२० थियो । र, टेबल जहाजको बायाँपट्टिको झ्याल नजिकै पर्दथ्यो । त्यस टेबलमा हामीलाई सेवाप्रदान गर्ने बेयराहरु यात्राको अबधिभरि फेरिदैन थिएँ । मलाई पानीजहाजको त्यो पक्ष साह्रै राम्रो लाग्दथ्यो । त्यतिबेला पनि हामी टेबलमा पुग्नै आँट्दा जानोले देखिन र मस्किँदै मस्किँदै हाम्रो नजिक आइहालिन् ।
जानो बिगत तीन दिनदेखि तारासँग राम्रो साथी बनिसकेकी थिइन् । कोहीमा, नागाल्याण्डबाट आएकी उनले हामी नजिक आउँदा एकहातमा जगभरि पानी पनि लिएर आइन् । हामी कुर्सीमा बस्ने बितिक्कै थपक थपक पानीको गिलास भरिदिइन् र लज्जालु स्वरमा बोल्न थालिन् ।
‘तारा, आज तपाई के पिउनुहुन्छ ?’ जानोले आत्मीयताको साथ हिन्दी भाषामा सोधिन् । ताराले उनको कुरो प्रष्टै बुझेपनि, केही बोलिनन् । उनले अब के भन्ने होला भनेर मेरो मुहारतिर एकझलक हेरिन् ।
‘जानो, हामी पहिले खानाको मेनु हेर्छौ । अनि खानाअनुसारको वाइन मगाउँछौ ।’ ताराको सट्टा मैले नै हल्का जवाफ उनलाई फर्काइदिएँ ।
मेरो कुरो सुन्नेबितिक्कै जानोले हात उठाएर भोजनको बेयरालाई बोलाइन् । त्यसदिन उपलब्ध हुने भोजनको मेनु हातमा लिएर हल्लिँदै हल्लिँदै डिमिट्रीले हाम्रो अगाडि उपस्थित जनायो । त्यति हँसिलो मुहारका डिमिट्री किभ, युक्रेनदेखि आएका पानीजहाजका कर्मचारी थिएँ । उनी हाम्रो भोजनको बेयरा र जानो पेय पदार्थको बेयराहरु थिएँ ।
मैले मेनु हेरिसकेपछि, डिमिट्रीलाई एउटा ‘बिफ वेलिङटन’ मगाए । त्यो गोरुको मासुको परिकारलाई बेलायती ‘ड्युक अफ वेलिङटन’ ले वाटरलुको युद्धमा नेपोलियनलाई हराएवापत त्यसको नाम बिफ वेलिङटन राखिएको थियो । त्यो परिकारको जस्तो नाम थियो, स्वादपनि त्यस्तै राम्रो भएकोले सर्लक्कै जिब्रोमा बिलाइ हाल्दथ्यो ।
अझै मुख्यकुरो त हामी भोलि बिहानको छ बजे राजनेता नेपोलियनको जन्मभूमी आजासियो, कोर्शिकामा उत्रँदै थियौं । त्यसैले फ्रान्सको पूर्व राजनेता नेपोलियन बोनापार्टलाई सम्झँदै सम्झँदै मैले त्यो परिकार खाने रुचि राखेको थिएँ । अनि ताराले त खै के के मगाइन, कुन्नि ? मैले उनीप्रति त्यति धेरै जान्ने उत्सुकता पनि देखाइनँ ।
साठीको दशकमा बिफ वेलिङटन ज्यादै प्रचलित भएको थियो । अझै त्यसको लोकप्रियता बेलायतमा भन्दा उत्तर अमेरिकामा बढि परेको थियो । मलाई त्यो फ्रेन्च गोरुको मासुसँग सायद क्याबरनेट सेभिङनन नै अति उत्तम हुन्छ होला जस्तो लाग्यो । त्यसैले, लामो समयदेखि मैले के माग्ने होला भनेर मेरो प्रतिक्षा गरेर बसिरहेकी कोहिमाकी बैनीलाई एकबोतल फ्रेन्च वाइन, क्याबरनेट सेभिङनन ल्याइ दिनुहोस है भनेर मगाएँ ।
