कविता : कानुनको खेती

~पुकार पारदर्शी~

भुँड़ीमा उत्पाद मचाएकाले
यसपाली डल्ले खोर्सानीलाई
खाद्य दण्ड संहिता 1568054 धारा अन्तर्गत
मुद्दा दर्ता गरी अचारको बोइममा सुरक्षित हालियो।

प्रिय मुख्यमन्त्री
गाउँमा हामी कानुनको खेती गर्छौँ नी।

गाउँमा लागु हुने धारा दुईटै मात्र हो
धोबी धारा र शुद्ध धारा
पिउने पानी लिन आमाले शुद्ध धारा लिन पठाउनुहुन्छ
बाउको पेन्ट मैला पारिदिदा धोबीधारा पठाउनुहुन्छ।

ठ्याक्कै तिम्रै जस्तो बटालियन गाउँ पनि छ
एक बटालियन धानको बाला
एक बटालियन मकैको घोगा
एक बटालियन रहर
एक बटालियन आफ्नै देशमा बाँच्ने सपना
र एक बटालियन अधिकार माग्ने आँट छ
बस्, मात्र गाउँसित बन्दुक छैन।

बरू पहिल्यै घोषणा गरिदिनुपर्थ्यो अदालतले
कि काँटा, फरूवा, धनुकाँड़ सब अवैध हो।

तिम्रो काँटा, फरूवा र बेल्चाभन्दा बलिया
जीवनको खेत खन्ने यी औँलाहरू छन्
तिम्रा बटालियनभन्दा धेरै सङ्ख्यामा धुलोका कणहरू छन्
जसले उमार्छ हाम्रो निम्ति छाक्कैपिछेको भोक
अझ धेर गाउँसित जाँगरहरू छन्।

आफ्नै रूख ढाल्यो भने अवैघध हुन्छ
फारसमा घर बनायो, कानुन विरोधी
मासु खायो, धर्म विरोधी
अधिकारको मुट्ठी उठायो, राष्ट्रविरोधी
उब्जनी नदिने जमिनको कुद नतिर्दा घुसखोरी।

तिमीलाई चै कसले दियो साइरन बजाउने अनुमति?
पारसको रूख ढालेर लैजाँदा
कानुन लाग्छ कि लाग्दैन?
कुन चुनाउ आयोगले भन्छ
कि भोटको अघिल्लो रात बेस्मारी पैसा बाँड़नु
पुलिसले रक्सी पिउँदा 34 लाग्छ कि लाग्दैन?
चालकहरूबाट लिएको घुस कुन ट्याक्समा जोड़िन्छ?
पुलिसले मात्रै हेलमेट नलाउने नियन
देशको संविधाभित्र पर्छ कि पर्दैन।?

यी सब प्रश्नहरूको जवाफ दिए
मलाई फाँसी दिए हुन्छ।

प्रिय मुख्यमन्त्री
गाँउमा हामी कानुनको खेती गर्छौँ नी।

कि त पहिल्यै भनिदिनुपर्थ्यो प्रशासनले
रेडियोको पुर्जा बम बनाउन काम आउँछ
कमसेकम आमाले चार दिन खेताला धाएर
आफ्नो बनाएको रेडियोको पुर्जाको बम बनाएर
ध्वस्त पारिदिन्थे दुखको साम्राज्य।

चुह्लाको बुङबङ धुँवाले नपोल्ने
गाउँको आँखा अगाड़ी
तिम्रो टियर ग्यास काम लाग्दैन।

यहीँ हावा, यहीँ पधेँरा, यहीँ घाम, यहीँ पृर्थ्वी
हाम्रो निम्ति कानुन हो।
यहीँ माटो हाम्रो अदालत हो
हामी आफै हौँ यहाँको न्यायधीश।

प्रिय मुख्यमन्त्री
के म काँटा, फरूवा र बेल्चा लिएर अदालत आऊँ?

तर त्योभन्दा पहिले
तिम्रो सत्ता गाड़ने खाड़ल खनिराखूँ है।

(स्रोत : लाली गुराँस,नेपाली द्वैमासिक, दार्जिलिङ – अङ्क 23 : जुन-जुलाई 2017)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.