कविता : माछाको मोल

~जय क्याक्टस~

ए दाजु, फेरिफेरि आउँदै गर्नुहोस् है, नमरी बॉंचे कालले सॉंचे फेरि
भेट्दै गरौँला। रने दङ्ग पर्‍यो।
– शिवकुमार राई

……..तर कहिल्यै भेट्न गएन
भ्याएन पनि।

फीनिक्स समय यो
अँध्यारो-उज्यालोको पखेटा फट्फटाउँदै
पूर्व ताकेर उड़िरहेको
डेरा छानामाथिबाट
सुपरसोनिक जेट।

रने उही हो-
चौकबजारकै छेउमा
मल्टीप्लेक्स मार्केटमा
माछाको मोल तोकिरहेछ स्वयं
सेल्स-गर्लका कमनीय हातले सुम्सुम्याइएका
रङ्गी-चङ्गी एक्यूरियमभित्रका।

गोब्रे-दह जॉंदैन
सपनाहरू पनि देख्छ कि देख्दैन
किनकि अहिले उ
सिलगढ़ी पुग्छ,कलकत्ता र दिल्ली पुग्छ
माग बटुल्छ , पूर्ण गर्छ
र सपनालाई बन्द गर्छ
बहुरा्ष्ट्रिय ब्याङ्क र शेयरहरूमा।

अविवाहित नै छ
असीमित भोको पनि
नरम अङ्गालो र एफ्रोदिते गन्धबिना
निदाउँनै सक्दैन बिचरा!
निदाउँदै निदाउँदैन साला!!

(पानीको निम्ति हड़ताल, जुलूस, घेराउ, जनसभा, पथअवरोध, लाठीचार्ज, गठबन्धन, एनजीओ सेमिनार, परियोजना, विकल्पपथ, पत्रकार सम्मेलन, नागरिक अधिकार मञ्च, मानव अधिकार मञ्चए …..)

…..के के भइरहन्छ,
तर उसको सैयौं एक्यूरियमलाई पुग्ने
रनिङ वाटर उपलब्ध भइरहन्छ
हर समय हर दिन
त्यसैले उ ढुक्क भइरहन्छ।
त्यो ढुक्क बॉंड़िन्छ-कुनै महङ्गो रेस्तुरॉं कम् बारका
पर्दा लगाइएका केबिनहरूमा।

हेङ्गओभरले पिल्सिएको बिहान
9-11-हरू चियाको चुस्कीसित पिउँछ सुरूप्प
तालीबान र इराकका धुवॉंहरू
मालबोरोका प्याकेटमा उड़ाउँछ बुङ्ग
क्लिन्टनको वीर्य र
डिएनए-परीक्षणको परिणाम
जामसित टोक्छ किटिक्क
र निस्कन्छ
हातमा ल्याप्टप्भित्र संसारै बोकेर।

फूर्सदमा, सराप्दै निस्कन्छ साइबर संसारबाट
आङ तन्काउँछ,आँखा माड़्छ,
औंला पड़्काउँछ
आफ्नो ल्याप्टप्मा पसेका भाइरसहरू मार्ने
एन्टीभाइरस सफ्टवेर नपाएकोमा
गन् गन् गर्दै
कम्पनीको इन्भ्यालिड पेज बन्द गर्छ
अर्को वेभसाइट खोल्दै टाइप गर्छ
डबलू डबलू डबलू बेब्स् डट कम्
……………………………
रने अझै दङ्ग परिरहेछ।

-कालेबुङ

(स्रोत : विचलन प्रकाशन, कालेबुङ)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.