नियात्रा : लन्डनको सोहो, हाइगेट र कार्ल मार्क्स

~भीम राई~

जनवरी ९, सन् १८६३ मा विश्वको पहिलो सुरुङ्ग मार्ग लन्डनमा उद्घाटन भएको दिन तीसहजार मानिसहरुले मार्क ब्रुनेलको प्रशंसा गर्दै भूमिगत रेलद्वारा यात्रा गरेका थिए ।

त्यसको एकसय एचास वर्षपछि हामी तिनै भूमिगत रेलमार्ग हुंदै जनवरी २०१३ मा लेस्टर स्क्वायर स्टेसन पुगेका थियौं । स्टेसन पुगेर सिढींमा टेक्ता हाम्रा पाइतालाहरुले निकालेका टकटक आवाजसंग संगै हामी बाहिर निस्केका थियौं ।

तर बाहिर सडकमा निस्कने बितिक्कै आएको तातोतातो डिमसमको बासनाले हाम्रो नाकलाई एकछिनसम्म अलमल्याई रहेका थिए । त्यसबेला, मलाई हल्का भोक लागिरहेको थियो । अनि त्यति मिठो डिमसमको सुगन्धले मेरो नाकलाई आकर्षण मात्र गरेन । मेरो छोटो नाकको डण्डीनै भांचिदिन खोज्यो ।

डिमसमको बासना जुन दिशाबाट आइरहेको थियो, त्यसैलाई निशाना बनाएर लुखुरलुखुर हामी त्यसतर्फ अगाडि बढ्न थाल्यौं । हुनत त्यसबेला हामी लण्डनको प्रख्यात ‘सोहो’ क्षेत्रको चाइना टाउन नजिकै पुगिसकेका थियौं । अनि सोहो, लण्डनमा पुगेर फटाफट चालिएका हाम्रा कदमहरुले ‘लिटल न्यू पोर्ट स्ट्रिट’ मा ड्याम्मै लगेर ठोक्काएको थियो । त्यसपछि आंखा चिम्लेर त्यति मिठो बासना आउंदै गरेको स्थान ‘जेराड स्ट्रिट’ भित्र छिरेका थियौं ।

जेराड सडकमा पुगेपछि, सडकका दायां बायां अनगिन्ति चाइनीज भोजनालयहरु देखापरे । सबै भोजनालय छाडेर हाम्रो सिधै अगाडि परेको ‘गोल्डन ड्रागन’ स्वदिष्ट भोजनहरुका लागि एक नम्बर हो, ताराले भनिन् । र, त्यहीं भित्र जाने निधो उनले गरिन् । नभन्दै त्यसको बाहिरपट्टि क्यान्टोनिज र पेकिङनिज मात्र नभएर डिमसमको बैशिष्ट्य आहाराहरु पनि मिल्दछ भन्ने त्यहां विज्ञापन टांसिएका थिए । हामीले त्यसबेला बेलायतमा ‘महिलाहरुको अगाडि पुरुषको अधिकार मर्छ’ भन्ने कुरा ‘चाइना टाउन, लण्डन’ पुगेर एकपटक पुनः चरितार्थ गरेका थियौं ।

ताराले त्यहां पस्ने निर्णय गरेपछि म सरासर गोल्डन ड्रागनको नजिक पुगेर ढोकालाई घचेटें, र घन्द्रङ्गै ढोका खोलें । ढोका खोलेर भित्रपस्ने बितिक्कै, भुलभुल उम्लिरहेको गोरुको आन्द्राभुंडी देखेर मेरो मुखमा सरर पानीको भेल छुट्न थाल्यो । जाबो ‘कुन्ताकी बुहारी, भटमास खाकी’ भन्दै बेसरम जिब्रोलाई मनमनै गाली गरें । तर मेरो मनभित्रबाटै उब्जिरहेको त्यस्तो आवेगलाई ताराले केहि चाल पाएकी थिइनन् ।

