~मधुश्री~
“आमा मेरो जरुरी वैठकमा जानु छ । महिला अधिकारबादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि घर आईपुग्न । उहँलाई पनि मैँले भनेको छु ।” दिब्या झोला बोकेर तयार भैसकेकी थिई । उसले औपचारिकता निभाउँनु थियो । निभाई । उसकी सासू, जेठानीहरु तिनै जनाले ओठ लेब्र्याए । सासूले पनि औपचारिकता निभाई ” ठिकै छ । बेलामा आउँनु ।” ऊ बाहिर निस्कि र ओजल परि । उनिहरु हेरिरहेकै थिए । कुन्नी के के सोचे । मुखामुख गरे । उठेर भित्र पसे ।
दिब्या यस घरकी बुहारी भएकी धेरै समय भएको छैन । लगभग एक महिना हुँदा पनि उसले यस परिवारका सदस्यहरुलाई राम्ररी चिन्न सकेकी छैन । दिन-दिनै जस्तो फेरिने रुपले ऊ चकित छे । जेठानीहरु कहिले आफ्नै दिदी बहिनी जस्तै माया गर्छन् । अरुका कुरा काट्नु पर्ने बेलामा असाध्यै खुसी देखिएका हुन्छन् । तर राम्रो कुरा गर्दा अनुहार बिग्रिन्छ । उनिहरुको कुरामा हो-मा-हो मिलाउँदा खुसी र असमति जनाउँदा बेहद रिसाउँने तिनको बानी देखेर छक्क पर्दैछे ऊ । कस्तो प्रकारको स्वभाव भन्ने छुट्याउँन नै कठिन भएको छ उसलाई यतिबेला । सासू त्यस्तै छिन् । कसैको पनि राम्रो खबरले उनको अनुहारमा बेचैनी उत्पन्न हुन्छ । “आफू धनि हुँ । मेरा छोराहरु धेरै नै राम्रा छन् । अरुले के गर्न सक्यो र ? मेरा छोराले जति त कसैले पनि कमाउँन सक्दैनन् । आफ्नी सासूलाई देखाउँनु छ मेरा छोराको प्रगती । सासू नमर्दै मेरा छोराले मलाई झ्यालमा राखेर पालेको देखाउँनु छ । अब त आफ्नो-आफ्नो घर बनाउँन लागे । म जति सुखी आमा अरु कोही छैनन् ।” उनि बारम्बार यसै भन्थिन् । तर दिब्यालाई बुढीसासू त्यति नराम्रो स्वभावकी छिन जस्तो लाग्दैन । उनि नातिनी बुहारीलाई माया गर्छिन् । सासूको भनाई अनुसार बुझिन्छ अंश कम दिएको । तर बुढीसासूको कुरा सुन्दा त्यस्तो लाग्दैन । परिस्थिति अनुसार प्रयाप्त अंश जेठो छोरालाई दिईएको थियो । तर सासू बुढीसासु प्रति कहिल्यै पनि खुसी छैनन् । देखाउँनलाई चिप्ला कुरा गर्दै फुरुक्क पार्छिन् । तर पिढ्यौँ पछाडि कुरा काटेरा हैरान गर्छिन् । यो स्वभावले पनि दिब्यालाई हैरान बनाएको छ । जेठानीहरु दुबै सासूसँग मिल्दा छन् । सासूको कुरामा अलिकति पनि यताउता नगरी समर्थन गर्न सक्छन् । तर दिब्या सहि र गलत छुट्याएर बुझ्न खोज्छे । बास्तबिक कुरा र थपिएको कुरा छुट्याएर अर्थ्याउँन खोज्छे । त्यसैले ऊ तिनै जनाको आँखामा बिझाउँन थालेको महसुस गर्दै छे ।
