~भवानी तावा~
म सम्झन्थेँ
प्रत्येक रातहरू स्वच्छन्द हुन्छन् ।
ताराहरूले सुरेली खेलेर
चन्द्रमाले मुसुक्क हाँसेर
मसँग कल्पनामा बुर्कुसी मार्दामार्दै
हाम्रो प्रत्येक रात –
एउटा स्वर्णीम कल्पनाको सडकमा
त्यसरी नै आउँछ होला
त्यसरी नै जान्छ होला ।
मलाई कहिलेकाहीँ
बादलको अट्टहास साम्राज्य फैलिएको बेला
शयलको क्षण नपाएर मस्तिष्कमा
जिजीविषाको रक्स्याहा सोचाइ घोडसवार भएपछि
उदण्ड मच्चाउन मन लाग्छ
व्रि्रोह गर्न मन लाग्छ
व्रि्रोह गर्न मन लाग्छ आफैसित
तर रात –
बादलभित्रै लुकामारी खेलेर मरेपछि
म उदासिन भएको छु अहिले ।
म सम्झन्थेँ –
पराक्रमी छु
र विजयको घोषणा गर्छु र आज –
कहिल्यै पराजय नदेख्ने मनका क्षणहरूले
यौटा आँखामा विजय उत्सव नचाउँछन्
अर्को आँखामा पराजयको हीनताबोधले खिज्याउँछन् ।
सोच्छु –
विजय त निमेष मात्रको रहेछ
तर खिज्याइको निर्निमेष
अनन्त-अनन्तजस्तो
खिज्याइ पनि जूनको सानो आँखाजस्तो
आँखा पनि जीवनको हत्केलामा नअटेको अस्तित्वजस्तो
के म आँखाले यथार्थ भ्रम त भोगिरहेको छुइनँ –
आजकल आँखाहरूमा सत्य भ्रमित र दिग्भ्रमित हुन्छन्
आजकल हत्केलामा अस्तित्वहरूका इतिहासहरू भेटिन्छन्
यो दन्त्यकथा
कसैलाई सुनाएँ भने
ऊ र म हारेको यौटा सिङ्गो रात हुन्छ ।
एकरात –
मैले प्रियसीलाई गाउँखाने कथा सोधेँ –
माछा-माछा भ्यागुता भनेको के हो ?
प्रतिउत्तरमा उनले सोधिन्
वाटरलुको लडाइँ भनेको के हो ?
कथाहरू बादशाहका/विश्व सम्राटका, उसका थिए होलान्
गाउँखाने कथाहरू स्वार्थान्धताले लिप्त
मेरो देशको इतिहासको थियो होला
तर त्यो रात !
रजनीले निलेको फुस्रो अनुहारको थियो
त्यसै-त्यसै मसँग उदास हुन खोजेको थियो ।
वास्तवमा हाम्रो समागमता छामे पनि –
कसैलाई दर्शनको इतिहास बाँचिदिए पनि
जीवनले संकेत गरेको समागमताको हत्केलामाथि
जीत र हारको क्षणलाई युगले पर्खन्छ पर्खंदैन
त्यसैले त मानवीय जिजीविषाको पराकाष्ठाले
मान्छेलाई मातुञ्जेल घच्घच्याई रहनुपर्ने हो
प्रत्येक दिन र रातसँगै उजागर भएर आउनुपर्ने हो
त्यसैले म विश्वास गर्छु अलिक समय आइसकेको छैन
युगले पर्खन्छ,
पर्खनु पर्छ ।
तर अहिले युग !
रामको चरित्रसँगै मरिसकेको छ
कृष्णको लीलासँगै पातिएको छ
बुद्धको युद्धसँगै छताछुल्ल भैसकेको छ
त्यसैले सत्य बोल्नेहरूले मृत्यु भोग्नुपर्छ
शान्तिप्रियहरूले गोली खानर्ुपर्छ
र, मैले हारेको रातसँग रोएँ भने
समयले जिस्काउनुपर्छ
किनभने मैले पढ्ने गरेको पाठशाला वर्तमानको व्रेल भएर
पराजयी / विजयी सम्राट / शासक र योद्धाहरू
मेरी प्रियसी र मैलेजस्तै
मरन्च्याँसे रुवाइलाई रोकेर
उद्विग्नताका हेक्काहरूसँगै कोही पनि रोएका छैनन्
समागमतामा हाम्रो र सबैको वर्तमानको मृत्यु
उस्तैजस्तो लाग्छ ।
मेरी प्रियसीको मृत्यु भयो
म मरेको छुइनँ
सबै मरेका छन्
फेरि कोही पनि मरेका छैनन् ।
मर्नु/नमर्नु समानता भएर पनि जिउँदै आत्मदहको सपना देख्नु
सपनाले सपना र विपनामा झोक्रिएर बाँच्नु
आफ्नै कसुर र बेकसुरका कायाकल्पहरूसँग
जिस्किँदै/तर्सिंदै
हार स्वीकार गर्नु जीवन्तता र अवसानको क्षितिज सम्झनु हो ।
आफैलाई,
घामछायाको इन्द्रेणीजस्तै रुनु र हाँस्नुको कथा
आफैले,
एट्लान्टिसको कथा सुन्दै छु जस्तो लाग्दैछ
लेप्मुहाङको डुङ्गामाथि जीवनको वैतरणी भोग्दै छु जस्तो लाग्छ
त्यसो त निर्धकताको विश्वास कसको मनमा आँटेको छ र ?
जतै पाइला टेक्यो त्यतै पहिरो गइरहेको छ
जतै शिर उचाल्यो उतै भत्किरहेको छ सगरमाथा
र, अहिलेको होहोरीमा, म हारेको यौटा उदास रात
वर्षौजस्तो लागिसकेको छ
प्रत्येकको गलामा फाँसीको फन्दा लपेटिन अघि
म सुकरातको स्वीकृत सजाय धेरै युगपछि सोच्दै छु
हो, मेरो हारको अन्तको यामजस्तै सोच्दै छु ।
(स्रोत : नेपालीकविता डट कम)