भोजनालय भित्र पस्दैगर्दा हाम्रो अगाडि एकजना बेयरा ठिङ्ग उभिरहेकी थिइन् । त्यतिबेला उनीसंग मेरो हल्का आंखा जुध्यो । तर, आंखा जुध्ने बितिक्कै, ‘जि वेई ?’ भनेर उनले मलाई प्रश्न गरिहालिन् । मैले प्रतिउत्तर दिने क्रममा ‘लियाङ्ग ग रन,’ भनेर छोटो उत्तर फर्काइ दिएं । त्यति भनेपछि देब्रेहातले त्यतातिर जानोस् भन्दै कुनापट्टिको एउटा सानो टेबल तिर देखाइदिइन् । किनभने उनको दाहिने हातले भोजनका मेनुहरु समातिरहेकी थिइन् ।

म सरासर बेयराले देखाएकी ठाउंतर्फ लागें । तर, ‘चाइनिजहरुको अशिष्ट ब्यवहारलाई चाहिं मान्नै पर्छ,’ भन्दै तारा भुनभुन गर्दै आइन् । उनको भनाईलाई मैले केहि वास्ता गरेको थिइन् । किनभने ढोकादेखी भित्र पस्दैगर्दा देखिएको गोरुको आन्द्राभुंडीको स्वाद मेरो जिब्रोमा अघिनै परिसकेको थियो ।

म कुर्सीमा आरामले बसें । मेरो पछिपछि ताराले पनि कुर्सीमा ठाउं ओगटिन् । तर, उनी कुर्सीमा बसिसकेपछि एकझलक हातेघडीको समय हेरिन् ।

‘ए खाना खाने समय त भइसकेको रहेछ ?’ अनि म तिर फर्किन् र सुस्तरी बोलिन् ।

गोल्डन ड्रागनमा डिमसम देखि खाना सुरु गरयौं । र, अन्तमा तातोतातो तर असाध्यै पिरो गोरुको आन्द्राभुंडीसम्म खायौं । त्यसपछि, सुस्तरी बाहिर निस्केर सडकको पेटी माथि माथि हिंड्न थाल्यौं । सबैभन्दा पहिले साफ्टबरी एभेन्यू पारगरेर डिन स्ट्रिटभित्र छिरयौं । अनि सरासर ‘२८ डिन स्ट्रिट’ को सिधै अगाडि पुगेर केहिबेर त्यहीं बाहिर खडा भइरहयौं ।

५ मे १८१८ मा ट्रियर पर्सिया (हालको जर्मनी) मा जन्मेका कार्ल हेनरिक मार्क्स र धर्मपत्नी जेनी फन वेस्टफान पांच वर्षसम्म तिनै घरमा बसेका थिए । उनीहरु त्यस घरमा बस्नुभन्दा अगाडि त्यो घर बेश्याबृत्तिका लागि प्रयोग भएको थियो । त्यस घरको मर्मत सम्हार भएपछि उनीहरु त्यहां सरेका थिए । त्यस ठाउंमा अहिलेसम्म पनि निलो रङ्गको फलामे पातामा १८५१ देखि १८५६ सम्म कार्ल मार्क्स बसेका थिए भनेर ‘ब्लु प्लेग’ टांसिएको छ ।

ताराले तिनै ब्लु प्लेगलाई देखेपछि, ‘खै फोटो खिच्ने होइन ?’ भन्दै मलाई कोट्याउंदै सोधिन् ।

‘अहं नखिच्ने ।’ टाउको उनीतिर फर्काएर क्षुद्र जवाफ दिएं ।

मलाई त्यहां पुगेर किन किन तस्बिर लिन मन लागिरहेको थिएन । किनभने, त्यसघरको वरिपरि थुप्रै मानिस हिंडिरहेका थिए । अनि हामी प्रजातन्त्रको जननी राष्ट्रमा थियौं । त्यसैले साम्यवादी ब्यवस्थामा पिता बसेको घरमा तस्विर लिन मलाई हल्का अफ्ठ्यारो महसुस भइरहेको थियो ।

डिन स्ट्रिटको त्यो दिन जनवरी महिनाको थियो । बेलायतमा जनवरी भनेपछि जाडोको उत्कर्ष महिना पर्दथ्यो । अझै त्यसदिन थेम्स नदीदेखि लगातार उडेको पानीको बाफले लण्डनको आकाश कालो मैलो भइरहेको थियो । बिहानै देखि मडारी रहेका त्यस्तो कालो बादल देखि भर्खरै पानी चुहिएला जस्तै देखिन्थे । त्यस्तो नराम्रो मौसमको बाबजुद पनि मैले डिन स्ट्रिटमा केहि समय बिताएर त्यसघरको इतिहासलाई निक्कै लामो समयसम्म सोचिरहें ।