दिब्या सानै उमेर देखिनै राजनीतिमा संलग्न हुँदै आएकी थिई । परिवारमा बुवा कम्युनिष्ट पार्टीका चर्तित नेता हुनु, आमा पनि पार्टीको चर्चित ब्यक्तिनै हुनु, दाई भाउँजु पनि कम्युनिष्ट मुल्य मान्यतालाई अंगालेर संघर्ष गरिरहेको हुनाले दिब्या यस्तो प्रकारको परिवारीक झमेलामा कहिल्यै परिन । ऊ आफ्ना सँगीसाथिहरुसँग निर्धक्क सँग राजनीतिक कार्यक्रममा हप्तौँ हप्ता,महिनौँ- महिना देशका कुना काप्चासम्म डुलेकी छे । मानिसहरुको दरिद्रता, पछौटेपन, गरिबी जस्ता भयानक रोगहरुलाई नजिकैबाट हेरेकी छे । छोएकी छे । सुम्सुम्याएकी छे । तिनै सर्वहाराहरुको जिबनस्थर उठाउँनको लागि ऊ आफ्नो पुरा-पुरा समय दिन चाहन्छे । उसको आफ्नो ब्यक्तिगत जीवनको ईच्छा केही छैन । ऊ सम्पूर्ण रुपमा आफूलाई परिवर्तनको नाउँमा सुम्पन चाहन्छे । ऊ हरेक घटना क्रमलाई किन र कसरी भन्ने दुई नजरले हेर्छे । त्यसको असर, फाईदा-बेफाईदा आदिलाई सुक्ष्म रुपमा केलाउँछे ।
यता केसरको परिवार पनि कम्युनिष्टकै नाममा चर्चित छ । एउटै पार्टीका सदस्यहरु । केसरलाई पहिलो पटक कार्यक्रममा नै भेटेकी थिई । ऊ सरकारी कर्मचारी थियो । संगठन बिस्तारको कार्यक्रममा उनिहरुको भेट भएको थियो । पहिलो भेटमा नै केसर र दिब्याले देशको स्थितिको बारेमा धेरै कुरा गरेका थिए । परिवर्तनको कुरा गरेका थिए । संघर्षको कुरा गरेका थिए । केसर पनि निकै जिम्वेवार राजनीतिज्ञ जस्तै देखिएको थियो । यौवनले धपक्क बलेकी दिब्या र केसर जो देख्दै आकर्षक देखिन्थ्यो, अग्लो कद, मिलेको जिउडाल, दुबै एक अर्का प्रति आकर्षक भएका थिए । त्यसपछिको बारम्वार भेटघाटले उनिहरु एक-आपसमा नजिकिए । स्वभाविक रुपमा भेट प्रेममा बदलियो । एक-अर्काको साथै जिउँने निधो गरेँ । दुबै खुशी थिए । केसरले दिब्यालाई, उसको ईच्छालाई राम्ररी बुझेको थियो । दिब्याले पनि केसरलाई आफ्नो बाँकी यात्राको सहयोगीको रुपमा हेरेकी थिई ।
जब उनिहरुको बिहे भयो, स्थिति सोचे जस्तो भएन । केसरले धेरै केटी हेरेर बिहे नगरेको रहेछ । कारण ऊ जागिरे केटी बिहे नगर्ने सोचमा रहेछ । भाउजुहरु घरमै बस्ने भएकोले, घर नभाडियोस् भनेर उसले पनि घरमै बस्ने केटी खोजेको रहेछ । उसकी आमाको ईच्छा नै बुहारीहरुले आफ्नो सेवा गरेर घरमैँ बसुन भन्ने थियो । त्यसैले उसले निकै कोसिस गरेर पनि भने जस्तो केटी नभेटेर बसेको रहेछ । यो कुरा उसकी जेठानी दिदीहरु बढो गौरबका साथ भन्ने गर्थे । तर दिब्याले केसरको अगाडि केही थाहा नपाए झै गरिदिन्छे । दिब्या बिस्तारै दुःखी हुन थाली । फेरी बिस्वास थियो केसरले उसलाई रोक्दैन भन्ने ।