मैले वाइन मगाएपछि, टकटक हिल पडकाउँदै जानो हामीसँग बिदा भइन् । डिमिट्रीलाई कोर्शिकाको बाख्राको पनिर पनि ल्याइदिनु है भनेर अनुरोध गरें । त्यो पनि कोर्शिकाको प्रख्यात र अति स्वादिष्ट हुन्छ भन्ने पहिले नै सुनेका थिएँ । त्यति स्वादिष्ट हुनुको मुख्यकारण चाहिँ सामुन्द्रिक हावापानी नै हुन रे । किनभने कोर्शिका नजिकको सामुन्द्रिक पानीमा नुनको मात्रा अलिक बढी नै हुन्छन् र नुन पानीसँग सँगै उडेर वनस्पतिका पात पातमा अडिन्छन् । र, तिनै वनस्पतिका पातहरु खाएका बाख्राका दूधबाट बनेका पनिर असाध्यै स्वादिलो हुन्छन् भन्थे ।
लगभग दुईघण्टा समय लगाएर हड्डीबिनाको गोरुको मासु र वाइनले टन्न पेट भरेपश्चात् हामी ‘ओसन थिएटर’ हलमा पुगेका थियौं ।
हामी त्यहाँ पुग्दा बेलुकीको समय ९ बज्नै लागेको थियो । जब घडीले ९ बजायो । मेघ गर्जेझै बजेको सङ्गीतको तालमा पाँचजना जोसिला अंग्रेज युवतीहरुले सेता सेता तिघ्रा देखाउँदै ‘जय हो, जय हो’ भन्ने गीतमा नाट्यमन्च हल्लाउन थाले । एकछिनमा अन्य पाँचजना युवकहरु पनि उनीहरुसँग सँगै नाँच्नको लागि मञ्चमा देखा परिहालें ।
त्यति कामुक युवतीहरुको कलकलाउँदो उमेर र बत्तीको प्रकाशले मलाई पनि उनीहरु सँग नाचौं नाचौं जस्तो रहर लागिरहेको थियो । तर, जो कोहीको नशिवमा कहाँ त्यस्तो लेखेको हुन्थ्यो र ? तै पनि केही टाढा दुरीबाट उनीहरु प्रति म किन किन आकर्षित भइरहेको थिएँ । हामीले नाट्यशालामा नाच, सर्कस र जादुसँग सँगै एक घण्टाको समय एक झिमिकमा नै बिताएको जस्तो बोध भयो ।
नाचको कार्यक्रम सकिएपछि हामी नाट्यशालाबाट बाहिर निस्क्यौं । र, मिराजबारमा ककटेल पिउनको लागि जाने भनेर सल्लाह गरयौं । तर, जहाजभित्र भित्र हिँड्दै जाँदा अन्य समयमा भन्दा अलिक बढी नै जहाज हल्लिरहेको हुनाले तारा कोठामा सुत्न जान्छु है, भन्दै आफ्नो कोठातिर लागिन् । त्यसपछि, म एक्लै लिफ्ट पक्रेर दशौं तलातर्फ उक्लिएँ ।
मिराजबारमा पुगेर एउटा, ‘सेक्स अन द बिच’ मगाएको मात्रै थिएँ । केहीबेर अगाडि नाट्यशालामा देखिएका नृत्यङगानाहरु पनि मेरो पछिपछि त्यहाँ आइपुगेका देखिएँ । उनीहरुको अनुहार त्यहाँ देखिएपछि मैले मनमनै ‘आम्मैनी हौ,’ छोकडीहरु पनि यहाँ आइपुगे छन् भने ।
