~राजु स्याङ्तान~
ए जिउँदा मान्छेहरू !
मेरो शरीरको पोस्टमार्टम गर्नुअघि
एउटा आग्रह छ
कृपया
मेरो शरिरलाई चक्कु र कैँचीले होइन
कलमले पोस्टमार्टम गर
मेरो हृदयमा दबाइएको
देशभित्रको अर्को देश
पर्गेल्न सक्दैनौ चक्कुले
सक्छौ भने कृपया
कलमले पोस्टमार्टम गर
यो आदिम बस्ती जस्तो लाग्ने
मेरो दुब्लो शरिर
जहाँका करङहरू पढेर
लेख्न सक्छौ तिमी
मेरो भोकको इतिहास
सदिऔंदेखि किनारामा हेपिँदा हेपिँदै
छिया छिया भएको छ छाती
जहाँका छिद्रहरू गनेर
लेख्न सक्छौ तिमी
मेरो नागरिकता नम्बर
अभावले चुसेर बाँकी रहेको निधार
त्यही निधारमा टल्किरहने
सपनाका साना साना हरफ
यी जम्मै हरफहरू हेरेर
लेख्न सक्छौ तिमी
मेरो देशको ठेगाना
सहर बोक्दाबोक्दै
कुप्रिएको छ ढाड
त्यही ढाडमा लिंगे पिङ जोडेर
मच्चिरहे देश चलाउनेहरू
यही कुप्रिएको ढाड नापेर
लेख्न सक्छौ तिमी
मेरो पुर्खाको कहानी
यो सहरभन्दा प्राचीन छ
मेरो नाम्लोको बेग्लै सहर
मेरो सहरका चोकहरू डुलिहेर
लेख्न सक्छौ तिमी
एउटा गुमनाम सहरको कथा
यो व्यवस्था भन्दा
चर्किएको छ मेरो पैताला
पैताला भन्दा बढी
चर्किएको छ हृदय
हृदयका यिनै फाँटहरू उक्ली हेर
लेख्न सक्छौ तिमी
अपमानित माटोको कथा
प्रत्येक पटक भोट हाल्दा
बलात्कृत भएको मेरो बुढी औंला
प्रत्येक पटक जुलुसमा जाँदा
इज्जत लुटिएको मेरो मुठ्ठी
सबैसबै खोतली हेर
लेख्न सक्छौ तिमी
शताब्दीऔं पुरानो
मेरो विद्रोहको भोक
मेरो मक्किएको काँधमा टेकेर
उक्लिरहे कयौं शासकहरू
त्यही काँधको गहिराइ नापिहेर
लेख्न सक्छौ तिमी
महाराजको गाडीको मोडल
भोको बिहान बोकेर
सँधै सँधै उदाइरहने
मेरा हत्केलाका ठेलाहरू हेर
लेख्न सक्छौ तिमी
मेरा अधुरा सपनाहरूको अध्याय
आँखा भित्रभित्र कतै एकान्तमा
आफैसँग रुँदै बसेको आँशुलाई हेर
लेख्न सक्छौ तिमी
महाराजले काटेका
मुडुला टाउकाहरूको
अन्जान वस्तीको कथा
मेरो शरीर
पीडाको इतिहासले भरिएको
एउटा बिरानो संग्रहालय हो
ए ब्युँझिएका मान्छेहरू
कृपया !
यो प्राचीन संग्रहालयभित्र
मेरो पीडाको अभिलेख मेटाउने
कुनै कैंची पस्न नदेउ
(स्रोत : नेपाल साप्ताहिक)