मनमा कुरा खेलाउँदै ऊ बैठककमा पुगी । कार्यक्रम राम्रै भयो । साँझ परिसकेको थियो । खान-पिनको ब्यवस्था त्यहि थियो । उसले पनि खाना खाई । घर फर्किँदा झन्डै नौ बज्न लागेको थियो । उसको लागि यो सामान्य कुरा थियो किनकि ऊ कति त बाहिर नै बसेर काम गर्थी । दश-एघार बजे घर फर्किने बानी नै थियो । तर यहाँ सजिलो थिएन । घर पस्दा सबै जना रिसले मुर्मुरिएका देखिन्थे । केसर यताउता कतै देखिदैन थियो । जेठानीहरु मुखामुख गर्दै थिए । कोही केही बोलेनन् । जेठाजुहरु अहिले सम्म घर आईपुगेका थिएनन् । उनिहरु त अक्सर दश- एघार बजे नै आउँछन्, त्यो पनि टन्न रक्सी खाएर । अफिसबाट छुटेर साथीहरुसँग रोदी घर या डान्स रेष्टुरेन्ट तिर समय बिताउँछन् । फेरी पनि जेठानीहरुलाई कुनै गुनासो छैन । उनिहरुको चिप्ला कुरामा, मायाका केही शब्दहरुमा आफुलाई परै भुलाउँन सक्छन् जेठानीहरु र अन्धभक्त भएर बिस्वास गर्छन् ।
सासूले “खाना खान आइज फुर्सद भएको भए” भनेर ब्याङ्य गरिन । ऊ झसंग तर्सी । आफुले खाना खाएर आएको कुरा बताई । तर कसैले केहि जवाफ दिएन । ऊ आफ्नो कोठामा गई । केसर घर आएर हिडेको रहेछ । कपडा जताततै फालेको थियो । कहाँ गए होलान् दिब्याले एक-छिन सोची । फेरी आफ्नो काम गर्न लागि र भूलि केसरलाई । तर बार बजे सम्म पनि केसर घर आएन । उसले फोन गरि । फोन अफ थियो । त्यसपछि उसलाई बेचैन हुन लाग्यो । उ ढोका खोलेर बाहिर छतमा निस्की । सासू बर्बराउँदै थिन त्यहाँ । ” कस्तो नि केटी बिहे गरि भन्थ्यो नाकै काट्ने भई । बिहे भएको एक महिना नबित्दै यस्तो छ चाला । के होला पछि । कहाँ मुन्ट्यो गधा फेरी यति बेला सम्म घर नै आउँदैन । बेकार्मा कुरा लगाएछु । अलि पछि आफै देख्ने थियो स्वास्नीको चर्तिकला ।” दिब्याले पछाडिबाट यि कुरा सुनि । झसंग भई । कुरा लगाएर हिडेको थाहा पाई । उसलाई रिस पनि उठ्यो । तर धैर्य गर्नु अलावा उसको अर्को उपाय थिएन । स्थितिलाई कसरी सम्हाले ऊ सोचमा डुबी । आफुले के गल्ति गरेको छ र? त्यो गल्ति खोज्न थाली । चम्किरहेका ताराहरु साछी राखेर आफू भित्रको सत्यतालई पल्टाउँन थाली । आफ्ना लक्ष्य, उदेश्य र बर्तमान अबस्थालाई केलाउँन लागी ।
समय बित्यो । रातको २ बजे ढोकामा लागेको घण्टीले दिब्या झसंग हुन्छे । ऊ छतमा रहेको कुर्सीमै बसेर झकाईछ । उठेर ढोका खोली । केसर रक्सीले मातेर आएको थियो । जिउ थामिन नसक्ने भएको थियो । उसले दिब्यालाई देखेर खिस्स हाँस्यो । “तिमी कतिबेला आयौ ?” यति भनेर ऊ कोठा तिर बढ्यो । दिब्याले जवाफ दिनु आवश्यक परेन । ऊ सुन्न सक्ने नै थिएन । खाटमा पल्टियो । दिब्यालाई त्यो हालत देखेर रिस उठ्यो । मनमनै रोई ऊ । “कस्तो स्थितिमा पुगेँ” लामो सुस्केरा हाली । केसरको कपडा हिलैहिलो भएको थियो । देख्दै घृणा लाग्ने मान्छेलाई दिब्याले सिरकले छोपिदिई । ऊ बर्वराउँदै थियो । एकैछिनमा घुर्न थाल्यो । तर दिब्यालाई निन्द्रा लाग्न सकेन । ऊ झ्याल खोलेर बाहिर हेरिरही । त्यो खुला आकास । जहाँ ऊ स्वतन्त्र पन्छी जस्तै उड्न सक्थी । रमाउँन सक्थी । सामुहिक दुखमा दुख्न सक्थी । यसरी एउटा जड्याहाको छेउमा मन दुखाउँदै बस्नु परेको थिएन । ऊ हिजोका दिनहरु सम्झन्छे । केसरका पारिवारका सदस्यलाई सम्झन्छे । केसरले गरेको मिठा कुरा, उसको आदर्श सम्झन्छे अनि अहिलेको अबस्था तुलाना गर्छे । ऊ बुझ्दैछे जिन्दगी कति कठिन हुन्छ भन्ने । आँखा झिमिक्क नगरी उज्यालो भयो । केसरले उठेर के गर्ला भन्ने कुराले जिज्ञासु भएकी थिई ऊ । कसरी म सँग कुरा गर्ला भन्ने कौतुहल थियो उसमा । के परिवारको बनावटी कुरामा बिस्वास गर्छ उसले ? यिनै कुराहरु सोच्दै ऊ बिहानीलाई कुरिरही ।
बिहान ७ बजे तिर केसर उठ्यो । उठेर आफ्नो हालत हेर्यो । ओछ्यान धुलो मैलो थियो । जताततै माटै माटो । उसले सम्झ्यो हिलोमा लडेको । कुन्नी के सोच्यो एकछिन टोलायो । दिब्या झ्याल नजिकैको सोफामा बसेर हेरिरहेकी थिई । “उसले के भन्ला” प्रतिक्षामा थिई । ऊ खाटबाट उठ्यो । कालो थियो अनुहार । बोल्न आँटै गरेन । बाथरुम छिर्यो । दिब्या अझै कुरिरही । नुहाएर फर्कियो । फोहोर कपडा बाथरुम मै थुपारेको थियो । भित्र छिरेर दिब्याको अनुहारमा नहेरी भन्यो ” हिजो साथीको जन्म दिन थियो । कर गरेर अलि बढीनै खुवाईदिएछन् । यस्तो हुनेगरी त कहिले पनि खाएको थिएन । तिमी सुतेनौँ आज ? मेरो लुगा फेरिदिएको भए पनि हुन्थ्यो नि । अब यस्तो गल्ति गर्दिन । मलाई माफ गरिदेऊ । अनि छिट्टो यो तन्ना फेर ओछ्यानको । आमा आउँनु भयो भने बबाल हुन्छ । मेरो कपडा पनि पखाली देऊ ल , बाथरुममा छ । जस्ताको तस्तै हुनु पर्छ । नत्र गाली खानु पर्छ आमाको ।” उसले यसरी काम अर्हायो, मनौँ त्यहाँ उसकी नोकर्नी बसेकी छे । ऊ एउटा सामन्त हो र उसको गुलामी गर्नु नोकर्नीको काम हो । नत्र उसको जागिर जाने निस्चित छ । निम्न पुँजीबादी सोचको, तल्लो स्थरको कुरा सुनेर दिब्याको रिसले सिमा नाग्यो । ” तपाईलाई यो काम अर्हाउँन अलिकति पनि सरम लागेन ? मैँले गरेको गल्ति हो यो ? मैले गरेको फोहोर हो यो ? आधारात सम्म रक्सि मैँले खाएर आएको थिए ? जुन काम तपाईले मलाई गर भन्नु भयो त्यो काम गर्ने कर्तब्य मेरो हैन तपाई स्वयमको हो । हैन भने तपाईलाई गाली गर्ने तपाईकी आमाको हो । म किन गरुँ यो काम ?” दिब्या कराई । आवाज बाहिर जाला भनेर केसरले कोठाको ढोका लगायो । ” तँ मेरी स्वास्नी होस् । मेरो हेरचाह गर्नु, ख्याल राख्नु तेरो काम हो । भाउजुहरुसँग सिक कसरी ख्याल राख्नु पर्छ श्रीमानको । यो घर हो अधिकारको कुरा गर्ने कुनै