सन् १८४३ मा जेना युनिभर्सिटी जर्मनीबाट विद्यावारिधि गर्नुभन्दा पहिले बन र बर्लिन 
युनिभर्सिटीमा कानुन अध्ययन गरेका मार्क्सले त्यसैवर्ष आफूभन्दा चारवर्ष जेठी जेनीलाई बिहे गरेका थिए ।

उत्पीडित वर्गको आमुल परिवर्तनका पक्षपाती मार्क्सलाई पर्सियन सरकारले देश निकाला गरेपछि उनी श्रीमतीसंग पेरिस पुगेका थिए । पर्शियनहरुले फ्रेन्च सरकारसंग मिलेर पेरिसबाट पनि खेद्दो गरेपछि मार्क्स जीवन जोगाउंदै ब्रसेल्स पुगेका थिए । त्यहां दुईवर्ष समय बिताउंदा लण्डन आएर एङ्गेल्ससंग मिलेर १८४८ मा ‘कम्युनिष्ट घोषणा पत्र’ निकालेका थिए ।

ब्रसेल्स देखि निकालिएपछि, सन् १८४९ मा मार्क्स र जेनी सधैं सधैंका लागि लण्डन सरेका थिए । उनीहरु लण्डनमा सर्ने बितिक्कै दुईवर्ष जति चेल्सीमा जिन्दगी बिताए ।

त्यसपछि, ‘२८ डिन स्ट्रिट’ को दुईकोठे घरमा सरेका थिए । त्यति सानो घरमा उसका छ जना छोराछोरी र धाइआमा हेलेन डेमुथ पनि संगै सरेका थिए । मार्क्स डिन स्ट्रिटको यिनै घरमा सरेपछि ‘श्रमिकहरुको धर्मग्रन्थ’ दाश क्यापिटल लेख्न सुरु गरेका थिए । उनले त्यो पुस्तकको पहिलो अध्यायलाई त्यहां नजिकै रहेको ब्रिटिश सङ्ग्राहलयको पढने कोठाको ‘जि ७’ कुर्सीमा बसेर घण्टौघण्टा सम्म लेख्ने गरेका थिए ।

डिन स्ट्रिटमा सरेको वर्ष मार्क्सको जीवनमा एउटा नराम्रो घटना घट्यो । एकाघरमा बसेकी तर विवाह नगरेकी धाइआमा हेलेन डेमुथ अचानक गर्भवती भइन् । उनी गर्भवती बनेपछि अब के गर्ने होला भनेर मार्क्स चिन्ताको भुमरीमा डुब्न थाले ।

उसको घर नजिकै रहेको ‘रेड लाइन’ भट्टी पसलमा मार्क्स र एङ्गेल्स एक बेलुकी संगै बसेर जाड पिइरहेका थिए । त्यही समयमा हेलेन गर्भवती भएको कुरा मार्क्सले आफ्नो मित्रलाई वहुत दुःखी हुदै सुनाएका थिए । तर, हेलेन गर्भवती भएकी कुरो जेनीले चाल पाइन् भने उनले आत्महत्या बाहेक अरु केहि गर्ने छैनन् भनेर मार्क्सले बैराग्य हुंदै विलय पोखेका थिए ।

मार्क्सको कुरो सुनेर एङ्गेल्स धिर सोचाइमा परे । एङ्गेल्सलाई त्यो कुराले ‘नखाउ भने दिनभरिको शिकार, खाउं भने कान्छा बाबुको अनुहार’ झंै भइ रह्यो । किनभने उनीहरु दुवैजना मिलेर पहिले त्यहीं भट्टी पसलको कुनामा बसेर ‘कम्युनिष्ट घोषणा पत्र’ को दस्ताबेज तयार पारेका थिए । तर त्यसदिन एङ्गेल्स भट्टी पसलको कुनापट्टि बसिरहेका भएपनि ठूलो छाङ्गाबाट बल्डङ्गै खसेको झैं महसुस गरे ।

