कविता : एउटा ‘आपोकालिप्सिस’ ढाल्नुछ

~डा.मधु माधुर्य~

एक्लो सगरमाथा –
ठिंग उभिनुको कुनै अर्थ छैन अब
पग्लेर थुप्रै हिमालहरु
वागमती ‘टुकुचा’ बगिरहेछ …

विसर्जनको प्रवाहसंगै
इतिहासको जंडू नियति
दक्षिण बगिरहेछ
‘चुनामी’ नेताहरुको
जिजिविषा
भत्काउँदै
मठ-मन्दिर र गुम्बाहरु
थाप्दै दक्षिणको “आशिर्वाद”

उक्लिरहेछ
विकराल आपोकालिप्सिस :
उही सिक्किमको भीरबाट
देश खस्ने खतराको
अप्रिय संकेत –
२-४ कुपुत्रहरुको उन्मादपूर्ण अट्टहास
वा आफ्नै आमा विरुद्धको ‘मुर्दाबाद’
भस्मासुरको कालो हात बनेर
भविष्यको पुर्पुरोतिर
बेरोकटोक / खुलमखुल्ला
डुलिरहेछ …

शव्दको अभावमा

मुर्ख
दृश्यहरुको क्यानभासमा
प्याच्च प्याच्च थुकिरहेछु :
“थुइक्क” !
…………
“थुइक्क” !!
………..
“थुइक्क” !!!

स्थायी आवेगको
मूर्त चित्रमा
एक्लै एक्लै
म –
फलामको अभ्यास गरिरहेछु
चीसो ओस
चारैतिरबाट
चाटिरहेछ मलाई !

रोपेर
महँगो स्वाभिमान
यो उर्वर माटोमा
फेरि
अर्को सगरमाथा
उभिदिन्छु

बुझ पचाउँदै –
“एक्लो सगरमाथा –
ठिंग उभिनुको कुनै अर्थ छैन अब
पग्लेर थुप्रै हिमालहरु
वागमती ‘टुकुचा’ बगिरहेछ …”

अभयपुर, दोलखा,
हाल: मस्को, रसिया

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.