पार्टी कार्यालय हैन । न कुनै कार्यक्रम नै हो । धेरै मुखाले नबन् । ब्यवहारमा यस्ता कुरा पचाउँनु पर्छ । ” उसको कुरा सुन्दा दिब्या तिनछक परि । यस्तो लाग्यो उसलाई रक्सिले छोडेको छैन । ऊ ढोका घन्द्र्याङ्ग पार्दै बाहिर निस्कयो । ऊ चुपचाप कोठामा बसिरही । तर उसको सैतानी प्रवृतिको अगाडि झुक्ने गल्ती उसले गरिन । कोठाको हालत उस्तै छोडेर ऊ पनि बाहिर निस्कि ।
भान्सा कोठामा छिर्दा उसैको कुरा काटिरहेका थिए जेठानीहरु । सासू पनि रिसले आगो जस्तै थिईन । ” दिदी के भयो तपाईँहरुलाई ? सानो सानो कुरामा यति सारो निन्दा चर्चा गर्नु राम्रो हैन नी । मैँले के बिराएँ र ? मैले गरि आएको काममा जानु गल्ति हो र ?” दिब्या यो तिम्रो माईती हैन । घर हो । यहाँको संस्कार अनुसर चल्नु पर्छ तिमीले । नजानेर गल्ती गर्यौ । अब बाहिर नजाऊ । हेर त देबरको हालत । हिजोको आज कति परिवर्तन भएको ।” ” म बैठकमा गएर नै उस्ले रक्सी पिएको हो ?” ” अनि के त । आमाले तिमी घरमा नभएको कुरा भन्ने बित्तिकै फनक्क फर्केर हिडेका थिए । राती दुई बजे मात्र आए । होजो अस्ति तिम्रै वरिपरि घुम्ने मान्छे ।” ” दिदी ! हामी उनीहरुको खेलौँना मात्र हैन नी । हाम्रो पनि त काम कर्तब्य लक्ष्य हुन्छ नि । यसरी चुपचाप उनीहरुले दिएको आदेश पालना गरेर बस्न कठिन हुँदैन ? तपाईँहरु कसरी बस्नु हुन्छ हो सबै सहेर । म त सक्दिन । सही कुरामा आफ्नो अडान हुनु पर्छ । फेरी हामी कम्युनिष्टहरु । सबै समान हुन्छौँ नी हैन ? मैले कुनै गल्ति त गरेको छैन नी ।” “तिम्रो जस्तो सोच हुने मान्छेले त बिहे नै नगरेको भए हुने । किन अर्काको छोरो बिगार्नु र । हामी त आईमाई हौँ । हामीले हाम्रा श्रीमानहरुलाई खुशी राख्नु पर्छ । हाम्रो संसार भनेकै उनै हुन । उनको खुशी भनेकै हाम्रो खुशी हो । उनको ईच्छा अनुसार हामीले चल्नु पर्छ ।” “दिदि यो सामन्त सोच भएन र ? हामीले त अलि फराकिलो भएर सोच्नु पर्छ । जब हाम्रा श्रीमानहरु राती १२ बजेसम्म रक्सी खान भट्टी धाउँछन् । कहाँ जान्छन्, के गर्छन् । हामी कुनै चासो दिँदैनौँ । अफिसको समय भन्दा पछि उनीहरुको के काम हुन्छ ? कहिल्यै सोध्यौँ ? तर हामी कुनै राम्रो काममा बाहिर जादाँ अलिकति अबेर भयो भने यस्तो रडाको मच्चिन्छ । अनि हामी चुमचाप सहन्छौँ । किन ?” ” किनकी हामी बुहारी हौँ । हामीले ठूलो स्वर गर्नु हुँदैन । नत्र केटाहरुको के भर हुन्छ र ? अर्की ल्याईदियो भने ?”। ” हामी पनि अर्कोसँग जान सक्छौँ नी ” भन्न मन लागेको थियो दिब्यालाई तर चुप लागि । परिस्थिति अनुकुल थिएन । दिब्या हैरान भई । के गर्ने के नगर्ने उसले ठम्याउँनै सकिन । खाना खाने बेला भयो । केसरको अफिस अलि छिट्टै जानु रहेछ । उ कपडा लागएर खान बस्यो । दिब्याले खाना पस्कि । बोलचाल भएन त्यहाँ ।