त्यहाँ आइपुग्ने बितिक्कै उनीहरु बारको बिचौबिच भागमा नाच्न सुरु गरिहालें । कुनै कुनै नृत्यङ्गानाहरुले भट्टीपसलमा पेय पदार्थसँग रुझिरहेका यात्रुहरुलाई नचाएर मनोरन्जन दिन थालें । अ…म चाहिँ बरु एक्लै थिएँ । त्यसैले हातमा एउटा ककटेल समातेर बारको सिधै अगाडि उभिएर उनीहरुको रमाइलो नाच हेरिरहें ।
केही समयपछि, ‘मेरो नाम सामन्था हो,’ भन्दै एउटी पातली नृत्यङ्गाना मेरो नजिक आइपुगिन् । उनको नाम सुनेपछि, हतार हतार मेरो नाम पनि उनलाई बताइदिइहालें । त्यसपछि, एसेक्स, इङ्ल्याण्ड बाट आएकी त्यति कामुक सुन्दरीले मेरो दाहिने हात समातेर उनीसँग नाच्न जानको लागि मरिहत्ते गर्न थालिन् । केहीबेर अगाडि नाट्यशालामा यिनीहरुसँग नाच्न पाउँदा कति भाग्यमानी भइन्छ होला भनेर सोचिरहेको थिएँ । तर, जब मलाई अवसर मिल्यो । त्यतिबेला कहीँ नभएको लाज लागेर आउन थाल्यो ।
वर्षायामको आकाशमा बादल गर्जेझै गरेर मिराजबारको सिलिङमा ८० र ९० दशकका गीतहरु गर्जिरहेका थिएँ । भूमध्यसागरमा आएर पनि जाबो के लजाइरहने है भनेर ढुकढुक गरिरहेको मेरो मुटुलाई एकचोटी छामे, अनि बेस्सरी आँट कसेर तिनै युवतीसँग नाँच्न तम्सें ।
तर, सबैभन्दा पहिले एक सिरिप ककटेल पिएँ, र गिलासलाई त्यहीँ राखिछाडें । त्यसै त ‘एसेक्स’ भन्ने बितिक्कै कामोतेजक महिलाहरुको राजधानी भनेर बेलायतमा दुर्नाम कमाएको स्थान थियो । अब त्यति कामोतेजक युवतीले मरिगए मेरो हात छाडनेवाला छैन भनेर मैले भित्रभित्रै चाल पाइसकेको थिएँ । त्यसैले, अवसरको फाइदा उठाउँदै उनको हात कस्सेर समाए र नाँच्नको लागि फुर्तिको रुसाथ नृत्यस्थलमा पुगिहालें ।
जब हामी नृत्यस्थलमा पुग्यौं । उनको एउटा हातले मेरा कम्मरलाई च्याप्प समातिन् । र, अर्को हातचाहिँ मेरो काँधमा आराम गराइहालिन् । त्यसपछि, बेस्सरी हल्लिँदै हल्लिँदै उनी नाच्न सुरु गरिन् । उनीहरुको मुख्य ब्यवसाय नै यात्रुहरुलाई भरिपूर्ण मनोरञ्जन दिलाउनु थियो । म पनि के कम हुने भन्दै, ठेक्कै उनको नक्कल गर्न सुरु गरिहालें ।
तर, त्यति रापिलो शरीरको तापले मलाई एकैछिनमा खलखली पसिना छुट्न थालिहाल्यो । अझै मेरो शरीर उनको अर्धनग्न शरीरसँग निक्कै लामो समयसम्म टाँसिरहँदा मलाई हल्का अफ्ठ्यारो महसुस हुन थाल्यो । त्यहीबेला निर्दोष ताराको यादले मेरो बायाँ छातीमा कताकता च्वास्स पोलेको अनुभूति भयो । किनभने म आफ्नो जीवन सङ्गीनीसँग २० औं वैवाहिक वार्सिकोत्सव मनाउन पानीजहाजमा पुगेका थिएँ ।