‘आ….ठिक्कैछ, कुनै समस्या छैन्’ भन्दै एङ्गेल्सले मार्क्सप्रति ठूलो सहानुभूति प्रकट गरे । त्यसपछि एङ्गेल्सले हेलेनलाई भेटेर बच्चाको बाबु म हुनेछु सम्म भनिदिए । तर उसको अन्तिम नाम चाहिं तपाईंको नाम ‘डेमुथ’ नै राख्नुपर्छ, भनेर सल्लाह पनि दिए ।

हेलेन मार्क्सको श्रीमति जेनीलाई अतिधेरै माया गर्दथिन् । र, विगत दश वर्षदेखि संगसंगै बस्दै आएकी थिइन् । त्यसैले एङ्गेल्सको भनाईलाई उनले टाउको हल्लाएर स्वीकारोक्ति जनाइन् । नभन्दै २३ जुन १८५१ मा हेलेनले एउटा छोरोलाई जन्म दिइन् र उसको नाम फ्रेडरिक एङ्गेल्सको सल्लाह बमोजिम ‘फ्रेडरिक डेमुथ’ नै राखिदिइन् । तर, त्यो कुरा केवल मार्क्स, एङ्गेल्स र हेलेन बाहेक कसैलाई थाहा थिएन ।

म त्यतिबेलासम्म डिन स्ट्रिटमा एकछेउमा उभिरहेको थिएं । र, हेलेन डेमुथको त्यो वाध्यात्मक परिस्थितिलाई सोचिरहेको थिएं । बीसौं शताब्दीको ‘जिसस क्राइष्ट’ भनेर चिनिने मार्क्सको त्यसकार्यप्रति मलाई थोरै हिनताबोध भइरहेको थियो । आफ्नै घरको धाई आमासंग राखेको अनैतिक शारिरिक सम्पर्कबाट जन्मेको बच्चाको विषयमा ब्रिस्टल युनिभर्सिटीका कानुन तथा दर्शनका प्राध्यापक टेरेल कार्टरले भनेका त्यो कुरा मैले तिनै कुनामा उभिएर झलझली याद गरिरहें ।

त्यस्तो दुखान्त इतिहासलाई मनन गरिरहंदा डिन स्ट्रिटमा अचानक फिसफिस्से पानी पर्न थालेको थियो । प्राध्यापक कार्टरले हेलेन डेमुथका छोरा फ्रेडरिक डेमुथका जैविक पिता चाहिं कार्ल मार्क्स नै हुन् है भनेर निचोड निकालेका त्यतिबेला झलझली सम्झिरहें ।

‘पुरुष आफ्नो भाग्य नियन्त्रण गर्दैन्, महिलाको आफ्नो गुणद्वारा भाग्य निर्माण गरिदिन्छ ।’

तिनै विचारका धनी मार्क्सले जेनीलाई मात्रै होइन् फ्रेड्डीलाई चाहिं निक्कै ठूलै अन्याय गरे जस्तो मलाई किन किन लागिरह्यो । तर सबैभन्दा अचम्म चाहिं के भयो भने, ‘फ्रेड्डीले आफ्नो पिता को हुन् भनेर आफ्नो जिन्दगीभरि पत्ता लगाउन नपाउनु सार्है ठूलो अन्याय हो,’ भनेर मार्क्सकी छोरी जेनी एलनोइरले भनेको कुराले म झन्झन् सोचाईमा परिरहेको थिएं ।

‘होइन, तपाईं पनि सानोखाले कार्ल मार्क्स नै हुन आट्नु भयो कि के हो ?’

म एकाध मनस्थति बनाएर सडकको कुनामा एक्लै उभिरहेको थिएं । ठीक त्यहीबेला ताराको उटपट्याङ प्रश्नले मेरो देब्रेछातीमा धनुष बांण प्रहार गरेझैं भयो । त्यसपछि केहि नबोली मैले आफ्ना कदमहरु सरासर अगाडि बढाउन शुरु गरें । म लुखुर लुखुर अगाडि हिंडेपछि तारा पनि मेरो पछिपछि आइन् । हामी त्यहांबाट निस्केर यसो बायांतिर लाग्यौं । अनि, ‘चमेरा मार्ग’ भित्र पस्यौं । त्यसपछि केहिबेर सडकै सडक अगाडि बढिरह्यौं । एक छिनपछि ‘टोटनहाम कोर्ट’ ट्युब स्टेशन पुग्यौं ।