भान्साको काम सकाएर दिब्या कोठामा गई । कोठा मिलाइएको थियो । कपडा पनि धोएर सुकाएको रहेछ । त्यो देखेर अलिकति हर्षित भइ । केसरले आफ्नो गल्ति धोएछ । अब यस्तो गल्ति गर्दैन कि । आशा गरि । उसको प्रतिक्षा गर्न लागि । बिहान अलि बढि नै बोलेछु कि जस्तो लाग्यो उसलाई । बेलुकी यस बिषयमा कुरा गर्ने बिचारले दिन बिताउँन थाली । सासू रिसाएकै थिईन । बेलुकी पख जेठानीले कुरा खुस्काई कि केसरको कपडा सासूले धोएकी रहिछिन् । यो सुनेर केसरसँग रिस उठ्यो । अघि सम्मको हर्षित अनुहार एकाएक रिसाहा बन्यो । आमालाई यसरी काम लगाएको देखेर । आमालाई त यस्तो ब्यवहार गर्नेले स्वास्नीलाई के गर्ला । संखाले डेरा जमायो । कसरी अगाडि बढ्ने योजना बनाउँन लागि । किनकी उसलाई थाहा थियो अब को जिन्दगी झन चुनौती पूर्ण छ भन्ने कुरा । ऊ अन्याय अलिकति पनि सहन सक्दिन । ऊ गलत गर्दिन तर न्यायपूर्ण तरिकाले बाँच्न चाहन्छे ।
बेलुका बेलैमा घर आयो केसर । आज उसको अवस्था सामान्य थियो । उसले पिएको थिएन । अघिपछि जस्तै उसले राम्रो ब्यावहार गर्यो । उसको अगाडि सासूले पनि राम्रै गरिन । दिब्या झन् भ्रममा परि । कुनै बहस नै भएन हिजोको घटनामा । न कारण नै खोजियो । बेलुका कोठामा पस्दै ” लुगा कसले धोएको नि ?” “किन र ?” “सोधेको नि” “तँ नआउँदा पनि म फोहोर कपडा लगाउँदिनथेँ । आमा या भाउजुहरुले धुनु भएको होला ।” ” अप्ठ्यारो लाग्दैन ? आफ्नो गल्तिको सजाएँ अरुलाई दिन ?” घर ब्यवहारमा यस्तो त चलिहाल्छ नि । छोडिदेउँ बितेको कुरा । अब यस्तो गल्ति गर्दिन । मलाई बिस्वास गर ।” ” कुन आधारमा बिस्वास गरुँ ? तपाईँ मलाई बिस्वास गर्नु हुन्छ ?” ” किन गर्दिन र ?” उसो भए हिजोको घटनाको कारण ?” “केही हैन बस साथीको जन्म दिन थियो ।” अझ ढाट्नु हुन्छ ? के भएको थियो भन्ने मैले थाहा पाईसकेँ । दिदीहरुले भनिसक्नु भयो । आमाले पनि बोलिसक्नु भयो ।” ” उसो भए किन सोधेको त ? दिब्या यो घरमा तिमी र म मात्र छैनौँ । अन्य परिवारको पनि ख्याल राख्नु पर्छ । मेरो लागि मात्र हो भने तिमी जहाँ गएपनि, जतिबेला आएपनि केही फरक पर्दैन । तर परिवार, समाज, सामाजिक सम्वन्धहरुले बुहारीलाई यसरी जथाभावि हिड्न छुट दिएको छैन । मलाई लाग्छ यो कुरा तिमीले बुझेकी छौ र मैँले दोहोर्याउँन पर्दैन ।” ” यसको मतलब म जथाभावि हिडे ? बिनाकाममा हिडेँ ? तपाईलाई त थाहा थियो नि म कहाँ गएको थिएँ र किन गएको थिएँ । किन सम्झाउँनु भएन घरमा ? तपाईले मलाई बुझ्नु भएको छैन अझै ?”