त्यसरी अचानक बाटोमा भेटिएकी अप्सरा ‘एसेक्स गर्ल’ सँग किन यो दुश्कर्म गरिरहेको छु, भन्ने सम्झेर थोरै आत्मग्लानी भयो । ‘साम, मलाई नाँच्ने अवसर प्रदान गरेकोमा धेरैधेरै धन्यवाद छ,’ भन्दै बिस्तारै उनको हातहरु मेरो शरीरबाट पन्छाइदिएँ । र, उनको बहुँपासदेखि मुक्त हुँदै नृत्यस्थलबाट सरासर बाहिर निस्कें । अनि केही नबोली कोठामा गएर मज्जाले आराम गरें ।
भोलि बिहान उठ्ने बितिक्कै तारा श्रृँगारपट्टारमा ब्यस्त रहिन् । म एक्लै १० औं तलामा रहेको खाजा खाने रेस्टुँरामा पुगिसकेको थिएँ । म त्यहाँ पुग्दा यात्रुहरुको उपस्थित एकदम पातलो थियो । तर, बेयरा र भान्सेहरुको भीड चाहिँ निक्कै बाक्लो देखिएका थियो । म सुस्तरी हिँड्दै एकजना गोरी तथा अग्ली चिनियाँ भान्सेको नजिकै पुगें । उनको नजिकै पुगेपछि, मलाई चिनियाँ झै मानेर उनले ‘नि हाउ’ भनिन् । मैले प्रति उत्तरमा ‘नि हाउ, व श निपुअर रन’ अथवा, ‘हेल्लो ! म त नेपाली हुँ,’ भनेपछि उनी झसङ्ग भइन् । त्यसपछि, एक अर्कामा हाम्रो छोटो परिचय भयो । उनको नाम लिना वङ र सिचुँवान प्रान्तदेखि आएकी रहेछिन्, भन्ने मैले त्यतिखेर चाल पाएँ ।
मेरो लागि एउटा अम्लेट पकाइ दिनको लागि तिनै भान्सेलाइ हल्का अनुरोध गरें । ‘भइ हाल्छनि, बरु तपाईलाई के के मनपर्छ कुन्नि ?’ भन्दै एकहातले डाँडु र अर्कोहातमा सानो प्लेट उचालेर मलाई खुशी हुँदै सोधिन् । मैले हातले घोचेर टेबलमा सजाइएका च्याउ, हाम, जैतुन, हरियो खुर्सानी, प्याज र गोलभेडा सबैथोक मिसाएर बनाइ दिनुहोला भनें । मैले भनेको सबैचिज मिसाएर, उनले एकैछिनमा एउटा अम्लेट तयार गरिदिइन् । यदि तपाईलाई ज्यादै पिरो मनपर्छ भने, सिचुँवान सस पनि थपि दिन्छु है भन्दा मैले थोरै डरमान्दै भैगो भनें । किनभने, सिचुवान प्रान्तमा पुगेर त्यसको नराम्रो अनुभव मैले पहिले नै गरिसकेको थिएँ ।
निख्खर सेतोटोपी पहिरन गरेकी तिनै ‘ब्युटी क्विन’ चिनियाँ भान्सेले पकाएकी एउटा अम्लेट लिएर म सरासर जहाजको बार्दलीमा निस्कें । अनि दशौं तलाको तिनै बार्दलीदेखी आजासियो, कोर्शिका नियाल्दै खाजा खान थालें । साच्चै ! त्यहाँदेखि देखिएको कोर्शिकाको बिहानीको दृश्य अति रमणीय थियो । केहीबेरमा जमैकाकी एकजना काली बेयराले ‘चिया कि कफी ?’ भन्दै मेरो सामु खडा भइन् । मैले उनको अनुहारलाई एकझलक नियालिहेरें । अनि तिनै अनुहारको प्रतिबिम्व सम्झनको लागि, ‘कृपया कालो कफी दिनुहोला ?’ भनी टोपलें ।
