~राजेन्द्र तारकिणी~
अदुःख त मृत मात्रै हुन सक्छ
जीवन्त त सदुःख हुन्छ।
दुःख जीविका काँधमाथि चढेर
कपटपूर्ण सुखभोग गर्नेहरू
सत्ता/शक्ति/सम्पत्तिको भागिदार बन्नेहरू
मूल्यवान् कात्रो ओढेका लासजस्ता लाग्छन्
(लास पनि एक समय शक्तिशाली हुन्छ
तर्साउँछ दुनियाँलाई)।
अचेल त सिसाको महलमा बस्नेहरू
सोकेसभित्रका ‘सिलिकन डल’जस्ता लाग्छन्
हरक्षण हाँसो हुन्छ ओठभरि,
कागजको फूलजस्तै लाग्छ त्यो अदुःखपूर्ण हाँसो!
कुनै दुःखको भँगेरोले ठुङ्दैन
सोकेस–मानवका यान्त्रिक हृदयहरूमा
जब तिनी मज्जाले देखिरहून्–
तल सडकमा
गोली लागेको परेवाझैँ छटपटाइरहेको बूढो मजदुर
नजिकै चिहानमा
आमालाई दागबत्ती दिन तयार सेतो लपेटिएको नाबालक
पहाडको गहिरो पहिरोजस्तो
मनभरि आघात बोकेर हिँडिरहेकी दीनहीन आइमाई।
सहरमा मानवता अपहरित भएको खबर पढेर
कत्ति पनि बिग्रँदैन
कागजको फूलजस्तो ती ओठको हाँसो।
(तर उता हेर्नुहोस् त–
तारा निभ्ने मिर्मिरेदेखि
जुनकीरी बल्ने रातिसम्म
घामको भुर्भुराहट/झरीको झम्झमाहट,
आँधीको झुन्झुनाहट/चट्याङको चट्चटाहटसँगै
जीवनमा सुन्दर दुःखका लय भर्नेहरू
डाँडाको निधारमाथि पोतिएको चन्दनजस्तो ‘घाम’ हेरेर
एकै क्षण हाँसे पनि संसारै उज्यालो लाग्छ
एकै क्षण रोए पनि संसारै उराठ लाग्छ
कति जीवन्त हुन्छ त्यो सदुःखपूर्ण हाँसो/रोदन!)
अदुःख त मृत मात्रै हुन सक्छ।
–०–
नागरिक दैनिक मा प्रकाशित
– न्वादेउ- ६, बैतडी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )