~सुधीर छेत्री~
एउटा तातो हावाले
शरीर फड़्कार्यो,
प्वॉंखमा टॉंसिएका पानीथोपाहरू झड़्कार्यो
अनि
कम्मर कसेर उठ्यो
आवाजहरूको थैला कॉंधमाथि भिरेर।
तातो हावा अब
दस्तावेजभरि हृस्व-दीर्घ भएर पस्दैछ,
जिब्राभरि कथाहरू बनेर छिर्दैछ।
नयॉं विचारको वलिष्ठ पाखुरामा
प्रोटोप्लाज्म भएर रसाउँदैछ।
माछाको ह्वास्स गनाइरहेको गन्धमा,
हाटबजार, जताततै प्लास्टिकका बोतलहरू,
ड्रग्समुक्त समाजको साइनबोर्डमा,
पुराना, च्यातिएका खबरकागज,
मैला मोजाहरूमा।
पूँजीका काला माफियाहरू
छप्छप्ती हिड़िरहेको
सड़कको मुखपृष्ठदेखि पछिल्ला पानासम्म।
गाउँमा केवल कुकुरहरू भुक्छन्,
सुनसानको सिउँदो घरिघरि चिरिन्छ।
बले दाजु सचिव,
लिम्बु बड़ा सभापति,
विष्णु दिदी कोषाध्यक्षा।
गाउँको समिति बिहानै झण्डा बोकेर हिँड़े।
निधारमा अछेता नअड़िएजस्तै गरी
कागजबाट खुत्रुक खुत्रुक शब्द झरिबस्छ।
एउटा वाक्यधरि ठिक्क टॉंसिएको छैन।
परियारज्यूको फोक्सोभित्र घुमेर फर्किने हावाले
आज मुरलीबाट धुन झिक्न मानेन।
तुलसी दिदीको सियोधागो
लुगाको छेउकुना सिउन नसकी लज्जित छ।
डोकोभित्र कुखुराको माउ गुनगुन के बोलिबस्छ। भ्रष्ट नेतालाई आज सिबिआइले चार्जसीट फायल गर्यो। १४४ धाराको अवमान्य गरेकोमा युवाहरूमाथि आज पुलिसले रबरबुलेटको प्रहार गर्यो। होमलोनको ब्याज-दरमा दुइ प्रतिशत वृद्धि गरिएको छ। इज्राइलद्वारा गाजापट्टीमा बमबारी। सुत्केरी अवस्थामा नजीकैको स्वास्थ्य-चौकी…….
युग त आलिशान हो
तर बरन्डाभरि आत्थाका फूलहरू।
प्रसूतिको कलिलो सिर्जनासाइतमा
दशटाउके रावण
डङ्गुर फिँजाएर बसेछ
पुराना गन्थनका टपरीहरू।
वातावरण दुइजिउको छ।
तिमीले सम्झ्यौ, अभिमन्यू मर्यो,
हेर, चक्रव्यूहको डढ़ाल्नो फुस्किसकेको छ।
यो कटुसको रूखभित्र जुन मौलिकता बग्छ
त्यसको गङ्गोत्री
मेरो बाल्यकालमा गाड़िएको छ।
सिमखोलाछेउ अर्को केको रूख थियो,
परारसाल आमीलाई जलाउँदा काटियो।
त्योसितै मेरो संवेदना पनि काटियो।
कप्टेरो रहेन मेरो कालजयी कविता।
चियाकमानबाट राजै
जस नपाएका फिका रङ्गहरू
इन्द्रेणी बटुल्ने मसौदा लेख्दैछन्।
तातो हावा
घुङ्ग्रिङ् बोकेर
अछेता छर्दै रौसे भइराखेको छ।
विद्रोहको छाक बसिँदैछ प्रत्येक दिन,
झर्किरहेछ हावा पानी सप्पै।
तोरीबारीभरि, चियाबारीभरि, आलुबारी र सिन्कोनाबारीसम्म
सबैले लोबारिरहेका छन्
बॉंदरहरूले लेखेको विनाशको इतिहास।
उखेलिरहेछ कान्ला-कान्लाबाट
भ्रमका उन्यूहरू।
उकुसमुकुसको सेन्सेक्स
भिरालो बाटो उकालो चढ़ेको देखेर
गुण्डागर्दी लोदरहरू
आफ्नो त्रसित उपसंहारको
एपिटाफ सोँचिरहेछन्।
-कालेबुङ
(स्रोत : विचलन प्रकाशन, कालेबुङ)