श्यामल वर्णकी कागखुट्टि कालीले एककप कालो कफी टेबलमा थपक्कै राखेर म देखि बिलय भइहालिन् । अब अरु कोही नभएपछि मैले प्रयोग गरेको काँटा र छुरीको आवाज बाहेक टेबलमा एकछिन स्तब्धताले छाइरह्यो । केहीबेरमा ठुल्ठुला किस्तीमा केक बोकेर ‘तागालोक’ भाषामा गीत गाउँदै गाउँदै दुईजना फिलिपिनो युवतीहरुले मेरो नजिकै उपस्थिति जनाएँ । उनीहरुले बोकी हिँडेका केकलाई देख्ने बितिक्कै एकाबिहानै शरीरमा के चिनीको मात्रा थप्ने होला भनेर म हतार हतार बिपरीत दिशातिर फर्किहालें ।
‘महाशय ! एउटा केक चाख्नुहोस् है ?’ भन्दै मेरो दायाँ कानको जालि फुटनेगरी एउटी युवतीले कराइ हालिन् । एउटा ‘वेल्स केक’ थमाउनको लागि उनले मरिहत्ते गरेकी देखेर एकछिन धर्मसंकटमा परिरहें । तैपनि त्यति राम्री युवतीको अनुरोधलाई त्यति बिहानै किन अस्वीकार गर्ने होला भनेर, ‘हवस,’ सम्म भनिदिएँ ।
युवतीहरु मेरो टेबलदेखि विलय भएपछि, म एक्ले ढेँडुझै भएँ । धेरैजसो बेलायती यात्रुहरु सातौं तलाका मिराज भोजनालयमा बिहानीको खाजा खान गएका थिएँ । त्यसैले दशौंतलामा त्यति धेरै भिडभाड देखिएका थिएनन् । तैपनि तारा कतै आइपुगिहाल्छिन् कि भन्ठानेर बेलाबेलामा यताउता हेरिरहें । तर, त्यसबेला सम्म उनको छायाँको अत्तोपत्तो देखिएको थिएन ।
मैले कफी पिउने क्रममा टाउकोलाई यसो बायाँतर्फ घुमाएर कोर्शिका टापुलाई धेरै टाढासम्म एकाध हेरिरहें । त्यतिबेला ‘एल्बा’ दिपको क्षितिजदेखि तिरिरी घाम झुल्कन लागेका रमाइलो दृश्य देखा परिरहेको थियो । तिनै एल्बा दिपमा ‘मलाई असल आमा देउ, म तिमीलाई महान राष्ट्र दिन्छु,’ भन्ने विचारका धनि नेपोलियन बोनापार्टलाई सन् १८१४ को ‘फोनटानब्लो’ सन्धिले फ्रान्सका सम्राटदेखि पदच्युत गरेर देशनिकालाका सजाय पाउँदा एल्बा दिप पुरयाइएका नरमाइलो क्षण त्यतिबेला सम्झिरहें ।
उनलाई बेलायती पानीजहाजका कप्तान थोमस उस्सरले ‘एचएमएस अन्डाउनटेड’ राखेर एल्बा दिप लगेका थिएँ । त्यहाँ पुरयाइएपछि, ‘भिल्ला अफ द मिल्स’ भन्ने घरमा राखिएका थिएँ । उनी एल्बा दिपमा छँदा उनको प्रथम श्रीमतीको निधन भएको थियो भने, दोश्रो श्रीमती र छोरा अष्ट्रियामा शरणार्थी जीवन बिताउन थालेका थिए । तिनै दुःखलाग्दो खबरहरुले छियाँ छियाँ बनाएको हृदय लिएर १० महिनापछि एल्बादिपबाट उनी भाग्न सफल भएका थिएँ ।
एल्बा दिपको क्षितिजदेखि उदय भएको त्यति कलिलो सूर्यको प्रकाशले सामुन्द्रिक पानीका तरङ्हरुलाई थोरै थोरै जिस्क्याइरहेको जस्तो मलाई त्यतिबेला अनुभूति भइरह्यो । अझै सबैभन्दा रमाइलो त तिनै निलापानीका छातिमाथि मलेवा र जलहाँसहरुले माछाको खोजी गर्दा खेलेको खेललाई देख्न सकिन्थ्यो । तर, समय समयमा तिनीहरुले समातेका माछाका दृश्य देख्दा प्रकृतिको नियमपनि मान्नैपर्ने जस्तो लागिरह्यो ।