केसर एकछिन चुप लाग्यो । दिब्यालाई तानेर नजिकै बसायो । मायाले उसको कपाल सुम्सुम्यायो । ” दिब्या ! एउटा अनुरोध गर्छु । पुरानो दिनहरु भुलिदेउ । अब तिमी मात्र छैनौ । तिम्रो मात्र सपना हैन हाम्रो सपना हो । यो आन्दोलान, संघ संघठन कमाई खाने भाडो मात्र हो । बाँच्नको लागि गर्ने काम । तिमीलाई अब के नपुग्ने छ र ? म छु । तिमीलाई पुग्ने सम्पति म कमाउँछु । बरू झन् बढी काम गर्छु । तिम्रो खुशीको लागि जे गर्न पनि तयारछु । तर तिमीले मेरो खुसीको ख्याल गर । मेरो खुसी भनेको तिमीले सबै पुराना काम छोडेर पूर्ण रुपमा मेरो जिन्दगीमा आउँनु हो । मेरो परिवारलाई आफ्नो ठानेर हेरचाह गर्नु हो । तिमी मलाई माया गर्छौ भने मेरो अनुरोधलाई स्वीकारी देउ ।” ” यो धम्कि हो कि अनुरोध ? माया गर्छौ भने- अर्थ ? तपाईलाई के लाग्छ मैले बाटो मोडेर खुशी हुन सक्छु ? म पूर्ण रुपमा सम्झौता गरेर बस्न सक्छु ? तपाईको मात्र खुशीको ख्याल राख्नु मैँले ? मेरो खुसीको के हुन्छ नि ? म सँधै तपाईँ र तपाईको परिवारको खेलौँना बनेर बसौँ त ? के मेरो स्वाभिमानले यसो गर्न मान्छ ? किन यस्तो स्वार्थी बन्नु भएको तपाईँ ? हामी त संघर्षको मैदानमा छौँ । हामी सर्वहारा वर्ग आन्दोलनको एउटा हिस्सा हौँ । मेरो बुबाले हिड्नु भएको बाटो हामीले पनि हिड्नु छ । हिजो हामी सँगै गरेको यात्रा किन बिर्सदै हुनहुन्छ तपाईँ ? तपाईँको सोच त निम्न पूँजीबादीजस्तो भएन र ? हिजोको क्रान्तिकारी छवि कहाँ हरायो तपाईको ?” ” भो भो धेरै भाषण नगर । न तेरो बुबा नै क्रन्तिकारी हुन न तँ, न म । यो त समाजलाई झुक्याउँने खेल मात्र हो । सबै कुरा पैसा हो । पैसा विना केही हुँदैन । जब पैसा मैले कमाएकै छु भने अब के को राजनीति ? यो मेरो अडर्र सम्झे हुन्छ । आइन्दा यस्तो काममा नहिड्नु राम्रो हो ।” ऊ रिसायो र फन्केर सुत्यो । दिब्यालाई पनि कम्ता रिस उठेन । ऊ सोफामा गएर सुति । के भन्ने के गर्ने केही टुँगो लगाउँन सकिन ।
बिहान पनि दुबैको बोलचाल भएन । त्यो दिन दिब्या माइत गई । बुबा आमा सँग सबै कुरा राखी घरमा भएको । केसरको अनुरोध पनि भनि । के गर्ने निर्णय लिन सकेकी थिईन । तर बुबा आमाले पनि केसरलाई नै सहमति जनाए । अब दिब्याले राजनीति छोडेर घर सम्हाल्नु पर्ने निर्णय सुनाए उनीहरुले पनि । यसबाट दिब्या झन दुखी भई । उसको रगतको कण-कणमा क्रान्ति बगेको छ । वर्गसंघर्ष बिनाको जीबन जिउँदो लास जस्तै लाग्छ उसलाई । बुबा आमाको पनि उहि सामान्त सोच भेटि उसले । बुहारी भएपछि घरको चौघेरा भित्रै बस्नु पर्छ । घरको ईच्छा अनुसार नै चल्नु पर्छ भन्ने । उसमा नैरास्यताले छोप्यो बुबा आमाको देखावटी क्रान्तिकारिपन देखेर । माईतिमा बस्न मन लागेन । ऊ त्यताबाट साथीहरुलाई भेट्न गई । साथीहरुको ताल पनि उही । दिब्याको सुखी जीबन देखी दंख थिए । अझ भन्थे केसर जस्तै पति पाउँने हो भने बिहे गरेर आनन्दको जिन्दगी विताउँने थियौँ । चारै तिर बाट हरेस खाएर दिब्या घर फर्किन्छे । यस्तो लाग्छ उसलाई चारै तिर अन्धकार छ । सानो देखि वर्ग संघर्षको नाममा बिताएका समयलाई सम्झन्छे । आफू सच्चा कम्युनिष्ट हौँ भन्ने घमण्डले आफ्नै आँखा सामु आत्महत्या गरेको देख्छे । बुबाको सिद्धान्त प्रति पनि संखालु बन्न पुग्छे । तर सबै बाटाहरु उसका लागि प्रतिकुल छन् । घरमा अब एउटा कठपुतली जस्तै बनेर जीबन बिताउँने कोसिस गर्छे । रीरि-रिवाज, परम्परा केही पनि मन पर्दैन । तर बाध्य छे मान्न ।
