कविता : एआई दासत्वमा बुद्धिहरू

~राजव~

कुनै घरमा
एलेक्सा नामकी सानो गोल चक्कर पसी र
पटापट धेरैलाई विस्थापित गरी

समाचारको लागि अब अखबार किन्नु परेन, टिभी, रेडियो कुर्नु परेन
लिभिङ्ग रुमको कुनामा वाइफाइसँग सम्बन्धन गरेर राखेको एलेक्सालाई अह्रायो
एलेक्सा आजको ताजा समाचार भन,
अडर सुन्नासाथ एलेक्सा, पटापट ताजा समाचर सुनाउन थाल्छे
अब आजको मौसमको हाल सुना एलेक्सा भन्यो, एलेक्सा धमाधम
सम्भावित तामक्रम, वर्षा, घाम, बादल, हुरी, बतास र हिउँको हाल सुनाउन थाल्छे

एकछिनमा वाथरोबको तुना कस्दै
हजुरआमा प्रकट हुन्छिन र एलेक्सातिर फर्केर भन्छिन्, एलेक्सा भजन सुना
निमेषमै एलेक्सा कुनै भजन लगाई दिन्छे
एलेक्साले सुनाएको भजन सुन्दै
हजुरआमा स्मार्ट चुलोमा स्मार्ट किट्ली बसाल्छिन्,
दूध चिनी, पानी चियाको मात्रा मिलाएर हाल्छिन् र टाइमसेट गरेर भजन सुन्न थाल्छिन्
ठीक समयमा हजुरआमाको स्मार्ट किट्ली चिया पाकेको संकेत ध्वनि दिन थाल्छ
हजुरआमा चूलोतिर कुद्छिन्,
चिया कप कपमा राखेर आफ्नो भागको एक गुलाफी कपको कान च्यापेर सोफामा बस्छिन् र,
चियाको सुर्की लिँदै फेरि एलेक्साको अल्गोरिदमबाट निस्किरहेका भजनहरू सुन्न थाल्छिन्

यस्तैमा बाथरुमबाट हजुरबा निस्कन्छन्,
आफ्नो चियाको कप उचाल्दै एलेक्सातिर फर्केर भन्छन्, एलेक्सा हनुमान चालिसा सुना
एलेक्सा तुरुन्त हनुमानचालिस सुनाउन थाल्छे
केहीबेरमा नाति केटो आउँछ र एलेक्सालाई भन्छ, एलेक्सा प्ले सन मेन्डेज
एलेक्सा तुरुन्तै सन मेन्डेजको गाना ‘इफ आइ कान्ट ह्‍याब यु ’ सुनाउन थाल्छे

घरमा डेढ वर्षे बालक पनि छ
उसलाई भात ख्वाउन बेबी सार्क सुनाउन पर्छ
आमा एलेक्सालाई भन्छिन्, एलेक्सा प्ले बेबी सार्क
एलेक्सा तुरुन्तै सुनाउन थाल्छे ‘बेबी शार्क डु डु , बेबी शार्क डु डु’

घरको एक पढाकु आउँछ र अह्राउँछ
एलेक्सा सलमान रुस्दीको क्‍विचेट कस्तो छ सुना,
एलेक्सा क्‍विचेटको रिभ्यु सुनाउन थाल्छे

एलेक्सा भित्रिएपछि कोठामा र्‍याकका किताबहरू अछुत भएका छन्
हातको स्पर्श नपाएर ती सब उदास रहन्छन्
अब तिनलाई हेर्ने आाखाहरू एलेक्सातिर फर्कन्छन्
एलेक्सा तिनको चाहको कविता, कथा, उपन्यास, इतिहास, पुराणदेखि
यूवल नोह हरारीको ट्‍वान्टी वान लेसन फर ट्‍वान्टी फस्ट सेन्चुरीसम्म सुनाउन थाल्छे

को के सुन्छन्, को के पढ्छन्, सबको चाह पूरा गर्दै
एलेक्सा एक एकको रुचि, इच्छाको डाटा आफ्ना कर्पोरेट मालिकहरूकाँ पुर्‍याउँछे
घर घर पसेका यस्तै यस्तै एआई भेदियाहरूको कर्पोरेट दासत्वमा
निकम्मा हुँदै छन् बुद्धिहरू।

(स्रोत : नेपाल साप्ताहिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.