समुन्द्रको पानीदेखि मेरो नजरलाई बिस्तारै घुमाएर सामुन्द्रिक किनारमा पुरयाएको थिएँ । त्यो सामुन्द्रिक किनारै किनार आँखाले देखिन्जेलसम्म एउटा लमतन्न गोरेटो देखापरयो । तिनै लामो गोरेटोमा स्वाभीमानी कोर्शिकन मानिसहरु हाँसीखुशी दौडिरहेका देखिएका थिएँ । काठमाण्डौ, पोखरा र धरानमा हरेक बिहान उठ्नेबितिक्कै पैसाको मात्रै कुरो गरिरहने असन्तुष्टि नेपालीहरुसँग तुलना गर्दा कोर्शिकाका मानिसहरु कति सुखि होला भन्ने मेरो मनमा निक्कै लामो समयसम्म लागिरह्यो ।
त्यसदिन, म बिहान उठेर दशौ तलामा अवस्थित त्यो रेष्टुँरा पुग्न अगावै, हाम्रो पानीजहाज आजासियो बन्दरगाहमा रोकिसकेको भएतापनि हाम्रो बायाँपट्टि एउटा जर्मन पानीजहाज ‘आइदा क्रुज’ भर्खर भर्खरै रोकिदै थिएँ । यसरी फ्रान्सको दक्षिणी सहर निसको अझै दक्षिणी भागमा रहेको ‘कोर्शिका टापु’ छुट्टी मनाउन आउने पर्यटकहरुको लागि ज्यादै प्रख्यात ठाउँ थियो । त्यसैले हरेक नयाँ बिहानीको उदयसँग सँगै त्यहाँ पर्यटकहरु उदाउने गरेका थिएँ । त्यति आकर्षक प्राकृतिक भूवनोट र सामुन्द्रिक तटले कोर्शिका टापुलाई भूमध्य सागरको ‘आइल्याण्ड अफ ब्युटि’ भन्ने उपाधि मिलिसकेको थियो ।
एकछिनपछि स्याउ, सुन्तला, आँप र गोलभेडाको रसहरु डुलाइ हिँडेकी एकजना युवती मेरो सामु आइपुगिन् । उनलाई देख्ने बितिक्कै, मलाई एक गिलास सुन्तलाको रस पिउने रहर अचानक भइहाल्यो । मैले सुन्तलाको रस मागेसँग सँगै बाली, इन्डोनेशियादेखि आएकी तिनै बेयरासँग मेरो सामन्य परिचय भयो ।
तर, मलाई बेयराले दिएकी सुन्तलाको रसभन्दा पनि उनको शारीरिक रसमा झन कता कता मिठास देखिरहेको थिएँ अनि त्यति मिठो उनको शारिरिक रससँग झुम्ने भाग्यमानी पुरुष को हुन्छ होला भनेर म केहीबेर चिन्तित बनिरहेको थिएँ । तर, हिजो रातिको मिराजबारको घटना सम्झेंर म जस्तो जोइटिङ्ग्रे मर्दले लिएको जाबो त्यो मेरो चिन्ता ब्यार्थको जस्तो लाग्यो । ठीक त्यहीबेला दुवै हातले टन्न खाजा राखेको किस्ति बोकेर पूर्णिमाको चन्द्रमाझै तारा मेरो अगाडि टुप्लुक्क झुल्किइन् ।
तारालाई देख्नेबितिक्कै, तिनै बालिकी बैनीले कुर्सी तानेर उनलाई बस्ने स्थान बनाइदिइन् । ताराले धन्यवाद भनिन र थपक्कै कुर्सिमा बसिन् । त्यसपछि अति सुन्दर शरीरकी धनी बालिकी बेयराले हामीदेखि बाटो तताइ हालिन् ।
‘बैनीसँगको गफमा मैले कतै बाधा त गरिन् ?’ ताराले सुँगुर घोच्ने फलामे सुइरोलेझै तिखो प्रश्न गरेर मेरा बायाँ छातीमा प्रहार गरिन् ।