समय बित्दै जान्छ । घरमा अलि शान्ति हुन्छ । केसर माया भन्दा पनि करुणा बढी देखाउँन थाल्छ दिब्या प्रति । दिब्याको लागि त त्यो सम्बन्ध मात्र संझौतामा परिणत हुन्छ । के गर्ने सहनु नै राम्रो ठान्छे । यसै क्रममा उ घरका जेठानीहरुलाई नजाँनिदो पाराले बिद्रोही बनाउँन खोज्छे । उसका जेठाजुहरु घरमा श्रीमती छोराछोरी लत्याएर बिहे नै भएको छैन भन्दै केटी घुमाएर हिड्छन् भन्ने दिब्याले चाल पाउँछे । अन्धभक्त जेठानीहरु पत्याउँनै मान्दैनन् । तर केसरको लागि उसलाई केही फरक पर्दैन । यदी ऊ अरु कसैसँग जान्छ भने पनि कुनै गुनासो नलिने निर्णय गर्छे ऊ । जेठानीहरुको भ्रम हटाउँनु थियो । त्यसैले जेठानीलाई लिएर जेठाजुको पिछा गर्न जान्छे ऊ । नभन्दै उसले देख्छे । जेठानीहरुले पनि देख्छन् । तर नदेखे झैँ उनीहरु फर्किन्छन् । बल्ल उनीहरु दिब्यालाई बिस्वास गर्न लाग्छन् । आफ्ना श्रीमान प्रति शंखा गर्न लाग्छन् । घरको मावल बिस्तारै बदलिँदै जान्छ । सासूले दिब्यालाई झन बढी हेला गर्छे । उसकै कारणले घरमा असान्ति भएको ठहर हुन्छ । कुनै हिसाबले पनि दिब्यालाई सहन गार्हो हुन्छ । केसर पनि बिस्तारै बदलिन्छ । दिब्यालाई हेलाको भावले हेर्न लाग्छ । घरमा तिन बुहारी एक पट्टी र आमा-छोरा एकापट्टी हुन्छन् ।
घरमा अत्यन्तै घृणित ब्यवहार सहनु पर्छ दिब्याले । ऊ सहनै सक्दिन । सारा बाटाहरु बन्द भैसकेा छन् । माईति प्रति पनि घृणा लाग्छ उसलाई । आफूले अंगालेको कम्युनिष्ट सिद्धान्त प्रति पनि । अत्यन्त कठिन अबस्थामा पुगेपछि दिब्याले संझौता गरेर जिन्दगी बिताउँन नसक्ने निर्णय गर्छे । आखिरमा उसले त्यो घरसँगको नाता, केसरसँगको नाता तोडेर फेरि अर्को बाटोबाट आफ्नो वर्ग संघर्षलाई जारी राखने निर्णय गर्छे । दक्षिण पन्थि सोचबाट ग्रसित नाममात्रको कम्युनिष्ट पुरानो पार्टी त्यागेर ऊ नयाँ कम्युनिष्ट पार्टीमा प्रवेश गर्छे र बाँकी जीबन देश र जनताको माझमा बिताउँने अठोट गरी काम गर्न थाल्छे । बिस्तारै यो कुराले घरमा चर्चा पाउँन थाल्छ । उसलाई घर छोड्न सजिलो हुन्छ यो चर्चाले । गाउँघर वरपर सबैजनाले दिब्यालाई नै नराम्रो देख्छ । तर दिब्या आफूलाई अलिकति पनि कमजोर हुँन दिन्न । केसर केही बोल्नै सक्दैन । ऊ झनझन नसाको साहारामा बाँच्न थाल्छ । दिब्यालाई केसर प्रति घृणा भन्दा बढी दया र करुणा पनि बाँकी हुँदैन । उसले घर छोड्ने बेला उसकी जेठानीहरु दुखी देखिन्थे । सबैलाई बेवास्था गर्दै सत्य, न्याय,समानताको लागि आफ्नो वर्ग संघर्षलाई निरन्तरता दिन दिब्या त्यो पिँजडा छोडेर पुन खुला आकाशमा पुग्छे । र बिस्तारै भुमिगत हुन्छे ।
-मधुश्री
३१ सावन २०६७
(स्रोत : रचनाकारको ब्लगबाट सभार)