हामी त्यहां पुग्दा ग्रीनवीचको समय दिउसोको साढे दुई बजिसकेको थियो । स्टेसनभित्र पस्ने बितिक्कै आएको पहिलो भूमिगत रेललाई हामीले समात्यौं । लण्डनको हरेक बिहानी र बेलुकी झैं दिउसोको समयमा रेल त्यति ब्यस्त देखिएका थिएनन् । त्यसैले रेलभित्र छिर्ने बितिक्कै ढोका छेउको एउटा सिटमा म थपक्कै बसिहालें । तारा पनि रुन्चे भावमा मसंग टांसिन आइपुगिन् । तर उनी आएर सिटमा बसेकी मात्र के थिइन्, उनका आंखाका ढकनीहरु गल्र्यामगुर्लुम बन्द भइहाले ।

ताराले आंखा चिम्लेपछि सुक्ष्म दुःखी हुंदै देश निकाला सजाय पाएका मार्क्सलाई सम्झेर केहिबेर घोत्लिरहें । उनले वर्गविहीन समाज मात्रै होइन् अझै राज्यविहीन समाजको पनि कल्पना गरेका थिए । जसले गर्दा उनले जिन्दगीभरि बेलायती नागरिकता निकाल्ने रहर कहिले पनि गरेका थिएनन् । पर्सियाबाट देश निकालाको सँजाय पाएपछि उनी आजिवन ‘राज्यविहीन’ नै रहिरहे ।

‘पूंजीबादले वर्गको विभाजन गर्दछ ।’

तिनै अलौकिक विचार लिएर मार्क्सले सन् १८५६ संधै सधैंका लागि सोहो छाडे । त्यसपछि जेनी र आफ्ना प्यारी छोरीहरुसंग ‘४६ ग्राफ
टन टेरेस’ मा सरे । मार्क्सले त्यसबेला आफू बांच्ने एउटै आधार भनेको केवल जेनी मात्रै हुन् भन्ने सोचे । त्यसैले उनलाई असाध्यै प्रेम गर्दथे । अझै त्यति मात्रै कहां हुनु ? आफू बांचिन्जेलसम्म उनको याद आइरहोस् भन्नाको खातिर पांचैजना छोरीहरुको नाममा ‘जेनी’ भन्ने नाम जोडिदिएका थिए ।

कार्ल मार्क्स ग्राफ्टन टेरेस सरेपछि, क्रमशः ‘दास क्यापिटल’ को पहिलो अध्याय लेख्नमा नै ब्यस्त रहे । अझै कुनैकुनै बेला दिनको १२ घण्टासम्म त्यसलाई लेख्ने काम गरिरहन्थे । त्यसरी पुस्तक लेख्ता उसले अन्य केहि काम गर्न सकेनन् । जसले गर्दा उनको आम्दानीको श्रोत केहि पनि भएनन् । उसको आर्थिक अवस्था दिनानुदिन नाजुक हुंदै गयो ।

जेनी र स साना नानीहरु हरेक दिन दरिद्रताको गहिरो खाडलमा भासिदै गए । उसको घरको भाडा मात्र महिनामा ३६ स्टर्लिङ पाउण्ड तिर्नु पर्दथ्यो । उसको त्यस्तो दयनीय अवस्था देखेर धनाढ्य बाबुको छोरा एङ्गेल्सले ३५० स्टर्लिङ पाउण्ड (अहिलेको ३५,००० पाउण्ड) जति उनलाई प्रदान गरि दिए ।

‘चकफाल्म स्टेसन’ पुगेर भूमिगत रेल केहि सेकेण्डका लागि रोकियो । रेलदेखि झरेपछि स्टेसनको चिसो कंक्रिटको भुईंमा टकटक जुत्ताको आवाज निकाल्न थाल्यौं । र, मुसाको दुलो जस्तो सुरुङ्गबाट हामी सुस्तरी बाहिर निस्कियौं ।