निश्चय नै, ‘प्रश्न उठनु पनि सत्यको नजिक पुग्नु हो,’ जस्तो मलाई त्यतिबेला बोध भयो । उनी खाजा लिएर भर्खरै मेरो सामु आइपुगेकी थिइन् । त्यसैले, के कुकुरभेट खाइभेट गर्ने भनेर केही बोल्ने जमर्को गरिन् । बरु चुपचाप कपीm पिउँदै सामुन्द्रिक ज्वारभाँटा हेर्दै बसिरहें । तैपनि आफूभन्दा राम्री देखेपछि पुरुषको बश नियन्त्रण गर्न उटफट्याङ कुरोगर्न हरेक स्त्रीको चरित्रभित्र पर्दछ कि, भन्ने मेरो मनमा त्यतिबेला लागिरहेको थियो ।
ताराले केहीबेरमा खाजा खाइसकिन् । त्यसपछि, हामी पानीजहाजदेखि बाहिर निस्क्यौं । जहाजको मुख्य ढोका ‘ग्याङ्ग वे’ देखि बाहिर एउटा खेलौना रेलले यात्रुहरुको प्रतिक्षा गरिरहेको थियो । जब रेलमा यात्रुहरु पूर्णरुपले भरियो । त्यसपछि, हामी सिधै नेपोलियन बोनापार्टको जन्मघर (सङ्ग्राहलय) तर्फ लाग्यौं । नभन्दै हामीलाई उनको जन्मघर पुग्न त्यति धेरैसमय खर्च गर्नपरेन ।
कार्लो बोनापार्ट र लेटजिय रामोलिना बोनापार्टकी चौथो सन्तानको रुपमा नेपोलियन बोनापार्ट १५ अगष्ट १७६९ मा तिनै घरमा जन्मेका थिएँ । कार्लो बोनापार्टले मृत्युबरण भएको आफ्नो जेठो छोरो नेपोलियनको यादमा उनको नाम पनि नेपोलियन नै राखिदिएका थिएँ ।
जोशेफ र नेपोलियन मात्र तत्कालीन समयमा जीवित भएको हुनाले कसैकसैले सम्राट नेपोलियनलाई दोश्रो सन्तानको रुपमा मान्ने गरेका थिएँ । उनी जन्मेको घरभित्र पसेर नक्कल गरेर बनाइएका उनका बिस्तारा र टेबल कुर्सीहरुलाई केहीबेर नजर लगाइ सकेपछि पुनः हामी घरदेखि बाहिर निस्कियौं ।
त्यहाँबाट निस्केपछि, सुस्तरी हिँड्दै ‘डाइमण्ड स्क्वायर’ मा पुगेका थियौं । तिनै ठाँउमा लिटल कर्पोरल उपाधि पाएका नेपोलियनका चार जना दाजुभाइहरुको शालिक रहेका थिएँ । डाइमण्ड स्क्वायरदेखि केहीबेर हिँडेर हामी उकालि चढ्यौ । र, माथि डाँडामा पुगेका थियौं । जहाँ डाडै ढाक्ने गरेर नेपोलियन बोनापार्टका बिशाल शालिक निर्माण गरिएका थिएँ । अनि उनको शालिकको मुनि भित्तामा उनले वीरता र कौशलता प्रदर्शन गरेका महान युद्धहरुको नाम लेखिएर राखिएका थिएँ ।
शालिकको मुनिरहेका अक्षरहरु पढिरहँदा, मरिया नाम बताउने एकजना कोर्शिकाकी महिलासँग मेरो अचानक भेट भयो । उनैले, ‘इतिहास विजय गर्नेहरु दवारा मात्र लेखिन्छ,’ भन्ने विचारका महाधनी एवं युद्धकौशल नेपोलियनले जम्मा ७० वटा युद्धहरु लडेका थिएँ । तर, दुर्भाग्यबस ती युद्धहरुमध्ये आठवटा युद्धमा उनले सार्है नराम्रोसँग पराजय भोग्नपरेको थियो । सम्भवतः मानवजीवनको इतिहासमा अलेक्जान्डर महान र गेङ्गिस खानपछिको सबैभन्दा बहादुर योद्धा तिनै ‘लिटिल कर्पोरल’ थिएँ होला ? भन्दै मरिया हामीसँग बिदा भइन् ।
