~मधु श्री~
हत्केला माथि जीवन राखी कसेर पटुकी
पसिना पोख्दै भरोषा बोक्दै साहस बटुली
उकाली चढ्दै ओराली झर्दै जंगल चाहर्दै
जरुवा खोज्दै मुस्किल रोज्दै अभाव स्याहर्दै
कहिले घाम हिँउँमा बग्थ्यो मेटाई प्यास त्यो
जम्दथ्यो मुटु जमेझैँ हिउँ कहिले आश त्यो
हिड्नुथ्यो फेरी हिड्नुको अर्को बिकल्प थिएन
रोकिनु मृत्यु सहनु थियो स्वीकार्य थिएन
कुर्कुच्चा फुटी रगत बग्दा काँडाले कोतर्दा
दुख्नुको पीडा दुखेर रुन्थ्यो मनले हपार्दा
चिम्लँदै आँखा उषाको लाली मनले हेर्दथ्यो
औँशीको कालो रातमा दियो आशाको बाल्दथ्यो
खेल्दथ्यो कुरा मनमा एकै बिजय हुनुथ्यो
हाँस्दथ्यो सुख्खा ओँठमा हाँसो शीखर छुनुथ्यो
जित्नुथ्यो मन जितेर आफ्नै पुरानो सोचाई
उड्नुथ्यो हावा उडे झैँ हल्का सिमल भुवा भै
(स्रोत : रचनाकारको ब्लगबाट सभार)