अनि हिंड्दै हिंड्दै मैटल्याण्ड पार्क रोड तर्फ लाग्यौं । किनभने ४६ ग्राफ्टन टेरेसबाट मार्क्स तिनै ‘४१ मैटल्याण्ड पार्क’ मा सरेका थिए । मलाई त्यो घरको सामुन्ने पुग्दा किन किन केही हर्ष र केही विस्मातले छोइरहेको थियो । मार्क्सले धेरै मेहनत र परिश्रमपछि तिनै घरमा बस्दा ‘दास क्यापिटल’ पहिलो अध्यायको जन्म दिएका थिए ।

कार्ल मार्क्स सन् १८७५ देखि १८८३ सम्म तिनै घरमा बसेका थिए भन्ने प्रमाण एउटा फलामको पाता चुटेर बनाइएको खैरो रङ्गको गोलाकार ‘ब्राउन प्लेग’ घर बाहिरको भित्तामा लेखेर टालिएका थिए । जुन प्लेगलाई ‘क्यामडन नगर परिषद’ लण्डनले निर्माण गरिदिएको थियो ।

मैटल्याण्ड जनबगैंचाको तिनै घरमा सातजना बच्चालाई जन्मदिने ममतामयी आमा जेनीको सन् १८८१ मा कलेजो क्यान्सरबाट मृत्यु भयो ।

‘बिचरीको आजसम्म रहेछ ।’

आफ्नो प्यारी श्रीमतिको मृत्युको बेला दुवै आंखा बाट अलिकति निस्केका र बुढो नाकको डांडीसम्म झरेका आंसुलाई एकचोटी पुछेर मार्क्स भित्तातिर फर्केका थिए भन्ने सुन्नमा आएको थियो । उनको मृत्युले बनाएको खाली ठाउंमा भासिएर आकुल ब्याकुल बनेका मार्क्स अन्तमा उनको एकल छोरी एलनोइरसंग दुखित जीवन ब्यतित गर्न थाले ।

‘विश्वको सबैभन्दा प्रभावशाली र विवादस्पद राजनीतिक विचारका धोतक’ दार्ही जुङ्गेले श्रीमतिको मृत्यु भएको दुईवर्ष पछि १८८३ मार्च १४, दिउसोको २.४५ बजे मैटल्याण्ड पार्कको त्यसघरको एउटा कोठामा अति प्रख्यात तर जताततै प्वाल परेका कुर्सीमा आरामले बसेर सदाका लागि आंखा चिम्लेका थिए ।

मैटल्याण्ड जनबगैंचा, केन्टिस टाउन देखि तारासंग रेलबाट सिधै हामी ‘हाइगेट समाधिस्थल’ पुगेका थियौं । समाधिस्थल पुगेर प्रवेशद्वारको पैसा तिर्दै गर्दा अचानक मौसम परिवर्तन भएर गड्याङ्गुडुङ् गर्न सुरु गरेको थियो । त्यस्तो मौसम देखेर ताराले मुख बाङ्गो गर्दै फेरि भुनभुन गर्न थालिन् ।

‘अब फेरि पानी पर्न लाग्यो ? तपाईंको जिन्दगीका रहरहरुलाई पनि मैले मान्नैपर्छ ?’

उनको त्यो भनाई मलाई अलिक अप्रासङ्गिक र बेठाउंमा आए जस्तो लाग्यो । तैपनि उनले मलाई जिन्दगीभरि साथ दिइरहेकी थिइन् । त्यसैले, मैले केहि भन्न सकिरहेको थिइन् । तर, हाइगेट समाधिस्थलमा पुगेर अनुहार पढ्दा उनको मन कताकता रोइरहेकी जस्तो महसुस गरिरहेको थिएं ।

टिकट हातमा लिएपछि हामी प्रवेशद्वारबाट विस्तारै भित्र पस्यौं । अनि कछुवा गतिमा पूर्वी हाइगेट समाधिस्थलतर्फ लाग्यौं । जुन ठाउंमा बेलायतका सर्वाधिक लोकप्रिय ८५० महान ब्यक्तिहरुको समाधिस्थल रहेको थियो । जसमध्ये जर्ज एलिएट, क्रिश्चिना रोसेट्टी र डगलस एडम्स मात्र नभएर वामपन्थी नेता पौल फुट र राल्फ मिलिबेण्डको चिहान पनि एकअर्कामा नजिकै देखिन्थे । मार्क्सको परिवारहरु जेनी, हेलेन र एलनोइरका (शेष आत्माहरु) चाहिं १९५४ मा मात्रै नयां चिहान बनाएर त्यहां सारिएका थिए ।

साम्यवादका पिता, ‘कार्ल हेनरिक मार्क्स’ को मृत्यु भएपछि ११ जना मलामीको साथमा उत्तर लण्डनको तिनै ‘पूर्वी हाइगेट समाधिस्थल’ को एउटा कुनोमा अन्तिम संस्कार गरिएको थियो । इतिहासकारहरुले मार्क्सको अन्तिम संस्कारका लागि ११ जना मलामी भनेतापनि अक्सफोर्ड युनिभर्सिटीका सुविख्यात ‘मार्क्सवादी’ प्राध्यापक डाक्टर डेभिड हार्भीले चाहिं उपस्थित मलामी जम्मा १३ जना थिए भनेर उनीहरुको नामै उल्लेख गरिदिएका थिए ।

‘मानवजीवनका लागि सबैभन्दा बढि सोच्ने मानिसले आजदेखि सोच्न छाडिदियो ।’

यी माथिका शब्दहरु मार्क्सको अन्त्येष्टिका बेला एङगेल्सले अन्तिम श्रद्धान्जलिमा भनेका थिए । म त्यतिबेला दुःखी एङ्गेल्सले भनेका तिनै शब्दहरुलाई सम्झि रहेको थिएं । र, तिनै कुनामा उभिएर मार्क्सलाई त्यति नजिकबाट हेरिरहेका थिए । उनलाई जुन ठांउमा गाडिएर राखिएको थियो, त्यसको सिधै दुईमिटर अगाडि डाक्टर हर्बट स्पेन्सरलाई राखिएका छन् । मलाई विकाशपादी सिद्धान्तका दर्शनशास्त्री ‘हर्बट स्पेन्सर’ लाई त्यसस्थानमा राखिएको कता कता तर्कसङ्गत लागिरहेको थिएन् । सम्भवतः त्यसस्थानमा सबैभन्दा सुहाउंदो त ‘एडाम स्मिथ’ लाई नै राखिएको भए हुने थियो होला ?

किनभने उनीहरु दुईजनाको दर्शन एकआपसमा ठिक विपरित ध्रुवका जस्तै थिए । यदि त्यसो गरिएको भए, ‘पूंजीवादका पिता स्मिथ, र साम्यवादको पिता मार्क्स’ ले मरोणापरान्त पनि एकअर्कामा हेराहेर गर्दै विवाद गरिरहेका हुने थिए होलान् ? तर दुर्भाग्यवस, त्यसो नभएर अडाम स्मिथलाई एडिनबर्ग, स्कटल्याण्डमा राखिएको थियो ।

कार्ल मार्क्सको देहान्त भएको ७३ वर्षपछि १४ मार्च १९५६ मा ‘मार्क्स संरक्षण कोष’ ले त्यहां मार्क्सको स्मृतिस्तम्भ बनाइदिएको थियो । माक्र्सको त्यो चिहान स्तम्भको बनोट र रुपसज्जा चाहिं प्रख्यात बेलायती शिल्पकार लरेन्स ब्राडसले गरेका थिए । ‘कम्युनिष्ट’ शब्दबाट एकदमै वितृष्णा पैदाभएका विश्वभरिका मनुष्यहरु त्यहां पुगेर मार्क्सलाई नरसंहारका पिता ‘फादर अफ जेन्नोसाइड’ भन्दै पटकपटक स्मृतिस्तम्भमा बर्बता अपनाउने गरेका इतिहास छन् ।

तर, कार्ल मार्क्सको चिहानमा बनेका स्तम्भलाई नानाभांती नलेखेको समयमा हेर्ने हो भने उसको सिधै अगाडि छातीमा लेखिएका यिनै सुन्दर हरपलाई अहिलेसम्म मज्जाले पढन सकिनेछन् ।

‘विश्व भरिका मजदुरहरु एक हौं ।’

(हाल बेलायत बस्ने लेखक राई बुईपा, खोटाङे हुन्)

‘नेपालीलिन्क डट कम’मा पूर्वप्रकाशित

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.