हामी त्यहाँबाट थोरै हिँडेर अलिक मुनि सामुन्द्रिक तटतर्फ झरयौं । कोर्शिकामा भएको बाटोघाटो, खोलानाला, पार्टीपौवा, विद्यालय र महाविद्यालयहरु सबैको नाम नेपोलियनसँग जोडिएका थिएँ । जसले गर्दा घरिघरी हामीलाई कोर्शिकाको नक्सा पढ्न पनि अफ्ठ्यारो भइरहेको थियो ।
‘असम्भव भन्ने शब्द केवल मुर्खहरुको शब्दकोषमा मात्रै हुन्छ ।’ भन्ने नेपोलियनको जिन्दगीमा सबैभन्दा ठूलो क्षति रुसमाथिको आक्रमणमा भएको थियो । सैनिक रणनीतिकार नेपोलियनले सन् १८१२ मा ६ लाख सिपाहीहरु लिएर रुसको राजधानि मस्कोलाई आक्रमण गरेका थिएँ ।
रुस युद्धमा पराजय खेपेर फर्कदै पोल्याण्डको गाडन्स्क आइपुग्दा उनीसँग जम्मा ४० हजार सैनिक मात्रै बाँचेका थिएँ । तिनै बाँच्ने भाग्यमानी सैनिक मध्ये नेपोलियनको चिकित्सक डाक्टर जिन जर्ज हाफनर पनि थिएँ । केही वर्र्ष अगाडि म गाडन्स्क, पोल्याण्ड पुग्दा डाक्टर हाफनरले सपोर्टमा खोलेको ‘स्पा’ पनि पुगेको थिए । डाक्टर हाफनरले रुस युद्धदेखि फर्कदा नेपोलियनको साथ छाडेर पोलिस केटी रेगिना क्यारोलिनासँग विवाह गठबन्धनमा बाँधिएर शेष जीवन त्यतै बिताएका थिएँ ।
एल्बा दिपबाट भागेर आएपछि नेपोलियनले फ्रान्समा दोश्रो पटक शासन गर्न थालेका थिएँ । तर, डब्लिन, आयरल्याण्डमा जन्मेका आर्थर वेल्सली (ड्युक अफ वेलिङ्टन) ले नेतृत्व गरेको ‘वाटरलु युद्ध’ मा स्तन्त्रता, समानता र बन्धुत्वको नारा दिएर हिँडेका नेपोलियनलाई पराजय गरेपछि पक्राउ गरें । उनलाई पक्रेपछि निर्वासन जीवन यापनको लागि सन् १८१५ मा सेन्ट हेलेना दीपमा लगेर राखियो ।
‘जबसम्म तिम्रो पखेटा फिजाउँदैनौ, तिमीलाई थाहा हुँदैन, कि तिमी कति टाढा उड्न सक्छौ ।’ भन्ने विचार लिएका नेपोलियनले ६ वर्षसम्म सेन्ट हेलेना दीपमा एकल जिन्दगी बिताएका थिएँ ।
अन्ततः जिरोदेखि नायक र नायकदेखि जिरोमा झरेका युरोपको महान योध्दा नेपोलियन बोनापार्टले ५ मे १८२१ मा अन्तिमचोटी सास फेरेका थिएँ ।
तर, आन्द्राका क्यान्सरदेखि पीडित, ‘लिटिल कर्पोरल’ को मृत्यु अहिलेसम्म विवादस्पद नै रहेका छन् ।
(हाल बेलायत बस्ने लेखक राई बुईपा, खोटाङे हुन्)
‘हाम्रोकोशीआवाज डट कम’मा पूर्वप्रकाशित
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )